विदुर । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रयोग भएको मतपेटिका बाहेक अन्य निर्वाचन सामग्री अहिलेको निर्वाचनमा प्रयोगमा नआएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले बताए ।
‘मतपेटिका पुरानोले नपुग भएको संख्यामात्रै नयाँ आयो । अरु सामग्री भने सबै नै नयाँ नै आएको हो । पुरानोको प्रयोग नै गरिएन । गर्ने चलन पनि छैन’ गौतमले भने– ‘विगतमा मतदान अधिकृतले निर्वाचनपछि बाँकी सामग्री फिर्ता गर्न भन्ने गरिएको थिएन । यो पटक भनिएको छ । के कति फिर्ता आएको छ । रुजु हुँदैछ । तर, फिर्ता आएको पनि आउँदो पाँच वर्षसम्म यी सामग्री कति जोगिएलान् र ?’ छेकाबार, म्याट, स्वस्तिक छाप, स्टेपल, स्केल लगायतका सामग्री पुनः प्रयोग गर्न सकिन्छ । तर, आयोगले हरेक निर्वाचनमा नयाँ खरीद गर्दै आएको छ ।
मतदाता नामावलीमा नाम भएका लाखौं मतदाता विदेशमा रहेको तथ्याङ्क आयोगबाट पक्कै छिपेको छैन । निर्वाचनमा लाखौं कर्मचारी र सुरक्षाकर्मी खटिन्छन् । उनीहरूले स्थानीय निर्वाचनमा त मतदान गर्नै पाउँदैनन्, आम निर्वाचनमा यो पटक प्रतिनिधि सभाको समानुपातिकमा मतदान गर्न पाए । प्रत्यक्षमा त पाउँदैनन् । यसले पनि मतदाता कम नै हुनेछन् ।
आयोग आफैँले पनि ९० प्रतिशतभन्दा बढी मत खस्नुलाई ‘धाँधली’ वा ‘बुथ कब्जा’ को रुपमा बुझेको छ । प्रमुख आयुक्त दिनेश थपलियाले गत स्थानीय तह निर्वाचनमा ९० प्रतिशत मत खसेको बुथमा केही गडबड भएको ठान्दै ‘अतिसंवेदनशील’ केन्द्र मानेर बढी ध्यान दिइएको बताएका थिए ।
९० प्रतिशतभन्दा बढी मत खस्नुलाई ‘अस्वभाविक’ मान्ने आयोगले नै मतदाता भन्दा १०÷१५ प्रतिशत मतपत्र बढी छाप्नु र अघिल्ला निर्वाचनका प्रयोग भएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बारेमा ध्यानै नदिई सबै नयाँ नै खरीद गर्नुलाई आयोगका पदाधिकारी र कर्मचारीको कमिसनको चक्कर होइन भनेर मान्ने आधार के ? अरुलाई खर्च कम गर भनेर कानून, नियम र आचारसंहिताको डण्डा चलाउने आयोगले आफ्नो खर्च कटौतीमा ध्यान दिनु पर्दैन ? स्वतन्त्र समाचार सहयोगमा
No comments:
Post a Comment