![]() |
चुनावी सभामा काँग्रेस नेता डा. रामशरण महत र माओवादी केन्द्रका नेता एवं क्षेत्र नं. १ मा गठबन्धनका तर्फका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हितबहादुर तामाङ भलाकुसारी गर्दै । तस्बिर : इमेज |
विदुर । नुवाकोट क्षेत्र नं. १ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता हितबहादुर तामाङले नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतलाई नेता मान्नमा आफुलाई कुनै आपत्ति नभएको बताएका छन् । दुई पटक प्रतिनिधि सभा निर्वाचनमा उनीसंग पराजित भए पनि आफुहरूबीच कुनै बैरभाव नरहेको तामाङले बताए । तामाङले अघिल्लो निर्वाचनमा भने डा. महतलाई हराएका थिए ।
उम्मेदवार तामाङले गठबन्धनले चुनाव हार्यो भन्दै अपत्यारिलो भ्रमको खेती एमालेले गर्नु हाँसोलाग्दो विषय बाहेक केही नभएको बताएका छन् । काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतसंगै मञ्चमा रहेका तामाङले डा. महतले सुरु गरेका योजनाहरूलाई निरन्तरता दिन र उनको सपना पुरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । ‘मलाई डा. रामशरण महतलाई नेता मान्नका लागि मलाई कुनै पश्चाताप हुनेछैन, हिचकिचाहट हुँदैन, यो क्षेत्र गठबन्धनमा काँग्रेसको भाग परेको भए म उहाँलाई नै सिफारिस गरेर काँधमा काँध मिलाएर यो अभियानमा हुन्थ्येँ’ तामाङले भने ।
तामाङले गठबन्धनका उम्मेदवारलाई भोट नहाली खुसी नभएको बताएका छन् । माओवादीका उम्मेदवारलाई काँग्रेसले र काँग्रेसका उम्मेदवारलाई माओवादीले भोट नहाल्ने हल्ला एमालेले योजनाबद्ध रुपमा फैलाएको उनले बताएका छन् । एकीकृत समाजवादीका मतदाताले एमालेलाई भोट हाल्ने र माओवादी–काँग्रेसमा समस्या आउने भनेर गलत हल्ला फैलाएको तामाङले बताए । ‘हामी अग्रगामी नागरिक र हाम्रा कार्यकर्तालाई आफ्नै खुट्टामा बञ्चरो हान्ने छन् भनेर विश्वास गर्दैनौं’ तामाङले भने ।
यसै बीच, नेपाली काँग्रेस नुवाकोटका सभापति एवं नुवाकोट क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार हितबहादुर तामाङलाई काँग्रेसले भोट हाल्दैन भनेर एमालेले अनाबश्यक हल्ला फिजाएको भन्दै उनले हितबहादुर तामाङ साझा र आदरणिय नेता भएकोले काँग्रेसले एकछत्र मत दिने बताए । ‘हामी अहिले काँग्रेस–माओवादी–समाजवादी केही छैनौं, हामी एउटै हौं’ महतले भने ।
एमालेका उम्मेदवारहरू पैसाकै भरमा चुनाव जित्छु भनेर हिडेको उल्लेख गर्दै महतले पैसाले भोट खरिद गर्ने युगको अन्त्य भइसकेको बताए । ‘उनीहरू जस्तो हामी ब्यापार गर्न आएका हैनौं, हामी सेवा गर्न आएका हौं’ महतले भने । एमाले नुवाकोटका अध्यक्ष तथा नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बद्री मैनालीले अघिल्लो समय प्रदेश सभामा प्रतिनिधित्व गर्दा कुनै विकासका काम अगाडी बढ्न नसकेको आरोप लगाउँदै विकास निर्माणको कार्यभार सम्हाल्नका लागि आफ्नो उम्मेदवारी प्रदेश सभामा रहेको महतले बताए ।
महतले नेपाली काँग्रेस र माओवादी केन्द्रले मित लगाएको बताए । उनले काँग्रेस र माओवादी केन्द्रबीच यस अघि एकआपसमा प्रतिस्पर्धा हुने गरेकोमा अहिले कसरी मिसिएर आए भनेर धेरै आश्चय ब्यक्त गरिहरनु नपर्ने बताएका छन् ।
सरकार सञ्चालनमा एमाले र केपी ओलीको स्वयच्छाचारीको विरुद्धमा राष्ट्र र राष्ट्रियताको पक्षधर दलहरू एक ठाउँमा उभिएको बताए । ‘गाउँमा हुने जात्रामा दुई बलिया मान्छे झगडा गर्दा र कुस्ती खेल्दा गाउँमा अप्ठ्यारो अवस्था आउथ्यो र गाउँले सबै मिलेर उनीहरूलाई समातेर मित लगाउने गरिन्थ्यो,’ महतले भने– ‘हो यस्तै अप्ठ्यारो परिस्थितिको निराकरणका लागि हामी मिलेर आएका छौं, तपाईहरू दुविधामा पर्नुपर्दैन ।’
No comments:
Post a Comment