बेलकोटगढी । गत स्थानीय निर्वाचनमा बेलकोटगढी नगरपालिका वडा नम्वर १३ मा वडा अध्यक्ष पदमा उमेदवारी दिएका सोमबहादुर लामासहित उनी पक्षधर १३८ जनाले आगामी निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बर्तमान अवस्थामा नुवाकोट क्षेत्र नम्वर २ को बास्तविक प्रतिनिधित्व संयुक्त गठबन्धनले मात्र गर्नसक्ने भएकाले आफूहरूले गठबन्धनलाई समर्थन जनाएको उनीहरूको भनाई छ । गएको आईतबार मदानपुरको बाराहीमा आयोजित कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार लामाले यस क्षेत्रमा रहेका आदिवासी जनजातीको अत्यधिक समर्थन गठबन्धनको पक्षमा रहने र समग्र जिल्लामा आफ्नो समूह गठबन्धन जिताउन क्रियाशिल रहने प्रतिबद्धता जनाए । यसरी समर्थन जनाउनेहरूमा बेलकोटगढी १३ को मतदाता रही काठमाडौं र जिल्लाका बिभिन्न ब्यवसायिक गतिबिधिमा सम्लग्न तामाङ युवा व्यवसायीहरूको संख्या बढी रहेको छ । गत स्थानीय निर्वाचनमा ७०३ मत ल्याएर नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएको बेलकोटगढी–१३ मा निकटतम प्रतिद्वन्दीका रुपमा माओवादी केन्द्रका उम्मेदवारले ४१७, एमालेका उम्मेदवारले ३९४ र स्वतन्त्र उम्मेदवार लामाले २३८ मत ल्याएका थिए ।
कार्यक्रममा नुवाकोट क्षेत्र नं. २ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नागरिकका संबिधान प्रदत्त अधिकार कुण्ठित गर्ने प्रयास केपी ओलीको नेतृत्वको सरकारले गर्न थालेपछि संबिधानको रक्षाका लागि संयुक्त गठबन्धन निर्माण भएको बताउँदै नागरिकका अधिकारहरूको रक्षाका साथै मुलुकको दीगो बिकास अभियानलाई तिब्र बनाउन गठबन्धनका उम्मेदवारहरूको जित आवश्यक रहेको बताए । गठबन्धनका बारेमा यो वा त्यो रुपमा भ्रम छर्ने प्रयास भईरहेका बेला युवाहरूको गठबन्धनलाई समर्थनले ४ सम्ममा सबै मतदाता भ्रमबाट मुक्त भईसक्ने र गठबन्धनको जित सुनिश्चित हुने बिश्वास बढेको धारणा ब्यक्त गरे ।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं नुवाकोट–१ का उम्मेदवार हितबहादुर तामाङले आसन्न निर्वाचन संबिधान पक्षधर र संबिधान बिरोधीहरूको बीच प्रतिस्पर्धा भएपनि मतदाता भड्काउने प्रयास भईरहेको बताउँदै जेजस्ता प्रयास भएपनि गठबन्धनको बिजय अभियानलाई कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गरे । बिकास प्रयासमा भएका राज्यका केही कमजोरीका कारण नागरिकको केही गुनासो रहनु स्वाभाविक भएको र आगामी दिनमा नागरिकको चाहना अनुसार बिकास गतिबिधिलाई अघि बढाउन गठबन्धन प्रतिबद्ध रहेको समेत माओवादी नेता तामाङको भनाई थियो ।
माओवादीका उम्मेदवार भएको क्षेत्रमा काँग्रेसमा भ्रम सृजना गर्ने र काँग्रेसका उम्मेदवार भएको क्षेत्रमा माओवादीमा भ्रम सृजना गरेर गठबन्धनको तागतलाई कमजोर पार्ने प्रयास भएको भएपनि त्यसलाई जनताहरूले बुझिसकेको उम्मेदवार तामाङले बताएका छन् ।
माओवादी पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बिमला सुबेदी, संबिधानसभा सदस्य जगदीश्वरनरसिंह केसी, नुवाकोट काँग्रेसका सभापति एवं निर्वाचन क्षेत्र नम्वर १ प्रदेश ‘ख’का उम्मेदवार रमेशकुमार महत, माओवादी नेता एवं निर्वाचन क्षेत्र नम्वर २ प्रदेश ‘क’ का उम्मेदवार रामप्रसाद ढुङ्गाना लगायतले आशन्न निर्वाचन र निर्वाचनमा गठबन्धनको जितपछिको बिकास रणनीतिहरूका बारेमा धारणा ब्यक्त गरे ।
‘संबिधान मास्नेको पक्षमा जनता हुनैन्’
विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसीले परिवर्तनका लागि निरन्तर संघर्षमा रहेका नुवाकोटे जनता संबिधान क्षतबिक्षत पार्नेहरूका पक्षमा हुनै नसक्ने दावी गरेका छन् । जनताको लामो संघर्षपछि प्राप्त भएको संबिधानको मर्ममाथि पटक पटक प्रहार गर्ने एमालेसंग संबिधान निर्माणमा महत्वपूर्ण योगदान गरेको काँग्रेस नेतृत्वको गठबन्धनको प्रतिस्पर्धा मंसिर ४ सम्मका लागि औपचारिकतामा मात्र सीमित रहेको र गठबन्धनको बिजय सुनिश्चित भईसकेको नेता केसीको भनाई थियो ।
आइतवार आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूसंगको अन्तरक्रिया र भेटघाटका क्रममा काँग्रेस नेता केसीले नुवाकोटका नागरिकहरूको आर्थिक जीवन सुधारका लागि पर्यटन प्रबद्र्धन र एकीकृत बिकासका योजनाहरू तर्जुमा गर्दै थप सम्भावनाहरूको खोजी गरी त्यसलाई सार्थकतामा परिणत गर्न गठबन्धन दलहरू प्रतिबद्ध रहेको बताए । राज्यका ऐन, नियमहरूका कारण बिगतका बिकास प्रयासहरूले सार्थकता पाउन नसकेको स्वीकार्दै त्यसक्रममा काँग्रेस नेता केसीले बिकासका बाधकका रुपमा रहेका सबै तत्वहरूलाई परिमार्जन गरी नागरिकका अपेक्षा अनुसारका बिकास रणनीति तय गरिने र त्यसले नुवाकोटको समग्र बिकासलाई छोटो समयमै परिणाममुखी बनाउने समेत नेता केसीले उल्लेख गरे ।
No comments:
Post a Comment