विदुर । नुवाकोटको निर्वाचन तयारीको बारेमा जानकारी दिन मंसीर २ गते निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधर विदुर आएका थिए । त्यस क्रममा जिल्लाका पत्रकारहरूसंग राखिएको अन्तरक्रियामा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले प्रश्न गरे– ‘यसपालि कत्ति प्रतिशत मतदान हुने अनुमान गर्नुभएको छ ?’ आयुक्तले ७५ प्रतिशत मतदान हुने दावी गरे । अनि खनालको दोश्रो प्रश्न आयो– ‘अधिकतम ७५ प्रतिशत मतदानको अनुमान गर्नुभएको रहेछ त १२० प्रतिशत मतपत्र छापेर किन अबाश्यक खर्च गरेको ?’ आयुक्त तुलाधार अक्मकिइन् । प्रयोगमा नआउने गरी मतदाताभन्दा बढी मतपत्र किन छापेको भन्ने प्रश्नमा आयुक्त डा. तुलाधरले कार्यविधिमा बढी मत छाप्नु पर्ने व्यवस्था भएकोले छापिएको बताए । ‘आयोग नियम कानून अनुसार नै चल्ने संस्था हो । १० प्रतिशतसम्म बढी मत छाप्न सक्ने व्यवस्था रहेको छ । त्यसैले मतपत्र मतदाताभन्दा धेरै छापिएको हो’ डा. तुलाधरले भने ।
मंसीर २ गते को उक्त कार्यक्रममा व्यक्त गरिएको चासो जस्तै नुवाकोटमा आएको मतपत्रको आधा भन्दा बढी संख्यामा छाप नै नलागी खेर गएको छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई खर्च कटौती गराउन भन्दै चुनाव प्रचार प्रसारका पुराना प्रकृतिहरूलाई परिवर्तन गरिदियो । दल तथा उम्मेदवारको तस्वीर, चिन्ह अंकित टिसर्ट, टोपी, ज्याकेट लगायत छाप्न नै प्रतिबन्ध लगायो। ठूला ब्यानर, ठूला साइजका झण्डा, सवारीसाधन -याली, भोजभतेरमा कडाइ ग¥यो । जसले गर्दा उम्मेदवारको लाखौं रुपैयाँ जोगिएको छ । उम्मेदवार र राजनीतिक दलको खर्च कटौती गर्न ध्यान दिने आयोगले भने आफ्नै खर्च कटौतीमा ध्यान नदिँदा करोडौं रुपैयाँ खेर गयो ।
प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ नुवाकोटमा दुई लाख ७१ हजार मतपत्र नुवाकोट आयो ।
अस्थायी मतदाताको लागि आएको ६ हजार मतपत्रसहितको संख्या हो यो । नुवाकोटमा अस्थायी मतदातासहित दुई लाख ४० हजार ७१५ मतदाता थिए । नुवाकोटमा मत भने जम्मा ५३.९१ प्रतिशत खस्यो । एक लाख २९ हजार ७८१ मत खस्दा मतपत्र पनि सोही अनुसार प्रयोग भयो । मतदाताभन्दा झण्डै १३ प्रतिशत बढी मतपत्र आएको नुवाकोटमा समानुपातिकतर्फ मात्र एक लाख ४१ हजार २१९ मतपत्र प्रयोग नै भएन । जिल्लामा आएको मध्ये ५२.११ प्रतिशत मतपत्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार प्रयोग भएको भन्दा प्रयोग नभएको रित्तो मतपत्रको संख्या धेरै भएको छ । यसैगरी प्रत्यक्षतर्फ पनि मतपत्र झण्डै ५० प्रतिशत प्रयोगमा नै नआएको जिल्ला निर्वाचन अधिकृत जयप्रसाद गौतमले जानकारी दिएका छन् ।
निर्वाचन कार्यालय नुवाकोटका अनुसार सबैभन्दा धेरै क्षेत्र नं. १ प्रदेश १ मा पठाइएको मतपत्र धेरै खाली रह्यो । उक्त क्षेत्रमा प्रत्यक्ष र समानुपातिकमा ६८/६८ हजार मतपत्र आएको थियो । ३१ हजार ८२ मत खस्यो यो प्रदेशमा । समानुपातिक र प्रत्यक्ष गरेर एक लाख ३६ हजार मतपत्र आएको यो प्रदेशमा दुबैतर्फ गरेर ६२ हजार १६४ मतपत्रमात्र प्रयोगमा आउँदा ७३ हजार ८३६ मतपत्रमा छाप नै लागेन । नुवाकोटको यो क्षेत्रमा ५४.२९ प्रतिशतसम्म मतपत्र प्रयोग नै भएन । निर्वाचनमा मतदाताको उत्साह कम हुँदा र आयोगले मतदाताभन्दा बढी मतपत्र छापेको कारण यो पटक देशभरमा करोडौं मतपत्र प्रयोगमा आएन ।
दुई करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता रहेको निर्वाचनमा आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकको लागि आठ करोड तीन लाख ९४ हजार पाँच सय मतपत्र छापेको थियो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक करोड ९८ लाख ७१ हजार, समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार, प्रदेश प्रत्यक्षतर्फ एक करोड ९९ लाख १८ हजार पाँच सय र प्रदेश समानुपातिकतर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र छापेको निर्वाचन आयोगको बुलेटिनमा उल्लेख छ ।
आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फ सबैभन्दा बढी मतदाताभन्दा १३.५२ प्रतिशतसम्म बढी मतपत्र छापेको छ। आयोगले यो पटक २०१५ को आम निर्वाचन भए यताकै सबैभन्दा कम मत ६० प्रतिशतमात्र खसेको जनाएको छ ।
६० प्रतिशत अर्थात एक करोड ९ लाख ७३ हजार मतदाताले चारवटा मतपत्र प्रयोग गर्दा चार करोड ३८ लाख ९२ हजार एक सय ८ मतपत्रमात्र प्रयोग भयो । यसको अर्थ तीन करोड ६५ लाख भन्दा बढी मतपत्र प्रयोगमा नै आएन । अझ आयोगले मतदाता संख्या बराबर मात्र मतपत्र छापेको भए अहिलेको निर्वाचनमा नै ८४ लाख ४० हजार मतपत्र कम हुने थियो ।
No comments:
Post a Comment