विदुर । विश्व फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु भएको छ ।
करिब एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह कतारको राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा आयोजना भएको छ ।
६० हजार क्षमताको रंगशालामा विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिए । जसमा दक्षिण कोरियाको रक ब्यान्ड बीटीएसका सात सदस्यमध्येका जंग कुकले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिए । यस्तै कोलम्बियाकी रक स्टार साकिरा, जे बल्विन, साँगीतिक समूह ब्ल्याक आइड पिज, रोवि विलियम्स, लिल बेबी र भारतीय अभिनेत्री नोरा फतेहीले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिए । कोलम्बियन रक स्टार साकिराले सन् २०१० को विश्वकपको आधिकारिक गीत ‘वाक वाक’ गाएकी थिइन् ।
फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, अल्कोहलमुक्त बियर भने विश्वकपको ६४ वटै खेलमा रंगशालामा बिक्री गरिने जनाएको छ । विश्वकप हेर्न टिकट काटेकाहरूले अल्कोहल नभएको बियर किन्न पाउने छन् ।
स्याम्पेन, वाइन, ह्विस्कीलगायतका मदिरा भने रंगशालाको ‘लक्जरी आतिथ्य क्षेत्र’मा पिउन पाइने छ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दै छन् । कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो ।
सन् २०१९ मा एएफसी एसियन कपको विजेता बन्नु नै कतारको अहिलेसम्मकै ठूलो सफलता हो । एसियाको पावर हाउस जापानलाई हराउँदै एसियन कपको उपाधि जितेको थियो ।
विश्व प्रसिद्ध अस्पाएर एकेडेमीबाट खेलाडी उत्पादन थालेको कतारले स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेजको नेतृत्वमा उच्च प्रदर्शन गरिरहेको छ । समूह ‘ए’मा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगलविरुद्ध टोलीको आक्रमणभन्दा डिफेन्सको परीक्षा धेरै हुनेछ । अल बायत कतारका लागि भाग्यशाली रंगशाला पनि हो । यस रंगशालामा कतारले पछिल्लो तीन खेलमै जित निकालेको छ । त्यो पनि ९–० को औसतमा ।
इक्वेडरको भने विश्वकपमा चौथो सहभागिता हो । सन् २००६ मा दोस्रो चरण पुग्नु नै इक्वेडरको अहिलेसम्मकै ठूलो सफलता हो । यस्तै सन् १९५९ र १९९३ मा कोपा अमेरिकामा चौथो स्थान हासिल गरेको थियो । अर्जेन्टिनी प्रशिक्षक गुस्ताभो अल्फारोको प्रशिक्षणमा इक्वेडरले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
सन् २०२० को अगस्टमा योर्डी क्राएफलाई स्थानान्तरण गर्दै अल्फारो इक्वेडरको प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा इक्वेडरले अर्जेन्टिना र ब्राजिललाई घरेलु भूमिमा रोक्दै कतार विश्वकपका लागि छानिएको थियो । इक्वेडर २०२१ को कोपा अमेरिकामा एउटै खेल नजिते पनि क्वार्टरफाइनल पुगेको थियो ।
पछिल्लो फिफा वरीयता अनुसार इक्वेडर ४४औं स्थानमा छ । कतार भने इन्वेडरभन्दा ६ स्थानमाथि ५०औं स्थानमा छ । चौथोपल्ट विश्वकपमा छनोट भएको इक्वेडरलाई समूहमा ‘अन्डर डग’ मानिएको छ । कतार र इक्वेडरले अहिलेसम्म जम्मा तीन खेल खेलेका छन् । जसमा दुवै टोलीले एक÷एक खेल जितेका छन् भने एउटा खेल बराबरीमा टुंगिएको छ ।
जसको पहलमा विश्वकप
विश्व फुटबल महासंघ (फिफा)का तेस्रो अध्यक्ष हुन्, जुल्स रिमेट । उनी सबैभन्दा लामो समयसम्म फिफाका अध्यक्ष बनेका व्यक्ति पनि हुन् । उनले सन् १९२१ देखि सन् १९५४ सम्म फिफामा बिताएका थिए । सन् १८७३ को अक्टोबर १४ मा जन्मिएका फ्रान्सेली नागरिक रिमेट सन् १९१९ देखि सन् १९४२ सम्म फ्रान्सेली फुटबल संघको अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए ।
विश्वकप फुटबल सुरु गर्नुमा रिमेटको महत्त्वपूर्ण भूमिका छ । सन् १९३० मा आफू अध्यक्ष हुँदा रिमेटले नै विश्वकप फुटबल सुरु गरेका थिए । त्यसैले पनि विश्वकप विजेतालाई दिइने ट्रफीको नाम नै ‘जुल्स रिमेट ट्रफी’ राखिएको थियो । उनले सन् १९२८ मा विश्वकप फुटबलको अवधारणा अगाडि सारेका थिए । सन् १९३० मा पहिलो विश्वकप आयोजनाको अधिकार उरुग्वेलाई दिइएपछि युरोपेली राष्ट्रहरूले असन्तुष्टिसमेत जनाए ।
त्यसैले विश्वकप सुरु हुनुभन्दा दुई महिना अघिसम्म पनि युरोपेली राष्ट्रहरूले विश्वकपमा सहभागिता पक्का गरेका थिएनन् । तर, रिमेटकै अग्रसरतमा पछि फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले प्रतियोगितामा भाग लिने निर्णय गरेका थिए । फुटबलको माध्यमबाट विश्व भाइचारा र आपसी सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याएका कारण रिमेटको नाम सन् १९५६ को नोबल शान्ति पुरस्कारका लागि मनोयनमा समेत परेको थियो ।
सन् १९५६ को अक्टोबर १६ मा आफ्नो ८३ औं जन्मदिन मनाएको दुई दिनपछि उनको निधन भएको थियो। उनलाई मरणोपरान्त सन् २००४ मा फिफाले ‘फिफा अर्डर अफ मेरिट’समेत प्रदान गरेको थियो ।
No comments:
Post a Comment