विदुर । रसुवामा प्रतिनिधिसभाका लागि एउटा मात्रै र प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र छ । वाम लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारहरूले निर्वाचन अभियानलाई तीव्रता दिएका छन् । विकासको मिठो आश्वासन बोकेर उम्मेदवार गाउँ पसेका छन् । जिल्लाको उतरी क्षेत्रमा झुरुप्प बस्ती भएकाले भेला गरेर सामूहिक रुपमा उम्मेदवारहरूले मत मागेका छन्
एमालेले जिल्लाको उत्तरी भेग हाकु, गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे, बृदिम, स्याफ्रु, धुन्चे राम्चे लगायतका क्षेत्रमा घरदैलो अभियान सकिसकेको छ । दक्षिण भेग कालिका, उत्तरगया, नौकुण्ड गाउँपालिकामा घरदैलो अभियान सकिएको नेकपा एमालेका उपसचिव कैसाङ नुर्पु तामाङले बताए ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले पनि उत्तरी भेगका हाकु, गत्लाङ, गोल्जुङ, चिलिमे, थुमन, टिमुरे र बृदिममा घरदैलो अभियान सकिएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवरले पनि जिल्लाको दक्षिण भेगमा घरदैले अभियान जारी राखेको वाम लोकतान्त्रिक गठबन्धन चुनाव प्रचासप्रसार समितिका संयोजक जनक जीवन उपाध्याले बताए ।
पाँच गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेको छ । जिल्लामा वाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ । काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वतमान प्रतिनिधिसभा सदस्य मोहन आचार्य पुनः उम्मेदवारमा दोहोरिएका छन् । नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङ २०७० को संविधान सभाका सदस्य हुन् । दुवै उम्मेदवारले रसुवाको विकासलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । काँग्रेसका उम्मेदवार मोहन आचार्यको प्रमुख चुनावी एजेन्डा भनेको नौकुण्ड खानेपानी रहेको छ । त्यस्तै विगतमा पूरा गर्न बाँकी रहेका विकासका काम पूरा गरी सम्मुनत रसुवा निर्माण गर्ने आफ्नो प्रमुख एजेन्डा रहको आचार्यले बताए । ‘रसुवागढी नाका व्यवस्थापन, सडक, जलविद्युत्, पर्यटन, जडिबुटी खेती, पशुपालन, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार लगायत छन्,’ उनले भने, ‘मुख्य एजेन्डा विकास हो ।’
एमालेका उम्मेदवार छोवाङ तेन्जिन तामाङले प्रमुख चुनावी एजेन्डा भनेको रसुवामा पैसाको राजनीति अन्त्य गर्न‘ रहेको बताएका छन् । ‘किसानको छोरा राजनीतिमा आउन सक्ने बनाउन छ,’ उनले भने । रसुवा जिल्लामा जलविद्युत्को अपार सम्भावना रहेकाले आफू निर्वाचित भएपछि जलविद्युत्को व्यवस्थापन गर्ने तामाङले दाबी गरे । पर्यटनको विकास र रसुवागढी नाका व्यवस्थापन गर्ने मुद्दालाई पनि तामाङले अघि सारे । ‘कृषि, पशुपालनमा आधुनिकीकरण र बजार व्यवस्थापन पनि रहेको छ,’ उनले भने, ‘सडक, स्वास्थ्य, शिक्षा र रोजगार लगायत विकासका मुद्दा छन् ।’ संविधानसभा सदस्य हुँदा पूरा गर्न नसकेको बाँकी रहेका अपूरा काम गर्ने तामाङले बताए ।
पर्यटनको विकास र रसुवागढी नाका व्यवस्थापन गर्ने दुवै उम्मेदवारको एजेन्डामा परेको छ । सडक जिल्लाका प्रत्यक बस्तीमा पुगेको छ । खनिएका ग्रामीण सडक बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने दुवै उम्मेदवारले बताए । ‘जनताले दिएको पहिलो जिम्मेवारी भनेको संविधान लेख्नु थियो त्यो म संविधानसभा सदस्य हुँदा पूरा भएको छ,’ तामाङले भने । जनताले दिएको जिम्मेवारी आफूले पूरा गरेकाले जनताले फेरि पनि आफूलाई मत दिएर निर्वाचित गर्ने तामाङले बताए । २०७४ सालमा आफू निर्वाचित भएपछि रसुवा जिल्लामा धेरै विकासका काम भएको आचार्यले दाबी गरे । ‘जनताले हाम्रोभन्दा पनि राम्रो काम गर्ने व्यक्तिलाई चाहेका छन्,’ उनले भने । घरदैलोमा रहेका उम्मेदवारहरूले पनि मतदाताको मनस्थिति बुझ्न र आफ्नो पक्षमा मत लिन भरमजदुर कोसिस गरिरहेका छन् ।
५० युनिट बिजुली निःशुल्क
रसुवा । नेकपा (एमाले) रसुवाले प्रत्येक घरधुरीलाई ५० युनिटसम्म विद्युत् निःशुल्क उपभोग गर्न पाउने व्यवस्थासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमाले रसुवाले १८ वटा शीर्षकसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, जलविद्युत्, पशुपालन, पूर्वाधार र रोजगारीलाई प्राथमिकता दिइएको छ । ६० वर्षभन्दा माथि उमेर समूहका जनताको निःशुल्क नियमित स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । पासाङल्हामु मार्गको बेत्रावती, कालिकास्थान, धुन्चे हुँदै स्याफ्रुबेंसीसम्म सडक स्तरोन्नती गर्ने कुरा पनि समेटिएको छ । त्यस्तै राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलङ–स्याफ्रुबेंसी–रसुवागढी नाका जोड्ने सडक निर्माण छिटो सम्पन्न गर्न संघीय सरकारसँग समन्वय र पहल गरिने, ‘हाम्रो लगानीमा हाम्रै दक्ष जनशक्ति’ भन्ने नाराका साथ डाक्टर, इञ्जिनियर, नर्स, कृषिविज्ञान, पशु विज्ञान, वनविज्ञान, गणित, अंग्रेजी, विज्ञान विषयका शिक्षक तयार गरिने छ ।
वन्यजन्तुहरू बाँदर, बँदेल, भालु, दुम्सीलगायतबाट हुने अन्नबाली क्षतिको उचित संरक्षण र किसानलाई क्षतिपूर्तिको ग्यारेन्टी गरिने विषय पनि प्रतिबद्धतापत्रमा रहेको एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार छोवाङ तेन्जिन तामाङले बताएका छन् । लाङटाङ र गोसाइँकुण्ड पदमार्गलाइ थप व्यवस्थित गर्ने, धुन्चेदेखि गोसाइँकुण्ड केवलकार निर्माण र सञ्चालनका लागि आवश्यक पहल गरिने, कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा रहेको बिर्ता समस्या र आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकामा रहेको गुठी समस्या समाधानका गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
प्रत्येक गाउँपालिकामा कभर्डहल र फिडनेस सेन्टर स्थापना, जिल्लामा एक नगरपालिका घोषणा र कार्यान्वयनका लागि आवश्यक पहल गरिने, भ्रष्टाचारमुक्त जिल्ला निर्माण गरिने एमाले रसुवाका अध्यक्ष कन्र्याल तामाङले बताएका छन् ।
No comments:
Post a Comment