अर्जुननरसिंह केसी
प्रतिनिधि सभा सदस्य, नुवाकोट क्षेत्र नं. २
केन्द्रीय राजनीतिक वृत्तमा चलेको नाम अर्जुननरसिंह केसी अहिले ७५ का भए । मंसीर ४ गते सम्पन्न भएको निर्वाचनमा सत्ता गठबन्धनाबाट उनी नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित भए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई झण्डै १२ हजार मतले पछि पार्दै जित हासिल गरेका छन् ।
उनको यो चुनाव सहितको उम्मेदवारी नवौं पटक हो । ५ पटक विजयी भएका छन् चने ४ पटक पराजित भए । उनी तीन पटक मन्त्री र एक पटक राज्य मन्त्री बनेका छन् । स्वास्थ्य, शिक्षा, आवास तथा भौतिक योजना, सहरी विकास मन्त्रालय गरी चार वटा मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।
केसी २००४ साल असोज ११ गते नुवाकोटको तत्कालीन राउतबेशी–४ मा जन्मिएका हुन् । उनी ०१८ साल अर्थात १४ वर्षको उमेरदेखि नै राजनीतिमा आवद्ध भएका थिए । केसीले पार्टी प्रतिबन्धको अवस्था र आन्दोलनका क्रममा पटक–पटक भूमिगत भएको एवं ६ वर्ष ९ महिना बन्दी जीवन बिताएका छन् । केसीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् भने कानुन शास्त्रमा स्नातक गरेका छन् । तत्कालीन प्रतिबन्धित काँग्रेसको राजनीति गर्दै उनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा राजनीति शास्त्र अध्यापन गराईरहेका थिए । पञ्चायत समर्थकहरूले २०३२ सालमा उनलाई जागिरबाट बर्खास्त गरिदिएका थिए ।
२०३८ साल बैशाख २७ गते अर्जुननरसिंह केसी राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । त्यसबेला नुवाकोटबाट राष्ट्रिय पञ्चायत सदस्यमा दुई जना प्रतिनिधि चुनिन्थे । त्यो निर्वाचनमा नुवाकोटमा १ लाख ६ हजार ३ सय मतदाता थिए । जसमा २० हजार २ सय १९ मत प्राप्त गरी केसी पहिलो पटक राष्ट्रिय पञ्चायतमा छिरेका थिए । त्यस निर्वाचनमा नुवाकोटबाट राष्ट्रिय पञ्चायतमा चुनिनका लागि २२ जनाबीच प्रतिस्पर्धा भएको थियो । २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेलामा असार २४ गते केसी स्वास्थ्य राज्य मन्त्री बने ।
केसी २०४४ जेठमा भएको जिल्ला पञ्चायतको निर्वाचनबाट नुवाकोटको जिल्ला पञ्चायत सभापति चुनिएका थिए ।
२०७४ को निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. २ बाटै झण्डै १० हजार मतान्तरमा तत्कालीन बाम गठबन्धनका एमाले उम्मेदवार नारायणप्रसाद खतिवडासँग पराजित भएका थिए । खतिवडा ३६ हजार ८९२ मत मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुँदा केसीले २६ हजार ३३५ मत लिए । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा केसी नुवाकोट क्षेत्र नं. १ बाट १७ हजार ३४६ मत ल्याएर निर्वाचित भए । उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमला सुवेदीले ९ हजार १४५ मत प्राप्त गरे । २०६४ को संविधान सभाको पहिलो निर्वाचनमा केसी तत्कालीन सुवेदीसँग पराजित भएका थिए । सुवेदी २० हजार ५८१ मत ल्याएर विजयी हुँदा केसीले १२ हजार ९८४ मत मात्रै पाएका थिए ।
त्यस अघि २०५६ को निर्वाचनमा पनि केसी नुवाकोट क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट तेस्रो पटक उम्मेदवार भएका थिए । त्यो निर्वाचनमा उनी नेकपा (एमाले) का महेन्द्रबहादुर पाण्डेसँग ५६९ मत अन्तरले पराजित भए । त्यसबेला पाण्डेले १३ हजार १७७ र केसीले १२ हजार ८०८ मत प्राप्त गरेका थिए । २०५१ को मध्यावधी निर्वाचनमा केसी नुवाकोटको क्षेत्र नं. ३ बाटै उम्मेदवार भएका थिए । त्यस पटक १५ हजार ९५१ मत ल्याएर निर्वाचित भए । केसीका निकटतम् प्रतिद्धन्द्धी राप्रपाका डा. प्रकाशचन्द्र लोहनीले १० हजार ३८७ र महेन्द्रबहादुर पाण्डेले ९ हजार ९४० मत प्राप्त गरेका थिए । २०५१ मा केसीको जित तेस्रो पटक संसद प्रवेश थियो ।
सभापति गिरिजाप्रसाद कोइरालाको कालमा केसी काँग्रेसका सह महामन्त्री, प्रवक्ता र विभिन्न विभागीय प्रमुख भए ।
No comments:
Post a Comment