![]() |
नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडा मतदान गर्दै । |
विदुर । आइतवार भएको संघ तथा प्रदेश निर्वाचनमा नुवाकोटको सबै मतदान केन्द्रमा सौहार्दपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार जिल्लामा झण्डै ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमका अनुसार आइतवार रातीसम्म बुथबाट मतपेटिका ल्याउने काम भइरहेको छ । क्षेत्र नं. १ को खरानीटार स्थित तादी गाउँपालिकाको कार्यालयमा र क्षेत्र नं. २ को जिल्ला अदालतको भवनमा मतपेटिका जम्मा भइरहेको छ ।
नुवाकोटको सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको उनको भनाई रहेको छ । मतगणना भोली सोमवार दिउँसोबाट हुनसक्ने बताइएको छ । १ को खरानीटारमा र २ को विदुरमा मतगणना हुने छ ।
नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१ हजार ९ सय ७१ जना छ । नुवाकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ४ वटा रहेको छ । त्यस मध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ३१ हजार ६ सय १ पुरुष, २८ हजार ३ सय १८ महिला र अन्य २ जना गरी ५९ हजार ९ सय २१ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ३२ हजार १ सय ४२ पुरुष, २९ हजार ६ सय २० महिला र १ जना अन्य गरी ६१ हजार ७ सय ६३ जना मतदाता रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ३० हजार ९ सय ६२ पुरुष र २९ हजार ७४ महिला गरी ६० हजार ३६ जना मतदाता रहेका छन् । प्रदेश सभा (ख) मा ३० हजार २ सय १७ पुरुष र ३० हजार ३४ महिला गरी ६० हजार २ सय ५१ मतदाता रहेका छन् । आगामी मंसिर ३ गते १८ वर्ष पूरा भएका र फोटो सहितको मतदाता नामावलीमा नाम भएका नागरिकहरूले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी भए ।
निराशाजनक मतदान
संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनमा निराशाजनक मतदान भएको छर । निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मात्र मतदान भएको छ । यो ५ वर्षअघिको आमनिर्वाचनको तुलनामा करिब ७ प्रतिशतले कमी हो ।
आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये १ करोड ९ लाख ७३ हजार २७ जनाले मात्र मतदान गरेका छन् । ०४८ सालपछि भएका संसदीय निर्वाचन (संविधानसभासमेत) मध्ये पनि सबैभन्दा कम हो । ०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत र ०६४ को संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मतदान भएको थियो ।
अहिले भएको मतदान ७ महिनाअघि भएको स्थानीय निर्वाचनभन्दा पनि झन्डै ९ प्रतिशत कम हो । स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेकामा ७०.९६ प्रतिशत अर्थात् एक करोड २५ लाख ८३ हजार ८ सय ५० मत खसेको थियो । यसपटक प्रदेश १ मा सबैभन्दा कम ५७ प्रतिशत र मधेसमा सबैभन्दा बढी ६५ प्रतिशत मतदान भएको छ । आयोगले दिएको जानकारीअनुसार वाग्मतीमा ६१.५, गण्डकीमा ६०, लुम्बिनीमा ६०, कर्णालीमा ६३, सुदूरपश्चिममा ५९.७७ प्रतिशत मतदान भएको छ । हिमाली जिल्लाको विवरण अद्यावधिक हुन बाँकी रहेको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार साँझ ८ बजेको पत्रकार सम्मेलनमा ६१ प्रतिशत मतदान भएको जानकारी दिए पनि आयोगको प्रणालीमा ५९.७५ प्रतिशत मात्रै मतदान भएको विवरण थियो । ‘मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी छ । हालसम्मको प्रारम्भिक विवरणअनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको हो,’ थपलियाले भने, ‘यो आयोगले गरेको अपेक्षाभन्दा न्यून हो ।’
![]() |
क्षेत्र नं. १ को १ प्रदेशबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार माओवादी केन्द्रका राधिका तामाङ मतदान गर्दै । |
अघिल्ला चुनवामा कत्ति खस्यो
जनआन्दोलनपछि २०४८ वैशाख २९ गते आम निर्वाचन भएको थियो । एक करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेकोमा ६५.१५ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्क छ । त्यसपछि २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भएको थियो । त्यसमा एक करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा ६१.८६ प्रतिशत मतदान भएको थियो । पाँच वर्षपछि २०५६ मा दुई चरणमा मतदान भएको थियो । आयोगका अनुसार, वैशाख २० र जेठ ३ मा भएको मतदानमा १ करोड ३५ लाख १८ हजार ८३९ मतदाता थिए भने ६५.७९ प्रतिशत मतदान भएको थियो ।
राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछिको समयमा आम निर्वाचन हुन सकेन । २०६२–६३ को जनआन्दोलनपछि २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन भएको थियो ।
त्यति वेला एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकोमा ६१.७० प्रतिशत मतदान भएको थियो । त्यसको ६ वर्षपछि २०७० मंसीर ४ गते दोस्रो पटक संविधानसभाको निर्वाचन भएको थियो ।
एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामध्ये ७८.७४ प्रतिशतले मतदान गरेका थिए । संविधानसभाबाट नयाँ संविधान बनेपछि २०७४ सालमा दुई चरणमा आम निर्वाचन भएको थियो । मंसीर १० र २१ गते भएको निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदातामध्ये ६८.६७ प्रतिशतले मतदान गरेका थिए ।
यसअघि गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । यसमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदातामध्ये ६५.०७ प्रतिशतले मतदान गरेको आयोगको तथ्याङ्क छ ।
नेपालमा भएको पहिलो निर्वाचनमा मात्रै अहिलेभन्दा कम मतदान भएको थियो । आयोगको तथ्याङ्क अनुसार, २०१५ फागुन ७ गतेदेखि चैत २८ गतेसम्म विभिन्न चरणमा मतदान भएको थियो ।
त्यति वेला ४३ लाख ४६ हजार ४६८ मतदाता थिए भने ४२.१९ प्रतिशत मतदान भएको थियो ।
No comments:
Post a Comment