मतदाता नै सचेत हुन जरुरी
निर्वाचन प्रक्रियामा घट्दो जनसहभागिता र जनताले राजनीतिक दलहरूप्रति आफ्नो मतमार्फत दिएको सन्देशले नेपालको राजनीतिलाई नयाँ दिशा दिने संकेत देखिन्छ । ठूल्ठूला वाचा गरेर निर्वाचनमा मत माग्ने तर जितेर गएपछि जनमतको कदर नगर्ने नेताहरूप्रति जनताले देखाएको आक्रोश मत परिणामले प्रष्ट गर्दैछ । स्थानीय निर्वाचनमा जति उत्साह थियो त्यति उत्साह पनि छैन । यसको एउटा कारण हो, जनतामा निर्वाचनप्रति नैराश्यता र अर्को निर्वाचनका बेला जनता विदेश पलायन हुनु । युवाहरूमा वितृष्णा भएको छ । उनीहरू सोच्छन् यो देशमा बसेर केही हुनेवाला छैन । बरु बाहिर गएर दुई पैसा कमायो भने घर परिवार चलाउन सजिलो होला । किन कसैको पछाडि लाग्ने । किन कसैलाई मत दिने । तेस्रो कुरो नेपालमा यो चुनावबाट नयाँ दुईटा दलको उदय भएको छ । एउटा स्वतन्त्र पार्टी र अर्को जनमत पार्टी । यी दलहरूको सन्देश पनि जनतामा राम्रै गएको मत परिणामले देखाउँछ । यो राज्यप्रतिको गुनासो हो । निर्वाचन एउटा इन्डेक्स पनि हो, राज्यको । राज्यप्रतिको जनताको चाहाना कति छ । लगाव कति छ । एउटा संकेत के देखाप¥यो भने राज्यले जनताको समस्याहरू जसबाट युवा, महिला वा वयोवृद्धहरू गुज्रिरहेका छन् । त्यसलाई समाधान गर्नतर्फ राज्य उन्मुख छैन । जसले जनता माझ नैराश्यता छ भन्ने कुराको यो ठूलो सन्देश हो । अरू कुरा केही होइन। जनताले यसपालि राज्यलाई जतिबेला पनि जिन्दावाद, मुर्दावाद मात्र गर्ने होइन। जनताले चाहे राज्यलाई आफ्नो मतमार्फत पाठ पनि सिकाउन सक्छ भन्ने सन्देश दिएको छ । मत दिएर पनि विरोध हुन्छ भने मतदानमा सहभागी नै नहुनु ठूलो विरोध हो । सबै दल उस्तै छन् जनताका लागि केही गर्दैनन् भनेर पनि कतिपय मतदानमा सहभागी नै भएनन् । अर्को एउटा अवस्था यसपालिको निर्वाचनमा प्रतिनिधिसभामा अलि–अलि रुझान देखिए पनि प्रदेशसभा ओझेलमा परेको छ ।
अब आउँदै गरेको नयाँ दल दुई, चार वा कति सिट पाउँछ त्यो हेर्नुपर्नेछ । यदि यिनीहरूले पनि जनताको आकांक्षा पूरा गरेनन् भने यिनीहरूप्रति झन् बढी आक्रोश र वितृष्णा बढ्ने सम्भावना छ । यो ठूलो संकेत हो । यसको अर्थ के पनि छ भने पुरानो दललाई जनताले एकातर्फ पाठ सिकाउन खोजेको छ, ‘तिमीहरू अब आफूलाई करेक्सन गर। आफ्नो कामहरूको बारेमा चिन्तन गर यो एउटा पाठ सिकाउने मेसो, बहाना वा अवसर हो’ जुन जनताले दलहरूलाई दिएको छ । नसुध्रिने राजनीतिक दलहरूलाई जनताले के सन्देश दियो भने हामी विकल्प पनी रोज्न सक्छौं । यसको अर्थ फेरि यो पनि होइन कि नयाँ दलहरूप्रति जनताले बढी लगाव देखाएको होइनन् । साथै सन्देश यो पनि छ यदी यी नयाँ दलहरूले काम गरेनन् भने पुरानाभन्दा पनि नराम्रो अवस्थामा पुग्ने छन् । डा. सिके राउत नेतृत्वको जनमत मधेस केन्द्रित छ । उसको मूल प्रचार हेर्नुहुन्छ भने आफूलाई मधेसवादी भन्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वा जनता समाजवादी पार्टी (जसपा) वा अन्य दलहरूले काम गरेनन् । त्यसकारण म पनि छु है भन्ने सन्देश दिएर निर्वाचनमा सहभागी भएको छ । जनताले यसपालि हेरौं न यिनीहरूलाई भनि मतदान गरेका छन् । हुन त मधेसमा जनमत पार्टीप्रति जनताको गुनासोहरू कम छैन । तर, सबै गुनासोहरू बिर्सेर जनताले यिनीहरूलाई विकल्पका रूपमा एउटा अवसर दिन खोजेको छ । त्यसले यसपालि मधेसमा दुईवटा स्थापित दलको साइज सानो हुनुमा वैचारिक भिन्नता नभई मात्र विकल्पका रूपमा जनमतलाई रोजिनु हो । त्यसैगरी, राष्ट्रिय राजनीतिमा जुन घण्टी छापको उदय भएको छ । त्यसको कारण पनि कुनै वैचारिक ठोस आधार नभई विकल्पका रूपमा जनताले हेर्नु मात्रै हो । त्यसैले यी नयाँ उदयमान राजनीतिक पार्टीहरूमाथि अझ ठूलो जिम्मेवारी छ ।
आउँदो निर्वाचनमा मतदान ४० प्रतिशतभन्दा पनि कम हुन सक्ने सम्भावना छ । यो खतराको घण्टी जनताले बजाउन सुरु गरिसकेको छ । यसमा दुइवटा कुरा छ । एउटा दल र अर्को नेता । अहिलेसम्मको अवस्था हेर्दा नेता केन्द्रित हाम्रा दलहरू छन् । त्यसैले दलका नेताहरू पनि सुध्रिनु प¥यो र राजनीतिक दलमा जुन अभ्यास छन् । ती सैद्धान्तिक, वैचारिक जहाँबाट विचलनहरू भएका छन्, त्यसलाई पुनः स्थापित गर्नुपर्ने आवश्यकता छ । हामीकहाँ कुन सिद्धान्त कसको हो भनि छुट्ट्याउन आमजनताका लागि गाह्रो भइरहेको छ । को समाजवाद उन्मुख र को समाजवाद विरोधी त्यो छुट्ट्याउनै गाह्रो छ । सबै आफूलाई समाजवाद उन्मुख भन्छन् । तर, कोही समाजवादको बाटोमा देखिँदैनन् । सैद्धान्तिक रूपमा प्रष्ट रेखा तान्ने आधार देखिएनन् । त्यसैले सबैलाई जनताले एकै डालोमा राख्यो । सबै अवसरवादी। सबै कुर्सीवादी भन्ने मनोविज्ञान जनतामा विकसित भएको छ । त्यसैले यो मनोविज्ञानलाई तोड्ने जिम्मेवारी पनि राजनीतिक दलको र नेता हो । त्यसैले अब पनि दल र नेताहरूले आफ्नो भूमिकामाथि पुनर्विचार गरेनन् भने नेपालमा राजनीतिप्रति वितृष्णाको प्रतिशत झन् बढ्छ । यो चुनावले हामीलाई दिएको परिणामलाई संख्या र सिटका आधारमा मात्र विश्लेषण गर्छौ । तर, यसको परिणाम गुणात्मक पनि हो । अब राजनीतिक दल र सरकारका लागि मतदाता सचेत हुन जरुरी छ । निर्वाचन आयोगले पनि आफ्नो भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ । पैसाको वितरण नहोस्, भ्रष्टाचार नहोस्, कालोधन निर्वाचनमा खर्च नहोस् ।
No comments:
Post a Comment