Monday, November 28, 2022

नुवाकोटमा ‘क्लीन स्वीप’

सत्ता गठबन्धनबाट नुवाकोटमा निर्वाचित उम्मेदवारहरू क्रमशः अर्जुननरसिंह केसी, रामप्रसाद ढुङ्गाना, बहादुरसिंह लामा तामाङ, हितबहादुर तामाङ, राधिका तामाङ र रमेशकुमार महत । तस्बिर : इमेज

विदुर । सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई नुवाकोटमा क्लीन स्वीप’ गरेको छ । दुई प्रतिनिधि निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको नुवाकोटमा एमालेका कुनै पनि उम्मेदावर विजयी हुन सकेनन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले नुवाकोटमा बरावरी सिट जितेको छ । काँग्रेसले प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट, माओवादी केन्द्रले पनि प्रतिनिधि सभामा एक र प्रदेश सभामा दुई सिट जितेको छ । 

काँग्रेसको तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ मा जिल्ला सभापति रमेशकुमार महत र प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा २  मा केन्द्रीय सदस्य तथा निर्वतनमा संघीय सांसद बहादुरसिंह लामा तामाङ बिजयी भए । 

नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पोलिटव्युरो सदस्य हितबहादुर तामाङ विजयी भएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा केन्द्रीय सदस्य तथा बागतमी प्रदेशका निर्वतनमा उपसभामुख राधिका तामाङ र प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ माओवादीको बागतमी उपाध्यक्ष रामप्रसाद ढुङ्गाना बिजयी भए । 

सत्ता गठबन्धनको जितले नेकपा एमालेका आशालाग्दा नेताहरूलाई राजनीतिक अवरोध सृजना गरेको छ । निर्वतनमा संघीय सांसद नारायणप्रसाद खतिवडा, जिल्ला अध्यक्ष तथा निर्वतनमा प्रदेश सांसद बद्री मैनाली, एमाले बागमतीका अध्यक्ष तथा निर्वतनमा सांसद केशवराज पाण्डेलाई धक्का लागेको छ । भर्खरै काँग्रेस छाडेर एमाले आएका प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ का उम्मेदवार सुशिल खड्काको भने ‘राजनीति विज्ञापन’ भएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार पुर्णलाल श्रेष्ठलाई पार्टी भित्र र आम जनताबीच राजनीति स्थापित गर्न अहिलेको हारले मद्दत गरेको छ । चुनाव जित्न गाह्रो छ भन्ने मानसिकता लिएर मैदानमा गएको श्रेष्ठले अर्को पटकका लागि सजिलो हुने रणनीति अनुसार सक्रिय भएको देखिएको छ । 

प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. २ मा उम्मेदवार बनेका बिजय लोप्चनलाई भने लामो समयपछि पार्टीमा प्राप्त भएको अवसरको सदुपयोग गर्न नसकेको खिन्नता निर्वाचन परिणामले दिएको छ । 

एमालेहरू प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र नं. १ भने जित्नेमा बढी आशावादी थिए । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना कमजोर र प्रदेश सभामै काँग्रेसको तर्फबाट गीता अमात्यको कायम भएको उम्मेदवारीका कारण केशवराज पाण्डेको जितको सम्भावना रहेको उनीहरूको तर्क थियो । पाण्डे आफैंमा बलियो र २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट जितेका कारण पाण्डे चाँही जित्नेमा ढुक्क थिए । ४४९ मतले ढुङ्गानाले जित्नुले पनि उनीहरूको यो तर्कलाई बल पुगेको छ । रुख चिन्हका गीता अमात्यले पनि ४ हजार ६२ मत लिएको छ । 

प्रतिनिधि सभा सदस्य पदका लागि क्षेत्र नं. २ बाट उम्मेदवार बनेका नारायणप्रसाद खतिवडा भने यस पटक उठ्ने मुडमा थिएनन् । उनले यस पटक उठ्ने उम्मेदवार नपाएकै कारण बाध्यताले उम्मेदवारी दिएका हुन् । खतिवडाले चुनाव अघि पटक पटक खुलेर ‘कोही कसैलाई रहर भए उठ्नु’ भन्दै आएका थिए । 

क्षेत्र नं. १ मा बद्री मैनाली भने काँग्रेस–माओवादीको अन्र्तसंर्घष र माओवादी नरुचाउने भोटका कारण जित्ने दाउमा थिए । काँग्रेसबाट माओवादीमा पर्याप्त भोट ‘ट्रान्सफर’ नहुने र द्धन्द्धकालिन कुरा सम्झेर र २०७४ मा डा. रामशरण महत हराएको इखले यो पाली काँग्रेसले नै माओवादी हराउने बुझाई एमालेमा थियो । शिवपुरी र दुप्चेश्वरको मत गणना नहुँदासम्म जितिरहेका बद्री मैनालीलाई अन्तिम परिणामसम्म पुग्दा माथी उक्लन दिएन । तर काँग्रेसबाट गठबन्धका नाममा हितबहादुरलाई जानुपर्ने उल्लेख्य मत भने मैनालीले लिए । 

२०७९ बैशाखमा काँग्रेस त्यागेर एमाले आएका सुशीलकुमार खड्काको भने हिसाव कहिपनि मिलेन । पैसा भएपछि चुनाव जितिन्छ भन्ने मानसिकताका उम्मेदवार खड्का आफै एमालेभित्र रुचाइएन । प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १

मा माओवादी केन्द्रका राधिका तामाङसंग प्रतिस्पर्धा गरेका खड्कालाई कत्तिपय एमालेले समेत असहयोग गरे । पदका लागि पार्टी फेरेको र टिकट नपाए एमालेपनि छाड्ने उनको धम्कीकै कारण पार्टी लाचार भएर टिकट दिएको चुनाव अघिदेखिनै टिप्प्णी हुने गरेको थियो । खड्काको ‘अराजनीतिक इन्ट्री’ भन्दै एमालेका पुराना कार्यकर्ताहरूले जिल्ला अध्यक्ष मैनाली समक्ष विद्रोहको आबाज समेत बुलन्द गरेका थिए । ‘भोलिको चुनाव छ यसो नगरु’ भनेर उनले कार्यकर्तालाई साम्य पारेका थिए । शिवपुरी गाउँपालिकाको मत गणना सुरु हुँदैमा खड्काले आफ्नो फेसबुक पेजमा पोष्ट गरेर मतदाताहरूलाई धन्यवाद सहित आधार व्यक्त गरेका थिए । 

खसेको मतको २० प्रतिशत मत समेत गणना नभइकनै उनलाई चुनाव जितन्न भन्ने लागेको थियो । शिवपुरीका पहिलो गणना भएकै वडामा राधिका तामाङ साढे सात सय भन्दा बढी मतले अगाडी लागेपछि खड्काले आशा मारेका थिए ।

नुवाकोट क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले २६ हजार पाँच सय ४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका बद्री मैनालीले २३ हजार ४६३ मत ल्याएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । सोही क्षेत्रमा तेस्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रधुम्न महत क्षेत्रीले ६ हजार ११३ मत पाएका छन् । माओवादी नेता तामाङ २०७४ को निर्वाचनमा एमाले माओवादी गठबन्धनको तर्फबाट यही क्षेत्रमा निर्वाचित भएका थिए ।

एक लाख २० हजार ७५२ मतदाता रहेको नुवाकोट क्षेत्र नम्बर १ मा ६३ हजार ५८४ मत खसेको थियो । कूल खसेको मतमा ६० हजार १९ मत सदर र तीन हजार ५६५ मत बदर भएको थियो । क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. २ मा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत निर्वाचित भएका छन् । काँग्रेस उम्मेदवार महतले १२ हजार ६०३ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार २९२ मत ल्याए । 

क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी राधिका तामाङले १६ हजार १६९ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका सुशीलकुमार खड्काले ११ हजार ३५० मत ल्याएका थिए । माओवादी नेतृ तामाङ २०७४ मा पनि यही क्षेत्रबाट माओवादी–एमाले गठबन्धनबाट निर्वाचित भएकी थिइन् ।

नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार अर्ज‘ननरसिंह केसी निर्वाचित भएका छन् । काँग्रेस उम्मेदवार केसीले २८ हजार १०७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेले १६ हजार ४७७ मत ल्याएका छन् । यो क्षेत्रमा नेकपा एमाले तेस्रो भएको छ । एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत ल्याएका छन् । २०७४ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले माओवादी गठबन्धनबाट एमालेका खतिवडा निर्वाचित भएका थिए । 

क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना निर्वाचित भएका छन् । ढुङ्गानाले १२ हजार ११० मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशवराज पाण्डेले ११ हजार ६६२ मत ल्याएका थिए । क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर २ मा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बहादुरसिंह लामा तामाङ निर्वाचित भएका छन् । लामाले १७ हजार २४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका विजयसिंह लामा तामाङले नौ हजार १२४ मत ल्याएका थिए । 

No comments:

Post a Comment