![]() |
माओवादी उम्मेदवारहरूसंग समाजवादीका जिल्ला सचिव पदम उप्रेती (बीचमा) । तस्बिर : इमेज |
विदुर । पाँच दलिय सत्ता गठबन्धनबाट नुवाकोटको संघ र प्रदेश निर्वाचनमा दुई दलले मात्रै टिकट भागबण्डा गरेका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा नुवाकोटमा काँग्रेस र माओवादीका मात्रै उम्मेदवार छन् । क्षेत्र नं. १ को प्रतिनिधि सभामा माओवादी केन्द्र, प्रदेश १ मा माओवादी केन्द्र र प्रदेश २ मा काँग्रेसका उम्मेदवार छन् । क्षेत्र नं. २ को प्रतिनिधि सभामा काँग्रेस, प्रदेश १ मा माओवादी केन्द्र र प्रदेश २ मा काँग्रेसका उम्मेदवार छन् ।
सत्ता गठबन्धनका बाँकी तीन दलले नुवाकोटमा टिकट पाएका छैनन् । उनीहरू दुई ठुला दललाई चुनावी सहयोग पु¥याउने भुमिकामा मात्रै छन् । यसको सबै भन्दा बढी चोट एकीकृत समाजवादीलाई परेको छ । पाइसकेको टिकट खोजिएपछि राजनीतिक सकस खेपिरहेको समाजवादीका नेताहरू लोकाचारका लागि गठबन्धको चुनावी अभियानमा प्रस्तुत भइरहेका छन् । गठबन्धको चुनवा परिचालन समितिको बैठकमा समाजवादीको उपस्थििति समेत देखिएको छैन । सुरुका बैठक र अपिलहरूमा समाजवादीको समेत नाम राखिने गरेको भएपनि पछिल्लो समय समाजवादीको सहभागिता संयुक्त बैठकमा देखाइएको छैन ।
क्षेत्र नं. २ को चुनावी कार्यक्रममा समाजवादीकै जिल्ला अध्यक्ष गोविन्द नेपालीले मुख देखाइरहेका छन् । क्षेत्र नं. १ मा गठबन्धनको उम्मेदवारहरूको घरदैलो कार्यक्रममा समाजवादीका जिल्ला सचिव पदम उप्रेती देखापरिरहेका छन् । तर कार्यकर्ताहरू भने चुनावमा परिचालन भएका छैनन् । कार्यक्रममा पुगेकै नेताहरू पनि शिर्ष नेताहरूको निर्देशनलाई ‘मेन्टेन’ गर्ने तरिकाले प्रस्तुत भएका छन् । ‘हामीलाई उत्साह हुने पनि कसरी, स्थानीय तहदेखि यो चुनावसम्म समाजवादीलाई गठबन्धनका अरु ठुला दलले पेलेका छन्’ समाजवादीका एक जिल्ला पदाधिकारीले भने । गएको स्थानीय तह निर्वाचनमा शिवपुरी गाउँपालिकामा माओवादी केन्द्र र समाजवादीको गठबन्धनबाट गाउँपालिका अध्यक्ष उठेका समाजवादी नुवाकोटका सचिव पदम उप्रेतीले हार ब्यहोरे । उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित भए । उप्रेतीको हारको कारण माओवादी नै रहेको किटान समेत समाजवादीले गरिरहेको छ । चुनावको नतिजा पछिको प्रतिक्रियामा पदम उप्रेतीले माओवादीका नेता आफुलाई हराउन लागेको प्रतिक्रिया दिएका थिए ।
उता स्थानीय तह निर्वाचनमा तादी गाउँपालिकामा समेत सत्ता गठबन्धनको तालमेल हुन सकेन र एक्काएक्लै चुनावमा होमिए । माओवादी र समाजवादीबीच हुन लागेको गठबन्धन अध्यक्ष पद कुन पार्टीले लिने भन्नेमा अड्कियो ।
एक्काएक्लै चुनावमा गएको समाजवादीले एमाले भन्दा बढी मत त लियो तादी गाउँपालिकामा तर, अध्यक्ष जित्न सकेन । माओवादीले पनि उपाध्यक्ष सहति तीन वटा वडा अध्यक्ष र २८ जना जनप्रतिनिधिमा १४ जना जितायो भने अध्यक्षले हार व्यहोरे । माओवादीका अध्यक्ष पदका उम्मेदवार किरणकुमार रिजालले २५ सय र समाजवादीका केपी लामिछानेले करिव २ हजार मत लिए । गाउँपालिका अध्यक्षको पदमा भने ३२ सय मत आएको काँग्रेसका सन्तमान तामाङ बिजयी भए ।
असोज २२ गते गठबन्धन दलहरूबीचको क्षेत्र अन्तिम सहमति भएको सूची सार्वजनिक हुँदा नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ नेकपा (एकीकृत समाजवादी)को भागमा परेको थियो । तर, असोज २३ गते मनोनयन गर्न दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एसका पोलिटव्युरो सदस्य राजेन्द्रप्रकाश लोहनी पुग्दा क्षेत्र नं. २ प्रदेश ‘क’ को लागि नै गठबन्धन दल मध्येकै प्रमुख दल नेकपा माओवादी केन्द्रको उम्मेदवारको टिकट बोकेर मनोनयन दर्ता गर्न रामप्रसाद ढुङ्गाना पुगिसकेका थिए । यता नेकपा एसले उक्त क्षेत्रको प्रदेशमा टिकट पाएपछि सोही क्षेत्रको ‘योग्य’ कोही नभटेको भन्दै पूर्वसांसद समेत रहेका लोहनीलाई आफ्नो गृहक्षेत्रभन्दा बाहिर ल्याएर उम्मेदवार बनाइएको थियो । सोही क्षेत्रमा गठबन्धनको सहमति विपरित काँग्रेसकी गीतामा अमात्यले पनि उम्मेदवारी दर्ता भयो ।
उम्मेदवारी फिर्ता लिने दिन असोज २६ गते गठबन्धनले माओवादी उम्मेदवार ढुङ्गानाको उम्मेदवार कायम गर्ने निर्णय लियो । तोकिएको समयमा लोहनीको उम्मेदवारी फिर्ता नलिएको कारण मतपत्रमा एसको चिन्ह कलम कायम हुनेछ । तर, उम्मेदवार लोहनीले सामाजिक सञ्जालबाट फिर्ता लिएको घोषणा गरी गठबन्धन दलका उम्मेदवारलाई सघाउने वाचा गरेका छन् । लोहनीले सामाजिक सञ्जालबाट उम्मेदवारी फिर्ता लिएपनि मतपत्रमा चुनाव चिन्ह कायम भएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नुवाकोटमा २०५६ को आम निर्वाचनमा राप्रपाका डा. प्रकाशचन्द्र लोहनीलाई पराजित गर्न सफल व्यक्ति राजेन्द्रप्रकाश भएको भन्दै उनको उम्मेदवारी कायम राख्न गरेको अन्तिम प्रयास असफल भएको समाजवादीकै नेताहरूले बताएका छन् । गठबन्धनको सामु नुवाकोटमा नेकपा एस किन घुँडा टेक्न बाध्य भयो भन्ने चित्त बुझ्दो जवाफ नेतृत्वले दिन नसकेको नेकपा एसका एक जिल्ला सदस्यले बताएका छन् । नेकपा एसले पाएको क्षेत्र गुमाउनमा नेपाली काँग्रेस र नेकपा माओवादीको गैरराजनीतिक चरित्र हाबी भएको नेकपा एसका पोलिटव्युरो सदस्य तथा उम्मेदवार लोहनीले बताए ।
गठबन्धनको सहमति अनुसार क्षेत्र नं. २ प्रदेश ‘क’ नेकपा एस र प्रदेश ‘ख’ माओवादी केन्द्रले पाएको थियो । सोही अनुसार प्रदेश ‘क’ मा एसमा लोहनी र प्रदेश ‘ख’ मा माओवादीकी राममाया बोगटी उम्मेदवार बने । तर, सहमति विपरित प्रदेश ‘ख’ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले मनोनयन दर्ता गराएपछि त्यो क्षेत्र छाड्न पर्ने बलियो पूर्वानमान गर्दै माओवादी केन्द्रले प्रदेश ‘ख’ मा ढुंगानाको उम्मेदवारी दर्ता गरायो । गठबन्धनले अन्तिममा लामा र ढुङ्गानाको उम्मेदवारी कायम गर्ने निर्णय गरेपछि लोहनी र बोगटी बाहिरिएका छन् । बोगटीले समयमा नै प्रचण्डले नै पत्र पठाएर फिर्ता लिइदिए पनि लोहनीले समयमा फिर्ता नलिएको कारण उम्मेदवारी कायम नै रहन पुग्यो ।
भूमि आयोगदेखि प्रदेशसम्म पेलिए
विदुर । केही समय अघि नेकपा एसको जिल्ला समितिको विस्तारित बैठक बसेर काँग्रेस र माओवादीको रवैयाको खुलेर विरोध गर्दै अन्तिममा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ । सदस्यहरूले भूमि आयोगको सदस्य नियुक्त गर्नेदेखि स्थानीय तह निर्वाचन पेलानमा पर्न बाध्य भएको आक्रोश पोखेका थिए ।
काँग्रेस नेतृत्व सरकारले भूमि आयोगको नुवाकोटको लागि चार सदस्यीय टोली नियुक्त गर्दा प्रमुख काँग्रेसले पाउँदा माओवादीले दुई सदस्य पायो । तर, एसले एउटा सदस्य पनि पाउन सकेन । स्थानीय तह निर्वाचनमा नुवाकोटमा गठबन्धनको काँग्रेस माओवादीको समर्थनमा जिल्लाभरमा नेकपा एसले पाएको एउटै वडाअध्यक्षको उम्मेदवार पनि पराजित भएको थियो । माओवादीको सहकार्यमा शिवपुरी र सुर्यगढी गाउँपालिका अध्यक्षको उम्मेदवार पाउन सफल नेकपा एस निर्वाचनमा भने असफल भयो ।
पोलिटव्युरो सदस्य राजेन्द्रप्रकाश लोहनीले कार्यकर्ताहरूलाई धैर्य रहन आग्रह गर्दै काँग्रेस र माओवादी नुवाकोटमा समाजवादी पार्टी नआओस् भन्ने चाहेको र स्थानीय तहको निर्वाचनदेखि नै काँग्रेस र माओवादीले एकलौटी रुपमा समाजवादीलाई पन्छाउन खोजेको आरोप लगाएका छन् । उनले नेकपा एस ओलीलाई सत्ताबाट हटाउनमात्र दुरुपयोग हुनु परेकोमा दुःख व्यक्त गर्दै समाजवादी पार्टी एउटा प्रदेशको सीटमै विचलित हुन नहुने भन्दै आफ्नै चित्त बुझाउँदै कार्यकर्तालाई ढाडस दिएका छन् ।
No comments:
Post a Comment