विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट गत स्थानीय निर्वाचनमा बिदुर नगरपालिका वडा नम्वर ८ को वडा सदस्यमा निर्वाचित युवा सामाजिक कार्यकर्ता श्रीकृष्ण रिजालसहित क्यौरिनी गाउँका ६० जना नागरिक नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
नुवाकोटको सामाजिक बिकासको क्षेत्रमा आफ्नो बिशिष्ट पहिचान बनाउँदै एमालेको राजनीतिमा सक्रिय रिजालसहित नवप्रबेशीहरूलाई शुक्रवार क्यौरिनीमा आयोजित एक कार्यक्रमका बीच काँग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार अर्जुननरसिंह केसी र काँग्रेस केन्द्रीय सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ प्रदेशसभा ख का उम्मेदवार बहादुरसिंह लामा तामाङले पार्टीमा स्वागत गरे । काँग्रेस प्रबेश गरेका वडा सदस्य रिजालले मुलुकको समग्र बिकास काँग्रेस नेतृत्वको गठबन्धनको जितबाट मात्र सम्भव रहेको निष्कर्षका साथ आफू नेपाली काँग्रेसमा समाहित भएको र गठबन्धनको जितका लागि क्रियाशिल रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय केसी र लामा, माओवादी पोलिटब्यूरो सदस्य बिमला सुबेदी, संबिधानसभा सदस्य एवं काँग्रेस नेता जगदीश्वरनरसिंह केसी, माओवादी केन्द्रका नुवाकोट सह–ईञ्चार्ज एवं बागमती प्रदेशसभाका निवर्तमान सदस्य हिरानाथ खतिवडा, नुवाकोट काँग्रेसका उपसभापति एवं जिल्ला निर्वाचन परिचालन समितिका संयोजक राजु थापा, सहसंयोजक एवं माओवादी केन्द्रका नेता कल्पना रिमाल, काँग्रेस नेताहरू सुरेन्द्रराज अधिकारी, फैसिङ तामाङ, उमंगमान शाक्य लगायतले देशैभर गठबन्धनको पक्षमा देखिएको लहरले संघ र प्रदेशमा गठबन्धको स्पष्ट बहुमत सुनिश्चित गरिसकेको बताउँदै नागरिकको गठबन्धनप्रतिको सद्भावलाई सदैब सम्मान गरिने धारणा ब्यक्त गरेका थिए ।
रिजालको पद जानसक्ने
नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेको घोषणा गरेका वडा सदस्य श्रीकृष्ण रिजालको पद भने जाने भएको छ ।
एमाललेले विदुर नगरपालिकाको कार्यपालिकालाई पत्र लेखेर उनी पार्टीमा नरहेको जनाउ दिएपछि पद जाने छ । मेयरले निर्वाचन आयोगलाई रिजालले आफु निर्वाचित भएको पार्टी परित्याग गरेको जानकारी दिनुपर्ने प्रावधान छ । तर मेयरले उक्त विवरण निर्वाचन आयोगमा नपठाएको मितिसम्म भने उनको पद रहिरहने छ । मेयरले निर्वाचन आयोगलाई उक्त जानकारी नदिएमा भने एमाले अदालत जानसक्ने कानूनी प्रावधान रहेको छ ।
काँग्रेसबाटै निर्वाचित मेयर विदुर नगरपालिकामा रहेका कारण उनको पद टिकाउने प्रयास मेयरबाट हुने अनुमान छ ।
No comments:
Post a Comment