रामप्रसाद ढुङ्गाना
प्रदेश सभा सदस्य, नुवाकोट क्षेत्र नं. २ प्रदेश नं. १
नुवाकोट जिल्ला पञ्चायतका उपसभापति समेत भइसकेका रामप्रसाद ढुङ्गाना यतिबेला उमेरले ठ्याक्कै ७२ काटेर ७३ वर्षमा कुँदिरहेका छन् । उनी उप सभापति हुँदा अहिले उनीसंग गठबन्धनमा रहेर प्रतिनिधि सभामा नुवाकोट क्षेत्र नं. २ बाट भर्खरै निर्वाचित भएका काँग्रेस नेता अर्जुननरसिंह केसी नै सभापति थिए ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १ आरुखर्कमा २००६ साल फागुन २ गते जन्मिएका रामप्रसाद ढुङ्गाना पञ्चायतदेखि बहुदल हुँदै जनयुद्ध र संघीय लोकतान्त्रीक गणतन्त्रको यो व्यवस्थासम्म अविराम राजनीतिको यात्रामा क्रियाशील छन् । ढुङ्गाना अहिले नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष छन् ।
पिता गुरुप्रसाद र आमा टिकादेवीको सन्तानको रूपमा सामान्य किसान परिवारमा जन्मिएका उनले २०२७ सालमा मेट्रिक्स पास गरेका थिए । उनी २०३३ सालदेखि राजनीतिक सक्रिय छन् । पञ्चायतको राजनीतिमा इमान्दारिताको पहिचान बनाएका उनी माओवादी आन्दोलनमा होमिएपछि सबैको ‘बा’ उपनाम पाएका थिए । उनको पार्टी भित्र उपनाम थियो ‘कमरेड कपिल’ । जनयुद्धको बेला चितवन, मकवानपुर, धादिङ, नुवाकोटका विभिन्न भुगोलमा उनको जिम्मेवारी थियो ।
नुवाकोट जिल्ला पञ्चायतका उपसभापतिसम्म भएका उनलाई जनयुद्धमा माओवादीको जनसत्ता संयुक्त क्रान्तिकारी जनपरिषद्ले सञ्चालन गरेको जनअदालतमा जिल्ला न्यायाधिशको जिम्मेवारी दिएको थियो । उनी २०५८ सालको मंसिर ११ गते संकटकाल घोषणासँगै भूमिगत राजनीतिको यात्रामा सामेल भए ।
उनको सांसदका रुपमा पहिलो जिम्मेवारी हो । लाभको पदमा कहिल्यै देखानपरेका ढुङ्गानाले पहिलो अवसरलाई नै सदुपयोग गरेका छन् । माओवादी नेताका रुपमा भन्दा पछि उनी पुराना राजनीतिज्ञका रुपमा जिल्लामा परिचित छन् ।
No comments:
Post a Comment