दुप्चेश्वर मेलाको बढ्दो प्रचार
नेपाली चर्चित र धेरै प्रयोग हुने मोवाइल एप नेपाली पात्रोमा यो साल मंसीर २१ गते नुवाकोट दुप्चेश्वर मेला भनेर लेखिएको पाइन्छ । मंसीर १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त मेलाको मुख्य दिन यो पाली १९ गतेदेखि २१ गते नै हो । नेपाली पात्रोमा उल्लेख भएको दुप्चेश्वर मेलाका कारण यसको प्रचारमा पछिल्लो समय भएको व्यापकतालाई पुष्टि गरेको छ । केही वर्ष अघिसम्म नुवाकोट र आसपासका जिल्लामा मात्रै चर्चामा रहेको दुप्चेश्वर जात्रा अन्तराष्ट्रियस्तरमा फिजिएको प्रमाण नेपाली पात्रोमा यसको तिथि उल्लेख हुनु पनि हो ।
दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्ने गरेको छ । व्यापार व्यवसायका लागि टाढादेखिका व्यापारीहरू ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरूको जमघट यहाँ बाक्लै हुन्छ । धान्यपूर्णिमामा हुने विशेष जात्रा बाहेक पनि यहाँ नियमित रुपमा मेला लाग्दै आएको छ । आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वर महादेवको दर्शन र पुजा आराधना गर्न भक्तजनको ओइरो लाग्ने गरेको छ । त्यस्तै, परम्परागत उपचार विधि र दैविक शक्ति रहेको मानिने धामी–झाँक्रीहरू आफ्नो विधि अनुसार श्री महादेबबाट आफ्नो मन्त्र शिद्ध गर्न पनि यहाँ आउने गरेका छन् । आफु र आफ्नो कुटुम्वमा खान लाउन अभाव नरहोस्, पशु थारो नहोउन् भनेर मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको बेलामा लामा तथा झाक्रीहरू दुप्चेश्वर महादेवको अनुष्ठानका लागि आउने गरेका छन् । हरेक वर्षको धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश जात्रा लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतीहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । सन्तानमा पनि छोराको रहर गर्ने दम्पतीहरू यहाँ आउने गरेका छन् । विश्वास र श्रद्धाका साथ दुप्चेश्वर महादेवसंग पुत्र वर माग्दा प्राप्त हुने विश्वास सदिऔंदेखि रहिआएको छ ।
अनकण्टार चिसो पहरामा अवस्थित देवाधिदेव यी महादेवको दर्शन र पुजाका लागि नुवाकोट बाहेक काठमाडौं उपत्यका, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, बारा, चितवन लगायतका थुप्रै जिल्ला तथा भारतबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित यस दुप्चेश्वर महादेव स्थान सबै जातजाती, भाषा तथा धर्मालम्बीहरूका लागि साझा थलोको रुपमा विकास भएको छ । पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले यहाँसम्म आइपुग्नका लागि सडकलाई सहज बनाएको छ, दुप्चेश्वर महादेवको बढ्दो प्रचारले अहिले श्रद्धालु भक्तजनहरूको उपस्थिति बाक्लो रहेको छ । झट्न सुन्दा अपत्यरिलो लाग्ने प्रसङ्ग छोरा माग्दा प्राप्त गर्ने यहाँको वरदानका अनगिन्ति साक्षिहरू छन् । निःसन्तानले सन्तान प्राप्त गरेको देखि छोरा प्राप्त गरेको उदाहरण यहाँ आउने दर्शनार्थीहरूमा बाक्लै पाउन सकिन्छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोलेका बालबच्चा बोल्नथाल्ने विश्वासमा टाढाका भक्तजनले भाकल गर्ने र पुरा भएपछि श्री महादेवको दर्शनका लागी आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान, विवाह नभएकाहरूले लगन जुराइ माग्ने र पुराभए पछि दर्शन गर्न आउने भक्तजनहरूको अनुभव सुन्न पाइन्छ । गोठमा थारा गाईभैसी हुनेहरू गाई भैसी ब्याओस् भनी भाकल गर्न इाँहा आइपुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् ।
यहाँको जात्रामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री समेत हुने गरेको छ । जात्रा अवधिभर तीर्थयात्रीहरूका लागि खाना र बासको अस्थायी संरचनाहरू तयार हुने गरेका छन् । सन्तान माग्ने आउने कारणले पनि यस क्षेत्र सबै धर्मालम्वीहरूको साझा स्थल बनेको छ । विशेष गरी हिन्दु र बौद्ध धर्मालम्वीहरू बरोवरी आस्था प्रकट गर्न आउने यहाँ अन्य धर्मालम्वीहरूको समेत उपस्थिति रहिआएको छ । धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातीहरू ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरूको लर्को यसको अर्को आकर्षण हो । र पनि यसको जीत्त मात्रामा प्रचारप्रसार र प्रर्वद्धन हुनुपर्ने हो त्यसको तुलनामा न्यून देखिन्छ । यसको परम्परागत इतिहास, स्थानीयकोहरूको धार्मिक आस्था र फैलदो यसको आन्तरिक प्रवद्र्धनलाई भब्य पार्न सक्दा नुवाकोटको पहिचानमा एउटा कोशेढुङ्गा बन्न सक्छ । त्यसका लागि सामाजिक संघसंस्थादेखि स्थानीय सरकारको विशेष र एकद्धार प्रर्वद्धनका कार्यक्रमको बढी खाँचो देखिएको छ ।
No comments:
Post a Comment