Monday, December 26, 2022

विदुरको खानेपानी तरकारी खेतीमा

पत्रकारसंग अन्तरक्रिया गर्दै खानेपानी विभागका कर्मचारी तथा विदुर खानेपानी संस्थाका पदाधिकारी । 
विदुर । कुनै समय खानेपानी हप्तौसम्म उपभोक्ताको धारोमा तुरुक्क पनि पार्न नसक्ने विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई अहिले नयाँ विषयमा टाउको दुख्न थालेको छ । 

मंगलवार विदुरमा संस्थाका अध्यक्ष लगायतका पदाधिकारी र खानेपानी विभागबाट आएका इञ्जिनियरहरू भन्दै थिए– ‘खानेपानी बारीमा लगाएर मानिसहरूले तरकारी खेती पो गर्न थाले ।’ पानीको ट्याङ्की नजिक भएकाहरूले पानी २४ सैं घण्टा बारीमा लगाउने र सिञ्चाईका लागि प्रयोग गर्न थालेपछि टाढाका उपभोक्ता र बढी ‘प्रेसर’ले उक्ल्नु पर्ने ठाउँमा पानीको प्रबाह कम हुन थालेको छ । 

मासिक तीन सय रुपैयाँ न्युनतम शुल्क रहेको संस्थाको खानेपानी घरायसी प्रयोगमा मात्रै नसकिने भएपछि धेरै उपभोक्ताले करेसाबारीमा सिञ्चाईको लागी पानी प्रयोग गर्न थालेको अनुगमनमा भेटिएको छ । ‘तीन सय रुपैयाँ तिरपछि हामी जेसुकै गरौं भन्ने मानसिकता उपभोक्तामा भेटियो’ खानेपानी विभाग अन्र्तगतको तेश्रो शहरी खानेपानी तथा सरसफाई आयोजनाका प्रमुख कन्सल्टेण्ट हरिप्रसाद शर्माले भने । 

उपभोक्ताहरूको घर र धारो अनुगमनमा पानीलाई सिञ्चाईको रुपमा प्रयोग गरेको फेला परेको उनले सुनाए । ‘यो चिन्ताको विषय हो, यसरी खानेपानीको दुरुपयोग हुँदा परसम्म पु-याउनु पर्ने पानी नजिकै बढी खप हुन्छ, जसले गर्दा देविघाट त्रिशुलीको कोलोनी क्षेत्रमा पानीको प्रबाह कम भएको छ’ शर्माले भने । 

ईञ्जिनियर बिनोद देवकोटाले समेत अनुगमनका क्रममा पिउने पानीबाटै सिञ्चाई भइरहेको भेटिएको बताएका छन् । ‘विदुरमा सागबारीमा पानी लगाउने र तरकारी फलाउने चलन सुरु भइसकेको रहेछ, पहिला म यही ठाउँमा आउँदा मास फलेको ठाउँमान अहिले काउली र साग फल्न थालेछ’, देवकोटाले भने ‘केही समय अघि खाने पानी नभएको ठाउँमा अहिले सिञ्चाई पो हुन थालेको छ, यो दुरुपयोगको नियन्त्रण आवश्यक छ ।’ उनले विदुर खानेपानी संस्थालाई न्युनतम शुल्क वृद्धि गरेर भएपनि यसलाई नियन्त्रण गर्न सुझाव दिएका छन् । 

‘बरु न्युनट शुल्क मासिक ५०० बनाएर छ युनिट दिनुपर्छ जस्तो लाग्यो, अहिले त ३०० तिरेपछि महिनाभरी मैले जसरी प्रयोग गरेपनि भैहाल्यो नि भन्ने मानसिकता उपभोक्ताहरूमा रहेछ’ देवकोटाले भने । 

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिव श्रेष्ठले पानी सदुपयोगका लागि उपभोक्ताहरूलाई आग्रह गरेका छन् । न्युनतम युनिट समेत उठेन भन्दै सिञ्चाई लगायतका अन्य प्रयोजनमा पानीको खर्च गर्ने क्रम बढे सबै उपभोक्ताको धारोमा पानी पु-याउन कठिन हुने भएकोले पानी सदुपयोगका लागि उनले आग्रह गरेका हुन् । 

प्रति उपभोक्ता दैनिक ८० लिटर पानी भए पुग्ने अनुमानका आधारमा पानीको वितरण कार्य भएकोले त्यही अनुरुपमा अझै केही वर्ष खानेपानी पु-याउने लक्ष्य रहेको श्रेष्ठले बताए । अहिले धारोमा आइरहेको पानीलाई पिउन लायकको बनाउने र त्यसका लागि आवश्यक शुद्धिकरणको कार्य सुरु भइसकेकोले आफुहरूले वितरण गरिरहेको पानी नै पिउनका लागि उपयुक्त हुने उनलको भनाई रहेको छ । 

तुण्डीका कारण आयोजनामा ढिलाई

विदुर खानेपानी तथा सरसफार्ई उपभोक्ता समिति मार्फत नगरपालिकामा निर्माणाधिन तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको उपभोक्ता समिति र आयोजना पक्षले अनुगमन गरेको छ । अनुगमनको क्रममा भेटिएको तथ्यलाई मंगलवार विदुरमा पत्रकारहरू माझ सार्वजनिक गरेका छन् । 

निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको अनुगमन गर्दै आयोजनाले ठेकेदार कम्पनीको बदमासीका कारण समयमै आयोजना सम्पन्न हुन नसकेको उनीहरूले बताएका छन् । आयोजनाको बित्तिय प्रगती ९४ प्रतिशत सम्पन्न भएको बताइएको छ । भौतिक प्रगती भने केही कम छ । मुख्य लाईन निर्माण सम्पन्न भएपनि सहज रुपले पानी बितरण नभएको बताइएको छ । 

२०७३ सालमा सुरु भएको तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना दुई बर्ष भित्र निर्माण सम्पन्न हुनु पर्नेमा छ बर्षसम्म पुरा भएको छैन । आयोजना, उपभोक्ता समिति र स्थानीय सरोकारवाला निकायहरूले पटक पटक निर्माण कम्पनीलाई दबाब दिदै आएको छ । आयोजनाले निर्माण कम्पनीलाई दिनु पर्ने भुक्तानी रकम समेत रोकेको छ । 

आयोजनाको अनुगमन गर्दै तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाका ईन्जिनियर किशोर पन्थीले आयोजनाको प्रशारण लाइनलाई केही स्थानमा मर्मत सम्भार गरेर निर्माण कम्पनीले उपभोक्ता समितिलाई आयोजना हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आयोजनाले तयार बनाएको डिजाईन अनुसार सम्पुर्ण काम सम्पन्न भएपछी खानेपानी आयोजनाको पुर्ण स्वामित्व बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको रहने छ । 

आयोजनामा सुरुवाती चरणबाटै आबद्ध रहेका आयोजनाका प्रमुख कन्सल्टेण्ट हरिप्रसाद शर्माले सुरुवाती चरणमानै निर्माण कम्पनीको बदमासीले अहिलेसम्म विदुरका नागरिकहरूले सहज रुपले पानीको उपभोग गर्न नपाएको उल्लेख गरेका छन् । शुद्ध पिउने पानी बितरण गर्नु पर्ने खानेपानी आयोजनाको केही प्राबिधिक गडबढीका कारण पिउन योग्य पानी नागरिकको घरमा पु-याउन नसकेको उनले बताएका छन् । निर्माण कम्पनीले प्रयोग गरेका सामाग्रीमा समेत कमसल पाईएकाले त्यस तर्फ समेत निर्माण कम्पनीलाई सचेत गराएको शर्माले बताए । 

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत कार्यान्वयनमा रहेको तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य तुण्डी कम्पनीले गर्दै आएको छ । आयोजनाको निर्माण कार्यको सुरुवाती चरणबाटै निर्माण कम्पनी बिबादमा छ । पटक पटक आयोजनाको सामाग्री कवाडीलाई बिक्रि गर्ने, कमसल सामाग्री प्रयोग गर्ने, तोकिएको समयसिमामा निर्माण सम्पन्न नगर्ने तुण्डी कम्पनीलाई आयोजनाले भुक्तान गर्नुपर्ने रकम समेत अहिले रोकेर राखेको छ । 

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सञ्जिब श्रेष्ठले आयोजनाको लागतको केही प्रतिशत रकम स्थानीय नागरिकहरूले समेत खर्च हुने छ । एशियाली बिकास बैंकको सहयोगमा निर्माणाधिन अबस्थामा रहेको तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाले तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि ठेकेदार कम्पनीलाई एक बर्ष समय थपिएको थियो । दुईपटक आयोजनाको समय थप भइसकेको छ  ।

No comments:

Post a Comment