Monday, December 12, 2022

२०७९ साल मंसीर २६ गतेको सम्पादकीय

 लैंगिक समानतायुक्त समाज

घरेलु हिंसा, बेचबिखन, बलात्कार, हत्या मात्र महिला हिंसा होइनन् । महिला भएकै कारण सहभागिता र अवसरबाट वञ्चित हुनु पनि हिंसा नै हो । महिला हिंसाबारे चर्चा गर्दा बलात्कारबाहेक अन्य प्रकारका हिंसालाई पनि ध्यान दिन जरूरी छ । बलात्कारमै पनि वैवाहिक बलात्कारका अधिकांश घटना प्रहरीसम्म पुग्ने गर्दैनन् । त्यसबाहेक दिनहुँ हुने घरेलु हिंसा त झन् बढी लुकाइन्छ । अति नै भएपछि मात्र सार्वजनिक हुने र प्रहरीकहाँ पुग्ने गर्छन् । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । फरक यत्ति हो त्यो कुराको महशुस महिलाले धेरै पछि मात्रै गरे । महिला हिंसा महिला वा बालिका विरुद्धको हिंसा हो । विशेषगरी महिलाको विरुद्ध अधिकार, श्रेष्ठता, महिला दुर्बलताको दृष्टिकोणको भावनाबाट उत्पन्न हुन्छ । महिला विरुद्ध हिंसा निर्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भनिएको छ, ‘महिला विरुद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रूपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो, एक महत्वपूर्ण सामाजिक विकृति हो, जहाँ महिलालाई अधीनस्थ स्थितिमा र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’ व्यक्तिबाट बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि पर्छन् । राज्यतर्फ सैन्य योद्धाद्वारा हुने बलात्कार, यौन हिंसा र द्वन्द्वको समयमा यौन दासत्व, जबर्जस्ती गर्भपात, प्रहरी, सुरक्षाकर्मी र कार्यालयमा कार्यरत महिलाहरूमा हुने सांगठनिक हिंसा आदिलाई लिन सकिन्छ ।

हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गिक हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ । हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी आफ्ना छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ । त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ?

समग्रमा आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रुर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानूनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान् ?

लैंगिक विभेदको अन्त्यका लागि हामीले तात्कालिक र दीर्घकालीन संघर्ष गर्नुपर्छ । तात्कालिक संघर्षको अर्थ अपराधविरूद्धको लडाइँ हो। त्यसका लागि उजुरीमा पहुँच, प्रभावकारी अनुसन्धानमा जोड, मुद्दा/पैरवीमा प्रभावकारिता आवश्यक छ । 

दीर्घकालीन संघर्ष समाजको संचरनात्मक परिवर्तनसँग सम्बन्धित छ । लैंगिक विभेद संरचनागत विभेद हो । समाजको संरचनमा पुरूष शक्तिसम्पन्न र महिला शक्तिहीन बनाइएकाले नै यो विभेद कायम भएको हो । यो विभेदको कर्ता पुरूष भएकाले विभेद अन्त्यका लागि पनि पुरूषले पहिलो कदम थाल्नुपर्छ । महिला हिंसा वा महिलामाथि हुने विभेदको विरोध महिलाको मात्रा चासोको विषय बन्नुहुँदैन । जबसम्म लैंगिक समानतायुक्त समाज हुँदैन, तबसम्म त्यसका असर पुरूष र महिला दुवैले भोग्नुपर्छ । त्यसैले लैंगिक समानतामा पुरूषले पहिलो कदम थाल्नुपर्छ । अर्कोतर्फ महिलालाई शक्तिसम्पन्न बनाउन जोड दिनैपर्छ । त्यसका लागि महिलालाई आर्थिक र शैक्षिक रुपमा सक्षम बनाउन जरूरी छ । महिलालाई आर्थिकरुपमा सक्षम बनाउन सीप सिकाउनुपर्छ । साथसाथै त्यो सीप उपयोग हुने गरी उत्पादन प्रणालीमा सहभागी गराउनुपर्छ । 

No comments:

Post a Comment