Monday, December 12, 2022

समानुपातिकबाट थपिए तीन सांसद, प्रतिनिधि सभामा नुवाकोटबाटै पाँच जना

 डा. प्रकाशशरण महत

विदुर । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या पाँच पुगेको छ । प्रत्यक्षबाट निर्वाचित दुई जना र समानुपातिबाट तीन जना नुवाकोटबाट प्रतिनिधि सभामा प्रतिनिधिा रुपमा चुनिएका हुन् । प्रत्यक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट एकएक जना निर्वाचित भएकोमा समानुपातिबाट काँग्रेसका दुई जना र माओवादी केन्द्रका एक जना निर्वाचित भएका छन् । 

महिलाको संख्या प्रत्यक्षबाट कम निर्वाचित भएपछि महिला बढी चुनिएकोमा नुवाकोटकै दुई जना परेका छन् । यही व्यवस्था अनुसार नुवाकोटबाट दुई जना महिला प्रतिनिधि सभा सदस्य बनेका हुन्  । त्यसै गरी एक जना पुरुष सांसदको कोटा पनि नुवाकोटले नै पाएको छ । नेपाली काँग्रेसका तर्फबाट समानुपातिकको बन्द सूचीमा रहेको डा. प्रकाशशरण महत, सीता मिजार र नेकपा माओवादी केन्द्रका बिमला सुवेदी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राप्रपाका तर्फबाट समानुपातिकमा रहेका नुवाकोटका डा. प्रकाशचन्द्र लोहनीलाई भने निर्वाचित हुनका लागि मत पुगेन । उनी खस आर्य सूचीको दोश्रो नम्वरमा थिए, पहिलो नम्वरमा रहेको मात्रै उनको पार्टीबाट समानुपातिकमा निर्वाचित भएका छन् । 

काँग्रेसका डा. प्रकाशशरण महतको नाम खस आर्य समुहको पहिलो नम्वर थियो । त्यस्तै, काँग्रेकै सीता मिजारको नाम दलित समुहको तेश्रो नम्वरमा थियो । माओवादी केन्द्रका बिमला सुवेदीको खस आर्य समुहको दोश्रो नम्वरमा नाम थियो । एमालेले तयार गरेको बन्द सूचीमा समावेश भएका नुवाकोटका नेताहरूको क्रमसंख्या निक्कै पछाडी भएका कारण कोही पनि समानुपातिक तर्फबाट समेत निर्वाचित हुन सकेनन् । 

बिमला सुवेदी
नुवाकोटबाट समानुपातिकमा सबै भन्दा बढी मत नेपाली काँग्रेसले लिएको थियो । काँग्रेसले ३५ हजार ८३६ मत ल्याएको छ । नेकपा एमालेले ३१ हजार ५१५ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले २५ हजार ५६१ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार २८३ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ४५३ मत ल्याएको छ । समानुपातिकतर्फ नेकपा एकिकृत समाजवादी पार्टीले प्रतिनिधिसभा तर्फ ९५८ मत मात्र ल्याएको छ ।

यसै बीच, आफैंले बुझाएको बन्दसूचीको क्रम मिचेर राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । दलहरूले आफैं निर्धारण गरेको प्राथमिकता मिचेर प्रतिनिधिसभा र प्रदेशसभामा क्रमसंख्याको तलतिर भएका नाम आयोगमा पेस गरेका हुन् । यस अघि आयोगमा पेस भएको सूचीलाई हेरपेश गर्दै दलहरूले आफु र आफ्ना नेता अनुकुलका नामलाई अन्तिम रुप दिएका छन् । 

सीता मिजार

यस विषयमा भने नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले एक दिन अघिनै आफ्नो धारणा सार्वजनिक गरेका थिए । शनिवार नै केसीले अहिलेको अवस्थामा आएका चुनौतीहरूलाई समाधान गर्नेगरी समावेशीतालाई ध्यानमा राखेर समानुपातिक सांसदहरूको सूची टुंगो लाग्नपर्ने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि पत्रकाहरूसंग कुराकानी गर्दै नेता केसीले भने, ‘अहिले हामीमाथि जुन चुनौती आएका छन् । त्यसलाई सम्बोधन गर्न समावेशी संरचनालाई ख्याल गरेर अन्तिम निर्णयमा पुगौं भन्ने मेरो भनाई छ ।’ अहिलेको समग्र परिस्थिति समावेशी चरित्रलाई कसरी संयोजन गर्न सकिन्छ भन्नेबारेमा बैठकमा महामन्त्री गगन कुमार थापाले भनाई राखेको उनले जानकारी दिएका थिए । 

No comments:

Post a Comment