Monday, December 05, 2022

दुप्चेश्वर मेला सुरु


रामती । नुवाकोटको पहिचानकै रुपमा स्थापित भएको दुप्चेश्वर मेला सुरु भएको छ । आइतवारबाट २२ गतेसम्म सञ्चालन हुने यस पटकको मेलाको मुख्य दिन आज सोमवारदेखि बुधवार २१ गतेसम्म रहेको छ । 

मेलामा सहभागि हुने भक्तजनको सुविधाका लागि दुप्चेश्वर क्षेत्र विकास कोषले आवश्यक पुर्वाधारहरूलाई व्यवस्थित पारेको छ । महादेकवो दर्शन गर्ने र पुजाआजा गर्नेहरूका लागि लाइन व्यवस्थित पार्ने देखि अन्य भौतिक पुर्वाधारको काम सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । अघिल्ला वर्षहरूको तुलनामा मेलालाई थप व्यवस्थित र सुविधायुक्त बनाउने गरी तयारी सम्पन्न भएको उनले बताए । सवारी साधनलाई रामतीसम्म सहज रुपमा आवातजावतको व्यवस्था गर्न बसडकको सुधार भएको मन्दिर आसपासमा अस्थायी वासास्थान र तिर्थयात्रीका लागि स्थानको लागि अस्थायी क्षेत्रको व्यवस्थापन भएको उनले बताएका छन् । 

 क्षेत्र विकास कोष अध्यक्ष दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङ, सचिव वडा नं. ६ का अध्यक्ष बुद्धिमान तामाङ र कोषाध्यक्ष राजकुमार श्रेष्ठ छन् । 

दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्छ । व्यापार व्यवसायका लागि व्यापारीहरू ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरूको जमघट यहाँ बाक्लै हुन्छ ।  आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वरको दर्शन र पुजा आराधना गर्न ओइरो लाग्ने गरेको छ । 

No comments:

Post a Comment