विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले अघिल्लो हप्ता राजनीतिक भेटघाटलाई यत्ति तिब्र पारे की, भेट्न बाँकी शिर्ष नेताहरू नै कोही रहेनन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मलाई केसीले भेट्घाट गरे । केसीले एकपछि अर्का शिर्ष नेतासंग गरेको राजनीतिक भेट र प्रचारले केसी के गर्दैछन् भन्ने प्रश्न खडा गरेको छ ।
चुनाव प्रचारप्रसारको समयमा आफु सांसद बन्नका लागि मात्रै उम्मेदवार नबनेको र जितेपछि गतिलै पदमा रहने मतदातालाई बारम्बार भन्दै आएका थिए । चुनवाी जितेको पछिको धन्यवाद ज्ञापन कार्यक्रमलाई जिल्लामा सकेर काठमाडौं पस्ने बित्तिकै नेता केसी एकाएक शिर्ष नेताहरूको घरमा पुगेको फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेको छ । नेता केसी गठबन्धनमा आवद्ध दलसहित एमालेका शीर्ष नेताहरूसँग समेत भेटघाट गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा समसामयीक राजनीतिक विषय, अर्थतन्त्र सुधार, विकास निर्माण, भ्रष्ट्राचार नियन्त्रण र अब बन्ने नयाँ सरकारको प्राथमिकता लगायतका विषयमा छलफल गरेको बताएका छन् । नयाँ बन्ने संसदमा कुनै भूमिकामा लागि नेता केसीले भेटघाटलाई तीव्रता दिएको धेरैको बुझाइ रहेको छ । केही दिनयता केसी निकटले सभामुखका लागि उपयुक्त पात्र रहेको भनेर चर्चा समेत गरिरहेका छन् । जस कारण पनि नेता केसीको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तर आफूले कुनै पनि व्यक्तिगत पद प्राप्तिको विषयमा भेटघाट नगरेको नेता केसीले बताए । परिस्थिती निर्माण भएमा जस्तोसुकै जिम्मेवारी लिन पनि तयार रहे पनि व्यक्तिगत पद प्राप्तीको लबिङ भेटघाटको विषय नभएको उनले बताए । ‘मेरो भेटघाट व्यक्तिगत लक्ष्य र उद्देश्यका निमित्त होइन । जनताका आकांक्षा र अब आउने चुनौतीको सामनाका लागि राजनीतिक दलहरू एक भएर लाग्नुपर्छ भन्ने सन्देशसहित भेटघाटलाई तिव्रता दिएको हुँ ।’ नेता केसीले भने ।
भेटघाटका क्रममा आफूले जनताले सुनाएका निराशाहरूका विषयमा नेताहरूसँग कुरा राखेको र अब बन्ने सरकारलाई सो विषयमा झक्झक्याउने किसिमको वातावरण तयार गर्ने गरी आफू लागेको बताए । ‘पुरानै अनुहार, पुरानै विचार र पुरानै शैलीले जनतामा जुन किसिमको निराशा आएको छ, त्यसलाई चुनौतीको रुपमा लिएर अब बन्ने सरकारले त्यसको निराकरण गर्न‘पर्ने देखिन्छ ।’ नेता केसीले भने । राजनीतिक दलहरू सत्ता केन्द्रीत भएको र जनजिविकाको सवालमा काम हुन नसकेको बताए । जसको कारण अब बन्ने सरकार व्यक्ति केन्द्रीत भन्दा पनि जनचासो र गुनासाका विषय उठान गर्न सक्ने व्यक्तिलाई सत्ताको नेतृत्व दिनुपर्ने विषयमा नै छलफल भएको उनी बताउँछन् ।
बाहिर चर्चा भएजस्तो आफूले व्यक्तिगत रुपमा कुनै पदका लागि दाबी नरहेको उनको धारणा रहेको छ । जनपक्षीय जनप्रतिनिधिको रुपमा काम गर्ने उद्देश्य रहेको बताउँदै परिस्थितीजन्य अवस्थामा कुनै पनि जिम्मेवारी लिनबाट नभाग्ने पनि बताए । ‘बाहिरबाट आएको कुरा हो । मैले व्यक्तिगत रुपमा कहि कतै इच्छा व्यक्त गरेको छैन । जनपक्षीय जनप्रतिनिधिको रुपमा भूमिका निर्माण गरौँ भन्ने पक्षमा छु ।’ उनले भने, ‘सत्ताको बार्गेनिङ गरेको छैन । तर परिस्थितीले चुनौती आइलाग्छ भने म भाग्दिन ।’
एमाले अध्यक्ष ओलीलाई भेट्न काँग्रेस नेता केसी बालकोटस्थित उनकै निवास पुगेका हुन् । अध्यक्ष ओली र काँग्रेस नेता केसीबीच करिब दुई घण्टा छलफल भएको थियो । ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको केसीको सचिवालयले जनाएको छ । गएको आइतबार साँझ भएको भेटमा अध्यक्ष ओली र नेता केसीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । उनीहरूबीच नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरूबीच आवश्यक एकता र सहकार्य गर्नेबारे पनि छलफल भएको छ ।
गएको सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेको केसीले अस्तव्यस्त पासाङल्हामु राजमार्ग छिटो निर्माण सक्नका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
राजमार्गको बालाजु–बाईपास–ककनी–रानीपैवा–त्रिशुली सडक निर्माण लामो समयदेखि हुन नसकेको बेला केसीले पहल लिएका हुन् ।
बुधवार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई केसीले बालुवाटारमै भेट गरेका थिए । करिब १ घन्टा १५ मिनेट भएको विषेश भेटघाटमा अब बन्ने सरकारको बिषयमा समेत छलफल भएको थियो ।
भेटमा नयाँ सरकार गठन, गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समीक्षा भएको बताइएको छ । अन्य दलका प्रमुखहरूसंग पनि भएको छलफलको आधारमा केसीले आफ्नो भुमिकाको विषयमा समेत प्रधानमन्त्रीलाई आशय व्यक्त गरेका छन् ।
No comments:
Post a Comment