विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले सरकारको सेवा ‘डेलिभरी’मा देखिएको सुस्तताका कारण नागरिकहरू दैनिक जीवन यापनमै समस्यामा परेको बताएका छन् । खेतीपर्ने बेलामा रासायनिक मल अभावका कारण राजनीतिक दल, सरकार र नेताप्रति नै नागरिहरूको हेला भाव रहेको उनले बताए । रासायनिक मलकै कारण आफुलै झण्डै चुनाव नहारेको भन्दै ‘अर्जुननरसिंह केसी नै भोट माग्न आएछन् ल भैहाल्यो यो पाली दिउ, नत्र मल पनि दिन नसक्नेलाई के भोट भन्दै मतदाताहरूले जवाफ लगाएको उनले बताए ।
मंगलवार विदुरमा आयोजित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूसंग जनप्रतिनिधिको परिचयात्मक कार्यक्रममा सहभागी भएका सांसद केसीले मलकै रासायनिक कारण आफुलाई चुनाव हार्छु की जस्तोसम्म भएको बताए । हाम्रा प्रतिपक्षी उम्मेदवार साथीलाई त मल दिन नसक्ने नेता किन आएको भनेर बेलकोटगढी नगरपालिकाको १० नम्वर वडाबाट जनताले लखेटे’, केसीले भने– ‘मेरो ठाउँमा अरु कोही उम्मेदवार भएको भए त त्यही मल नपाएकै झोकमा चुनाव हराइदिने रहेछन् ।’
चुनावको अबधीमा भोट माग्न जादा मतदाताले रासायनिक मल मागेको सुनाए । ‘सरकारको नागरिहरूप्रतिको उदासिनता कत्तिसम्म छ भन्ने कुरा त मैले भनिरनै पर्दैन, यस विषयमा सरकारको नीति नै ठिक भएन, यस विषयमा केन्द्रमै कुरा गरुला’, केसीले भने– ‘कम्तिमा नागरिकहरूको हुने कामलाई गर्दिने, नहुने कामलाई नहुने भनेर पठाउने संस्कृतिको विकास कर्मचारीहरूमा होस्, कतैको फोन आउदा लुरुक्क परेर गर्ने नत्र काम अल्झाउने प्रवृत्तिलाई कर्मचारी साथीहरूले त्याग्नुस् ।’ स्थायी सरकारको रुपमा रहेको कर्मचारीहरूले काममा गर्ने ढिलासुस्ती र लापरवाहीका कारण नेतालाई ज्यान जोगाउनै गार्हो परेको उनले सुनाए ।
प्रतिनिधि सभा सदस्य केसी जस्तै अनुभव प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानाले सुनाए । माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष तथा बागमती प्रदेश सांसद रामप्रसाद ढुङ्गानाले झण्डै जनताको कुटाई खाएको सुनाए ।
मत माग्न जादा पहिला एक÷एक बोरा मल बोकेर आउनु भन्दै मतदाताले राजनीतिक दल र नेतालाई नै तिरस्कार गरेको ढुङ्गानाले बताए । ‘तपाई कर्मचारीहरूलाई त जनताले गाली मात्रै गर्ने हुन्, हामीलाई त कुट्न आउछन्, काम नगर्ने तपाईहरू, जनतालाई सेवा नदिने तपाईहरू अनि दोषि हामी हुनु परेको छ’, ढुङ्गानाले भने– ‘सहयोगीभावमा तपाईहरू काम गर्नुहुन्छ र जनतालाई राहत हुन्छ भने ठिक छ नभए म पनि पाखुरा सुर्कने नै मान्छे हुँ ।’
No comments:
Post a Comment