Monday, December 05, 2022

नुवाकोट जिल्ला कफी स्टेटको रुपमा परिचित

डा. विष्णुप्रसाद भट्टराई

कार्यकारी निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

कफी उत्पादक किसान, स्टेट, प्रशोधक, विक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरूको उत्सबको रूपमा रहेको ‘राष्ट्रिय कफी दिवस’को १८ औँ संस्करण यही मंसिर १६ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन भएको छ । कफीसँग सरोकार राख्ने सबैले आ–आफ्नो स्थानमा प्रत्येक वर्ष मंसिर १ गते हर्सोल्लासका साथ मनाइने कफी दिवसको मूल समारोह यस पटकप्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को आचारसंहिताका कारण मंसिर १६ गते मनाइएको हो । विश्वभर लोकप्रिय पेय पदार्थको रुपमा रहेको कफी रोपणले नेपालमा पनि लगभग ८४ वर्षको इतिहास बनाईसकेको छ । 

वि.सं. १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । कफी स्टेटहरूको उल्लेखय उपस्थिति रहेको जिल्लाको रुपमा परिचित नुवाकोटको विदुरमा आयोजना भएको यस वर्षको १८ औँ राष्ट्रिय कफी दिवसको मूल नारा यस प्रकार रहेको थियो– ‘व्यवसायिक कफी खेतीमा जोड, गुणस्तरिय उत्पादन हाम्रो अठोट ।’

मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसंग समतुल्य स्थान बनाउन सफल हुनु हामी सबैको लागि गौरवको कुरा हो । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दशक अघिसम्म कुलिन बर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको शोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक बृद्धी भएको देखिन्छ । तर माग अनुसार आपुर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेतापनि गत वर्ष भने आयात प्रतिस्थापन भई निर्यातमा केही आशाको किरण पलाएको छ ।

आ.व. २०७७÷०७८ को तथ्याङ्क हेर्ने हो भने १० करोड ६७ लाख बराबरको १९८.७ मे. टन कफी आयात हुँदा ९ करोड ६० लाख बराबरको ७२.४८ मे. टन कफी विदेश निर्यात भएको थियो । भन्सार विभागको आ.व. २०७८÷०७९ को तथ्याङ्क अनुसार १२ करोड ७६ लाख बराबरको २७९.८ मे. टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँ बराबरको ६९.५ मे. टन मात्रै कफी निर्यात भएको छ । 

आ.व. २०७८÷०७९ मा नेपालभर ३५५ मे. टन ग्रीन वीन कफी उत्पादन भएको छ भने कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात भएको देखिन्छ्र । नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । अन्तर्राष्ट्रिय कफी संगठन (क्ष्ऋइ) को विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन/निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम २१६० मेट्रिक टन भन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन उच्च रुपमा माग बढेको देखाउछ । आन्तरिक उत्पादनले १ महिना पनि नेपालको माग धान्न नसकेको अवस्था छ । दिनानुदिन कफी सेवनकर्ताहरूको माग बढ्नु र युवाहरूको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाले गर्दा कफीको माग बढ्दै गइरहेको हुनाले पनि आन्तरिक माग पुर्तीका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।

कफी किसानहरूलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरूलाई आकर्षण गरि सिमित क्षेत्रमा गरिदै आएको कफी खेतीलाई कफी स्टेटमा रुपान्तरण गर्नसकेमा मात्रै व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडी बढाएको छ । १८ औं राष्ट्रिय कफी दिवस मनाईरहदा कफी क्षेत्रमा ब्यापक रुपान्तरणको लागि संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरू मार्फत ठूला व्यवसायिक फार्महरू स्थापनाका लागि लगानीकर्ताहरू भित्राउन जरुरी देखिन्छ । 

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले २०७९ मंसीर १ गते जारी गर्नु भएको शुभकामना सन्देशमा पनि सोही आशय अनुकुल स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यवसायिक उत्पादनमा निजी क्षेत्रलाई थप लगानी गर्न आव्हान गर्नु भएको छ । न्यून श्रोत साधनका बाबजुत व्यवसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ कार्यक्रमहरूको शुरुवात गरेको छ । केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग पनि योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जुन आगामी दिनमा अझ बढाएर लगिने छ । गत वर्ष देखि बोर्डले व्यवसायिक उत्पादनको लागि चक्लाबन्दीमा कफी क्षेत्र विस्तार र स्थानीय क्षेत्र भित्र व्यवासायिक नर्सरी विरुवा उत्पादन कार्यक्रमलाई प्रमुखताका साथ अगाडी बढाएको छ । 

खासगरी बोर्डले तीनै तहका सरकारको वीचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडी बढाउदै उत्पादन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने, व्यवसायिक फार्महरू विस्तार, साना तथा मझौला प्रसोधन उद्योग स्थापना तथा प्रवद्धन कार्यहरूमा प्रदेश सरकारबाट कार्यक्रमहरू सञ्चालन गर्ने र ठुला प्रशोधन उद्योग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण तथा नीतिगत कार्यहरूमा बोर्ड स्वयंम तथा संघीय सरकारको भूमिका रहनेगरी समन्वयात्मक कार्यक्रमहरू अगाडी बढाउन जोड दिदै आएको छ । 

कफी उत्पादनलाई बजारसंग जोड्नको लागि कफी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन बोर्डले सरकारी तथा निजी क्षेत्रसंग समन्वय गरि नीतिगत सुधार, क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । 

No comments:

Post a Comment