विदुर । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोटबाट सहभागि राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले खर्च पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा बुझाउन थालेका हुन् । चुनावी खर्च विवरण बुझाएको तथ्याङ्कअनुसार नुवाकोटका उम्मेदवारहरूले एक करोड ७५ लाख ४४ हजार ८२५ रुपैयाँ खर्चेको निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिएका छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा २८ र दुई वटा प्रदेशसभामा ३५ गरी ६३ उम्मेदवार थिए । उनीहरूमध्ये ४२ जनाले निर्वाचन खर्च बुझाएका छन् । उक्त चुनावी खर्चको विवरण उम्मेदवार स्वयम् र प्रतिनिधिमार्फत् बुझाएको उनले जानकारी दिए । निर्वाचन खर्च विवरण पेस गर्दा तोकिएको सीमा बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, गोष्ठी तथा अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ ।
चुनावी खर्च विवरण बुझाउन बाँकी रहेका २१ जना उम्मेदवारमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा मावोवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ समेत छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले १९ लाख ७३ हजार ३०० खर्च विवरण बुझाए । नुवाकोटको दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये सबै ‘पैसाको खोलो नै बगेको’ भनिएको क्षेत्र नं. १ मा एक जना उम्मेदवारको मात्रै आफ्नो चुनावी हिसाव किताव सार्वजनिक गरेका छन् । १० करोड भन्दा बढी खर्च गरेको भनेर चर्चा हुने गरेको बद्री मैनलाीले निर्वाचन आयोगमा भने २० लाख पनि खर्च गर्न नसकेको विवरण पेश गरेका छन् । सोही क्षेत्रबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङको खर्च विवरण भने निर्वाचन आयोगमा पेश हुन बाँकी रहेको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले चुनावमा २७ लाख ६३ हजार खर्च गरेको विवरण बुझाएका छन् । अघिल्ला निर्वाचित सांसद नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले केसीभन्दा आधा चुनावी खर्च गरेको विवरण पेश गरेका छन् । खतिवडाले १३ लाख ३५ हजार ६४९ खर्च विवरण बुझाएका छन् ।
निर्वाचन मत परिणाम घोषणा हुनुभन्दा अगावै मङ्सिर ६ गते नुवाकोट क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवारद्वय नेपाली काँग्रेसका बहादुरसिंह लामा तामाङ र स्वतन्त्र उम्मेदवार सिहंराज लामाले आफ्नो चुनावी खर्च विवरण बुझाएका थिए ।
नुवाकोट जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नं. १ मा ३१ लाख र क्षेत्र नं. २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको थियो । प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाख रुपैयाँसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो ।
प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाख रुपैयाँसम्म र प्रदेश समानुपातिक उम्मेदवारले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो ।
उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नपर्नेछ । राजनीतिक दल र उम्मेदवारहरूले मनोनयनपत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्दसूची दर्ता भएको मितिदेखि निर्वाचनको मतपरिणाम घोषणा भएको मितिसम्मको सम्पूर्ण खर्चको विवरण आयोगले तोकेको ढाँचामा बुझाउनुपर्ने छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिईएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारले मत गणना घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।
No comments:
Post a Comment