रामती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मंसीर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ शनिबार द्वितीयाको दिन सम्पन्न भएको हो । पशुपतिनाथकै रूपमा परिचित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको दिन विशेषरूपमा मेला लाग्ने गाउँपालिका अध्यक्ष एवं दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकरबहादुर थापाले बताए । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष हुन नसकेको मेलामा यस वर्ष २० हजारभन्दा बढीले अवलोकन गरेको पुजारी भगवानहरि धितालले बताएका छन् । धान्य पूर्णिमामा दिन भने मेलामा झण्डै सात हजारभन्दा बढी भक्तजनको सहभागिता थियो । करिब चार सय वर्षअघि राउतबेँसीका स्थानीय वासु तामाङको गाई सूर्यमती (तादी) नदी किनार छेउको भिरमा पुगेर बच्चा जन्माई भगवान्लाई दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको रूपमा पुज्दै आइएको छ ।
‘दुप्चेश्वर क्षेत्र विकास कोष’का कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार गाईले दूध चढाइ बसेकाले सुरुमा दुधेश्वर महादेवको स्थानसमेत भनिने गरेको र पछिल्लो समयमा अपभ्रंश हुँदै दुप्चेश्वर महादेवको नाम रहन गएको हो । समुद्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवनबाट छट्पटिएका महादेव शिव काठमाडौंको पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड पुगेको किंवदन्तीसमेत छ ।
दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायत हस्तकलाका सामग्रीको कारोबार हुने गरेको छ ।
फेरिदै जात्राको स्वरुप
![]() |
२०६३ सालको जात्रा |
पहिलाको दुप्चेश्वर जात्रा र अहिलको जात्रामा केही परिर्वतन भने आएको छ । पहिला रातनै यही बिताउने गरी हज्जारौं धार्मिक पर्यटक तथा भक्तजनहरू आउने गरेका थिए भने अहिले महादेवको दर्शन गरेर फर्कनेहरूको संख्या बढी छ । यातायताको सहज पहुँच र विकासका कारण यस्तो भएको अनुमान गरिएको छ । र पनि बर्षेनी जात्रामा आउनेहरूको संख्यामा वृद्धि हुँदै आएको छ । जात्राको मुख्य आकर्षको रुपमा रहेको लामा तथा झाक्रीहरूको उपस्थिति र सहभागिमा भने हरेक वर्ष कमी हुँदै आएको छ । केही वर्ष अघिसम्म पनि हप्तौ लगाएर नाँच्दै जात्रा आउने झाक्रीहरू अब फाट्टफुट्ट सहभागी हुन थालेका छन् । यो सिप भएकाहरूको कमी र जात्राप्रति टुट्दै गएको आम मोहका कारण यसो भएको अनुमान गरिएको छ । पुस्तौं देखि परम्पराका रुपमा विकास भईआएको यस चलनलाई मर्न नदिन युवाहरूले अहिले चासो व्यक्त गर्न थालेका छन् ।
कुनै यस्तो बेला थियो, रिसइवी साध्ने थलोको रुपमा यो दुप्चेश्वर महादेवको जात्रा विकास भएको थियो । जात्रा आउनेहरूले तीन/चार दिनको बाटो समय निकाल्नु पर्ने थियो । पहरामा रहेको मन्दिरमा पुग्ने बाटो व्यवस्थित थिएन । तर अहिले यि सबै कुराहरूको अवस्था फेरिएको छ । स्थानीय सरकार स्थापना भएसंगै कला, संस्कृति र ईतिहास संरक्षणको प्रयास भएको छ ।
यो जात्रा साँस्कृतिक रुपमा मात्रै नभई आर्थिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनसम्म जात्रामै विक्रि हुँदा दोहोरो आर्थिक चहलपहल देखिएको छ । यहाँको उत्पादनहरूले निक्कै टाढाटाढासम्म बजार पाएको छ । जात्राबाट बाँस तथा निगालोका थुन्चे, डोका, चाल्नु, डालो, भकारी जस्ता हस्तकालको सामाग्री निर्यात हुँदै आएको छ । स्थानीय कृषि उत्पादन, भेडाच्याङ्ग्राका रौंबाट तयार भएका परम्परागत पोशाकहरूले राम्रो मुल्य सहित बजार पाइरहेको छ ।
दुप्चेश्वर उत्पत्तिका दुई कथा
दुप्चेश्वर मन्दिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ केरेजुङ्गमा अवस्थित छ । भक्तजनको मनोकांक्षा तुरुन्तै पुरा गर्ने देवका रुपमा परिचत दुप्चेश्वर महादेवको उत्पत्तिको प्रसङ्ग र ईतिहास अनौठो रहेको छ । प्रचलनमा रहेका केही किम्वदन्ति मध्ये चार सय वर्ष पहिला स्थानीय बासे तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुर भिरमा शिवलिङ्गमाथी गाईले चारवटै थुनबाट बलिन्द्र धारा दुध चढाइरहेको भेटिएको पौराणिक कथनलाई धेरैले सुनाउने गरेका छन् । त्यो धान्यपूर्णिमाका दिन रहेकोले त्यसबेलादेखि सोही अवसरमा विषेश पुजाआजा र जात्रा लाग्दै छे । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुसी हुन्छन् भनेपछि यो पर्व हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।
अर्को पौराणिक कथन अनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष पिएर रन्थनिएका श्री महादेवले गोसाइँकुण्ड जाँदा यही मार्ग प्रयोग गरेका थिए । त्यसबेलामा अहिलेको दुप्चेश्वर महादेव रहेकै स्थानमा विश्राम लिएको जनश्रुती छ । पछिल्लो समय जात्रा आउने र दर्शन गर्नेहरूको शैली र तरिकामा केहि फेरबदल आएपनि संख्यामा भने वृद्धि भएको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा बताउँछन् । ‘पहिला हिडेर जात्रा आउनुपथ्र्यो, त्यसले गर्दा बाटोघाटामा गीत गाउने, झाक्री आफ्नो परम्परागत नाँच प्रस्तुत गर्दै आउने अवस्था हुन्थ्यो’ थापा भन्छन्– अहिले यातायातका सुविधाका कारण यहाँ आउने भक्तजनहरू दर्शन गरेर त्यही दिनै फर्किने अवस्था छ, यसले गर्दा जात्राको शैलीमा केही फरक देखिएको छ ।’
दुप्चेश्वर मन्दिर आठसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको सुर्यमती अर्थात् तादी नदीदेखिनै बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरूले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । मन्दिर र यस वरपरको भौतिक संरचनाको संरक्षण र विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरू तल्लिन देखिएका छन् ।
दुप्चेश्वर मन्दिरको संरक्षण, विकास र प्रचारका लागि कोषको स्थापना भएको छ । २०७४ सालमा गाउँपालिकाले दुप्चेश्वर क्षेत्र विकास कोषको स्थापना गरेको छ । दुप्चेश्वर गाउँ कार्यपालिकाबाट तयार भएको कार्यविधि तथा नियमावली अनुसार सञ्चालित कोषको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष नै हुने प्रावधान रहेको छ । यो साल परिर्वतन भएको नियमावली अनुसार उपाध्यक्षमा गाउँपालिका उपाध्यक्ष छन् ।
कोषका अध्यक्ष थापा विश्वस्तरमा प्रख्याती प्राप्त दुप्चेश्वर महादेवको संरक्षण र धार्मिक पर्यटकको आगमन
बढाउन योजनाबद्ध रुपमा काम भइरहेको सुनाउछन् । ‘दुप्चेश्वर महादेव मन्दिर र यस परिषरलाई नुवाकोटको पहिलो पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि हामी लागि परिरहेका छौं’ अध्यक्ष थापाले भने ।
स्थानीय सरकारले पावनभुमी दुप्चेश्वर महादेव मन्दिर र यस परिषरको भौतिक विकासका लागि खास–खास योजना तयार गरिरहेको छ ।
हिन्दु र बौद्ध धर्मालम्वीहरूको बरोबरी आस्था रहेको र नेपालभरिबाटै भक्तजनहरूको ओइरो लागिरहेको दुप्चेश्वरलाई सहज र विकसित गर्न गुरुयोजना तयार गरेर अगाडी बढ्न लागेको छ । गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङ भन्छन्– ‘त्यसका लागि हामी गुरुयोजना निर्माण गर्नेछौं । यो तुरुन्तै कार्यान्वयमा आउने छ ।’
No comments:
Post a Comment