विदुर । मंगलवार विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख देविप्रसाद अधिकारीले आफ्नो मन्तब्यलाई टुङ्ग्याउदै भने– ‘धेरै वर्ष पहिला विद्या चापागाइँ र नारायण श्रेष्ठले प्रस्तुत गर्ने कार्यक्रम साझा सवाल हेर्दा रोमाञ्चित हुन्थ्यें, त्यो कार्यक्रममा प्यानलिष्टको रुपमा रहन पाए हुन्थ्यो जस्तो लाग्यो । र आज मलाई ठ्याक्कै त्यस्तै अनुभुती, अभुतपुर्व आनन्द प्राप्त भयो ।’
शिक्षा शाखा प्रमुख अधिकारी जस्तै विदुर नगरपालिकाका तर्फबाट शिक्षा क्षेत्रको सबै पाटोहरूको सवाल सुन्न र जवाफ दिन विदुरमा आयोजित एक कार्यक्रममा थिए नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक लक्ष्मी खड्का । रुम टु रिडले आयोजना गरेको कार्यक्रम ‘पालिकासंग बालिका’मा विदुर नगरपालिकासंग विद्यार्थीहरूले धक नमानी अन्तरक्रिया गरे ।
विद्यार्थीहरूमा बढेको क्षमता र स्थानीय सरकारसंगको अपेक्षालाई प्रभावकारी रुपमा बालबालिकाले नै राखेको प्रति उपप्रमुख बोगटीले समेत प्रशंसा गरे । बालबालिकाहरूले शिक्षा क्षेत्रको सुधार र नगरपालिकाले ध्यान नदिएको पक्षलाई ठ्याक्कै औल्याएर सुझाव सहित प्रश्न गरेको प्रति उनले आफुलाई सुधारको लागि अवसर प्राप्त भएको बताए ।
‘कक्षा १० सम्म पढ्ने साना भाइबहिनीहरूको प्रश्नको उत्तर त दिने होला नी’ भन्ने मनस्थिति बनाएर कार्यक्रममा सहभागी भएका उत्तरदाताहरूलाई आफ्नो पुर्व तयारी विनाको उपस्थितिले चित्त बुझ्दो उत्तर दिननै मुस्किल परेको थियो । बालबालिकाहरूले सामुदायिक विद्यालयमा सःशुल्क भइरहेको पढाईदेखि विद्यालयमा पिउने पानी समेतको व्यवस्था नभएको प्रश्न गरेर नगरपालिकाका तर्फबाट उपस्थित उत्तरदाताहरूलाई अलमलमा पारे । आफ्नो साथी विद्यालयबाटै वेपत्ता भएको महिना दिन वित्दा समेत पत्ता नलागेको घटना सार्वजनिक गर्दै बालिकाहरूले प्रहरीले प्रभावकारी काम र खोजी किन गर्न नसकेको होला भनेर प्रहरी निरिक्षकलाई प्रश्न गर्न भ्याए ।
महेन्द्र मावि विदुर–१२ चारघरेको कक्षा ९ मा पढ्ने दिक्षिता तामाङले प्रहरी निरिक्षक लक्ष्मी खड्कालाई प्रश्न सोध्दै भने– ‘विद्यालयबाटै बालिकाहरू वेपत्ता हुने घटनाहरू बढ्न थालेको छ, त्यस विषयमा प्रहरीलाई जानकारी गराउदा पनि खोजी कार्य र अन्य केही सहयोग पाइदैन, किन यस्तो भएको होला ?’ उनलाई जवाफ दिँदै प्रहरी निरिक्षक खड्काले नुवाकोटमा त्यस्तो घटना खासै नभएको र भएका घटनाहरूमा उच्च सर्तकताका साथ प्रहरीले काम गरिरहेको बताइन् । तर दिक्षिका तामाङले आफ्नै साथी (१४ वर्षका कृष्टिना राई) एक महिनादेखि हराइरहेको र अत्तोपत्तो नभएको पुनः जानकारी गराएपछि भने खड्काले आफुलाई कार्यक्रम पछि छुट्टै भेट्न र थप जानकारी दिन आग्रह गरे ।
विदुर–५ तल्लोपिपल्टार स्थित चन्द्रज्योती माविको कक्षा १० मा पढ्ने प्रवेश गजुरेल सुरुमा अप्ठ्यारो मानेर माइक समाउदै थिए, मसिनो स्वरमा माइकमा बोल्न थालेका गजुरेलको प्रश्न भने हल नै थर्किने खालको बन्यो । शिक्षा शाखा प्रमुख देविप्रसाद अधिकारीलाई उनले सोधे– ‘सामुदायिक विद्यालयमा निःशुल्क पठनपाठन हुनुपर्छ भन्ने सुनिएको छ, विदुर नगरपालिकामा शुल्क लिने सामुदायिक स्कुलहरू छन् कि छैनन् ?’ हलको मध्य भागतिरबाट आएको यो प्रश्नले अग्र भागमा बसेका सहभागि तथा अतिथिहरू सबै उनै तिर हेर्न लागे । जवाफ दिन सुरु गरेका शिक्षा शाखा प्रमुख अधिकारीले हाँस्दै प्रश्नको प्रशंसा गरे । भन्नका लागि त अधिकारीले कुनै पनि विद्यालयले शुल्क लिएको औपचारिक रुपमा जानकारी छैन भने, तर निःशुल्क शिक्षा दिइरहेको सामुदायिक विद्यालयहरूले अन्य बहानामा अभिभावकसंग गरिरहेको असुलीप्रति गजुरेलको ‘ओपन सेक्रेट’ व्यङ्ग्य थियो । ‘सरकारको तर्फबाट मात्रै व्यवस्था गरिएको बजेटले विद्यालयको गुणस्तर कायम गर्न र गुणस्तर बढाउन नपुग्ने भएकोले समुदायसंगको साझेदारीमा अन्य केही शिर्षकमा शुल्कहरू लिएका पनि हुनसक्छन्, हामीलाई औपचारिक रुपमा कुनै जानकारी छैन’, अधिकारीले भने ‘यस विषयमा पनि हामीले खोजी गर्नुपर्ने र तथ्याङ्क संकलन गर्नुपर्छ भन्ने लाग्यो ।’
विदुर–५ माझिटारको च्वाडीपब्लिक माविको कक्षा १० मा पढ्ने विपना अर्यालले विद्यालयमा खानेपानीको सुविधा समेत नभएको जानकारी सहित प्रश्न गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल झस्याङ्ग भए । यस्ता विद्यालय नगरपालिका भित्र कत्ति होला है भन्दै प्रतिप्रश्न गरेको उनले मञ्चमै बसेर शिक्षा शाखा प्रमुख अधिकारीसंग सल्लाह गर्दै भने– ‘यस विषयमा खोज गरेर तत्कालै तथ्याङ्क संकलन गरौं ।’
विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले सामुदायिक विद्यालयहरूमा निःशुल्क शिक्षा भनिएपनि बालबालिकालाई अन्य शिर्षकमा अभिभावकहरूले गर्नु पर्ने खर्चका कारण शिक्षा निःशुल्क हुन नसकेको बताए ।
विद्यालयमा शुल्क तिर्ने र पाठ्यक्रम निःशुल्क पाउने मात्रैले अभिभावको आर्थिक भार कम नभएको उन बताए । सबै बालिका, दलित, सिमान्तकृत, लोपन्मुख बालबालिकाहरूका लागि सरकारले छात्रवृत्ति दिएपनि त्यसले निःशुल्क शिक्षा भन्ने अभियानमा पर्याप्त टेवा नपु-याएको बताए । बालबालिकाहरूबाट आएकै सवालको जवाफ दिने क्रममा उपप्रमुख बोगटीले लुगा, जुत्ता, झोला, अन्य स्टेशनरी सामाग्रीहरूका कारण अभिभावकहरू आर्थिक चपेटामा पर्ने गरेका बताएका हुन् । ‘यस्तो अवस्थाका अभिभावकहरूलाई सहयोग गर्नका लागि स्थानीय सरकार नै जोडिने हो, त्यसका लागि हामीले यस वर्ष नीति तथा कार्यक्रम ल्याएका छौं’, उपप्रमुख बोगटीले भने ‘हामीलाई थाहा छ शिक्षा क्षेत्रमा गरेको लगानी अलिकत्तिपनि खेर जाँदैन, हामी अति संवेदनशिल र जागरुकताका साथ शिक्षा क्षेत्रको विकास र बालबालिकाको भविष्यका लागि काम गर्छौ ।’
कार्यक्रममा विदुर नगरपालिकाका आठ वटा विद्यालयका ४० जना बालबालिकाहरू सहभागि थिए । ३२ बालिका र ८ बालकका साथमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको कार्यक्रमलाई रुम टु रिडले विद्यार्थीको क्षमता विकासका साथै आफ्नो सवाल आफैले गर्ने प्रयासको रुपमा प्रस्तुत गरेको थियो । रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत शुशिल तिमिल्सिनाका अनुसार सन् २०१८ देखि नुवाकोट जिल्लामा रुम टु रिडले बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रुम टु रिडको बालिका शिक्षा कार्यक्रम अधिकृत विनिता बरालले उक्त कार्यक्रम अन्र्तगत जिल्लाका १२ वटा विद्यालयहरूमा विभिन्न खाले शैक्षिक गतिविधिहरू भइरहेको जानकारी दिएका छन् ।
No comments:
Post a Comment