![]() |
ककनीका शोभा लामा (दाँया) शसस्त्र प्रहरीका कारण स्थानीयले ब्यहोर्नु परेको समस्या सुनाउँदै । |
ककनी । शसस्त्र प्रहरी बलको तालिम केन्द्रका कारण नुवाकोटको पर्यटकिय क्षेत्र ककनीलाई मार परिरहेको स्थानीयहरूले गुनासो गरेका छन् । पर्यटक आउजाउ गर्ने मुख्य गेटमै रहेको शसस्त्र प्रहरीको तालिम केन्द्र र उनीहरूले नियमित रुपमा गर्ने गतिविधिका कारण ककनी आउने पर्यटकहरू भड्किएको शोभा लामाले बताए ।
शनिवार ककनीको पर्यटकिय स्थल ‘स्काउट हाउस’मा जम्मा भएका नुवाकोटका सरकारी अधिकारीहरूसंग गुनासो राख्दै स्थानीय महिलाहरूले शसस्त्र प्रहरीको तालिमका कारण दैनिक जीवन यापनमा समेत समस्या हुन थालेको बताएका छन् । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याललाई तालिम केन्द्र नै सार्न पाएपनि हुन्थ्यो भन्दै महिलाहरूले आफुहरू सुरक्षित नभएको बताए । ‘दशैंमा सशस्त्र प्रहरीले चलाएको अश्रु ग्यासका कारण मेरो घरमा आएका पाहुना बेहोस भए’, शोभा लामाले भने– ‘उनीहरूले तालिममा कत्ता हानेको ग्यास हाम्रो घरतिर आइपुग्ने, अस्तीतिर त हाम्रो घर माथीमाथीबाट गोली चल्यो भुटुटु ।’
ककनीका महिलाहरूले शसस्त्र प्रहरीले बाटो नै रोक्ने गरी एकनासले गर्ने तालिमका कारण ककनी आउने आन्तरिक र बाह्य पर्यटकहरूले हिड्ने बाटो समेत नपाउने गरेको बताएका छन् । विेदेशी पर्यटकहरू बढी आत्तिने गरेको उनीहरूले बताए । ‘पिकनिक आउनेहरूले बजाएको गितले चाँही जन्यजन्तुलाई डिस्र्टब भयो भन्छ राष्ट्रिय निकुञ्ज, शसस्त्र प्रहरीले हानेको गोली लागेर जनावर घाइते हुँदा चाँही चुइक्क बोल्दैन, हामी त आजित भइसक्यौं’ महिलाहरूले भने ।
स्थानीयहरूले आफ्नो बस्ती वरपर प्रहरीले तालिमका नाममा गर्ने ‘फायरिङ्ग’ रोक्न र तालिमका लागि शसस्त्र प्रहरीलाई मुख्य बजार भन्दा बाहिरको बाटो प्रयोग गर्नका लागि आग्रह गरेका छन् । उनीहरूले यो विषय तामिल केन्द्रमा पटक पटक सुनाएको भएपनि वास्ता नगरेको बताए ।
No comments:
Post a Comment