सचिव जगदीश खनालको प्रतिवेदन
अध्यक्षज्यू,
कार्य समितिका पदाधिकारी, सदस्य, यस शाखाका सम्पूर्ण साधारण सदस्य मित्र लगायत सम्पूर्ण सहकर्मी साथीहरू ।
सर्वप्रथम आज मिति २०७९ साल मंसीर २६ गते विदुरमा हुँदै गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको साधारणसभामा उत्सुकतापूवर्क सक्रिय सहभागिता जनाउनु हुने सबैमा जिल्ला शाखाको तर्फबाट हार्दिक स्वागत एवम् न्यानो अभिवादन टक्र्याउँछु ।
आजको गरिमामय यो सभामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महाअभियानमा होमिँदै दिवंगत हुनुभएका पत्रकारप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । यसैगरी सबै प्रेस स्वतन्त्रताप्रेमी अग्रजहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
महासंघको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आन्दोलनमा भौतिक, आर्थिक एवम् नैतिकरूपमा सहयोग गर्ने सबैप्रति केन्द्रीय समितिको तर्फबाट यो गरिमामय साधारणसभामा हार्दिक आभार प्रकट गर्दछु । महासंघ जिल्ला शाखा नुवाकोटको सातौं अधिवेशनबाट निर्वाचित नेतृत्वले जिम्मेवारी सम्हालेको साढे एक वर्ष व्यतीत भइसकेको छ । यस अवधिमा महासंघका केही राम्रा उपलव्धि र गर्न बाँकी कार्यहरूको सन्दर्भ यहाँहरूसमक्ष राख्न पाउँदा खुशी लागेको छ । सातौं अधिवेशनमा उत्पन्न विवाद र दोहो¥याएर गर्नुपरेको मतदान र त्यसबाट उत्पन्न परिस्थितिका कारण एक वर्ष यस शाखाको कार्यालयमा तालाबन्दी भएको चुनौतीबीच जिम्मेवारी ग्रहण गरेको तथ्यसमेत अवगत गराउन चाहन्छु ।
यो अवधिमा सामूहिक प्रयत्नमार्फत अहोरात्र खटेर सबै चुनौती र समस्याको समाधान गर्ने प्रयास भएको छ । यस बीचमा २०७९ साल बैशाखमा स्थानीय तह निर्वाचन र २०७९ मंसीरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भइसकेका छन् । यस वर्ष निर्वाचन वर्ष भएका कारण महासंघले गर्नु योजना तय गरेका कत्तिपय काम र योजनाहरू थाती रहदै आएका छन् । मंसीर ४ गतेको निर्वाचन सकिए लगत्तै हामी शाखाका नियमित गतिविधि र भावी योजना साकारा पर्ने अभियानमा जुटेका छौं ।
नेपाल पत्रकार महासंघको छ दशक लामो इतिहास र त्यससंगै माला गासिएको जिल्ला शाखा नुवाकोटको इतिहास पनि लामै बनिसकेको छ ।
२०५६ सालको प्रारम्भिक समितिदेखि अहिलेसम्मको २३ वर्षे अवधिमा हामीले पनि थुप्रै आरोह र अबरोह पार गर्यौं । नेपाल पत्रकार महासंघ, नेपालको पत्रकारिता अनि यस जिल्ला शाखा नुवाकोट यत्तिकै यहाँसम्म आइपुगेको छैन । सर्वप्रथम त, हाम्रा अग्रजहरू नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका संस्थापक तथा पुर्व अध्यक्षहरू एवं हाम्रा अभिभावकहरूलाई स्मरण गर्न चाहान्छु ।
अग्रज पत्रकारहरूको सम्मान र कदर :
नेपालको पत्रकारिताको ईतिहासमा नुवाकोटको योगदान पनि कम आँक्न मिल्दैन । झण्डै आधा शताब्दी अघिदेखि ब्यवयायिक रुपमा पत्रकारिताको सुरुवात भएको नुवाकोटमा नेपाल पत्रकार महासंघको ईतिहास भने केही ढिला गरेर जोडिएको छ । दुई दशक भन्दा बढि समयको संगठनात्मक स्वरुपको बीचमा पत्रकारहरूको हकहित, संरक्षण र हौसलाका लागि विभिन्न प्रयासहरू भएका छन् । कुनै न कुनै समस्याका कारण कार्यान्वयनमा नआएका अघिल्ला कार्य समितिले सुरु गरेको कामलाई अहिलेको नेतृत्वले सम्पन्न पार्दै ल्याएको छ । धेरै पहिला नै कार्य समितिले निर्णय गरेको लगनशील र आफ्नो जीवनका स्वर्णिय समय यस पेशामा खर्चेर पेशाको गरिमा उँचो पारेका पत्रकारहरूको सम्मान तथा पुरस्कारलाई २०७५ साल मंसीर २८ गतेबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले सुरुवात गरेको छ । र यसले निरन्तता पाउदै आएको छ । यो अमुल्य अवसर हाम्रो पुस्ता र हाम्रो समयको जिम्मेवारीमा परेकोले हामी सोही अनुरुप निर्वाह गर्ने कोशिषमा छौं ।
सबै पुरस्कारको राशी ११,१११।– (एधार हजार एक सय एधार रुपैयाँ) रहेको छ । महासंघले स्थापना गरेको पुरस्कारलाई थप उँचो बनाउनका लागि सहयोगी सञ्चार गृह र नागरिक समाजले आर्थिक योगदान गर्दै आउनु भएको छ । २० वर्ष भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका दीर्घ सेवा सम्मान, यस शाखाको प्रारम्भिक समितिका संयोजक स्वर्गिय पत्रकार मोहनविक्रमध्वज जोशीको स्मृतिमा स्थापना भएको पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य नुवाकोट जिल्लाबाटै सञ्चालन भइरहेको अनलाईन पत्रिका डबली खबर डटकमले गर्दै आइरहेको छ । त्यस्तै, नुवाकोटका पुराना पत्रकार स्वर्गिय रामकृष्ण प्रधानको स्मृतिमा यस शाखाले स्थापना गरेको रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य नुवाकोट जेसिसले गर्दै आएकोमा यस वर्षबाट विदर नगरपालिका वडा नं. २ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुरस्कार राशी सौजन्य गरेको छ । साथमा महिला पत्रकारिता पुरस्कारको राशी सौजन्य नुवाकोटबाट प्रकाशन हुने त्रिशुली प्रबाह साप्ताहिकले गर्दै आएकोमा यस वर्ष नुवाकोट जिल्लाबाट प्रकाशन हुने नुवाकोट पुकार साप्ताहिकले गरेको छ ।
हालसम्म सम्मानित र पुरस्कृत हुने पत्रकारहरू :
१. सञ्चार उद्यमी सम्मान
क. २०७६ सालमा पत्रकार माधवप्रसाद खनाल
२. दीर्घ सेवा सम्मान
क. २०७५ सालमा पत्रकार शिब देवकोटा
ख. २०७६ सालमा पत्रकार किरणप्रसाद अधिकारी
ग. २०७७ सालमा पत्रकार शरण उत्सुक सापकोटा
घ. २०७९ सालमा पत्रकार दिनेश आचार्य
३. स्वर्गिय पत्रकार मोहनविक्रमध्वज जोशीको स्मृति पत्रकारिता पुरस्कार :
क. २०७५ सालमा पत्रकार देबचन्द्र भट्ट
ख. २०७६ सालमा पत्रकार नवदीप श्रेष्ठ
ग. २०७७ सालमा पत्रकार बिष्णु तारुके
घ. २०७९ सालमा पत्रकार राजकृष्ण श्रेष्ठ
४. स्वर्गिय रामकृष्ण प्रधानको स्मृति पत्रकारिता पुरस्कार :
क. २०७५ सालमा पत्रकार भोलाराज पौडेल
ख. २०७६ सालमा पत्रकार रामहरि गजुरेल
ग. २०७७ सालमा पत्रकार रबिनप्रसाद थपलिया
घ. २०७९ सालमा पत्रकार श्रीराम अधिकारी
५. महिला पत्रकारिता पुरस्कार
क. २०७५ सालमा पत्रकार भगवती लामा
ख. २०७६ सालमा पत्रकार बसुधा केसी
ग. २०७७ सालमा पत्रकार शक्तिमाया तामाङ
घ. २०७९ सालमा पत्रकार संगीता पनेरु
यसमा अझ कार्यक्षेत्र, आवश्यकता र विधा हेरेर पुरस्कार थप गर्न‘ पर्ने भएकोले पत्रकार महासंघ नुवाकोट शाखाले आवश्यक गृह कार्य गरिरहेको थियो । पोहोर साल पुरस्कारको राशी बृद्धिका साथै पुरस्कार राशीका लागि अक्षय कोष स्थापनाका लागि समेत हामी क्रियाशिल थियौं, तर विश्व महामारी कोभिड–१९ (नोबेल कोरोन भाइरस) का कारण हाम्रो यो प्रयास अवरुद्ध भयो ।
सदस्यता :
नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटमा अहिले साधारण सदस्यहरू १७४ जना छन् । २०७४ साल असार ४ गते सम्पन्न छटौं अधिवेशनसम्म १३९ जना सदस्य रहेकोमा कार्यसमितिले त्यसमा छाटकाँट गरेर १०२ बनाएको थियो ।
तर सातौं अधिवेशनमा आइपुग्दा सदस्य संख्या बढेर १७४ पुगेको छ, जसमा केही गैर पत्रकार र पत्रकारिता पेशामै नरहेकाहरूले सदस्यता प्राप्त गरेका छन् । बर्षेनी शुद्धिकरणको निर्णय हुँदै आएको र कार्यान्वय नभएको यस शाखाको अमिलो स्मरणलाई हामीले सच्याउने प्रयास हामीले गरिसकेका छौं, अधिवेशनको बेलामा उत्पन्न हुने विवाद र त्यो विवाद समाधानका नाममा हुने गैर पत्रकार सदस्यता नविकरण र नयाँ सदस्यता प्राप्त हाम्रा लागि चुनौती बनेका छन् । तर पनि यस पटक नुवाकोट शाखाको सदस्यतामा ब्यापक शुद्धिकरण आबश्यक छ ।
भावी योजना :
क.
२०५९ साल साउन ५ गते तत्कालिन शाखा सभापति विश्वामित्र खनालको अध्यक्षतामा सम्पन्न बैठकले नेपाली पत्रकारिताका भिष्मपिता नुवाकोटका पुत्र बालकुमुन्ददेव पाण्डेको स्मृतिमा पत्रकारिता कोष स्थापना गर्ने र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बार्षिक एक जनालाई ५०१ रुपैयाँ सहित पुरस्कार दिनका लागि तत्कालिन समयमा सुरेन्द्रराज अधिकारी संयोजक, विश्वामित्र खनाल र रामचन्द्र भट्ट सदस्य रहेको समिति गठन गरेको देखिएको छ ।
यो निर्णय कार्यान्वयका लागि प्रयास गर्नुपर्ने र पुरस्कारको राशी बृद्धि गर्नका लागि छलफल गरिनुपर्ने देखिएको छ । साथै वितरण भइरहेका अन्य पुरस्कारहरूलाई स्थायीत्व दिनका लागि र नियमित गराउनका लागि अक्षय कोष स्थापना गर्नुगर्ने छ ।
ख.
२०६२ साल बैशाख २२ गते अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको दिन (मे ४) मा यस शाखाले नागरिक आन्दोलनको पक्षमा, तत्कालिन व्यवस्था सुधारका लागि र प्रेस प्रतिकुल अवस्थाको विरोधमा सुरु गरेको ‘संघर्ष’ नामक मुखपत्रको ईतिहास अलग्गै छ । त्यस बेलामा सडक आन्दोलनमा ओर्लिएका जुझारु अग्रज पत्रकारहरूले सडकमै पत्रिका छाप्ने प्रेस मेसिन जडान गरे, सकडमै समाचार संकलन, लेखन, सम्पादन तथा अन्य प्रक्रृया सम्पन्न गरेर ‘संर्घष’ प्रकाशन गरेका थिए । पत्रकारहरू सञ्चार सामाग्री त्यस पनि पत्रिका छाप्ने मेसिन र कम्प्युटर सहित सडकमा उत्रिएर आफ्नो नियमित कर्म गरेको नेपालको पहिलो घटनाले यस शाखाको छवी अनि तत्कालिन पत्रकारहरूको पेशाप्रतिको त्याग र समर्पण देशै भरी प्रशंसनिय रुपमा प्रस्तुत भएको थियो । ‘संर्घष’को दोश्रो संस्करण २०६४ साल फागुन १७ गते पत्रकार पुरुषोत्तम लम्सालको संयोजनमा प्रकाशन भएको देखिएको छ । त्यसपछि गुमनाम बनेको ‘संर्घष’लाई यस शाखाले आफ्नो आधिकारिक मुखपत्रको रुपमा घोषणा गर्दै त्यसलाई निरन्तरता दिइनुपर्ने छ ।
ग.
नुवाकोटको पत्रकारिता, पत्रकार अनि यो पेशा, हामी पेशाकर्मीसंगका विभिन्न विषय, पक्षका बारेमा अध्यायन अनुसन्धान गर्नका लागि हालसम्म लिखित दस्तावेज नभएकोले दस्तावेजकै रुपमा प्रस्तुत गर्ने गरी नुवाकोटको पत्रकारिताको स्मारिका प्रकाशनमा ल्याउनुपर्ने छ ।
घ.
पत्रकारितामा विद्यार्थीहरूको आकर्षण बढाउनका लागि र आधारभुत पत्रकारिता तालिम सञ्चालनका लागि शाखाले नियमित कार्यक्रम र विशेष योजना तय गरेर अभियानका रुपमा सञ्चालन गनुपर्ने छ ।
ङ.
नुवाकोटमा कार्यरत पत्रकारहरूले आफु बिनापारिश्रमिक काम गर्नुपरेको, तोकिएको पारिश्रमिक उपलब्ध नभएको भनेर यस शाखामा गुनासो वा उजुरी दिएका छैनन् । तर पनि त्यो समस्या नुवाकोट जिल्लामा विद्यमान छ । समयमा तलब नपाउने देखि न्युन ज्यालामा काम गर्नुपर्ने यहाँका पत्रकारहरूको समस्या हो । यसको निराकरणका लागि शाखाले आवश्यक पहल गर्नुपर्ने र साथै साना लगानीमा सञ्चालित र पत्रकार आफै सञ्चालक रहेका मिडियाको अवस्थाको अनुगमन, मुल्याङ्कन र सहयोगका लागि पनि शाखा केन्द्रित हुनुपर्ने छ । साना लगानीका सञ्चार माध्यम, त्यसमा पनि पत्रकार आफै मालिक रहेका सञ्चार माध्यमहरूको निरन्तरताका लागि यस शाखाले रणनीतिक योजना बनाउनु पर्ने छ ।
आफ्नै खर्चमा सञ्चार सामाग्री किनेर समाचार संकलन, लेखन र सम्प्रेषण गर्दै आएका पत्रकारहरूलाई सञ्चार सामाग्री सहायता गर्नुपर्नेछ । साथै सूचना विभागबाट जारी हुने पत्रकार परिचय पत्र लिनका लागि जिल्लमै शिविर सञ्चालनका लागि प्रयास गर्नु पर्नेछ ।
No comments:
Post a Comment