Saturday, February 12, 2022

कोरोनाले कुपोषण बढायो

विदुर । दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका बुद्धिमाया तामाङको १० महिने छोरोलाई कुपोषणले सर्ताएको छ । 

ज्याला मजदुरी गर्ने र शहरी क्षेत्रमा काम खोज्दै बालबालिकाको पालनपोषण गर्दै आएका उनले कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि परिवारमा समस्या भएको हो । स्वयंसेविकाको सल्लाहमा उनी स्वास्थ्यचौकी पुगे । तर भनेअनुसारको पोषतत्व भएको खाना खरिद गर्ने उनमा सामथ्र्य भने छैन । 

स्वास्थ्यकर्मीले औषधि लेखिदिँदै छोरोलाई हरियो सागपात, दूध, फलफूल, लिटोका परिकारको सन्तुलित भोजन गराउन सुझाएका छन् । उनको बारीमा मकै र कोदो मात्रै फल्ने गरेको छ । सागपात त अलिअलि देख्न पाइएपनि त्यहाँ फलफूल भने किनेर खानुपर्छ । १२ जनाको परिवारलाई बारीको उब्जनीले वर्षभरि खानै पुग्दैन । गरिबी र अशिक्षाले व्याप्त घ्याङफेदी नुवाकोटकै विकट क्षेत्रका रूपमा चिनिन्छ । बुद्धिमायाले जस्तै अरूले पनि स्वास्थ्यचौकीको सल्लाह अनुसार बच्चाहरूलाई खानपान जुटाउन सकेका छैनन् । सन्तुलित खानपानको वातावरण नमिलेर बच्चाहरूमा कुपोषण भैरहेको थाहा पाएपनि नागरिकहरू रोजगारी पाएपछी चिन्तित रहेका छन् । 

नुवाकोटको ग्रामिण भु–भागमा कोरोना संक्रमणका कारण कुपोषण हुने बालबालिकाको संख्या बढेको युनिसेफको प्रतिवेदनले देखाएको छ ।


नुवाकोटको घ्याङफेदीसँगै रसुवाको हिमाली भुभागमा अहिले कुपोषणको समस्याले सताउन थालेको छ । लामो समय सम्म कोरोना संक्रमणका कारण रोजगारी गुमाएको, पर्यटनमार्फत आम्दानी हुने क्ष्गोत्रमा पर्यटकको संख्या सुन्य भएपछी उनीहरू आफ्नो दैनिकी चलाउन समेत नसक्ने अबस्थामा पुगेका छन् । शरीरको आवश्यकता अनुसार पानी, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन जस्ता पर्याप्त रुपमा सन्तुलित आहारहरू नै नपुगेर बालबालिकामा कुपोषण यथावत् रहेको युनिसेफको ‘मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे’ मा उल्लेख छ । 

हालै प्रकाशित सर्वेक्षणहरूले पनि कोरोना महामारीले गर्दा भरपेट खानका लागि संघर्ष गरिरहेको परिवारका बालबालिकाको पोषणमा थप असर पुगेको उल्लेख छ । युनिसेफले माघ ६ मा जारी गरेको ‘मातृ तथा बाल पोषण जर्नल’का अनुसार नेपालले महिला तथा बालबालिकाको पोषणमा हासिल गरेका उल्लेखनीय उपलब्धिमा ‘हाल कायम असमानता र कोभिड–१९ महामारीका कारण’ जोखिम थपिएको छ ।

नेपालले अझै पनि पोषणको क्षेत्रमा थुप्रै चुनौतीको सामना गरिरहेको छ । दिगो विकासका लक्ष्यहरूले बालबालिकाको पुड्कोपन र ख्याउटेपनको न्यूनीकरणका लागि निर्दिष्ट गरेको गति, परिमाण र समानताका सूचकअनुसार ‘आवश्यक गतिमा’ अघि नबढिरहेको र कोभिड–१९ महामारीले गर्दा यो अवस्था अझ बिग्रन सक्ने सम्भावना रहेको युनिसेफले भनेको छ । 

कोरोनाले रोजगारी गुमाउने संख्या बढ्दा आर्थिक अभाव र गरिबीका कारण बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुगेको युनिसेफले उल्लेख गरेको छ । सबैभन्दा धेरै ९० प्रतिशतले पैसाको अभावले र ४३ प्रतिशतले खाद्य सामग्रीको मूल्यवृद्धिले खानका लागि संघर्ष गर्नुपरेको बताएका थिए ।

किसानले गहुँमा हाल्नका लागि मल पाएनन्


विदुर । गहुँ पसाउने बेला नुवाकोटका किसानले मलको अभाव खेप्नुपरेको छ । प्रत्येक बाली लगाउने समयमा नुवाकोटका किसानहरूले मल अभाब झेल्दै आएका छन् । धान, आलु, हिउँदे बाली लगायत बाली लगाउने र रसायनिक मलखाद दिनु पर्ने हरेक समयमा नुवाकोटका किसानहरू खाली हात बन्दै आएको छ । 

रसायनिक मल बिक्रि गर्दै आएको दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्दै आए पनि अभाब हुँदै आएको छ । 

रसायनिक मल अभाबकै कारण नुवाकोटमा प्रत्यके बालीको उत्पादनमा गिरावट आउने गरेको छ । अहिले गहुँको मुख्य सिजनमा रासायनिक मलको अभाव भएपछि किसान चिन्तामा परेका छन् । अहिले एक लाख ३० हजार टन रासायनिक मलको माग छ । तर सरकारी गोदाम रित्तै रहेका छन् । चालु आर्थिक वर्षका लागि तीन लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि आउने टुङ्गो छैन । 

यसअघि गहुँ छर्ने बेलामा समेत मल नभएपछि किसानले त्यत्तिकै गहुँ छरेका थिए । तर अहिले बाला पसाउने बेला पनि मलको अभाव कायमै छ । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्छन् । तर कम्पनीमै मल नभएपछि सहकारीमा मल छैन ।

मल आपूर्तिमा समस्या भएपछि चैते धानमा समेत रासायनिक मल अभाव हुने निश्चित छ । अन्तर्राष्ट्रिय बजारमै मलको मूल्य उच्च भएको र अभाव समेत रहेकाले आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनीले जनाएको छ । नेपालमा क्षेत्रफल एवम् उत्पादनका हिसाबले धान र मकैपछि गहुँ प्रमुख खाद्यान्न बाली मानिन्छ ।

गहुँमा आवश्यक मात्रामा मल नभए पनि उत्पादन घट्ने किसानको चिन्ता छ । किसानले मल नपाउने र यो बेलामा ढुसी तथा सिँदुरे रोगले समेत सताउने भएकाले उत्पादनमा समस्या हुने भएको हो । 

क्याम्पस अध्यक्षमा श्रेष्ठ निर्वाचित


बट्टार । दुई वर्षदेखि चयन हुन नसकेको नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको सञ्चालक समिति बुधवार गठन भएको छ । क्याम्पसको छैठौं क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । सञ्चालक समितिको अध्यक्ष श्रीराम श्रेष्ठ चयन भएका छन् । 

    अन्य आठ जना सदस्यहरूमा लिलानाथ न्यौपाने, मोहनबहादुर खड्का, सुरेन्द्र मुडभरी, केदार डोटेल, बद्री त्रिपाठी, प्रकाशचन्द्र ढुङ्गाना, भगवती खनाल र राजाराम अधिकारी छन् । क्याम्पस सभाले लबबहादुर डङ्गोलको संयोजकत्वमा तथा लेखा समिति समेत निर्वाचित गरेको छ । जसको सदस्यहरूमा गोपाल आचार्य र मनिषा सुनार छन् । 

श्रेष्ठ यस अघि पनि एक कार्यकाल क्याम्पस सञ्चालक समितिको अध्यक्ष बनिसकेका छन् । 

३३ लाख ६६ हजारको लागतमा गुम्बा निर्माण हुँदै

तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन शिलान्यास गर्दै सांसद हितबहादुर तामाङ

घलेभञ्याङ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ घलेगाउँमा तलाङ ज्योहोलिङ गुम्बाको नयाँ भवन बन्ने भएको छ ।  एक कार्यक्रममा संघीय सांसद एवं पूर्वयुवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नयाँ भवनको शिलान्यास गरेका हुन् । प्रमुख लामा शेरबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, पञ्चकन्या गाउँपालिका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश सदस्य तेजबहादुर तामाङ, गाउँपालिकाका उपाध्यक्ष सीता खड्का, पवडा नं. ३ का अध्यक्ष रामबाबु पराजुली, राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणका सव इन्जियर लक्ष्मीनारायण साह, स्थानीय लामागुरु श्रीमान् लामा, पञ्चकन्या मन्दिरका मूलपुजारी लालबहादुर तामाङ तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी उपस्थिति थियो । 

संघीय सांसद तामाङ र प्रदेश उपसभामुख तामाङले निर्माण सुरु भएपछि भवनलाई पूर्णता दिनुपर्ने र त्यसका लागि अपुग बजेट जुटाउन आफूहरूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले गुम्बाको नयाँ भवन बनाउने वर्षौंदेखिको सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्दै बजेटको पहल गर्न‘हुने संघीय सांसद र उपसभामुखलाई धन्यवाद व्यक्त गरेका छन् । गाउँको पुरानो गुम्बा निर्माणमा पहिलेदेखि नै पहल गरेको तर गाउँपालिकाको साधनस्रोतले नभ्याइरहेको अवस्थाले यो सपना अधुरो रहेको उनले बताए । स्थानीय सरकारको नेतृत्वमा आफू आइसकेपछि गाउँपालिकाको तर्फबाट सक्ने सहयोग गर्दै आएको उल्लेख गर्दै अब पनि सहयोग रहने उनको भनाई रहेको छ । 

पञ्चकन्या गाउँपालिका उपाध्यक्ष सीता खड्का पराजुलीले पनि उक्त गुम्बा भवन समयमै सकिने आशा व्यक्त गर्दै निर्माणका लागि नपुग बजेट व्यवस्थापनका लागि संघीय सांसद र उपसभामुख तामाङलाई आग्रह गरे । 

गुम्बा ८ सय स्वायर फिटको मौलिक डिजाइनमा बन्नेछ । गुम्बाका लागि स्थानीय छिरिङ तामाङले १ रोपनी जग्गा उपलब्ध गराएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुनिलदोर्जे लामाले जानकारी दिएका छन् । उनका अनुसार नयाँ गुम्बाका लागि ३३ लाख ६६ हजार ६०८ रुपैयाँ लागत अनुमान छ । जसमा स्थानीय पूर्वाधार विभाग, भूकम्पीय पुनर्निर्णाणामा शाखा पुल्चोक ललितपुरबाट २३ लाख बजेट उपलब्ध हुने छ । बाँकी ३० प्रतिशत बजेटमा आधा स्थानीय सरकार गाउँपालिकाले र गुम्बा व्यवस्थापन समितिले १५ प्रतिशत आर्थिकभार बेहोर्ने समिति अध्यक्ष लामाले बताए । 

नुवाकोटबाट सह–महामन्त्रि र सहायक महामन्त्रि


विदुर । रााष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीमा नुवाकोटका दुई नेता मनोनित भएका छन् । सह–महामन्त्रिमा झनक प्याकुरेल र सहायक महामन्त्रिमा दिपककुमार राई मनोनित भएका हुन् ।

राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले गएको आईतवार पार्टीको विधान बमोजिम नुवाकोटका उनीहरूलाई मनोनयन गरेका हुन् ।

लामो समय राप्रपामा लागेका प्याकुरेल यस अघि जिल्ला विकास समिति नुवाकोटका सभापति समेत भइसकेका छन् । राईको भुगोल लिखु गाउँपालिका वडा नं. ४ मा गएको स्थानीय तह निर्वाचनमा सेटनै राप्रपाले जितेको थियो । 

नुवाकोट जेसिजको पदस्थापन


बट्टार । नुवाकोट जेसिज वर्ष २०२२ को अध्यक्षमा नवराज सुवेदी सहितको नयाँ कार्य समितिले गएको सोमवार एक समारोहका बीच पदस्थापन गरेको छ । वर्ष २०२१ का जिल्ला अध्यक्ष अञ्जली पाण्डेले वर्ष २०२२ का जिल्ला अध्यक्ष सुवेदीलाई पदस्थापन गराएका हुन् । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्इ अर्जुननरसिंह केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

गएको शनिबार सम्पन्न सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । जिल्ला समितिको कार्यकारिणी उपाध्यक्षमा अरुणराज पाठक र विनोद लामिछाने, उपाध्यक्षमा करण खतिवडा किशोर अर्याल, निरोज चित्रकार र हेमन्त रिमाल चयन भएका छन् । अधिवेशनबाट महासचिवको जिम्मेवारी सुमन भण्डारीलाई र कोषाध्यक्षको जिम्मेवारी रामधन ढकाललाई दिइएको छ । 

रसुवाका ९५ प्रतिशतले लगाए पूर्ण खोप


धुञ्चे । रसुवा जिल्लाका ९५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार मापदण्ड पूरा गरेका १८ वर्षभन्दा माथिका नागरिकहरू ९५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका हुन् ।

तथ्याङ्क अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १०६ जना रहेकोमा २९ हजार १०१ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । जुन ९९.९९ प्रतिशत हो । हालसम्म कोभिशिल्ड खोपको १ हजार ३० जनाले पूर्ण मात्रा लगाएका छन् भने २० हजार १५६ जनाले भेरोसेलको पूर्ण मात्रा लगएका छन् ।

एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप २ हजार जनालाई लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कुल ४ हजार २५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । 

कार्यालयका अनुसार रसुवामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको छ । जसमा ३ हजार ४०३ जना बालबालिकाले  कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनायो ।

सबैले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएपछि रसुवा पूर्ण खोपयुक्त जिल्ला पनि बनेको हो ।

गाउँपालिका र भूमि आयोगबीच सम्झौता

विदुर । रााष्ट्रिय भूमि आयोगसंग नुवाकोटको लिखु र तादी गाउँपालिकाले सम्झौता गरेको छ । दुई गाउँपालिकाले सुकुम्बासी तथा भूमिहिनहरूको भुमि सम्बन्धि सबै समस्या समाधान गर्न आयोगसंग सम्झौता गरेको छ । 

गएको सोमवार लिखु गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठ र तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले सम्झौता गरेका हुन् । उनीहरूसंग आयोगका तर्फबाट सदस्य सचिव अमिरप्रसाद न्यौपानेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आयोगका नुवाकोट जिल्ला संयोजक अर्जुनप्रसाद न्यौपानेको पनि त्यस अवसरमा उपस्थिति रहेको थियो । 





सुरुङमार्ग र रानीपौवा सडकप्रति चासो

अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै नुवाकोटका माओवादी नेताहरू



विदुर । नेकपा (माओवादी केन्द्र) का नेता तथा नुवाकोटका जनप्रतिनिधिहरूले टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाइदिन अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका छन् । 
    लगातार तीन आर्थिक वर्ष बजेट छुट्याइए पनि काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको कुनै काम सुरु नभएको भन्दै संघीय सांसद हितबहादुर तामाङ नेतृत्वको टोलीले मंगलबार बिहान अर्थमन्त्री शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो । संविधानसभा सदस्य विमला सुवेदी, वागमती प्रदेश उपसभामुख राधिका तामाङ, माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष रामप्रसाद ढुङ्गाना, सचिवालय सदस्य पुष्प लामिछाने सहितको टोलीले मन्त्री निवास पुल्चोक पुगेर टोखा–गुर्जे भञ्ज्याङ–छहरे सुरुङमार्गका साथै अलपत्र रहेको पासाङल्हामु सडकको बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार खण्ड निर्माण पनि छिटो सम्पन्न गर्ने पहल लिइदिन अर्थमन्त्री शर्मासँग माग गरेका छन् । तीन आर्थिक वर्षसम्म लगातार बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्ष २०७८/७९ को आधा समय वितिसक्दा पनि सुरुङमार्ग निर्माणसँग सम्बन्धित कुनै पनि काम अघि नबढिरहेकोले ध्यानाकर्षण गराएको सांसद हितबहादुर तामाङले जानकारी दिएका छन् । 
    आवश्यक पर्ने बजेट तथा आर्थिक स्रोत सुनिश्चित गरी निर्माण कार्यलाई छिटोभन्दा छिटो अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिन र आवश्यक पहलकदमी लिइदिनको लागि यो ध्यानाकर्षण पत्र पेस गरेको उप सभामुख राधिका तामाङले बताए । टोखा–छहरे–गुर्जे भञ्ज्याङ सुरुङमार्ग निर्माणका लागि सरकारले २०७६/०७७ मा ४० लाख, २०७७/०७८ मा १५ करोड १० लाख र २०७८/०७९ मा ५० करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शक्तिशाली छिमेकी मुलुक चीनलाई छोटो दुरीमा जोड्ने तथा दुई देशबीचको सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्धलाई थप सुदृढ गराउने विश्वास लिइएको टोखा–छहरे सुरुङमार्गको २०७६ माघ दोस्रो साता चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । चिनियाँ टोलीका अनुसार चार किलोमिटर हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको थियो । 
    यस्तै रानीपौवा–पीपलटार खण्डको सडक २ वर्षभित्र सम्पन्न गर्नेगरी सन् २०१४ जुलाईमा ठेक्का सम्झौता भएकोमा सन् २०२० को जुनसम्म पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि नपुगेकोले आयोजना पक्षको मागअनुसार नेपाल सरकारले २०७७ असार ९ गते ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द गर्ने कार्यको विरुद्ध निर्माण कम्पनी पक्षले उच्च अदालत पाटनमा रिट निवेदन दिएको र उक्त रिटउपर अहिलेसम्म सुनुवाइ नगरेकोले उक्त सडकको भविष्य अनिश्चित अवस्थामा पुगेको भन्दै रिट निवेदन छिटो सुनुवाइ गराउने कार्यमा सहयोग गर्न अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको छ यता, त्यसैगरी बालाजु–रानीपौवा खण्डको निर्माण पनि २ वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा ८ वर्ष भइसक्दा पनि निर्माण कार्यको भौतिक प्रगति ५० प्रतिशत पनि हुन नसकेको र निर्माण कम्पनीले बनाउने तदारुकता पनि नदेखाएकोले बालाजु रानीपौवा सडक खण्डमा यथाशीघ्र निर्माण सम्पन्न गर्न पहल लिइदिन पनि अर्थमन्त्री शर्माको ध्यानाकर्षण गराइएको नेता पुष्प लामिछानेले जानकारी दिएका छन् । 
    दुवै खण्डका लागि ८ वर्षअघि १ अर्ब ३४ करोड ५९ लाख ६३ हजार ४०४ रुपैयाँ १८ पैसा लागत अनुमान गरिएको थियो । तर ठेक्का सम्झौता भने ८५ करोड ३७ लाख ६८ हजार ५४७ रुपैयाँ ५९ पैसामा भएको सांसद तामाङले जानकारी दिए । बालाजु–रानीपौवा खण्डको निर्माणका लागि सैलुङ कन्ट्रक्सन कम्पनीले ३४ करोड ९४ करोड ७१ हजार ९५२ (भ्याटसहित) मा निर्माण जिम्मा लिएको छ । लागत स्टमेट भने ५४ करोड २२ लाख ४८ हजार ३८ रुपैयाँ रहेको छ ।

नुवाकोट र सुन्दरादेवीको स्मरण

राम बहादुर सिंखडा, हाल चितवन

नुवाकोट दरवार क्षेत्रको पुरानो तस्बिर 

तत्कालिन सुन्दरादेवी गाविस (तामे, हाल तादी गाउँपालिका अन्तर्गत) मा २०५३ साल जेठ १३ गते गाविस सचिवको रूपमा स्थायी जागिर प्रारम्भ गरेको २०७८ जेठ १३ गतेबाट २५ वसन्त पार गरिसकेछ । विदुरदेखि बट्टार, ढिकुरे हुँदै आँपरहसम्म बस सेवा चालु भई सात विसे हुँदै समुद्रटार, शिखरबेशीसम्मको बाँकी कामको रेखांकन कोरिएर धमाधम सडक निर्माणको काम हुँदै थियो ।

आँपरहबाट सातविसेसम्म तेर्सो तेर्सो एक डेढ घण्टाको पैदल हिँडेपछि गन्तव्य (सुन्दरादेवी, तामे) जानेतिर थोरै उकालो चढ्नु पथ्र्यो । उकालो चढिसकेपछि चौतारीमा बसेर चिसो हावाका साथ थकाई मार्दा कम आनन्द आउँदैन्थ्यो । आजकल सातविसे हुँदै तामे भएर वाघमारा र समुद्रटार भएर सिखरबेशीसम्मै यातायातको सुविधा पुगेको रहेछ । आजकल बाघमारामा आन्तरिक पर्यटकको बाक्लै उपस्थिति देखिने गरेको छ । यही ठाउँ भएर गोसाइँकुण्ड पनि जान सकिने रहेछ । चामलको लागि नेपालकै प्रसिद्ध ठाउँ शिकरबेसीमा खाना खाएको कहिलेकाहीँ सम्झना आउँदा अहिले पनि जिब्रो रसाई रहन्छ ।

गाविसको कार्यसञ्चालन उपाध्यक्षको घरमा बसेर तमाम गर्न‘पर्ने अवस्था थियो । टेबल कुर्चीहरू थिएनन् । ओछ्याएको सुकुलमाथि पलेंटी कसेर काम गर्न‘ पर्दा घुँडा र ढाडलाई उस्तै तक्लिफ हुन्थ्यो । सबै कागजात भगवान भरोसाको भरमा थन्क्याउनुपर्ने अवस्था थियो । भर्खरै भर्खरै गाविस कोषमा ५ लाख निकासा हुने क्रम चलिरहेको हुँदा लाभग्राहीको बाक्लै उपस्थिति र कागजातको आयतन बढ्दै जाँदा कार्यालय सञ्चालनको हिसाबले चिन्ताको विषय पनि उसैगरी थपिँदै थियो । ग्रामीण तहमा खाने बस्नेको समस्या उस्तै थियो। भाग्यवश एक जना आचार्य थरका पण्डितकहाँ सुव्यवस्थित रूपमा खानपानको व्यवस्था मिल्यो । मेरो लगभग २२ महिनाको त्यहाँको बसाइ खानपान र बस्ने व्यवस्थाको लागि थप तनाव बोक्नु पर्ने अवस्था रहेन ।

सदरमुकाम विदुरहुँदै बट्टारबाट आँपरहसम्म बस चले पनि बसको यात्राभन्दा पैदल यात्रा सुविधा लाग्थ्यो । कोचाकोच यात्रु, बाटोको दुरावस्थाबाट गुज्रिँदै गन्तव्यमा पुगेर ओर्लंदा गर्मी मौसममा त झन् कालको मुखबाट फुत्किएजस्तो लाग्थ्यो । त्यसैले रूख बुट्यानहरूको छेल पर्दै चिसो हावासँगै बहेली खेल्दै खोल्सीबाट झरेका कञ्चन पानी अञ्जुली थापेर पिउँदै लगभग ४ घण्टामा वट्टार, ढिकुरे, आँपरहदेखि सात विसेसम्मको यात्रा धेरैजसो हिँडेरै तय गरिन्थ्यो । ढिकुरे र आँपरह बजार थकाई मार्ने र भोक मेट्ने स्टेशन जस्तै थियो । सदरमुकाम विदुर गएर सातविसे फर्कंदा धेरैपटक आपरहमा बास बसाइको क्रममा मीठो अनुभूती संगालेको छु । मेरा लागि अहिले पनि पैदल यात्राको त्यो दिन अविस्मरणीय रूपमा रहिरहेको छ । कामको सिलसिलामा सदरमुकाम विदुर आएको बेला म लगायत अरू कर्मचारी साथीहरू मौका छोपी घरतिर जाने चाँजोपाजो मिलाउँथ्यौं। बिहानै ५ बजे नै नुवाकोटको विदुरबाट देवीघाट हुँदै त्रिशुलीको किनारै किनार पृथ्वी राजमार्गको गल्छी पक्डन्थ्यौं । त्यतिखेर गल्छी–देवीघाटको ग्रामीण सडक बन्ने क्रम चलिरहेको थियो ।

झण्डै २० किमि धुलेबाटोमा बीच–बीचमा आराम गर्दै सडक छेउछाउका पसलमा मकै, भटमास र मोहीले भोक र प्यास हटाउँदै झण्डै चार घण्टाको निरन्तर यात्रामा गल्छी पुगेर थकाइ माथ्र्यौ । गल्छीमा त्यतिखेर पुरानै शैलीका घरहरू राजमार्ग आसपासमा कतै–कतै देखिन्थे । त्रिशूलीको माछा सहितको स्वादिष्ट भोजन लिएर एक घण्टाको विश्रामपछि गल्छीबाट आ–आफ्नो गन्तव्यतिर लागिन्थ्यो । यातायातको असुविधाले गन्तव्यसम्म पुग्न असहज बनाए पनि गाउँको वातावरण भने रमाइलो थियो । हरिया वनपाखा, स्वच्छ हावा, कलकलाउँदो पानी, देउरालीको चिसो बतासमा सुसाउँथे सालका पातहरू उसैगरी लहलह परेका मौसम अनुसारका बाली । उत्पादन राम्रै लाग्थ्यो । तत्कालीन सुन्दरादेवी गाविसको ९ वडामध्ये वडा नं. ७, ८, ९ मा तामाङहरूको बाहुल्यता थियो । ती वडामा भएका बासिन्दासँग आत्मीयता घनिष्ठ थियो ।

कर्मचारीको रूपमा भन्दा पनि सहयोगी र सेवकको रूपमा प्रस्तुत हुँदै गएँ । पार्टीका जनप्रतिनिधिबीच रहेर काम गर्दा रमाइलो अनुभूति पाएँ । गाविसको नियमित कामले नै व्यस्त थिएँ । लेखापाल पदमा लिखित परीक्षाको जाँच दिएको लगभग नतिजा निस्कने समय भैसकेको थियो । बुधबारको गोरखापत्रमा ध्यान पुर्याए पनि नियमितता थिएन । गाउँमा पत्रिकाको नियमितता कसरी सम्भव हुन्थ्यो र । त्यसैले आफ्नो नतिजाप्रति मनमनै पिरली राखेको थिएँ ।

एकदिन अपरान्हतिर अचानक सोही गाविसको चिरपरिचित व्यक्तिको हातमार्फत् काठमाडौं घर भएका मेरा मित्रले खामबन्दी गरेर पठाएको चिठी हात पर्यो । एकान्तमा खोलेर हेरें । त्यो चिठीमा छोटकरीमा यति मात्र लेखिएको थियो, लिखित परीक्षा उत्तीर्ण गरेकोमा बधाई, अन्तर्वार्ता यति गते अर्थात् त्यो चिठी पाएको पर्सिपल्ट अन्तर्वार्ता तोकिएको रहेछ । हर्षको सीमा रहेन । साथीको त्यो पवित्र कार्यलाई मुरी–मुरी धन्यवाद दिएँ । सबै देवी देवता सम्झिएँ । दुःखमा मात्र ईश्वर सम्झिन्छन् भन्थे मान्छे सुखको यो क्षणमा आज म ईश्वरप्रति धेरै भरोसा गरें जस्तो लाग्यो । बालाई विशेष कामले काठमाडौं जान लागेको बताएँ । अन्तर्वार्तामा प्रस्तुत गरिने प्रमाणपत्र लगायत आवश्यक कागजात र सहयोगी एक दुई ओटा हल्का किताब झोलामा राखें। बिहान हतारमा बिर्सन सकिने भएकोले आवश्यक सामान सम्झी सम्झी जतन साथ राखें । बिहान ५ बजे नै झोला बोकेर लागे गन्तव्यतिर ।

बस चल्ने ठाउँ आपरहसम्म पुग्न घरदेखि झण्डै १ घण्टा लाग्थ्यो । पँधेर्नीहरू धारामा पानी थाप्न हिँडेकोबाहेक बाटोमा पूरै सन्नाटा थियो । संक्रमणकालीन अवस्थाले खेतबारीमा राखिएका बुख्याँचाले पनि बेला–बेलामा आँखालाई धोका दिएको हुन्थ्यो । आकाश खुला भएकोले मेरो शिरमा शित तपतप खसिरहेको थियो । मेरो संघर्षका कथा पढेर होला, मेरो यो जोखिमपूर्ण यात्रामा यसरी आँसु झारिरहेकी । आँपरह नपुगुन्जेलसम्म मेरा तर्कनाहरू पद मार्गमा विद्युतीय तरंगझैं दौडिरहे । ७ बजे बसमा चढेपछि भने हरियाली फाँटतिर पोखिएको सूर्यको पहेंलपुर किरणले थोरै आशा जगायो । यसले आफूलाई अलि हल्का बनाएको महसुस गरें । अन्तर्वार्तामा समय तालिका बमोजिम नै उपस्थित भै शिष्टताका साथ परिचय दिएँ । पहिलो पटक चितवन महोत्सव हुँदा चितवन सम्बन्धी लेखिएको किताब सोहीबेला महत्वपूर्ण लागेर खरिद गरी सुरक्षित राखेको थिएँ । सो किताब चितवनसँग सम्बन्धित इतिहास, संस्कृति, परम्परा र प्राकृतिक सम्पदासँग सम्बन्धित भएकोले र यस जिल्लाको बासिन्दा भएको नाताले पनि खुब चाख मानी मानी पढिन्थ्यो । चितवनको विषयवस्तुमा प्रश्नकर्ता केन्द्रित हुँदा ‘कानोलाई आँखा पाए’ जस्तो भयो । विषयवस्तु प्रति पूर्ण विश्वस्त भएर प्रस्तुत हुन पाउँदा नतिजा सुखद हुने कुरामा आत्मविश्वास जागेर आयो । साविकझैं काममा फर्किएँ । नतिजाको प्रतीक्षामा रहें । 

जतिसुकै राम्रो गरे पनि परिणाम नआउँदासम्मको अवस्था भने धुकचुकमै बिताउनु पर्दोरहेछ । अन्तर्वार्ताको नतिजा निस्कन धेरै समय नलाग्ने हुँदा २ हप्ताको समयलाई निकै चियो चर्चो गर्न थालें । सदाझैं दिनभरिको कामले थकित भएर बास स्थानतिर फर्कंदै थिएँ । घाम अस्ताउँदै थियो । नतिजाको सुखद खबर पाएपछि भने जिन्दगीको अर्को घाम पूर्वतिरबाट तत्कालै उदाएजस्तो भयो । नतिजाको सुखद परिणाम हात लाग्दा भुइँमै खुट्टै रहेन । मेरा हर्षका आँसु तप्प भुइँमा खसे । परिवार, साथी भाइबीच पृथक भएर बस्नु पर्दा खड्किएको अभावबीच पनि कत्रो आनन्द । वसन्त ऋतुको समय थियो । मैले आफूभित्रै ढकमक्क गुराँस फुलेको अनुभूति गरें । अन्तर्वार्तामा कथमकदाचित अनुपस्थित हुन गएको भए फेरि त्यो खुसीयाली यसै गरी छाउन निकै संघर्षमा मेरा भावी दिनहरू निरासाका घडीमा फनफनी घुमिरहेकै हुन्थे होलान् । लिखित परीक्षाको नतिजाको जानकारी दिने मेरा मित्रप्रति आज पनि उतिकै आभारी छु ।

कार्यालय जाँदा आउँदा बीच बाटोमा पर्ने सुन्दरादेवीसँग सुखद नतिजाको कामना गर्दै गन्तव्यतिर लागिन्थ्यो । मेरो कामना पूरा हुन गएकोमा धन्य–धन्य छ, सुन्दरादेवी तिमीलाई पनि। जहाँ पढ्नको लागि अनुकूल वातावरण नै थिएन । जिन्दगी भनेकै असम्भव कुरालाई सम्भव बनाउँदै आफ्नो बाटो आफैंले पहिल्याउँदै जानुपर्दो रहेछ । गाविसमा ५ लाख रुपैयाँको हिसाब किताब राख्न म एक जनालाई भ्याइनभ्याइ थियो । नियमित कामको अघि पछि समयलाई सदुपयोग गर्दै विचलित नभई बडो कठिनका साथ अध्ययनलाई निरन्तरता दिइरहेको थिएँ । मसँगै नियुक्ति भएका साथीहरू सरूवा भएर लगभग सबै गइसकेको अवस्था थियो । मेरो पदस्थापना काठमाडौंस्थित रक्षा लेखा नियन्त्रक कार्यालय सुन्धारामा हुने भयो । सरूवाभन्दा पदोन्नति भएर स्थानान्तरण हुँदाको क्षणको छुट्टै रमाइलो अनुभूति हुने रहेछ ।

मेरो सफलताले मलाई नै यो गाउँबाट बिदा दिँदै थियो । बसन्तले बिदाइ गरेपछि गुराँसका थुंगाहरू पाखा लागेजस्तै लाग्ने भएँ म पनि । लगभग २ वर्षदेखि पाइला टेकेको यो गाउँ, समाजमा हुर्किएको सम्बन्ध रूपी चमेलीको वृक्षबाट आत्मीयता रूपि सुगन्धको त्यो वास्नामा सर्पले नागमणी च्यापेजस्तै गरी अझै च्यापेर बसिरहुँजस्तो लाग्यो । सम्बन्ध जतिसुकै प्रगाढ बने पनि नदीले मुहान छोडेजस्तै गरिछाड्नु पर्ने हाम्रो दिनचर्या पनि यस्तै–यस्तै रहेछ । आँखामा अटाउन नसकेको त्यो चित्र जनम जनम नबिर्सने गरी मनमा संगालेर राखिबसे । मेरो नुवाकोट, मेरो सुन्दरादेवी । नेपालको भूगोलमा सधैं सुन्दर भएर फूल फुलिरहेको सुन्न, देख्न पाइरहूँ ।