Monday, February 14, 2022

दोहोरिने ‘मुड’मा जनप्रतिनिधि


विदुर । तीन साता अघि बट्टारमा अयोजित नुवाकोट जेसिजको पदस्थापना कार्यक्रममा विेशष अतिथिका रुपमा मन्तब्य राख्दै  पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले घोषणा गरे : ‘आउने कार्यकाल पनि म नै अध्यक्ष हुँ ।’ पार्टीको र नागरिकहरूको चाहनाका कारण आफु दोश्रो कार्यकालका लागि समेत पञ्चकन्या गाउँपालिका अध्यक्षमा उठ्न र निर्वाचित हुनका लागि तयार रहेको उनको दावी रहेको थियो । 

सोही कार्यक्रममा सहभागि भएर मन्तब्य दिएका म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले आफ्नो झण्डै पाँच वर्ष हुन लागेको कार्यकालको समीक्षा गर्दै परिस्थिति आँकलन गरेर अघि बढ्ने वा पछि हट्ने अभिव्यक्ति दिए । तर अनौपचारिक रुपमा भने उनी पनि गाउँपालिका अध्यक्ष दोहो¥याउने ‘मुड’ व्यक्त गरिरहेका छन् । 

तीन सात अघिको एकै कार्यक्रममा प्रस्तुत जनप्रतिनिधिहरूको आंकाक्ष र अभिव्यक्तिले नुवाकोटका स्थानीय सरकार प्रमुखहरू पुनः दोहोरिने तयारीमा रहेको संकेत गरेको छ । यी दुई गाउँपालिका मात्रै होइन नुवाकोटका १२ वटै स्थानीय सरकारका प्रमुखहरू पुनः सोही पदका लागि ‘मुड’ तयार गरिरहेका छन् । उप प्रमखहरू प्रमुखमा आफ्नो सम्भावनालाई प्रस्तुत गरिरहेका छन् । नुवाकोटमा सबै प्रमुख पुरुष र सबै उपप्रमुख महिला छन् । संबिधान अनुसार लगातार दुई पटकसम्म नेतृत्वमा रहन मिल्ने छ । 

दुई नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा नेपाली काँग्रेसले ७ स्थानीय तह, नेकपा एमालेले ३ स्थानीय तह र नेकपा माओबादी केन्द्रले दुई स्थानीय तहको प्रमुख जितेको छ । उप प्रमुखमा काँग्रेसबाट ७, एमालेबाट ३ र माओवादीबाट २ वटा स्थानीय तहमा निर्वाचित भएका छन् । विदुर नगरपालिमा प्रमुख उपप्रमुख एमालेबाट, बेलकोगढी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख माओवादीबाट निर्वाचित भएका छन् । त्यस्तै, दुप्चेश्वर, तादी, शिवपुरी, म्यागङ, किस्पाङ, सुर्यगढीमा अध्यक्ष र उपाध्यक्ष नै काँग्रेसबाट निर्वाचित छन् । लिखुमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष एमालेबाट, पञ्चकन्या अध्यक्ष माओवादी र उपाध्यक्ष काँग्रेसबाट, ककनीमा अध्यक्ष उपाध्यक्ष नै माओवादीबाट र तारकेश्वरमा अध्यक्ष, उपाध्यक्ष नै एमालेबाट निर्वाचित छन् ।

उपप्रमुख तथा उपाध्यक्षमा निर्वाचितहरू आफु प्रमुख तथा अध्यक्षका लागि योग्य भइसकेको र महिलाले पनि नेतृत्व गर्न पाउनु पर्ने दावी सहित आफ्ना राजनीतिक शक्तिकेन्द्रहरूमा लाग्न थालेका छन् । काँग्रेस भित्र भर्खरै सम्पन्न आन्तरिक चुनावमा देखिएको विभाजनले चुनावी टिकट बाडँफाँटमा हुने नयाँ समीकरणका कारण आफ्नो पल्लाभारी हुने जिकिर पनि रहेको छ । तर अधिकांश स्थानीय तहमा आफ्नै पार्टीबाट अध्यक्षमा निर्वाचित अध्यक्षहरूले दोहोरिने रहर गरेपछि भने उपाध्यक्षहरूलाई चुनौती थपिएको छ ।  

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी गाउँपालिका अध्यक्षमा दावी रहेको सुनाउँछन् । गाउँपालिका अध्यक्ष रामकृष्ण थापा ‘अपग्रेड’ हुने बेला भएको उल्लेख गर्दै गाउँपालिकामा अध्यक्षका लागि सम्भावना भए मात्रै आफ्नो उम्मेदवारी रहने उनले बताए । ‘गाउँपालिकाको अध्यक्षमा मेरो दावी प्रशस्त रहेको छ, उपाध्यक्ष केसीले भने– उपाध्यक्षमै चाँही दोहो¥याउने रहर छैन ।’ उनी थप्छन्– पार्टीले यसमा विवेक पु¥याएर निर्णय गर्छ भन्ने लागेको छ ।’

ककनी गाउँपालिका उपाध्यक्ष सिता लामाले पनि अध्यक्षको दावी गरेका छन् । माओवादीबाटै निर्वाचित अध्यक्ष मानबहादुर लामा भने ‘एक पटक त हेर्नु पर्ला की’ भनिरहेको समयमा उपाध्यक्ष लामा आफ्नो अध्यक्षको दावी लिएर पार्टी केन्द्रमा र नेताहरूसंग छलफलमा बस्न थालेका छन् । तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष पनि अध्यक्ष पाए मात्रै उठ्ने र आफ्नो योग्यता रहेको दावी पेश गरिरहेका छन् । त्यहाँ पनि उनकै पार्टी एमालेबाट अध्यक्षमा रमेश वस्ती छन् । वस्ती संविधानले व्यवस्था गरे अनुसार एक पटक पुनः नागरिकबाट ‘टेस्टेड’ हुने बताइरहेका छन् । 

नुवाकोटका केही गाउँपालिका अध्यक्षहरूलाई पुनः निर्वाचनमा जानका लागि पार्टीको लाइन मिलाउन सजिलो देखिएको छ । आफ्ना पार्टीको परिवर्तिन समीकरणका कारण केही अध्यक्षहरू चाहना राख्दा पार्टीको टिकट लिनसक्ने अवस्थामा रहेको जानकारहरूले बताउन थालेका छन् । अनौपचारिक रुपमा चर्चा हुने नामहरूमा माओवादीबाट पञ्चकन्या गाउँपालिाका अध्यक्षमा हाल माओवादीबाट निर्वाचित तेजबहादुर तामाङ, तादी गाउँपालिका अध्यक्षमा हाल काँग्रेसबाट निर्वाचित नारायणप्रसाद पाण्डे, लिखु गाउँपालिकामा काँग्रेसबाट निर्वाचित हालका अध्यक्ष ध्रुब श्रेष्ठ, तारकेश्वर गाउँपालिका अध्यक्षमा हाल एमालेबाट निर्वाचित रमेश वस्तीले पुनः पार्टीबाट टिकट लिने सम्भावना छ । 

त्यस्तै संघीयता कार्यान्वयन र आफ्नो कार्यकालको प्रगती समीक्षा गर्दै अन्य जनप्रतिनिधहरूले समेत पार्टीलाई टिकटका लागि मनाउने देखिएको छ । पहिलो पाँच बर्षको अबधिमा स्थानीय तहको नीति निर्माण, कार्यबिधि निर्माण र बिकासको खाका तयार पार्नमै बितेका बताउँदै त्यसको सफल कार्यान्वयन र कार्य सम्पन्नताको लागी आफुहरू एक पटक नेतृत्वमा आउनु पर्ने दावी छ । 

हाल कार्यान्वयनमा रहेका कामहरूलाई पूरा गरेर १० वर्षमा विकासमा नमूना नगरपालिका निर्माण गर्ने लक्ष्य रहेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । एमालेका तर्फबाट निर्बाचित पण्डित यस बर्ष आफुलाईनै पार्टीले मेयरको उम्मेदवार बनाउनेमा आशाबादी छन् । पाँच बर्षको अबधिमा नगरपालिकाको विकासमा भौतिक पूर्वाधार विकास, कृषि उद्यम, मोटरबाटोलगायत जनताका काम धेरै भएको र त्यसलाई निरन्तरताको लागी समेत पार्टीले फेरि उम्मेदवार बनाउने उनले बताएका छन् । उनी भन्छन्– ‘हाल कार्यान्वयनमा रहेको अधुरा काम र कार्ययोजना अनुसारका बाँकी काम पूरा गर्ने, पालिकाभित्रका सबै मोटरबाटा पिच गर्ने, युवालाई स्वरोजगार उन्मुख बनाउने लगायतका थुप्रै एजेण्डा मसंग बाँकी छ । खासमा विदुरमा सम्वृद्ध नुवाकोटको मुहारको रुपमा तयार गर्ने प्रष्ट भिजन मसंग छ र यस अनुरुप काम गर्नका लागि मलाई अर्को एक कार्यकाल आवश्यक छ ।’  

केन्द्रमा तय हुने राजनीति समीकरणको प्रतीक्षा नुवाकोटमा बढी देखिएको छ । माओवादी र समावादीको चुनावी तालमेल देखि, वर्तमान सत्ता गठबन्धको स्थानीय तहको चुनावी एकातासम्मले भने नयाँ तरंग पैदा गरेको छ । 

चुनावी गठबन्धका कारण हुने भागबण्डामा आफ्नो स्थानीय तह आफ्नो पार्टीलाई नपर्ने नपर्ने ढुक्क नभएसम्म मुख खोलिनहाल्ने अवस्था पनि केही नेताहरूको देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा निकतटम भएका उम्मेदवारहरू पुनः उठ्ने चर्चा पनि छ । 


नुवाकोटमा सोलारबाट १७ मेगावाट बिजुली उत्पादन


बट्टार । नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा उत्पादित १७ मेगावाट सोलार बिजुली राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपिएको छ । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनाबाट १७ मेगावाट विद्युत् हालै राष्ट्रिय प्रसारणमा थपिएको हो । 

नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा देवीघाट जलविद्यत् केन्द्रको पाँच सय रोपनी जग्गामा सोलार प्यानल रहेको छ । नेपालकै सबैभन्दा ठूलो यो सोलार आयोजनाबाट दैनिक सरदर पाँच घन्टा बिजुली उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ । 

यो आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । यो नेपालको ठूलो सोलार आयोजना हो । 

नुवाकोटमा सञ्चालन भएको २५ मेगावाट जडित क्षमता रहेको आयोजनामा आठवटा मेगावाटका लागि सोलार प्यानल जडानको काम भइरहेको छ । आगामी वैशाखसम्ममा आठ मेगावाट विद्युत् थपिने आयोजना प्रमुख विकासबहादुर रघुवंशीले जानकारी दिएका छन् । 

तीन अर्ब ८० करोड रुपैयाँको लागतमा तीन वर्षअघिदेखि निर्माण सुरु भएको यो आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन हुन थालेपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ । नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली थी ‘ए’, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र निजी क्षेत्रबाट निर्माण भएको सातबिसेमा रहेको तादीबाट पाँच मेगावाट जलविद्यत् केन्द सञ्चालनमा रहेको छ । 

नुवाकोटमै ३७ मेगावाटको माथिल्लो त्रिशूली थी ‘बी’ निर्माणाधीन अवस्थामा रहेको छ ।

 


प्रेमका लागि सुन्दर बहाना भ्यालेनटाइन्स् डे


अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरूले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ । सम्भवत यस्तै मान्यताले नेपालमा पनि भ्यालेनटाइन डे धुमधाम मनाइने गरिन्छ ।

भ्यालेन्टाइन पश्चिमा संस्कृति भएपनि संसारलाइ प्रणय सूत्रको सन्देश सिकाउनु कुनै नराम्रो कार्य अबश्य होइन् । संसारमा हत्या, हिंसा र मानवीयताको खडेरी परिरहेको समयमा प्रेमको भाव फैलिनु अत्यन्तै सुन्दर पक्ष हो । प्रेम विश्वास हो, प्रेम जीवन जीउने आधार हो अनि प्रेम एक सुन्दर रचना हो । यसकारण, प्रेमको कुनै खराबी देखिदैनन् । न त प्रेम भन्ने शब्द आफैले कुनै अशोभनीय अर्थ बोकेको छ । एकपटक गहिरिएर सोच्ने हो भने प्रेमबिनाको संसार साँच्चिकै असम्भव छ । मानिसले जीवनमा जस्तोसुकै सफलता हासिल गरेपनि, जस्तोसुकै पदमा पुगेपनि उसँगै प्रेमका अनुभुतिहरूले पनि अंकमाल गरिरहेका हुन्छन् । प्रेम अनुभुतिको खाँचो मानिसलाई मात्रै होइन पशुलाई पनि हुन्छ । प्राणीहरू पनि अब्यक्त प्रेम गरिहेका हुन्छन् । यसकारण प्रेम समस्त ब्रमाण्डमा अटाइरहेका हरेक सजिव भावनाहरूको एक साझा बिशेषता हो । जुन सबैलाइ आबश्यक छ र सबैलाइ खाँचो छ ।

यसरी भयो सुरु  

खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे । जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’ 

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले भ्यालेनटाइन डे मनाउन सुरु गरे । सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी–प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

भ्यालेनटाइन गिफ्ट 

भ्यालेनटाइन गिफ्टको एकदमै महत्व छ । गिफ्ट भन्नसाथ बजारमा खरिद गरेका महंगा बस्तु भन्ने छैन । गिफ्ट त्यस्तो हो, जसले आफ्नो प्रेम भावना अभिव्यक्त गर्न सकियोस् । गिफ्ट त्यस्तो होस्, जसमा आफ्नो प्रेम समर्पण गर्न सकियोस् । हुन त अहिले गुलाब, कार्डसँगै विभिन्न किसिमका गिफ्ट आइटम बजारमा उपलब्ध छन् । त्यसमध्ये पनि यस्तो गिफ्ट उपयुक्त हुन्छ, जो अर्थपूर्ण होस् । कलात्मक होस् ।

प्रेम सप्ताह

पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई भ्यालेनटाइन डे भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा भ्यालेनटाइन डे मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

७ फेब्रुअरी : यो दिनलाइ च्यकभ म्बथ  रुपमा मनाइन्छ । यो  दिन आआफ्नो प्रेमीलाइ वा मन पराएकोलाइ रातो गुलाव दिएर आफूप्रति आकषिर्त गर्ने गरिन्छ । हिटलरले पनि आफ्नी प्रेमिका इभालाइ ७ फेब्रुअरीमा रातो गुलाव उपहार दिएको किम्वदन्ती छ ।

८ फेब्रुअरी : ८ फेब्रुअरीलाई प्रपोज डेकोरुपमा मनाइने गरिन्छ । यो दिन आफूलाइ मन परेको मान्छेसंग सम्मान सहित निर्धक्क प्रेम प्रस्ताब राख्न सकिन्छ । यदि तपाइको दिलमा कोही छ भने यो दिन ढुक्कसँग प्रेम प्रस्ताब राख्न सक्नुहुन्छ तर प्रतिउतर जे भएपनी सहर्स स्विकार्न भने तयार रहनुपर्छ ।

९ फेब्रुअरी : ९ फेब्रुअरीलाई चकलेट डेकोरुपमा मनाइन्छ । यो दिनमा आफूलाई मन परेको मान्छेलाई मिठो खुवाएर भावनात्मकरुपमा नजिक हुन सकिन्छ । मीठो खानेकुरासँगै माया पनि झाँगिदै जाने विश्वास छ । स्वादिलो चकलेटले मायालाइ अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।

१० फेब्रुअरी ः १० फेब्रुअरीलाई टडी डे को रुपमा मनाइने गरिन्छ । टेडी एकदमै नरम र मुलायम खालको हुन्छ । माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेडी गिफ्ट दिने गरिन्छ ।

११ फेब्रुअरी : ११ फेब्रुअरीलाई प्रोमिस डे का रुपमा मनाइन्छ । यो दिन आफ्नो मायालुसँग प्रेमलाई सधै सार्थक पार्ने कसम खाइन्छ । अर्थात्, मायामा विश्वासको कदम बलियो बनाउने यो विशेष दिन हो । जीवनभर अटुट साथ दिने वाचा जोडीहरूले यस दिन खाने गर्दछन् ।

१२ फेब्रुअरी :  १२ फेब्रुअरी हग डे हो । यो दिन न्यानो आलिङ्गनमा बाँधिएर प्रेमीहरूले आफ्नो प्रेमको गहिरो अनुभुति ब्यक्त गर्ने गर्दछन् । यो दिन तपाइले आफ्नो प्रेमिलाई जाँच्ने दिन पनि हो । उसले कति टाइट हग गर्छ यसबाट प्रेमप्रतिको समर्पण मापन गर्ने गरिन्छ । प्रेमीले यदि टाइट हग गरेन भने बुझ्नुस् कि त्यो प्रेम झुटो हो । अनि, आलिंगनमा बाँधिदा तपाइँको प्रेमीको धड्कनमा एक प्रकारको सान्त भाव पाउँनु भयो भने त्यो प्रेम 

साँच्चीकै अमर हो भनेर बुझ्नुहोस् ।

१३ फेब्रुअरी : फेब्रुअरी १३ एक महत्वपूर्ण दिन हो । यसलाई किस दिवस् अर्थात् चुम्बन दिवसका रुपमा मनाइने गरिन्छ । यसदिन आफ्नो प्रेमिलाई यहाँले मायाको जादु देखाउन सक्नुहुन्छ । यस दिनमा आफ्नो मायालुलाई सुमधुर चुम्बन गरेर आफ्नो अपार माया ब्यक्त गर्न सकिन्छ ।

१४ फेब्रुअरी : यो अन्तिम तथा बिशेष दिन हो अर्थात् भ्यालेन्टाइन डे । यसअघि मनाइएको सबै दिनको स्वादसँगै चाख्ने दिने हो यो । यो दिनमा प्रेमीहरूबीच रहेका तीतामीठा सबै भावना खुलस्त एकअर्कालाई भनेर सेतो पर्दाजस्तो सफा हृदय बनाउनुपर्ने हुन्छ । यस दिनलाई यादगार बनाउन कुनै महंगो उपहार होइन् कुनै अर्थपूर्ण उपहार आफ्नो प्रेमीलाई दिनुहोस् जसले तपाइँको प्रेमलाई सधै ताजा बनाई राखोस् । कुनै नव प्रेमीले आफुले मन परेको मन्छेलाई जे जस्तो प्रतिक्रिया आएपनि प्रेमको प्रस्ताब राख्ने यो एक उत्तम दिन हो । यो दिन जो सुकैलाई प्रेम प्रस्ताब राख्न खुल्ला छ । तर कसैलाई परिक्षण गर्ने गरि र कसैलाई होच्याउने ढंगले प्रेम प्रस्ताब भने नराख्नुहोस् । भित्री मनदेखी चाहनु हुन्छ भने मात्रै प्रेम प्रस्ताब राख्न सक्नु हुन्छ । यो दिनलाई अत्यन्नै स्मरणीय बनाउनुहोस् यो दिन सकेसम्म पहिलो भेटमा रातो गुलाव दिएर माया ब्यक्त गर्नुहोस् ।

गुलाबका रङहरूको बिषेशता 

गुलावको फूलका रङहरू पनि आ–आफ्नै विशेषता छन् । रातो गुलावले एकदमै गाढा प्रेममा रहेको जनाउन्छ । यदि कसैले रातो गुलाब सहर्ष स्विकारे उ तपाईको प्रेममा मदहोस छ भनेर बुझिन्छ । पहेलो रङको गु्लाबको फूल भर्खर सुरु भएको मायामा लागू हुन्छ । कुनै साथीलाई मन पराइएको छ तर अभिब्यक्त गर्न सकिएको छैन भने पहेलो गुलावबाट सुरु गर्नुहोस् । पहेलो गुलाव दिनुको अर्थ निकटता जनाउनु र कसैलाई केयर गर्छ‘ भन्ने हो । यसले मित्रताको सुत्रलाइ सुरुवात गरेको बुझिन्छ जुन पछि प्रेममा बदलिन्छ । सेतो गुलावले पवित्र सम्बन्धलाइ जनाउँछ जुन तपाइले जो सुकैलाइ जतिवेला पनि दिन सक्नुहुन्छ ।  तपाइँ कालो गुलाव भने प्रयोग नगर्नुहोस् त्यो कालो गुलाव पीडाको संकेत हो ।

नुवाकोट काँग्रेसले थाल्यो मस्यौदाको काम

विदुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका सचिव श्रीराम श्रेष्ठको अध्यक्षतामा कार्यविधि मस्यौदा निर्माण उपसमितिको बैठक भएको छ । 

काँग्रेस नुवाकोटले पार्टीलाई चुस्त र दुरुस्त बनाएर कार्य सञ्चालन गर्नका लागी मस्यौदा निर्माण उपसमिति गठन भएको बताइएको छ । मस्यौदा निर्माण उपसमितिले जिल्ला कार्यसम्पादन समिति तथा जिल्ला कार्यसमितिको बैठक सञ्चालन कार्यबिधि, काठमाडौँ जिल्ला सम्पर्क समिति गठन तथा सञ्चालन कार्यबिधि, जिल्ला सचिवालय सञ्चालन कार्यबिधि, जिल्ला कार्यसमितिबाट गठन भएका तथा  भविष्यमा गठन हुने उप समितिहरूको कार्य सञ्चालन कार्यविधि निर्माण गर्ने छ । 

पार्टीको सबै अङ्गहरूलाई ब्यबस्थित र नीतिगत रुपमा सञ्चालन गर्नको लागी मस्यौदा निर्माण सुरु भएको हो । सचिब श्रेष्ठको संयोजकत्वमा निर्माण भएको उपसमितिले मस्यौदा निर्माण गरि जिल्ला कार्य समितिको बैठकमा पेश गर्ने बताईएको छ । काँग्रेस नुवाकोटको पुर्ण बैठकले मस्यौदालाई छलफल मार्फत कार्य बिधिको रुप दिएर कार्यान्वयन गर्न लागेको काँग्रेस नुवाकोट सभापति रमेशकुमार महतले बताए । संगठन सुदृढिकरण, पार्टीका सबै अङ्गहरूको सही ब्यबस्थापन र कार्य सञ्चालनजको लागी जिल्ला नेतृत्व तहले कार्यबिधि निर्माण गर्नको लागि उपसमितिले काम सुरु गरेको हो । 

निःशुल्क पिपिआर खोप

शिवपुरी गाउँपालिकामा पिपिआर रोगविरुद्धको खोप लगाइदै । 

विदुर । नुवाकोट र रसुवाका भेडाबाख्रालाई माघ २५ देखि आज सोमवारसम्म निःशुल्क पिपिआर रोगविरुद्धको खोप अभियान भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले सञ्चालन गरिरहेको छ । 

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत भेटेरिनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोपको अभियान सुरु गरेको हो । खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर अभिमुखीकरण पश्चात् खोपसहितको आवश्यक सहायता सामग्री उपलब्ध गराइसकेको विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले जानकारी दिएका छन् । 

नुवाकोटका लागि दुई लाख २० हजार डोज र रसुवाका लागि २९ हजार डोज खोपसहित प्राविधिकलाई कार्यक्षेत्र तोकेर पठाइएको छ । 

यो अभियानलाई सबै स्थानीय तहले आफ्नै कार्यक्रमका रूपमा सफल बनाउन सहयोग गरिरहेको वरिष्ठ पशु विकास अधिकृत डा. श्रेष्ठले बताए । 

पिपिआर भेडाबाख्रामा लाग्ने घातक सङ्क्रामक रोग हो । यसबाट सुरक्षित बनाउन निःशुल्क उपलब्ध गराइएको खोप कार्यक्रममा आफ्ना भेडाबाख्रालाई टोल तथा गाउँगाउँमा तोकिएको खोप केन्द्रसम्म लगेर लाभ लिन विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. सुलोचना श्रेष्ठले अनुरोध गरेका छन् । भेडाबाख्रामा हैजाको रूपमा परिचित पिपिआर रोग नेपालका सबै जिल्ला र बस्तीसम्म फैलिसकेको छ । 

दुई करोड २६ लाखमा विद्यालय भवन निर्माण


विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ करेजुङ्ग स्थित नवज्योति आधारभूत विद्यालयमा नवनिर्मित भवनहरू सप्रोस नेपालका कार्यकारी निर्देशक डा. सुनित अधिकारीले दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङलाई हस्तान्तरण गरेका छन् ।

बिहिवार विद्यलायमा भएको कार्यक्रममा प्रमाण–पत्र र नमूना साँचो हस्तान्तरण पश्चात दुप्चेश्वर गाउँपालिका, ६ नं. वडा कार्यालय, विद्यालय तथा सप्रोस नेपालको भूमिका तथा कार्य जिम्मेवारीहरू उल्लेख गरी सम्बन्धित सवै पक्षको हस्ताक्षर सहितको सहमति–पत्र आदानप्रदान भएको थियो । सो कार्यक्रममा अभिभावक, विद्यार्थी, समाजसेवी, विद्यालय भवन निर्माणमा प्रत्यक्ष सम्लग्न मट म्याकडोनाल्ड, जिइओसिई कन्सल्ट्यान्ट, सप्रोस नेपाल, गाउँपालिका कार्यालयका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा अन्य प्रतिनिधहरूको उपस्थिति थियो ।

कार्यक्रममा सप्रोस नेपालको तर्फबाट विद्यालय भवन निर्माण कार्यक्रम संयोजक केशबबाबु पौडेलले भवन निर्माण परियोजना सम्बन्धित मुख्य गतिविधि तथा निर्माणमा भएको खर्चको विवरण प्रस्तुत गरेका छन् । 

उनका अनुसार ७ वटा कक्षा कोठाहरू भएको दुई भवनहरू, लैङ्गिक मैत्री शौचालय, १४८ मिटर घेराबार निर्माण भएको छ । त्यस्तै, इन्टेक तथा १९ सय ६५ मिटर पाईपलाइन बिछयाएर दिगो खानेपानीको श्रोत व्यवस्थापन, प्रत्येक कक्षा कोठामा तथा अफिस कोठाको लागि फर्निचर, बालबालिकाको लागि खेल उद्यान तथा खेल सामाग्री, हात धुने स्थान निर्माण भएको बताइएको छ । दुई करोड २६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिहं तामाङले सम्पूर्ण सुविधा सहित निर्मित भवन, शौचालय, खेलमैदानको व्यवस्थाले यस विद्यालय दुप्चेश्वर कै नमूना विद्यालयको रुपमा स्थापित भएको बताए । 

उनले पूर्णिमा कार्यक्रम र गाउँपालिका बीच लामो सहकार्य भएको र गाउँपालिका दुई विद्यालयहरूमा निर्मित भौतिक सरंचनाहरूको लागि पूर्णिमा कार्यक्रमलाई धन्यवाद ज्ञापन गरेका छन् । अबको उद्देश्य शैक्षिकस्तर सुधार्नु नै रहेको बताउँदै तामाङले नवज्योति आधारभूत विद्यालयमा थप एक शिक्षकको कोटा स्वीकृत भैसकेको जानकारी दिए । 

उक्त कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाको उपाध्यक्ष अञ्जु आचार्य र दुप्चेश्वर वडा नं. ६ का अध्यक्ष किशोर आचार्यले दुप्चेश्वरमा भए गरेका विकास निर्माणका कार्यक्रमहरूका बारेमा जानकारी गराउँदै दुःखका साथ कमजोर भौतिक अवस्थामा पढाई सञ्चालन हुँदै आएकोमा नवनिर्मित भवन, खेल सामाग्री लगायतका सुविधाले पढाईस्तरमा सुधार हुने विश्वास व्यक्त गरेका छन् ।


सामाजिक सञ्जालबाट

आदरणीय मामा पोष्टबहादुर बोगटी प्रति नमन । यही फागुन १४ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट आउँदै हुनुहुन्छ । विदुर नगरपालिका–५ पिपलटारमा निर्माण भइरहेको पोष्टबहादुर बोगटी स्मृति पार्कमा माओवादीका तत्कालिन उपाध्यक्ष पोष्टबहादुर बोगटीको पुर्णकदको ढलौटको शालिक अनावरण गर्न अध्यक्ष प्रचण्ड नुवाकोट आउन लाग्नु भएको हो । 

वि. सं.२०१० साल साउन ३ गते साबिक नुवाकोट जिल्ला तुप्चे गाबिस वडा नं. २ भित्रिनिटारमा आमा लेखकुमारी बोगटी र पिता भैरबबहादुर बोगटीको कोखबाट जेठा सन्तानको रुपमा जन्मनु भएको पोष्टबहादुर बोगटीको ६१ बर्षको उमेरमा २०७१ साल भाद्र ३० गते बिहान हृदयघात र मस्तिष्कघातका कारण काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

पोष्टबहादुर बोगटी निधन हुनु पुर्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०२५ सालदेखि बाम राजनीतिको समर्थक भई २०३७ सालमा नेकपा चौ.म.को जिल्ला सेक्रेटरी, २०४० सालमा नेकपा (मशाल) को नुवाकोट जिल्ला सेक्रेटी भएर जिल्लाको नेतृत्व गर्नेदेखि, २०४३ सालमा बागमती क्षेत्रीय ब्यूरो सदस्यमा मनोनित हुनु भएको थियो । २०४५ साल देखि (मशाल) को केन्द्रीय सदस्य, २०४८ सालमा ने.क.पा. (एकताकेन्द्र) को एकता महाधिवेसनबाट पुनः केन्द्रीय सदस्यमा चुनिनु भएको थियो ।

राष्ट्रिय एकता माहधिबेशन पछि उहाँ पार्टीको कर्णाली क्षेत्रीय व्यूरोे इन्चार्ज हुदै, २०५३ सालवाट पश्चिम क्षेत्रीय व्यूरोे इन्चार्ज, २०६१ सालबाट गण्डक, राप्ती, भेरी—कर्णाली र सेती–माहाकाली क्षेत्रीय व्यूरोे समेटेर बनेको सिङ्गो पश्चिम केन्द्रीय कमाण्डको ईन्चार्ज हुनुभएको थियो ।

२०५४ सालमा नेपाल कम्युष्टि पार्टी (माओवादी) को पोलीटव्यूरोे सदस्य, २०५८ सालमा स्थायी समिति सदस्य, २०६७ सालमा पार्टीको केन्द्रीय सचिव हँुदै, २०६९ सालमा हेटौंडामा सम्पन्न पार्टीको एकताको राष्ट्रिय महाधिबेशनबाट महासचिवमा निर्वाचित हुनुभएको थियो । २०७१ बैशाखमा सम्पन्न पार्टीको बिराटनगर राष्ट्रिय सम्मेलन लगत्तै केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा अत्याधिम लोकप्रिय मतद्वारा केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनु भयो ।

२०६४ सालको संबिधानसभा निर्वाचनमा नुवाकोट जिल्ला साबिक निर्वाचन क्षेत्र नं. ३ वाट संबिधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँँदै, क्रमशः उर्जा, शिक्षा, संस्कृतिक, पर्यटन तथा नागरीक उड्ययन मन्त्री भएर मन्त्रालयको जिम्मेवारी पूरा गर्न‘ भएको थियो ।

स्वअध्ययन, लगन, निष्ठा र अथक मेहनत तथा बिचार र ब्यवहारको एकरुपताको कौशलताका धनी बोगटी सादा, सरल र सामुहिकतामा रमाउने अत्यन्तै व्यवहारिक नेता हुनुहुन्थ्यो । उहाँ आधारभूत श्रमजीवि सर्बहाराबर्ग जातजाति, भाषाभाषी, क्षेत्र र लिङ्गका उत्पीडित जनसमुदायहरूको आर्थिक, सामाजिक साँस्कृतिक जीवन स्तर उठाउन निरन्तर लागि पर्ने नेता हुनुहुन्थ्यो ।

– सुजिना खड्का


विदुरमा पशुधन बीमा कार्यक्रम प्रभावकारी


विदुर । नुवाकोटका स्थानीय तहहरूले किसानको न्यूनतम लागतमा सञ्चालन गर्दै आएको पशुधन बीमा कार्यक्रम प्रभाबकारी देखिएको छ । 

व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानहरूले सबै पशुको मुल्याङ्कन गरि बीमा गर्दै आएका छन् । राज्य र स्थानीय सरकारले समेत सहुलियत प्रदान गरे पछि नुवाकोटका किसानहरू बीमा कार्यक्रममा सहभागी हुन थालेका हुन् । 

१२ स्थानीय तह रहेको नुवाकोटमा सबै भन्दा पहिला विदुर नगरपालिकाले पशु बीमा कार्यक्रमको लागि ५० प्रतिशत बीमाङ्क रकम तिर्दै आएको छ । नेपाल सरकारले जम्मा बीमाङ्कको ५० प्रतिशत र बाँकि रकमको पनि बिदुर नगरपालिकाले ५० प्रतिशत बीमाङ्क रकम तिरिदिए पछि पशु बीमा कार्यक्रममा किसानहरू आकर्षित भएका छन् । पशुपालन गर्दा कतिपय अवस्थामा बस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बीमा गरिएको छ । सुरुमा बीमा कार्यक्रम लागू भएपनि जानकारी कम हुँदा किसानहरू सहभागी नभएपछि ५० प्रतिशत बीमाङ्क रकम नगरपालिकाले तिरेपछि किसानहरूको आकर्षण बढेको हो । 

विदुर नगरपालिका, तादी गाँउपालिका, पञ्चकन्या गाँउपालिका, शिबपुरी गाँउपालिका लगायतले पशुधन बीमा कार्यक्रम नीतिगत ब्यबस्था गरेर कार्यान्वयन गर्दै आएको छ । 

बिबिध कारणले पशु र पशुको माध्यमबाट हुने क्षतीको निबारण तथा भरणपोषणको लागि पशु बीमा कार्यक्रम सञ्चालन गरेको हो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पशु बीमा कार्यक्रम लागू भएपछि किसानहरू पशु पालनमा समेत आकर्षित हुन थालेको बताए । कृषि र पशु ब्यबसायमा सम्लग्नलाई राहतको प्याकेज स्वरुप बीमा कार्यक्रम सञ्चालन गरेको पण्डितले बताए । उनका अनुसार केन्द्र सरकारले नै पशु बीमा कार्यक्रमले ५० प्रतिशत बीमाङ्क रकम उपलब्ध गराउँदै आएको छ । 

यसरी पशुधन बीमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बीमालाई प्राथामिकतामा राखिएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताएका छन् । 

नुवाकोट मासु अण्डा र दूधमा जिल्लालाई आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यात समेत 

गर्न थालिसकेको छ । दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा बिक्रिमा अनुदानको समेत ब्यबस्था मिलाएको छ । दुध बिक्रिमा अनुदानको ब्यबस्था भएसँगै पशु पालन र दुध उत्पादनमा समेत बृद्धि हुँदै गएको छ । 


नुवाकोटमा आलु उत्पादन घटेको अनुमान


विदुर । बेमैसमी वर्षाका कारण नुवाकोटमा यसवर्ष आलुको उत्पादन घटेको अनुमान गरिएको छ । 

आवश्यक परेको बेलामा उपलब्ध नभएको रसायनिक मलका कारणले पनि नुवाकोटमा आलुको उत्पादन घटेको हो । 

कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार यस बर्ष ३५ हजार मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष नुवाकोटमा झण्डै ४२ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो । गतवर्ष १९.२ मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यसवर्ष उत्पादकत्व घटेर १८.२४ मेट्रिकटनमा आउने अनुमान गरिएको छ । 

आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । आलु थन्काउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आएको हो । नुवाकोटमा आलु लगाउने मुख्य समयमा रसायनिक मल नपाउदा समेत आलु उत्पादनमा कम भएको अनुमान कृषि ज्ञान केन्द्र प्रमुख केशब खनालको रहेको छ । 

नुवाकोटका केही स्थानमा किसानहरूले आलु भित्र्याउन थालेका छन् । गत बर्षको तुलनामा आलुमा भनेजस्तो दाना नलागेको थोरै मात्रामा उत्पादन भएको किसानहरूको भनाई रहेको छ । आलुमा पछौटे डढुवा समेत देखिएको छ । चिसो मौसमका कारण आलुमा डढुवा 

देखिएकाले आलु उत्पादनमा गिरावट हुने कृषि ज्ञान केन्द्र नुवाकोटले अनुमान गरेको छ । आलु थन्काउने समयमा पानी परेकाले बारीमा रहेको आलु कुहिने समस्या देखिएको छ । 

सरुवा भई हिडेका अधिकृतलाई मोसो, गाउँपालिकादेखि वडासम्मको सेवा रोकियो

 


बेत्रावती । रसुवाको कालिका गाउँपालिकाबाट सरुवा भएर काठमाडौं जान लागेको प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय एक युवाले शुक्रवार दिउँसो मोसो दलेका छन् । यादव सापकोटालाई कालिका गाउँ पालिका वडा नं. २ का विश्वप्रसाद ढकालले हातपात गरी मोसो दलेका हुन् । 

गाउँपालिकाको कार्यालयमा आयोजित विदाई कार्यक्रममा रसिक भएर काठमाडौं हिडेका अधिकृत सापकोटालाई प्रहरी चेक पोष्टमा सवारी साधन रोकेर ढकालले मोसो दलेका हुन् । गाउँपालिकामा रहदा उनले अनियमितता गरेको र नागरिकलाई दुःख दिएको आरोप लगाउदै उनले दुब्र्यबहार गरेका हुन् । लामो समयदेखि गाउँपालिकाको कामकारबाही प्रति समेत असन्तुष्ट रहँदै आएका उनले सरुवा भई हिडेका प्रमुख प्रशासकीय अधिकृतको ज्यान लिने समेतको प्रयास गरेको गाउँपालिकाका अध्यक्षले जनाएका छन् । 

गाउँपालिका अध्यक्ष सिताकुमारी पौडेल अधिकारीले आफ्नो अधिकारिक फेसवुक पेजमा यस घटनाको विषयमा लेखेर दोषिलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनले फेसबुमा लेखेका छन्– ‘यस कालिका गाउँपालिकाबाट सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत यादव सापकोटामाथि कालिका २ बस्ने विश्व ढकालले हातपात गरी कालो मोसो दल्ने र ज्यान लिने सम्मको हर्कत गरी प्रहरीको सहयोगले मात्रै सुरक्षित रहनु भएको हुँदा बिना कुनै गल्ति राष्ट्र सेवक कर्मचारीमाथी यो हुनु निन्दानिय छ । दोषीमाथि कारबाहीको माग राख्दै कर्मचारीहरूले निकालेको प्रेस विज्ञप्तीको ब्यवास्था गरी यस घटनालाई राजनीतिकरण गरिएमा भोलि कुनै अप्रिय घटना भएमा प्रशासन जिम्मेवारी हुनुपर्नेछ । त्यसैले पीडितलाई न्याय गर्न ढिलाई नहोस् ।’

यही विषयमा कालिका गाउँपालिका गाउँकार्यपालिकाको लेटरप्याडमा विज्ञप्ती समेत जारी भएको छ । गाउँपालिकाको कार्यालय र सबै वडाको सेवा अनिश्चितकालको लागि बन्द गरिएको सोही बिज्ञप्ती मार्फत् जनाइएको छ । शुक्रवार नै विज्ञप्ती जारी भएको छ । 

३० जना भन्दा बढीको हस्ताक्षर रहेको कालिका गाउँपालिकाको बिज्ञप्ती अनुसार सम्पूर्ण कर्मचारीको ब्यक्तिगत सुरक्षाको प्रत्याभुत नहुन्जेलसम्म कर्मचारीहरूले सेवा रोकेका छन् । सो घटनाले कर्मचारीको मनोबल गिरेकोले मोसो दल्ने र आक्रमण गर्नेलाई कानूनी सजाया हुनुपर्ने माग कर्मचारीहरूले राखेका छन् । 





घ्याङफेदीमा विज्ञान र कानुनको पढाई हुने


समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. १ को घ्याङफेदी माध्यमिक विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि विज्ञान र कानुनको विषयको पढाई हुने भएको छ । 

दुप्चेश्वर गाउँपालिका शिक्षा समितिको बैठकको निर्माणार्थ आउँदो शैक्षिक सत्रबाट विद्यालयले मानविकी सङ्काय तर्फ कानुन विषय र विज्ञान विषयमा पठाई गर्ने गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन् । २०७१ सालमा प्राथमिक विद्यालय हुँदा उक्त विद्यलायमा पढ्ने विद्यार्थीहरूको संख्या २५ रहेको थियो । २०७३ सालपछि ७ कक्षासम्म सञ्चालित घ्याङफेदी माध्यमिक विद्यालयले  २०७६ बाट मात्रै एसईई परीक्षामा सहभागिता जनाउन थालेको हो । पहिलो वर्ष १० जना र दोस्रो वर्ष ७ जनाले एसईई उत्तीर्ण गरेका छन् । यो वर्ष १९ जनाले एसईईको तयारी गरेको सहायक प्रअ प्रेम स्याङ्तानले जानकारी दिए ।

विद्यालयमा आधार संस्थाबाट ८ जना शिक्षक र २ जना कार्यालय सहयोगीलाई सम्पूर्ण तलब सुविधा र विद्यार्थीलाई खानासहित पोसाक व्यवस्थापन भएको छ । साथै गाउँपालिकाको कार्यालयबाट ६ जना शिक्षकलाई तलब सुविधा उपलब्ध हुँदै आएको छ । 

दक्षिणाबाट शिक्षकलाई तलब


देवीघाट । विदुर नगरपालिका– ५ देवीघाटमा रहेको सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयले श्रीपञ्चमीको दिन विगतदेखि नै गराउँदै आएको सामूहिक व्रतबन्धलाई निरन्तरता दिएको छ । 

विद्यालय सञ्चालनका लागि शिक्षकलाई तलव खुवाउने आर्थिक स्रोत बढाउन यो कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यपाक मञ्जु चित्रकारले बताएका छन् । उनले भने – ‘त्यसका साथै हिन्दू धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न विद्यालयले २०६० सालदेखि श्रीपञ्चमीको दिन सामूहिक व्रतबन्ध गराउँदै आएको छ ।’ 

यस पटक विद्यालयले आयोजना गरेको सामूहिक वतबन्धमा ११४ बटुकको कर्मकाण्ड गरिएको छ । यस वर्ष १० वर्षदेखि २३ वर्षसम्मका बटुकको व्रतबन्ध भएको थियो । विद्यालयले बर्सेनी हुँदै आएको सामूहिक व्रतबन्धको फाइदा लिन नुवाकोट मात्र नभई धादिङ, रसुवा र काठमाडांैकाले समेत पाएका छन् । 

प्रअ चित्रकारका अनुसार प्रत्येक बटुकबाट विद्यालयले पाँच हजार रुपैयाँ लिएको छ । 

सो रकमबाट विद्यालयले बटुकलाई धोती, टोपी, गन्जी र अभिभावकका लागि समेत खानाको व्यवस्था गर्ने गरेको छ । 

यो वर्ष बटुकसँग लिएको शुल्कबाट पाँच लाख ७० हजार रुपैयाँ सङ्कलन भएको छ । शुल्कसँगै भेटीबाट सङ्कलन भएको रकम खर्च कटाएर विद्यालय सञ्चालनका लागि खर्च गरिने विद्यालयले जनाएको छ । 

२०५५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म पढाई हुँदै आएको छ । हालको यस शैक्षिक सत्रमा आवासीय रूपमा ३० जना विद्यार्थीले संस्कृत भाषामा पठन– पाठन गरिरहेका छन् ।

विद्यालयले सामूहिक रूपमा आयोजना गरेको व्रतबन्धले आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको छ । घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले सामूहिक ब्रतबन्धमा सामेल भएको विदुर नगरपालिकाका एक अभिभावकले बताए । 

तत्कालका लागि छोराको व्रतबन्ध घरमा नै गर्नलाई साइत नजुरेको कारण सामूहिक व्रतबन्धमा सहभागी भएको पनि उनको भनाई रहेको छ ।