काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’(सिद्धान्त तथा नीतिको परिचयसहित) नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसको सिद्धान्त तथा नीतिको परिचयसमेत समेटिएको उक्त पुस्तकको विमोचन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका हुन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापा, नेता केसी, लेखक तथा समिक्षक पुरुषोत्तम दाहाल, लेखक तथा विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतम लगायतले आफ्नो भनाइ राखेका थिए । पुस्तकबारे बोल्दै प्रधानमन्त्री देउवाले उक्त पुस्तकले पुराना पुस्ताका धेरै व्यक्तिहरूलाई नयाँ पुस्ता समक्ष चिनाउन मद्धत गर्ने बताए । नेपाली कांग्रेसमा योगदान दिने धेरै व्यक्तिहरूलाई पुस्तकले समेटेको बताउँदै नेता र नेतृत्वप्रति सम्मान बढाउनुपर्नेमा जोड दिए । अझै पनि कतिपय ठाउँमा कांग्रेसका पुराना नेताहरूबारे कार्यकर्ताहरू अनविज्ञ रहेको बताउँदै यस्ता पुस्तकले त्यसलाई चिनाउने काम गर्ने भन्दै पुस्तकको सफलताको शुभकामना समेत व्यक्त गरे ।
त्यस्तै कांग्रेस महामन्त्री थापाले पुस्तकबारे बोल्दै पार्टीसँग आवद्ध हुने हरेकलाई किन र केका लागि पार्टीभित्र लागियो भन्ने कुराको जानकारी राख्नुपर्नेमा जोड दिए । साथै पार्टीभित्रको नीति विधि र शिद्धान्तलाई चिनाउनका लागि पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने थापाको भनाइ रहेको छ । त्यस्तै लेखक तथा समिक्षक दाहालले पुस्तकबारे बोल्दै पुस्तकले नयाँ र पुरानो पुस्ताबीचको सम्बन्ध सेतुको काम गर्ने बताए । पार्टीका पुराना पुस्ताले नयाँ पुस्ताका लागि इतिहासिक कुराहरूको बारेमा यसरी नै संग्रहित गरेर पस्किनुपर्नेमा जोड दिए । त्यस्तै नेपाली कांग्रेसको इतिहासमा एक राम्रो दस्तावेज लेखिएको बताउँदै दाहालले उक्त पुस्तकले नेता केसीको थप परिचय बढाएको भन्दै प्रशंसा समेत गरे । पुस्तकबारे बोल्दै लेखक तथा समिक्षक गौतमले नेपाली कांग्रेस बुझ्न चाहनेहरूका लागि उक्त पुस्तक राम्रो हुने उनको भनाइ रहेको छ ।
आफ्नो पुस्तकबारे बोल्दै नेता केसीले आफूले आफ्ना लेख रचनाहरूको संग्रह मात्रै नभइ नेपाली कांग्रेसमा योगदान दिएका गुमनाम पात्रहरूको बारेमा समेत उजागर गरेको बताए । त्यसैगरी पार्टी भित्र रहेर मात्र नभइ पार्टी बाहिर रही स्वतन्त्र रुपमा समेत लोकतन्त्रको लागि योगदान दिनेहरूका लागि सम्मान र स्मरण गर्ने बेला आएको प्रति प्रधानमन्त्री एवं सभापति देउवाको ध्यानाकर्षण गराए । आफूले कोरोना महामारीको समयमा पुस्तकको लेखनको उपयुक्त समय पाएको बताउँदै नेता केसीले पुस्तक लेखनदेखि प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गरे । नेता केसीले यस पुस्तकबाट नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको बारेमा धेरैकुरा जान्न र बुझ्न सक्ने उल्लेख गरे ।
उनले भने– ‘यो किताव झण्डै झण्डै म केन्द्रीय कार्यसमितिको सदस्य भएको २६/२७ वर्ष भयो । यो बीचमा जहाँ जहाँ जुन प्रशिक्षणका कार्यक्रमहरूमा देशविदेशमा सहभागी बनेँ । त्यहाँ नेपाली कांग्रेस र यसको इतिहासका बारेमा विभिन्न पक्षहरूको प्रश्न हुन्थ्यो । जिज्ञासा राखेर सोध्ने काम गर्दथे । त्यही जिज्ञासाहरूको उत्तर मैले जे दिन्थेँ त्यसलाई साधारण नोट बनाएर मैले राख्दै गएको थिएँ । यो मेरो २०/२२/२५ वर्षकै प्रयत्न हो । यसमा नेपाली कांग्रेसमाथि उठ्ने विभिन्न खालको प्रश्नहरूलाई कार्यकर्ताको लेभलमा शिक्षणको रुपबाट यथार्थता र वास्तविकता पुगोस् भन्ने प्रयास हो । इतिहासमा कांग्रेस नभएर पनि २००७ सालको क्रान्तिको निम्ति जसले योगदान प¥याएका छन् । उनीहरूले गरेको त्याग, तपस्या र समर्पण त्यो सम्पूर्णको उत्तराधिकार संस्था कांग्रेस हो । त्यसैको आडले हामीले २००७ सालको सफलता प्राप्त गरेका छौँ । भन्ने दृष्टिकोण र विलुप्त भएका व्यक्तित्व, जनताको बीचमा मानसपटलमा नसम्झेका व्यक्तिहरूलाई उत्खनन गरेर यसमा राख्ने कोशिष यसमा भएको छ । अर्को कुरा यसमा १३ औँ महाधिवेशनसम्म नेपाली कांग्रेसले लिएको कार्यदिशा, वीपी कोईरालाले देखाएको समाजवाद, नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिदेखि नेपाली कांग्रेसलाई लगाइएका विभिन्न आरोपहरूको खण्डन र नेपाली कांग्रेसको झण्डाको महिमाका कुराहरू नेपाली कांग्रेसको कार्यकर्ता स्तरमा पुग्नुपर्ने आवश्यक्ता ठानेर यो पुस्तक लेखेको हुँ । यसमा नेपाली कांग्रेसका अन्तरंग कथाहरू, समाजवादी चिन्तन, सामाजिक न्यायपद्धतिका बारेमा लेखेको छु ।’
नेपाली कांग्रेसको नीति विधि र शिद्धान्त समेटिएको उक्त पुस्तकमा नेपाली कांग्रेसको उत्पतिदेखि लिएर हालसम्मको अवस्थालाई सटिक ढंगले समेटिएको छ । कांग्रेसको पहिलो महाधिवेशन देखि १३ औँ महाधिवेशनसम्मको घटनाक्रमलाई समेत शिलशिलेवार ढंगले उक्त घट्नाक्रमको उल्लेख गरिएको छ । ४८४ पृष्ठ लामो उक्त पुस्तकमा कांग्रेसको बारेमा मात्र नभइ कम्युनिष्ट र अन्य पार्टीको बारेमा समीक्षा गरिएको छ । त्यस्तै कांग्रेस प्रति कम्युनिष्टहरूले लगाउने गरेको विभिन्न आरोपहरूको तथ्यगत रुपमा समिक्षा गरिएको छ ।
पुस्तकको मौलिकता र अन्तर्वस्तु
नेपाली काँग्रेसको बारेमा इतिहास, संरचनागत संगठन, इतिहास निर्माता नेताहरूको वीरतापूर्ण योगदान, पार्टीको झण्डा, निर्वाचन चिन्ह लगायतका ऐतिहासिक विषयमा गहिरो ज्ञान लिन चाहनेको लागि यो पुस्तक उपयोगी छ । विचारमूलक राजनीति गर्न चाहने काँग्रेसका कार्यकर्ताहरूका लागि त यो पुस्तक उपयोगी जानकारी मात्र होइन जरुरतको ज्ञान–भण्डार हो भन्नु अतिशयोक्ति हुँदैन । नेपाली राष्ट्रिय काँग्रेसको स्थापना, नेपाल प्रजातन्त्र काँग्रेसको स्थापना, दुवै काँग्रेसको एकीकरण, काँग्रेस स्थापनाभन्दा अघिका विद्रोह र विद्रोहीको रोचक–रोमाञ्चक परिचय, काँग्रेसले उनीहरूको योगदानलाई विरासतको रुपमा ग्रहण गर्न‘को कारणबारे अत्यन्त रोचक इतिहासको प्रस्तुति यसमा छ ।
खासगरी, इतिहासका विभिन्न कालखण्डमा परिवर्तनको निम्ति सम्लग्न, त्याग, योगदान र जीबन उत्सर्ग गरेका हराएका, ओझेलमा परेका, बिर्सिएका प्रजातान्त्रिक आन्दोलनका उल्लेखनीय क्रान्तिकारीहरूलाई चिनाउने जमर्को यस पुस्तकमा भएको छ । काँग्रेस इतिहासमा १४ वटा उच्च आदर्श र उदाहरण स्थापना गर्ने पहिलो पार्टी भएको प्रमाण वा काँग्रेसमा आफूले पाएको पद साथीलाई सहजै हस्तान्तरण गरेका करिब १० वटा ऐतिहासिक र आदर्शवान् घटना, वा काँग्रेसमा महाकवि देवकोटाको सक्रियता जस्ता प्रमाणिसिद्ध इतिहासलाई पनि यस पुस्तकले समेटेको छ ।
२००७ सालको क्रान्ति कसरी सम्पन्न भयो, २००७ सालपछि २०१५ सालसम्म काँग्रेस कसरी सक्रिय रह्यो, २०१५ सालमा आमनिर्वाचन सम्पन्न भएपछि पहिलो जननिर्वाचित सरकार गठन गर्न काँग्रेसले गर्न‘परेको संघर्ष र सामना गर्न‘परेको व्यवधान आदिका बारेमा यस पुस्तकमा पढ्दा रोचक कहानी वा उपन्यास पढेजस्तो महसुस हुन्छ ।
२०१७ सालपछि पार्टीहरूले भोग्नुपरेको प्रतिबन्ध र निषेधको अवस्थामा काँग्रेसको गतिविधि र भूमिका के थियो रु प्रजातन्त्र पुनःस्थापनाको लागि हतियार उठाएर क्रान्ति गरेको पार्टी राष्ट्रिय मेलमिलापको अभियन्ता कसरी भयो र त्यसमा भित्री रुपबाट के–कस्ता खेल भए, मेलमिलाप नीति लागु गर्न क–कसले अहम् भूमिका निर्वाह गरे, इतिहास खोतलेको तथ्य यो पुस्तकले समेटेको छ ।
प्रजातन्त्रको निम्ति समर्पित भएर होमिएका बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, गिरिजाप्रसाद कोइरालादेखि योगेन्द्रमान शेरचन, दिवानसिंह राई, सरोज कोइराला, तेजबहादुर अमात्य, एनडी प्रकाश जस्ता नेताहरूको उल्लेख त हुने नै भयो । तर पार्टीका कार्यकर्तादेखि नयाँ पुस्तासम्मले चिन्नैपर्ने यस्ता इतिहास निर्माता क्रान्तिकारी नेताहरू, वीर शहिदहरू गरी करिब एकसय व्यक्तिहरूको युगान्तकारी योगदान र परिचयको चित्ताकर्षक विवरण पाईन्छ ।
काँग्रेसका महाधिवेशन, महासमिति बैठक, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, मजदूर संगठन आदि भातृसंस्था स्थापनाको अर्को रोचक पक्षलाई पनि पुस्तकले समेटेको छ ।
२०१७ सालपछि निर्वासित अवस्थामै स्थापित प्रजातान्त्रिक समाजवादी युवा दल र राष्ट्रिय विद्यार्थी तथा युवा लीगको स्थापना कसरी भयो भन्ने जस्ता काँग्रेस इतिहासका अनेकौं अध्याय यो पुस्तकले समेटेको छ ।
२०३३ सालमा प्रतिपादित राष्ट्रिय मेलमिलाप तथा एकता नीति, २०३६ सालको जनमत संग्रह, त्यसअघिको देशब्यापी विद्यार्थी आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०४७ को संविधान, राजाको प्रत्यक्ष शासन, माओवादीलाई शान्तिपूर्ण खुला राजनीतिमा ल्याउँदाका गतिविधि, शान्ति प्रक्रियामा नेतृत्व, २०६२–६३ को जनआन्दोलन, अन्तरिम संविधानदेखि २०७२ को संविधान जारी गर्नमासम्म काँग्रेसको भूमिका के रह्यो भन्ने सबै विवरण पुस्तकका अध्याय हुन् ।
आदिवासी–जनजाति, मधेसी, मुसलमान, सुदूरपश्चिम, मजदूर, किसान आदि वर्ग र समुदायसँग काँग्रेसको सम्बन्धको बारेमा पुस्तकले काँग्रेसको नीति स्पष्ट पारेको छ ।साथै कम्युनिस्ट पार्टीहरूलाई हेर्ने दृष्टिकोण, कम्युनिस्टहरूका नीतिगत खोटहरूलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा हेरिएको विवरण, समाजवादबारे, काँग्रेसको मध्यमार्ग, काँग्रेस विरुद्ध चलाईएका अनर्गल प्रचारवाजी तथा भ्रम आदिको बारेमा पनि पुस्तकले धेरै स्पष्ट पारेको छ ।
पुस्तकको अन्तिम खण्डमा २००३ सालदेखि २०७८ सम्मका काँग्रेसका ऐतिहासिक गतिविधि वा घटनाहरूको तिथिमिति सहित उल्लेख र पार्टीका महत्वपूर्ण नेताहरूको निधनलाई पनि उल्लेख गरिएको छ ।
ऐतिहासिक दस्तावेज, समाजवाद बारे बीपीका विचार, कार्यकर्ताहरूलाई बीपीको आलोचनात्मक चर्चित पत्र, अन्त्यमा लेखक स्वयंबाट पार्टीका साथीहरूमा विचारोत्तजक आह्वानले पनि पुस्तकलाई थप गहकिलो बनाएको छ ।
पुस्तकको पछिल्लो पृष्ठमा लेखक स्वयंद्वारा हिन्दी भाषामा रचित नेपाली काँग्रेसको झण्डा–गान पनि अतिरिक्त मौलिक आकर्षण भएर रहेको छ । काँगे्रसका नेताहरूले आत्मकथा लेख्दा पार्टीको इतिहासका धेरै रोचक सत्य–तथ्य उजागर गरे ।
तर पार्टी नेताले नै आफ्नो पार्टीको यति प्रभावशाली समीक्षात्मक इतिहास पुस्ताकारमा लेखेको सम्भवतः यो नै पहिलो हो ।