Wednesday, March 23, 2022

उम्मेदवारी दर्ता ११ र १२ मा

विदुर । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

यसै बीच, स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ । जनप्रतिनिधिले उम्मेदवारी दिनुअगाडि राजीनामा दिनुपर्ने भनिएको छ ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्न‘ अगावै वहाल पदबाट राजीनामा गर्नुपर्नेछ’, आचारसंहिताको दफा ३६ मा भनिएको छ । कसैले आचारसंहिता उलंघन गरे उजुरी दिन सक्नेछन् । ‘कसैले यो आचारसंहिता उलंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद–८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची–४ बमोजिमको उजुरी दिन सक्नेछ’, उजुरी सम्बन्धी प्रावधानमा लेखिएको छ ।

चिठ्ठा परेको भन्दै ह्वाट्सएपबाट ठगी


विदुर । यस इमेज साप्ताहिकका प्रकाशक कपिलदेव खनाललाई फागुन ३० गते ह्वाट्सएपमा चिठ्ठा परेको म्यासेज आयो (माथी तस्बिरमा हेर्नुहोस्) । पाँच देशको इन्टनेशनल कोभिड–१९ लक्की ड्र २०२२ मा छनोट भएको र २५ लाख रुपैयाँ जितेको खबर आयो । ९८६३९७८८७२ नम्वरको मोवाइल प्रयोग कर्ताको ह्वाट्सएप एकाउन्टबाट आएको उक्त सन्देशमा भनिएको र पुरस्कार संकलन गर्नका लागि आकाश वर्मालाई ९८११६४६८०० मा सम्पर्क गर्नुहोस् । यही ब्यहोराको सन्देश एक महिना अघि यस इमेज साप्ताहिकका प्रमुख समाचारदाता प्रतिका थापालाई पनि ह्वाट्सएपमा आएको थियो ।

यसरी चिट्ठा परेको भन्दै ठगी गर्नका लागि सामाजिक सञ्जालमा जालो फिजाउनेहरू सक्रिय मात्रै हुन थालेका छैनन् । सामान्य नागरिकहरू झुक्किने र लाखौं रुपैयाँ गुमाउने घटना पनि हुन थालेको छ । यसै गरी चिट्ठाको म्यासेजको विश्वास गर्दा गएको हप्ता एक जनाले लाखौं रुपैयाँ गुमाएका छन् । 

चिट्ठा परेको लोभमा फस्दा काठमाडौंका एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको हो । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई  ९० लाखको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउन्ड भएको सुटकेस पार्सल पठाएको सूचनाका आधारमा लोभिँदा २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरूले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिट्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एप मार्फत फोन गरी पार्सल र चिट्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए ।

पीडितले भने ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका– ४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको मानगरीय अपराध महाशाखाले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा उनलाई गएको सोमबार पक्राउ गरी कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । 

नीतिगत भ्रष्टाचारले विकास र विनाश संगसंगै


रानीपौवा । नयाँ अस्पताल भवन बनाउँदा पुरानो सञ्चालन भइरहेको अस्पताल भवनलाई जोखिम हुने काम गरेपछि ककनी गाउँपालिका रानीपौवाबजारवसी आन्दोलित भएका छन् ।

दश बेडको नयाँ अस्पताल भवन बनाउने क्रममा ककनी स्वास्थ्य केन्द्रलाई धरापमा पारेपछि स्थानीयवासी विरोधमा उत्रेका छन् । उक्त भवनको जग खन्ने क्रममा चरम लापरबाही र नीतिगत भ्रष्टाचारको दुष्परिणामस्वरूप ३० वर्ष पुरानो जापानी सहयोगमा बनेको ‘ककनी स्वास्थ्य केन्द्र’को भवन खण्डहरमा परिणत भएको छ । संवेदनशील विषय र ठूलो भौतिक क्षतिको साथमा आइपर्ने जोखिमको जिम्मेवार को भन्दै स्थानीयले यसको खबरदारी गरिरहेका छन् । 

२०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री अर्जुननरसिंङ केसी र परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीको पहलमा नेपाल–जापान ‘मित्यव्ययिता’ सम्बन्धको प्रतीक स्वरूप निर्माण भएको ककनी स्वास्थ्य केन्द्रको भवन कठिन परिस्थितिको सामना गर्दै सहयोगी संस्था र 

स्थानीयवासी र भवानी माविका विद्यार्थीको श्रमदानपश्चात् निर्माण भएको थियो । उक्त भवननजिक दश बेडको अस्पताल भवन बनाउन जग खन्न सम्याउने क्रममा गरेको लापरबाही र गैरजिम्मेवारीका कारण जोखिम बनेको छ । 

भवन निर्माण पूर्वभौगोलिक अध्ययन र अनुसन्धान नगरी, देखासिखीको भरमा जनतालाई विकासको अनुभूति मात्र गराउन हतासमा गरिएको अपरिपक्वताको परिणाम हो यो । नयाँ निर्माण गर्न लागिएको अस्पताल भवन मात्र होइन निर्माणाधीन गाउँपालिका भवनमा समेत चरम लापरबाही र ठूलो गल्ती भएको स्थानीयबासी बताउँछन् । यसको सत्यतथ्य सम्बन्धित निकायले खोजी गर्ने अपेक्षा स्थानीयले गरेका छन् ।

हत्तार हुनेलाई परिचयपत्र तुरुन्तै

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । 

उनका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पालो प्रणालीअनुसार सेवा प्रदान गरिँदै आएकामा दर्ता स्टेशन एकबाट बढाई दुई बनाइएकाले पालो प्रणालीको टोकन लिएर तोकिएको मितिको पर्खाइमा रहेका तर अति जरुरी परेका सेवाग्राहीको लागि हिजो आइतवारदेखि आएको दिनमा नै सेवा उपलब्ध गराइएको जिल्ला प्रशासनले जनाएको छ । अत्यावश्यक हो÷होइन पहिचानको मापदण्ड स्वास्थ्य उपचार, वैदेशिक यात्राका लागि भिसा स्वीकृति, कुनै प्रतियोगिता, सेमिनार, गोष्ठीलगायतमा सहभागी हुन सम्बन्धित निकायबाट सिफारिस गरिएको तथा निमन्त्रणा आएको लगायतलाई आधार मानेर उक्त बिषयसँग सम्बन्धित आवश्यक कागजात पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताएका छन् ।

हाल चलनचल्तीमा रहेको मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई प्रतिस्थापन गर्दै विद्युतीय राहदानी अनिवार्य गरेसँगै त्यसका लागि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता भएको हुनुपर्ने अनिवार्य गरिएको छ । सोही कारण देशभर नै राष्ट्रिय परिचयपत्र बनाउन चाहने सेवाग्राहीको संख्या धेरै देखिएको नुवाकोटका सहायक प्रजिअ अर्यालले बताए ।

दुई दिन नियमिति खोप लगाइदै

विदुर । कोरोना रोग विरुद्धको खोपमा सबैको पहुँच पु-याउन स्वास्थ्य कार्यालय नुवाकोटले हप्ताको दुई दिन खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । 

बाँकी रहेका तथा दोश्रोडोज र बुस्टर डोजको खोप सेवा हरेक साताको सोमबार र बुधबार उपलब्ध भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनले बताए । सोमबार विदुर नगरपालिका–२ स्थित शहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशुली अस्पतालमा खोप उपलब्ध छ । 

यसैगरी, १२ स्थानीयतहले पनि अबदेखि मासिक रुपमा पालिकामा कुनै एक स्थानमा खोप केन्द्र निर्धारण गरेर खोप सेवा उपलब्ध गराउने निर्णय भएको छ । खोप लगाउन सदरमुकाम केन्द्रित गरेर स्वास्थ्य कार्यालयले दुई केन्द्रबाट खोप सेवा उपलब्ध गराउने भएकाले जिल्लाभरलाई सोही स्थानमा बोलाउदा आउजाउको क्रममा रोगको थप जोखिम तथा भीडभाड हुनेसक्ने भएकाले पालिकामा नै खोप उपलब्ध गराउन लागिएको हो ।

कृषि व्यवसायमा प्रकाश राई


पिपल्टार (नुवाकोट) । ड्रयागन फल, कालो बेसार, अगरउड अनि मेवा । मानव स्वास्थ्यका लागि संसारभर प्रख्याती कमाएको यी बहुमुल्य कृषि उत्पादन एकै ठाउँमा खेती भइरहेको देख्ने र हेर्ने अवसर सायदै मिल्ला । तर नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ तल्लो पिपल्टारमा आउने हो भने संसारका यि सर्वाधिक खोजिहुने गुणकारी र मानव स्वास्थ्यका लागि अमृत सरहका ड्रयागन फल, कालो बेसार, अगरउड र मेवा उत्पादन भइरहेको पाउनु हुने छ । 

नुवाकोटका सफल ब्यवसायी प्रकाश राई पछिल्लो तीन वर्षदेखि यसै गरी नै यहाँका यि बहुमुल्य उत्पादनहरूको स्याहारसुसार गर्छन् । तल्लो पिपल्टारमा सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालि स्थापना गरेर उनले ब्यवसायीक खेती थालेका छन् । 

कृषि व्यवसायीको परिचय बनाउने रहरले उनले थालेको यो काममा पाँच करोड भन्दा बढी नगद लगानी भइसकेको छ । आफ्नै नाममा रहेको यो ५० रोपनी क्षेत्रफलमा सुरु भएको यी बहुमुल्य उत्पादन हेर्न र स्याहारसुसार गर्नका लागि उनले कर्मचारी समेत राखेका छन् । 

मानव स्वास्थ्यसंगै अन्तरािष्ट्रय स्तरमै माग रहेको कृषि उत्पादनका लागि आफ्नो अभियान सुरु भएको र यसबाट आत्मसन्तुष्टि प्राप्त भएको उनी सुनाउछन् । कृषि, यस भित्र पनि आधुनिकिकरण र अधिक मुल्य आउने आफ्ना यी चार थरी कृषि उत्पादनले नुवाकोटलाई अन्तराष्ट्रिय बजारसम्म चिनाउने प्रकाश राई बताउछन् ।     

प्रति किलो सात सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म विक्रि हुँदै आएको ड्रयागन फल पिपल्टार स्थित यो सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टरमा ब्यवसायिक रुपमा उत्पादन सुरु भएको छ । यहाँ दुई किसिमको ड्रयागन उत्पादन भइरहेको छ । एकथरी बाहिर रातो र भित्र रातो भएको अनि अर्को बाहिर र भित्र सेतो भएको ड्रयागनको उत्पादन यहाँ भइरहेको छ । यहाँ १५ सय पिल्परमा चार हजार पाँच सय ड्रयागन लगाइएको छ । प्रति बोटले २५ किलो भन्दा माथी उत्पादन दिन थालेको कृषि ब्यवसायी प्रकाश राईले बताएका छन् । 

नेपालमा भर्खर भित्रिएको हल्का गुलाबी रङको, खादा मिठो अनि गर्मी समयमा फल्ने नवआगन्तुक फल ड्रागन थाईल्यान्ड, मलेशिया, इजरायल भियतनाम हुदै दक्षिण पूर्व एशिया र ल्याटिन अमेरिकामा मुख्य रूपमा लोकप्रिय छ । यसको माग संसारभरी छ । भएको यो फल अहिले नेपालमा पनि लगाउने गरिएको पाइन्छ । ड्रयागन फल खेतीको लागी गर्मी २०–३० डिग्री तापक्रम र कम वर्षा अर्थात् ५०% वार्षिक औसत वर्षा हुने ठाउँमा अनुकूल हुने भएकोले पनि यहाँ यो बढी प्रभावकारी देखिएको छ । नेपालमा यसको खेती समुद्री सतह देखि ४५०० फिट सम्म गर्न सकिन्छ । यो फल क्यान्सर बिरामीका लागी एकदमै फलदायिक हुनुका साथै मधुमेह भएका व्यक्तिले पनि सेवन गर्न मिल्छ । यस फलमा प्रशस्त भिटामिन, खनिज पदार्थ र औषधिजन्य गुणहरू पाईन्छ । यस फलले एक स्वास्थ र चमकदार छाला बनाउन मद्दत पुर्याउछ । ड्रागन फलमा भिटामिन सी अत्याधिक मात्रामा भएकाले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन पनि मद्दत गर्दछ । यस फलले खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत पु¥याउछ र उच्च फाइबर सामग्री भएकाले पाचन प्रक्रियामा सहयोग गर्छ ।

त्यसो त यस सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टरको अर्को खेतीको मुख्य आकर्षणको रुपमा यो अगरउड रहेको छ । सञ्जिवनी बुटी सरहर रहेको यो रुख अहिले यहाँ हुर्केर यत्रा भएका छन् । भगवानको वृक्षको रुपमा चिनिने अगरवुड हिन्दु, बौद्ध लगायतका अन्य धार्मिक आस्थासँगै जोडिएको वृक्ष औषधिका लागि प्रयोग हुँदै आएको छ । यस वनस्पतिबाट विश्वकै उच्च श्रेणीको तेल निकालिन्छ । 

यसको तेल डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपटाइटिस, कलेजो र मृगौलाको समस्या तथा फोक्सो, पेटमा हुने ट्युमर आदि रोगहरूको उपचार गर्न आयुर्वेदमा प्रयोग गरिन्छ । यसका  विभिन्न भागको छुट्टाछुट्टै महत्व हुन्छ रहने गरेको छ । जसमा यसको  पात मजेदार चियाको लागि, मधुमेह, दम उपचारका लागि प्रयोग हुँदै आएको छ । 

त्यस्तै तेल छाला सम्बन्धि, बाथ, यौन रोग आदिका लागि प्रयोग हुन्छ । त्यसै गरी, यो काठको धुलो धुपको रूपमा प्रयोगमा आएको छ भने अगरउडको चोप  एरोमा थेरापी, अत्तर र अन्य वास्नादार बस्तुहरू बनाँउन प्रयोग गरिन्छ ।

अगरउड संसारको सबै भन्दा महँगो रुख हो । अगरउड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । बिशेष गरी उत्तर पूर्वी भारत देखि जापान, मलेसिया, म्यानमार, इन्डोनेसीया, कम्बोडिया, थाइल्याण्ड जस्ता विभिन्न देशहरूमा यो विरुवा पाउन सकिन्छ । तर पिपल्टारको यही सद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालिले विश्वमा महंगो र दुर्लभ भएको यो रुखलाई हुर्काउँदै आएको छ । अबको पाँच वर्षमा यहाँका अगरउड उत्तर पूर्वी एसिया तथा ताइवान, कोरिया, जापानका बजारहरू र अरेवियन पेनिन्सुला केन्द्रित पश्चिमी तथा मध्य एसियाका क्षेत्रहरू विक्रिका लागि पु¥याइने ब्यवसायी प्रकाश राईले जानकारी दिएका छन् ।  

५ देखी १० बर्षमा अगरउडको उत्पादन लिन सकिने मात्रै होइन एउटा राम्रो चोप भएको अगरउडले १० लाख देखी २ करोड रुपैयाँसम्म दिने सक्नेछ । अगरउडाको विश्वबजारमा अहिले मुल्य प्रति केजी ३५ लाख रुपैयाँ रहेको छ । 

औषधिको रुपमा यसको तेल विभिन्न रोगहरू जस्तै डिप्रेसन, क्यान्सर, दम, उच्च रक्तचाप, हेपाटाइटिस आदिको उपचारका लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग हुन्छ । त्यसै गरी, सजावटको रुपमा यसको काठबाट निकालिने तेल विभिन्न बास्नादार चिजहरू जस्तै अत्तर बनाउन प्रयोग हुन्छ । विभिन्न प्रकारका धुपहरू बास्नादार बस्तुहरू बनाउनमा यसको प्रयोग गरिन्छ ।

यहाँ रहेको अर्को मत्वपूर्ण उत्पादनका रुपमा कालो बेसार रहेको कृषि ब्यवसायी प्रकाश राई बताउँछन् । 

त्यसो त, कालो बेसारको उत्पत्ति बीच भारत भएको हो र अहिले विश्व भरी  फैलिएको पाइन्छ । जंगली जडिबुटीको रुपमा कालो बेसारको प्रयोग हुदै आएको छ । कतै कतै नेपाली बन जंगलहरूमा पाइने यसको संरक्षण तथा खेती नेपालमा उत्ति धेरै भएको पाइदैन । तर प्रकाश राईको यस सिद्धिगणेश एग्रो एण्ड रिसर्च सेन्टर प्रालिले पिपल्टारमा यसको खेती गरेर दिनप्रतिदिन लोप हुदै गएको र लोपन्मुख हुने बोटबिरुवाको सूचीको अग्रपंतिमा परेको कोलो बेसारको संरक्षण गरेको छ । 

यस बिरुवाको कोषहरू कालो रंगको हुने हुनाले यसलाई कालो बेसार भनिएको हो । यसको एउटा बोटमा  १० देखि २० वटा पातहरू हुन्छन् । सञ्जिबनी बुटीको रुपमा रहेको यो कालो बेसारमा ३० खाले  महत्वपूर्ण तत्वहरू पाईन्छ । 

नुवाकोटमा परिक्षण र सोखका लागि धेरै ठाउँमा ड्रयागन फलको खेती त भइरहेको छ । मेवालाई घको छेउछाउमा एक दुई वोट मात्रै रोप्ने चलन हामी कहाँ छ । अन्य दुई उत्पादन कालो बेसार र अगरउडको त नाम पनि अधिकाशंले सुनेका छैनन् । तर यहाँ यी चार चिजको ब्यवसायी खेती भइरहेको छ । जसका कारण युवा अनि सफल ब्यवसायी प्रकाश राईको  चर्चा छ । 

त्यसो त उनी अहिले नुवाकोटमा राजनीतिक रुपले पनि चर्चाको केन्द्रमा छन् । नेपाली काँग्रेसको आन्तरिक निर्वाचनमा झण्डै दुई दशकदेखिको अर्जुननरसिंह केसी पक्षलाई पछाडी पार्दै अन्य समुहहरूका नेता अगाडी आए । यस्तो अवस्थामा पनि केसी पक्षबाट निर्वाचित भएर काँग्रेसको महासमिति सदस्यसम्म बनेका राईको राजनीतिक सम्भावना र मार्ग प्रशस्त भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा काँग्रेसबाट प्रमुखको उम्मेदवार बन्नका लागि उनलाई काँग्रेकै नेता कार्यकर्ताहरूबाट आग्रह हुन थालेको छ । लामो समयदेखि समाजसेवा र व्यवसायमा रहेका प्रकाश राईले नै काँग्रेस भित्रको गुटगत विभाजनलाई एकतावद्ध गर्नसक्ने काँग्रेसकै नेताहरूले बताउने गरेका छन् । 

२०५० सालबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेका राई काँग्रेसको क्षेत्रिय सचिव, जिल्ला कार्य समिति सदस्य हुँदै नेपाली काँग्रेसको महासमिति सदस्य समेत बनिसकेका छन् । 

भ्रष्टाचार मौलाएको बेलकोटगढीको कार्यसम्पादन पनि कमजोर


बेलकोटगढी । सामुदायिक बिद्यालयको रकम हिनामिना देखी बर्षौसम्म बृद्धभत्ता बितरण नगरी ७० बर्ष उमेर कटेका बृद्धबृद्धालाई दुःख दिएका मेयर राजेन्द्ररमण खनालको बेलकोटगढी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा कमजोर भएको छ । 

खेलकुद मैदान निर्माणका लागी वाग्मती प्रदेश सरकारले दिएको २५ लाख रुपैयाँको सम्झौता नगरेपछि कार्यालय घेराउ गर्न पुगेका स्थानीयलाई छलेर भागेका मेयरको नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा  कमजोर देखिएको हो । सडक निर्माण, खेलकुद मैदान निर्माण, किसानलाई बितरण गरिने अनुदानको औजार सामग्रीहरूको भ्रष्टाचारमा मुछिएर चर्चा कमाएका खनाल १ बर्षसम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेर ‘प्रसिद्धी’ कमाउँदै पटक पटक लफडामा फस्दै आएका छन् ।

नुवाकोटका १२ स्थानीय तह मध्ये दुई नगरपालिका रहेको नुवाकोटमा बेलकोगढी नगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार विदुर नगरपालिकाले ५४.९४ अंक प्राप्त गर्दा बेलकोटगढीले ४७.९३ अंक मात्र प्राप्त गरेको छ । १२ स्थानीय तहमा १० आंै नम्बरमा बेलकोटगढी नगरपालिका रहेको छ । 

सूर्यगढी गाउँपालिकाले ६३.३९ अंक प्राप्त गरी सबैभन्दा बढी अंक ल्याएको छ । गाँउपालिकाको तुलनामा समेत बेलकोटगढी नगरपालिका कमजोर देखिएको छ । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अंक र तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक तथ्याङ्क अनुसार ककनी गाउँपालिकाले सबैभन्दा कम अंक प्राप्त गरेको छ । ककनी गाउँपालिकाले ४७.६० अंक प्राप्त गरेको उक्त तथ्याङ्कमा उल्लेख छ । 

यस्तै दुप्चेश्वर गाउँपालिकाले ४८.५४, तादी गाउँपालिकाले ४७.८१, विदुर नगरपालिकाले ५४.९४, किस्पाङ गाउँपाालिकाले ५३.१५, म्यागङ गाउँपालिकाले ५८.३५, तारकेश्वर गाउँपालिकाले ५२.५८, वेलकोटगढी नगरपालिकाले ४७.९३ अंक प्राप्त गरेको छ । यस्तै लिखु गाउँपालिकाले ५९.५५, पञ्चकन्या गाउँपालिकाले ५६.५३, शिवपुरी गाउँपालिकाले ६१.५६ अंक प्राप्त गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूचक अनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानिकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्क समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्न गरेर अंक प्रदान गरेको होर । 

कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियोर । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियोर । १७ सूचकहरूमा बेलकोटगढी नगरपालिका कमजोर देखिएको छ । 

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूती संख्या लगायत शिर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको होर । यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम दिनको लागी सिफारिस गर्नेे छ । 

शनिबार बाहेक ४३ दिन बिदा

विदुर । सरकारले २०७९ सालमा ४३ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो ।

वर्ष २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरी ९५ दिन सार्वजनिक बिदा हुने भएको छ । बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार बिदा, पाँच दिन सबैका लागि दिवस बिदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र बिदा गरेर ६ दिन दिवस बिदा दिइएको छ । यस्तै ३ दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि बिदा भए पनि अरू २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।  दसैं बिदा असोज १६ गते फूलपातीदेखि २१ गते द्वादशीसम्म ६ दिन हुने भएको छ । तिहार बिदा भने कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिन हुने भएको छ । विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा बिदा दिने भएको छ । बुद्ध जयन्तीमा देशभर सबैलाई लागू हुने गरी बिदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरूलाई मात्रै बिदा दिइने छ ।

नयाँ शैक्षिक सत्र जेठबाट

विदुर । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट थाल्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने र वैशाखमै परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ ।

जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि नयाँ भर्ना वैशाखमै थाल्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आग्रह गरेको छ । कतिपय विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेको गुनासो आएकाले चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरेको छ ।

सो को अनुगमन जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले गर्नुपर्ने जनाइएको छ । चैतमा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाइ प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरू नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरूको पनि वैशाखमा मात्र आयोजना गर्न आग्रह गरिएको हो ।

कोभिड–१९ ले परिस्थिति सहज बनेकाले यस पटकको नयाँ भर्ना अभियान भौतिक उपस्थितिमा गर्न दिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भर्ना अभियान थालिनेछ ।’ कुनै विद्यालयले अनलाइन प्रक्रियाबाट भर्ना अभियान चलाउन खोजे छुट दिइने शर्माले बताए ।

वि.सं २०७९ को शैक्षिक सत्र चैत्र मसान्तभित्र सक्नेगरी पठनपाठन हुने शर्माको भनाइ छ । यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि भर्ना अभियान सञ्चालन गर्ने बताएका छन् । ‘अब त कोरोनाको धेरै जोखिम छैन,’ उनले भने ‘त्यसैले वैशाखमा कोभिडअघि जसरी भर्ना कार्यक्रम सञ्चालन गरेका थियौँ, त्यही अनुसार देशभर भर्ना कार्यक्रम सञ्चालन हुन्छ ।’ उनका अनुसार वैशाख १५ गतेदेखि प्रभावकारी ढङ्गले भर्ना कार्यक्रम सञ्चालन गरिनेछ ।

भौतिक उपस्थितिमा विद्यार्थी भर्ना गरिनेछ । ‘हामी सूचना पनि प्रकाशित गर्छौँ, सम्भव भएसम्म कार्यक्रम आयोजना पनि गरेर भर्ना गराइनेछ,’ उनले भने । कतिपय स्थानीय तहहरूले चैत महिनामै विद्यालय तहको परीक्षा राखेकाले त्यो क्षेत्रमा पाठ्यक्रम पूर्णरुपले सम्पन्न भएको छ भने सञ्चालन गर्न दिनुपर्ने पुरीको भनाइ छ ।

छहरे–टोखा सुरुङमार्ग निर्माण सुरु गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

तादी गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनका लागि खरानीटारमा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : इमेज साप्ताहिक

विदुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहमा जनप्रतिनिधिले चार वर्षसम्म गरेको कामको मुल्याङ्कन गरेर मात्रै मतदान गर्न आग्रह गरेका छन् । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिँदै गएको र नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० गते निर्वाचन हुने भएकाले चार बर्षको कार्यकालको समीक्षा गरेर मतदान गर्नको लागी उनले आग्रह गरेका हुन् । नुवाकोटको किस्पाङ गाँउपालिका र तादी गाँउपालिकाको प्रमुख प्रशासकिय भवनको उद्घाटन गर्न गएको सोमवार नुवाकोट आएका प्रधानमन्त्री शेरबहादुर देउबाले मुलुकलाई अझै बलियो र सुदृढ बनाउनका लागि अबको स्थानीय तहको निर्बाचन महत्वपूर्ण रहेको बताएका छन् । उनले सो दिन छुट्टा छुट्टै कार्यक्रममा दुई गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । 

प्रधानमन्त्री देउवाले संविधानले लिएको लक्ष्य प्राप्ति र समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए । तीन तहको संघीय शासन प्रणाली लागू भएसँगै संविधानले स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी र अधिकार दिएको छ । त्यसैले संविधानले परिकल्पना गरेको समतामुलक समाज निर्माणका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरे । 

प्रधानमन्त्री देउवाले सरकारले काठमाडौं–केरुङ सम्पर्कका लागि छहरे–टोखा सुरुङमार्गसहितको सडक स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यस क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रहितमा रहेको पनि बताए । किस्माङ गाउँपालिकाको भवन उद्घाटन गर्दै एमसीसीबारे एमाले नेता भीम रावलले गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यसप्रति आक्रोश व्यक्त गरेका छन् । 

एमसीसी राष्ट्रहितमा छ, यो अनुदानको बजेट हो । हुन त यहाँ एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्नेहरू पनि छन्,’ देउवाले भने, ‘पूर्वप्रधानमन्त्री केपी ओलीजीकै पालामा एमसीसी संसद्मा दर्ता भएको हो । उहाँकै सरकारले संसद्बाट स्वीकृत गराएको हो । अहिले त्यही पार्टीको नेता हुनुहुन्छ, भीम रावल । उहाँले एमसीसीको विरोधमात्रै होइन, झुटो प्रचार गर्न‘भएको छ । त्यो बेला उहाँले केही बोल्नुभएन, अहिले हामीले अघि बढाउँदा उहाँ विरोध गर्दै हुनुहुन्छ ।’

तादी गाँउपालिकाको भवन ४ करोड ३० लाख ४६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो । वन निर्माणका लागि केन्द्रीय सरकारबाट अनुदानस्वरुप ८५ लाख, जिल्ला समन्वय समिति नुवाकोटको मौज्दात कोषबाट १ करोड ६० लाख र तादी गाउँपालिकाबाट विनियोजित रकम १ करोड ८५ लाख ८६ हजार खर्च भएको जनाइएको छ ।  भवन बनाउन २०७६ साल जेठ १७ गते ठेक्का सम्झौता भएर २०७७ साल पुस ६ गते निर्माण सम्पन्न भएको हो । भवन निर्माणको जिम्मा मिलिनियम कल्पवृक्ष जेभी बालाजुले पाएको थियो ।   

प्रधानमन्त्री शेरबहादुर देउवा गएको सोमवार किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन पछि मन्तब्य व्यक्त गर्दै 


माओवादीले आफ्नै बलमा स्थानीय तह जित्ने


बोगटीको सालिक अनावरण कार्यक्रममा बाजा बजाउदै महिलाहरू । तस्बिर : इमेज

विदुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको बताएका हुन् ।

विदुर नगरपालिका वडा नं. ५ पिपल्टारमा गएको शनिवार आयोजित पोष्टबहादुर बोगटीको पुर्णकदको सालिक अनाबरण कार्यक्रमका लागी नुवाकोट आईपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलनमा निर्वाचनको कार्यक्रम, नीति र योजना बनाउने क्रम चलिरहेको बताएका छन् । पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा लागेको उनको भनाई छ ।

पार्टी आफैमा बलियो भएर आफ्नै खुट्टामा उभिएर, जनतासँग सम्बन्ध बलियो बनाएर, आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिने उनको भनाई रहेको छ । मुलुकलाई निकास दिन र स्थायित्व दिनको लागी निर्वाचनमा तालमेल बन्ने स्थिति गठबन्धनकै बीचमा नै तालमेल गर्ने निति माओवादीको रहेको स्पष्ट पारे । 

यस क्रममा नेता दाहालले एमसीसी सम्झौतालाई लिएर पार्टीभित्र चलेको विषयमा पनि आफ्नो धारणा राखेका थिए । उनले एमसीसी सम्झौताको विषय व्याख्यात्मक टिप्पणीमार्फत् टुंगो लगाइएको बताए । सुरुदेखि नै माओवादीले एमसीसी जस्ताकोतस्तै पारित गर्न हुँदैन भन्ने धारणा राखेको र संसद्बाट सोहीअनुसार व्याख्यात्मक घोषणा गरिएको उनको भनाई रहेको छ । 

एमसीसी सम्झौतालाई संसदमा निर्णयार्थ प्रस्तुत गर्दा यथास्थितिका पक्षमा मतदान नगर्ने भनेर सरकारको प्रमुखलाई जानकारी दिइएको र सडकमा पनि आन्दोलन गरेकाले व्याख्यात्मक घोषणा गरिएको दाहालको भनाई रहेको छ ।  

यसै बीच, नेकपा माओवादी केन्द्रका तत्कालिन उपाध्यक्ष पोष्टबहादुर बोगटी दिवाकरको पुर्ण कदको शालिक अनाबरण भएको छ । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको पोष्टबहादुर बोगटी स्मृति पार्कमा पुर्ण कदको सालिक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अनाबरण गरेका हुन् । सालिक अनाबरण गर्दै उनले नेकपा माओबादी केन्द्रलेनै मुलुकलाई स्थाईत्व र निकास दिने बताएका छन् । तत्कालिन समयमा बोगटीले गर्नुभएको योगदानको चर्चा गर्दै पार्टी र मुलुकलाई समस्या पर्दा बार्ताको माध्यम मार्फत समस्या समाधान गर्ने एक कुटनीतिक ब्यक्तित्वको रुपमा बोगटी रहेको उनले बताएका छन् । 

भुमिगतकाल देखिनै बोगटी र आफु एकै स्थानमा रहेर पार्टीको कार्यक्रमलाई निरन्तरता दिएको स्मरण गर्दै ब्यक्तिगत रुपमा समेत बोगटीको अभाब अहिलेसम्म खड्किरहेको उनले बताए । पार्टीको अन्तरसंघर्ष, र बिबाद समाधानको एक मात्र उपाय बोगटी रहने गरेको उनले स्मरण गरेका छन् । माओवादीमा मात्रै नभई अन्तर पार्टी संघर्ष, शान्ति सम्झौता तथा हरेक कार्यक्रमा उनको योगदानको चर्चा गरेर नसकिने बताएका छन् । 

यस्तै, कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पोष्टबहादुर बोगटीको नेतृत्व शैली, आदर्श र निष्ठामा हिड्ने ब्यक्ति कहिले पनि बिचलित नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रले पाएको सफलता, सरकारमा रहँदा हुने काममा समेत बोगटीलाई सोधेर गर्ने गरेको स्मरण गर्दै मुलुकलाई नै अतुलनिय क्षती पुगेको उल्लेख उनले गरेका छन् । 

सालिक अनाबरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले तत्कालिन माओवादी केन्द्रको उपाध्यक्ष भएता पनि पोष्टबहादुर बोगटी साझा ब्यक्तिको रुपमा रहेको बताएका छन् ।  कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्यहरू डा. रामशरण महत, अर्जुननरसिङ केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रप्रकाश लोहनी लगायतले पोष्टबहादुर बोगमटीको बारेमा बोलोका थिए । 

कविता

भगवान मुर्ति बनेर बसिरह्यो


रामचन्द्र तिम्सिना(आवाज)


वर्शौंदेखी ठड्याइएका छन् 

पत्थरका ठुलाठुला मुर्तिहरू

पत्थरहरू तोडेर बनाइएका छन् 

मन्दिरका लामालामा सिंढीहरू 

अनि

तिनै पत्थर माथी उभिएर गरिएका छन् 

मुर्तीका आराधना र पुजाहरू ।


कोहि आए श्रद्धाले झुके वरदान मागे 

कोहि आए स्वार्थले ढोगे वरदान मागे

भगवानले तथास्तु भनेकी भनेनन् थाहा छैन

सदियौं देखि आउने आइरहे जाने गइरहे

एवम् रितले आस्थाका पुकारहरू लगाइरहे ।


हे भगवान ! 

मेरो घरमा चोर नपसोस भन्ने पनि यहीँ आए 

हे भगवान !

फलानोको घरमा चोर्न सकुँ भन्ने पनि त्यहीँ गए

एकपछी अर्को मागहरू सुनिरहे 

कोहि मर्दा रोएनन कोहि जन्मदा हाँसेनन पनि 

भक्तहरू आइरहे प्रसादहरू चढाइरहे ।


सुन चढाउनेहरू पनि आए

सुन चोर्नेहरू पनि आए

देश बनाउनेहरू पनि आए

देश बिगार्नेहरू पनि आए

आर्मी आए

पुलिस आए

सरकार आए

नेता आए

जनता आए

नत तिन्ले आँखा खोले 

नत तिन्ले केही बोले

आउने आए जाने गए

लड्डु खाए फलफूल खाए बसिरहे ।


गरिबहरू मन्दिर बाहिर भिख मागिरहे

धनिहरू मन्दिर भित्र गित गाइरहे

मुर्तिमा दूध पोखिरह्यो

झुपडीमा बालक रोइरह्यो

मुर्तिमा फलफूल कुहिरह्यो

गरिबको छानो चुहिरह्यो ।


मलाई भगवान ! मलाई भगवान !

भक्तहरू मागिनै रहे 

भगवान मुर्ति बनेर बसिरह्यो

मुर्ति भगवान बनेर बसिरह्यो ।

         (म्यागङ ५ सामरी, नुवाकोट)

अध्यक्ष सोही समितिको सदस्यसचिव


काठमाडौं । अख्तियारको छानबिनमा रहेका नारदकुमार लुइँटेल तारागाउँ विकास समितिको सदस्यसचिव पदमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फागुन २५ गते लुइँटेललाई नियुक्ति दिएका हुन् । तर, समिति गठन आदेश २०३४ को दफा २ (२)(६) विपरीत । उक्त व्यवस्थाबमोजिम सदस्यसचिव सरकारले मनोनीत गर्नुपर्छ । तर, मन्त्रीस्तरीय निर्णय गरी आलेले पदपूर्ति गरेका हुन् । लुुइँटेलले पदबहाली गरिसकेका छन् ।

काननुले नै मन्त्रिपरिषद्ले निर्णय गर्ने भनेकोमा मन्त्रिस्तरीय निर्णय गर्नु कानुनविपरीत भएको एक वरिष्ठ अधिवक्ता बताउँछन्न् । ती कानुनविद् भन्छन्, ‘मन्त्रिपरिषद्ले चाहे उक्त निर्णय उल्ट्याउन सक्छ ।’ लुइँटेल यसअघि तारागाउँकै अध्यक्ष थिए । उनको कार्यकाल २०७६ मा सकिएको थियो । अध्यक्ष भइसकेका व्यक्ति सदस्यसचिवमा नियुक्त भई पुनः समितिमा फर्किनुमा निजी स्वार्थ रहेको स्रोतको भनाइ छ । विवादित मुद्दा सुल्झाउन उनलाई पुनः समिति पठाइएको स्रोत बताउँछ । अख्तियारले लुइँटेलको कार्यकालमा भएको भनिएको अनियमितताको सम्बन्धमा राय दिन गत माघ २५ गते मन्त्रालयमा पत्राचार गरेको थियो । त्यसपछि मन्त्रालयले अख्तियारको पत्रको व्यहोरा उल्लेख गर्दै फागुन ११ गते कागजात पेस गर्न समितिलाई भनेको थियो । सोहीबमोजिम समितिले फागुन २५ गते जवाफ पठाएको पाइएको छ । बौद्धमा अधिग्रहण गरिएको विवादित ३५ रोपनी जग्गा फिर्ता गराउने भन्दै लुइँटेलले आफू अध्यक्ष हुँदा कमिसन खाएको उजुरी गते माघ ९ गते अख्तियारमा परेको थियो । उक्त जग्गा अधिग्रहणको फाइलसमेत गायब पारेको उजुरीमा जनाइएको छ । 

‘जग्गा फिर्ता गर्ने अवैध सर्तमा कमिसन खाएको भन्ने व्यवहोराका सम्बन्धमा कानुनबमोजिम कुनै जानकारी नभएको’ समितिको जवाफी पत्रमा उल्लेख छ । जग्गा अधिग्रहणसम्बन्धी सम्पूर्ण कार्य २०२६ सालमै राजपत्रमा सूचना प्रकाशन गरी समाप्त भइसकेको जनाइएको छ । हायात नजिकको ३ रोपनी १५ आनामा समितिको कार्यालय निर्माण गर्ने भनिएको थियो । त्यहाँ समितिको सञ्चालक परिषद्समेतको मिलेमतोमा सपिङ कम्प्लेक्स बनाउने डिजाइन भएको थियो ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २०७५ सालमा तयार पारेको प्रतिवेदनमा पनि उक्त विषय उठाइएको जनाइएको छ। शिलान्यास गरिए पनि विविध कठिनाइले गर्दा कार्यालय भवन बन्न नसकेको समितिले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । ‘साथै तारागाउँ विकास समिति, सञ्चालक समितिको मिति २०७४ साउन १५ गते बसेको २५४ औं बैठकको निर्णय नं. ८७७ बमोजिम उल्लेखित जग्गामा सपिङ कम्प्लेक्स तथा कार्यालय भवन निर्माणका लागि निर्णयाअनुसार स्वीकृतिका लागि नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसम्म गरिएको अवस्था देखिन आएको छ’, पत्रमा लेखिएको छ । समितिको कार्यालय तत्कालीन समयमा न्युरोडस्थित रमागृहमा थियो । रमागृहलाई भाडामा लगाई कमिसन खान कार्यालय ताहाचल सारिएको अख्तियारको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस्तै, उनले हायातको पक्षमा निर्णय सहज बनाउने, बैठक भत्ता बुझ्ने तर उपस्थिति नजनाउने गरेको देखिन्छ । उनकै कारणले जग्गा विवाद, हायातको सेयरमा संस्थाको कमजोर उपस्थिति, रमागृहको अस्वभाविक सम्झौता लागयतमा दोषी ठह¥याएका अख्तियारको पत्रमा उल्लेख छ । तत्कालीन महिला संगठन काठमाडौं जिल्लाको नाममा बौद्धस्थित ३४७ रोपनी ९ आना जग्गा २०२६ सालमा अधिग्रहण गरिएको थियो । 

मन्त्रिपरिषद्को २०४९ मंसिर ५ गतेको बैठकले त्यसमध्ये १५० रोपनी कम्पनीलाई प्रतिरोपनी १० लाखका दरले सेयर लगानी गर्ने र बाँकी १५४ रोपनी लिजमा दिने निर्णय ग¥यो। सोमध्ये ६ रोपनी खानेपानी संस्थानलाई समितिले भाडामा दिएको छ । १४८ रोपनी जग्गा हायात होटललाई दिएको छ । ३४७ रोपनीमा बाँकी भएकोमध्ये ३५ रोपनीको विवाद २०७२ पछि पुनः उठेको हो । २०२६ सालमा नै मुआब्जा लिएको भए पनि अधिग्रहण भएको जग्गा फिर्ता गराउने भन्दै लुइँटेल अध्यक्ष हुँदा कमिसन खाएको आरोप लागेको छ ।

संघको अधिवशन चैत २५ र २६ गते

विदुर । नुवाकोट उद्योग वाणिज्य सङ्घको ११ औँ अधिवेशन र १८ औँ वार्षिक साधारणसभा आगामी चैत २५ र २६ गते हुने भएको छ । 

     प्रवक्ता सविन राजभण्डारीका अनुसार अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता सहित २२ सदस्य चयन गर्नेछ । 

अधिवेशन सर्वसम्मत बनाउने गरी सङ्घका पदाधिकारी छलफलमा व्यस्त रहेको अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिएका छन् । झण्डै १८ सय मतदाता रहेको संघमा नेपाली काँग्रेस निकट मात्रै १२ सय भन्दा बढी छन् । हालको कार्यसमितिमा पनि २२ जना नै काँग्रेसबाट निर्वाचित छन् । आसन्न स्थानीय निर्वाचमा काँग्रेसका नेता तथा कार्यकर्ताहरूलाई पहिल्यै ब्यवस्थापन गर्न र सहयोग आदानप्रदानका आधारमा स्थानीय तहको निर्वाचनमा टिकट बाँडफाँड गर्न संघको अधिवेशन प्रयोग हुने देखिएको छ । 


सडकको काम फेरि अलपत्र

विदुर । ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो ।

१ अर्ब ४५ करोड रुपैयाँको लागतमा लागत अनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिँदासाथ यही फागुन ५ गतेदेखि काम छोडी हिँडेको गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख नीरज शाक्यले बताए । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक हिँडेपछि स्थलगत काम पूर्णरूपमा बन्द भएको छ ।

काम छोडी राजमार्ग विस्तारमा बाधा पुर्याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दासमेत सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना जारी गर्ने तयारीसमेत भइरहेको प्रमुख शाक्यले बताए । काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पुर्याउने कम्पनी पुनः काममा नफर्किए अग्रिम पेस्कीबापत बुझेको साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न आयोजना बाध्य हुने बताइएको छ । 

नेपाल–बेलायत सुगौली सन्धिका २०६ वर्ष

– पर्शुराम काफ्ले

सन् १८१४ जुनमा बेलायत सरकारले नेपालसँग कूटनीतिक सम्बन्ध रद्द गर्दै युद्धको घोषणा गर्न भारतमा शासन गरेको उसको इस्ट इन्डिया कम्पनी सरकारलाई निर्देशन जारी ग¥यो । इस्ट इन्डिया कम्पनीले नोभेम्बर १ मा नेपालविरुद्ध युद्धको घोषणा भयो । त्यतिवेला महाकालीभन्दा पश्चिमका क्षेत्रमा तत्कालीन गोर्खाली फौज नेपाल एकीकरणको अभियानमा थिए । नेपाली फौजले कुमाउँ, गढवाल र पन्जाब हिल स्टेटमा आधिपत्य स्थापित गरिसकेका थिए । एङ्गलो गोर्खा वार भनिने युद्ध घोषणा हुने वेलामा नेपाल टिस्टादेखि सतलजसम्म थियो । युद्धको १७ महिनापछि मार्च ४, १८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनीबीच शान्ति तथा मैत्री सन्धि भयो, जसलाई सुगौली सन्धिका नामले चिनिन्छ । नेपालले युद्धबाट जितेको एकतिहाइ भूभाग गुमाएको सन्धिलाई इतिहासको नमिठो दिनका रूपमा सम्झना गरिन्छ । 


नेपाल र बेलायत सरकारबीच सुगौली सन्धिमा हस्ताक्षर भएको यही शुक्रबार २०६ वर्ष पुगेको छ । सुगौली सन्धिपछि नेपाल र भारतमा रहेको ब्रिटिस औपनिवेशिक सरकारबीच दुईपटक पूरक सन्धि भयो । नेपालको वर्तमान सिमाना सुगौली सन्धि र दुई पूरक सन्धिको व्यवस्थाअनुसार पूर्वमा मेची र पश्चिम महाकाली कायम भएको हो । 

जानकारहरूका अनुसार पश्चिम नेपालको बुटवलस्थित पालिही, स्युराज, माझखण्ड, खजहनी भूभागमा अंग्रेजले दाबी गरेपछि विवाद भएको थियो । ती भूभाग लखनउका नबाब भएको अंग्रेजको दाबी थियो, तर ती भूभाग पाल्पाको सेन राज्यअन्तर्गत भएका कारण नेपालको आधिपत्य रहेको नेपालको दाबी थियो । यही बहानामा युद्ध सुरु भएको सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायतको दाबी छ । 

नेपाल र अंग्रेजबीच करिब १७ महिना युद्ध चलेको थियो र युद्धमा नेपाली सैनिकले बहादुरी प्रदर्शन गरे पनि अंग्रेजलाई कुनै पनि मोर्चामा जित्न सकेन । महाकाली पश्चिममा नेपालको हार भएसँगै अंग्रेजले पूर्वतिरबाट काठमाडौँ कब्जा गर्ने हल्ला फैलाए र सँगसँगै नेपालसँग सन्धिको प्रस्ताव गरे । अंग्रेजले २ डिसेम्बर १८१५ मा शान्ति तथा मैत्री सन्धिको मस्यौदा नेपाललाई पठायो । तर, एकतिहाइ भूभाग गुमाउने प्रस्ताव तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई मान्य भएन । तर, दरबारभित्र कलह, भाइभारदारभित्रको आपसी मनोमालिन्यका कारण नेपाल युद्ध लड्न सक्ने अवस्थामा थिएन । अन्ततः बाध्यतावश नेपालले सन्धि स्वीकार गर्न बाध्य भयो ।

अंग्रेजले पठाएको सन्धिको मस्यौदामा नेपाललाई १५ दिनमा हस्ताक्षर गर्न भनिएको थियो । नेपालले अलमल गरिरहेको अवस्थामा अंग्रेजले काठमाडौँ र पूरै नेपाल नै कब्जा गर्ने प्रचारबाजी गरेपछि राजा गीर्वाणयुद्ध विक्रम शाहका प्रतिनिधिका रूपमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायलाई सन्धिको जिम्मेवारी दिइयो । अंग्रेजले मस्यौदा पठाएको ९३ औँ दिनमा १८१६ मार्च ४ मा नेपालले हस्ताक्षर गरेको थियो । तत्कालीन समयमा सुगौली पुगेका चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले सन्धिमा हस्ताक्षर गरे । अंग्रेजका तर्फबाट लेफ्टिनेन्ट कर्णेल प्यारिस ब्राडसाले हस्ताक्षर गरे । सन्धिको सम्पूर्ण विषयवस्तु अंग्रेजले एकपक्षीय रूपमा तयार पारेका थिए । गभर्नर जनरल डेभिड अक्टरलोनीले त्यही दिन सन्धिमा हस्ताक्षर गरेर स्वीकृति दिएका थिए । दुवै देशका उच्च तहमा हस्ताक्षर नभए पनि प्रतिनिधिको तहमा हस्ताक्षर भएसँगै सन्धि लागू भयो । नेपालले रगतले साटेका भूभाग अंग्रेजलाई ४० दिनभित्र खाली गर्नुप¥यो । त्यहीबीचमा युद्धमा सहभागी भएका कमान्डहरू बिरक्तिएर लाखापाखा लाग्नुप¥यो । भारतको विहारमा रहेको सुगौलीमा पुगेर नेपालका तर्फबाट सन्धिमा हस्ताक्षर भएको एक पक्षको भनाइ छ । सन्धिमा ब्राडसाले हस्ताक्षर गरेर पठाइसकेका थिए । सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायतले भने हाल मकवानपुरको हेटौँडा नगरपालिका–९ मा रहेको सुगौली भन्ने ठाउँमा नेपालले हस्ताक्षर गरेको आँकलन गरेका छन् । 

सुगौली सन्धिसँगै नेपालले पूर्वमा मेचीदेखि टिस्टासम्म र पश्चिममा महाकालीदेखि सतलजसम्मको जमिन गुमाएको थियो । त्यस्तै, बुटवलबाहेक कोसीदेखि महाकालीसम्मको सम्पूर्ण तराई पनि नेपालले गुमाएको थियो । मेचीदेखि कोसीसम्मको तराई मात्रै सुरुमा नेपालको थियो । सुगौली सन्धिको ९ महिनापछि नेपालले राप्तीपूर्व कोसीसम्म तराईका भूभाग फिर्ता पायो । अंग्रेजले सुगौली सन्धिबापत नेपालका असन्तुष्ट भाइभारदारका नाममा वार्षिक दुई लाख रुपैयाँ दिने भनेको थियो । त्यो दिनुभन्दा अंग्रेजले तराईको भूमि नेपाललाई दिनु उपयुक्त ठान्यो । त्यही वर्ष अर्थात् ११ डिसेम्बर १८१६ मा अंग्रेजले राप्तीदेखि कोसीसम्मको भूभाग नेपाललाई फिर्ता दियो । पूरक सन्धिमार्फत नेपालले पूर्वी तराई फिर्ता पाएको थियो । सुगौली सन्धि सदा कालका लागि भनिए पनि पूरक सन्धिले त्यसलाई खण्डन गरिदिएको छ ।

नेपालले सुगौली सन्धि गरेको ४४ वर्षपछि राप्तीदेखि पश्चिमको तराई प्राप्त भयो । सन् १८५७ मा भारतमा उठेको सिपाही विद्रोह साम्य बनाउन सैनिक सहयोग गरेर तत्कालीन प्रधानमन्त्री जंगबहादुरले अंग्रेज सरकारलाई खुसी पारे । त्यहीबापत अंग्रेजले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई दिए । नोभेम्बर १, १८६० मा पूरक सन्धिमार्फत नेपालले नयाँ मुलुक भनिने चार जिल्ला फिर्ता पाएको थियो । पश्चिमी भूभागमा लडाइँका आधारमा नेपालले जमिन गुमायो । तर, मेचीदेखि टिस्टासम्म नेपालले अंग्रेजसँग लडाइँ नै गरेको थिएन, तर जमिन अंग्रेजलाई दिन बाध्य भयो । 

सुगौली सन्धिमा हस्ताक्षर गर्ने इस्ट इन्डिया कम्पनीका लेफ्टिनेन्ट कर्नेल प्यारिस ब्राडसाले भनेका छन्, ‘गोर्खालीहरूले सुगौली सन्धि ढिलो स्वीकार गर्नुमा अरू कारण थिएन, उनीहरूको साम्राज्यको आधाभन्दा कम मात्रै उनीहरूसँग बाँकी रहनु थियो । वास्तवमा गर्विला गोरखाली जनताका लागि सन्धि साह्रै नै दुःखदायी थियो ।’ उनले यतिसम्म भनेका छन्, ‘हामीसँग सेनाको ठूलो संख्या थियो, तर शत्रु पक्ष (नेपाल)का सेनासँग सीप र बहादुरी थियो । उनीहरूसँग साधनस्रोत पर्याप्त हुन्थ्यो भने गोर्खालीले पूरै एसियामा शासन गरिसक्ने थिए ।’ (रि डिस्कोभर्ड हिस्ट्री अफ गोर्खाज)सुगौली सन्धि नेपाली इतिहासको सबैभन्दा दुःखको दिन थियो । अमरसिंह थापाजस्ता देशभक्तका लागि सन्धि सबैभन्दा पीडादायी भयो । युद्धमैदानबाट फर्केर उनी भिक्षुका रूपमा गोसाइँकुण्ड गए र त्यहीँ देहत्याग गरे । काजी अमरसिंह थापाले युद्ध मैदानबाट राजा गीर्वाणयुद्ध विक्रम शाहलाई पठाएको चिठीमा लेखेका छन्, ‘अंग्रेजले हाम्रो ठूलो भूभाग लिए । तर, उनीहरूभन्दा हामी कति धेरै बहादुर छौँ ।’ सुगौली सन्धिपछि नेपालको एकीकरण अभियानमा पूर्णविराम लाग्यो । 

नालापानीको लडाइँ लडेका बलभद्र कुँवर अंग्रेजलाई पराजित गरेर भारतीय उपमहाद्वीपबाटै धपाउन पन्जाबका राजा रणजित सिंहको सेनामा सहभागी भए । तर, उनी अफगानिस्तानमा मारिए । नालापानी लडाइँमा सहभागी ब्रिटिस विलियम फ्रेसरले भनेका छन्, ‘गोर्खाहरू विश्वका सबैभन्दा उत्कृष्ट सैनिक हुन् ।’ नेपालले १७९० मा कुमाउँ, १८०४ मा गढवाल त्यसपछि पन्जाब हिल स्टेट जितेर गोर्खालीले शासन चलाएका थिए । यद्यपि काठमाडौँ (सरकार)ले पश्चिमा सहभागी सैनिकलाई रासनपानीको यथोचित प्रबन्ध नगरेको गुनासो थियो । महाकाली पश्चिममा गोर्खाली सैनिकले स्थानीयमाथि दमन गरेको पनि आरोप लाग्ने गरेको छ । जसका कारण गोर्खाली सेनामा भर्ना भएका स्थानीय युवाले पनि विद्रोह गरेर ब्रिटिसलाई साथ दिएका थिए । गोर्खालीको हारको त्यो पनि एउटा कारण रहेको इतिहासविद्हरूले उल्लेख गरेका छन् । नेपालको पश्चिम मोर्चामा लडाइँ भएको थियो । त्यहीँको हारले ब्रिटिससँग नेपाल युद्ध गर्न बाध्य भयो । १८०९ मा काँगडामा युद्ध हारेको नेपालले त्यसपछि क्रमशः हार्दै गएको थियोर । नालापानीमा बलभद्र कुँवरको हारपछि अमरसिंह थापाले काठमाडौंलाई लेखेको चिठीमा उल्लेख छ, ‘६०० जना साधारण मानिस लिएर खुकुरीको भरमा तीनदेखि चार हजार शत्रुलाई बलभद्रले क्षति पु¥याएका छन् । हामी शत्रुको पर्खाइमा राजगढमा छौँ ।’ अमरसिंह थापा, भक्ति थापाहरूले लडाइँ जित्न सकेनन्, नेपालको हालत बहादुरीमा सीमित भयो । 

त्यसवेला करिब १२ हजारजति नेपाली फौज लडाइँमा थिए । इतिहासअनुसार जमुनाहा पश्चिम चार हजार, जमुनाहदेखि कालीसम्म दुई हजार, कालीपूर्व जम्मा ६ हजार सक्रिय फौज थिए । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापाजस्ता योद्धाले लडाइँको नेतृत्व गरेका थिए । नेपालविरुद्धको युद्धमा ब्रिटिस कमान्डहरूमा मेजर जनरल बानेट मार्ले, मेजर जनरल जोन सुलिभान उड, मेजर जनरल रोलो जिलेस्पी र कर्नेल डेभिड अक्टरलोनी थिए । मेजर जनरल जिलेस्पी नालापानी युद्धमा मारिएका थिए । 

१८१४ नोभेम्बरपछिको लडाइँमा गोर्खाली फौज पराजित भयो । 

पश्चिम नेपालमा भएको लडाइँमा गोर्खालीले बहादुरी प्रदर्शन गरे, तर जित्न सकेनन् । गोर्खालीहरूको संस्कार, बहादुरी र बफादारितालाई ध्यानमा राख्दै बेलायतले उसको सेनामा नेपाली युवाहरूलाई लिन थाल्यो । ब्रिटिस गोर्खा सैनिकमा नेपाली वा गोर्खालीहरूको भर्ती सुगौली सन्धिकै आसपासबाट सुरु भएदेखि आजसम्म जारी छ । ब्रिटिससँगको युद्धपछि नेपालले जमिन गुमायो, तर बहादुरी कमाए । नेपालीहरूको बहादुरी त्यही वेला बेलायतीहरूले गरेको मूल्यांकनको उपज थियो । 

सुगौली सन्धिमा नेपालले ठूलो भूभाग गुमायो, तर सार्वभौम मुलुकका रूपमा नेपाल अक्षुण्ण रह्यो । कारण जेसुकै भए पनि नेपाल ब्रिटिस अधीनस्थ हुनुपरेन । नेपालको अन्तर्राष्ट्रिय पहिचान बच्न सफल भयो । बेलायतले औपचारिक रूपमा नभने पनि त्यसपछि नेपाललाई स्वतन्त्र मुलुकका रूपमा व्यवहार गरेकै हो । 

सन् १९२३ मा ब्रिटिससँगै भएको शान्ति तथा मैत्री सन्धिमा नेपाललाई उसले स्वतन्त्र एवं सार्वभौम मुलुकको रूपमा मान्यता दियो । त्यसकै जगमा नेपाल र भारतबीच १९५० जुलाई ३१ मा शान्ति तथा मैत्री सन्धि भयो । सन्धिले नेपालको स्वतन्त्र र सार्वभौम पहिचानलाई स्थापित गरेको छ । 

सन्धिको सक्कल बेपत्ता

सुगौली सन्धिमा हस्ताक्षरकर्ता तत्कालीन इस्ट इन्डिया कम्पनी सरकार वा ब्रिटिस सरकारले १९४७ मा भारत छाड्ने क्रममा सक्कल कपी लिएर गएको अनुमान छ । नेपाल सरकारसँग अहिले सुगौली सन्धिको सक्कल कपी नभएको परराष्ट्रमन्त्री डा. खड्काले गत मंसिरमा सार्वजनिक गरेपछि यसबारे प्राज्ञिक र बौद्धिक तहमा बहस सुरु भएको छ । सुगौली सन्धिअनुसार नेपालले महाकालीपूर्वका सबै भूभाग पाउने स्पष्ट छ र त्यहीअनुसार लिम्पियाधुरासम्म आफ्नो दाबी प्रस्तुत गरेको छ । तर, सन्धिको सक्कल प्रति नेपालको अर्काइभमा नहुँदा भविष्यमा नेपाल–भारत सीमा वार्ता प्रभावित हुने भय व्याप्त छ । 

बेलायतदेखि अमेरिका पुगेका सीमाविद्हरूले अहिलेसम्म सुगौली सन्धिको मूल कपी फेला पार्न सकेका छैनन् । सिंहदरबारको आगलागी हुँदा जलेको हुन सक्ने एकथरीको अनुमान छ । अर्काथरीको अनुमानमा राजदरबारमा सन्धिको कपी छ, तर राजा ज्ञानेन्द्रको बहिर्गमनपछि कागजपत्रहरूका बारेमा कसैलाई थाहा छैन । यद्यपि सम्बन्धित निकायले यसबारे यथार्थ सार्वजनिक गरेको छैन । 

सरकारी संयन्त्रले सुगौली सन्धिको मूल कपी खोजबिन गरेको छैन । योगी नरहरिनाथले सुगौली सन्धिको प्रति दाबी गर्दै आफ्नो पुस्तक सन्धिपत्र संग्रहमा राखेका छन् । उनले किताबमा केही दस्ताबेजको प्रतिलिपि राखेका छन् । 

तर, ती कागजात पनि सही हुन् कि होइनन् भन्ने प्रमाणित भएको छैन । त्यसलाई प्रमाणित गर्ने कुनै आधार छैन, अरू कुनै दस्ताबेजको सक्कल भेटिएको छैन । सन्धिको हिस्सेदारको हैसियतले नेपाल सरकारसँग एक प्रति सक्कल हुनुपर्ने हो, तर संस्थागत स्मरण र अभिलेख नहुँदा यति महत्वपूर्ण दस्ताबेज राज्यले भेटेको छैन । त्यसैले सर्वोच्च अदालतले सुगौली सन्धिको सक्कल पेस गर्न आदेश दिँदा पनि सरकारले बुझाउन सकेको छैन । 

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २२ जेठ ०७७ मा लिम्पियाधुरासम्मको नक्सासँग सम्बन्धित प्रमाण (सुगौली सन्धिसमेत) खोजबिनका लागि गठन गरेको समितिले पनि सुगौली सन्धि फेला पार्न सकेन । 

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. विष्णुराज उप्रेती नेतृत्वको कार्यदलमा सूर्य सुवेदी, अप्सरा चापागाईं, जगत भुसाल, विपिन अधिकारी, रमेश ढुंगेल, तोयानाथ बराल र हिमालय थापा सदस्य थिए । उनीहरूले पनि सुगौली सन्धिको सक्कल कतै फेला पार्न सकेनन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठले बेलायतमा पुगेर १९५० को सन्धिको सक्कल कपी फेला पारे, तर सुगौली सन्धिको मूल वा सक्कल कपी फेला पार्न सकेनन् ।

सुगौली सन्धिमा के छ ? 

१. इस्ट इन्डिया कम्पनी र नेपालका महाराजाधिराजबीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ । 

२. युद्धभन्दा अगाडि झगडा उठेका सम्पूर्ण भूभागउपर नेपालका राजाले आफ्नो दाबी छाड्नेछन्, ती भूभागउपर इस्ट इन्डिया कम्पनीको प्रभुत्व रहनेछ । 

३. नेपालका राजाले निम्न क्षेत्रउपर सदाका लागि इस्ट इन्डिया कम्पनीको अधिकार मान्नुपर्नेछ । 

  काली र राप्ती नदीबीचको तराई 

   बुटवल खासलाई छाडी राप्ती र गण्डकी नदीबीचको सम्पूर्ण तराई 

  गण्डकी र कोसी नदीबीचको तराई 

   मेची र टिस्टा नदीबीचको तराई 

  नगरकोटको सम्पूर्ण क्षेत्र एवं मोरङबाट पहाडतर्फ जाने नगरकोटको घाँटीको साथै त्यसनजिकको समस्त स्थल र मेची नदीपूर्वको समस्त पहाडी क्षेत्र

४. माथिको व्यवस्थाका कारण नोक्सानमा परेका नेपालका सरदार र भारदारको क्षतिपूर्ति गर्न ब्रिटिस सरकारले सालाखाला वार्षिक दुई लाख रुपैयाँ दिनेछ । र, यो रकम नेपालका राजाले आफ्नो तजबिजले बाँड्न पाउनेछन् । 

५. नेपालका राजाले कालीनदी पश्चिमका प्रदेश र त्यसका निवासीसँग कुनै सम्बन्ध राख्न पाउनेछैनन् । 

६. नेपालका राजाले सिक्किमका राजाको अधिकारमा भएको कुनै भागमाथि कुनै किसिमको दाबी गर्न पाउनेछैनन् । नेपाल र सिक्किमका प्रजाबीच कुनै झगडा वा विवाद उठेमा कम्पनी सरकारको मध्यस्थताका लागि प्रेषित गरिने र उसको निर्णय नेपाल सरकारले मान्नुपर्नेछ ।

७. ब्रिटिस सरकारको अनुमतिविना नेपालका राजाले कुनै ब्रिटिस, युरोपेली वा अमेरिकीलाई आफ्नो सेवामा राख्न पाउनेछैन । 

८. दुवै राष्ट्रबीच कायम रहेको मित्रता एवं शान्तिको सम्बन्ध सुदृढ पार्न एवं उन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछन् । 

९. यो सन्धिपत्रमा नेपालका राजाले १५ दिनभित्रै हस्ताक्षर गरी लेफ्टिनेन्ट कर्नेल ब्राडसासमक्ष बुझाउने र उनले २० दिनभित्रै वा सम्भव भए त्योभन्दा शीघ्र गभर्नर जनरलको स्वीकृति दिलाउनेछन् ।

(नयाँ पत्रिकाबाट सभार)

२०७८ साल चैत ७ गतेको सम्पादकीय

आफ्नो थैली मजबुत बनाऔं

पछिल्लो समय इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका घटना पनि बढ्दै गइरहेका छन् । यी प्रतिनिधि घटनाले समाजमा आपराधिक मनोवृत्ति मौलाउँदै गइरहेको देखाउँछ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को ६ महिनायता दुई हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । साइबर अपराधका मुद्दा वर्षैपिच्छे बढ्दै गइरहेको ब्युरोको तथ्याङ्कले देखाउँछ । सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् । फेसबुकका साथै टिकटक, इन्स्टाग्राम, ट्वीटर, म्यासेन्जर, इमो, भाइबर लगायतबाट पनि साइबर अपराधका घटना बढिरहेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै यसबाट ठगिनेको संख्यासमेत बढ्दै गएको छ । सामाजिक सञ्जालमा कसैको नक्कली आईडी बनाएर रकम माग्ने, आपत्तिजनक तस्वीर राखेर ब्ल्याकमेल गर्ने, संघसंस्था तथा व्यक्तिका आईडी ह्याक गर्ने गरेका घटना बढ्दै गइरहेका छन् । साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा साइबर अपराधसम्बन्धी दुई हजार ३०१ मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७७÷०७८ मा यो संख्या बढेर ३ हजार ९०० पुगेको थियो । जबकि चालु आर्थिक वर्षको ६ महिनामै २ हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दापीडित आफैं उपस्थित भएर दर्ता गराएका हुन् ।

नेपालीमा एउटा उखान छ, ‘चोरलाई दोष दिनुभन्दा आफ्नो थैली मजबुत बनाउनु’ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि ह्याकर, ठगी गर्ने र ब्ल्यामेल गर्ने जस्ता व्यक्तिहरुबाट बच्न आफूले सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । प्रयोगकर्तालाई सम्भावित जोखिमबारे ज्ञान हुनुपर्छ । सुरक्षा विज्ञहरु सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैभन्दा पहिला प्रयोगकर्ता नै सुरक्षित हुनुपर्ने बताउँछन् । आफूले चलाउने सामाजिक सञ्जालका माध्यमबारे राम्ररी बुझेर जानेर मात्रै सुरक्षित तरिकाले चलाउनुपर्दछ । इन्टरनेट तथा सामाजिक सञ्जालका माध्यमबारे सर्वसाधारणलाई  ज्ञान नहुँदा र सजिलै अरुले देखाएको प्रलोभनमा पर्ने गरेकाले साइबर अपराधका घटना हुने गरेको छ । सामाजिक सञ्जालमा राखिएका सबै कुरा सत्य हुँदैनन् । कसैले ठग्ने नियतले पनि राखेका पोस्ट गरेका हुन्छन् । सामाजिक सञ्जालबारे सर्वसाधारण सजग भई सही गलत छुट्याउन सके अपराधका घटना आफैं कम हुन्छन् । सामाजिक सञ्जाल चलाउँदा नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने, सामान्य चिनजानकै भरमा गोप्य कुरा नखुलाउने, सूचना नदिने, भिडियो तथा तस्वीर नपठाउने गरेमा साइबर अपराधका घटनाबाट बच्न सकिने छ । 

हाल साइबर अपराधका घटना हेर्दा चार–पाँच किसिमले सर्वसाधारण ठगिने देखिएको छ । जसमा सामाजिक सञ्जालमा चिनेजानेको मान्छेले उपहार पठाइदिन्छौं भन्दा लोभमा परेर, चिठ्ठा परेको छ भनेर ठग्दा प्रलोभनमा परेर, अनलाइनमा किनमेल गर्दा आधिकारिक पेजका बारेमा थाहा नभएर, वैदेशिक रोजगारीका लागि विज्ञापनकै आधारमा भिसा लगाउने र पैसा दिने गरेका कारण ठगी हुने गरेको छ । साइबर अपराधबाट बच्न आफूले चलाउने एप्लिकेसनमा मजबुत पासवर्ड राख्नुपर्छ र अनावश्यक नचिनेको नजानेको मान्छेसँग कुराकानी गर्नुहुँदैन । प्रयोगकर्ता स्वयं सचेत भए साइबर अपराध हुन पाउँदैन । महाशाखाले पनि पक्राउ गरेका अधिकांश ह्याकरले पासवर्ड सजिलो राखेकाले फेसबुक ह्याक गर्न सकेको बताउने गरेका छन् । त्यसैले पनि साइबर अपराधबाट बच्नका कम्प्युटर तथा ल्यापटपमा जेन्युन अपरेटिङ सिस्टम चलाउनुपर्छ, इमेलको पासवर्ड बलियो र लामो राख्नुपर्ने तथा टु फ्याक्टर अथेन्टिकेसन, ओटीपी र फिंगरप्रिन्टलाई एक्टिभ गर्नुपर्ने हुन्छ । 

२०७८ साल चैत ७ गते प्रकाशन भएको अंक । वर्ष : १५, अंक : २४ ।