Monday, March 28, 2022

म्यादी प्रहरी नेताको टाउको दुखाई

२०७३ मा म्यादी प्रहरीमा छनोट भएका नुवाकोटका युवाहरू । फाइल तस्बिर

विदुर । यस अघि आफ्ना कार्यकर्तालाई जागिर खुवाउन दवाद दिएर फोन गर्ने राजनीति दलका नेताहरूलाई अहिले म्यादी प्रहरी टाउको दुखाई बनेको छ । स्थानीय तह निर्वाचनमा गाउँटोलमै खटिनुपर्ने र पार्टीलाई मतदान गर्नुपर्ने युवाहरू म्यादी प्रहरी बन्नका लागि सिडिओ र एसपीलाई फोन गदिर्नु पर्यो भन्दै आउन थालेपछि नेताहरू अप्ठ्यारोमा परेका हुन् । ‘चुनावी कार्यक्रम लिएर खटिनुपर्ने युवाहरू म्यादी पुलिस बन्नुपर्यो भन्दै फोन गराउन आउछन्’, एक नेताले भने– ‘स्थानीय तहमा दुई चार भोटले हार्ने अवस्था आउछ यसरी जागिर खान जानु हुँदैन भन्ने गरेको छु, तर रिसाएर फर्कन्छन् ।’

नेताहरू विपक्षी पार्टीका युवाहरू मात्रै म्यादी प्रहरीमा गईदिए हुन्थ्यो भन्ने चाहन्छन् । आफ्ना कार्यकर्ताहरू म्यादी प्रहरीको फारम भर्न विदुर झर्न थालेको जानकारी पाएपछि काँग्रेस, माओवादी केन्द्र, एमाले लगायतका ठुला पार्टीहरूले समेत रोक्नका लागि सकुर्लर नै जारी गरेको थियो । ठुला पार्टीका जिल्ला नेताहरूले म्यादी प्रहरी बनाउन आफ्ना मान्छेका लागि फोन गर्ने काम बन्द गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एक अधिकृतका अनुसार म्यादी प्रहरी भर्नाका लागि नेताहरूको फोन र दवाव कम आउने गरेको छ । अघिल्लो निर्वाचनको अनुभवका आधारमा उनले भने– ‘बरु सेना, प्रहरीबाट रिटायर भएका, पूर्व वन रक्षकहरूले चाही बढी बल गर्ने गरेका छन् ।’

म्यादी प्रहरीको लागि आवेदन लिन आउनेमा दुधे बालकका आमाहरू सम्म छन् । ४० दिनको काममा राम्रो रकम हात पर्ने भएकोले आफु आकर्षित भएको बेलकोटगढी नगरपालिकाका एक महिलाले बताए । ‘अब दुध छुटाउने बेलापनि भएको छ, घरमा बच्चा हर्ने मान्छे छन्, मैले जागिर पाए भने पनि कुनै समस्या हुँदैन’ ति महिलाले भने । 

त्यसो त, म्यादी प्रहरीका लागि सामान्य लेखपढ गर्न सक्ने र नेपाली नागरिकता भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । तर सामान्य लेखपढ गर्ने आवेदकको संख्या अत्यन्त न्यून भएको एक प्रहरीले बताएका छन् । ‘हामीकहाँ प्रहरी निरीक्षक तहमा भिड्न योग्य मान्छेको आवेदन परिरहेको छ’, उनले भने । म्यादी प्रहरीको आवेदन दिनेहरूमा स्नातक तह उत्तीर्ण गरेकाको समेत आवेदन परेको नुवाकोटका एसपी  रामप्रकाश शाहले बताए । विविएस उत्र्तिण गरेका विदुर नगरपालिकाका एक युवाले आफुले पनि म्यादी प्रहरीका लागि आवेदन दिएको सुनाए । ‘विदेशमा सेक्युरिटको काम गर्थें, केही समय भयो घर आएको’, उनले भने– ‘अझ केही समय यता बस्ने भएपछि दुई÷चार पैसा किन छाड्नु भनेर म्यादी प्रहरीका लागि फारम भरेको हुँ ।’

म्यादी प्रहरीमा भर्ना हुन नुवाकोटको सबै स्थानीय तहबाट युवाहरू आएका छन् । कुन पालिकाबाट कत्तिजनाको आवेदन पर्यो भन्ने चाँही जिल्ला प्रहरी कार्यालय नुवाकोटले तथ्याङ्क तयार गरेको छैन । पछिल्लो समयको बढ्दो बेरोजगार, गाउँ–गाउँमा रहेका युवा तथा अवकाशप्राप्त सेना, प्रहरी म्यादीमा आकर्षित भएका हुन् । 

अहिले आवेदन लिने र पछि छनोटमा प्राप्त अंकका आधारमा भर्ना गरिने प्रमुख जिल्ला अधिकारी एवं म्यादी प्रहरी छनोट समितिका संयोजक नारायणप्रसाद रिसालले बताएका छन् । म्यादी प्रहरीमा भर्ना हुनेले करीब दुई महिना समय बर्दीमा बिताउनेछन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएको आइतबारदेखि ११ गतेसम्म नुवाकोटमा ३ हजार ५८१ जनाले आवेदन दिए । ११ गते आवेदन दिने अन्मित मिति थियो । नुवाकोटका लागि एक हजार ३२७ जना मात्रै म्यादी प्रहरी माग छ । 

४० दिन काम गरेको तलव र भत्ता गरेर एक व्यक्तिले ४३ हजार ३४० रुपैयाँ एकुमष्ठ बुझ्छन् । दिनको ७५६ रुपैयाँका दरले तलब पाउने छन् । ४० दिनको सात हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर निर्वाचनको सुरक्षामा खटाउने छ । 

म्यादी प्रहरी भर्ना गर्न प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ । चैत ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिक भर्ना हुन पाउनेछन् । 

स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुने छ । म्यादीका आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको पाँच फिट दुई इन्च र ५० केजी तौल, महिलाको हकमा पाँच फिट उचाई र तौल कम्तीमा ४२ केजी हुनुपर्ने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) बाट उपदान÷निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश/उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ । 

हराएको सहकारी खोज्दै वडा अध्यक्ष

नुवाकोटको विदुर नगरपालिका वडा नं. ४ मा हुनु पर्ने शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (काठमाडौं) वडा नं. २ मा फेला परेको छ । तस्बिर : इमेज साप्ताहिक
विदुर । विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठलाई केही समयदेखि मौखिक उजुरी आइरहेको छ : ‘हाम्रो वडामा शाखा खोल्ने गरी काठमाडौंबाट एउटा सहकारी आएको थियो, त्यो खोई ? त्यसको कार्यालय कहाँ छ ?’ सुरुमा सहकारीको कार्यालय खोज्दै के हिड्नु भनेर पन्छिएका वडा अध्यक्ष श्रेष्ठले गुनासो बढ्दै गएपछि अनौपचारिक रुपमा सोधिखोजी थाले । बागमती प्रदेशको सहकारी महाशाखाबाट अनुमती लिएर काठमाडौंको एक सहकारी विदुर–४ मा स्थापना हुनुपर्ने जानकारी पाएपछि सहकारीको खोजी थालेका वडा अध्यक्ष श्रेष्ठ त्यत्तिखेर चित परे, जत्तिबेला त्यो सहकारी वडा नंं. २ मा फेला पारे । 

काठमाडौं न्यूरोडमा प्रधान कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहरकारी संस्था लिमिटेड नुवाकोटमा शाखा स्थापना गर्ने गरी वडा नं. २ को बट्टारमा भेटिएको छ । तै पनि वडा नं. ४ का अध्यक्ष अझै पनि अर्को सहकारी पो हो की आफ्नोे वडामा स्थापना हुने चाँही भनेर खोजी गरिरहेका छन् ।  

यही विषयमा जानकारी लिन आइतवार सो सहकारीको कार्यालयमा पुगेको इमेज प्रतिनिधिलाई  सेवा केन्द्रका प्रबन्धक जयबहादुर थापाले पुष्टि गरे । ‘हामीलाई विभागले विदुर नगरपालिकाको वडा नं. ४ को लागि नै स्विकृत दिएको हो, तर हामी वडा नंं .२ मा बसिरहेका छौं’ उनले भने । यस विषयमा वडा नं.४ का अध्यक्ष श्रेष्ठले पनि अनौपचारिक रुपमा सुनेको र वडा नं. २ मा स्थापना भएको सहकारी भएकोले केही सोधिखोजी गर्न नमिलेको बताएका छन् । ‘बट्टार चोकमा पुगेर यसो साइनबोर्ड पढ्यो कार्यालयको ठेगाना वडा नं. २ लेखेको छ, मेरो वडाबाट हराएको सहकारी यही हो भनेर दावी गर्न मिल्यो त अब ?’ श्रेष्ठले भने । 

वडा नं. २ का अध्यक्ष बिरेन्द्रकुमार शाही भने आफ्नो वडाका कुनै सहकारीले शाखा स्थापना गरेको र सदस्य बनाएर बचत संकलन गर्ने अनुमती लिएको जानकारी नभएको बताउछन् । ‘मलाई त यो बारेमा कसैले केही पनि भनेन् त’ शाहीले भने । अझ उनले शुभप्रभात नाम गरेको सहकारी आफ्नो वडामा रहेको स्मरण गर्दै प्रश्न गरे– ‘शुक्रपथ भन्या की शुभप्रभात ? शुभप्रभात सहकारी चाँही छ २ नं. मा ।’ 

विदुर नगरपालिका सहकारी शाखामा समेत यो सहकारीको विवरण भेटिएको छैन । शाखा प्रमुख पुष्कर शर्मा रिमालले त्यस्तो नाम गरेको कुनै सहकारी विदुर नगरपालिकाभित्र स्थापना भएको जानकारी कार्यालयसंग नभएको बताए । ‘हाम्रो कार्यालयको रेकर्डमा त्यो नाम गरेको सहकारी देखिदैन’ रिमालले भने ।  

यो सहकारीले २०७८ असोज ६ गतेबाट नुवाकोटमा कारोवार गर्दै आएको छ । साढे छ महिनादेखि काम गरिरहेको यो सहकारीले आफ्नो कार्यक्षेत्र नुवाकोट जिल्लाभरी रहेको दावी गरेको छ । ‘काम गर्न थालेको साढे छ महिना हुनै लाग्यो, तर यहाँ हामी दर्ता हुन भने बाँकी छ’ सेवा केन्द्र प्रवन्धक थापाले भने । 

तीन हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्ने

विदुर । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ्लो’ अध्ययन गर्दा पहिलो चरणमा तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्न सकिने देखिएको हो । अध्ययनअनुसार सो प्रसारण लाइन उच्च क्षमताको हुनेछ ।

आगामी भदौसम्म वातावरणिय प्रभाव मूल्याङ्कनको काम सकेर प्रसारण लाइन निर्माणमा जान सकिने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ । आयोजना प्रमुख कोमलनाथ आत्रेयका अनुसार रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइन नाम दिइएको सो आयोजनाको नेपालतर्फको क्षमता ४०० केभी डबल सर्किटको हुनेछ । यस्तै चीनतर्फ भने ५०० केभी डबल सर्किटको हुनेछ । सो आयोजनामा प्राधिकरणको आयोजना विकास विभागले काम गरिरहे पनि नेपाल र चीनका संयुक्त प्राविधिक समूहको बैठक बस्न नसक्दा विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)मा बाँकी रहेका केही काम सम्पन्न हुन सकेको छैन ।

पछिल्ला दिनमा कोरोनाका कारण केही जटिलता पैदा भए पनि सहजरुपमा दुई देशबीचको नाका सञ्चालनमा आउन नसक्दा ज्वाइनट क्रसिङ प्वाइन्ट’ का विषयमा टुङ्गो लगाउन सकिएको छैन । दुवै देशका प्राविधिकले स्थलगतरुपमा अध्ययन गरेर सम्पन्न गर्न‘पर्ने काम बाँकी रहेकाले संयुक्त रूपमा ‘लोड फ्लो टेस्ट’ र डीपीआरको काम भने हुन सकेको छैन । नेपालतर्फको काम भने अन्तिम चरणमा पुगे पनि संयुक्तरुपमा गर्नुपर्ने काम कोरोनाको असर कम हुँदै गएपछि अगाडि बढ्ने विश्वास लिइएको छ ।

चिनियाँ पक्षले जिलोङ काउन्टीमा सवस्टेशन निर्माण गरिरहेको जानकारी नेपाली पक्षलाई गराएको छ । केरुङसमेत सोही काउन्टीमा पर्छ । नेपालतर्फ यसअघि नै लोडफ्लो टेस्टको काम सकिए पनि संयुक्त लोडफ्लोको काम गर्न बाँकी छ । सो काम स्टेट ग्रिड अफ चाइनाले गर्र्नेछ । नेपालतर्फको अध्ययनअनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल र चीनबीच तीन हजार मेगावाट बराबरको बिजुली आयात निर्यात गर्न सकिन्छ । आयोजनामा कूल २०८ टावर रहनेछ । प्रसारण लाइनको नेपालतर्फको खण्ड ७० किलोमिटर बराबर छ । प्रसारण लाइनको लागत रु १० अर्ब बराबर रहने प्रारम्भिक अनुमान छ ।

नुवाकोटको रातमाटेदेखि रसुवागढीसम्म निर्माण हुने नेपालतर्फको प्रसारण लाइन लाङटाङ राष्ट्रिय निकुञ्जभित्र भएर जान्छ । आयोजनाले निकुञ्जभित्र र बाहिर दुवैतर्फ अध्ययन गरेको आयोजना प्रमुख आत्रेयको भनाइ छ । सो प्रसारण लाइन निर्माण भएपछि नेपाल, चीन र भारतबीच विद्युत् आयात निर्यातका लागि त्रिदेशीय मार्गसमेत खुल्छ । सरकारले अगाडि सारेको १० हजार १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई साकार पार्न पनि सो प्रसारण लाइन महत्वपूर्ण मानिएको छ । हाल भारतसँग ११ वटा सम्पर्क बिन्दुमार्फत बिजुली आयात निर्यात भइरहे पनि चीनतर्फ भने कुनै पनि प्रसारण सम्पर्क सञ्जाल बन्न सकेको छैन । नेपालले प्रस्ताव गरेअनुसार वान बेल्ट वान रोड परियोजनामा सो प्रसारण लाइनसमेत समावेश छ ।

यतिबेला भारत मात्रै होइन, संसारभर नै कोइलाको बजारमा सङ्कट पैदा भएको छ । यस्तो अवस्थामा स्वच्छ र हरित ऊर्जा उत्पादन हुने नेपालका लागि महत्वपूर्ण अवसरको ढोका खुल्नेछ । आयोजना प्रमुख आत्रेय प्रसारण लाइन नेपालकै लागि महत्वपूर्ण भएको बताउछन् । ल्हासामा दुई वटा प्रसारण प्रणालीबाट बिजुली आयात भइरहेको छ । सिचुवानबाट आएको बिजुली दुई हजार किलोमिटर लामो प्रसारण लाइन प्रवाह भएको छ । यस्तै चाङ्घाईबाट आएको बिजुली एक हजार ४०० किलोमिटर लामो प्रसारण लाइनमार्फत प्राप्त भएको छ । नेपालतर्फबाट प्रसारण प्रणाली जोड्दा झण्डै ९०० किलोमिटर हाराहारी हुने भएकाले तिब्बतमा बिजुली प्रवाह गर्न सहज हुने देखिन्छ । चीनतर्फ जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन तथा अन्य कुनै पनि प्रकारको प्राविधिक समस्या नहुने भएकाले एकाध वर्षमा नै सयौँ किलोमिटर प्रसारण लाइन निर्माण हुन सक्छ ।

रेलमार्गका लागि अपरिहार्य

चीनबाट नेपालमा ल्याइने भनिएको रेलमार्ग निर्माणका लागि समेत प्रसारण लाइन उत्तिकै महत्वपूर्ण छ । नेपालमा चल्ने भनिएको रेल विद्युतीय हुने भएकाले रेलमार्गको काम सुरु हुनुभन्दा पहिल्यै प्रसारण प्रणाली निर्माण भइसक्नुपर्नेछ । जानकारहरूका अनुसार चीनबाट आउन भनिएको रेल विद्युतीय हो । रेल आउनुभन्दा दुई वर्ष पहिले नै प्रसारण लाइन बनाइसक्नुपर्छ । त्यसका लागि बिजुलीको असाध्यै राम्रो आपूर्ति हुनुपर्छ । ‘यो प्रसारण लाइन नबनी नेपालमा रेल आउनै सक्दैन’, अमेरिका, युरोप र चीनमा समेत रेल आउनुभन्दा पहिल्यै बिजुलीको प्रसारण प्रणाली निर्माण गरिएको हुन्छ ।

नेपालको ऊर्जा सुरक्षा, प्रसारण प्रणालीको विविधिकरणका अलावा रेलका लागि समेत यो प्रसारण लाइन आवश्यक रहेको आयोजना प्रमुख आत्रेयको भनाई छ । नेपालतर्फको अध्ययनमा लाङटाङ राष्ट्रिय निकुञ्जका तर्फबाट असाध्यै ठूलो सहयोग प्राप्त भएको आयोजनाले जनाएको छ । नेपालको विद्युत् आदानप्रदान तथा क्षेत्रीय बजारमा पहुँचका लागि महत्वपूर्ण मानिएका अन्तरदेशीय प्रसारण लाइनको निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा समेत सो प्रसारण लाइन निर्माणका बारेमा चर्चा भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चीनको स्टेट ग्रिडका कार्यकारी निर्देशक कोउ वीले २०७५ असार ६ गते बेइजिङमा नेपाल चीन पावर ग्रिड इन्टरकनेक्सनअन्तर्गत सो प्रसारण लाइनको अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । चीन सरकारले अगाडि सारेको बीआरआईमा सन् २०३० सम्म सातवटै महादेशमा प्रसारण लाइन विस्तार गर्ने नीति छ । सोहीअनुसार दुई देशबीच प्रसारण लाइन जोड्ने र त्यसबाट भारत तथा अन्य मध्य एशियाली मुलुकलाई समेत आबद्ध गर्न सकिन्छ । नेपालतर्फ नुवाकोटको रातमाटे वा प्राधिकरणको त्रिशुलीमा रहेको जग्गामा सवस्टेशन निर्माण हुनेछ ।

भारततर्फ ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण भई सञ्चालनमा आइसकेको छ । यस्तै दोस्रो न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । प्राधिकरणले रक्सौल–परवानीपुर, कुशाहा–कटैया, रामनगरलगायत विभिन्न ११ स्थानबाट बिजुली ल्याए पनि चीनतर्फ भने एउटा पनि प्रसारण प्रणाली निर्माण भएको छैन ।

अमेरिकी सहयोग सम्झौता एमसिसीले पनि नुवाकोटको रातमाटेमा नै सवस्टेशन निर्माण गर्ने तयारी थालेको छ । नेपालले प्रसारण लाइनमा सहयोग उपलब्ध गराइदिन चीन सरकारसँग यसअघि नै आग्रह गरिसकेको छ । चीनसँग विद्युत् आदानप्रदानका लागि रसुवागढी–केरुङ प्रसारण लाइनका अलावा तातोपानी, कोरला, किमाथाङ्कालगायत स्थानबाट पनि प्रसारण प्रणाली एक आपसमा जोड्ने चर्चा भइरहेको छ । 

केन्द्रीय कारागार निर्माण अन्तिम चरणमा

विदुर । नुवाकोटको विदुर नगरपालिका– ६ खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । 

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारी अनरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी अनुगमन गत हप्ता गरेको थियो । कारागार निर्माणकार्य अहिले तीव्र गतिमा अगाडि बढिरहेको छ । जिल्ला कारागार कार्यालय नुवाकोटका प्रमुख गंगालाल योगीले निर्माणाधीन कारागारको भौतिक पूर्वाधार निर्माणतर्फ ९० प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको जानकारी दिएका छन् । 

उनका अनुसार चैत मसान्तसम्ममा काम सक्नुपर्ने भए पनि एउटा युनिटको दुई ब्लकमा पाँच÷पाँच सय कैदी राख्ने गरी निर्माणकार्य भइरहेको छ । करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउन लागेको छ । सिसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा पोस्ट, भेटघाट कक्ष कानुनी परामर्श कक्ष आदि निर्माण भइरहेको छ । 

कारागार प्रमुख योगीका अनुसार पहिलो चरणमा काठमाडौंको सुन्धारामा रहेको जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ । गत हप्ता भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले ठेकेदार कम्पनीसँग छलफल गरेर कार्य प्रगति साप्ताहिक रूपले बुझाउने सहमति भएको छ । 

निर्माणकार्यका लागि आवश्यक सहयोग भवन विभाग, कारागार विभागका प्रतिनिधि र नुवाकोटका प्रमुख जिल्ला अधिकारीले सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । माघ मसान्तभित्रै नवनिर्मित कारागार सञ्चालन ल्याउने योजना भए पनि कोरोना संक्रमण महामारीका कारण दुई महिना ढिलो भएको छ । सहरी विकास विभाग, कारागार विभाग र सुरक्षा निकायबीच सुरक्षा व्यवस्था तथा संरचना निर्माणसँग सम्बन्धित केही विषयमा समन्वय हनु नसकेकाले थप सुधारका काम पनि जारी रहेको कारागार व्यवस्थापन विभागका प्रमुख जनकराज दाहालले जानकारी दिए । 

निर्माणाधीन खम्पाक्याम्प कारागारमा झन्डै सात हजार कैदीबन्दी राख्ने क्षमताको संरचना निर्माण भइरहेको छ । नवनिर्मित कारागार कालकोठरी जस्तो नभई सीप विकास केन्द्र, हस्तकला उत्पादन कारखाना र असल नागरिक बनेर पुनः समाजमा फर्किने वातावरणमैत्री ढङ्गले निर्माण गरिएको छ । 

   अस्पताल, पुस्तकालय, व्यायामशाला, योगशाला, ध्यान केन्द्र, सीप तालिम केन्द्र र हस्तकला बिक्री– वितरणलगायत विभिन्न कक्षसहितका सुविधा उक्त कारागारमा हुनेछ । उक्त कारागारमा अपाङ्ग तथा ज्येष्ठ नागरिकमैत्री, अपराधको प्रकृतिअनुसार छुट्टाछुट्टै भवन र प्रजनन अधिकारबाट वञ्चित दम्पती कैदीबन्दीको अधिकारलाई समेत सुनिश्चित गरी आवास कक्ष निर्माण गरिएको छ । 

‘जसको लागि बनेको हो उसलाई अविछिन्न सेवा दिनु’

शिवपुरी । पूर्व राष्ट्रपति डा. रामवरण यादवले शनिवार शिवपुरी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. यादवले नयाँ भवनबाट शासन नभएर सेवा दिन आग्रह गरे । जसका लागि भनेर भवन बनेको हो उसैका लागि सेवा दिनुपर्ने उनले बताए । शिवपुरीमा आएर शितलता महसुस गरेको बताउँदै डा. यादवले चुरे दोहन रोकिनुपर्नेमा जोड दिए । यहि क्रममा चुरेको नाश हुने हो भने तराई मरुभूमिमा परिणत हुने उनको भनाई थियो । 

सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले गाउँपालिकामा भएका योजना सम्पन्न गर्ने तर्फ ध्यान दिन आग्रह गरे । उनले देशको अर्थतन्त्र राम्रो बनाउन कृषि,  जलविद्युत उत्पादन वृद्धि गर्नुपर्ने बताए । 

पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शिवपुरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ रहेको बताए । नेतृत्वमा बस्नेले विचार नमिल्नेहरूको पनि कुरा सुनेर सबैलाई मिलाउनुपर्ने केसीले बताए । 

पूर्व मन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको लक्ष्य सुशासन हो भन्दै सबै जनतालाई पक्षपात नगरी बराबरी सेवा दिन आग्रह गरे । २०४६ सालपछि नेपाली कांग्रेसको नेतृत्वमा धेरै विकास भएको उनले बताए । स्थानीय समस्या स्थानीय स्तरमै समाधान गर्न स्थानीय सरकार गठन भएको बताउँदै डा. महतले शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । 

बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निष्पक्ष ढंगले सेवा प्रवाह गर्न सबै कर्मचारीहरूलाई आग्रह गरिन् । अब चाँडै स्थानीय तहको निर्वाचन आएकाले जनप्रतिनिधि परिवर्तन भए पनि कर्मचारी परिवर्तन नहुने भन्दै उनले सेवा प्रवाहमा कमीकमजोरी नगर्न सचेत गराईन् । 

संविधानसभा सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति जगदिश्वरनरसिंह केसीले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुनाले नेपाली जनताले दुःख पाएको बताए । उनले नेताहरू सम्वृद्ध बनेको तर जनताले सुखको अनुभूति गर्न नपाएको जिकिर गरे । 

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले आफ्नो कार्यकालमा भएका प्रगतीबारे प्रकाश पारे । उनले प्रशासकीय भवनसँगै वडा भवन निर्माण, १० शैयाको आधारभूत अस्पताल निर्माण, कृषि रिङरोड निर्माण, शिवपुरी शित भण्डार निर्माण, कृषि उपज केन्द्र निर्माण लगायत अन्य प्रगतिबारे ३९ बुँदामा प्रष्ट्याए । उनले शिवपुरीमा निर्माण भएका सबै भवनको जग्गा निःशुल्क प्राप्त भएको बताए ।

प्रशासकीय भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश मन्त्री बद्री मैनाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, शिवपुरी गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसी, नेपाली कांग्रेस नुवाकोटका सभापती रमेश महत, नेकपा एकिकृत समाजवादीका नुवाकोट जिल्ला सचिव पदम उप्रेती लगायत अन्यले बोल्दै नयाँ प्रशासकीय भवन उद्घाटन भएकोमा शुभकामना दिए । 

प्रशासकीय भवन, शिवपुरी आधारभूत अस्पताल भवन, कृषि उपज केन्द्र, कोल्ड स्टोर लगायत अन्य स्थानमा जग्गादान गर्ने, शिवपुरी गाउँपालिकामा जन्मिएका पूर्व विशिष्ट राष्ट्रसेवकहरू, पूर्व प्रमुख प्रशासकीय अधिकृत, भवन निर्माण गर्ने निर्माण व्यवसायी र इन्जिनियरलाई सम्मान गरिएको थियो । 

पुर्व जिविस सभापति पाण्डेको शालिक अनावरण

खरानीटार । जिल्ला विकास समिति (जिविस) नुवाकोटका पुर्व सभापति स्वर्गिय गोबिन्दप्रसाद पाण्डेको स्मृतिमा निर्माण भएको भवन तथा उनको शालिक नेपाली काँग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले अनाबरण शुक्रवार खरानीटारमा अनावरण गरेका छन् । 

तादी गाँउपालिका वडा नम्बर ३ खरानीटारमा निर्माण भएको भवन र शालिकको अनाबरण भएको हो । २०१४ सालबाट नेपाली काँग्रेसमा क्रियाशिल रहेका पाण्डे २०१८ देखि दश बर्षसम्म खरानिटार गाँउ पञ्चायतको प्रधानपञ्च थिए । उनकै सक्रियतामा २०२४ सालमा अमरज्योती निमाविको स्थापना भएकोले सोही विद्यालय परिषरमा पाण्डेको स्मृति भवन र शालिक स्थापना भएको छ । 

पाण्डे २०२८ सालदेखि २०३३ सालसम्म नुवाकोट जिल्ला पञ्चायतको उपसभापति, २०३९ सालमा जिल्ला पञ्चायत सभापति निर्वाचित भएका थिए । उनी २०४९ सालको स्थानिय निकायको निर्बाचनमा खरानीटारमा गाबिस अध्यक्षमा समेत निर्बाचित भएका थिए । कृषि बिकास बैंकको सञ्चालक समिति सदस्यमा ५ बर्षसम्म रहेर उनले काम गरेका थिए । स्वर्गिया पाण्डे तत्कालिन राजा बिरेन्द्रबाट सुप्रबल गोरखा दक्षिणबाहु चौथोद्धारा सम्मानित भएका थिए । उनको २०६३ साल बैशाख २८ गते देहबसान भएको थियो ।

गोबिन्दप्रसाद पाण्डे स्मृति भवन तथा शालिकको अनाबरण कार्यक्रममा उनका पुत्र एवं तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बुवाले सुरुवात गरेको स्कुलमा स्मृतिमा भवन निर्माण तथा शालिक निर्माण गरेको बताए । आफ्नै पवरिवारबाट संकलन भएको रकमले उनको स्मृतिलाई ताजा बनाईराख्न भवन निर्माण र शालिक राखिएको उनको भनाई रहेको छ । 

शालिक अनाबरण गर्दै डा. महतले स्वर्गिय पाण्डेलाई स्मरण गर्दै कुशल राजनितिज्ञ र निर्भिक ब्यक्तिको रुपमा रहेको बताए । समाज परिबर्तन, सुुधार र ग्रामिण भेगका नागरिकहरूको जिबनस्तर उकास्नको निमित्त उनले जीबन समर्पण गरेको बताउदै तत्कालिन समयमा नुवाकोटको अबिभाबको रुपमा पाण्डे रहेको महतले बताएका छन् । पाण्डेको सामाजिक योगदान नरहेको भए नुवाकोटको पुर्वी क्षेत्रको सर्वाङ्गिण क्षेत्र नै पछाडी पर्ने महतको तर्क रहेको छ । 

सोही कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य अर्जुननरसिङ केसीले तत्कालिन समयमासँगै रहेर काम गरेको समरण गर्दै गोबिन्दप्रसाद पाण्डेको वाक कला र सामाजिक कार्यबाट आफु प्रभाबित भएको बताए । नागरिकहरूको सेवामा सक्रिय रहदै लाभको पदमा बस्न नचाहने तर समाज परिबर्तनको संबाहको रुपमा आफुलाई उभ्याउन सफल ब्यक्तिको रुपमा स्वर्गिय पाण्डे रहेको केसीले बताएका छन् । 

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका निबर्तमान सभापति जगदिश्वरनरसिङ केसीले आर्दशवान स्वर्गिया पाण्डेका कारण  नुवाकोटमा राजनैतिक र आर्थिक गतिविधि समेत अगाढी बढेको बताए । पाण्डेकै कारणले नागरिकहरूमा जागरण आएको र राजनीति चेत खुलेको केसीले बताए । नयाँ पुस्तालाई पाण्डेको योगदना र आर्दश पक्षका बारेमा जानकारी दिनुपर्ने उनको भनाई रहेको छ । 

समितिले सोध्यो : आयोजना अघि बढाउन समस्या के ?

रसुवा । व्यापार पूर्वाधार निर्माण कम्पनी इन्टर मोडल यातायात विकास समितिले रसुवा–टिमुरे सुख्खा बन्दरगाह निर्माणको कामलाई गति दिन निर्देशन दिएको छ । स्थलगत अनुगमन पछि निर्माण आयोजनालाई गति दिन निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताएका छन् ।

चीनको सहयोगमा २०७६ सालदेखि निर्माण थालिएको व्यापारिक आयोजना लक्ष्यअनुसार अघि नबढेपछि चिनियाँ पक्षलाई यस्तो निर्देशन दिइएको गजुरेलले बताए । आयोजना सकिने बेलामा जम्मा प्रगति २८ प्रतिशत मात्रै देखिएपछि यस्तो निर्देशन दिइएको उनले बताए । 

‘आयोजना अघि बढाउन समस्या के हो ? सरकारले गर्न‘ पर्ने सहजीकरण के हो ? प्रष्ट्याउन भनेका छौं’ गजुरेलले भने । यस अघि विभिन्न समस्याले अड्किएको निर्माण कार्यलाई जनशक्ति बढाएर गति दिन आग्रह गरिएको पनि समितिले जनाएको छ । हाल ५५ जना कामदारबाट दैनिक काम भइरहेको भए पनि आयोजना निर्माणमा अपेक्षअनुसार प्रतिफल नपाइएको गजुरेलले बताए । छलफलमा चिनियाँ अधिकारीहरू निर्माणलाई तिब्रता दिने विषयमा गम्भीर देखिएको पनि उनको भनाई छ ।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम कोरोना महामारीका कारण प्रभावित बनेको चिनियाँहरूको दाबी थियो । ३० महिनामा निर्माण सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ गते परियोजनाको शिलान्यास गरिएको थियो । यसअघि खोलाको धार परिवर्तनका कारण दुई पटक बाढीले बन्दरगाहमा क्षति पु¥याएको थियो । 

पाँच तले बहुउपयोगी स्टोरेज बिल्डिङ, एउटा ठूलो र एउटा सानो गोदाम रहने बन्दरगाहमा १८० ठूला ट्रक र दुई वटा जाँच पास केन्द्र रहनेछ । आयोजनामा चीन सरकारले डेढ अर्ब लगानी छ । नेपाल–चीन सीमा क्षेत्रबाट १ किलोमिटर नेपालतर्फ आयोजना निर्माण भइरहेको छ ।

पैसा नहुनेको चर्चा हुँदैन : उप सभापति थापा

विदुर । नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापाले पैसा नहुनेहरूको आफ्नो पार्टीमा चर्चा नहुने भन्दै वित्रिष्णा ब्यक्त गरेका छन् । पैसा भएका नेताहरूको मात्रै चुनावमा उम्मेदवार बन्नेमा नाम आउने र चर्चा हुने भन्दै राजनीति आर्थिक हैसियतसंग तौलिने परम्परा संस्थागत भएको बताएका छन् । 

बुधबार विदुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारिता कार्यन्वयन र सरोकारवालाहरूको भूमिकासम्बन्धी राजनीतिक दलहरूसँगको अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् । मतदाताहरूले पनि पैसा लिएर मात्रै भोट हाल्ने गरेकोले आफु जस्ता पैसा नभएका नेताको कुनै सम्भावना नभएको उनले बताए । ‘मसंग पैसा पनि छैन, उम्मेदवार हुनेको चर्चामा मेरो नाम पनि छैन’ थापाले भने । 

नुवाकोटका राजनीतिमा धेरै नेताहरू गरिव भएकै कारण पछाडी परेको र निष्ठाले हार खाएको उनको भनाई रहेको छ । निर्वाएचन पछिल्लो समय खर्चिलो र भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै एजेण्डा लिएर मतदातामा गएर मात्रै पनि जित्ने दिन कहिला आउला भनेर काँग्रेस उपसभापति थापाले प्रतिप्रश्न गरे । 

नगरपालिकाकै भेटेरिनरी प्रयोगशाला

विदुर । विदुर नगरपालिकाले पशु चिकित्सकसहित भेटेरिनरी प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

गएको सोमबार विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पशु सेवा शाखा र भेटेरिनरी प्रयोगशालाको उद्घाटन गरेका छन् । सो अवसरमा उनले कृषकको टड्कारो समस्या तत्कालनै समाधान गर्नु आफ्नो जिम्मेवारी भएकोले प्रयोगशाला सञ्चालनमा ल्याएको बताएका छन् । ‘कृषि र पशु आधारित कृषकहरू धेरै भएकोले कृषकका समस्यालाई प्राथमिकतामा राखेर यो कार्यक्रम सुरुवात गर्यौ’ प्रमुख पण्डितले भने । उनका अनुसार संघीय मामिला मन्त्रालय अन्तर्गत कुनै पनि भेटेरिनरी डाक्टरको दरबन्दी प्राप्त नभएपनि विदुर नगरपालिकाको नगरसभाबाट नै डाक्टरको दरबन्दी सिर्जना गरिएको छ । 

जिल्लाको भेटेनरी पशु सेवाले समयमा सेवा दिन नसकिरहेको अवस्थामा नगरले आफ्नै स्रोत र साधनबाट नगरका पशु पन्छीपालन कृषकको व्यवसाय सुरक्षित राख्न र प्रोत्साहन गर्न भेटेनरी सेवा सञ्चालनमा ल्याएको उनले बताएका छन् ।

विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहालले संघीय र प्रदेश सरकारले पकेट क्षेत्रको रुपमा पशुपालन व्यवसायलाई विभिन्न कार्यक्रममार्फत् बढाएतापनि पशु र पन्छीहरूमा देखिने विभिन्न रोगहरूलाई नगरमै परीक्षण गर्ने वातावरण सिर्जना गर्न सके कृषकहरूलाई सहज हुने धारणा राखेका छन् । 

कृषकको समस्या समाधान गरेर कृषि व्यवसाय बनाउन सके कृषि क्षेत्रमा रोजगारीको अवसर धेरैले पाउने उद्देश्यसाथ यसको सुरुवात गरिएको उनको भनाई रहेको छ । 

भेटेरिनरी प्रयोगशालाबाट गोबर जाँच तथा लार्भा परीक्षण, थुनेलो परीक्षण लगायतका सेवा दिइने पशु चिकित्सक सनम महर्जनले बताएका छन् । साथै पशु पन्छीको बहिरङ्ग सेवा, शल्यक्रिया तथा शव परीक्षण, पशु बन्ध्याकरण, कृत्रिम गर्वधान र विशेषज्ञ सेवा प्रदान गरिने उनले बताए । उक्त शाखाबाट निःशुल्क रुपमा औषधि समेत वितरण हुने छ । 

पशुपन्छीमा लाग्ने बर्डफ्लु लगायत अन्य रोगहरूको रोग परीक्षण पनि गरिनेछ विदुर नगरपालिकाले जनाएको छ । शाखा सञ्चालनमा आएदेखि पशुपन्छीको गम्भीर प्रकृतिको रोग परीक्षणको लागि काठमाडौं लगिनुपर्ने बाध्यता हटेको बताइएको छ । 

नुवाकोटले जित्यो १८ पदक

विदुर । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दोमा नुवाकोटले चार स्वर्णपदकसहित १८ पदक जितेको छ । नुवाकोट दोश्रो भएको छ । 

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडामा तेक्वान्दो खेलका विजयीलाई गएको सोमबार पुरस्कार वितरण भयो । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ नुवाकोटका सुस्मिता राई, प्रिजना तामाङ, प्रविण वाइवा, धनबहादुर तामाङले स्वर्णपदक प्राप्त गरेका छन् । 

नुवाकोटले तेक्वान्दोतर्फ १० रजत र चार कास्यपदक प्राप्त गरेको छ । ८ स्वर्ण, ६ रजत, २ काश्य पदकसहित चितवन टिम प्रथम भएको हो । 

आगलागी पिडितलाई राहत

विदुर । नुवाकोटको ककनी गाउँपालिकामा आगलागीमा परी घर क्षति भएका तीन परिवारलाई घरमै पुगेर शुक्रबार राहत वितरण भएको छ । ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको थियो । 

शनिबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल विपद व्यवस्थापन अन्तर्गत राहत स्वरूप प्रति पिडित परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ प्रदान गरेका छन् । साथै उनीहरूलाई ककनी गाउँपालिकाबाट १४ बोरा चामल, १ बोरा दाल, तेल तथा अन्य खाद्यान्न सामाग्रीहरू वितरण भएको छ । यस्तै, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटले प्रति परिवार १/१ थान टेन्ट, कम्मल र भाडाँकुडाँ वितरण गरेको छ । 

गत साता घरको बिजुली सर्ट भई आगलागी भएको थियो । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको छ । अन्नपात, भाडा, लत्ताकपडा, गरगहना गरी ५३ लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सवा अर्ब रुपैयाँको परियोजना निरन्तरताको माग

विदुर । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र यूएनडिपीको साझेदारीमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को कार्यान्वयन प्रभावकारिताको समीक्षा भएको छ । परियोजना सञ्चालित बागमती प्रदेशका ६ वटा जिल्लाहरूमध्ये हालैमात्र छनोटमा परेका दुई जिल्ला नुवाकोट र चितवनको अवलोकन भ्रमणसहित परियोजनाको समीक्षा भएको हो । 

साथै सोही अवसरमा अन्य चार जिल्लामा सञ्चालित परियोजनाको समेत समीक्षा भएको छ । सो अवसरमा परियोजना कार्यान्वयनमा रहेका ६ वटा जिल्ला सहकारी संघहरूले परियोजनाको थप निरन्तरताको माग गरेका छन् । जिल्ला सहकारी संघ नुवाकोट, जिल्ला संघ धादिङ, चितवन, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोकले सिएमडिपी परियोजनाको थप  निरन्तरताको माग गरेका हुन् ।  पाइलट प्रोजेक्टको रुपमा पहिलोपटक सरकारले दातृ निकाय यूएनडिपीसँगको सहकार्यमा स्थानीय कृषि उत्पादनलाई सिधै बजारसँग जोड्ने गरि परियोजना अघि बढाए पनि सो परियोजनाको उद्देश्य पूरा भइनसकेको र लक्ष्यमा पुग्न पनि यसको निरन्तरता खाँचो रहेको उनीहरूले औंल्याएका छन् । परियोजनालाई बीचमै त्यसै छाड्दा राम्रो सन्देश समेत नजाने हुँदा परियोजनाको निरन्तरता अपरिहार्य रहेको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले बताए । 

तर, यता परियोजना नपाउने बागमती प्रदेश अन्तर्गतकै अन्य जिल्ला संघहरूले भने सो अवसर आफुहरूले पनि पाउनुपर्ने माग गरेका छन् । यद्यपि, सिएमडिपी कार्यक्रम यहीँ आउँदो ३१ जनवरी, २०२३ मा सकिँदैछ । नेपाल सरकारको ५१ करोड ५० लाख रुपैयाँ र यूएनडिपीको २२ करोड रुपैयाँसहित थप स्रोत व्यवस्थापन गर्नेगरि कुल एक अर्ब १४ करोड रुपैयाँको पूर्ण प्याकेजमा गत फेब्रुअरी, २०१८ देखि सञ्चालित यस परियोजना ३१ जनवरी, २०२३ मा सकिदैछ । तर परियोजनाको पाँच वर्षे समयावधि सकिनै लाग्दा लक्ष्य अनुरुपको उपलब्धि खासै हात पार्न नसकिएको सरोकारवाला, परियोजनाका हिस्सेदारहरूनै बताइरहेका छन् । यसका लागि पनि परियोजनाको थप निरन्तरताको खाँचो रहेको न्यौपानेको भनाइ छ ।

कृषि उत्पादन फलफूल तथा तरकारीमा कायम बिचौलिया प्रणालीको अन्त्य गर्दै सिधै बजारसम्म कृषक र कृषि उपजको पहुँच स्थापित गर्ने उद्धेश्यले सिएमडिपी कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि परियोजनाले छनोटमा परेका सहकारी संघ संस्थालाई कृषि बीउबिजन, मल, कृषि औजार, ढुवानीका साधनका साथै यस्ता कृषि उपजहरूको व्यवस्थापनका लागि संकल केन्द्र तथा चिस्यान केन्द्र निर्माणमा  परियोजनाले अनुदान उपलब्ध गराइरहेको छ । 

हाल परियोजनाले परिक्षणका लागि छनोट गरेको बागमती प्रदेशका ६ वटा जिल्लाहरू नुवाकोट, धादिङ, मकवानपुर, चितवन, ललितपुर र काभ्रेपलाञ्चोकमा गरी ७२ वटा सहकारी संस्थाहरूमार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । यसबाट प्रत्यक्ष रुपमा १४ हजार ४०० कृषक घरधुरी  लाभान्वित भएको परियोजनाले दाबी गरेको छ । समीक्षा कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरूमध्ये काठमाडौं, रसुवा, सिन्धुपाल्चोक र सिन्धुली बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी  संघका अध्यक्ष प्रतिनिधि उपस्थित रहेका थिए भने परियोजना साझेदार सहकारी महासंघ, सिएमडिपी प्रतिनिधि र नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को  समेत सहभागिता थियो ।

लेखक संघको अध्यक्षमा गजुरेल

विदुर । प्रगतिशील लेखक संघ नुवाकोटको चौथो जिल्ला अधिबेशन शुक्रवार विदुरमा सम्पन्न भएको छ । 

अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा रामहरि गजुरेल, उपाध्यक्षमा रुपा अर्याल, सचिवमा सुमित्रा सुमी, सहसचिवमा बिविना लामिछाने र कोषाध्यक्षमा शम्भुप्रसाद गजुरेल रहेका छन् । कार्यसमिति सदस्यहरूमा प्रदिपकुमार भट्ट, काजी खान, रामेश्वर गजुरेल, कोपिला अर्याल, राजकुमारी खड्का, शुसिला नेपाल, दुर्गा पनेरु र सुदन लामिछाने चयन भएका छन् ।

निर्वाचन आचारसंहिताको विषयमा अन्तरक्रिया

कार्यक्रममा मन्तब्य राख्दै माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने । 
विदुर । नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, प्रभावकारी, विश्वश्नीय र मर्यादित बनाउन राजनीतिक दल र मतदाताहरूलाई आग्रह गर्दै मर्यादित र निष्पक्ष हुने बताएका छन् । 

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सन्र्दभमा निर्वाचन आयोग र नेपाल कानुन समाजले विदुरमा आयोजना गरेको निर्वाचन आचारसंहिताको प्रभावकारिता कार्यन्वयन र सरोकारवालाको भूमिका सम्बन्धी अन्तक्रियामा जिल्ला न्यायाधीश लुइँटेलले सो भनाई राखेका हुन् । भयरहित वातावरणमा मतदान गर्न सकोस् भनी निर्वाचन आचारसंहिता पालना गर्नु सबै उम्मेदवार, राजनीतिक दल र मतदाताहरूको रहेको उनले बताएका छन् । एकअर्कालाई आरोपप्रत्यारोप नगरी सरोकारवालाहरूले सहि ढंगले भूमिका निर्वाह गर्नु बाध्यता, कर्तव्य र दायित्व रहेको उनको टिप्पणी रहेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले आचारसंहिताले निर्धारण गरेको खर्च सीमाभन्दा पनि निर्वाचनमा खर्चरहित वातावरण सिर्जना गर्नुपर्ने बताए । निर्वाचनमा मतदाताको मतलाई बदरबाट हुन जोगाउनको लागि मतदाता शिक्षामार्फत् सहि तरिकाले मतदान गर्न सिकाउनुपर्ने उनको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निर्वाचनमा सरकारी, सार्वजनिक अधिकार, शक्ति, स्रोत र साधनको दुरुपयोग नहोस् भनि आचारसंहिता लागू गरेको बताएका छन् । निर्वाचनमा जनताले सचेत रुपमा विवेक प्रयोग गर्ने वातावरणमा रोकावट गर्न नहुने लोकतन्त्रको सुन्दर पक्ष रहेको बताए ।

कार्यक्रममा निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरूमा सरोकारवालाहरूको भूमिका र निर्वाचन आचार संहिताको कार्यान्वयन तथा अनुगमनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकमी तथा सुरक्षा सम्बद्ध कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा दलको भातृ संगठनले मान्नुपर्ने निर्वाचन आचारसंहिता बारे प्रष्ट पारेका छन् । यस्तै, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता र पर्यवेक्षण संस्था तथा पर्यवेक्षकहरूको आचारसंहिता विषयक जानकारी गराएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले स्थानीय सरकार निर्वाचनको खर्च र प्रचारप्रसारबारे कार्यपत्र प्रस्तुत गरे । 

पिपल्टारमा फुटसल प्रतियोगिता हुने

विदुर । नुवाकोटको पिपल्टारमा क्लव स्तरीय खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । पिपल्टार फुटवल क्लवको आयोजनामा आउदो चैत १९ गतेबाट प्रतियोगिता सुरु हुने छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सो प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको उद्धव पनेरुले जानकारी दिएका छन् । 

पिपल्टार फुटसलको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ । खुल्ला रुपमा टिम सहभागी हुन पाउने प्रतियोगिताको विजेताले नगद ६० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । 

वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश


विदुर । नेकपा एमालेबाट निर्वाचित विदुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राजु सडौला नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मंगलवार बट्टारमा नेकपा एकिकृत समाजवादीद्धारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा सडौला समाजवादी प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । सडौलासहित एमालेका डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता समाजवादी प्रवेश गरेका छन् । 

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा जनताको लहर र मोह बढ्दै गैरहेको बताएका छन् । एकीकृत समाजवादी पार्टी नुवाकोटले आयोजना गरेको जिल्ला भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी पार्टी प्रति देशभर जनताले देखाएको चासो, सहभागिता र मन्त्रीहरूले देश र जनताको लागी गरेको कार्य देखेर नेकपा एमालेका नेताहरूलाई ‘हर्ट याट्राक’ हुने बताए । 

साथै उनले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच आगामी निर्वाचनमा तालमेल हुने बताएका छन् । आसन्न निर्वाचनमा जनताले प्रतिगामी चरित्रलाई परास्त गरी परिवर्तनका वाहक शक्तिलाई विजय गराउन आतुर रहेको बताए । 

आफूहरू देश र जनतालाई केन्द्रविन्दुमा राखेर राजनीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेको बताउँदै उनले भने– ‘एमाले नेतृत्वले विगतमा गरेको प्रतिनिधिसभाको विघटनलगायत असंवैधानिक कार्यले उनीहरू परिवर्तनको वाहक होइनन, प्रतिगामी चरित्रका नमूना हुन् ।’ एमाले नेतृत्वको गल्ती स्वीकार गर्न नसक्ने प्रवृत्तिले सो दलका नेताहरूको अधोगती सुरु भएको उनको भनाई छ । 

नुवाकोटमा सेयर बजार सम्बन्धी शिक्षा

बट्टार । अनलाइन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ४९) को व्यवसायिक सामाजिक उत्तदायित्व कार्यक्रम अन्तर्गत प्रस्तावित नुवाकोट शाखाको सक्रियतामा सुरक्षित लागानीका उपाय विषयमा लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रवार बट्टारमा भएको कार्यक्रमका प्रमुख अतिथि नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले यस किसिमको कार्यक्रमले लागानीकर्ताले हल्लाको भरमा नभई बुझेर लगानी गरी लागानी सुरक्षित गर्न टेवा पुर्याउने बताए । उनले पछिल्लो समय सुरक्षित लगानीका साथै युवा पुस्ताको आकर्षणमा रहेको सेयर बजारलाई थप सरलिकृत गर्नका लागि निजी क्षेत्रको समेत महत्वपूर्ण भुमिका रहने र संघले पनि काम गर्ने बताए । 

सो कार्यक्रममा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले विभिन्न क्षेत्र मा क्रियाशील व्यक्तिहरूलाई सेयर बजारमा आबद्ध गराउन यस्ताखाले कार्यक्रमको आवश्यकता रहेको बताएका छन् । अनलाइन सेक्युरिटिज प्रालिले नुवाकोटका नागरिकहरलाई पुँजी बजारमा प्रवेश गराउनका लागि महत्वपूर्ण भुमिका खेल्नु पर्ने र सेयर शिक्षा अभियानलाई वडा तहसम्म लैजानु आवश्यक रहेको खनालले बताएका छन् । 

त्यसैगरी जिल्ला सहकारी संघ नुवाकोटका सचिब प्रकाशकुमार अधिकारीले बुझेर लगानी गर्न सबैमा अनुरोध गरेका छन् । आफुपनि पुँजी बजारमा कारोवार गर्ने उल्लेख गर्दै उनले नजानेर भएपनि धेरै नागरिकहरू यसमा सम्लग्न रहेको र अब उनीहरूलाई सुरक्षित लगानी गर्ने र मनग्य कमाउने सिप यस्ता कम्पनीहरूले दिनु पर्ने बताएका छन् । 

कार्यक्रममा प्रालिका कारोबार अधिकृत बिजयप्रसाद लामिछानेले कसरी लगानी सुरक्षित गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । लगानीकर्ताहरूले उठाएका सवाल र जिज्ञासाको जवाफ दिँदै प्रालिका अध्यक्ष दिनेश शर्मा बिडारीले बुझेर मात्र लागानी गर्न र हल्लाको पछि नलागी कारोवार गर्न आग्रह गरेका छन् । 

पौडेल बागमती अध्यक्ष चयन

विदुर । महिला मानव अधिकारको लागि महिला, एकल महिला समुहको बागमती प्रदेश अध्यक्षमा नुवाकोटका अधिकारकर्मी देवकी पौडेल चयन भएका छन् ।

बिहीवार काठमाडौंमा भएको दोश्रो प्रदेश अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा चितवनका रुकु अधिकारी, सचिवमा सिन्धुपाल्चोकका सुपामाया नेपाल र कोषाध्यक्षमा काभ्रेका सरिता शाही चयन भएका छन् । 

नव निर्वाचित प्रदेश अध्यक्ष पौडेल यस अघि सो संस्थाका प्रदेश उपाध्यक्ष थिए । उनको कार्यकाल दुई वर्षको छ । 

मानव अधिकारको लागि महिला, एकल महिला समूह २०५२ सालमा स्थापित भई एकल महिलाका हक अधिकारको लागि कार्य गर्ने गैर सरकारी सामाजिक संस्था हो । सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै एकल महिलाहरूलाई स–सम्मान पहिचान तथा परिर्वतनका बाहकको रुपमा तयार गर्न संस्था स्थापनाकाल देखी नै अग्रसर रहदै आएको छ । 

प्रदेश अध्यक्ष चयन भएपछि देवकी पौडेलले सामाजिक सांस्कृतिक तथा सशक्तिकरण र अभियानमा आफ्नो समय र कार्ययोजना केन्द्रित हुने बताएका छन् । दिगो जिविकोपार्जन मार्फत आर्थिक स्तरमा सुधार, मानव अधिकारको लागि शान्ति र न्याय, स्थानिय सुशासनमा एकल महिलाको सहभागिता, क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरमा एकल महिलाको सवालमा मूलप्रवाहीकरण लगायतका उद्देश्य यो समुहको रहेको छ । 

नुवाकोटमा निर्वाचन पर्यवेक्षण समिति

विदुर । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) नुवाकोटमा गठन भएको छ । आसन्न स्थानीय तह निर्वाचनको स्वतन्त्र पर्यवेक्षणका लागि गठन भएको हो । 

समितिको संयोजकमा मकुन्द नेपाल, सह–संयोजकमा शर्मिला थापा मगर, सचिवमा कपिलदेव खनाल र कोषाध्यक्षमा नवदीप श्रेष्ठ चयन भएका छन् । समितिका सदस्यहरूमा देवकी पौडेल, गरिमा पाण्डे र गोकर्ण नेपाल छन् । 

कांग्रेस बागमतीमा नुवाकोटका दुई

विदुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरूलाई मनोनयन गरेका हुन् ।

मनोनित हुनेहरूमा नुवाकोटका अर्जुनप्रसाद न्यौपाने र कल्पना नेपाली छन् । नेपाली प्रदेशको स्वास्थ्य राज्य मन्त्री छन् भने न्यौपने भुमि अधिकार आयोग नुवाकोटका संयोजक छन् । 

उनीहरू सहित काँग्रेस बागमतीमा नुवाकोटबाट ७ जनाको प्रतिनिधित्व भएको छ । यस अघि निर्वाचनबाट नुवाकोटका प्रमोद रिमाल, बद्री मुडवरी, मणिराम केसी, बिन्दा थापा मगर, र धनकुमारी थापा ‘सरु’ प्रदेश समितिमा चुनिसकेका थिए । 

सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ, धादिङबका तीलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवती कुमारी खड्का काँग्रेसको प्रदेश कार्य समिति सदस्यमा छन् । ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन, दोलखाका प्रभुराम श्रेष्ठ छन् । 

होटल व्यवसायी पलायन हुन थाले

विदुर । रसुवाको पर्यटकीय क्षेत्रहरूमा होटल सञ्चालन गर्ने व्यवसायीहरू पछिल्लो समय पलायन हुन थालेका छन् ।

विशेष गरि भाडामा होटेल लिएर व्यवसाय गरिरहेका व्यवसायीहरू आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएसँगै व्यवसायबाट पलायन भएका हुन् । रसुवा होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलका अनुसार भूकम्प तथा कोरोना महामारीका कारण होटलको भाडा तिर्न नसकेर जिल्लामा सञ्चालित १५ प्रतिशत होटल व्यवसायी पलायन भएका छन् ।

रसुवाका पर्यटकीय क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्जहरूमा करिब तीन सय होटेल संञ्चालनमा रहेकोमा अहिले करिब दुई सय ५० वटा होटेल मात्र सञ्चालनमा रहेका छन ।

होटल व्यवसायीले २० हजारदेखि एक लाखसम्म मासिक भाडा तिरेर होटल व्यवसाय सञ्चालन गरिरहेका थिए । जिल्लामा सञ्चालित होटलहरूमा २० जनादेखि एक सय ५० जना पर्यटक अट्ने क्षमताका होटलहरू रहेको रसुवा होटेल तथा पर्यटन व्यवसायी संघले जनायो ।

भूकम्प तथा कोरोनाका कारण व्यवसाय धराशायी भएसँगै सदरमुकाम धुन्चे, स्याफ्रु, क्यान्जिङ, थुमन, गतलाङ, टिमुरे, तातोपानीका होटल व्यवसायी अन्य व्यवसायतर्फ लागेका छन् ।

सुख्खा बन्दरगाह निर्माण तीव्र

रसुवा । कोरोना भाइरसको संक्रमणमा कमी आएसंगै रसुवाको टिमुरेमा निमार्णधिन सुख्खा बन्दरगाह निर्माणको काम तीव्र रुपमा भइरहेको छ । 

बन्दरगाह निमार्णको काम चीनको तिब्बतस्थित तिबेत फूली कन्सट्रक्शन गु्रप लिमिटेडले गरेको हो । ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजनाको हालसम्म करिब २० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

चिनियाँ कामदार १५ जना र नेपाली कामदार ३५ जनाले काम गरि रहेको तिबेत फूली कन्सट्रक्शनले जनाएको छ । दश जना चिनियाँ कामदार अझै नेपाल आउन नसक्दा कामले थप गति लिन नसकेको हो । वर्षामा काम गर्न असहज हुने स्थानमा अहिले काम गरि रहेको कन्सट्रक्शनले जनाएको छ ।

सन् २०१९ को नोभेम्बरबाट सुरु भएको काम कोरोना महामारीले गर्दा समयमै सम्पन्न गर्न नसकिने निर्माण कम्पनीको भनाइ छ । चीन सरकारको सम्पूर्ण सहयोगमा निर्माण हुने बन्दरगाहकोे लागत एक करोड ७७ लाख १४ हजार अमेरीकी डलर रहेको उक्त निर्माण कम्पनीले जनाएको छ ।

२०७८ साल चैत १४ गतेको सम्पादकीय

शुक्रपथ प्रवृत्तिको बहश जरुरी

काठमाडौंमा कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले अहिले नुवाकोट सहित ८ जिल्लामा सेवा केन्द्र स्थापना गरेको छ । रसुवा लगायतका आथिृक अतिविधि कम देखिएको जिल्लाहरूमा यसको सेवा केन्द्र छैन । प्रदेश स्तरबाट अनुमती लिएर नुवाकोट वित्रिएको उक्त सहकारीले सिधै नियमविपरित सञ्चालनमा रहेको पाइएको छ । वडा नं. ४ मा स्थापना हुनुपर्ने सहकारी वडा नं. २ मा भेटिएको छ । वडा नं. ४ मा स्थापना हुँदा कुनाकाप्चातिर बस्नु पर्ने र वडा नं. २ मा बस्दा नुवाकोटको मुख्य ब्यापारिक केन्द्र बट्टारको मुख्य चोकमा कमर्सियल बैंकहरूसंग प्रतिस्पर्धामा सजिलो हुनेगरी बसेको छ । न त छोडेको वडा कार्यालयलाई जानकारी छ, न त बसेको वडा कार्यालयलाई जानकारी छ, यत्तिसम्म कि स्थानीय सरकार विदुर नगरपालिकालाई समेत शुक्रपथ सहकारीले विदुर नगरपालिकामा बसेर आर्थिक कारोवार थालेको, कार्यालय स्थापना भएको जानकारी छैन । साढे छ महिनादेखि सदस्य बनाउदै बचत संकलन गर्दै आएको शुक्रपथ सहकारीले स्थानीय तहमा गर्नु पर्ने कुनै प्रक्रिया पुरा गरेको छैन । ‘काठमाडौंबाट आएको विकास बैंक सरहको हैसियत भएको सहकारी पो हौं त’ भन्ने रवाफ सहकारीमा देखिएको गुनासो उसैको सदस्यहरूबाट उठ्न थालेको छ । बचतकर्ताहरूले पहिला स्थानीय सरकारमा पनि दर्ता हुन आग्रह गर्न थालेको भएपनि, पिर नगर्न भन्दै टार्ने गरेको छ । ‘शुक्रपथ प्रवृत्ति’ ले नुवाकोटमा सहकारी अभियानमा लागेहरूलाई सोच्नुपर्ने अवस्थामा उभ्याएका छन् । सरकारले बनाएको ‘ल्याङ्फ्याङ’ नीतिलाई टेकेर निहित स्वार्थमा आउन चाहाने ‘सहकारी’हरूले कसरी स्थानीय सहकारी जो सहकारीको मर्मत र भावनामा सञ्चालनह ुने प्रयासमा छन् र स्थानीयहरूको साना पुँजी जम्मा भएको छ त्यसलाई कसरी धराशायी बनाउने प्रपन्च हुँदो रहेछ संकेत मिल्न थालेको छ । यसको नियमन कसले, कसरी र कहिले गर्ने हो एक मिनेट भएपनि छिट्टो हुनु जरुरी छ । आकर्षण ब्याजदरको लोभमा सार्वसाधारणको सम्पत्ति नै उढ्ने अवस्था आउदा, नहुन पनि सक्ला तर, स्थानीय तहमा दर्ता हुन नमान्नुले के को संकेत गरिराखेको छ ?’ यसैले आंशका गर्ने सुविधा प्राप्त भएको छ । 

त्यसो त, बैंक तथा वित्तीय संस्थाले हरेक ३/३ महिनामा आफ्नो वित्तीय प्रतिवेदन राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक गर्न पर्छ । तर, सहकारी संस्थाहरूलाई त्यस्तो बाध्यता छैन । यही कमजोरीको फाइदा उठाउँदै सहकारी संस्थाका अध्यक्ष र ऋण उपसमितिका सदस्यहरूले आफ्नो तजबिजमा आफ्ना नातागोता, परिवार र साथीभाइलाई बिनाधितो ऋण प्रवाह गरिरहेका छन् । यही कारण विगतमा केही सहकारी संस्थामा समस्या आउँदा हज्जारौ जनाको अर्बौ रुपैयाँ डुबेको छ । डुबेकाहरुको  सम्पत्ति फिर्ता आउने सम्भावना छैन । अझै पनि सहकारीलाई व्यवस्थित गर्नका लागि विशेष जोड नगर्ने हो भने, आउँदा दिनमा धेरै सहकारीमा समस्या आउने र धेरै सर्वसाधारणको सम्पत्ति डुब्ने सम्भावना छ । यस्तो अवस्थामा सहकारीको मूल्य र मान्यताअनुरूप ऐन बनाउनुपर्छ जसले गर्दा यो क्षेत्रलाई स्वच्छ र पारदर्शी बनाउन सकियोस् । 

अहिले मुलुकमा विभिन्न प्रकृतिका गरी ५० हजार माथी  सहकारी संस्था छन् । ती सहकारीले सर्वसाधारणबाट खर्बौ रुपैयाँ बराबरको बचत संकलन गरी लगानी गर्दै आएका छन् । तर, ती संस्थाहरूको प्रभावकारी नियमन हुन नसक्नु अचम्मलाग्दो पक्ष हो । सहकारीको सिद्धान्तअनुसार घरजग्गा र सेयरमा लगानी गर्न पाइँदैन । अहिले अधिकांश ठूला सहकारी संस्थाले ती क्षेत्रमा लगानी गरेका छन् । तर, घरजग्गा र सेयर कारोबारमा लगानी गरी सर्वसाधारणको रकम डुबाउने संस्था र व्यक्तिहरूलाई समेत कारबाही नहुनु दुःखद पक्ष हो । सहकारी संघसंस्था दर्ता, सञ्चालन, लेखा परीक्षण, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड अनुसार पनि कुनै पनि व्यक्ति जिल्लाभित्रका एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्य हुन पाउनेछैनन् । उजुरीका आधारमा सम्बन्धित कार्यालय वा विभागले दोहोरो सदस्यता खारेज गर्नेछ । तर, अधिकांश सहकारीले त्यो मापदण्ड पालना गरेका छैनन् । परिणाम एकै व्यक्तिले उस्तै प्रकृतिका एकभन्दा बढी संस्थाबाट बचत तथा ऋणको कारोबार गरिरहँदा पनि सरकार, सहकारी विभागलगायत नियामक निकायहरू मौन छन् । त्यस्तै बचत तथा ऋणको वित्तीय कारोबार गर्ने संस्थाले ‘कार्यक्षेत्र बाहिरका र सदस्यबाहेक व्यक्ति तथा निकायसँग कारोबार’ गर्न प्रतिबन्ध लगाए पनि सहर बजारका करिब ९० प्रतिशतभन्दा बढी सहकारीले कार्यक्षेत्र बाहिरकासँग कारोबार गर्ने गरेको प्रमाणहरू छन् । 

२०७८ साल चैत १४ गते प्रकाशन भएको अंक । वर्ष : १५, अंक : २५ ।