Monday, April 04, 2022

उल्टो पथमा शुक्रपथ

विदुर । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मधुकर वाग्लेले सहकारीको सो पदबाट राजिनामा दिएको एक महिना ११ दिन भयो । सञ्चालक समितिको जर्वजस्ती राजिनामा गर्न दवाव झेलेका उनले फागुन ११ गते सिइओ पदबाट राजिनामा दिए र सोही दिन सञ्चालक समितिले उनको राजिनामा स्विकृत गर्यो । तर शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आधिकारिक वेभ साइट shukrapath.org मा हाल (आइतवार साँझ) सम्म उनै मधुकर वाग्ले नै सिइओका रुपमा छन् ।

पुर्व सिइओ वाग्ले र सो सहकारीको बोर्डबीच कार्यशैलीमा भिन्नता देखियो । सहकारीको सिद्धान्त र नियमावली भन्दा बाहिर पर्ने काममा तत्कालिन सिइओ वाग्लेको असहमती भएपछि उनलाई सहकारीका अध्यक्ष नरेन्द्र विष्ट लगातका पदाधिकरीले पद छाड्न दवाव दिन थाले । आफुले राजिनामा नदिए सञ्चालक समितिको बैठकबाट निर्णय गरेर सिइओ पदबाट हटाउने र अध्यक्ष विष्ट अनुकुलको सञ्चालक समितिको पदाधिकारीलाई नै सिइओमा ल्याउने जानकारी सञ्चालक समितिबाटै पाएपछि वाग्ले राजिनामा दिन बाध्य भएका हुन् । 

सामाचार श्रोतका अनुसार ‘बजारमा म्यासेज राम्रो नजाने’ भन्दै वाग्लेलाई आफ्नो वेभ साइट र सहकारीका अन्य कागजातमा शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मधुकर वाग्ले नै प्रचार गरिरहेको छ । श्रोतले भन्यो– ‘राजिनामा नदिए निकाल्ने धम्की आउन थालेपछि वाग्ले सरले बाध्य भएर सहकारी छाड्नु परेको हो, सहकारी भित्रको थुप्रै विषय र कार्यको विषयमा उहाँको असहमती रहदै आएको थियो, उहाँ विधि विधानबाटै काम गरौं भन्नुहुन्थ्यो ।’ 

नुवाकोटमा सेवा केन्द्र सञ्चालन गर्ने विषयमा पनि पुर्व सिइओ मधुकर वाग्लेकै भुमिका प्रधान रहेको थियो । सहकारीले बागमती प्रदेशको १० जिल्लामा काम गर्ने भएपछि नुवाकोटमा शाखा सञ्चालनमा ल्याउने रणनीतिक योजना उनको थियो । वाग्ले नुवाकोट बेलकोटगढी नगरपालिका मदानपुरका हुन् । 

हटाइएपछि पुर्व कर्मचारी, सञ्चालक तथा सरोकार राख्नेहरूको सम्पर्कमा वाग्ले छैनन् । धेरै दिनको प्रयास पछि इमेज साप्ताहिकको सम्पर्कमा आएका पुर्व सिइओ वाग्लेले छाड्न वाध्य पारेको पुष्टि गरे । ‘मैले राजिनामा दिइसके म अहिले यो सहकारी सिइओ होइन’, वाग्लेले इमेज साप्ताहिकसंग भने– ‘राजिनामा दिइसकेको व्यक्तिलाई किन सिइओ भनेर प्रचार गर्नुभयो मलाई जानकारी छैन ।’ 

४ वर्षका लागि वाग्लेलाई सहकारीले सिइओ बनाउनका लागि सञ्चालक समितिको सदस्यबाट राजिनामा दिन लगाएका थिए । सञ्चालकबाट राजिनामा दिएर सिइओ बनेका उनलाई अहिले सो पदबाट पनि हटाइएको छ । उनलाई राजिनामा दिन लगाइएर सिइओमा सञ्चालक समितिका सचिव जीवन ओझालाई जिम्मेवारी दिइएको छ । 

फागुन ११ गतेदेखि नै सिइओको रुपमा कार्यरत ओझालाई सहकारीले गोप्य राखेको छ । उनको सामान्य विवरण समेत वेभ साइट तथा सहकारीको अन्य लिखित कागजातमा भेटिएको छैन । उनी सञ्चालक समितिको सचिव रहेको विवरण समेत सहकरीले सार्वजनिक गरेको छैन । वेभ साइटमा सञ्चालक समितिका सबै व्यक्तिको विवरण, नाम, फोटो सार्वजनिक हुँदा पनि सचिव तथा सिइओ ओझाको विवरण छैन । 

सहकारीसंग वडाले कर लिन मानेन

विदुर–२ को वडा कार्यालयमा सहकारीका कर्मचारी मंगलवार

बट्टार । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कर्मचारी ‘कर तिर्ने’ भन्दै अघिल्लो हप्ता विदुर नगरपालिका वडा नं. ४ को कार्यालयमा पुगेको थियो । उप शाखाका प्रवन्धक जयबहादुर थापा सहितको एक टोली वडा कार्यालयमा पुगेको थियो । ‘कुन शिर्षकको के विषयमा कर तिर्ने भन्ने हामीलाई प्रष्ट नपारी शुक्रपथ सहकारीको कर तिर्न आएको बुझिदिनु पर्यो भन्दै थिए’, वडाका एक कर्मचारीले भने– वडा नं. २ मा कार्यालय राखेर बसेको तपाईहरूको राजश्व वा अन्य कुनै कर हामीले लिन मिल्दैन भनेर पठायौं ।’ 

सहकारीका कर्मचारीले वडा कार्यालयमा राजश्व लिइदिन निक्कै नै जोडबल गरेका थिए । तर वडाका कर्मचारीहरूले सहकारी तोकिएको आफ्नो वडामा नबसेर अन्यत्र कार्यालय स्थापना गरेको जानकारी पाएकोले उनीहरूको प्रस्ताव स्विकार नगरेका हुन् । हाल कार्यालय स्थापना भएको स्थानको विवरण सहित सहकारीको सम्पूर्ण कागजात वडा कार्यालयले माग गरेपछि ‘भोलि ल्याउला’ भनेर हिडेका उनीहरू अहिलेसम्म वडा नं. ४ कार्यालय गएका छैनन् । ‘आजसम्म त्यो सहकारीले मलाई कुनै जानकारी दिएका पनि छैन र सम्पर्कमा आएका पनि छैनन्’, वडा अध्यक्ष टलकमान श्रेष्ठले भने– ‘कर लिइदिनु पर्यो भनेर कार्यालयमा आएको बेलाका कर्मचारीहरूले सहकारीको आधिकारिक कागजात सहित जानकारीमा आउन भनेपछि उनीहरू फेरि बेपत्ता भएका छन् ।’

त्यस लगत्तै वडा नं. २ को कार्यालय हान्निएका सहकारीका कर्मचारीहरूलाई वडा अध्यक्ष विरेन्द्र शाहीले ‘साढे छ महिनासम्म के हेरेर बसेको’ भनेर जिज्ञासा गरेका थिए । 

मंगलवार वडा अध्यक्ष शाहीको कार्यकक्षमा पुगेका सेवा केन्द्रका प्रवन्धक थापा र ऋण शाखाका प्रमुख रामेश्वर वाग्ले ठेगाना परिर्वतनका लागि सिफारिस लिनका लागि वडा कार्यालय पुगेका हुन् । आधा वर्षसम्म वडा कार्यालयलाई जानकारी नदिई र नगरपालिकाको सहकारी शाखामा समेत जानकारी नगराइ आर्थिक कारोवार गरेको भन्दै वडा अध्यक्ष शाहीले आपत्ति जनाएका थिए । आफुले पत्रिकामा समाचार आएपछि मात्रै आफ्नो वडामा सहकारीको कार्यालय रहेको र कारोवार गरिरहेको जानकारी पाएको भन्दै अब लफडा भएपछि सहकारीको जिम्मा नलिने भन्दै पन्छिए । ‘तपाईहरूले यत्ति लामो समयसम्म के के पो गरिसक्नु भयो, अब वडाबाट चिठ्ठी दिएर म विवादमा आउने र फस्के काम गर्दिन भन्दै वडा अध्यक्ष पन्छिए’, सो छलफल सुनेका एक व्यक्तिले भने– ‘सहकारीको सन्र्दभमा आफ्नो केही अधिकार नभएको भन्दै वडा अध्यक्षले विदुर नगरपालिकाका सहकारी शाखा प्रमुख पुष्कर शर्मा रिमाललाई नै मिटिङ्गमा बोलाइदिए ।’ सहकारीका प्रतिनिधिहरू वडा कार्यालयमा छलफलका लागि पुगेको सूचना पाउने वित्तिकै वडा नं. २ को कार्यालयमा यस इमेज साप्ताहिकका प्रतिनिधि पुगेको थियो । हाम्रा प्रतिनिधिको उपस्थिति देखेपछि सेवा केन्द्रका प्रवन्ध थापा र ऋण प्रमुख वाग्ले पिउदा पिउदैको चिया छाडेर बाहिरिए । 

वडा अध्यक्ष बिरेन्द्र शाहीले वडा कार्यालयमा सहकारीका कर्मचारीहरू सिफारिस अहिल्यै दिनु पर्यो भन्दै आएका र त्यस विषयमा जानकारी नभएकोले सहकारी शाखाका प्रमुख रिमाललाई बोलाइदिएको बताएका छन् । ‘उनीहरूले सिफारिस मागेको शैली र तरिका अल्ली शंकास्पद लाग्यो’, वडा अध्यक्ष शाहीले भने– पुष्करजीले उनीहरूलाई तपाईहरूको कानूनी कागजात के कस्तो छ त्यो उपलब्ध गराउनु पर्यो, निवेदन दर्ता गराउनुस् पहिला भन्नुभयो ।’ त्यसपछि उठेर हिडेका उनीहरूले वडा अध्यक्षलाई फोनबाट मात्रै दवाव दिइरहका छन् । ‘कहिले सहकारीको अध्यक्ष हुँ भनेर त कहिले सहकारीको फलानो पदको कर्मचारी हुँ भन्दै सिफारिस तत्कालै चाहियो भनेर फोन आउछ’ वडा अध्यक्ष शाहीले भने । उनीहरूले सिफारिस लिनका लागि वडा कार्यालयमा निवेदन समेत दिएका छैनन् । सहकारीको कुनै पनि दर्ता प्रमाणपत्र लगायतका कागजपत्र अहिलेसम्म कही प्रस्तुत गरेका छैनन् ।  

वडा नं. २ को कार्यालयले शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई अनाधिकृत रुपमा कार्यालय स्थापना गरेर आर्थिक कारोवार गरिरहेको विषयमा स्प्रष्टिकरण सोध्ने भएको छ । वडा अध्यक्ष शाहीले एक दुई दिन भित्र सहकारीको नाममा वडाबाट चिठ्ठी जाने र सहकारीको सम्पुर्ण जानकारी सहित कागजातहरू माग हुने बताएका छन् ।  

अरु जिल्लामा पनि यस्तै लफडा



नुवाकोट । विदुर नगरपालिका वडा नं. ४ मा सेवा केन्द्र स्थापना गर्ने स्विकृत लिएर वडा नं. २ मा बस्दै आएको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको यही प्रकृतिको लफडा अन्य जिल्लामा पनि भेटिएको छ । न्यूरोडको प्रधान कार्यालय बाहेक यो सहकारीले अन्य नौं स्थानमा सेवा केन्द्र स्थापना गरेको छ । काठमाडौंमा प्रधान कार्यालय सहित छ वटा र अन्य चार जिल्लामा एक/एक वटा सेवा केन्द्र छन् । ललितपुरको लगनखेलमा, भक्तपुरको सुर्यविनायकमा, चितवनको भरतपुर र नुवाकोटको विदुरमा सेवा केन्द्र छ । 

नुवाकोटमा जस्तै भक्तपुर र चितवनमा समेत सहकारीको सेवा केन्द्र अनुमती लिएको भन्दा बाहिर बसेको फेला परेको छ । नुवाकोटमा जस्तै समस्या भोगिरहेको दुवै जिल्लामा भने समाधान भइसकेको सहकारीले दावी छ । 

सहकारीको लेखा समिति सदस्य देवप्रसाद घिमिरे भने नुवाकोटमा मात्रै समस्या बाँकी रहेको र अन्य जिल्लामा ‘मिलिसकेको’ दावी गर्छन् । ‘दुई ठाउँको विवरण सच्याउने काम भइसकेको छ, नुवाकोटको मात्रै ढिला भएको हो, तपाईले चैत महिना भरी नुवाकोटको पनि समाधान भएको खबर पाउनुहुने छ’ घिमिरेले भने । तर सहकारीको सदस्यलाई वितरण गर्ने प्रचार सामाग्री र वेभ साइटमै ठेगाना फरक फेला परेको छ । भक्तपुरको सेवा केन्द्रको ठेगाना एक ठाउँमा सुर्यविनायक–सुनदेवी ०५ र अर्को ठाउँमा सुर्यविनायक–४ भक्तपुर रहेको छ । 

नुवाकोटमा वडासम्म गठबन्धन हुने

गठबन्धको पहिलो बैठक शुक्रवार राती काँग्रेस पार्टी कार्यालय विदुरमा बस्ने क्रममा काँग्रेस सभापति महत (दाँयाँ), एकीकृत समाजवादी अध्यक्ष नेपाली (बीचमा) र माओवादी केन्द्रका संयोजक लामिछाने (बाँयाँ) । तस्बिर : कपिलदेव खनाल\इमेज
विदुर । नुवाकोटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तह भागबण्डा गर्नका लागि गृहकार्य जारी राखेको छ । शुक्रवार साँझ काँग्रेसका जिल्ला सभापति रामेशकुमार महत, माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने र समाजवादीका जिल्ला अध्यक्ष गोबिन्द नेपालीबीच पहिलो बैठक भएको थियो । 

संघीय सरकारमा सम्लग्न गठबन्धन दलहरूको केन्द्रीय संयन्त्रको निर्णय तथा सम्वन्धी पार्टीको केन्द्रीय समितिको परिपत्र अनुसार तीन दलले नुवाकोटमा गृहकार्य गरिरहेको हो । शुक्रवार र आइतवार गरी दुई पटक नुवाकोटमा तीन दलका नेताहरू छलफलमा बसेका छन् ।  

नुवाकोटको १२ वटा पालिका मध्ये काँग्रेसले ७, एमालेले ३ र माओवादी २ मा जितेको छ । सबै स्थानीय तहमा गठबन्ध कायय राख्ने गरी सबै सबै दलको सम्मानजनक हैसियत कामय राख्ने गरी स्थानीय तह भाग लगाउने गरी छलफल चलिरहेको छ । 

माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछानेका अनुसार कुन दललाई कुन स्थानीय तह भन्ने गरी छलफल नभइसकेको र थुप्रै विकल्पहरूमा तीन पार्टीले खुल्ला भएर छलफल गरिरहेका छन् । गठबन्धनलाई नतिजामुखी बनाउने विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको उनले बताएका छन् । पछिल्लो छलफलमा कसलाई कुन स्थानीय तहको नेतृत्व र वडातहसम्म हुने भागबण्डालाई बैज्ञानिक मापदण्डको बारेमा कुरा भएको छ । काँग्रेस सभापति रमेशकुमार महतले केही दिनमै मापदण्डलाई अन्तिम रुप दिने र त्यसबाटै प्रायः कुराहरू प्रष्ट हुने बताए । 

समावजादी जिल्ला अध्यक्ष गोबिन्द नेपालीले छलफल उत्साहजनक रहेको र नुवाकोटका सबै स्थानीय तह र सबै वडासम्म गठबन्धन पुग्ने पक्का भएको बताएका छन् । 

समाजवादीको आँखा विदुर, बेलकोटगढी र तारकेश्वरमा

बट्टारमा भएको पत्रकार भेटघाटमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे (बाँयाँबाट दोश्रो) ।

विदुर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेले यस अघि जितेको सबै ठाउँ गठबन्धनसंग माग गरेको बताएका छन् । 

शुक्रवार र शनिवार नुवाकोटका विभिन्न कार्यक्रममा सहभागि पाण्डेले सत्तारुढ दलहरू बीच भएको चुनावी गठबन्ध संघीय र प्रदेश निर्वाचनसम्म कायम रहने दावी गर्दै आफ्नो पार्टीपनि कमजोर नरहेको बताएका छन् । ‘एमालेले जुन जुन स्थानीय तह जितेको छ त्यो समाजवादीको भागमा हुनुपर्छ’, पाण्डेले भने– अवस्था परिस्थिति हेरेर केही यताउता हुने कुरा रहन्छ, तर गठबन्धनमा हाम्रो सहभागिता यसै गरी हुने छ ।’ गठबन्धमा रहेका दलहरू बीच छलफल सुरु भइसकेको र त्यसको सुरुवात नुवाकोटमा पनि भएको उदाहरण दिँदै उनले बाँडफाँडको खाका केहि दिनमै टुङ्गो लाग्ने बताए । 

उनको यस भनाईका आधारमा नुवाकोट जिल्लाको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिका समाजवादीको रोजाईको क्षेत्रमा पर्ने देखिएको छ । उनको यो अभिव्यक्तिपछि समाजवादीका नुवाकोट स्थित नेताहरू समेत पहिला एमालेले जितेको स्थानीय तह चाहिने आशय ब्यक्त गर्न थालेका छन् । तर नुवाकोटमा रहेको दुई वटै नगरपालिका समाजवादीको रोजाईमा पर्दा स्थानीय तह बाँडफाँडको कार्यान्वयनमा समस्या हुने अन्य दलका नेताहरूले बताउन थालेका छन् ।  

समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय निर्वाचनमा सबै स्थानमा गठबन्धन नहुनसक्ने भएपनि केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएको बताएका छन्  । ‘गठबन्धन हुने कुरा चाँही तपाईहरू ढुक्क रहनुस् है’ पाण्डेले भने । एकै दलको मात्र बाहुल्यता भएको स्थानमा गठबन्धन कस्तो गर्ने टुङग्याउन बाँकी रहेकाले ८० प्रतिशत स्थानीय तहमा गठबन्धन हुने उनको तर्क छ । 

शुक्रवार दिउँसो हेलिकोप्टरमार्फत् नुवाकोट आएका उपाध्यक्ष एवं मुख्यमन्त्री पाण्डेले शुक्रवारनै नुवाकोटका पत्रकारहरूसंग भेटघाट गरेका थिए । त्यसपछि जिल्ला स्थित नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूसंग भेटघाट गरेको पाण्डेले शनिवार तीन वटा औपचारिक कार्यक्रम भ्याएका छन् । । विदुर नगरपालिका वडा न. ५ को पिपलटारमा निर्माण भएको फुटसलको पाण्डेले उद्घाटन गरेका छन् । त्यस्तै शनिवार नै लिखु गाउँपालिका र तादी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँ सम्मेलनको उद्घाटन समेत पाण्डेले गरेका छन् । 

विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले शिक्षा र यातायात क्षेत्रमा आमूल परिवर्तन ल्याउन लागेको समेत दाबी गरेका छन् । उनले बागमती प्रदेशभित्रका ११९ स्थानीय तहका दलित, अल्पसंख्यक वा लोपोन्मुख वा सिमान्तकृत मध्येबाट एक/एक जनालाई एसईई पछि तीन वर्षे प्राविधिक शिक्षा दिएर आफ्नो स्थानीय तहमा फर्काउने बताए । प्रदेशका सामुदायिक विद्यालयबाट एसईई गरेर सामुदायिक कलेजमा उच्च शिक्षा लिने सबै छोरीहरूलाई छात्रवृत्ति दिने पनि मुख्यमन्त्री पाण्डेले बताए ।

उनले सार्वजनिक यातायातमा क्यासलेस गर्न कार्ड घोट्ने व्यवस्था ल्याउन लागिरहेको बताएका छन् । सार्वजनिक यातायातमा झन्झटिलो भाडादर तिनुपर्ने व्यवस्थालाई सहज गर्न नागरिकको सुविधाको लागि डिजीटल पेमेन्टको व्यवस्था गर्न लागेको मुख्यमन्त्री पाण्डेले बताएका छन् । त्यसै गरी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने वर्षै लामो प्रक्रियालाई अन्त्य गर्दै एकै दिनमा लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताएका छन् । त्यसका लागि प्रत्येक जिल्लामै ट्रायल लिने ब्यवस्था हुने पाण्डेले बताए । 

नुवाकोट जिल्ला कोरोनामुक्त

विदुर । लामो समयपछि फेरि नुवाकोट जिल्ला गएको आइतबारदेखि कोरोना संक्रमणमुक्त भएको छ । यसअघि संक्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति गएको आइतबार संक्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोनामुक्त भएको हो ।

त्यसपछि यो हप्ता भरी नुवाकोटमा कुनै पिसिआर पिरिक्षण पनि भएको छैन । स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि संक्रमित भएका सबै निको भएको र नयाँ संक्रमित थप नभएका बताएका छन् । कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो । भाइरस देखापरेको दुई महिनापछि नियन्त्रणमा आएको हो । 

नुवाकोट जिल्लामा २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको संक्रमण देखापरेको थियो । पहिलो लहर २०७७ फागुन २३ गतेदेखि संक्रमणमुक्त बनेको थियो ।

२०७७ चैत २४ मा दोस्रो लहर सुरु भएर गत पुस १४ सम्म कायम रहेको थियो । यसको दश दिनपछि पुनः पुस २५ गते कोरोनाको तेस्रो लहर भित्रिएको नुवाकोट जिल्लामा पहिचान भएको थियो । 

गएको आइतबारदेखि कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा ५१ जनाको निधन भएको थियो भने तेस्रो लहरमा मृत्युदर शून्य रह्यो । हालसम्म नुवाकोट जिल्लामा कोरोनाको कारण निधन हुनेको संख्या ५२ जना कायम रहेको छ ।

कोरोनाको पहिलो लहरमा एक हजार १४५ संक्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार २४५ र तेस्रो लहरमा ९७३ थप भएका थिए । हालसम्म संक्रमित हुने कुल संख्या जिल्लामा नौ हजार ३६३ पुगेपछि संक्रमणमुक्त जिल्ला बनेको हो ।

ठेकेदार भागेपछि काम अलपत्र

विदुर । राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कबिहिन हुँदा मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नती एवं सुधारको काम अलपत्र परेको छ ।

मैलुङदेखि स्याफ्रुवेंशीसम्म १९ किलोमिटर भू–भागको स्तरोन्नती टेवापर्खाल, नाली निर्माण एवं कालोपत्र समेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धिशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माण अलपत्र परेको छ । २०७९ पुस ३० सम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनासँग २०७७ साउन १ गते सम्झौता गरेको थियो । 

सम्झौताको अवधि अब १० महिना मात्रै बाँकी छ । हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताए । १ अर्ब ४५ करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने सम्झौता गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिएर फागुन ५ गतेदेखि काम छाडी सम्पर्कबिहिन भएको हो । उक्त कन्स्ट्रक्सनलाई पत्रचार गरेर काममा फर्कनलाई ताकेता गरिरहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाका प्रमुख निरज शाक्यले बताए । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक फागुनमा निर्माण उपकरण र सवारी साधन समेत लिएर हिडेपछि काम पूर्णरूपमा बन्द छ ।

लिएको काम छोडी बिस्तारमा बाधा पु-याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दा सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडी बढाईएको छ । ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भईरहेको प्रमुख शाक्यले बताए । काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पु¥याउने कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेश्कीबापत बुझेको साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न योजना कार्यालय बाध्य हुने बताईएको छ । नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको सो राजमार्गमा हालसम्म सुधारका कार्य भने २३ प्रतिशत मात्र भएको छ । गल्छीदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा मध्ये ४ सम्पन्न भएको र अन्य पुल निर्माण भईरहेका छन् ।

सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फुखोला, महेशखोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सिमाना फलाखु खोलाको पुल साइटका स–साना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भईसकेको छ । 

काँग्रेसले काँग्रेससंग नै गठबन्धन गरौं : केसी

विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले चुनावमा कुनै पनि दलसंग गठबन्धन गर्नु आवश्यक नभएको बताएका छन् । उनले काँग्रेसले काँग्रेससंग गठबन्ध गरे मात्रै पुग्ने तर्क अघि सारेका हुन् । 

बिहीबार नुवाकोट सदरमुकाम विदुरमा आयोजित चियापान कार्यक्रममा बोल्दै नेता केसीले कांग्रेस एक ठाउँमा उभिए चुनावमा कुनै गठबन्धनको बैसाखी आवश्यक नरहेको बताए । नुवाकोटका काँग्रेस एक ठाउँमा उभिएर चुनावी मैदान उत्रिए जिल्लाका सबै स्थानीय तहको निर्वाचन जित्ने नेता केसीले बताए । नुवाकोटमा १० गाउँपालिका र २ नगरपालिका छन् । उनले भने, ‘सबै एकजुट भएमा स्थानीय चुनावका १० वटा गाउँपालिका र २ वटा नगर जित्छौं । कसैले रोकेर रोकिँदैन । तर मनपरि गर्न खोज्यो भने एउटा वा दुईवटा चाहिँ जित्छौँ; अरु भन्न सकिन्न ।’ उनले कम्युनिस्टले भ्रमको खेती गरेर दुईतिहाईको सरकार आएको बताउँदै आफू सत्तामा हुँदा सरकारसमेत चलाउन नसकेको र प्रतिपक्षमा हुँदा समेत संसद अवरुद्ध गरेको आरोप लगाए । 

उनका भाई नेपाली काँग्रेस नुवाकोटको सभापति पदका निकटतम् प्रतिस्पर्धी डा. केदानरसिंह केसीको निमन्त्रणमा आफ्नै विदुर स्थित निवासमा चियापान कार्यक्रम भएको थियो । त्यस अवसरमा अर्जुननरसिंह केसी, डा. केदारनरसिंह केसी र निर्वतनमा जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको एकै खालको धारणा आएको छ । 

ओली कम्पनी अब शुन्य हुने छ : खनाल

पञ्चकन्या । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानियतहको निर्वाचनमा नेकपा एमाले शुन्य हुने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी नुवाकोट पञ्चकन्या गाउँपालिको भेलालाई बिहीवार सम्बोधन गर्दै खनालले अहिले केपी ओलीले एमाले पार्टीलाई कम्पनी जसरी चलाएको र तानाशाही भएको भन्दै निर्वाचनमा एमालेको नतिजा देशैभरिवाट शून्य हुने बताए । ‘ओली कम्पनी देशभरै भरी शुन्य हुन्छ’ केही दिन कुर्नुहोला’ खनालले भने । 

खनालले सत्ता गठबन्धन दलका बीच स्थानीय निर्वाचनमा गठबन्धन हुने र निर्वाचन तयारीमा लाग्न नेता तथा कार्यकताहरूलाई निर्देशन दिएका छन् । खनालले भने ‘अब समाजवादी क्रान्तिमा लाग्नु पर्ने र सामन्त वर्गले शासन गरेको ठाउँमा पुँजीवादीले शासन गरेको र यसलाई परास्त नगरेसम्म समाजवादमा पुग्न नसकिने हुनाले सच्चा कम्युनिष्ट हुनु पर्छ ।’ 

कार्यक्रम समाजवादी जिल्ला कमिटि सदस्य तथा गाउँपालिका ईन्चार्ज अर्जुन कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष गोविन्द नेपाली, केन्द्रीय परिषद सदस्य सुर्य कँडेल, वागमती प्रदेश सदस्य केपी लामिछाने, युवासंघका केन्द्रीय उपाध्यक्ष नितेश पौड्याल, प्रदेश सदस्य राजेश थापा पार्टी उपाध्यक्ष शान्ता थापा अधिकारी, सचिव पदम उप्रेती, उपसचिव उद्धव पनेरु पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, पुर्व गाविस अध्यक्ष राम थापा लगायतले मन्तव्य राखे । उनीहरूले स्थानीय तहको निर्वाचनमा पाँच दलको गठवन्धन जरुरी रहेको बताउदै व्यवस्था र संविधान जोगाउन एक पटक प्रतिगामी दक्षिणपन्थीहरूको अन्त्यका लागि एक ढिक्का बन्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेश सदस्य श्रीकृष्ण खतिवडा, रोशन थापा, जिल्लासचिवालय सदस्य रामहरि गजुरेल, दिपेश चित्रकार, सन्तोष थापा, देविन्द्र तामाङ, युवासंघ नुवाकोटका अध्यक्ष सुरेश अधिकारी लगायको सहभागिता थियो । 

गाउँ भेलाले अध्यक्षमा गणेश थापा, उपाध्यक्षमा यशोदा खतिवडा, सचिबमा शिद्विमणी मिश्र, उप–सचिबमा लेखतबहादुर केसी सहितको ३५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । साथै उक्त भेलाले संघ नेपालको १३ सदस्यीय गाउँपालिका कमिटी समेत चयन गरेको छ । अध्यक्ष अनिल कार्की, उपाध्यक्ष भिमबहादुर तामाङ्ग, सरोज थापा, दिपेन्द्र थापा, सचिब प्रकाश थापा छन् । 

कविता

नेपाल प्यारो छ 


– गोपालप्रसाद गजुरेल


अमरसिंह अरु जो भए बिरपनि ती कालुपाडेहरू 

सीता भृकुटी जो अरु भए जसै ती शान्तिका दुतहरू

साराले गरि युद्ध यै भुमिमाहा यो देशको निम्ति यो

गर्वै साथ संगै म भन्दछु पनि प्यारो छ नेपाल यो ।


जाहितहि सुन्दर छन् अति मनोरमै छन् दृश्य चारैतिर

छन् शोभा हरियाली नि जांहितहि नदाीहरू सबतिर

पुर्खा कै बलिदान ले सजियको यो देश यस्तो छ हो

गर्वै साथ संगै म भन्दछु पनि प्यारो छ नेपाल यो ।


मेचीदेखि सीमा विस्तृत भई माहाकालीसम्म छ जुन 

जे जे छन्  जति देवताहरू सबै यै भुमिमा बस्तछन्

नाच्दै कोहिली गाउछन् गित पनि अत्यान्त हर्षित यो

गर्वै साथ संगै म भन्दछु पनि प्यारो छ नेपाल यो ।


गर्नेछन् पसिना बगाई पनि काम खुब धैर्य राखिकन 

जुट्छन शंकटमा एकैजुट भइ यो देशको निम्तिमा

कम्ति केही चिज छैन यो देशमाहा सबथोक भर्पुर यो

गर्वै साथ संगै म भन्दछु पनि प्यारो छ नेपाल यो ।


चारैतिर हिमाल सुन्दर अहो हासिरहेको पनि 

गाउछन मृदगान शेक्सपियरले ती लेखनाथ पनि 

राज गरे जब वुद्धले पनि यहि तेस्तै ती मन्जुश्री यो

गर्वै साथ संगै म भन्दछु पनि प्यारो छ नेपाल यो ।


गौरिशंखर छन् हिमालय माहा छन् देब चारैतिर 

जेजे छन् सब बिघ्न पार गरछन् कल्याण कै खातिर

मेरो मन अति प्रशन्न हुन गो गर्छु प्रशंसा त यो

गर्वै साथ संगै म भन्दछु पनि प्यारो छ नेपाल यो ।


विदुर नगरपालिका–५ पिपलटार

भत्ताबाट अक्षयकोष स्थापना

विदुर । विदुर नगरपालिका वडा नम्बर १ का वडासदस्य रुपा थापाले ‘युकुमारी कटकबहादुर थापा अक्षयकोष’ स्थापना गरेका छन् । स्वर्गीय हजुरबुवा र हजुरआमाको नाममा खडा गरिएको ६ लाख ७८ हजारको अक्षयकोषबाट प्राप्त हुने ब्याजले वडा क्षेत्रभित्रका विपन्न वर्गका नागरिकको शिक्षा, स्वास्थ्यलगायत अन्य सेवागत क्षेत्रलगायतमा सहयोग प्रदान गर्ने वडा सदस्य थापाले बताए । 

आफु जनप्रतिनिधि भएदेखि अहिलेसम्म वडा कार्यालयबाट सेवाबापत् प्राप्त गरेको ३ लाख ७८ हजार नगदसहित परिवारबाट जम्मा भएको रकमले कोष स्थापना भएको उनले आफ्नो फेसबुक पेज मार्फत् सार्वजनिक गरेका छन् । थप ३ लाख रुपैंयाँ गरी कुल ६ लाख ७८ रुपैंयाँको अक्षयकोष स्थापना भएको हो । उनले भनिन् –‘आगामी स्थानीय तहको निर्वाचनमा आफु जनप्रतिनिधि भएर सेवा गर्न पाए वा नपाएपनि विपन्न नागरिकको साथ र सहयोगको लागि यो कोष स्थापना गरेको हुँ ।’

उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६६० मत ल्याई महिला सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएकी थिईन् । उनी महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकारमा सक्रिय भई कार्य गर्दै आईरहेकी छिन् । उनी साहित्य विधामा अब्बल छिन् । उनको सयौं कविता, गजल, कथाहरू विभिन्न पुस्तक संग्रह, छापा पत्रपत्रिका, अनलाईन पत्रिकालगायतमा प्रकाशित छ ।

नुवाकोटमा २ लाख ३७ हजार मतदाता

विदुर । जिल्ला निर्बाचन कार्यालय नुवाकोटले नुवाकोटको १२ वटै स्थानीय तहको अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

मतदाता नामावलीसँगै, मतदान केन्द्र, मतदान स्थल समेत तोकेको छ । १२ वटै स्थानीय तहको मतदाता नामावली संकलन पछि वडा वडामा दाबि बिरोधको लागी नामावली टाँस गरेको थियो । आयोगले मतदानमा कायम रहने नामावली प्रकाशन गरेको हो । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्बाचनमा हाल प्रकाशन भएको नामावलीमा नाम रहेकाहरूले मात्रै मतदान गर्न पाउने छन् । तोकिएको मतदान केन्द्र र मतदान स्थलमा गएर मतदान गर्नुपर्ने जिल्ला निर्बाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नुवाकोटका २ लाख ३७ हजार ४ सय ३४ जनाले मताधिकार गर्न पाउनेछन् । निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो । स्वीकृत गरेको मतदाता नामावली अनुसार नुवाकोटका १ लाख २२ हजार ४०२ जना पुरुष, १ लाख १५ हजार २९ जना महिला र तेश्रो लिङ्गी ३ जनाले मताधिकार प्रयोग गर्न पाउनेछन् ।

नुवाकोटको १२ स्थानीय तह मध्ये सबैभन्दा बढी विदुर नगरपालिकामा र सबै भन्दा कम किस्पाङ गाउँपालिकामा मतदाता छन् । जिल्ला निर्बाचन कार्यालय नुवाकोटका अनुसार नुवाकोटको ककनी गाँउपालिका २१ हजार ८९७ जना मतदाता ११ मतदान स्थल र २५ मतदान केन्द्र तोकिएको छ । किस्पाङ गाँउपालिका १२ जार १६१ जना मतदाता ६ मतदान स्थल र १५ मतदान केन्द्र, तादी गाँउपालिका १५ हजार ३६० जना मतदाता ७ मतदान स्थल र १९ मतदान केन्द्र, तारकेश्वर गाँउपालिका १४ हजार ९६३ जना मतदाता ८ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन् ।

दुप्चेश्वर गाँउपालिका १७ हजार ३७५ जना मतदाता १५ मतदान स्थल र २३ मतदान केन्द्र, पञ्चकन्या गाँउपालिका १४ हजार ९६४ जना मतदाता ६ मतदान स्थल र १७ मतदान केन्द्र तोकिएको छ । बेल्कोटगढी नगरपालिका ३३ हजार ४८१ जना मतदाता १६ मतदान स्थल र ४० मतदान केन्द्र, म्यागङ गाँउपालिका १२ हजार ५७८ जना मतदाता ८ मतदान स्थल र १६ मतदान केन्द्र रहेका छन् ।

लिखु गाँउपालिका १५ हजार ४६८ जना मतदाता ७ मतदान स्थल र १७ मतदान केन्द्र, बिदुर नगरपालिका ४४ हजार १७९ जना मतदाता २६ मतदान स्थल र ५४ मतदान केन्द्र, शिबपुरी गाँउपालिका २० हजार ४८१ जना मतदाता १२ मतदान स्थल र २४ मतदान केन्द्र र सुर्यगढी गाँउपालिका १४ हजार ५२७ जना मतदाता १० मतदान स्थल र १८ मतदान केन्द्र तोकिएको जिल्ला निर्बाचन कार्यालय नुवाकोटले जनाएको छ । यस्तै, नुवाकोटको ककनी, शिबपुरी र दुप्चेश्वर गाँउपालिकामा १÷१ जना तेश्रो लिङगी समेत रहेका छन् ।

निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि सार्वजनिक गरेको हो । नुवाकोटमा मतदान स्थल १३२ र मतदान केन्द्र २८७ कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस अघि, निर्बाचन आयोगले नुवाकोटको १२ वटै स्थानिय तहमा निर्बाचन अधिकृत र मुख्य निर्बाचन अधिकृत तोकी सकेको छ । निर्बाचन आयोगले राजपत्राङकृत दोश्रो श्रेणीका अधिकृतहरूलाई निर्बाचन अधिकृतको रुपमा स्थानीय तहमा खटाएको छ । मुख्य निर्बाचन अधिकृतको रुपमा सम्बन्धित जिल्ला न्यायधीशहरूलाई जिम्मेवारी दिएको छ । यसका साथै, न्याय क्षेत्र, संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय, सत्यनिरुपण आयोग, न्यायिक प्रशासन लगायतका क्षेत्रमा कार्यरत रहेका दोश्रो श्रेणीका अधिकृतहरूलाई निर्बाचन अधिकृतमा प्राथमिकतामा राखेको छ । 

यसै गरी, जिल्ला निर्बाचन कार्यालय नुवाकोटले जिल्लामा रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरूको बिवरण समेत संकलन गरिसकेको छ । निर्बाचनका लागी मतदान केन्द्रमा कर्मचारी खटाउनको लागी जिल्लामा रहेका सबै कार्यालयहरूबाट कर्मचारी बिवरण संकलन गरेको जनाएको छ । संकलन भएको बिवरण अनुसार आयोगले उनिहरूलाई छनौट गरि मतदान केन्द्रको आबाश्यक निर्बाचन सामाग्री सहित कार्यक्षेत्र तोकेर खटाउने छ ।

यसै बीच, नुवाकोटको छिमेकी रसुवा जिल्लामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल तथा ५१ वटा मतदान केन्द्र रहने भएको छ । 

गोसाइँकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र नौवटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र, उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । एक निर्वाचन क्षेत्र र पाँच गाउँपालिका रहेको रसुवा जिल्लामा ३८ हजार ५४५ मतदाता मध्ये १८ हजार ८८५ महिला र १९ हजार ६८९ जना पुरुष रहेको निर्वाचन कार्यालयले जनायो ।

सबै तहका लागि निर्वाचन अधिकृत नियुक्त

विदुर ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त भएका छन् । नुवाकोटको प्रमुख निर्वाचन अधिकृतमा उमेशप्रसाद लुईंटेललाई तोकिएको छ । आयोगका अनुसार नुवाकोट जिल्ला अदालतका न्यायाधीश लुईंटेल विदुर नगरपालिकाको निर्वाचनमा खट्ने छन् ।

जिल्लाका अन्य स्थानीय तहको लागि निर्वाचन अधिकृत तोकिएको छ । बेलकोटगढीको निर्वाचन अधिकृतमा महान्यायधिवक्ताको कार्यालयका उपन्यायधिवक्ता टेकबहादुर कार्कीलाई निर्वाचन अधिकृत जिम्मेवारी दिईएको छ । ककनी गाउँपालिकामा निर्मला गुरुङ, किस्पाङ गाउँपालिकामा जिल्ला न्यायधीवक्ता टेकराज भुसाल, तादी गाउँपालिकामा विवेक घिमिरे, तारकेश्वर गाउँपालिकामा जीवनकुमार भण्डारी, दुप्चेश्वर गाउँपालिकामा पहिलाको जिविस नुवाकोटका एलडिओ केशरबहादुर पण्डित, पन्चकन्या गाउँपालिकामा अन्जन न्यौपाने, म्यागङ गाउँपालिकामा सुदर्शन पण्डित, लिखु गाउँपालिकामा पूर्णबहादुर थापामगर, शिवपुरी गाउँपालिकामा खरुदेव चुडाल र सुर्यगढी गाउँपालिकामा इन्द्रकुमार खड्कालाई निर्वाचन अधिकृत जिम्मेवारी दिईएको छ । निर्वाचन आयोगको सूचना अनुसार चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा नियुक्त गरिने जनाएको छ ।

रसुवाका लागि जिल्ला न्यायाधीश राजेन्द्र नेपाल र धादिङका लागि जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीलाई नियुक्ति गरेको छ । नेपाललाई रसुवाको गोसाइँकुण्ड गाउँपालिका र 

ज्ञावालीलाई धादिङको नीलकण्ठ नगरपालिका तोकिएको छ । रसुवाको उत्तरगया गाउँपालिकामा मुना अधिकारी ढकाल, कालिकामा अशोकराज रेग्मी, नौकुण्ठमा थानेश्वर भुसाल र आमाछोदिङ्मोमा शान्तिप्रसाद लुइँटेललाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ । 

धादिङको खनियाँबास गाउँपालिकामा गोकुल खड्का, गंगा–जमुनामा रामकृष्ण तामाङ, गजुरीमा चक्रपाणि शर्मा, गल्छीमा दीपेन्द्र सुवेदी, ज्वालामुखीमा हीरामणि सुवेदी, त्रिपुरासुन्दरीमा गोपाल लामिछाने, थाक्रेमा महेन्द्रप्रसाद साँखी, नेत्रावती डबजोङमा आनन्दराज पन्त, बेनीघाट रोराङमा खेमराज पाठक, रुविभ्यालीमा भीमप्रसाद सुवेदी, सिद्धलेकमा खुवप्रसाद भण्डारी र धुनीबेँसी नगरपालिकामा राजकुमार आचार्य नियुक्त भएका छन् ।

निर्माण व्यवसायीको ज्ञापनपत्र

विदुर । इन्धनलगायतका निर्माण सामग्रीमा मूल्यवृद्धिका कारण मुलुकको निर्माण उद्योगमा गम्भीर समस्या परेको भन्दै नुवाकोट निर्माण व्यवसायी संघले नुवाकोटका प्रमुख जिल्ला अधिकारी मार्फत् बिहीवार प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र बुझाए । 

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय निर्देशनानुसार देशभरका ७७ वटै जिल्लामा शुक्रवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माण व्यवसायीहरूले मूल्यवृद्धि समायोजन गर्न माग गर्दै नुवाकोट निर्माण व्यवसायी संघले बिहिबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि नियन्त्रण र समायोजन गर्न माग गरेको हो । संघका कार्यसमिति सदस्य श्रीराम तामाङ नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्रमा निर्माण सामग्रीमा भएको मुल्यवृद्धि, सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधनको त्रुटि सच्चाउने, बीमा प्रिमियम दरमा भएको मुल्यवृद्धि र राजश्व सम्बन्धि १० बुँदे मागहरू उल्लेख छ । सरकारमार्फत यस समस्याको सूक्ष्म विश्लेषण र अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि समेत ठोस पहल गर्न ज्ञापनपत्रमा माग गरिएको छ । मागहरू चैत २४ गते भित्र सम्बोधन नभए संघको नेतृत्वमा आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

एमालेसंग जोडिने मुडमा राप्रपा

विदुर । नुवाकोटमा अन्य राजनीतिक दल भन्दा पहिल्यै राप्रपाले स्थानीय तह निर्वाचन केन्द्रीत आफ्नो ‘सङ्कल्पपत्र’ सार्वजनिक गरेको छ ।

व्यवस्थापिका संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । राप्रपाले नुवाकोटमा लिखु गाउँपालिका वडा नं. ४ को वडा अध्यक्षदेखि सबै सदस्यहरू अघिल्लो स्थानीय तह निर्वाचन जितेको थियो । पार्टी कार्यालय विदुरमा पत्रकार सम्मेलन गर्दै राप्रपा नुवाकोटले प्रतिबद्धता सार्वजनिक गरेको हो । ‘राप्रपाको अभियान सकारात्मक परिवर्तन, राष्ट्रियता, हिन्दूराष्ट्र, विकास र सुशासन’ नारा दिइएको घोषणापत्रलाई पार्टीले ‘सङ्कल्पपत्र’को नाम दिएको छ । 

राप्रपाले सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र सुदृढ, स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई प्रमख वैचारिक आधारस्तम्भ बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले जिल्लामा संवैधानिक व्यवस्थाअनुरूप सहकार्य गरी निर्वाचनबाटै एजेन्डा स्थापित गर्ने र सबै जनतामाझ पुग्ने प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

राप्रपाले नुवाकोटमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा गरिबी हटाउन योजना, आवास, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । सुत्केरी महिलालाई तीन महिनासम्म मासिक दुई हजार रुपैयाँ पोषणभत्ता, सबै स्थानीय तहमा १० देखि १५ बेडको अस्पताल निर्माण, हाल राज्यले उपलब्ध गराएको भन्दा थप २० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने, प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गर्ने जनाएको छ । 

यसै बीच, सोही कार्यक्रममा सहभागि राप्रपाका केन्द्रीय सह–महामन्त्री झनक प्याकुरेलले नुवाकोटमा राप्रपामा आकर्षण बढेको बताए । नुवाकोटको १२ स्थानीय तहसहित ८८ वटै वडामा पार्टी कार्यालय स्थापना भइसकेको उनले जानकारी दिए । प्याकुरेलका अनुसार सत्तापक्षले चुनावी गठबन्ध गर्ने अवस्था भएमा विपक्षमा रहेका दलहरू पनि गठबन्ध गर्ने सम्भावना हुने भन्दै आफ्नो चुनावी तालमेल एमालेसंग हुनसक्ने संकेत दिएका छन् । ‘केन्द्रमा त यस विषयमा छलफल भइरहेको छ, जिल्ला तहमा यो सर्कुलर आएको छैन’, उनले भने– ‘आवश्यकताका आधारमा हामी सत्ता बाहिर रहेका दलहरू पनि गठबन्धन गर्ने सम्भावना उत्तिकै छ ।’

राष्ट्रिय कृषिगणना बैशाख ६ देखि जेठ १९ सम्म

विदुर । देशभर सातौं राष्ट्रिय कृषिगणना वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म हुने भएको छ । त्यसका लागि नुवाकोटमा पनि प्रायः तयारी भइसकेको छ । नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहका २२१ गणना क्षेत्रहरूबाट पाँच हजार ५२५ कृषकको छनौट गरी गणना गरिने छ । 

जिल्ला कृषिगणना अधिकृत नरेन्द्र शर्मा भट्टका अनुसार गणनाका लागि नुवाकोट जिल्लामा २२ जना सुपरिवेक्षक र ८६ जना गणक खट्ने छ । कृषिगणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको उनले जानकारी दिए । 

कृषिगणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्याङ्क संकलन गरिने भएको छ ।

गएको आईतबार जिल्ला कृषिगणना नुवाकोटले विदुरमा आयोजना गरेको जिल्लास्तरीय कृषिगणना सचतेना कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले यसबाट कृषि क्षेत्रको योजना तर्ज‘मा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा मुलुकलाई आवशयक पर्ने तथ्याङ्क उपलब्ध हुने बताए छ । 

मुलुक संघीयतामा गएपछि पहिलो कृषि गणना गर्न लागेको हो । विगतका कृषि गणनाहरूले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण जिल्ला तहसम्म मात्र दिँदै आएकोमा यसपटक संघीय ढाँचा अनुसारका गाँउपालिका÷नगरपालिका तह सम्मको तथ्याङ्क उपलब्ध हुने सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । 

कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका प्रमुख रामकृष्ण पुडासैनीले कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपक्षीको संख्या जस्ता कुराहरू संकलन हुने भएकोले यो गणना महत्वपूर्ण हुने बताएका छन् । उनले भर्खरै जनगणना सकिएको र फेरि कृषिगणना के का लागि होला भन्ने नागरिकहरूमा प्रश्न रहनसक्ने र अघिल्लो जनगणनाबाट नै कृषकहरूको पहिचान भएपछि कृषिगणना हुने जानकारी दिनु आवश्यक रहेको बताए । ‘त्यसका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहन्छ, उनले भने– ‘कृषकहरूलाई यसको आवश्यकता र उपलब्धीका बारेमा अग्रिम जानकारी गराउनु आवश्यक छ ।’

यस वर्षको नारा ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ छ । 

राष्ट्रिय कृषि गणना भनेको के हो ?

नेपालको कृषि क्षेत्रको विवरण जस्तैः कृषि चलन, खेतीपाती गरिएका कित्ताहरूको क्षेत्रफल, विभिन्न बालीनालीको क्षेत्रफल र उत्पादन, पशुपक्षीको संख्या, सिँचाई, कृषि सामग्रीको प्रयोग, माछापालन, वनवनेलो आदि विवरणहरू संकलन, प्रशोधन तथा प्रकाशन गर्ने समग्र कार्य नै राष्ट्रिय कृषि गणना हो । नेपालमा वि.सं. २०१८ साल देखि हरेक दश दश बर्षमा कृषि गणना सञ्चालन भई आएको छ । यस क्रमको सातौ राष्ट्रिय कृषिगणना २०७८ चैत्र, वैशाख र जेठमा सञ्चालन हुँदैछ ।

कसरी सञ्चालन हुँदै छ ?

प्रथमतः राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पारिवारिक विवरण संकलन गर्दा हरेक परिवारले चलन गरिआएको खेतीपातीको क्षेत्रफल र पशुपक्षीको संख्या संकलन गरिएको थियो । त्यही लगतको आधारमा ७७ जिल्लाको ७५३ गाँउपालिका र नगरपालिकाहरूमा वैज्ञानिक छनौट विधिले छानिएका गणनाक्षेत्र (वडा, वडाखण्ड) मा रहेका कृषक परिवारहरूको सूची अध्यावधिक गरी निश्चित मात्रमा कृषक परिवार छानि छानिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषिचलन सम्वन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा संचालन भएका कृषिकार्यको विवरण संकलन गरिनेछ ।

सबै घर परिवारको संकलन गरिन्छ ?

राष्ट्रिय जनगणनामा २०७८ जस्तै कृषि गणनामा सवै घरपरिवारको गणना नभई ७५३ वटै स्थानीय तहहरूको प्रतिनिधित्व हुने तथा पुर्ण विवरण आउने गरी तथ्याङ्कीय विधिबाट छानिएका करिव तीन लाख पचास हजार कृषक घरपरिवारको मात्र पुर्ण गणना हुन्छ । जनणनामा करिव ४१ लाख कृषक परिवारको सुचिकरण भएको थियो भने, कृषि गणनामा जनगणना बाट प्राप्त कृषक परिवार मध्ये करिव तीन लाख पचास हजार कृषक परिवार वैज्ञानिक विधिबाट छनोट गरी विस्तृत विवरण संकलन गरिन्छ ।

फिल्ड कार्य कहिले हुँदै छ ?

यहि २०७८ चैत्र १ गते सवै ७७ वटै जिल्लाहरूमा कृषिगणना कार्यालय स्थापना गरी आगामि २०७९ को बैशाख ६ र जेठ १९ सम्म सवै ७५३ स्थानीय तहहरूमा छनोटमा परेका कृषक परिवारबाट कृषिगणनाको तथ्याङ्क संकलन कार्य सञ्चालन हुनेछ ।

के कस्ता विवरणहरू संकलन हुँदै छन् ?

राष्ट्रिय कृषिगणना अन्तर्गत कृषक परिवार प्रश्नावली मार्फत कृषक परिवार, कृषि चलन, कृषि कामदार, कित्ताहरूको विवरण र सिँचाई, कित्ता अनुसारका भू–उपयोग, कित्ता अनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी, फलफूल, बीउविजन विषादि तथा मलखादको प्रयोग, पाल्तु पशुपक्षीको उमेर अनुसारको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालन, मौरी पालन, च्याउ र पुष्पखेती, रेशम खेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, दैवी प्रकोप, खाद्य पर्याप्तता, महिला र पुरूषको नाममा रहेको कृषि जग्गा र परिवारका अन्य आर्थिक कृयाकलाप सम्बन्धी विवरणहरू संकलन गरिने छन् ।

कृषि कत्ति किसिमको हुन्छन् ?

पारिवारिक कृषि कार्य भनेको मुख्यतः परिवारको उपभोगको लागि अन्न, तरकारी, फलफूल, पशुपन्छीपालन, आदिको कृयाकलापलाई जनाउँछ । व्यावसायिक कृषि भन्नाले दर्ता गरेका वा नगरेका मुख्यतः विक्री प्रयोजनको लागि गरिएका खेतीपाती, पशुपन्छीपालन, माछापालन आदिलाई जनाउँछ । जस्तैः व्यवसायिक रुपमा गरिएका तरकारी खेती, फलफूल खेती, ठूलो संख्या गरिएको कखुरापालन, बाख्रापालन, दूध तथा दूधजन्य उत्पादन बिक्रिको लागि गरिएको गाई भैँसीपालन, आदि पर्दछन् । त्यस्तै संस्थागत कृषिकार्य भन्नाले सरकारी, अर्धसरकारी वा गैरसरकारी फार्महरू पर्दछन् । यसमा सहकारी व्यवस्थापन अन्तर्गत संचालित कृषि फार्महरू पनि पर्दछन् ।

तथ्याङ्क संकलन गर्न को आउछ ?

कृषिगणनाको फिल्डकार्यमा तथ्याङ्क संकलनको लागि छानिएका गणना क्षेत्रहरूमा ५ हजार भन्दा बढी गणकहरू तथ्याङ्क संकलनको लागि घरघरमा आउँछन् । यस कार्यको सुपरिवेक्षण तथा सहजिकरणको लागि करिव १ हजार ३ सय सुपरिवेक्षकहरू गणकसंगै खटिनेछन् जसमा महिला कर्मचारीहरूको उल्लेख्य सहभागिता हुनेछ । ७७ जिल्लामा अस्थायी प्रदेश तथा जिल्ला कृषि गणना कार्यालय खुल्नेछन् ।

कस्तो विधि प्रयोग हुन्छ ?

तथ्याङ्क संकलनमा मिश्रित विधि (कागज र कलम सहितको अन्तर्वाता विधि र ट्याबलेटको प्रयोग गरी) प्रयोग हुनेछ । यी दुबै माध्यमबाट संकलित तथ्याङ्क केन्द्रमा एकत्रित र प्रविष्टि भएपछि परम्परागत र नयाँ प्रविधिकै आधारमा, प्रशोधन, तालिकीकरण, विश्लेषण गरिने छ ।

सरकारलाई के सहयोग पुग्छ ?

राष्ट्रिय कृषिगणनाको नतिजा गापा, नपा, प्रदेश स्तरमा र राष्ट्रिय स्तरमा समेत उपलब्ध हुने भएकोले संघीय, प्रादेशिक तथा स्थानीय निकायको योजना तर्ज‘मा, अनुगमन, मूल्यांकन गर्न सघाउ पुग्दछ । विशेषतः कृषि क्षेत्रको समस्या र कृषकका समस्या पहिचान र तदनुरुपको कार्यक्रमको तर्जुमा गर्न सहयोग पुग्दछ । यसको अतिरिक्त नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, संचार जगत आदिको लागि पनि उपयोगी सूचना उपलब्ध हुनेछ ।

खाद्य अप्राप्तताको सम्वोधन हुन्छ ?

नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाईृ ध्यानमा राखी महिलाको अगुवाईमा भइरहेका खेतीपातीको विवरण संकलन गरिने छ । महिलाहरूको स्वामित्वमा रहेको कृषि जग्गा, महिलाको कृषिकार्य सम्बन्धी निणर्यमा सहभागिता, महिलाले कृषिकार्यमा दिएको समय आदि विवरणहरू संकलन गरिनेछ । साथै अन्तर्वार्ता कार्यमा महिला सुपरिवेक्षक र गणकहरूको उल्लेख्य मात्रमा सहभागी हुनेछन् । 

कृषि गणनाको नतिजा प्रतिवेदनमा महिला विषयक विश्लेषण सहितको एक छुट्टै प्रतिवेदन समेट प्रकाशन गरिनेछ । यसका साथै संयुक्त राष्ट्र संघको दीगो विकास लक्षका सूचकहरू विशेषतः

भोकमरी, खाद्य असुरक्षा र ग्रामीण गरिवीको अन्त्य संग सम्वन्धित तथ्यांकीय विवरणको छुट्टै विश्लेषण गरिनेछ । साथै सरकारको पन्ध्रौं योजनाको उद्देश्य, लक्ष, र नीतिलाई पनि प्राथमिकतामा राखी कृषिगणनाको अवधारणा, परिभाषा, र निर्देशिका तयार गरिएकोले सोही बमोजिम नतिजा विश्लेषण गरिनेछ ।

कृषकको भूमिका के हुन्छ ?

कृषिगणनाको नतिजा स्थानीय, प्रदेश तथा संघीय सरकार, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी सबैका लागि योजना तर्जुमा, अनुगमन, मूल्यांकन, अध्ययन र अनुसन्धानका लागि महत्वपुर्ण हुने हुदाँ सहि विवरण उपलब्ध गराउनु छानिएका कृषक परिवारको दायित्व हुनेछ भने, कृषि गणनाको महत्व बुझाउने र प्रचार प्रसार गरी गुणस्तरिय तथ्याङ्क संकलन गर्न सहयोग पु-याई कृषिगणना सफल पार्नु सवै समुदाय तथा सवै सर्वसाधारणको कर्तव्य महत्वपूर्ण हुनेछ ।

हतियार बुझाउन निर्देशन

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चैतमसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिएका छन् । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको बताइएको छ ।

यसै बीच, नुवाकोटको किस्पाङ गाउँपालिकाबाट एक जना हतियार सहित पक्राउ परेका छन् । वडा नम्बर ३ किर्नेबगरका ३३ वर्षिय गोम्बो तामाङ समातिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गएको आईतवार बिहान सात बजे तामाङलाई आफ्नै घरको पिडिमा बसी भरुवा बन्दुक सफा गरी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीले फेला पारेको हो । उनीसँग हातहतियार राख्न पाउने कुनै ईजाजत नभएकोले पक्राउ गरी जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ । जिल्ला अदालत नुवाकोटले हातहतियार तथा खरखजाना सम्बन्धी कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरी कार्यलयलाई अनुमती दिएको छ । 


२०७८ साल चैत २१ गतेको सम्पादकीय

 गठबन्धनको दुरगामी महत्व

शुक्रवार राती सम्भवत देशमै जिल्ला स्तरमा सत्तारुढ गठबन्धनका दलहरू स्थानीय तह निर्वाचनमा एकता गरेर जाने सहमती भएको पहिलो खबर बाहिर आयो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला प्रमुखहरूले साझा धारणाको विज्ञप्ती जारी गरेर गठबन्धनका लागि प्रक्रिया सुरु भएको जनाउ सहितको घोषणा गरे । त्यसो त विचार मिल्दा राजनीतिक दलका बीचमा एकता हुन्छ, त्यो स्वाभाविक र पक्कै हो । अनि अर्को कुरा सिद्धान्तमा एकरूपता भएका पार्टीबीचको सहमति दिगो हुनसक्छ । तर आदर्श उस्तैउस्तै भएका दलबीचको गठबन्धन दुनियाँले देख्दा पनि नसुहाउँदो मानिँदैन । सिद्धान्त, आदर्श र विचारमा कुनै पनि तादात्म्य नदेखिएका दलको एकता क्षणिक हुने हुँदा तत्कालका लागि ठीक देखिए पनि त्यसको प्रतिफल मिठै हुन्छ भन्न सकिँदैन । तथापी मुलुकमा आइपरेको विकराल समस्यामा भिन्न विचार बोकेका दलका बीचमा सहकार्य हुँदा पनि मुलुकलाई दुर्घटनाबाट जोगाउन सकिने रहेछ भनेर नेपाली काँग्रेसको नेतृत्वमा गरिएको पाँच दलको सहकार्यले भने पुष्टि गर्न थालेको छ । अल्लि कत्ति पुष्ठभूमिलाई हेर्ने हो भने पनि तत्कालिन नेकपा र वर्तमान समयको नेकपा एमालेका अध्यक्ष र उक्त दलले मुलुकलाई भड्खालोमा हाल्ने प्रयास गरेकै हो । संविधान बनाउँदाको सयम पाँच वर्षभन्दा पहिला संसद् विघटन गरिने कार्यलाई दुरुत्साहन गर्ने उद्देश्यले राखिएका प्रावधानलाई लत्याउँदै असमयमै मुलुकलाई पुनः निर्वाचनमा धकेल्ने बदनियत बोकिएकै थियो । अर्बाैं खर्च हुने निर्वाचन पटक पटक गरिनु नेपालजस्तो कम आर्थिक हैसियत भएको मुलुकका लागि हितकर थिएन । र त्यसबाट उत्पन्न हुने राजनीतिक गतिरोध, सन्नाट र अध्यारो युगको सुरुवातलाई अहिलेको सत्ता गठबन्धनले संसद्लाई जोगाएकै हो । राजनीतिक अस्थिरताबाट मुलुकलाई बचाउन वर्तमान गठबन्धन सफल भएको प्रजातान्त्रि र अग्रगामी विचारका सचेत नागरिकहरूमा दुई मत छैन ।

त्यसो त अहिले हुन लागेको चुनावी गठबन्धनको अभ्यास नयाँ र नौलो पक्कै पनि होइन । बाम एकतादेखि माओवादी–काँग्रेस गठबन्धसम्मको अभ्यास भइसकेको छ । अघिल्लो चुनावी गवन्धलाई केलाउने हो भने पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनावमा जाँदा करिब दुईतिहाइ बहुमत जम्मा भएको थियो । हुन त दुवै कम्युनिस्ट दल नै थिए र उनीहरूका सिद्धान्त, विचार, आदर्श सबै एकैखाले थिए, त्यसैले पनि त्यत्तिको सफलता हात परेको हुनसक्छ । पार्टीका नाम अलगअलग भए पनि उनीहरूका कार्यकर्ताको अध्ययन, प्रशिक्षण र भावना एकैखालको हुने भएका कारण त्यसरी मिलन भएको पनि हुनसक्छ । काँग्रेस र कम्युनिस्ट दलका बीचमा सहकार्य हुँदा कार्यकर्ताका बीचको चारित्रिक भिन्नताका कारण ठ्याक्कै त्यस्तै परिणाम हात लाग्छ कि लाग्दैन त्यो छिट्टै नतिजाको रुपम आउने नै छ । मुलत : राजनीतिक दलको मुख्य कुरा भनेको जनताको सेवा र उन्नत समाज विकास सहितको मुलुक बनाउने नै हो । 

आफ्नो राजनीतिक विचार र आदर्शलाई जनताका बीचमा पु-याएर त्यसैका बलमा सत्तामा पुग्ने र सत्ताका माध्यमबाट देश र जनतालाई समृद्ध बनाउने मूल लक्ष्य नै राजनीतिक दलको हो । सत्तामा पुग्न सकिएन भने जतिसुकै राम्रो सिद्धान्त भए पनि र कार्ययोजना बोकेको भए पनि कार्यान्वयनमा लैजाने अवसर मिल्दैन । त्यसैले चुनावमा विजय हासिल गर्न विचार नमिलेकै दलसँग भए पनि एकप्रकारको तालमेल गर्नुलाई गलत भन्न मिल्दैन । चुनावी तालमेल नगरी अघि बढ्दा बलिदानीबाट प्राप्त संविधानमाथि प्रहार गर्ने नेकपा एमाले नै फेरि काँग्रेसपछिको शक्तिशाली दल बन्ने र मुलुकको समस्या जस्ताको त्यस्तै रहनेछन् । नेकपा एमालेको अहम् र अधिनायकवादको यात्रालाई पूर्णविराम लगाउन पनि एमालेलाई साइजमा ल्याउनुपर्ने बाध्यता भएका कारण गठबन्धनको महत्व देखिन्छ ।

२०७८ साल चैत २१ गते । वर्ष : १५, अंक : २६ ।