Monday, April 11, 2022

न्यायाधीशको प्रश्न : न्याय महंगो कहाँबाट हुन गयो ?


विदुर । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले शुक्रवार आयोजित एक कार्यक्रममा प्रश्न गरे– ‘न्याय महंगो कहाँबाट हुन गयो ? कसरी हुन गयो ?’

नेपाल वार एशोसिएशन नुवाकोट जिल्ला अदालत वार एकाईको १५ औं वार्षिक साधारण सभामा बोल्दै जिल्ला न्यायाधीश लुइँटेलले अदालति प्रक्रियामा हुने खर्च ५/१० रुपैयाँको भएपनि नागरिकहरूले न्याय महंगो हुने गरेको बताउने गरेको उल्लेख गरे । ‘अदालतमा लिने सेवाको दस्तुर ५/१० रुपैयाँको हुन्छ, तर पनि नागरिकहरू न्याय महंगो भयो भन्छन्, यही कार्यक्रमका पुर्ववक्ताहरूले पनि यो कुरा उठाउनुभयो, कसरी भयो र कहाँबाट भयो ?’ न्यायाधीश लुइँटेलले भने । 

यो संवेदनशिल पाटोमा कानुन व्यवसायीहरू समेत गम्भिर हुनुपर्ने उनको भनाई रहेको छ । कानुन व्यवसायी र वारको सहकार्यमा आफुले अदातलको न्याय सम्पादनमा हुँदै आएको बिचौलिया हटाएको बताउँदै लुइँटेलले अझै पनि त्यस्ता क्रियाकलाप भएगरेको भए ख्याल गर्न कानुन व्यवसायीहरूलाई आग्रह गरेका छन् । ‘३३ महिनादेखि यहाँ कार्यरत छु, थुप्रै समस्याहरूलाई समाधान गरेको छु, जनआस्था कायम गर्ने र सिघ्र न्यायका लागि मेरो अनवरत प्रयास रहिरहेको छ’ न्यायधीश लुइँटेलले भने । अदालतप्रतिको स्वतन्त्रता र विश्वास कायम राख्नका लागि कानुन व्यवसायी र वारको भुमिका महत्वपूर्ण रहेको पनि उनले बताएका छन् । 

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल, वारका निर्वतनमा अध्यक्ष देवराज कँडेल, पुर्व अध्यक्षहरू रामेश्वर उपाध्याय, सुरेन्द्रराज अधिकारी, श्रीराम पाण्डे, शम्भु नेपाल, नेपाल पत्रकार महासंघका नुवाकोटका अध्यक्ष कपिलदेव खनाल लगायतले मानव अधिकार र न्याय पाउने नागरिकको हक संरक्षणका लागि नुवाकोट वारको योगदान र भूमिकाको बारेमा चर्चा गरेका थिए ।  

यसै बीच, नेपाल वार एशोसिएशन नुवाकोट जिल्ला अदालत वार एकाईको १५ औं वार्षिक साधारण सभाको बन्दसत्रमा वारका अध्यक्ष राजाराम थपलिया, सचिव कुमार अधिकारी र कोषाध्यक्ष कृष्णलाल श्रेष्ठले पेश परेको प्रतिवेदनहरू पारित भएका छन् । साथै साधारण सभाले अदालतको काम कारबाहीलाई सघाउन पु¥याउन र सहज न्याय प्राप्तीका  लागि समिति गठन गर्ने निर्णय गरेको छ । अब बस्ने वारको समिति कार्य समितिको बैठकले समिति गठन गर्ने अध्यक्ष थपलियाले जानकारी दिएका छन् । 

सभापति र सचिवकै वडामा काँग्रेस गठवन्धन बाहिर

काँग्रेसले पञ्चकन्या वडा नं. २ मा एक्लै चुनावमा जाने भनी वडा अध्यक्ष सहित तोकेर गरेको निर्णय । 

विदुर । सत्ता पक्षको गठबन्धनको जिल्ला स्तरिय संयन्त्रको बैठक तीन पटक बसेको छ । चैत १८ देखि हालसम्म तीन वटा जिल्ला स्तरिय संयन्त्रको बैठक बसेको हो । यस बीचमा पालिका स्तरमा समेत एउटा बैठक सम्पन्न भएको छ । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चुनावी तालमेलका लागि नुवाकोटमा घनिभुत गृहकार्य गरिरहेको छ । गठवन्ध संयन्त्रको बैठक बस्दै गर्दा नुवाकोटमा पार्टीमा जिम्मेवार भुमिका निर्वाह गरिसकेको नेताहरूले पार्टी परित्याग गर्ने र गठवन्धन भित्रको दलले वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको आउन थालेको छ । साथै संयन्त्रमै रहेको दलका नेताहरूले बैठक पछि बैठक बस्ने प्रक्रियालाई अल्छिपूर्ण मान्न थालेका छन् ।

गएको हप्ता नेपाली काँग्रेसका पुर्व जिल्ला उप सभापति यमबहादुर थापा नेकपा एमालेमा प्रबेश गरेका छन् । उनले जिल्ला अध्यक्ष बद्री मैनालीको घरमै पुगेर टिकाटाला गरे । उनको तयारी पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा एमालेबाट उम्मेदवारी दिने बताइएको छ । उनीसंगै काँग्रेसका नेता भगवान पौडेलपनि एमालेमा प्रवेश गरे । उनीहरूको पार्टी परित्यागका विषयमा काँग्रेसले स्प्रष्टिकरण नै सोधेको छ । सामाजिक सञ्जालमा देखिएको गतिविधिबाट अनुशासन उलंघन भएको भन्दै अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले उनीहरूलाई पत्र लेखेका छन् । 

जिल्ला संयन्त्रले बुधवार (चैत ३० गते) गठबन्धन दलका सबै पालिका प्रमुख र जिल्ला प्रमुखहरूको बैठक राखेको छ । जिल्ला संयन्त्रको हालसम्मको तीनबटा बैठकले मुख्य निर्णय एउटा मात्रै आएको छ– ‘संघीय सरकारमा रहेका गठवन्धन दलहरूको केन्द्रीय संयन्त्रको निर्णय अनुसार गठवन्ध दल भित्रका दलहरू बाहेक अन्य राजनैतिक दलसंग चुनावी गठवन्ध नगर्ने ।’

गठवन्ध दल बीच स्थानीय तह भागबण्डाको मापदण्ड कस्तो बन्ला र कुन पालिका कुन दलको नेतृत्वमा पुग्ला भन्ने आम चासोको विषयलाई ठुला दुई दलले अन्तिम समयतिर मात्रै खुलासा गर्ने रणनीति बनाएको देखिन्छ । काँग्रेस र माओवादी ‘लाष्ट आवर’ मा मात्रै ‘फ्ल्यास्’ हुन चाहेको छ भने समाजवादी र जसपाले छिट्टै टुङ्ग्याउन चाहेको छ । ‘हामीले पनि त चुनावी तयारी गर्नुपर्यो समयमानै पालिका प्रमुख/उपप्रमुख र वडा तहसम्मको समीकरणको खाका आउनु पर्ने हाम्रो माग हो’ जनता समाजवादी पार्टी (जसपा) नुवाकोटका अध्यक्ष ईश्वरकुमार राउतले भने । यही मनशाय नेकपा एकीकृत समाजवादीको पनि देखिएको छ । समाजवादी नुवाकोट अध्यक्ष गोबिन्द नेपाली बुधवार हुने छलफलबाट निचोड निकाल्नुपर्ने मनस्थितिमा छन् । ‘चुनावी रणनीतिहरू अवलम्बन गर्नका लागि पनि आन्तरिक तयारीलाई बेलैमा निष्कर्षमा लैजानु आवश्यक छ’ नेपालीले भने । 

काँग्रेसले सुर्यगढीमा गरेको निर्णय

तर नेपाली काँग्रेसलाई भने पालिका भागबण्डा चाडै हुँदा नेता/कार्यकर्तामा विचलन आउने त्रास छ । नेतृत्व गर्न चाहाने नेताहरू आफ्नो उम्मेदवारीको सुनिश्चितता नदेखेमा गठवन्धन बाहिरको पार्टीमा जाने भय काँग्रेसमा छ । पुर्व जिल्ला उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश गरेपछि काँग्रेस झस्किएको छ । तर काँग्रेस नुवाकोट सभापति रमेशकुमार महत भने पालिका बाडफाँड जटिल प्रक्रिया रहेकोले हत्तार गर्न नहुने बताउछन् । उनी पार्टी भित्रको आन्तरिक छलफल र गठवन्धन दलको छलफलबाट मापदण्ड तय गर्नुपर्ने भएकोले केही दिन लम्बिनु स्वाभाविक रहेको बताउँछन् । ‘गठवन्धनलाई अटुट राख्न र हाम्रा कार्यकर्ताहरूको मनोभावना सम्वोधन गर्नका लागि पनि बढीभन्दा बढी छलफल र अन्तरक्रियाहरू आवश्यक छ’ महतले भने । 

माओवादी केन्द्र यो गठवन्धनलाई बुद्धिमत्ता रुपमा सदुपयोग गर्ने रणनीतिमा रहेकोले ‘पर्ख र हेर’को अवस्थामा देखिएको छ । आज भोलिनै टुङ्ग्याइहाल्नु पर्ने अवस्थामा  माओवादी केन्द्र देखिएको छैन भने धेरै ढिला गराउने पक्षमा पनि माओवादी केन्द्र छैन । नेकपा एमाले लगायतका सत्ता गठवन्धन बाहिरका दलहरू चुनावी तयारीमा कसिलो र आक्रमक रुपमा लागिसकेको अवस्थामा धेरै ढिला गरी हुने सत्ता पक्षको गठवन्धनले मुस्लिम निम्त्याउन सक्नेमा माओवादी केन्द्र सचेत देखिएको छ । ‘बैज्ञानिक र जनपक्षिय निर्णयका लागि हामी चार दल जिम्मेवारीपूर्ण रुपमा छलफलमा छौं, औपचारिक छलफल मात्रै नभई हामी चार दल अनौपचारिक छलफलमा पनि उत्तिकै छौं’ माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले भने । चैत ३० गतेको बैठकबाट धेरै विषयबस्तुहरू समाधान हुने र तालमेलको मार्गचित्र प्रष्ट हुने उनको तर्क छ । 

पुर्व उपसभापति यमबहादुर थापा एमाले प्रवेश गरेपछि उनलाई सोधिएको स्प्रष्टिकरण 

गठवन्धन दलको संयुक्त निर्णय तथा अपिल बाहिर आउन थालेका छन् । किस्पाङ गाउँपालिका, विदुर नगरपालिका लगायतका स्थानीय तहले गठवन्धन कायम गर्ने निर्णय गरिसकेका छन् । उता पञ्चकन्या गाउँपालिकाको वडा नं. २ मा भने गठवन्धन दल भित्रको काँग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ । कुनैपनि दलसंग नमिलिकन वडाको चुनावमा काँग्रेस जाने भन्दै वडा अध्यक्षमा रामशरण श्रेष्ठको नाम वडा समितिले सिफारिस गरेको छ । यो वडा काँग्रेस नुवाकोट सभापति महत, जिल्ला सचिव बैकुण्ठ मिश्रको वडा हो । आफ्नै वडामा गठवन्धन टुटेको विषयलाई पार्टी सचिव मिश्रले ठुलो रुपमा लिएका छैनन् । उनले केन्द्रीय संयन्त्रको निर्णय र निर्देशन अनुसार वडा तहसम्म गठवन्धन हुने भएकोले वडाले गरेको निर्णय कार्यान्वयन नहुने बताए । यो वडामा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित छन् । 

गठवन्धन भित्रका दलहरू वडादेखि उम्मेदवार टुङ्गो लगाउँदै सिफारिस गर्ने गृहकार्यमा छन् । काँग्रेसका सम्भावित उम्मेदवारहरूको विवरण सामाजिक सञ्जालमा धमाधम आइरहेको छ । गाउँपालिका अध्यक्ष देखि वडा अध्यक्ष, वडा सदस्यहरूको नाम समेत काँग्रेसले सार्वजनिक गर्न थालिसकेको छ । माओवादी केन्द्रले पनि आफ्नो तर्फबाट पालिका प्रमुख देखि वडा सदस्यसम्मको सम्भावित उम्मेदवारहरूको टुङ्गो लगाइसकेको भएपनि त्यसलाई सार्वजनिक गरेको छैन । गठवन्धन कायम हुने भएकोले आफ्नो पार्टीको भागमा कुन पालिका र कुन वडा पर्छ, त्यसपछि मात्रै सार्वजनिक हुनु राम्रो रहेको बुझाई माओवादी केन्द्र नुवाकोटका सह–ईञ्चार्ज हिरानाथ खतिवडाको रहेको छ । ‘अहिले नाम बाहिर लैजादा भोलि पार्टीको भागमा त्यो पद वा पालिका, वडा नपर्ला कार्यकर्ता तथा नेतामा फरक भाव उत्पन्न हुनसक्ला भनेर हामीले यसलाई सार्वजनिक नगर्न भनेका छौं’ खतिवडाले भने ।  

मक्किएको हड्डी हेर्ने मेसिन त्रिशुली अस्पतालमा मात्रै

डेक्सा मेसिनको साथ डा. दिपेन्द्र पाण्डे । 

त्रिशुली । नुवाकोटका २५ प्रतिशत महिलाहरूमा हड्डी मक्किने रोग रहेको एक प्रारम्भिक तथ्याङ्कले देखाएको छ । त्रिशूली अस्पताल नुवाकोटले महिनावारी रोकिएका जुन सुकै उमेरका महिलाहरूको हड्डी मक्किने रोग ‘ओस्टियोपोरोसिस’ सम्वन्धी बिहीबारबाट आरम्भ गरेको परिक्षणबाट सो कुरा थाहा भएको हो । 

बिहीवार २७ जनाको परिक्षण हुँदा २५ प्रतिशतमा यो रोग फेला परेको त्रिशुली अस्पतालका हाडजोर्नी विशेषज्ञ तथा मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले बताएका छन् । ओस्टियोपोरोसिस भनेको हड्डी मक्कीने एउटा रोग हो जुन महिनावारी रोकिएका महिला र ज्येष्ठ नागरिकलाई बढी मात्रामा हुने गर्दछ । यसले हड्डीलाई यति धेरै कमजोर बनाउँछ कि साधारण चोटपटकका कारण समेत हड्डी भाँचिनसक्छ । यसले हिपको हड्डी, मेरुदण्ड तथा नाडीको हड्डीमा बढी असर पार्ने गर्छ । बुढेसकालमा मानिसहरूको कद सानो हुँदै जाने, कुप्रिने जस्ता समस्या यही हड्डी मक्किने रोगबाट सिर्जना हुने गर्दछ । ‘डेक्सा स्क्यान’ भन्ने मेसिनबाट मात्र यो रोग लागेको/नलागेको थाहा पाउन साकिन्छ । 

मेडिकल पढाईको क्रममा यही विषयमा विभिन्न देशमा थप तालिम गरेका मेसु डा. पाण्डेले आफ्नो अध्ययनको विषय रहेकोले महिनावारी रोकिएका र जेष्ठ नागरिकहरूको हड्डी मक्किने दर कुन गतीमा बढिरहेको छ भन्ने थाहा पाउनका लागि यो सर्भे थालेको बताएका छन् । बैशाख ५ गतेसम्म ४०० जनाको मक्किएको हड्डीको परिक्षण गर्ने योजना रहेको पाण्डेले बताए । उनका अनुसार यो परिक्षण र प्रविधि अन्यको तुलनामा महंगो रहेको छ । 

नेपालमा धेरै कम अस्पतालमा भएको यो सेवालाई त्रिशुली अस्पतालले बिहीवारबाट थालेको हो । हड्डी मक्किने रोगको परिक्षण गर्न काठमाडौका केही नीजी अस्पतालमा प्रति व्यक्ति सात हजारसम्म लाग्ने गरेको डा. पाण्डेको भनाई रहेको छ । त्रिशूली अस्पतालमा यो सेवाको लागि आवश्यक पर्ने डेक्सा स्क्यान मेसिन कोइकाले अस्पताललाई यस अघि नै सहयोग गरेको थियो । झण्डै ८० लाख रुपैयाँ बरावरको उक्त मेसिन डा. पाण्डेले बिहिवारबाट प्रयोगमा ल्याएका छन् ।

डा. दिपेन्द्र पाण्डे यही विषयका विशेषज्ञ भएकाले कोइकाले त्रिशुली अस्पताललाई यो मेसिन सहयोग गरेको हो । हड्डी मक्किने रोगको जाँच गर्नका लागि नेपालमा हाल ट्रमा सेन्टर बाहेक नेपालगञ्ज अस्पताल र काठमाडौं स्थित शसस्त्र प्रहरी अस्पतालमा मात्रै मेसिन छ । तर त्रिशुली अस्पताल बाहेक अन्य अस्पतालले हाल यो मेसिन र प्रविधि सञ्चालनमा ल्याउन सकेको छैन । 

डेक्सा मेसिनको सेवासंगै बिहीबारबाट त्रिशुली अस्पतालले महिनावारी रोकिएका महिलाहरूको शरिरमा भिटामिन डी र क्यालसियमको अवस्थाको बारे पनि परिक्षण थालेको छ । निःशुल्क रुपमा अस्पतालले सुरु गरेको यो सेवा बैशाख ५ गतेसम्म सञ्चालन हुने अस्पतालका मेसु डा. दिपेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

नुवाकोटमा भिटामिन ए कमी हुनेको संख्या उच्च


त्रिशुली । नुवाकोटका बालबालिका तथा गर्भवती महिलाहरूमा भिटामिन ए को कमी देखिएको एक अध्ययनको प्रतिवेदनले सार्वजनिक गरेको छ । 

तिलगंगा आँखा प्रतिष्ठानले तीन महिना अघि दुई चरणमा गरेको अध्ययनको प्रतिवेदन बिहीवार त्रिशुली अस्पतालमा सार्वजनिक भएको हो । जिल्लाका २० प्रतिशत गर्भवती र ४२ प्रतिशत बालबालिकामा भिटामिन ए कम छ ।

अध्ययनमा सम्लग्न तिलगंगा आँखा प्रतिष्ठानका रेटिना विज्ञ डा. रबा थापाले हिमाली, पहाडी र तराई क्षेत्रका एक÷एक जिल्लामा अध्ययन गरिएको बताइन् । उनका अनुसार हिमाली जिल्ला अन्र्तगत रसुवा, पहाडी जिल्ला अन्र्तगत नुवाकोट र तराईको पर्सा जिल्लामा सर्भेक्षण गरिएको थियो । 

जस अन्र्तगत गर्भवतीहरू बीच गरिएको परीक्षणमा रसुवाको १३ प्रतिशत, नुवाकोटको २० प्रतिशत र पर्साको ५२ प्रतिशतमा भिटामिन ए कमी देखिएको छ । त्यसै गरी बालबालिकामा रसुवामा २५ प्रतिशत, नुवाकोटमा ४२ प्रतिशत र पर्सामा ६८ प्रतिशतमा कमी पाइएको छ । 

भिटामिन ए को परीक्षणका क्रममा तीन वटै जिल्लाबाट ५५/५५ जना गर्भवती र बालबालिकालाई सहभागि गराइएको थियो । छाला र रगतबाट परीक्षण गरिएको थियो । अध्ययन परीक्षणको नतिजा पुर्नमुल्याङ्कन गर्न रगतको नमूना अमेरिका पठाइ परीक्षण गरिएको डा. थापाले बताइन् । 

नुवाकोटको एक विद्यालयका बालबालिकालाई त्रिशुली अस्प्तालमा ल्याई रगत जाँच गरेर भिटामिन ए को परीक्षण गरिएको र थप अध्ययनका लागि अन्य ६ वटा विद्यलायमा ‘भेजिमटर’ मेसिन लगेर छालाबाट भिटामिन ए को परीक्षण गरिएको थियो । नमूना अध्यायनका क्रममा देविघाटको जगतप्रकाश शाह संस्कृत मावि, बट्टारको अर्किड एकेडेमी, विदुरको पृथ्वी मावि, त्रिशुलीको त्रिभुवन त्रिशुली मावि, चौघडाको क्षेत्रपाल मावि, ढिकुरेको नारायणदेवी माविका विद्यार्थी सहभागि थिए । भैरुम मावि हात्तिगौडाका बालबालिकाहरूको भने त्रिशुली अस्पतालमा ल्याई रगतको माध्यमबाट परीक्षण गरिएको थियो । 

डा. रबा थापाका अनुसार गर्भवतीहरूमा भिटामिन ए को अवस्थाको अध्ययन गर्नका लागि भने त्रिशुली अस्पतालमा सेवा लिन आउनेहरूलाई सहभागि गराइएको थियो । 

यो अध्ययनबाट भिटामिन ए को आवश्यकमात्रा निक्कै कम महिला र बालबालिकामा देखिएको पुष्टि भएको डा. थापाले बताइन् । ‘भिटामिन ए खुवाउने अभियानलाई रोक्ने कि भन्ने गरी नीतिगत रुपमा छलफल भइरहेको समयमा यो अध्ययनले थप कार्यक्रमको आवश्यकता रहेको औल्याएको छ,’ डा. थापा भन्छिन्– ‘भिटामिन ए प्राप्त हुने खानेकुरा सेवनमा जोड दिनुपर्ने र खाने तरिकामा ध्यान दिनु पर्ने पनि देखिएको छ ।’

त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. दिपेन्द्र पाण्डेले उक्त अध्ययनमा सहभागि गराइएका ३२४ जना बालबालिकाहरूबाट आएको नतिजा अनुसार समुदायस्तरमा भिटामिन ए कमीको डरलाग्दो अवस्था देखिएको बताए । प्रतिवेदन सार्वजनिक कार्यक्रममा आफ्नो सुझाव राख्दै उनले ताजा तरकारी र हरिया तरकारी उत्पादन हुने क्षेत्रका बालबालिकामा भिटामिन ए को कमी हुने दर न्युन देखिएको र बढी घनावस्ती र सुख्खा ठाउँमा भिटामिन ए को कमी हुने दर बढी रहेको उल्लेख गर्दै यसमा नागरिकहरू समेत सचेत हुनुपर्ने बताए । 

नुवाकोटको सात विद्यालयका ३२४ जना बालबालिका मध्ये ३ वर्षका ४७ जना, ४ वर्षका ६४ जना, ५ वर्षका ८० जना, ६ वर्षका ६९ जना र ७ वर्षका ६४ जनामा भिटामिन ए को कमी देखिएको छ ।

शारीरिक विकास र स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व नै भिटामिन हो । शरीरलाई स्वास्थ राख्न र रोगबाट बचाउन भिटामिन अनिवार्य नै हुन्छ । भिटामिन मुख्यतयाः पानीमा घुल्ने र चिल्लो पदार्थमा घुल्ने प्रकृतिका हुन्छन् । भिटामिन ‘बी’ तथा ‘सी’ पानीमा घुल्ने र भिटामिन ‘ए’, ‘डी’, ‘ई’, र ‘के’ चिल्लो पदार्थमा घुल्ने हुन्छन् ।

भिटामिन ए भएका तत्वहरू समग्र रुपमा स्वास्थ रहन र दीर्घरोग विरुद्ध उत्कृष्ट मानिन्छन् । दैनिक आहारमा भिटामिन ए को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यस्तै राति नदेख्ने रतन्धो रोगबाट जोगाउँछ । आँखा तेजिलो बनाउँछ । यति मात्र होइन, भिटामिन ए ले छाला, श्वासप्रश्वास तथा प्रजनन् स्वास्थ्यसम्बन्धी रोग लाग्न दिँदैन ।  प्रायजसो भिटामिन ए को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्छ । यसको कमीले रतन्धो रोग लाग्छ । त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घ रोगहरू देखा पर्छ । 

भिटामिन ए को महत्वपूर्ण स्रोतहरूमा गाँजर, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी, पहेंला फलफूल, माछा, घ्यू, अन्डाको पहेंलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदि पर्दछन् ।

उम्मेदवारको टुंगो छैन, नेताहरुलाई भ्याइनभ्याई

एमाले विदुरले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा विष्णु रिमाल लगायतका । 

विदुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिन थालेपछि राजनीतिक दलहरूको पनि सक्रियता बढ्न थालेको छ । 

नुवाकोट जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, राप्रपा लगायत ठूला तथा साना राजनीतिक दलहरू मतदाताको घरदैलोमा पुग्न थालेका छन् । विशेष गरेर पार्टीहरूले टोल कमिटी बनाउने योजनालाई तिब्रता दिदैं मतदाताको टोलमा पुग्न थालेका हुन् । टोल कमिटि गठन र पार्टीको वडा कार्यालय उद्घाटनको नाममा पनि गाउँगाउँमा नेताहरूको ताँती लाग्न थालेको छ ।

गत फागुन २८ गते विदुर–५ पिपलटारस्थित पोष्टबहादुर बोगटीको सालिक अनावरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएका थिए । जिल्लामा माओवादीले आफ्नो दलगत गतिविधिलाई तिब्रता दिनको लागि बोगटीको सालिकको अनावरणको योजनामा केन्द्रीय अध्यक्षलाई जिल्लामा ल्याउन सफल भएको हो । यसले सदरमुकाम रहेको विदुर नगरपालिकामा पार्टीको उपस्थितीलाई बलियो बनाउन थप सघाउने माओवादीका जिल्ला नेताहरूको विश्वास रहेको छ । 

फागुन ३० गते नुवाकोटमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि नुवाकोट आएका थिए । किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाका नवनिर्मित कार्यालय भवनको उद्घाटनको लागि जिल्लामा आएका सभापति देउवाको कारण कार्यकर्ताहरूमा उत्साह छाएको नेपाली कांग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले बताए । नजिकिदो निर्वाचन, गठबन्धन सरकारको कारण व्यस्त रहेको प्रधानमन्त्री देउवाले नुवाकोटलाई प्राथमिकतामा राखेर आउनुले कार्यकर्ताहरूमा उत्साहित हुनु स्वभाविक रहेको मिश्रको भनाई छ । 

नेकपा एमालेबाट विभाजन भएर बनेको दल नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि नुवाकोट आएका छन् । चैत ८ गते विदुरमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल नुवाकोट आएका हुन् । नेता नेपाल नुवाकोट आउनुलाई नेकपा एसका जिललाका नेता तथा कार्यकर्ताहरूले आफ्नो पार्टीको प्रभावमा थप विस्तार हुने अपेक्षा गरिएको जिल्ला कमिटि सदस्य तथा आर्थिक विभाग प्रमुख रामकृष्ण राजभण्डारी बताउँछन् । 

विभिन्न पार्टीबाट समाजवादीमा प्रवेश गर्ने तीन सय जनाभन्दा बढीलाई अध्यक्षको हातबाट टीका लगाएर स्वागत समेत गराए । नेकपा एमालेबाट निर्वाचित विदुर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष राजु सडौला पनि अध्यक्ष नेपालको हातबाट टीका लगाएर प्रवेश गरेका थिए । सडौलाले तीन महिनाअघि नै एमाले छाडेर बसेका थिए । 

ठूला र सत्तासिन दलका केन्द्रीय अध्यक्षहरूको लर्को नुवाकोटमा आइरहेको बेलामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि चुनाब केन्द्रित कार्यलाई तिब्र बनाएको छ । तर, यो पटक नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नुवाकोट ल्याउने योजना भने पुरा नहुने भएको छ । नेपाल बुद्धीजिवी परिषदको केन्द्रीय महाधिवेशन नुवाकोटमा गर्ने र कार्यक्रमलाई सम्वोधन गर्न अध्यक्ष ओली आउने कार्यक्रम रोकिएको एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विन्दा ढुङ्गानाले जानकारी दिए ।

बिहीवार नेकपा एमालेका उपमहासचिव बिष्णु रिमाल सम्मान ग्रहण गर्न नुवाकोट आएका थिए । समग्र नुवाकोटको भूगोलबाट नेकपा एमाले पार्टीको केन्द्रीय समिति, प्रदेश र जिल्लागत पदीय भूमिकामा पदमा सर्वसम्मत चयन भएकाहरूको सम्मानमा आयोजित कार्यक्रममा सहभागि हुन उनी नुवाकोट आएका हुन् । रिमालसहित ४५ जना एमालेका नेताको विदुर नगरकमिटिले सम्मान गरेको थियो । पार्टीको केन्द्रीयस्तरसम्म जिम्मेवारी सम्हालेका नेताहरूको सम्मान गरिएको हो । सम्मानित हुनेमा केन्द्रीय उपमहासचिव रिमाल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय कमिटी सदस्य विन्दा ढुंगाना, उषाकिरण तिमिल्सिना, बागमती प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डे, प्रदेश सदस्यहरू तथा विदुर नगरपालिकाबाट विभिन्न कमिटिमा प्रतिनिधित्व गर्नेहरूको सम्मान भएको हो । 

स्थानीय तह निर्वाचनको मुखमा विदुर नगरमा केन्द्रीय अध्यक्ष उतार्न पाए मतदाताको विस्वास थप जित्न सक्ने एमालेको आंकलन छ । 

यस्तै, कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महतको पनि नुवाकोटमा पछिल्लो समय बाक्लै उपस्थिति देखिन थालेको छ । केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामा तामाङले जाडो महिना सुरु भएदेखि विद्यालयका छात्राछात्रलाई पोशाक वितरण गर्न गाउँगाउँ पुग्दै आएका छन् । अर्जुननरसिंह केसी योशोदादेवी भगवानसिंह मेरोरियल ट्रष्टबाट स्वास्थ्य सामग्री बोकेर गाउँगाउँमा पुगेका छन् ।

राप्रपाले पनि गतिविधिलाई तिब्रता दिएको छ । कमल थापाले राप्रपा टुक्राएर राप्रपा नेपाललाई सक्रिय बनाए पनि नुवाकोटमा भने फुटको प्रभाव परेको छैन । राप्रपाले कार्यकर्ता प्रशिक्षण सञ्चालन गरेको छ । भने गएको विहीबार विदुरमा पत्रकार सम्मेलन गरी आगामी स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार बन्नेहरूलाई उम्मेदवारको धार्मिक संस्कार अनुसार कसम खुवाएर उम्मेदवार बनाउने रणनीति छ । 

मतदान स्थलको निरिक्षण

अघिल्लो स्थानीय निर्वाचनमा ९९.९९ प्रतिशत मत खसेको म्यागङ–६ को बैजयन्ती शिक्षा निकेट आ.वि. मैवल मतदान केन्द्रमा निरक्षण टोली । तस्बिर : जगदीश खनाल

विदुर । बैशाख ३० को निर्वाचनका लागी नुवाकोटमा मतदान स्थलको निरिक्षण तथा अनुगमन सुरु भएको छ । 

बुधबार सुरक्षा निकायका प्रमुखहरूले स्थलगत रुपमै विदुर नगरपालिकाको तीन र म्यागङ गाँउपालिकाको ८ वटै मतदान स्थलको निरिक्षण तथा अनुगमन गरेका छन् । मतदान स्थलको अबस्था, निर्वाचनका सामग्रीहरू पु¥याउनको लागी सडकको अबस्था र निर्वाचन पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म सुरक्षित तरिकाले मतपेटिका ल्याई मतगणना सम्पन्न गर्ने उद्देश्यले मतदान स्थलको निरिक्षण तथा अनुगमन गरिएको गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । 

उनका अनुसार जिल्लाको १२ वटै स्थानीय तहको सबै मतदान स्थलको निरिक्षण तथा अनुगमन गरी अहिलेको वस्तुस्थितिको बारेमा जानकारी लिई मतदानको लागी मतदान स्थल तयारी अबस्थामा राख्नको लागी अनुगमन तथा निरीक्षण भएको हो । आवश्यकता, भौगोलिक विकटता, सडक सञ्जालको अबस्था र यसअघि भएका निर्वाचनको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले सुरक्षा योजना बनाईने प्रमुख जिल्ला अधिकारी रिसालले बताए । मतदान स्थलको निरिक्षण तथा अनुगमनमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामप्रकाश शाह, शसस्त्र प्रहरी प्रमुख मदन ढुङ्गाना, अनुसन्धानका प्रमुख हेमन्त चौधरी, जवरजंग गणका मेजर अञ्जय प्याकुरेल थिए । 

सो क्रममा टोलीले प्रहरी चौकीहरूको निरीक्षण समेत गरेको छ । सामरी प्रहरी चौकी, किम्ताङ प्रहरी चौकी र देउराली प्रहरी चौकीको निरिक्षण भएको हो । 

नुवाकोटमा १३२ मतदान स्थल र २८७ वटा मतदान केन्द्र छ । यसअघिको निर्वाचनमा भन्दा यो पाली ३ वटा मतदान स्थल थपिएको छ भने २ वटा मतदान केन्द्र घटेको छ । 

निर्देशन विपरित जानेलाई कारबाही

विदुर । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति नुवाकोटका संयोजक पुष्प लामिछानेले पार्टीमा अनुशासन उल्लंघन गर्ने जो कोहीलाई  कारबाही गर्ने बताएका छन् । 

संयोजक लामिछानेले पार्टीमा कुनै विवाद नरहेको भन्दै केही नेता, कार्यकर्ताले नेतृत्वको विरुद्ध सामाजिक सञ्जालमा बोल्ने र लेख्ने काम भएकोले त्यसलाई पार्टीले छलफल गरेर हल गरिने बताए । पार्टी भित्रको आन्तरिक विवाद भएता पनि त्यसलाई छलफलको माध्यमबाट समाधान गर्ने बताउदै पार्टीको आन्तरिक बैठकमा त्यस्ता बिबादलाई छलफलमा राख्न र समाधान खोज्न निर्देशन दिएका छन् । 

नेकपा माओबादी केन्द्रको बिभिन्न तहमा कार्यरत नेता, कार्यकर्ताहरूले सामाजिक सञ्जालमा प्रस्तुत गरेका बिषयहरूप्रति ध्यानाकर्षण भएको बताउदै उनले पार्टीमा रहने, अनुशासनमा नरहने जो कोहिलाई पनि छुट नभएको बताए । 

पार्टीको नियमबिपरित प्रस्तुत भएकाहरूलाई कारबाही गर्ने चेतावनी दिदै उनले कारबाही प्रक्रियाको चरण हुने भन्दै पार्टी अनुशासनविपरीत गतिविधि गरिरहेकाहरूलाई सच्चिने मौका दिइने पनि बताएका छन् । 

चुनाव केन्द्रित योजना सम्झौता


समुन्द्रटार । नेकपा एमाले दुप्चेश्वर गाउँपालिका कमिटिले गाउँपालिकाले पछिल्लो समय श्रोत सुनिश्चित नभएका योजनाहरूको सम्झौता भएको भन्दै आपत्ति जनाएको छ । 

अध्यक्ष मइतबहादुर तामाङद्धारा जारी गरिएको प्रेस बिज्ञप्ती अनुसार स्थानीय तह निर्वाचन लक्षित गर्दै आपतकालिन योजनाहरूमा समेत दीर्घकालिन असर पर्ने गरी काम भइरहेको आरोप लगाइएको छ । 

चुनवाकै लागि जनता फकाउन योजनाहरूको सम्झौता भएको र त्यसको भुक्तानी गाउँपालिकाले गर्न सक्ने अवस्था नभएको उनले बताएका छन् । उनले विज्ञप्ती मार्फत् त्यस्ता योजनाको भुक्तानी जनप्रतिनिधि स्वयंम्ले गर्नुपर्ने दावी गरेका छन् । सम्झौता भएका काम रोक्न एमालेको आग्रह छ ।  

एमालेमा आकांक्षी धेरै, पत्रकारदेखि केन्द्रीय सदस्यसम्म


तारकेश्वर । हाल नेकपा एमालेको अध्यक्ष उपाध्यक्ष नै निर्वाचित नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेमा धेरै आकांक्षी देखिएका छन् ।

अध्यक्ष पदका लागि तारकेश्वर गाउँपालिकाका सातजनाले आ–आफ्नो दावी प्रस्तुत गरेका छन् । बिहीबार संघीय सांसद नारायणप्रसाद खतिवडाको उपस्थितीमा भएको भेलामा सात जनाले आकांक्षा व्यक्त गरेका छन् । तारकेश्वर गाउँपालिका कमिटी अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा बसेको पालिकस्तरीय छलफलमा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिनादेखि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य बिष्णु तारुकेसम्मको दाबेदारी पेश भएको हो ।

बैठकमा तिम्सिना र तारुकेसहित जिल्ला सचिवालाय सदस्य हरि अधिकारी, हालका गाउँपालिका अध्यक्ष रमेश वस्ती, प्रदेश कमिटि सदस्य रामहरि न्यौपाने, गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल, एमाले तारकेश्वर ईञ्चार्ज तथा वडा नम्बर २ का वडाध्यक्ष समरबहादुर आलेमगरले गाउँपालिका अध्यक्षमा दावी गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा तारेश्वर गाउँपालिकामा एमालेले जितेको थियो । सो निर्वाचनमा एमालेका रमेशबहादुर वस्ती ३६१४ मतका साथ अध्यक्षमा जितेका थिए भने कांग्रेसका चोकराज शाक्य २६८८ मतका साथ दोस्रो र माओवादीका राजेन्द्र न्यौपाने १२३७ मतका साथ तेस्रो स्थानमा थिए ।

वाटर टावरले नुवाकोटको कृषि उत्पादनको बजारिकरण गर्ने

बिहीवार आयोजित पत्रकार भेटघाटमा होटलका सञ्चालकहरू होटलले तय गरेको नयाँ योजना सुनाउँदै । तस्बिर : सुनिता गुरुङ

बट्टार । नुवाकोटको सञ्चालित प्रशिद्ध होटल ‘होटल वाटर टावर’ले जिल्लाको अब्बल कृषि उत्पादनहरूको बजारिककरण गर्ने नीति तय गरेको छ । जिल्लाका प्रख्यात कृषि उत्पादन  चामल, माछा, कफी, कोदो, घैया लगायतलाई बाहिर जिल्लासम्म पु¥याउने र होटलमा आउने पाहुनाहरूलाई खुवाउने सेडुलमा अनिवार्य गर्ने भएको छ । 

बिहीवार होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएको हो । नयाँ ब्यवस्थापकीय जिम्मेवारीका साथ बैशाख १ गतेबाट होटल वाटर टावर सञ्चालनमा आउन लागेको छ । यही विषयमा जानकारी दिनका लागि आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा होटल सञ्चालकहरूले नुवाकोटको पर्यटन विकास र कृषि क्षेत्रलाई पर्यटनसंग जोड्ने योजना सुनाएका हुन् । ‘नुवाकोटकै उत्पादनलाई हाम्रा पाहुनाको ब्रेक फाष्टका रुपमा खुवाउने योजना छ’ नयाँ ब्यवस्थापकीय जिम्मेवारी लिन लागेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले भने । 

अब होटल वाटर टावर सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले व्यवस्थापकीय जिम्मेवारी लिएर सञ्चालन गर्ने छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी नेपालको प्रमुख सहरहरूमा २९ वटा होटल सञ्चालन गरिरहेको सफल समुह हो । सिइओ न्यौपानेले अन्तराष्ट्रिय नाका केरुङ, रसुवाको लाङटाङ र धादिङको रुभीभ्याली आउजाउ गर्ने पर्यटकहरूलाई एक रात मात्रै भएपनि नुवाकोटमा बसाउन सक्ने गरी योजना बनाएका सुनाएका छन् । 

‘हामी चिनियाँ पर्यटकहरूलाई नुवाकोटमा एक रात मात्रै भए पनि राख्ने छौं’, न्यौपानेले भने– ‘यहाँका स्थानीय तथा आन्तरिक पर्यटकहरू पनि हाम्रो प्रमुख आकर्षमा छन् ।’ उनले नुवाकोटको पर्यटन विकास प्रवद्र्धनसहित होटलमा अत्याधुनिक सेवा विस्तार गर्दै होटलसँग व्यवस्थापकीय सम्झौता गरिएको जानकारी दिएका छन् । हाल होटल सञ्चालन गरिरहेको हिमनदी पर्यटन सहकारी संस्था लिमिटेडबाटै सञ्चालन भइरहेता पनि ब्यवस्थापनको जिम्मा भने सिद्धार्थ ग्रुपले लिएको हो । अब होटलको नाम सिद्धार्थ होटल वाटर टावर रहने छ । 

करिब १५ करोड लगानीमा १४४ जनाको लगानीमा २०७३ साल जेठमा बट्टारमा होटल वाटर टावर सञ्चालनमा आएको थियो ।

बिहीवार कम्पनीका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘यस होटल वाटर टावरले थप सेवा सुविधा सहित नेपालकै हस्पिटालिटी क्षेत्रको अग्रणी ग्रुप सिद्धार्थ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरी २०७९ बैशाख १ गतेदेखि यस सिद्धार्थ होटल वाटर टावरको नामबाट सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुने जानकारी गराउँदछौ । हाम्रो यस होटल वाटर टावरमा ३३ वटा अत्याधुनिक सुविधायुक्त कोठा, कार्यक्रमका लागि हल, रेष्टुरेन्ट तथा बार लगायतका सुबिधाहरू छन् । यस होटलले निकट भबिष्यमा ५०० जना भन्दा बढी क्षमताको हल, स्विमिङ पुल, हेल्थक्लव, पारिवारिक वातावरण सहितको फाइनडाइन रेष्टुरेन्ट र प्राइभेट डाइनिङ रुम लगायतका संरचनाको निमार्ण गरी थप स्तरिय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।’

सिद्धार्थ ग्रुपले होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरूको नेटवर्क बनाएको छ । सिद्धार्थ ग्रुपले कैलालीको टिकापुर, कर्णालीको चिसापानी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको बिर्तामोड, कपिलवस्तुको चन्रौटा, बुटवल, चितवनको चुम्लिङटार, 

काठमाण्डौको बानेश्वर, धोबिघाट, तीनकुने, सुन्धारा, बौद्घ लगायतका स्थानहरूमा २९ वटा शाखामार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएकोे छ । 

नुवाकोटको होटल वाटर टावरमा व्यवस्थापकीय साझेदारी सहित सेवा विस्तार गरेको उक्त ग्रुपले बागमती प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ देशका अन्य प्रमुख शहरहरूमा सेवाविस्तार गर्ने तयारी गरि रहेको सञ्चालक ध्रुबप्रसाद रिमालले कार्यक्रममा बताएका छन् । 

उनका अनुसार सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ । 

लागू औषध बारेमा अन्तरक्रिया

लागू औषध प्रयोगमा जिल्लाको अवस्था बताउँदै प्रजिअ रिसाल । तस्बिरः प्रितिका थापा

विदुर । लागूू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अभियानमा सक्रिय अभियन्ता बशन्त कुँवरले संयुक्त राष्ट्र संघको विश्व लागूु औषध प्रतिवेदन २०२१ ले वर्षेनी लागूु औषध प्रयोगकर्ता बढ्दै गएको देखाएको र नेपालमा एक लाख ३१ हजार जना लागूु औषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय नुवाकोटद्धारा आयोजित लागूू औषध नियन्त्रणमा सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । 

उनले दुब्र्यसनमा युवा, किशोर किशोरीको संख्या बढ्दै जानु चिन्ताको विषय रहेको बताउँदै विशेष गरी अवैध लागूु औषध गाँजा चरेसको खेती खुल्ला हुनु नहुने धारणा राखेका छन् । 

कार्यक्रममा जिल्ला समन्व्य समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले युवा वर्गमा स्वभाव, बोल्ने शैली, दैनिक आचरण परिवर्तन हुँदै जानु, शरीर कमजोर बन्दै जानु जस्ता लक्षणहरू देखिएमा लागूु औषधको दुव्र्यवसनमा फसेको हुनसक्ने हुँदा यस तर्फ अभिभावक सचेत बन्नु पर्ने कुरामा जोड दिएका छन् । 

उनले कत्तिपय परम्पराले लागूु औषध सेवन र दुब्र्यसनमा धकेल्ने हुँदा समाजले त्यस्तो कुरालाई हटाउदै लैजानु पर्ने बताए । 

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद रिसालले राज्य, समाज, प्रहरी प्रशासन, जनप्रतिनिधि सबैको सामूहिक प्रयासबाट मात्रै लागूु औषध नियन्त्रण हुने कुरामा जोड दिए । 

कार्यक्रममा सहभागिहरूलाई सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले लागूु औषधको प्रयोग, त्यसले पार्ने दिर्घकालिन असर र प्रचलित कानुनको विषयमा प्रस्तुतिकरण गरेका थिए । 

लिजामा रसुवाको गोसाइँकुण्ड पहिलो

विदुर । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा रसुवाको गोसाइँकुण्ड गाउँपालिका पहिलो बनेको छ ।

रसुवा जिल्लाको पाँचवटा गाउँपालिकामध्ये लिजामा गोसाइँकुण्ड गाउँपालिका पहिलो बनेको हो । आर्थिक वर्ष २०७७/७८ मा ६८.५७ अंक ल्याएर गाउँपालिका पहिलो बन्न सफल भएको हो । यो गाउँपालिकाको औसतमा ६८.७५ प्रतिशत अंक छ । यसमा समग्र स्थिति ७७.३८, प्रक्रियागत ६३.२४ र परिमाणात्मक ६८.८९ छ ।

लिजामा ६४.२५ अंक ल्याएर कालिका दोस्रो, ६१.७५ अंक ल्याएर नौकुण्ड तेस्रो र ६१.५ अंक ल्याएर उत्तरगया तेस्रो भएको छ । रसुवा जिल्लाको औसतमा ६४.०६ प्रतिशत अंक छ । यसमा समग्र स्थिति ६६.३७, प्रक्रियागत ६१.७६ र परिमाणात्मक ६४.७२ छ ।

देशभरका स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्यांकन (एल आई एस ए–लिजा) कार्यान्वयनमा रहेको छ । गत वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ जारी गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको स्वमूल्यांकन गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । 

यो प्रणालीमा स्थानीय तहले निश्चित सूचकका आधारमा आफ्नो मूल्यांकन आफैँ गरी आफैँबाट सुधारको मार्गप्रशस्त गर्नसक्ने व्यवस्था गरिएको छ । स्वमूल्यांकन प्रणालीको सही रूपमा कार्यान्वयन हुन सके स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि मार्गप्रशस्त भई सेवाप्रवाह थप प्रभावकारी बन्नुका साथै जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धात्मक सुधारमार्फत स्थानीय तहमा सुशासन कायम गर्न कोसेढुङ्गा सावित हुनसक्ने देखिएको छ ।  

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधिले लिजाको कार्यान्वयनमार्फत स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिका बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षको पहिचान गर्न सघाउँछ । विकास तथा सुशासनका सन्दर्भमा रहेका कमीकमजोरी पहिल्याउन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र स्थानीय तहका बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने अभीष्ट राखेको छ । 

कार्यविधिमा स्थानीय तहमा स्वमूल्याङ्कनका लागि दसवटा विषय क्षेत्रमा विभिन्न सूचक निर्धारण गरिएका छन् । ती विषय क्षेत्रमा शासकीय प्रबन्ध, सङ्गठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह र न्यायिक कार्यसम्पादन छन् । यसैगरी भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन एवं सहकार्य र समन्वयजस्ता विषयलाई समेत स्वमूल्याङ्कनमा समावेश छ । यी दसवटा विषय क्षेत्रमा विभिन्न एक सयवटा सूचक निर्धारण गरी एक सय नै पूर्णाङ्क रहने गरी प्रत्येक सूचकको निश्चित अंकभार निर्धारण गरिएको छ ।

कृषकहरुलाई तादी र विदुरमा बोका र बाख्रा अनुदान

विदुर नगरपालिकाको सहयोगमा एकल महिला संस्थाले किसानहरूलाई बाढेको बाख्रा ।

खरानीटार । नुवाकोटको तादी गाउँपालिका र विदुर नगरपालिकाले किसानहरूलाई बोका र बाख्रा वितरण गरेको छ । 

तादी गाँउपालिकाले २१ जना बाख्रा पालक किसानहरूलाई उन्नत जातको ब्याडको बोका ९० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । 

बोयर जातका ब्याडको बोका किसानहरूलाई उपलब्ध गराएको तादी गाँउपालिकाको कार्यालयले जनाएको छ । मागमा आधारित कार्यक्रम अनुसार किसानहरूको १० प्रतिशत सहभागीतामा माग भए बमोजिक २१ जना किसानहरूलाई बोयर जातको बोका उपलब्ध गराएको हो । तादी गाँउपालिकाले बाख्रा प्रबद्र्धन कार्यक्रम मार्फत पकेट क्षेत्र निर्धारण गरि किसानहरूलाई अनुदान उपलब्ध गराउदै आएको तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताएका छन् ।

लामो समय देखि बाख्रा पाल्दै आएका किसानहरूको सुचिकरण गरि १० प्रतिशत मात्रै किसानको लागत पर्ने गरी गाँउपालिकाले ब्याडको बोका उपलब्ध गराएको हो । एकै बोकालाई १ लाख ३० हजार भन्दा बढी परेको गाँउपालिकाले जनाएको छ । ५० किलो भन्दा माथिको ९३ प्रतिशतका बोयर जातका ब्याडका बोकाहरू उपलब्ध गराएको पशु बिकास शाखाले जनाएको छ । 

यस्तै, विदुर नगरपालिका निम्न आय स्तर भएका एकल महिलाहरूलाई उन्नत जातको बाख्राको पाठी वितरण भएको छ । विदुर नगरपालिकाको सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला संस्थाको आयोजनामा भएको कार्यक्रमको बीच बाख्राको पाठी वितरण गरिएको हो ।

 गरिवीको रेखामुनी रहेका एकल महिलाहरूको आर्थिक स्थिति सुधार गर्ने उद्देश्यको साथ ४ देखि ६ महिनासम्मका पाठीहरू वितरण गरिएको छ । नगरभित्रको १३ वटै वडाका एकएक जना छनौट गरेर बाख्राको पाठी वितरण गरिएको हो ।

केसी गैससको प्रदेश सह सचिव


विदुर । गैर सरकारी संस्था महासंघ (गैसस) बागमती प्रदेश कमिटिको सह–सचिवमा नुवाकोटका मिनकुमार केसी निर्विरोध निर्वाचित भएका छन् । 

केसी गैसस महासंघ जिल्ला कार्य समिति नुवाकोटका अध्यक्ष हुन् । बिहीवार हेटौडामा सम्पन्न अधिवेशनले आरती पाठकको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । यस्तै नुवाकोटका देवकी पौडेल कार्य समिति सदस्य पपदमा निर्विरोध निर्वाचित भएका छन् । पौडेल यस अघि पनि प्रदेश सदीय थिए । 

संघको अधिवेशन स्थगित

विदुर । नुवाकोट उद्योग वाणिज्य संघको अधिवेशन स्थगित भएको छ । संघको १८ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन विशेष कारण भन्दै स्थगित गरिएको हो । शनिवार (चैत २६ गते) संघको बार्षिक साधारण सभा र अधिवेशन तोकिएको थियो । 

संघका अध्यक्ष ताराबहादुर कार्कीद्धारा जारी सूचना अनुसार अर्को सूचना नभएसम्मका लागि अधिवेशन रोकिएको हो । संघले एक स्थानीय तह निर्वाचन घोषणा भइसकेपछि आफ्नो बार्षिक साधारण सभा र अधिवेशन राखेको थियो । स्थानीय तह निर्वाचन हुने पक्कापक्की भएमा रोक्ने आन्तरिक तयारी गरेर नै नुवाकोट उद्योग बाणिज्य संघले अधिवेशनको मिति तोकिएको थियो । 

काँग्रेस निकटका ब्यवसायीहरू मात्रै कार्य समितिमा निर्वाचित भएको संघको ११ औं अधिवेशनलाई स्थानीय तह निर्वाचनका आकांक्षी उम्मेदवारहरूलाई ‘सेटल’ गराउने फोरमका रुपमा प्रयोग गराउन खोजिएको थियो । 

अब बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा काँग्रेसबाट उम्मेदवार हुन नसक्नेहरूलाई संघको पदाधिकारीमा ब्यवस्थापन गराउने गरी संघलाई प्रयोग गरिने बुझिएको छ । 

ब्याटमिन्टन संघमा तामाङ

विदुर । गत हप्ता भएको नुवाकोट ब्याटमिन्टन संघको जिल्ला अधिवेशनबाट धनसिङ तामाङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । संघको उपाध्यक्षमा हरिकृष्ण डङ्गोल, श्रीराम तामाङ्ग, चन्दन घले, र रामकुमार रिजाल चयन भए । 

सचिबमा पारस अधिकारी र कोषाध्यक्षमा प्रेमकृष्ण राजभण्डारी चयन भएका छन् । यस्तै संघको सदस्यहरूमा शिवलाल श्रेष्ठ, भिम बज्राचार्य, बिष्णु प्याकुरेल, रबिन्द्र भुजेल, रामकुमार कोइराला, अजय थापा, आयुषा प्याकुरेल र अस्मिता रिमाल चयन भएका छन् ।

संघको पहिलो कार्य समिति बैठकले सदस्यहरूको मनोनय समेत गरेको छ । जसमा प्रोग्रेश श्रेष्ठ, धिरज सापकोटा, राजेन्द्र श्रेष्ठ, राजिव पन्थ, प्रज्वल प्रधान, रोशन अधिकारी र सुरेश गुरुङ छन् 

संघको सल्लाहकारहरूमा गणेश शाही, कुलबहादुर खड्की, बिनयप्रसाद लामिछाने, फैसिङ तामाङ र शनी चित्रकार चयन भएका छन् ।


समुन्द्रादेवीमा प्रशुती सेवा सुरु

विदुर । शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी स्वास्थ्य चौकीमा प्रशुती सेवा सुरु भएको छ ।

समुदायमा अझै पनि घरैमा सुत्केरी हुने गरेको र आमा र बच्चाको स्वास्थ्यमा समस्या उत्पन्न भई ज्यान नै जोखिममा पर्ने गरेको पाइएकोले पालिकाले समुन्द्रादेवी स्वास्थ्य चौकीमा नै प्रशुती सेवा सुचारु गरेको बताइएको छ । वडामा रहेको स्वास्थ्य चौकीमा नै प्रसुति सेवा उपलव्ध भएसँगै सुत्केरी गराउन अन्य स्वास्थ्य सस्था धाउनुपर्ने बाध्यता हटेको स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख उद्धव कार्कीले बताएका छन् ।

समुन्द्रादेवी सहित शिवपुरीको ६ वटा स्वास्थ्य चौकीमा प्रशुती सेवा उपलव्ध रहेको छ । वडा नम्बर १ मा रहेको तलाखु स्वास्थ्य चौकी, वडा नम्बर ३ मा रहेको सल्लेमैदान स्वास्थ्य चौकी, वडा नम्बर ४ मा रहेको सिक्रे स्वास्थ्य चौकी, वडा नम्बर ७ मा रहेको सुनखानी स्वास्थ्य चौकी र वडा नम्बर ८ मा रहेको थानापती स्वास्थ्य चौकीमा यस अघि नै प्रशुती सेवा उपलव्ध रहेको थियो । 

आगामी आर्थिक वर्षमा वडा नम्बर ५ र २ मा रहेको स्वास्थ्य चौकीमा पनि प्रशुती सेवा उपलव्ध गराउने लक्ष्य राखिएको शविपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताएका छन् । 

शिवपुरी गाउँपालिकाले स्वास्थ्य संस्थामा गई नियमित रुपमा गर्भजाँच गराएमा गर्भवतीले ४ क्रेट अण्डा, ४ प्याकेट आयोडिन नुन प्राप्त गर्नेछन् । त्यस्तै पहिलो पटकको गर्भ जाँचमा सय रुपैयाँको रिजार्च कार्ड समेत उपलव्ध गराउने गरिएको छ । स्वास्थ्य संस्थामा नै गई सुत्केरी गराउनलाई प्रोत्सहान गर्न गाउँपालिकाले ५ सय रुपैयाँ पोषण भत्तासँगै स्थानीय स्वास्थ्य सस्थामा सुत्केरी हुन नसकी अन्य अस्पतालमा जान परेमा पालिकाले निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरेको गाउँपालिका उपाध्यक्ष मञ्जु केसीले बताए । 

निर्वाचन आचारसंहिता लागू

विदुर । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता शुक्रबार मध्य रातिदेखि लागू भएको छ । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता लागू भएको हो ।

सामाजिक सञ्जालमा के गर्न पाइँदैन ?

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण राख्ने जस्ता काम गर्न पाइने छैन । आयोगले सामाजिक सञ्जालभित्र एसएमएस, फेसबुक, मेसेञ्जर, भाइबर, ट्वीटर, यूट्यूब, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट, लिन्क्ड्इन, टमलरजस्ता प्लेटफार्मलाई उल्लेख गरेको छ ।

१) सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने ।

२) निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने ।

३) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने ।

४) कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने ।

५) कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने ।

उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने

स्थानीय तहको चुनावमा उम्मेदवारी दिँदा उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै उम्मेदवारले १९ बुँदे स्वघोषणा गर्न‘पर्ने व्यवस्था गरेको हो । 

निर्देशिकाअनुसार उम्मेदवारले आफू कुनै पनि ठेक्कपट्टामा नरहेकोदेखि सरकारी सेवा सुविधा नलिएको समेतका स्वघोषणा गर्नुपर्नेछ । उम्मेदवारले नेपालको संविधानप्रति पूर्ण निष्ठावान् रहेको, कुनै पनि सरकारी संस्थाबाट पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको, सरकारी लाभको पदमा नरहेको, प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीमा नाम नरहेको, स्थानीय तहलाई जिन्सी वा नगद बुझाउन बाँकी नरहेको स्वघोषणा गर्नुपर्नेछ । कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल–अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको, सरकारी पेस्की, बेरुजु बुझाउन नरहेको, चुनावी आचारसंहितामा प्रतिबद्ध रहेको लगायतका स्वघोषणा पनि उम्मेदवारले गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्देशिकामा निर्वाचन अधिकृत सम्बन्धी व्यवस्था, सरोकारवालाको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता, मनोनयन, मतदाता नामावली, मनोनय, मतदान, मतगणना लगायका विषय समावेश रहेका छन् । 

माथिल्लो त्रिशुली–१ को निर्माण तीव्र गतीमा

विदुर । रसुवा जिल्लाको सबैभन्दा ठूलो माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ । 

त्रिशुली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।

धुञ्चेको पुछार भोटेकोसीमा बाँध बाँधी नौ दशमलव सात किमी सुरूङको सहायताले मैलुङ दोभानमा पानी पु¥याई विद्युत् उत्पादन गरिने छ । रु ५५ अर्बका लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीले दुई महिनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो ।

आर्थिक स्रोेत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँंग विद्युत् खरिदबिक्रीको सम्झौता, बाह्य संरचनान्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरूङ निर्माणको काम अगाडि बढाइएको छ । सदरमुकाम धुञ्चे पुछार भोटेकोसीमा १०९ मिटर लम्बाइ, ३०.८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६.७ मिटर व्यास र नौ दशमलव सात किलोमिटर लम्बाइको हेडरेस सुरूङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरूङ निर्माणअन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरूङ निर्माण हुने छ । अधिकांश स्थान भीरपाखो रहेको भोटेकोसीको साँघुरो बगर क्षेत्रमा काम गर्न असहज भए पनि क्रमिक रूपले व्यवस्थापन गर्दै निर्धारित समयमै भूमिगत संरचना निर्माण सम्पन्न गराउन प्राविधिक समूह अगाडि बढिरहेको निर्देशक अधिकारीले बताए । 

सम्पूर्ण संरचना भूमिगत, कडा चट्टान भएका कारण भू–क्षय तथा बाढीपहिराले कुनै असर नगर्ने र वर्षा यामको कुनै बेला भोटेकोसीमा बाढी आइहाले पनि मुहानको ढोका बन्द गर्नासाथ सबै उपकरण सुरक्षित हुने प्राविधिकले बताएका छन् । विद्युत्गृहमा फ्रान्सिस नामक तीन टर्बाइन जडान हुने र प्रतिटबाईन ७२ मेगावाट क्षमताको हुने जनाइएको छ ।

तिब्बतबाट आउने भोटेकोसी एवं लेहेन्दे खोला, नेपाली भूभागको टिमुरेको घटृेखोला, रोङ्गा, लाङ्टाङ् एवं गोसाइँकुण्डबाट आउने त्रिशुलीसमेतका ठाडो खोल्छाबाट झरेको पानी धुञ्चे पुछारमा एकत्रित हुने र पौराणिककाल देखिको त्रिशुलीको पानीसमेत विद्युत् उत्पादनमा यथेष्ट हुने बताइएको छ । 

विसं २०१८ साउनमा एक पटक ठूलो बाढी आए पनि त्यसले नदी किनारका बस्तीलाई कुनै असर नगरेका कारण विकास–निर्माणका संरचना भरपर्दो हुने कालिका–२ धैबुङका पण्डित टंकप्रसाद ढकालले बताएका छन् । 

नेपाल वाटर एण्ड एनर्जी डेभलमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र नौ विदेशी बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ । 

वार्षिकरूपमा १.४५ करोड युनिट विद्युत् उत्पादन हुने छ । प्रतियुनिट हिउँद याममा  आठ रुपैयाँ ४० पैसा तथा वर्षायाममा चार रुपैयाँ ४० पैसाका दरले खरिदबिक्री गर्ने गरी प्राधिकरणसँंग पिपिए सम्झौता सम्पन्न भइसकेको बताइएको छ । 

हिमपातका समयमा पानी जम्न गई जलप्रवाहमा कमी आउने भएका कारण शरद्, हेमन्त र शिशिर ऋतुका समयमा भने ५० प्रतिशत उत्पादन घट्ने आयोजनाले जनाएको छ । पाँच वर्षमा आयोजनाको संरचना निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । उत्पादन शुरू भएपछि १० वर्षभित्र दातासँंग भएको सम्झौता बमोजिमको ऋण रकमको साँवा र ब्याज क्रमिक रूपमा चुक्ता गर्दै जाने बताइएको छ ।

टाइफाइड खोप अभियान सञ्चालन

विदुर । शुक्रवारबाट नुवाकोट सहित देशैभर टाइफाइड खोप अभियान सञ्चालन भइरहेको छ । वैशाख १८ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा अनुसार सञ्चालन भइरहेको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रुपमा लिइएको छ ।

हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेन समेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सकेको सो अवसरमा जानकारी दिइयो । नेपालमा अझैपनि टाइफाइड रोगको उच्च संक्रमण साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र देखिएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी नियमित खोपमार्फत १५ महिनाकालाई निरन्तर उपलब्ध गराइने छ । 

श्रेष्ठ अनुशासन समितिको संयोजक


विदुर । नेपाली कांग्रेस नुवाकोटले गत हप्ता बसेको नियमित बैठकले स्थानीय तह चुनावमा पार्टीको सर्कुलर कार्यान्वयन नभए-नभएको अनुगमन गर्नका लागि जिल्ला अनुशासन समिति गठन गरेको छ । साथै जिल्ला समितिमा तीन जनालाई मनोनित समेत गरेको छ । 

जिल्ला सचिव श्रीराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय जिल्ला अनुशासन समिति गठन गरेको छ । 

काँग्रेस जिल्ला कार्यसमिति बैठकले नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार श्रेष्ठको संयोजकत्वमा जिल्ला अनुशासन समिति गठन गरेको हो । श्रेष्ठको संयोजकत्वमा गठित अनुशासन समितिमा नवराज घिमिरे र सीता तामाङ सदस्य छन् । 

पार्टीको उम्मेदवारले कुनै सदस्य वा पार्टीको निकायले प्रत्यक्ष वा परोक्ष रुपमा पार्टी वा उम्मेदवारका हित विपरित काम गरेको, निष्कृय बसेको वा अन्य उम्मेदवारलाई सहयोग हुने कार्य गरेको देखिएमा जिल्ला अनुशासन समितिले त्यस्ता सदस्यलाई तत्काल सम्झाउने, चेतावनी दिने, नमानेमा सदस्यता निलम्वन गरि सोको जानकारी प्रदेश र केन्द्रीय अनुशासन समितिलाई दिने वैधानिक व्यवस्था छ ।

यस्तै बैठकले ३ जना जिल्ला कार्य समिति सदस्य मनोनित गरेको छ । मनोनित हुनेहरूमा पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ का कृष्ण मिश्र, विदुर नगरपालिका वडा नम्बर ३ का बद्रिप्रसाद रिमाल र म्यागङ गाउँपालिका वडा नम्बर ३ का गणेश तामाङ छन् । 

कविता

यात्रा

रामचन्द्र तिम्सिना(आवाज)


विगतको कथा र आगतको कल्पना

एकाकार हुँदोरहेछ कहिलेकाही !

लाग्छ अहिले 

वर्तमान ठिङ्ग उभिएर प्रश्न गर्दैछ 

कस्तो भयो तेरो सिङ्गो जीवनको यात्रा ?


बाको हात समातेर ताते गर्न सिकेको मान्छे

नातीको औंला समातेर उठ्न खोज्दैछ

यौनकर्मिको जिवनी जस्तो कथा

जवानी ठिङ्ग उभिएर प्रश्न गर्दैछ

कस्तो भयो तेरो सिङ्गो जवानीको यात्रा ?


सरकार अंगेनामा बसेर गफ हाँक्दैछ

नेता मञ्चमा बसेर भ्रम बाँढ्दैछ

कार्यकर्ता चौरमा बसेर थपडी मार्दैछ

भोगवादको रसस्वादनमा डुब्दैगर्दा

समाजवाद ठिङ्ग उभिएर प्रश्न गर्दैछ

कस्तो भयो तेरो सिङ्गो सत्तावादको यात्रा ?


लाम लागेर उभिएका सहिदका सालिकहरु

हतियार उठाउने र बिसाउने भ्रमवादका ठेलिहरु

सुनको बिस्तरामा अरवौंको लालपुर्जा सिरानी राखेर सुत्दै गर्दा

साम्यवाद ठिङ्ग उभिएर प्रश्न गर्दैछ

कस्तो भयो तेरो सिङ्गो क्रान्तिकारी यात्रा ?


ऋृण र अनुदानले देश बनाउने सपनाहरू 

आदर्श र भाषणले समृद्धि ल्याउने चाहनाहरु

लासको बाकसमा रेमिटान्सको गन्ध सुंघ्दै गर्दा

माओवाद ठिङ्ग उभिएर प्रश्न गर्दैछ

कमरेड कस्तो भयो तेरो सिङ्गो जनयुद्धको यात्रा ?

कस्तो भयो तेरो सिङ्गो जनयुद्धको यात्रा ?

– म्यागङ ५ सामरी, नुवाकोट

तस्बिर समाचार



नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले विदुरमा शुक्रवार आयोजना गरेको ३३ औं जिल्ला सभाको उद्घाटन समारोहमा मन्तब्य राख्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल । तस्बिर : समुन्द्र अधिकारी 

विश्वमै पहिलोपटक वन्यजन्तुलाई कानूनी अधिकार !


काठमाडौं । विश्वमा एकातर्फ कैयन् देशका जनताहरु आफ्नो आधारभूत मानव अधिकारका लागि संघर्ष गरिरहनु परेको छ । अर्कोतर्फ एउटा देशमा चाहिं जंगली जनावरहरुले समेत कानूनी अधिकार प्राप्त गरेका छन् । वन्यजन्तुले प्राप्त गरेको कानूनी अधिकारमा बाँच्न पाउने अधिकार तथा प्रकृतिमाथिको अधिकार पनि सामेल गरिएको छ । वास्तवमा एक अदालतको ऐतिहासिक फैसलापछि वन्यजन्तुले कानूनी अधिकार प्राप्त गरेका हुन् । यसरी विश्वमै वन्यजन्तुलाई कानूनी अधिकार प्रदान गर्ने पहिलो मुलुक इक्वेडर बनेको छ ।

वन्यजन्तुले कानूनी अधिकार पाएको विषय एउटा रोचक घटनासँग जोडिएको छ । स्थानीय लाइब्रेरियन एना ब्रिटिजले जंगलबाट एउटा करीब एक महिना उमेरको भुवादार प्रजातिको बाँदरको बच्चालाई घरमा ल्याइन् । उनले उक्त बाँदरको नाम राखिन्, एस्ट्रेलिटा । उक्त बाँदर १८ वर्षसम्म उनकै घरमा बस्यो । उसले मानिससँग इशारामा कुरा गर्न सिक्यो भने आवाज निकाल्न पनि सिकेको थियो । निकै आरामको जीवन बिताइरहेको थियो उसले । तर एकदिन एस्ट्रेलिटालाई स्थानीय प्रशासनले ब्रिटिजको घरबाट जफत गरेर लग्यो र चिडियाखानामा हालिदियो । घरमा सुखसयलपूर्वक बसिरहेको बाँदरले चिडियाखानामा बस्न मन पराएन । उसलाई मुटु तथा फोक्सो सम्बन्धी समस्या देखियो र एक महिनामा उसको मृत्यु भयो ।

आफूले १८ वर्षदेखि पालेको बाँदरलाई जफत गरेर चिडियाखानामा हालिएसँगै एना ब्रिटिजले अदालतमा मुद्दा हालेकी थिइन्, जसमा उक्त बाँदरलाई फिर्ता पाउनुपर्ने उनको माग थियो । चिडियाखानामा एस्ट्रेलिकालाई तनाव हुने र ऊ बस्न नसक्ने एनाको दाबी थियो ।

अदालतमा दायर गरेको मुद्दामा उनले वैज्ञानिक प्रमाणहरु समेत पेश गरेकी थिइन् । जसमा आफ्नो बाँदरको संज्ञानात्मक क्षमता र सामाजिक जटिलतायुक्त व्यवहारका कारण चिडियाखानामा एक्लै बस्न समस्या पर्ने बाँदरले कम्तिमा पनि शारीरिक स्वतन्त्रताको अधिकार राख्ने उनको मागदाबी थियो । सरकारी अधिकारीहरुले एना ब्रिटिजको दाबीमाथि विश्वास नगर्दा र संवेदनशीलता नदेखाउँदा एस्ट्रेलिका बाँदरको चिडियाखानामै मृत्यु भयो । तर त्यस मुद्दामा अदालतले जुन फैसला सुनायो, त्यसले इतिहास लेखिदिएको छ ।

अदालतले आफ्नो आदेशमा स्थानीय प्रशासन र एना ब्रिटिज दुबैले एस्ट्रेलिका बाँदरको अधिकारको हनन गरेको ठहर गरेको छ । स्थानीय प्रशासनले बाँदरलाई चिडियाखानामा हाल्नु अगाडिका आवश्यकतामा ध्यान नदिएको र एना ब्रिटिजले उक्त बाँदरलाई जंगलबाट आफ्नो घरमा ल्याएर गल्ती गरेको अदालतले उल्लेख गरेको छ । अदालतले वन्यजन्तु अधिकारको कानूनलाई बलियो बनाउन र कानूनको अभाव भएमा नयाँ कानून निर्माण गर्न सरकारलाई आदेश दिएको छ ।

जंगली जनावरलाई घरेलु बनाउनु र त्यसको मानवीयकरण गर्नुले पर्यावरणीय चक्र र प्रकृतिको सन्तुलनमा पनि असर पर्ने भन्दै अदालतले यस्तो कार्य वन्यजन्तुको कानूनी अधिकारको हनन रहेको अदालतले ठहर गरेको छ । वन्यजन्तुलाई प्रकृतिमाथिको अधिकार प्राप्त रहेको भन्दै अदालतले वन्यजन्तुको बाँच्न पाउने अधिकार रहेको पनि फैसलामा उल्लेख गरेको छ । अदालतको आदेशसँगै नयाँ वन्यजन्तु अधिकार कानून निर्माण भएपछि इक्वेडरमा कुन जनारलाई कस्तो र कति अधिकार प्राप्त छ ? भन्ने प्रष्ट हुनुका साथै वन्यजन्तुका कस्ता अधिकार हनन गर्न सकिँदैन भन्ने कानूनी प्रष्टता हासिल भएको छ ।

‘कांग्रेस एमालेसँग मिलेर बाह्रैकाल लखेट्ने ?’


विदुर । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमाले प्रवेश गरेको भोलिपल्टै नेकपा माओवादी केन्द्रमा फर्किए । गएको सोमबार नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका उनी मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादीमा फर्किएका हुन् । डल्लाकोटी बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनले केही मान्छेको परिबन्धमा परेका बालकोट पुग्नु गल्ती भएको बताएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले बताए ।

डल्लाकोटीको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । कार्यकर्ता र जनताप्रति  गर्व गर्छ‘ र, म २ दिनमै घर फर्केको छु ।’ जवाफ प्रचण्डले ‘गल्ती गरे भनिसक्नुभो, अब काममा फर्कनुस्’ भनेका छन् ।

डल्लाकोटी यसो भन्छन् ः 

म गएको बुधबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगें । उहाँले ‘तपाईंले गल्ती स्वीकारिसक्नुभयो, अब काममा फर्कनुस्’ भन्नुभयो । पार्टीभित्र आन्तरिक जीवन बलियो बनाउनुपर्छ । जबजब निर्वाचन आउँछ, हाम्रो पार्टी आफ्नो एजेण्डा लिएर जनतामा जानेभन्दा कार्यकर्ता मिलाउन बढी व्यस्त हुनुपर्छ । यो समस्या छ । मैले पार्टीभित्र आफूले भोगेका समस्या अध्यक्ष प्रचण्डलाई राखें । गाउँपालिकामा पार्टी बनेको छ । तर, जिल्लामा केन्द्रको गठबन्धनभन्दा फरक ध्रुवीकरण हुने अवस्था विकास भइरहेको बारे पनि भनें ।

खासगरी पार्टीभित्रै केही साथीहरू जसले जनयुद्ध लड्नुभयो, उहाँहरूप्रति सम्मान छ । उहाँहरूले भोग्नुभएको दुःखप्रति सहानुभूति पनि छ । यो हाम्रो गर्व गर्न लायक इतिहास हो । यो हाम्रो इज्जत पनि हो, यसलाई त हामीले ग्रहण गर्न सक्नुपर्छ । 

म जनताको काम गर्न गएको हुँ, जनताको सेवक भएर गएको हुँ । म पार्टी बिगार्नभन्दा बनाउन गएको हुँ । मैले त्यहाँ पार्टी बिगारेको छैन । पार्टीभित्र एउटाको प्रगतिमा अर्को खुसी हुने कि रिस गर्ने ? मलाई केही साथीहरूले निरन्तर खेद्ने काम गरे । यसरी हामी कसरी गन्तव्यमा पुग्न सक्छौं ? साथीहरूले मलाई काममा सहयोग गर्ने कि कांग्रेस एमालेसँग मिलेर मलाई बाह्रै महिना बाह्रैकाल लखेटी मात्रै राख्ने हो ? साह्रै अपमानको अवस्था भएपछि मान्छेले स्वभाविक रूपमा विद्रोह गर्छ । तर पनि म संयमित भएको छु ।

मलाइ चुनाव जित्न समस्या होइन, म जनताको काम गर्ने मान्छे, म उहाँहरूको दुःख सुखसँग जोडिनसक्छु । यो पार्टी बनाउन समय र ऊर्जा खर्चिएको १६ वर्ष भयो । यो अवधिमा कुनै दिन पनि पार्टीको विरुद्धमा काम गरिएन । गर्न पनि मन लाग्दैन । तर पार्टी बनाउन मैले खेलेको भूमिकाको कुनै मूल्यांकन भएन । केही साथीहरूले एकोहोरो लखेटिरहे । डेढ दशकभन्दा लामो समय पार्टीभित्र लागिरहे पनि पार्टीमा हाम्रो स्वामित्व कमजोर हुने अवस्थाले मन दुखिहाल्छ । साथीहरूले नै घेराबन्दी गर्न‘भयो । एक नम्बरमा दाग लगाउने, दुई नम्बरमा जसरी पनि ‘रिङ आउट’ गर्ने, तीन नम्बर टिकट नदिने र चार नम्बर टिकट दियो भने हराउने रणनीति बनाएको अवस्थामा पार्टीको हित सम्झिएर मैले आफूलाई सम्हालिनुपर्छ भन्ने लागिरहेको छ । 

मैले गएको चुनाव अगाडि पनि भनेको थिएँ । अरु कोही साथीले जित्छ भने म सघाउन तयार छु । चुनाव जित्न हामीले हाम्रो स्वभाव र शैली बदल्नुपर्छ । जनतासँग एकाकार भएर काम गर्न‘पर्छ । उनीहरूको सुख दुःख बुझ्नुपर्छ । गत चुनावमा पार्टीको समानुपातिक मत ४ हजार आसपास आयो । मैले ६४१० मत ल्याएर चुनाव जितेको हुँ । अहिले पार्टीको मत धेरै नै बढेको छ ।

हामीले बुझ्नुपर्छ– आन्दोलन भनेको बाध्यता हो तर, शान्ति र विकास भनेको आवश्यकता हो । हामी अहिले बाध्यताबाट आवश्यकताको युगमा आइपुगेका छौं । यो युगमा हामीले सोहीअनुसार आफूलाई ढालेर लैजानुपर्छ । हामी ०६२ सालतिरै अल्झिएर चुनाव जित्न सकिंदैन । देश धेरै अगाडि बढिसकेको छ । चेतना धेरै अघि बढिसकेको छ । चुनाव जित्न जनताको मत जित्नुपर्छ । पार्टीभित्र बलियो हुनु र जनताको बीचमा बलियो हुनु फरक कुरा हो ।

हाम्रो पार्टी अध्यक्ष प्रचण्ड एकदमै चलाख हुनुहुन्छ । एमसीसी प्रकरणमा उहाँ गोञ्जालो बन्नबाट जोगिनुभयो । परिस्थितिलाई मिहिन रूपमा मूल्यांकन गर्दै उहाँ अगाडि बढ्न सक्नुहुन्छ । हामीले उहाँबाट सिक्न आवश्यक छ । 

कतिपयले चुनाव र टिकटको कुरा पनि गरिरहेका छन् । मेरो मान्यता एक जनाले चुनावमा एकपटक मात्रै अवसर पाउनुपर्छ भन्ने हो । 

एकजना एक पदको मान्यता पार्टीभित्र कार्यान्वयन गर्न‘पर्छ भन्ने मेरो मान्यता अहिले पनि छ । एउटै साथीलाई नदोहो¥याउँदा मान्छे ‘फेयर्ली’ राजनीतिमा लाग्न सक्छ । तर जित्ने साथीले चुनाव उठ्नुपर्छ । किनकि पराजित हुँदा पार्टीको ५ वर्षको समय खेर जान्छ । हार्ने उम्मेदवारले नैतिक जिम्मेवारी लिनुपर्छ ।

गत चुनावमा पनि उठ्ने मेरो रहर होइन । साथीहरूलाई दिलो ज्यान दिएर सघाउँछु भनेको थिएँ । तर साथीहरूलाई सघाउँछु भन्दा कसैले गरेको योगदानलाई अवमूल्यन र अपमान नगर्न‘स् भन्ने मेरो आग्रह थियो । तर मैले दुःखका साथ अहिले सम्झना गरिरहेको छु– चुनावी मोर्चाको नेतृत्व गरेको कमरेडले नै मैले चुनाव जित्दा टीका लगाइदिनु भएन । चुनावी मोर्चाको नेतृत्व गर्ने साथीले अविर लगाइदिनु पर्दैन ? मलाई चुनावमा कति सहयोग भयो होला ? यो असहज अवस्थामा म थप कुरा गर्न चाहन्नँ ।

भारतमा पत्रकारलाई देश छोड्न प्रतिबन्ध


विदुर । भारतीय पत्रकार एवं अभियन्ता राना अय्यूबलाई भारत सरकारले देश छाड्न प्रतिबन्ध लगाएको छ । बेलायतमा आयोजित पत्रकार सम्बन्धी एक कार्यक्रममा सम्बोधन गर्न प्रस्थान गर्ने क्रममा उनलाई विमानस्थलबाटै फिर्ता ल्याइएको हो । राना अय्यूब लण्डनपछि इटाली लगायतका देशमा पुगेर सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर अय्यूबलाई भारत सरकारले विदेश प्रस्थान गर्नबाट रोकेको हो । 

अय्यूबले मुम्बई अध्यागमनबाटै आफूलाई अधिकारीहरूले उडानबाट रोकेको बताएकी छन् । अय्यूबले विमानस्थल पुगेको एक घण्टापछि आर्थिक अपराध सम्बन्धी अनुसन्धान गर्नका लागि भन्दै अपराध अनुसन्धान निकायबाट इमेल पाएको समेत बताएकी छन् । वासिङटन पोस्टकी स्तम्भकार समेत रहेकी ३७ वर्षीया अय्यूबमाथि भारतको संघीय सरकारले अनुसन्धान गरिरहेको छ । ‘मलाई घर फर्कन भनियो’ अय्यूबले भनेकी छन्, ‘मैले अवार्ड पाउने र गार्जियन पत्रिकाको न्यूजरूमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । मेरो सम्पूर्ण योजना सार्वजनिक भएका छन् ।’

प्रखर वक्ताको रुपमा पनि चिनिने पत्रकार अय्यूब नरेन्द्र मोदी नेतृत्वको सरकारको कट्टर आलोचक पनि हुन् । मुस्लिम एवं अल्पसंख्यकका मुद्दालाई उठाउने अय्यूबले यसअघि पनि भारतमा पटक पटक हिन्दू कट्टरपन्थीहरूबाट धम्की र विरोधको सामना गर्न‘ परेको छ । केही महिनाअघि उनीमाथि हिन्दू कट्टरपन्थीहरूबाट धम्की आएको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विरोध समेत गरेका थिए ।

यसै बीच, संयुक्त राष्ट्र संघका मानवअधिकार विशेषज्ञले भारतीय पत्रकार राना अय्यूबविरुद्ध भइरहेको महिला विरोधी टिप्पणी र साम्प्रदायिक आक्रमण बन्द हुनुपर्ने बताएका छन् । पत्रकार अय्यूविरुद्ध भइरहेको यस प्रकारको आक्रमणबारे भारत सरकारले तत्काल जाँच गर्न‘पर्ने र उनीविरुद्ध भइरहेको उत्पीडन रोक्नुपर्ने विशेषज्ञहरूको आग्रह रहेको छ । 

स्वतन्त्र अनुसन्धानमूलक पत्रकार र मानवअधिकारका पक्षमा काम गर्ने अय्यूबविरुद्ध दक्षिणपन्थी हिन्दू राष्ट्रवादी समूहले लगातार अनलाइनमाफर्त आक्रमण र धम्की दिएको पनि ती विशेषज्ञले बताएका छन् । भारतमा अल्पसंख्यक मुस्लिम समुदायका बारेमा रिपोर्टिङ गरिरहेका कारण पनि उनलाई आक्रमणको तारो बनाइएको राष्ट्र संघका विशेषज्ञको भनाइ छ ।

साथै महामारीका बारेमा भारत सरकारको कामकारबाही र हालै कर्नाटक राज्यका विद्यायलय र कलेजहरूमा हिजाब प्रतिबन्ध लगाइएका विषयमा पनि उनले आलोचनात्मक सामग्री प्रस्तुत गरेका कारण हिन्दू अतिवादी समूहबाट उनीमाथि आक्रमण भइरहेको छ । पत्रकार अय्यूबमाथि लगातार नियोजित रूपमा आक्रमण भइरहँदा सरकारले भने उचित तरिकाले जाँच अगाडि नबढाएको विशेषज्ञको भनाइ छ । साथै उनीमाथि कानुनी रूपमै उत्पीडन पनि गरिएको बताइएको छ । पटक–पटक उनको बैंक एकाउन्ट फ्रिज गरिएको छ भने उनीमाथि कर छली र अवैध सम्पत्ति आर्जनको आरोप लगाउने गरिएको छ । केही दिनअघि मात्रै राना अय्यूबको १ करोड ७७ लाख रुपैयाँ बराबरको सम्पत्ति प्रवर्तन निर्देशनालयले जफत गरेको थियो । 

डोनेसनका रूपमा उठाएको पैसाको दुरुपयोग गरेको आरोप लगाइए पनि अय्यूबले भने अस्वीकार गर्दै आएकी छिन् । उत्तर प्रदेशको गाजियाबादमा उनीविरुद्ध उजुरी दर्ता भएको छ । आइतबार मात्रै द वासिंटन पोस्ट प्रेस फ्रिडम पार्टनरसिप र अनलाइन हिंसाविरुद्धको सहकार्यले वासिंटन पोस्टमा अय्यूबले दैनिक विभिन्न खाले धम्की खेपिरहेको उल्लेख गर्दै उनको पक्षमा उभिन आग्रह गरेको थियो । सोही आग्रहअनुरुप सामाजिक सञ्जालमा ह्यासट्याग वि स्ट्यान्ड विथ राना चलाइएको छ । 

‘दिनको हजार जम्मा गर्नेलाई ४ लाख’ भन्ने सहकारी रकम लिएर भाग्यो


विदुर । नुवाकोटमा केही सहकारीको ‘स्किम’ अल्ली अनौठो किसिमको देखिन थालेको छ । ‘दैनिक यत्ति जम्मा गर्नुस्, यत्ति अवधिपछि यत्ति रकम लिनुस्’ भन्ने योजना नुवाकोटको बजारमा रुचाइएको छ । तर यस्तै योजना अघि सार्ने सहकारीहरू अन्य स्थानमा के गरिरहेका छन् भनेर खोजीनीत गर्नुपर्ने देखिएको छ । त्यसैले अनलाइन खबर डटकममा प्रकाशित पोखराको यो सामाचार पढौं । 

भारत सीतामाडीका सञ्जय साह पोखरा वरपर डुल्दै, घुम्दै तन्ना व्यापार गर्दै जीविका चलाइरहेका छन् । पोखरा औद्योगिक क्षेत्र सगरमाथा टोलमा बस्दै आएका उनको एउटा सपना छ, मोटरसाइकल चढ्ने । 

साहको कमाइ थोरै छ, झ्याप्पै मोटरसाइकल किनिहाल्न पनि आँटिरहेका थिएनन् । त्यही क्रममा एक वर्षअघि उनको भेट भयो, डेरा नजिकैको ‘शुभबिहानी महिला उपभोक्ता सहकारी संस्था’का प्रतिनिधिसँग । 

ती प्रतिनिधिले साहलाई आफ्नो सहकारीमा मुद्धती खाता खोलेर रकम जम्मा गर्न सुझाए । ‘धेरै पर्दैन, एक वर्षको गर्न‘स् । दिनको हजार रुपैयाँ जम्मा गर्ने एक वर्षपछि ४ लाख रुपैयाँ पाउनुहुन्छ,’ सहकारीका प्रतिनिधिले उनलाई पटक पटक भन्ने गरेका थिए ।

आफूसँग भएपछि खर्च भइहाल्ने, त्यसमाथि डेरा नजिकैको सहकारी ! साहले तत्कालै गएर खाता खोलेर प्रतिदिन एक हजार रुपैयाँ जम्मा गर्न थाले । कोरोना लकडाउनको समयमा आम्दानी शून्य हुँदा पनि पुरानो वचतबाट सहकारीमा पैसा जम्मा गरिरहे । उनले दायाँबायाँ नसोची ब्याजसहितको ४ लाख रुपैयाँ र नयाँ मोटरसाइकलमात्रै देखिइरहेका थिए । गतवर्ष फागुन ११ गतेदेखि सहकारीमा पैसा जम्मा गर्न थालेका उनले २ लाख १५ हजार रुपैयाँ जम्मा गरिसकेका थिए । तर, कात्तिक १७ गतेदेखि सहकारीको सटर एकाएक बन्द भयो । त्यसपर्यन्त आजसम्म न त्यो सहकारीको ढोका खुलेको छ न सञ्चालक नै देखा पर्छन् ।

‘म बस्ने ठाउँ र त्यो सहकारी नजिकै छ । त्यसरी भागिहाल्छ भन्ने लागेन । अहिले मेरो पैसा रिटर्न आउने बेला पनि भइसक्यो । तर, साहुजीहरू सहकारी खोल्दैनन्,’ बुधबार भेटिएका साहले दुखी हुँदै गुनासो पोखे, ‘थर्काउनेहरूले पैसा फिर्ता पाइसके । मलाई दिएनन् हजुर !’ साह उक्त सहकारीबाट आउने भनिएको ४ लाखभन्दा पनि आफूले जम्मा गरेको बचतमात्रै फिर्ता गरिदिए पनि हुन्थ्यो भन्दै कहिले प्रहरी प्रशासन त कहिले कहाँ धाइरहेका छन् । ‘काम गरेर खाने मान्छे हो । कस्तो ठाउँमा फस्न पुगेछु । अहिले राम्रोसित बेप्पोरै गर्न पाको छैन,’ उनी दुखेसो गर्छन् ।

शुभबिहानी सहकारीबाट ठगिनेमा साहमात्रै एक्ला होइनन्, सगरमाथा टोलकै सुरेन्द्र गुरुङ पनि छन् । सामान्य किराना पसल गर्दै दैनिक बचत गरेका उनको सहकारीमा २ लाख ८० हजार रुपैयाँ फसेको छ । ‘मान्छे लापत्ता छ । 

हाम्रो कमाइ जम्मै लिएर गए । अब कहाँ जाने ? कसलाई खोज्ने होला ?’ उनी भन्छन्, ‘कहिले पोखरा, कहिले काठमाडौं छ (सञ्चालक) भनेको मात्रै सुन्छौं ।’

कात्तिकदेखि बन्द रहेको सहकारी पीडितहरूले जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत छुट्टाछुट्टै उजुरी दिएका छन् । पीडितहरूका अनुसार सहकारीका फरार सञ्चालक दीपक गुरुङ हुन् । ‘पुलिसलाई एक महिनाअगाडि उजुरी दिएर हिजो (मंगलबार) के भयो भनेर सोध्न जाँदा उजुरीपत्र नै बिर्सिसकेका रैछन् । पुलिस दाइहरूले पनि वास्ता गर्न‘भएन,’ पीडित सञ्जय साहको गुनासो छ ।

बचत पासबुक र साइनबोर्डमा २०६८ सालमा स्थापना भएको उल्लेख भए पनि औद्योगिक क्षेत्रमा करिब २ वर्ष अघिमात्रै सहकारी खुलेको पीडित सुरेन्द्र गुरुङ बताउँछन् ।

‘पहिले बिरौटाबाट आएको भन्थे । होला त नि भनेर विश्वास गरियो । अहिले महानगर जाँदा त्यहाँ पनि दर्ता छैन रहेछ । हामी त डुब्यौं,’ उनले भने, ‘उहाँ (सञ्चालक दीपक गुरुङ) को श्रीमती कहिलेकाहीं भेटिनुहुन्छ । पैसा खै भन्दा छिट्टै दिन्छौं भन्ने जवाफ दिनुहुन्छ । मान्छे मरिसकेपछि डाक्टर आएर हुन्छ र ?’

सहकारी सञ्चालकबाट वचतकर्तामात्रै नभएर आफ्नै कर्मचारीलाई समेत ठगेको आरोप लागेको छ । सहकारीका क्यासियर चन्दा क्षेत्री (हाल जागिर छोडिसकेकाले पूर्वकर्मचारी) ले आफूले पनि ५ लाख रुपैयाँ जम्मा गरेकोमा फिर्ता नपाएको गुनासो गरिन् । ‘त्यहाँ म काम गर्न थालेको २ महिनामै सहकारी बन्द भयो । सहकारीबारे राम्रोसँग बुझ्न पनि पाइनँ,’ क्षेत्री भन्छिन्, ‘म आफैं पीडित हुँ । तर, धेरैले त्यहाँ काम गरेको भएर मलाई मात्र प्रश्न गरिरहेका छन् । त्यहाँ मैले जागिर खानमात्रै गएको हो ।’ उनले सञ्चालकहरूसँग सहकारी बन्द भएयता कुराकानी नभएको दाबी गरिन् ।

सहकारीका अर्का कर्मचारी शिवु क्षेत्रीले सहकारीमा साधारण खाता जम्मा गरेकाले बचत फिर्ता पाइसकेको र मुद्धतिमा जम्मा गर्नेले मात्रै फिर्ता नपाएको जानकारी दिइन् । ‘अरु (साधारण बचतकर्ता) को हजार, १२ सय रुपैयाँमात्रै हो । उहाँहरूले पैसा फिर्ता पाइसक्नु भयो । 

फिक्स्ड डिपोजिट गर्नेलेमात्रै हो नपाएको,’ उनले भनिन् । उनले उक्त सहकारीमा ६ जनाले मुद्धती खातामा जम्मा गरेको तर, रकमबारे आफूलाई यकीन जानकारी नभएको सुनाइन् । ठगी आरोप लागेको सहकारीका सञ्चालक दीपक गुरुङसँग मोबाइल अफ गरेका कारण सम्पर्क हुन सकेन ।

२०७८ साल चैत २८ गतेको सम्पादकीय

काँग्रेसको दलदलमा अरु पार्टी

स्थानीय स्थिति र आवश्यकतालाई हेरेर मात्र स्थानीय तहको चुनावमा तालमेल गर्न सक्ने नेपाली कांग्रेसको स्पष्ट निर्णय रहेको छ । भावना प्रतिकूल नभइ स्थानीय स्थिति अनुकूल चुनावी तालमेल गर्ने निर्णयले नुवाकोट कांग्रेसको तल्लो तहसम्म अलमल पारेको छ । 

केन्द्रबाट गठबन्धन नथोपर्ने र स्थानीयस्तरमा तालमेल गर्न सकिने दोधारे कांग्रेस रणनीतिले नुवाकोट कांग्रेसभित्रै थप किचलो पैदा भएको छ । २०७४ सालमा ठुलो मतान्तरले हारेको स्थानीय तहमा पनि अहिले आफु अनुकुल रहेको भन्दै काँग्रेस नेता कार्यकर्ताहरूले गठबन्धन नचाहिने बताउदै आएका छन् । सक्ता साँझेदार दलहरू बिचमा तालमेल नहुँदा हार्ने निश्चित क्षेत्रमा पनि टिकट पाउनलाई काँग्रेस नेता तथा कार्यकर्ताहरू गठबन्धन नचाहिने बताउदै आएका छन् । पहिलाभन्दा अहिले संगठन विस्तार भएको, अन्य पार्टीप्रति मतदाता सन्तुष्ट नभइ आफ्नो पार्टीमा प्रवेश गरिरहेका र स्थानीय नेताले जनता नभड्काउने गरी काम गरिरहेकाले स्थिति अनुकूल देखिराखेका पालिका तहका काँग्रेस कार्यकर्ताहरूको भनाई छ । काँग्रेस केन्द्रिय सदस्य एवंं पुर्ब मन्त्री अर्जुननरसिंह केसीले नुवाकोटमा निर्वाचन जित्नको लागी कुनै दलसँग सहकार्य गर्न आबाश्यक नरहेको जिकिर गरिरहेका छन् । त्यसो त, काँग्रेसकै जिल्ला सभापतिका प्रत्यासी उनका सहोदर भाई डा. केदारनरसिंह केसी, निबर्तमान जिल्ला सभापति एवं अर्का भाई जगदिश्वरनरसिंह केसीले उम्मेद्धवार चयन समानुपातिक रुपमा भएका काँग्रेस एक्लैले  नुवाकोटको १२ वटै स्थानीय तहमा जित निकाल्ने बताउदै आएका छन् । सार्बजानिक कार्यक्रममा नै उनीहरू काँग्रेस÷काँग्रेस एक जुट हुनु पर्ने र नुवाकोटमा एक्लै निर्बाचनमा जानु पर्नेमा जोड दिदै आएका छन् । 

नुवाकोटको २ नगरपालिका सहित १२ स्थानीय तहमा गठबन्धनबारे सकारात्मक र साझा दृष्टिकोण निर्माण भइसकेको अवस्था छैन । कांग्रेसभित्रकै नेता तथा कार्यकर्ता चुनावी तालमेलमा विभाजित हुँदा नेकपा एमालेलाई बल पुग्ने आँकल समेत गर्न थालिएको छ । तालमेल गर्नुअघि पार्टीको आवश्यक्ता र अवस्था हेर्नु पर्ने नेपाली काँग्रेस नुवाकोट निबर्तमान सभापति जगदिश्वरनरसिंह केसीले बताउदै आएका छन् । त्यसो त जिल्ला सभापति रमेशकुमार महत तथा जिल्ला सचिव बैकुण्ठ मिश्रकै गृह वडा पञ्चकन्या गाउँपालिकाको वडा नं. २ मा गएको हप्ता काँग्रेसले एक्लै लड्ने निर्णय नै गरिसकेको छ । एक्लै निर्बाचनमा जाँदा काँग्रेसले सहज रुपले निर्बाचन जित्ने र नेता कार्यकर्ताहरूको समेत सहज ब्यबस्थापन हुने समयमा गठबन्धनको नाममा काँग्रेस सिध्याउने खेलमा खेलमा लागेको आरोप लाग्न थालेको छ । नुवाकोट काँग्रेस सभापति रमेशकुमार महतले शक्ता साँझेदार रहेका सबै दलका जिल्ला नेतृत्वसँग गठबन्धनको छलफल चलाएसँगै नुवाकोटमा काँग्रेस कार्यकर्ताहरू झनै रुष्ट हुन थालेका छन् । त्यसैको जवाफका रुपमा उनकै वडामा काँग्रेसले अन्य राजनैतिक दलसंग नमिल्ने निर्णय गरेको हुनुपर्छ । नुवाकोटको १२ वटै स्थानीय तहमा शक्ता साँझेदार रहेका सबै दलहरूको बैठकले पालिका अनुसार राजनीतिक अबस्था र मतदाताको मागलाई समेटेर जिल्ला तहमा प्रतिबेदन पेश गरेका छन् । यसभन्दा अघिल्ला निर्वाचनहरूमा पनि काँग्रेसकै नेता तथा कार्यकर्ताबाट अन्तरघात हुँदा काँग्रेस उम्मेदवारले हार ब्येहोरेको उदारण रहेको छ । नुवाकोटमा बिगतदेखि देखिदै आएको गुट उपगुटको राजनीतिले काँग्रेसलाईनै घाटा रहेको भन्दै काँग्रेस एकजुट हुनुपर्ने अपिल कार्यकर्ताहरूले गर्न थालेका छन् । 

तर अक काँग्रेसमा आउने विखण्डन र हुने विद्रोहको सामना काँग्रेसले मात्रै गर्नुपर्ने अवस्था छैन । त्यसको हिस्सा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई समेत लाग्ने भएको छ । सक्ता साँझेदार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जनता समाजवादी पार्टी बीचमा नुवाकोटमा छलफल भैरहेको छ । काँग्रेसको केसी समुहलाई बेवास्ता गर्दै जिल्ला सभापति रमेशकुमार महतले गठबन्धनको बिषयमा एकतर्फी रुपमा छलफल चलाएको भन्दै नुवाकोट काँग्रेसको केसी पक्षमा रहेका नेताहरू असन्तुष्ट हुन थालेका छन् । उनीहरूले सामाजिक सञ्जालबाट आक्रोश पोखिनै रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा एक्ला एक्लै निर्बाचनमा जाँदा काँग्रेसले ७ स्थानीय तह, नेकपा एमालेले ३ स्थानीय तह र नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा जित निकालेको थियो । पटक पटक बसेको गठवन्धको बैठकले खास नतिजा निकाल्न सकिरहेको छैन । काँग्रेसका पुर्व उपसभापति यमबहादुर थापा एमालेमा प्रवेश गरेका छन् । यसले पनि काँग्रेसमा निर्वाचन उठ्न नपाउने अवस्थ भयो भने नेता कार्यकर्ताहरूमा कुन तहसम्म पहिरो लाग्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । जसको प्रभाव र क्षती अन्य तीन साझेदार राजनीतिक दलहरूलाई पनि हुने पक्का छ । त्यसैले पनि गठवन्धको संयन्त्रले बेलैमा सुझवुझका साथ स्थानीय तह भागवण्डा र उम्मेदवार छनोटको प्रक्रियालाई टुङ्ग्याउनु उपयुक्त हुने छ । समय रहुन्जेल चार दलको गठवन्धनमा अलमलिने र समय घर्की सकेपछि छुट्टाछुट्टै चुनावी तयारी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । जसले गर्दा बलिदानीबाट प्राप्त संविधानमाथि प्रहार गर्ने नेकपा एमाले नै फेरि काँग्रेसपछिको शक्तिशाली दल बन्ने र मुलुकको समस्या जस्ताको त्यस्तै रहनेछन् । 

२०७८ साल चैत २८ गते । वर्ष : १५, अंक : २७ ।