Monday, April 25, 2022

काम हुन छाड्यो गल्छी–रसुवागढी सडकमा, ठेकेदारले माग्यो क्षतिपुर्ति

विदुर । नुवाकोट रसुवाको मात्रै नभएर देशकै रूपान्तरणकारी योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी– रसुवागढी सडक योजनाको पाँच वर्षमा निर्माण प्रगति सन्तोषजनक हुन सकेको छैन । 

यो आयोजनाको प्रगिति बिवरण न्युन देखिएको छ । आर्थिक वर्ष २०७४ मा निर्माण थालिएको आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पनी पुग्न सकेको छैन् । आयोजनाले सार्वजनिक गरेको तथ्याङ्कमा पाँच वर्षको कुल भौतिक प्रगति ४९ पतिशत पुगेको छ । 

केपी ओली प्रधानमन्त्री हुँदा बिशुद्ध नेपाल सरकारको बजेटमा धादिङको पृथ्वी राजमार्गको गल्छीदेखि नुवाकोटको सदरमुकाम विदुर हुँदै रसुवाको बेत्रावतीबाट मैलुङ स्याफ्रुबेँसी रसुवागढी (चिनियाँ सिमानासम्म) जोड्ने ८२ किलोमिटर सडकको त्यसबेलामा निर्माण सुरु भएको थियो । 

भारतीय नाकाबन्दीको उपज यो सडक योजना निर्माणमा ओलीले तत्काल निर्माण गर्न आवश्यक नीति, निर्देशन दिएर बजेटको सनिश्चितता गरेर प्राथमिकतामा राखेका थिए । ओली सरकारको बहिर्गमनसँगै यो सडक शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको प्राथमिकतामा पर्न नसक्दा निर्माणकार्य कछुवाको गतिमा अगाडि बढिरहेको छ । 

भारतीय परनिर्भरता कम गर्न निर्माण सुरु गरेको योजनाको काम सन्तोषजनक ढङ्गले नहँदा स्थानीय उपभोक्ता चिन्तित देखिएका छन् । 

आयोजनाको गल्छी–मैलङ खण्डको विदुर नगरपालिकाका पिपल्टार गेटदेखि ढुङ्गेसम्म र रसुवाका बेत्रावती पुलदेखि नयाँपुलसम्म मुआब्जा विवादको कारण सर्वोच्च अदालतले स्टेअर्डर समेत जारी गरेको छ । यो दई क्षेत्रमा  ठेकेदार कम्पनीले काम गर्न पाएको छैन । गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ ४६ किलोमिटरको ठेक्का लिएको कोभेक तुन्दी जेभीले पटक–पटकको स्थानीय अवरोध, भारतीय नाकाबन्दी र कोरोना महामारीबीच पनि निर्माणकार्यलाई निरन्तरता दिएको कारण उसले लिएको जिम्मेवारीको ८० प्रतिशत निर्माण यसै महिना भित्र सम्पन्न गर्दै छ । 

अदालतको स्टेअर्डर जारी भएको कारण ठेकेदार कम्पनीले पीपलटार गेटदेखि ढुङ्गे र बेत्रावती पुलदेखि नयाँपुलसम्म काम गर्न पाएको छैन । सदरमकाम क्षेत्रमा विगत दुई बर्ष देखि कुनै काम गर्न नपाएपछी ठेकेदार कम्पनीले आयोजनासँग क्षतिपुर्ति मागेको छ । 

यता, मुअब्जाको माग गर्दे आन्दोलित स्थानिय नागरिकहरू पनि अदालतले छिटो फैसला गर्दिए हुन्थ्यो भनेर बस्न थालेका छन् । अन्तराष्ट्रिय मापदण्ड अनुसार चार लेनमा निर्माण हुनुपर्ने भएपनि गङगटेदेखि ढुङ्गे सम्म मुअब्जा बिबादका कारण हाल डेडिकेट डबल लेनको सडकलाई स्तरोन्नति गरेर भए पनि आयोजनाको म्यादभित्र निर्माण गर्न स्थानीयहरूले समेत छलफल चलाएका छन् । ठेकेदार कम्पनी कोभेक तुण्डीले वैशाखभित्र ठेक्काको ८० प्रतिबत निर्माण प्रगति सम्पन्न गरेर जाने तयारी गरे पछी स्थानीयहरूले हाल छाडिएको क्षेत्रमा पिच र नाली निर्माण गर्न आयोजना कार्यालयलाई आग्रह गर्न थालेका छन् । 

आयोजना कार्यालयले समन्वय गर्न नसक्दा सदरमुकाम विदुरको सडक अलपत्र परेको छ । आयोजना अन्तर्गत कोभेक–तन्दीले गल्छीदेखि मैलुङ ४६ किलोमिटर, भारत सिद्धिशाही जेभीले मैलङ–स्याफ्रबेँसी १९ किलोमिटर र चिनियाँ वित्त सहयोगमा चिनियाँ ठेकेदार कम्पनीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म १७ किलोमिटरको जिम्मा पाएको छ । मैलुङ–स्याफ्रुबेँसीखण्डको जिम्मा लिएको ठेकेदार भारत सिद्धिशाही बिगत ७ महिनादेखि सम्पर्कविहीन भएको छ । 

चिनियाँ पक्षले जिम्मा लिएको खण्डमा सम्झौता भएको तीन वर्षदेखि काम सरु हुन सकेको छैन् । 

झण्डै साढे १५ अर्ब रुपैयाँ लागत रहेको यो सडकलाई गल्छी मलेखु–भण्डारा हुँदै ठोरीसम्म विस्तार गरि भारत–चीन त्रिदेशीय पारवहनमार्गका रूपमा तयारी रहेको सडक विभागले बताएको छ ।

नुवाकोटमा त्रिपक्षीय भिडन्तको सम्भावना

फाइल तस्बिर
विदुर । नेकपा एमाले विरुद्ध देशब्यापी रुपमा बनाइन लागेको सत्ता पक्ष दलको गठबन्धन नुवाकोटमा कायम नहुने पक्कापक्की भएको छ। दुई नगरपालिका सहित १२ स्थानीय तह रहेको नुवाकोटमा चार राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच स्थानीय तह भागबण्डामा कुरा मिलेन । दुई दल काँग्रेस र माओवादीको मात्रै सहमतीमा भएको तीन पालिकाको भागबण्डा पनि कार्यान्वयन नहुने तहमा पुगेको चर्चा सुरु भएको छ ।

विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा काँग्रेस माओवादी बीचको सहमतीमा भएको भागबण्डाको विषयमा समाजवादीले आपत्ति जनाएर आफुहरू त्यसमा सहमत नभएको विज्ञप्ती जारी गरिसकेको छ । सोही विषयलाई लिएर जसपाले गठबन्धबाट नै अलग भएको सार्वजनिक गरेको छ । शुक्रवार काँग्रेस, माओवादी बीच भएको सहमती शनिवार रातीसम्म आइपुग्दा फेरि भत्किएको माओवादी केन्द्रका एक नेताले बताए। लिखित रुपमा सहमती गरेर सार्वजनिक गरिसकेको भागबण्डामा समेत काँग्रेसले तलमाथी गर्ने प्रस्ताव गरेपछि टुङ्गो लागेको भनिएको नुवाकोटको तीन स्थानीय तहको गठबन्धन समेत भत्किएको संकेत मिलेको हो । 

काँग्रेसले विदुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गर्ने र नगरपालिकाका १३ वटै वडाहरूमा आपसी प्रतिस्पर्धा गर्ने प्रस्ताव ल्याएपछि माओवादीमा तरंग पैदा भएको छ । विदुर नगरपालिकामा यो समस्या उत्पन्न भएपछि माओवादी बलियो रहेको बेलकोटगढी नगरपालिकामा पनि गठबन्धन गरेर काँग्रेसलाई उपप्रमुख सहितको ६ वटा वडा दिनुको औचित्य नभएको माओवादीले बताएको छ। तर काँग्रेस र माओवादीका नेताहरूले भने तीन पालिकामा गठबन्धन नटुटेको दावी गरिरहेका छन् । काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले आइतवार अपरान्ह विदुर, बेलकोटगढी र तारकेश्वरमा काँग्रेस(माओवादी गठबन्धन कायम नै रहेको र त्यो कार्यान्वयन हुने बताएका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछानेले समेत यी तीन पालिकामा गठबन्धन कायम रहेको दावी गरेका छन् । 

तर काँग्रेस, माओवादीका अन्य नेताहरू भने नुवाकोटको कुनै पनि तहमा कसैसंग गठबन्धनको सम्भावना अब नहरेको र एक्लाएक्लै प्रतिस्र्धामा जाने तयारी भइरहेको बताएका छन् । काँग्रेसले आइतवार विहानदेखि राती अवेलासम्म उम्मेदवार छानिरहेको छ । एक्लाएक्लै जानुपर्ने आन्तरिक सर्कुलर गरेर जित्ने उम्मेदावरको खोजी गरिरहेको बताइएको छ । माओवादी केन्द्रले समेत वडातहसम्म उम्मेदवारको टुङ्गो लगाउन आइतवार दिउँसोदेखि आन्तरिक गृहकार्य गरिरहेको छ। गठबन्धन हुने पक्का पक्की मनस्थिति बनाएर अन्तिम समयसम्म संगै देखिएको काँग्रेस र माओवादी अहिले उम्मेदवारको टुङ्गो एक्लाएक्लै लगाउनुपर्ने भएपछि नेताहरूको ब्यस्तता र दौडधुप बढेको छ । काँग्रेसले दुप्चेश्वर, लिखु र शिवपुरी गाउँपालिका बाहेक सबै तहमा नयाँ अनुहार उठाउने गरी उम्मेदवारको छनोट गरिरहेको छ। काँग्रेस भित्रको महत, केसी र बहादुर गुटको व्यवस्थापनका कारण भने काँग्रेसलाई अन्तिम समयमा सर्वमान्य हुने गरी उम्मेदवार छान्न सकस परिरहेको छ। काँग्रेस एक नेताका अनुसार अहिले निर्वाचित जनप्रतिनिधहरू नदोहो¥याउने गरी काँग्रेसका जिल्ला नेतृत्वले केन्द्रीय नेतृत्व समक्ष सुझाव पेश गरेको छ । उनले भने– ‘काँग्रेस भित्र ६० प्रतिशत उम्मेदवारको अनुहार नयाँ हुने छ ।’    

माओवादी केन्द्रको विदुर नगरपालिकामा प्रभा बोगटी प्रमुख या उपप्रमुख दुवैमा जाने गरी यस अघि नै निर्णय भइसकेको छ । प्रमुखका लागि सिफारिस भएका बोगटीलाई गठबन्धन हुने भएपछि शुक्रवार उपप्रमुखमा माओवादी केन्द्रले उठाउने निर्णय भएको माओवादी केन्द्रका जिल्ला सह–ईञ्चार्ज हिरानाथ खतिवडाले जानकारी दिएका थिए । 

काँग्रेस र माओवादीको गठबन्धन विथोलिएको संकेत पाएपछि समाजवादीले आइतवारबाट माओवादी केन्द्रसंगको वार्तालाई बाक्लो पारेको छ । समाचार श्रोतका अनुसार माओवादी र समाजवादीबीच नै गठबन्धन हुने सम्भावना बढेको छ। विदुर, बेलकोटगढी र तारकेश्वरमा काँग्रेस–माओवादी समीकरण भत्किएमा जिल्ला भरिनै र त्यहाँ कामय भएमा बाँकी नौं वटा गाउँपालिकामा माओवादी–समाजवादी गठबन्धन हुने पक्का भएको एक नेताले दावी गरेका छन् । ति नेताका अनुसार समाजवादीले शिवपुरीको अध्यक्ष सहित एउटा वडा र तादी गाउँपालिकाको उपाध्यक्ष सहित दुई वटा लिने सम्भावना बढेको छ । त्यसो हुँदा माओवादीले तादीमा अध्यक्ष र शिवपुरीमा उपाध्यक्ष सहित बाँकी वडाहरू पाउने छ। शिवपुरीमा समाजवादीका पदम उप्रेती अध्यक्ष माओवादी केन्द्रका मिनबहादुर गुरुङ उपाध्यक्ष, तादी गाउँपालिकामा माओवादी केन्द्रका किरणकुमार रिजाल अध्यक्ष हुने छन्। तादीमा समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिने व्यक्तिको विषयमा छलफल चलिरहेको छ ।   

यसरी माओवादी र समाजवादी बीच हुने तालमेलले ति दुई पालिका बाहेक दुप्चेश्वर, पञ्चकन्या, ककनी, गाउँपालिका बेलकोटगढी नपा, किस्पाङ गाउँपालिकामा माओवादीलाई सहज हुने छ । 

यता नेकपा एमालले विदुर नगरपालिकामा उम्मेद वारको टुङ्गो लगाएको छ। यस अघि निर्वाचित प्रमुख सञ्जु पण्डितलाई नै एमालले विदुर नगरपालिकामा प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपप्रमुखमा अम्बिका पौडेल नेपाललाई एमालेले अघि सारेको छ । एमालले अन्य स्थानीय तहहरूको उम्मेदवार भने टुङ्गो लगाइसकेको छैन । अन्य दलको उम्मेदवार हेरेर सार्वजनिक गर्ने रणनीतिमा रहेको एमाले नुवाकोटले गठबन्धन हुँदा र नहुँदा मैदानमा उतार्ने पात्रा फरक हुने भएकोले ‘पर्ख र हेरे’को नीति लिएको बताइएको छ । 

मनोनयन दर्ताको दुई दिन कसका लागि ?

विदुर । मुख्य ठूला दलहरू यो समाचार तयार गर्दासम्म उम्मेदवारको छनौट र सत्ता पक्षको गठबन्धनका दलहरू गठबन्ध टिकाउने वा फुटाउने दौडमा छन् । आइतवार र सोमवार दुई दिन उम्मेदवारको मनोनय दर्ताको समय निर्वाचन आयोगले दिएकोमा मुख्य दलहरूले सोमवारलाई मात्रै प्रयोग गर्ने भएका छन् । एकै दिन मनोनयन दर्ता हुँदा पर्ने चाप कम गर्नका लागि आयोगले राखेको दुई दिनको पहिलो दिन आइतवार खासै सदुपयोग भएको छैन । 

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई दिन मनोनयन दर्ताको समय राख्नुको कारण स्पष्ट गरेको छ । एकैदिन मनोनयन दर्ता गराउँदा हुने अत्यधिक चापलाई दृष्टिगत गर्दै दुई दलहरूलाई मनोनयन दर्ताका लागि दुई दिनको समय दिनुपरेको आयोगको भनाइ छ । तर दलहरूको आन्तरिक विवाद र लडाई व्यवस्थापन देखि गठबन्धनको ‘तलमाथी’लाई ब्यवस्थापनका कारण अन्तिम दिनको अन्तिम समयलाई दलहरूले मनोनयन दर्ताका लागि प्रयोग गर्दै छन् । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायतका ठूला दलहरूले आइतवार मनोनयन पत्र दर्ता गराएका छैनन् । सोमवार पनि अन्तिम समयमा मात्रै दर्ता गराउने रणनीति सबै दलको रहेको छ । आफ्ना असन्तुष्ट र उम्मेदवार बन्न नपाएकाहरू अन्य पार्टीमा प्रवेश गरेर नउठुन् र बागीको सामना गर्नु नपरोस् भनेर दलहरूले यो रणनीति तय गरेको बुझिएको छ ।  

नेपाली काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्र आफ्नो पार्टी भित्र टिकट बाडफाडको काम बाँकी रहेकोले मनोनयन दर्ता सोमवार पुगेको बताउँछन् । यउनका अनुसार सत्ता गठबन्धनको साझा उम्मेदवार बनाउने गृहकार्यमा समय बितेकोले पार्टी भित्रबाट उम्मेदवार छान्ने काम आइतवार मात्रै सुरु भएको थियो । आइतवार राती वा सोमवार विहानसम्म काँग्रेसले सबै पाकिाको तथा ८८ वडाको अध्यषहरूको टुङ्गो लगाउने छ । 

यस्तै नेकपा माओवादी केन्द्रले समेत गठबन्धको नाममा समय खर्च गर्नुपरेकोले उम्मेदवारको छनोट प्रक्रिया आइतवार दिउँसोबाट मात्रै सुरु भएकोले सोमवार पुगेको बताएको छ । जिल्ला संयोजक पुष्प लामिछानेका अनुसार माओवादीको उम्मेदवारहरूको टुङ्गो लागिसकेको भएपनि अझै हुनसक्ने गठबन्धनको सम्भावनालाई हेरेर एक दिन कुरिएको हो । 

‘स्थानीय तह निर्वाचन, २०७४ मा काठमाडौँ महानगरपालिकामा जम्मा ८६०, विराटनगर महानगरपालिकामा ७०३ र वीरगन्ज महानगरपालिकामा ११२५ जनाको मनोनयन पत्र दर्ता गर्नु परेको र अन्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मनोनयन पत्र दर्ता गर्ने कार्यचाप अत्यधिक रहेकोले उक्त दिन मनोनयन पत्र दर्ता कार्य सम्पन्न नभई भोलिपल्टसम्म गर्नुपरेको साथै उक्त दिन उम्मेदवारको सूची प्रकाशन गर्ने कार्य अवरुद्ध हुन पुगेको अनुभव र राजनीतिक दल तथा सरोकारवालाहरूको सुझाव समेतलाई दृष्टिगत गरी आयोगले यस निर्वाचनमा मनोनयन पत्र दर्ताको समय दुई दिनका लागि तोकेको छ’, आयोगले विज्ञप्तिमा भनेको छ । 

७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता भएपछि आयोगले वैशाख १२ गते नै मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्नेछ । यस्तै वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने छ । वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको  छ ।

स्थानीय निर्वाचन–२०६४

विदुर, बेलकोटगढी र तारकेश्वरमा दुई दल पेलिए

विदुर । १८ चैत, २०७८ बाट नुवाकोटमा सुरु भएको सत्ता गठबन्धन दलको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने उत्साहपूर्ण छलफल र बैठक ९ बैशाख, २०७९ अर्थात् २२ दिनपछि निराशामा परिणत भयो । सत्ता गठबन्धनको पाँच दल मध्ये चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नुवाकोटमा क्रियाशिल छ । गठबन्धन जिल्ला संयन्त्रको पहिलो बैठक १८ चैत, २०७९ मा नेपाली काँग्रेसको पार्टी कार्यालय विदुरमा बसेको थियो । पहिलो बैठकमा जसपाबाहेकका तीन दल सहभागि थिए । दोश्रो बैठकबाट जसपा सहितको चार दलिय बैठक बस्न थालेको जिल्ला संयन्त्रको शुक्रवार १० बैशाख, २०७९ को बैठक भने दुई दलमा सिमित बन्न पुग्यो । नेपाली काँग्रेस र माओवादी केन्द्रद्धारा मात्रै औपचारिक प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेर अन्य दुई पार्टीहरू समाजवादी र जसपा अलग भएको संकेत गर्यो । 

शुक्रवार साँझ नै जनता समाजवादी पार्टी नुवाकोटले प्रेस विज्ञप्ती जारी गरेर आफुहरू सत्ता गठबन्धनमा नरहेको र आसन्न स्थानीय तह निर्वाचन एक्लै भिड्ने जानकारी दियो । जिल्ला अध्यक्ष ईश्वरकुमार राउतद्धारा जारी विज्ञप्तीमा भनिए अनुसार जसपाको सम्मानजनक उपस्थिति नुवाकोटमा नहुने भएपछि बाहिरिएको हो । उनले सोही बिज्ञप्ती आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेर भनेका छन्– ‘कसैलाई हराएर कसैलाइ जिताउने नाउँमा जसपा नुवाकोट प्रयोग नहुने निर्णय गरियो । आजबाट अन्य राजनीतिक दलसित पनि सहमति र सहकार्य गर्न सकिने गरि ढोका खुल्ला गरिएको जानकारी गराउछौ ।’ यस सन्देश मार्फत् उनले एमालेसंग समेत जसपा तालमेल गर्न वा गठबन्धन गर्न नुवाकोटमा तयार रहेको संकेत गरेका छन् ।

बुधवारको चार दलिय संयन्त्रको बैठकमा भएको छलफल अनुसार समाजवादीलाई विदुर नगरपालिकामा ४ वटा वडा अध्यक्ष, बेलकोटगढीमा तीन वटा वडा अध्यक्ष र तारकेश्वरमा एउटा वडा अध्यक्ष दिने प्रस्ताव भएको थियो । हस्ताक्षर हुन बाँकी तर लिखित गरिएको उक्त निर्णय अनुसार जसपालाई बेलकोटगढीमा र तारकेश्वरमा एक÷एक वटा वडा अध्यक्ष दिने सहमती थियो । यहीबाट सुरु भएको अन्तरपार्टी कलह र आन्तरिक कलहको अन्तिम रुप नै शुक्रवार बसेको दुई दलको बैठक र जारी विज्ञप्ती रहेको संयन्त्रमा सहभागि दलका एक नेताले बताएका छन् । 

बुधवारको बैठकमा लगाइएको भागबण्डा अनुसार विदुर नगरपालिकामा नेपाली काँग्रेसलाई मेयर सहित वडा नंं. २, ३, ७, ८, १० र १३, नेकपा माओवादी केन्द्रलाई उपमेयर सहित ५, ९ र १२, समाजवादीलाई वडा नं. १, ४, ६ र ११ वडा भाग लगाइएको थियो । 

    त्यसै गरी तारकेश्वरमा काँग्रेसलाई अध्यक्ष सहित ३ वटा वडा अध्यक्ष, माओवादीलाई उपाध्यक्ष सहित एउटा वडा अध्यक्ष, समाजवादी र जसपालाई एक÷एक वटा वडा अध्यक्ष दिने सहमती भएको थियो । त्यसै गरी बेलकोटगढी नगरपालिकामा नेकपा माओवादीलाई मेयर सहित ४ वटा वडा, काँग्रेसलाई उपमेयर सहित ६ वटा वडा, समाजवादीलाई २ वटा वडा र जसपालाई एउटा वडा अध्यक्ष दिने प्रस्ताव थियो । विदुर नगरपालिकामा समाजवादीलाई वडा संख्या धेरै भएको भन्दै संयन्त्रको बैठकमा काँग्रेसले पुनः छलफल गर्न थालेपछि बुधवारको बैठक स्थगित भएको थियो । त्यसैको निरन्तरताको क्रममा शुक्रवार बसेको बैठकले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई नुवाकोटका तीन पालिकाको विभाजन गरेको छ । विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा सिट भागबण्डा गरेको छ । 

विदुर नगरपालिकामा काँग्रेसलाई मेयर सहित ९ वटा वडा, माओवादीलाई उपमेयर सहित ३ वटा वडा र समाजवादीलाई एउटा वडा भाग लगाइएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकामा माओवादीलाई मेयर सहित ५ वटा वडा, काँग्रेसलाई उपमेयर सहित ६ वटा वडा र समाजवादीलाई दुई वटा वडा भाग लगाइएको छ । तारकेश्वर गाउँपालिकामा काँग्रेसलाई अध्यक्ष सहित ४ वटा वडा, नेकपा माओवादीलाई उपाध्यक्ष सहित २ वटा वटा दिइएको छ । 

समाजवादीको नाममा भाग लगाइएको विदुर नगरपालिकाको एउटा वटा र बेलकोटगढी नगरपालिकाको दुई वटा वडा समेत काँग्रेस माओवादीले एक आपसमा भागबण्डा गरेर लिने सम्भावना छ । बेलकोटगढीमा दुई पार्टीले एक÷एक वटा वडा लिने र विदुरको एउटा वडा काँग्रेसले नै राख्ने सम्भावना देखिएको छ । आफुहरूको अनुपस्थितिमा अपमानजनक रुपमा बाँडफाँड गरिएको प्रति समाजवादी नुवाकोटका नेताहरूले असहमती जनाएका छन् । नेताहरूले सामाजिक सञ्जालमा निजी विचारका रुपमा धारणा सार्वजनिक गर्दै सत्ता गठबन्धनमा आफुहरू नरहेको जिकिर गर्दै आएका छन् । 

यस्तै, समाजवादी पार्टीले पनि शनिवार आधिकारिक धारणा सार्वजनिक गर्दै यस विषयमा आपत्ति जनाएको छ । शुक्रवार सञ्जालको तर्फबाट विज्ञप्ती जारी गर्नेहरूमा नेपाली काँग्रेस नुवाकोट सभापति रमेशकुमार महत र नेकपा माओवादी केन्द्र नुवाकोट संयोजक पुष्प लामिछाने छन् ।    

पछिल्लो सहमती अनुसार तीन पालिका विदुर, बेलकोटगढी र तारकेश्वरमा नेपाली काँग्रेस र माओवादी केन्द्रका बीचमा प्रष्ट सहमती भएको छ । जस अनुसार वडा अध्यक्ष हुने दलले दूई वटा वडा सदस्य लिने र समाजवादीले गठबन्धनको तर्फबाट वडा अध्यक्ष स्विकार गरेमा त्यस वडामा काँग्रेस माओवादीको कम्तिमा एक÷एक जना वडा सदस्य सुनिश्चित गर्नुपर्ने छ । 

समाजवादी र जसपाले आफुहरूको सहयोग बिना नुवाकोटको तीन पालिकामा जितेर देखाउन समेत काँग्रेस–माओवादी गठबन्धनलाई चुनौती दिएका छन् । एमालेले जितेको स्थानीय तहमा अनिवार्य गठबन्धन गर्ने र एमालेलाई हराउने भन्दै भएको गबठन्धनै अपूर्ण रहेको तर्क साना दलहरूको छ । 

जसपा जिल्ला अध्यक्ष इश्वरकुमार राउतका अनुसार मतका आधारमा काँग्रेस–माओवादीले साना दललाई ‘साइजमा राख्ने’ भन्दै अपमान गर्नु घातक हुने छ । जसपाका जिल्ला उप सचिव उद्धब पनेरुले माओवादी र काँग्रेसलाई जितेर देखाउन खुल्ला चुनौती समेत दिएका छन् । 


तस्बिर समाचार

देवी देवताको रुप : बैशाख पूर्णिमा मनाइने नेपालकै सबै भन्दा लामो रथ यात्रा र नुवाकोटको प्रशिद्ध ‘सिन्दुरे जात्रा’ को अवसरमा भैरबी मन्दिर नुवाकोटका धामी हरिमानसिंह डंगोल (जसलाई जिउँदो देवताको रुपमा पुजिन्छ) उनी आफ्नो धर्मपत्नीसंग जात्राको अवसरमा परम्परागत पोशाकमा । तस्बिरहरू : सुवास श्रेष्ठ




नुवाकोटबाट गरिन्छ देशको भविष्यवाणी

सिन्दूरे जात्राको क्रममा रथ बोक्दै युवाहरू । तस्बिर : सुवास श्रेष्ठ 
विदुर । देशको संघीय राजधानी काठमाडौंका स्थानहरूसँग मिल्दाजुल्दा नाम इन्द्रचोक, असन, नयाँबजार हुँदै देवीस्थान टोलसम्म बेग्लै रौनकताले त्यहाँको माहोल नै रंगीविरंगी बनाएको छ । म नुवाकोटको कुरा गर्दैछु, काठमाडौंको होइन । मानिस रमाइरहेका छन् । कतै बासुरीको धून त कतै विभिन्न मनोरञ्जनमय खेलहरू भइरहेका छन् ।

सबै आ–आफ्नै धूनमा सामान तथा खेलहरू हेर्दै रमाइरहेका छन् । मन प्रफुल्ल छ । बजार पूरै सजिएका छन् । जेरीको लहर, जसलाई हेर्दा जेरी जात्रा भन्दा फरक नपर्ने । जात्रामा बाजा बजाएर देवताका खटलाई घुमाउदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेल्दै रमाइलो गर्ने भएकोले यसलाई सिन्दूरे यात्रा भनिन्छ । यसरी सांस्कृतिक नगरी नुवाकोट जात्रामय बनेको छ ।

केही वर्ष यता कोरोना भाइरस महामारीको कारण नुवाकोट मण्डला (दरबार क्षेत्र) मा उच्च महत्वको रूपमा हेरिने विभिन्न पर्वहरू नराम्रोसँग प्रभावित भएका थिए । कयैन् मन्दिरहरूमा पूजापाठ रोकिएका थिए । सामूहिक भेला हुन निषेध गरिएकै कारण यो अवस्था सृजना भएको हो । नुवाकोट दरबार परिसरमा बर्सेनि आयोजना हुने शताब्दिऔं पुराना जात्राहरूमध्ये सिन्दूरे जात्रा पनि एक हो । यो नुवाकोटको आफ्नै सांस्कृतिक पहिचान हो । सिन्दूरे जात्रा अर्थात् देवी जात्रा नुवाकोटमा विशेष महत्वका साथ हेरिन्छ । नेपालको इतिहासलाई पल्टाउने हो भने सात तले दरबारको दक्षिणतर्फ रहेको देवी भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्ध हुँदा राजा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण विजय प्राप्त गरेको भन्ने विश्वास छ । भैरवीको सिन्दूर यात्राको भव्यता अनुपम छ । 

हरेक चैत्रशुक्ल पूर्णिमाका दिन यो जात्रा धुमधाम साथ मनाइन्छ । यो यात्रा फागु पूर्णिमादेखि सुरू भएर महिना दिनसम्म चल्छ । यो जात्राको अवधिभर यसका पुजारीहरूले जहाँ पायो त्यहा खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ने गर्छ । यसलाई मिनी सिन्दूरे जात्रा पनि भनिन्छ । 

सिन्दूरे यात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश, तथा गुठियारहरूको व्यवस्था हुँदै आएको छ । हालका धामी हरिमानसिंह डंगोलको बाह्रौं पुस्ताका धामी हुन् ।

चैत्रशुक्ल चतुदर्शी (२ गते) को दिन बेलु्का कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा विधिपूर्वक सुरू हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि भेषभूषामा धामी निकै आकर्षक देखिन्छन् । त्यसपछि धामी दौडेर द्वारेको घरमा पुग्ने गर्छन् । त्यहाँ गुभाजुले तान्त्रिक विधिमार्फत् धामीधमिनीमा भैरवभैरवी चढाउने कार्य गरिन्छ अनि गाजल लगाइन्छ । 

सो कार्य सम्पन्न भएपश्चात् बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी  मन्दिरको पछाडि एक एक वटा लिङ्गो (४२ हात लामो) गाड्ने गरिन्छ । पहिले लिंगो गाड्ने काम स्थानीयबाट हुन्थ्यो । केही वर्षयता नेपाली सेनाले गाड्ने गरिएको छ । सामान्य बुद्धि लगाएर लिंगो गाड्न सकिँदैन । यो लिंगो वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ ।

पूर्णिमाको दिन (४ गते) विशेष बाजागाजा साथ धामीधमिनी र गणहरूलाई तलेजु मन्दिरतर्फ लगिन्छ । त्यहाँ बज्राचार्य(गुचाजु)द्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर) तर्फ प्रस्थान गर्दछन् ।

खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरू राखिएको हुन्छ । बाटोमा पर्ने स्थानहरूमा रथको तथा जीवित देवताको रूपमा पुजिने धामीधमिनीको दर्शन तथा पूजा गर्न भक्तजनहरूको भीड लाग्छ । मध्यरातमा देवीघाट पुगेका धामीले  करिब २४ घण्टाको बसाइँमा बिहान विशेष पूजाआजासहित जालपा मन्दिर परिसरमा जिउँदो पशुचौपाया तथा माछाको भोग खाएर नयाँ सालको देशमा हुने घटनाक्रमका भविष्यवाणी गरिन्छ । 

यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई नेपाल सरकारका राष्ट्र प्रमुख समक्ष पु¥याइने प्रचलन रहेको द्वारे (महेन्द्रकुमार शाही) ले बताएका छन् ।

भैरबी मन्दिरबाट देविघाट स्थित जालपादेवी मन्दिर हिडेका धामीधमिनी । तस्बिर : सुवास श्रेष्ठ

देवीघाटको मेला सकिएपछि धामीधमिनी लगायत अन्य गणहरू बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । देवीघाट, ठूलो बगैंचा, माझीटार, बट्टार हुँदै धरमपानी पुर्याइन्छ। बट्टारमाथि रहेको बाराही मन्दिर र धरमपानीको बीचमा विशेष जात्रा भोज ख्वाइन्छ र रथलाई धरमपानीमा सर्वसाधारणलाई पूजाआजाको लागि राखिन्छ । द्घितीयाको दिन (५ गते) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा नेपाली सेना (जबर जंग गण) ले दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाइँ  दिइन्छ । यो यात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर मर्दिनी (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजय उत्सवको रूपमा द्वारेले धामीलाई सिन्दूर र गाजल लगाइन्छ । जुन सिन्दूरे जात्राको रूप लिन्छ । किंवदन्ती अनुसार जालपा देवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दूरे जात्रा गरी हर्ष बढाइँ गरिएको मानिन्छ । 

विशेष बाजामा नाच्दै रमाउँदै हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइकेको अनुमतिमा खट(रथ) उचालेपछि यात्रा र गणहरू तुलजा भवानीतर्फ लम्कन्छ । तृतीयाको दिन भैरवी मन्दिर पछाडि राखिएको डबलीमा अष्टमातृकाको खट अगाडि धामीलाई सरकारी वकिलको तर्फबाट बिहान दुइटा रागोको बलि खाने प्रचलन रहेको छ । जुन हेर्दा पीडाबोध हुन्छ । देवता धारण गरेका धामीले राँगा, बोकाको रगत पिउन डरलाग्दो गरी झम्टन्छन् । 

वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरूलाई मन्दिरमा बाह्रभाइ खलकीद्वारा पुनस्र्थापना गरिन्छ । नुवाकोटमा सञ्चालन हुने यो जात्रा नेपालकै लामो दिनसम्म चल्ने जात्राको रूपमा लिन सकिन्छ। यसको मुख्य आकर्षणको केन्द्र रथ यात्रा र जीवित भगवानको रूपमा पुजिने धामीधमिनी नै हुन् । जात्रामा बूढापाकाको सहभागिता घट्दै गए पनि युवाहरूको सक्रियता बढ्न थालेको छ । कला सांस्कृतिकमा उनीहरूको लगाव अत्यधिक देखिन्छ । 

हो, पनि नुवाकोटेहरू जात्रामै जीवन देख्छन् । यहाँका जात्रासँग किंवदन्ती र मिथक जोडिएको छ । यस्ता पर्वले समाजमा रहेको असमानतालाई पुरेर समानता प्रवर्द्धन गर्न मद्दत पुग्छ । 

स्थानीय उत्पादनले बजार पाउँछ । आन्तरिक र बाह्य पर्यटनलाई आकर्षित गर्छ ।  

मतदाता नामावली किन्न पाइने

विदुर । निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ ।

शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । त्यसका लागि ७ हजार रुपैयाँ सम्मको शुल्क तोकिएको छ ।

आयोगले देशभर, प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा लाग्ने नामावलीको शुल्क क्रमशः ७ हजार, ५ हजार, ३ हजार, १ हजार र ५ सय रुपैयाँ निर्धारण गरेकोे छ ।

केन्द्रबाट राजनीतिक दलको आधिकारिक पत्रको आधारमा ७ हजार तिरेर देशभरिको र ५ हजार तिरेर प्रदेशको उपलब्ध हुनेछ । जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको पत्रका आधारमा जिल्लाभरिको ३ हजार रुपैयाँ, पालिकाको १ हजार र वडाको आवश्यक भएमा ५ रुपैयाँ लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीको विद्युतीय कपी उपलब्ध गराउने छ । 

मंसिरमा रसुवागढीको उत्पादन

विदुर । रसुवामा निर्माण भइरहेको एक सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले २०७९ मंसिरदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । 

अहिले आयोजनाले कामलाई तीव्रता दिइरहेको छ । आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाका अनुसार अहिले इलेक्ट्रोमेकानिकल तर्फ उपकरण जडानको काम भइरहेको छ । कोभिड–१९ का कारण देखाएर भारत फर्किएको गएको छठपछि निर्माणस्थलमा आएको थियो । त्यसयता टोलीले उपकरण जडानको कामलाई निरन्तरता दिएको छ । इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले गएको छठदेखि काम सुरु गरेको आयोजनाले जनाएको छ । 

आयोजनाले तोकिएको समयसीमा भित्रै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताउनुभयो । आयोजनामा अहिले उपकरण जडान, सर्च ट्यांकमा कंक्रिट गर्ने तथा डिसेन्डरमा गेट राख्ने कार्य भइरहेको छ । आयोजनाका अनुसार इलेक्ट्रोमेकानिकलको सम्पूर्ण सामग्री निर्माण स्थलमा आइसकेको छ । 

यसको २५ प्रतिशत काम सकिएको छ । सिभिलतर्फ ९० प्रतिशत काम सकिएको छ । आयोजनामा अहिले सिभिल कार्यमा २ सय र इलेक्ट्रोमेकानिकल कार्यमा ६० जना भन्दा बढी खटिएका छन् । एक सय ११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ९० प्रतिशत काम सकिएको छ । भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पु¥याउँदै आएको छ । 

गाउँपालिकाको पैसाले अध्यक्षले सेयर किने

रसुवा । स्थानीय तहमा जनप्रतिनिधिले पदीय दुरूपयोग गरेको विषयमा विभिन्न खालका टिकाटिप्पणी र समाचारहरू सार्वजनिक भैरहेकै छन् । गाउँगाउँमा सिंहदरबार पुग्दा भ्रष्टाचारका तौरतरिकाहरू पनि भिन्न रूपमा गाउँगाउँमा पुगेको छ ।

रसुवाको नौकुण्ड गाउँपालिकामा पनि भिन्न खालको भ्रष्टाचार भएको खुलासा भएको छ । रसुवा नौकुण्ड गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका नेता नुर्ब‘ साङ्वोले गाउँपालिकाको बजेट दुरूपयोग गरेर हाइट्रोपावरमा सेयर हालेको पाइएको छ । अध्यक्ष नुर्प‘ले गाउँपालिकाको पैसाले हाइड्रोपावरका लागि सडक बनाइदिएको भन्दै नक्कली भुक्तानी गराएर हाइड्रोपावरमा लगानी गराएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरूपोग अनुसन्धान आयोगमा मुद्दा परेको छ ।

चैत २९ गते परेको उजुरीमा अध्यक्ष नुर्ब‘ले हाइड्रोपावरसम्म जाने सडक गाउँपालिकाले बनाइदिएको भन्दै उनले हाइड्रोपावरको ड्यामसाइडदेखि पावरहाउससम्म बनाएको बाटोमा गाउँपालिकाले पैसा हालेर सडक बनाएको भन्दै हाइड्रोकै पैसाले बनाएको बाटो गाउँपालिकाको लगानी भएको भन्दै त्यस बापतिको पैसा सेयरमा कन्भर्ट गराएको उजुरीमा उल्लेख छ ।

बेत्रावती हाइड्रो इलेक्ट्रिक कम्पनीले रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण गरिरहेको १४.७ मेगावाटको फलाखु खोला हाइड्रोपावरको ड्याम साइटदेखि पावर हाउससम्म जाने सडक गाउँपालिकाले बनाएको भन्दै भुक्तानी लिएको कुरा अख्तियारमा दिएको उजुरीमा उल्लेख गरिएको छ । यार्सामा हेडवर्क्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहेको छ ।

अध्यक्ष नुर्बुमाथि मानव बेचविखनको पनि आरोप लागेको छ । नेपाली कांग्रेस रसुवाका एक जना नेताले दिएको जानकारी अनुसार नुर्ब‘ २०६३ सालमा भारतमा कोठी सञ्चालन गरिरहेको आरोपमा काठमाडौँबाट पक्राउ समेत परेका थिए । नुर्ब‘ले भारतमा कोठी सञ्चालन गर्दा नुवाकोटकै अर्का एक जनप्रतिनिधिको साथ लिएको ती नेताले जानकारी दिए ।

नुर्बुले अदालतमा आफ्नो कानुनी हिसाबकिताब मिलाए छन् भने उनीसँगै काम गरेका यार्साका दुइ जना अहिले पनि मुद्दा खेपीरहेका छन् । राजनीतिक संरक्षण लिन जान्ने नुर्बुले जनताको आवश्यकता पूरा गर्न खासै केही काम गर्न नसकेको नेपाली कांग्रेसकै नेताहरूले बताए । –दैनिकीबाट

नुवाकोटमा साढे पाँच हजार कृषकबाट तथ्याङ्क


विदुर । केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु गरेको छ । 

‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । नुवाकोटका जिल्ला कृषिगणना अधिकृत नरेन्द्र शर्मा भट्टका अनुसार गणनाका लागि २२ जना सुपरिवेक्षक र ८६ जना गणक खट्ने छ । जिल्लाका १२ स्थानीय तहका दुईसय २१ गणना क्षेत्रहरूबाट करिब पाँचहजार ५२५ कृषक परिवारको छनौट गरी गणना गरिने उनले जानकारी दिनु भयो । 

नमुना कृषि गणनाको क्रममा गणक, सुपरीवेक्षक र जिल्ला कृषि गणनाका कर्मचारी गणनामा कृषक परिवार सूचिकरण, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली गरी तीन किसिमको लागत राखिने छ । प्रश्नावली १३ भागमा विभाजन गरी दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । 

कृषिगणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने जनाएको छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ ।

देशभर ५ हजार २३ जना गणक कृषिगणनाका लागि खटिने छन् । उनीहरूको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरू खटिने भएका छन् । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ ।

२०६८ को कृषि गणनाअनुसार एक लाख १६ हजारसँग आफ्नै जमिन छैन भने ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको उल्लेख छन् । ४२ प्रतिशत कृषकले कृषि ऋण पाएका छैनन् ।

वि.सं. २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक प्रत्येक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । ७५३ स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने विभागले जनाएको छ । यस गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरण सङ्कलन गरिनेछन् ।

सातौँ कृषि गणनामा कृषक परिवार, कृषक परिवारले चलन गरेको जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचाइ गरेको जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारीबाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल तथा प्रमुख बालीको उत्पादनका बारेमा तथ्याङ्क सङ्कलन गरिने विभागले जनाएको छ ।

त्यस्तै बीउबिजन, विषादी, मलखादको प्रयोग, उमेर समूह, जातअनुसारको पाल्तु पशुपन्छीको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्प खेती, रेशमपालन, कृषि ऋण, कृषि बीमा, कृषि अनुदान, कृषिमा वातावरणको प्रभावका बारेमा पनि तथ्याङ्क सङ्कलन गरिनेछ । खाद्यान्नको पर्याप्तता र परिवारको अन्य आर्थिक क्रियाकलाप, कृषि कामदार, महिलाको नाममा रहेको जग्गालगायतका बारेमा पनि विवरण सङ्कलन गरिने छ । 

यस पटकको कृषि गणनामा घरपरिवारले सञ्चालन गरेको र समुदायमा आधारित कृषि कार्यका लागि अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागत रूपले सञ्चालन गरेका व्यावसायिक कृषि कार्यको पनि तथ्याङ्क सङ्कलन गरिने विभागले जनाएको छ ।

कृषि गणनामा खटिएका सुपरिवेक्षकले सम्बन्धित नगरपालिका, गाउँपालिकाको मेयर, अध्यक्ष, वडाध्यक्ष र वडा सदस्यसँग समन्वय गर्नुपर्ने विभागले जनाएको छ । त्यहाँका प्रतिनिधिसँग गणनामा सहयोग गर्न आग्रह गर्नुपर्छ । विगतका कृषि गणनाको अनुभवबाट सम्बन्धित पालिकाको पदाधिकारीले अनुरोध गरेको अवस्थामा कृषकले सहयोग गर्ने र अन्तर्वार्ता सञ्चालन गर्न सजिलो हुने भएकाले प्रतिनिधिसँग समन्वय तथा छलफल गर्न विभागले सुपरिवेक्षकलाई निर्देशन दिएको छ ।

चैतमा दुई हजार पर्यटकले रसुवा घुमे


विदुर । लामटाङ राष्ट्रिय निकुञ्जमा चैत महिनाभरि दुई हजार ७३ जना आन्तरिक तथा वाह्य पर्यटकले भ्रमण गर्दा २१ लाख ९० हजार राजश्व संकलन गरेको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार यस चैत महिनामा नेपाली १३ सय ८० जना, विदेशी ६ सय ७५ र सार्क मुलुकका १८ जनाले निकुञ्ज भ्रमणको गोसाईंकुण्ड लाङटाङलगायतका ठाउँमा भ्रमण गरेका कारण उक्त राजश्व संकलन भएको हो ।

राजधानी काठमाडौंबाट नजिक पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र पछिको तेस्रो गन्तव्य स्थलको रूपमा रहेको निकुञ्ज भएकाले पनि आन्तरिक तथा वाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।

तीन जिल्लामा फैलिएको यस निकुञ्ज रसुवा ५७ प्रतिशत नुवाकोट सात प्रतिशत र सिन्धुपाल्चोक ३६ प्रतिशत रहेको र एक हजार सात सय १० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । 

समुद्री सतहको एक हजार मिटरदेखि सात हजार दुई सय ४५ मिटरसम्म फैलिएको यस निकुञ्ज जैविक विविधताको मूल भण्डार मानिन्छ ।

नुवाकोट फुटबल संघमा चित्रकार


विदुर । नुवाकोट जिल्ला फुटवल संघको अध्यक्षमा देवनारायण चित्रकार निर्विरोध निर्वाचित भएका छन् । संघको छैटौं जिल्ला अधिवेशनले चित्रकारको नेतृत्वमा निर्विरोध रुपमा कार्यसमिति चयन गरेको हो । 

जिल्ला अधिबेशनले उपाध्यक्षमा अच्युतराज महन्त गिरी, शनी चित्रकार र विजय गुरूङलाई चयन गरेको छ । संघको कार्य समिति सदस्यहरूमा पूर्णमान चित्रकार, दीपकलाल चित्रकार, निरज खड्गी, सुप्पल गुरूङ, रामकुमार कोइराला, रामकृष्ण लामा, सन्तोष खड्का, गोविन्द श्रेष्ठ, श्रीकृष्ण आचार्य र मोहित तण्डुकार निर्विरोध निर्वाचित भएका छन् ।


मतदातालाई धर्म भकाए जेल सजाय

विदुर । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरी स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) निर्देशिका, २०७४ जारी गरेको छ ।

यो निर्देशिकाले स्थानीय तह निर्वाचनको क्रममा कानुनको उल्लंघन गर्ने व्यक्ति वा संस्थालाई कसुर तथा सजायको व्यवस्था गरेको छ । उक्त निर्देशिकाको दफा ५ मा निर्वाचनमा प्रभाव पारेमा हुने सजायबारे विभिन्न व्यवस्था गरिएको छ । कसैले निर्वाचनमा प्रभाव पार्ने सम्बन्धी कसुर गरेमा कसुरअनुसारको सजाय र सजाय गर्ने अधिकारी समेत तोकिएको छ ।

निर्देशिकाको २ (१) (च) र (छ) मा मतदातालाई कुनै किसिमले लोभ लालच देखाएमा वा आर्थिक प्रलोभन देखाएमा र धर्म भकाएमा वा प्रतिज्ञा गराएमा (किरिया खुवाएमा) एक लाख रुपैयाँसम्म जरीवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यो सजाय तोक्ने अधिकार अदालतलाई दिइएको छ ।

ऐनको दफा २० को उपदफा (२) विपरीत निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनको काममा संलग्न कर्मचारी, पदाधिकारी, अनुगमनकर्ता वा सुरक्षाकर्मी वा आयोगले खटाएको पर्यवेक्षक वा सञ्चारकर्मी वा कुनै संस्थाले निर्वाचनको कुनै काम गर्दा कानून बमोजिम कुनै उम्मेदवारले आफ्नो मत दिने बाहेक निर्वाचनमा कुनै उम्मेदवारको पक्ष विपक्षमा कुनै किसिमको काम गरे वा गराएमा पनि सोही सजाय हुने व्यवस्था निर्देशिकाले गरेको छ ।

ऐनको दफा २१ विपरीत उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनको मिति घोषणा भएपछि कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिएमा वा दिन मञ्जुर गरेमा पनि दण्ड सजायको व्यवस्था छ ।

त्यस्तै, सार्वजनिक भोज आयोजना गरेमा र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गरेमा र सार्वजनिक भोजमा सहभागी भएमा पनि दण्डित गर्ने व्यवस्था गरेको छ । यस्तो कसुरमा अदालतले पचास हजार रुपैयाँ जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था निर्देशिकामा गरिएको छ ।

भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

विदुर । नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । 

बेलकोटगढी नगरपालिका–१२ का २६ वर्षीय योगेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेर उनको ज्यान गएको बताइएको छ । 

म्यादी प्रहरीमा छनौट भई तालीममा सहभागी हुन आउदा भिरबाट खसेर न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । परिवारले खोज्दा राति उनको शव फेला पारेको हो । 

१६ महिनादेखि चाइना पास खुलेन

विदुर । चीन प्रवेश गर्न रसुवावासीका लागि उपलब्ध गराउँदै आएको नेपाल–चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण १६ महिनादेखि रोकिएको छ । कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास रोकेको छ ।

नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताए । नाकाबाट पारि जान नपाउने भएपछि पास जारी गर्न छाडिएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आएपछि पास वितरणलाई निरन्तरता दिइने उनको भनाइ छ । चीनसँग सिमाना जोडिएको रसुवाका नागरिक चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । 

त्यहाँ जानका लागि कार्यालयले पास उपलब्ध गराउँदै आएको थियो । एक पटक पास बनाएपछि एक वर्ष त्यहीँ गएर बस्न पाइन्छ । रोजगारीका लागि प्रचुर सम्भावना रहेकाले केरुङ जानका लागि रसुवाका झन्डै १२ हजार जनाले चाइना पास बनाएका थिए । कार्यालयले २०७२ असोज २८ गतेदेखि पास जारी गर्न थालेको हो । त्यसयता जिल्लाका १२ हजार एक सय ४३ जनाले पास लिएका तथ्याङ्क छ । 

  त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था थियो । कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनुपर्ने झन्झट नहुने भएपछि पछिल्लो समय केरुङ जानेको संख्या बढेको थियो । केरुङमा झन्डै एक हजार नेपाली कार्यरत रहेका छन् । त्यहाँ  नेपाली धेरैजसो होटल, ट्रान्सर्पोट र ब्लक निर्माणमा कार्यरत थिए । केरुङमा कार्यरत रसुवाली दशैँ, तिहार तथा ल्होसारमा घर फर्कने गरेका छन् । 

नेपाल–चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा लिएका मध्ये झन्डै २५ प्रतिशत रसुवालीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा काम गरिरहेका थिए ।

त्रिशुली थ्रि बि निर्माणमा आयो गती

विदुर । नेपालको पानी जनताको लगानी भन्ने कार्यक्रम अन्तर्गत निर्माणाधीन माथिल्लो त्रिशुली ‘थ्री बी’ जलविद्युत् आयोजनाको निर्माणले गति लिएको छ ।  

कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि आयोजनाको निर्माणले गति पाएको हो । रसुवा र नुवाकोट जिल्लाको सिमानामा निर्माणाधीन जलविद्युत् आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशुली जलविद्युत् कम्पनी हो । यो आयोजनामा जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सर्वसाधारणको लगानी भइसकेको छ । 

माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले ‘थ्री बी’ जलविद्युत् आयोजनालाई बाँध र बालुवा थिग्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने आयोजनाले बताएको छ । थ्री ए’को विद्युत् गृहबाट निस्किएको पानीलाई ‘थ्री बी’ आयोजनाको सुरुङमा पठाइने छ । अर्धभूमिगत विद्युत् गृह रहने आयोजनाको सम्पूर्ण संरचना भूमिगत रहने छ । अहिलेसम्म आयोजनाको ६६ प्रतिशत भन्दा बढी काम सकिएको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए । 

विद्युत् गृह, सर्ज ट्याङ्क, पेनस्टक लगायतका संरचनाको निर्माण भइरहेको छ । उक्त आयोजनाको ३ हजार ८०५ मिटर मुख्य सुरुङमध्ये अहिलेसम्म ३ हजार ५३ मिटर खनिएको छ । (ईपीसी ) मोडेलमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनीले पाएको छ । आयोजनाको सिभिलतर्फका सम्पूर्ण संरचना निर्माण, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल तर्फका उपकरणहरूको डिजाइन, निर्माण तथा जडान गर्ने छ । 

२०७७ फागुन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर कोभिडका कारण करिब १५ महिना काम ठप्प भयो । नयाँ वर्ष मनाउन घर गएका चिनियाँ कामदार फर्कन नपाएको र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा निर्माण अवरुद्ध भएको थियो ।

मुख्य सुरूङमार्गमा कमजोर चट्टान फेला परेका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको हो । रसुवागढी नाकाबाट पूर्णरूपमा आयात नहुँदा निर्माण कम्पनीले चीनमा खरिद गरेका उपकरण तथा सामग्री ल्याउन पनि ढिलाइ भइरहेको छ । गौतमले भने ‘चीन पुगेर इलेक्ट्रोमेकानिकलका उपकरण ठीक छ, छैन भनेर परीक्षण गर्न पाइएको छैन । 

२०२३ सेप्टेम्बरमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । ब्याज जोडेर कुल अनुमानित लागत ८ अर्ब २२ करोड रहेको छ ।

स्थानीय सरकार र गैससबीच नमूना सहकार्य

स्थानीय सरकारको प्रतिनिधिसंग अन्तरक्रिया गर्दै पञ्चकन्या–१ का नागरिकहरू । तस्बिर : सुजित भण्डारी
पञ्चकन्या । २०७२ सालमा साविकका शिवपुरी, थानापती, चौघडा र सुर्यमती गाविसमा ‘विपन्नताबाट मुक्तिका लागि स्वावलम्बन’ मार्फत नुवाकोट जिल्लाको विकासमा साझेदारी गर्न प्रवेश गरेको ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी)ले तत्कालिन समयमा पञ्चकन्या गाउँपालिकाको वडा नम्बर १ आँपचौरमा २५५ घरधुरीको पुनःनिर्माणमा सहजिकरण गरेको थियो । 

बिनाशकारी भुकम्पले क्षक्षीग्रस्त भएका नागरिकहरूको निजी आबास पुनःनिर्माणसँगै  गाँउपालिकाकै आग्रहमा पुनः बिकासमा साझेदारी गर्न सुरु गरेको छ । यस कार्यक्रमलाई भूकम्प प्रभावित समुदायको प्रतिरोधी क्षमता अभिवृद्धि परियोजना भनिएको छ । स्वावलम्बन विधी पद्धती अनुसार यस कार्यक्रमलाई लागू गरी परियोजनाको उद्देश्य हासिल गर्ने केन्द्रको सोच छ । यस कार्यक्रमलाई लागू गर्न माल्टेजर इन्टरनेशल र बिएमजेटबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

५ वटा वडा रहेको पञ्चकन्या गाँउपालिकामा सबै वडाहरूमा नागरिकहरूको प्रत्यक्ष जनसहभागितामा संस्थाले बिविध ४ क्षेत्रमा काम गर्दै आएको छ । बिनाशकारी भुकम्पका कारण क्षती भएको घरको पुनःनिर्माण सम्पन्न पछि उनीहरूको जिबिकोपार्जनमा सुधार ल्याउन आरएसडिसीले बिबिध ४ क्षेत्रमा काम गर्दै आएको छ । जसमा संस्थागत बिकास, जिबिकोपार्जन, खानेपानी तथा सरसफाई र प्रकोप जोखिम न्युनिकरणको बिधामा काम गर्दै आएको छ । सिञ्चाई कुलो निर्माण, उच्च स्थानमा पोखरी निर्माण, तरकारी खेतीको लागी टनेल सहयोग, प्लाष्टिक पोखरी निर्माण लगायतको कामलाई आरएसडिसीले महत्वपुर्ण रुपमा कार्यान्वयनमा ल्याएको छ । 

स्थानीय सरकारसँगको सहकार्यमा यस संस्थाले जर्मन सरकार मालटेजर ईन्टरनेसनलको आर्थिक सहयोगमा जनसमुदायको मागमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको हो । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर १ को झण्डै २ सय रोपनी क्षेत्रफलमा अहिले तरबुजा खेती सुरु भएको छ । केही समय अगाढीसम्म सामान्य रुपमा १÷२ झाल तरबुजा रोप्नेहरू अहिले १०÷१२ रोपनीमा खेतीनै गर्न थालेका छन् । अरु खेती भन्दा तरबुजाको खेतीले राम्रो आम्दानी दिने देखेपछि यो खेतीमा आकर्षित भएको पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का मोहन लामिछाने बताउछन् ।

ठुलो क्षेत्रफलमा तरबुजाको खेती सुरुवात भएकाले पहिलो बर्ष बजारिकरणमा समस्या हुन सक्ने तर्फ समेत उनीहरू सचेत छन् । स्थानीय तह र ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले अहिलेबाटनै बजारको ब्यबस्थापन तर्फ ध्यान केन्द्रित गर्नको लागी उनले सुझाब दिएका छन् । 

पञ्चकन्या गाँउपालिका वडा नम्बर १ कै राक्सेखोला हुँदै आँपचौर पुग्ने सिञ्चाईकुलो लामो समय देखि बन्द थियो । सिञ्चाईकुलो बन्द भएपछि आपचौरका नागरिकहरूले खेत बाँझै राख्ने गरेका थिए । तर अहिले ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सहयोगमा यही सिञ्चाई कुलोको पुननिर्माण सम्पन्न भएको छ । राक्क्षेश्वरी खोलाबाट आपचौरसम्म अहिले कुलोमा पानी बग्ने गरेको छ । लामो समयदेखि बन्द रहेको र जनसहभागितामै सञ्चालनमा आएको कुलोले त्यस क्षेत्रका नागरिकहरूलाई ब्यस्त बनाउन थालेको छ । खेतको सिरानबाट कुलो बग्न थालेपछि तरकारी खेती तथा नगदेबाली लगाउन थालिएको छ । बाँझै रहेको खेतबाट उब्जाउ भएपछि घरमा हरियो तरकारी खान पाएसंगै बिक्रिबाट सामान्य खर्च समेत पुग्न थालेको छ । घरको नुन तेल अहिले यहि सिञ्चाई कुलो मर्मत सम्भार जोहो गर्न सजिलो भएको नबराज राईले बताएका छन् ।

यो सिञ्चाई कुलोले अहिले झण्डै २ सय रोपनी क्षेत्रफलमा सिञ्चाई हुने गरेको छ । सिञ्चाईसँगै बस्तुभाउलाई खुवाउने पानीका लागि समेत सजिलो भएको छ । पञ्चकन्या गाउँपालिकामा आरएसडिसीले गरेको सिञ्चाईको काम यो प्रतिनिधिमुलक मात्रै हो । पञ्चकन्या गाँउपालिका क्षेत्रमा १० वटा सिञ्चाई कुलोको मर्मत सम्भार सम्पन्न भएको छ । संस्थाले राखेको रकम बराबर नै किसानहरूको जनसहभागिता रहेको छ । किसानहरूको प्रत्यक्ष सहभागितामा जनश्रमदान सहित मर्मत सम्भार सम्पन्न भएको सिञ्चाई कुलोले धेरैको जनजीवन फेरिदिएको छ ग्रामिण बिकास तथा स्वाबलम्बन बिकास केन्द्रका फिल्ड संयोजक साधुराम सापकोटा बताउछन् । 

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले मर्मत सम्भारमा सहयोग गर्न‘ अघि पञ्चकन्या गाँउपालिका वडा नम्बर ५ को ठुलो खोला हुँदै छब्बिसे जाने सिञ्चाई कुलोमा पानी त के कुरा मान्छे हिढ्न समेत समस्या थियो । बिहानै कुलोमा पानी लिन हिडेका ब्यक्ति साँझसम्म नआईपुग्दा खोज्न जानु पर्ने बाध्यता थियो । तर अहिले मुहानबाट लगाएको पानी मान्छे भन्दा छिटो खेतमा आईपुग्ने गरेको छ । कुलो मर्मत गर्दा असजिलो स्थानमा पाईप राखिएको, मेसेनरी वाल लगाएका कारण मुलो मजबुत भएको किसान साहिला बरामले बताए । 

पञ्चकन्या गाँउपालिकाको ५ वटै वडामा न्युन आय भएका किसानहरूको लागी उद्यमशिलता तालिम समेत सञ्चालन गरेको छ । ब्यबसायिक रुपमा उत्पादन तथा बजारिकरणको लागी सुरुमा उद्यमशिलता तालिम सञ्चालन गरि उनीहरूलाई ब्यबसायिक बनाउन समेत संस्थाले सहयोग गर्दै आएको छ । कुखुरा पालन, टनेल खेती, सिलाई बुनाई र संस्थागत बिकास तर्फ संस्था केन्द्रित रहेको छ । केही किसानहरूलाई कुखुरा पालनका लागी भाँडाकँुडा समेत उपलब्ध गराएको छ । तालिम, ज्ञान सिप र दक्षतासँगै आबाश्यक औजार समेत सहयोग भएपछि कुखुरा पालनको सुरु समेत भएको छ । 

यस अघिका विभिन्न काम र परियोजनाबाट मनग्य आर्थिक उपार्जन गरेको पञ्चकन्या गाउँपालिका नागरिकहरूलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्र प्रायःका घरको राम्रो कमाई गर्ने परिवारको सदस्य जस्तै बनेको छ । पञ्चकन्या गाँउपालिकामा पछिल्लो समय सञ्चालन गरेको परियोजनामा झण्डै २ करोड रुपैयाँ भन्दा बढी समुदायमा खर्चेको ग्रामिण स्वाबलम्बन बिकास केन्द्र नुवाकोटका कार्यक्रम संयोजक धिरेन्द्र कुमार आरसीले जानकारी दिए ।

पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ का रामबहादुर मिजारको जीवन अहिले फेरिएको छ । सामान्य रुपमा घरमा खेती किसानी गर्दै आएका उनलाई संस्थाले टनेल प्लाष्टिक सहयोग गरेको छ । अघिल्लो बर्षबाटनै उहाँले टनेलमा गोलभेडा लगाउन थालेका थिए । पहिलो बर्षनै टनेल मार्फत उनले २३ हजार रुपैयाँ कमाउन सफल भएसँगै फेरि टनेलमा गोलभेडा लगाएका छन् । संस्थाले टनेल सहयोग नगरेको भए अहिले ब्यबसायिक रुपमा खेती गर्ने तर्फ कल्पना समेत गर्न नसक्ने उनी बताउछन् । तर अब उनको सोच निक्कै फराकिलो बनेको छ । रामबहादुर मिजारले गोलभेडाबाट भएको आम्दानीले बाख्रा किनेर पाल्ने योजना बनाएका छन् ।

उनी जस्तै उर्जा भरिएको अर्का किसान हुन् पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ मानथोकका नबराज पण्डित । उनलाई ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले १ थान प्लाष्टिकको पोखरी सहयोग गरेको छ । ब्यबसायिक रुपमा तरकारी खेती गर्ने सोच बनाउदै आएका उनलाई १ थान प्लाष्टिकको पोखरीले उर्जानै बेग्लै थपिदियो । अहिले उनले झण्डै ४ रोपनी क्षेत्रफलमा तरकारी खेतीलाई बिस्तार गरेका छन् । तरकारी खेतीको सिरानमा पोखरी निर्माण गरेर आबाश्यक्ताको आधारमा सिञ्चाईको ब्यबस्थापन पोखरी मार्फत भएको छ । 

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्यामा नयाँ ब्यवसायीको उत्पादनसँगै नयाँ कृषि उपजको समेत सुरुवात गरेको छ । महङ्गो मानिने सिताके च्याउको बिस्तार समेत परियोजनाले गर्दै आएको छ । पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ४ का हरिकृष्ण खनालले अहिले सिताके च्याउ काठमा रोपेका छन् । स्थानीय ६ जना मिलेर अर्मपर्म नै गरी ६ नै जनाले च्याउ खेतीको सुरुवात गरेका हुन् । थोरै स्थानबाट धेरै उत्पादन दिने र मनग्य आम्दानी हुने भएपछि यसरी उनीहरू यस तर्फ आकर्षित भएका हुन् । 

यसरी पञ्चकन्या गाँउपालिकाको सर्बाङ्गिण बिकासका लागी ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले काम गर्दै आएको छ । न्युन आय भएका नागरिकहरूलाई समुहमा राखेर घुम्ती  कोषको रकम परिचालन, ब्यवसायी उत्पादनमा यस संस्थाले सहयोग गर्दै आएको छ । समुह निर्माणसँगै समुहमा रहनेहरूको ब्यक्तिगत तथा नेतृत्व बिकासका लागि समेत संस्थाले काम गर्दै आएको ग्रामिण स्वाबलम्बन बिकास केन्द्रका निमित्त कार्यकारी प्रमुख शिबप्रसाद बस्यालको भनाई रहेको छ । 

उसो त स्थानीय सरकार अर्थात् पञ्चकन्या गाँउपालिकाले पनि संस्थागत सहकार्यमा कुनै कसर बाँकी राखेको छैन । पञ्चकन्या गाँउपालिकामा यस संस्थालाई भित्र्याउने देखि कार्यक्रम निर्माण र सञ्चालनसम्ममा गाँउपालिका आफै अग्रसर भएको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउछन् । 

ग्रामिण स्वाबलम्बन बिकास केन्द्रले पञ्चकन्या गाँउपालिका बेसार खेती, अकबरे खुसार्नी लगायतमा पनि नमुनाको रुपमा सुरुवात गर्न थालेको छ । बाँदर लाग्ने स्थानमा यस्ता खेती प्रभाबकारी हुने भएपछि बेसार र खुसार्नीको लागी भर्खरै मात्र काम सुरु भएको छ । ग्रामिण स्वाबलम्बन बिकास केन्द्रको सुरुवाती यो काममा पनि यहाँका नागरिकहरू खुसी देखिएका छन् । नागरिकहरूको दुःखमा साँझेदारी गर्न आर्यपुगेको आरएसडिसिको कामबाट सबै लाभाम्बित भएका छन् । 

संस्थागत बिकाससँगै, आधुनिक कृषि प्रणालीको बिकास, स्वास्थ्य तथा सरसफाई कार्यक्रम लगायतमा गाँउपालिकासँग साँझेदारी गर्दै आएको पञ्चकन्या गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष मणिनाथ लामिछानेले बताए । 

गाँउपालिकाको ३ हजार घरधुरीलाई समेटेर कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको ग्रामिण बिकास तथा स्वबलम्बन बिकास केन्द्रको कार्यक्रममा अहिले प्रत्यक्ष रुपमा ७१ वटा स्वाबलम्बन समुह निर्माण गरि १७ सय ५० जना लाभान्वित भएका छन् ।

२०७९ साल बैशाख १२ गतेको सम्पादकीय

 जनता केन्द्रित प्रतिबद्धताको खाँचो

संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका  रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी  २०७९ बैशाख ३० गते हुँदैछ । नेपालको सन्दर्भमा स्थानीय,व्यवस्थापिका र कार्यपालिकाको भूमिकामा  समेत रहेको स्थानीय तह (सरकार) नेपाली मौलिक विशेषतामा आधारित समाजवाद उन्मुख राज्य  व्यवस्थाको एक महत्वपूर्ण आधार हो । साथै, आवधिक निर्वाचन जनताको सर्वोच्चतालाई स्थापित गर्ने  महत्वपूर्ण माध्यम र अवसर पनि हो । संविधान सभाबाट संविधानको घोषणा भइसकेपछि करीब २ वर्ष संविधानको सहज कार्यान्वयन र समयमा स्थानीय तहको निर्वाचनको बारेमा थुप्रै आशंका र अनुमानहरू हुने गर्दथे । पहिलो कार्यकाल भए पनि सेवा प्रवाह, पूर्वाधार विकास, जनसहभागिता, आर्थिक विकासका आधार निर्माणलगायतका क्षेत्रमा हासिल भएका महत्वपूर्ण उपलब्धिहरूले संघीय व्यवस्थाको औचित्य एवं महत्वलाई सान्दार ढंगले सावित गरिदिएका छन् । समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतान्त्रिक राज्य व्यस्थाले तयार गरेको नयाँ आधारमा सही नेतृत्व छनौट हुन सके छोटो समयमा नै मुलुकले गुणात्मक उपलब्धि हासिल हुन सक्ने महत्वपूर्ण सन्देश पहिलो ५ वर्षले दिएको छ । नेपाली मौलिकता र विशेषतामा आधारित संघीय प्रणालीअन्तर्गत संघीय सरकारको नेतृत्वले प्रदेश र स्थानीय सरकारको काम कारबाहीमा महत्वपूर्ण अर्थ राख्ने गर्दछ । प्रारम्भमा नै संघीय सरकारको नेतृत्व संघीयताप्रति उदार नहुनुको कारण संविधानले निर्दिष्ट गरेको अधिकारहरूको बाँडफाँड सही रुपमा हुन सकेन । त्यसैगरी राज्यको पुनर्संरचनापछि आवश्यक प्रशासनिक पुनर्संरचनालाई केवल कर्मचारी समायोजनमा सीमित गरी झारा टार्ने जस्तो गरियो । बजेटको विनियोजन संघीय अवस्था र समानुपातिक मूल्यमान्यता अनुरुप नभएर आफू अनुकूल हुने गरी वितरण गरेको कारण प्रदेश र स्थानीय सरकारका काम कारबाहीहरूमा गम्भीर प्रभाव प¥यो । 

पहिलो कार्यकाल हुनुको कारण नीति, विधि निर्माण संरचनागत अवस्था र अनुभवबाट सिक्दै जाने अवस्थाले पनि स्थानीय तहका काम कारबाहीमा केही प्रभाव परेको देखिन्छ। आगामी दिनमा यसबारे सुधार हुँदै जाने आशा गर्न गर्न सकिन्छ । स्थानीय तह संसदीय प्रणालीअन्तर्गत केवल अधिकारको बाँडफाड मात्र थिएन । राज्यको समाजवादउन्मुख चरित्र, समानुपातिक समावेशी मूल्यमान्यता, नागरिकका मौलिक हकको सुनिश्चितता, राज्यले गर्ने संवैधानिक व्यवस्था, तीन खम्बे आर्थिक नीतिका मूल्यमान्यताहरूसहित स्थानीय सरकारको जिम्मेवारी र कर्तव्यलाई बुझ्ने वा नयाँ राजनीतिक प्रणालीप्रतिको कमजोर प्रतिवद्धताको कारण पनि स्थानीय तहहरू केही अल्मलिएको र पुरानै विकृति र विसंगतिलाई बोकेर हिडेको समेत देखिन्छ । तसर्थ आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा होइन, सही नीति र नेतृत्वको छनौट गर्दै समाजवादउन्मुख समृद्धिको बाटोमा अगाडि बढ्न आवश्यक छ । 

साथै, आसन्न निर्वाचनका लागि केही राजनीतिक दलहरू घोषणा पत्र र प्रतिवद्धता वत्र सार्वजनिक गरिसकेका छन्, केही दलहरू बाहिर ल्याउने चरणमा छन् । यस पटकको प्रतिवद्धता पत्र जनता केन्द्रीत हुनु आवश्यक छ । सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडलबाट समाजवादउन्मुख समृद्धिको परिकल्पना गर्नु आवश्यक छ । नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिका साथै  गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी  अर्थव्यवस्थाको निर्माणलाई प्राथमिकतामा राख्नु जरुरी छ । रोजगारीका अवसरहरूको सिर्जना, विचौलियाहरूको भूमिकालाई न्यूनीकरण, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि विकास नीति र प्राथमिकता अहिलेको आवश्यकता हो । समूह, सहकारी, परिवारमार्फत् आम जनतालाई आर्थिक विकासको साझेदार बनाउनु तथा प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण आफूहरूको आर्थिक विकासको केन्द्रीय सार रहनु नै आजको आवश्यकता हो । 

विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसंख्यक जनताको हित र प्रगति अन्तरनिहीत रहने गरी स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादउन्मुख समृद्धिको दिशामा अघि बढाउनका लागि राजनीतिक दलहरू र जनप्रतिनिधिहरू केन्द्रीत हुनुपर्ने देखिएको छ । त्यस्तै, निःशुल्क र गुणस्तरीय शिक्षा, उद्यमशिलताको विकास र रोजागारी आधारभुत स्वास्थ्य सेवा सम्मृद्धिका लागि वन कार्यक्रमलाई जोड दिइनु पर्छ । गाउँपालिका वा नगरपालिका भनेर घर आँगनको सरकार भएकोले कृषि प्रदान मुलुकमा कृषिलाई विशेष प्राथमिकतामा राखेर नीति कार्यक्रम सहितको प्रतिबद्धताहरू दलबाट र उममेद वारबाट आउन् । कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित व्यवस्थापन, सिँचाइको उचित व्यवस्था, कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण, साना मझौला किसानहरूको सहकारी संगठन र समूहहरूको निर्माण, ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि श्रृङ्खलामा जोड दिइनु पर्ने छ । साथै, कृषि उपजको समर्थन मूल्य तोकिने, हरेक पालिकामा शीत भण्डार, संकलन तथा प्रशोधन केन्द्र,कृषि बजार व्यवस्था गरिने, प्रत्येक कृषि पेशाामा सम्लग्न किसानहरूलाई किसान परिचय–पत्र, कृषक पेन्सनको व्यवस्था गरिने, कृषिमा आमूल रुपान्तरणको लागि सहुलियत ऋण र अनुदान, व्यवसायिक तालिम, प्रविधि र प्राविधिक जनशक्ति र बजारीकरणमा आवश्यक सहुलियतको व्यवस्था गरिने जस्ता कार्यक्रमहरू अहिले नागरिकबाट माग भइरहेका छन् । 

कृषि, वन, खनिज पर्यटनलगायतको क्षेत्रसँग सम्बन्धित स्रोत साधनको उचित सदुपयोग गर्दै साना–मझौला उद्यम व्यवसायद्वारा रोजगारीका अवसरहरू सिर्जना गरिनु पर्ने छ । यसका लागि टोल–टोलमा सहकारी–घरघरमा रोजगारीको व्यवस्था गर्नु आवश्यक छ । एक टोल एक उद्यम– एक टोल एक उत्पादन,बेरोजगारीको अन्त्य, गरिबीको निवारण कार्यक्रम लागू हुनु आवश्यक छ । हरेक पालिकामा बेरोजगारहरूको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरू सुरु गर्ने बेला भएको छ । यसको साथै सीपमूलक तालिम, परियोजना वा प्रमाण–पत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहले सहजीकरण गर्नेछ । उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गर्ने कार्यक्रमहरू अबका जनप्रतिधिहरूले प्रतिबद्धता ल्याउने कि नल्याउने मुख्य सवालहरू यिनै छन् । आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न अघिल्लो जनप्रतिनिधिहरू र स्थानीय सरकारको कार्यकाल चुकेको छ । निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने छ । अनि सबै नगर/गाउँ पालिकामा आधारभूत अस्पताल र सबै वडाहरूमा स्वास्थ्य केन्द्रहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने छ । आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन ११० वटा औषधी निःशुल्क वितरण गरिनु पर्ने छ । विशेषज्ञ सेवाको लागि स्थानीय तहको समेत सहभागितामा स्वास्थ्य विमा सेवाको प्रबन्ध गरिने छ । औषधीजन्य जडिबुटीहरूको प्रशोधन गरी औषधि उत्पादनमा जोड दिइनु पर्ने छ । अनि मात्रै गाउँगाउँमा आएको सिंहदरवारको अनुभुती नागरिकहरूले प्रत्यक्ष रुपमा गर्न पाउने छन् । 

२०७९ साल बैशाख १२ गते । वर्ष : १५, अंक :२९।