![]() |
जिल्ला समन्वय समिति नुवाकोटमा निर्वाचित प्रमुख, उपप्रमुख र सात जना सदस्यहरू पदभार ग्रहणपछि शुक्रवार कार्यालय परिषरमा । |
मंगलवारसम्म माओवादी केन्द्र एक्लै जिसस गठन गर्ने ‘मुड’मा देखिएको थियो । माओवादीको प्रदेश समितिमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेताको बैठकमै काँग्रेससंग सहकार्य नगर्ने बहुमत स्वर थियो । तर बुधवार उम्मेदवारको मनोनय पत्र दर्ता गर्ने बेलामा भने काँग्रेससंगको ‘गठबन्धनको निरन्तरताको’ देखिदो कारण बाहिर आयो ।
जिल्ला सभामा माओवादीसंग १२, काँग्रेससंग ११ र एमालेसंग १ मत छ । एमाले नुवाकोटका जिम्मेवार नेताहरूले जिससमा निःशर्त माओवादीलाई सघाउने बताउँदै आएका थिए । अन्तिम समयमा एमालेले दुई सदस्य मात्रै माग गरेको थियो । माओवादीले प्रमुख, उपप्रमुख र अन्य पाँच सदस्य लिने अवसरलाई ‘अवसरको रुपमा’ देखेन । माओवादी एक नेताका अनुसार दुई कारणले माओवादीले एक्लै जिसस गठन नगरेर काँग्रेसलाई उपप्रमुख र चार सदस्य दिएको छ । नौं सिटमा प्रमुख सहित ४ सिट माओवादीले राखेर उपप्रमुख सहित ५ सिट काँग्रेसलाई दियो । यसरी दुई सदस्य मागिरहेको एमालेसंग माओवादीले सहकार्य नगर्नमा संघ र प्रदेशको निर्वाचनमा समेत काँग्रेस–माओवादी बीच हुने गठबन्धन मुख्य रहेको बताइएको छ । माओवादी जिल्ला संयोजक पुष्प लामिछानेका अनुसार केन्द्रको निर्देशन अनुसार काँग्रेससंग जिससमा गठबन्धन भएको हो । अझै बाँकी निर्वाचनहरूमा गठबन्धन कायम रहने र नुवाकोटको सन्र्दभमा मात्रै नभई काँग्रेस बलियो भएको अन्य जिल्लामा माओवादीलाई जिससमा प्रमुख दिने गरी छलफल भएकोले यसो गरेको उनले बताए ।
तर, समाचार श्रोतका अनुसार नुवाकोटमा एमालेसंग माओवादीको गठबन्ध हुने सम्भावना एमालेको विदुर नगर कमिटिका कारण भत्किएको हो । विदुर नगरपालिका वडा नं. ९ मा माओवादीबाट निर्वाचित वडा अध्यक्ष हरिराम भण्डारीको अख्तियारले अघि बढाएको मुद्दाको विषयमा एमालेले अराजनीतिक व्यवहार देखाएको आरोप छ । ‘भण्डारीको सन्र्दभमा हामीलाई एमालेले बढी नै लखेटेको हो’, एक नेताले भने– ‘त्यस घटनाबाट हामीले एमालेसंग विश्वास गरेर सिङ्गै जिसस दाउमा राख्न सकेनौं ।’ एमालेको मत काँग्रेस तर्फ जाँदा मात्रै पनि गोलाप्रथाबाट निर्वाचित हुनुपर्ने र प्राप्त भइरहेको समन्वय प्रमुख पद गुम्न पनि सक्नेमा माओवादी भित्र लामो छलफल भएको थियो ।
जिसस प्रमुखमा रजिन्द्रविक्रमसिंह ठकुरी (माओवादी) उपप्रमुखमा दलबहादुर तामाङ (काँग्रेस) निर्वाचित भएका छन् । सदस्यहरू माओवादीका तर्फबाट रामचन्द्र पौडेल, मोहन पुडासैनी र धनमाया विक, निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट राजेन्द्र श्रेष्ठ, सम्झना सेढाइँ, सन्तोषी देवकोटा र कान्छी सुनुवार जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन् ।
को हुन् रजिन्द्रविक्रम सिंह ठकुरी ?
नुवाकोट निर्वाचन क्षेत्र नं. १ को पञ्चकन्या गाउँपालिका वडा नं. ४ मा ठकुरीले बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडा सदस्य जितेका छन् । उनी नेकपा माओवादी केन्द्र पञ्चकन्या गाउँ समितिको उपाध्यक्ष हुन् । ४० वर्षका उनी २०५६ सालबाट तत्कालिन माओवादीको सशस्त्र युद्धमा लागेका हुन् । युद्धताका जनमुक्ती सेनामा काम गरेका रजिन्द्रविक्रम सिंह ठकुरीले एसएलसीसम्मको अध्ययन गरेका छन् ।
कृषक पृष्ठभुमीका ठकुरी आमाबुबा, श्रीमती र एक छोरासंग पञ्चकन्या–४ मा बस्छन् । गाउँमा उनी वासु नामले चिनिन्छन् ।