Monday, August 22, 2022

२०७९ साल भदौ ६ गते । वर्ष : १५, अंक : ४२


२ लाखको कामलाई १० लाख रुपैयाँ भुक्तान

खरानीटार । गाउँको सिंहदरवार भनिएका स्थानीय सरकारमा अनियमितता कत्तिसम्म झाङ्गिएको छ भन्ने उदाहरण नुवाकोटको तादी गाउँपालिकाले दिएको छ । तादी गाउँपालिकामा भुक्तान हुनुपर्ने भन्दा झण्डै आठ लाख रुपैयाँ बढी उपभोक्ता समितिलाई पठाइएको घटना सार्वजनिक भएको छ । 

गएको आर्थिक वर्षको अन्तिम दिन समयमा भएको यो अनियमितता ढाकछोप गर्न गाउँपालिकाको कार्यालय आफंै लागि परेको छ । गाउँपालिका अध्यक्ष सन्तमान तामाङ यस विषयमा मौन देखिएका छन् । यही विषयले उग्र रुप लिने अनुमान गर्दै गाउँपालिका अध्यक्ष सन्तमान तामाङले असार यता गाउँकार्यपालिकाको बैठक समेत राखेका छैनन् । कानुन अनुसार महिनाको कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ । अनियमितता पत्ता लगाएका गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल भने कार्यपालिकाको बैठक तत्कालै राख्नुपर्ने र उक्त योजनादेखि अन्य विषयमा छलफल हुनुपर्ने बताइरहेका छन् । गाउँपालिका अध्यक्ष सन्तमान तामाङले आज सोमवार (भदौ ६ गते) कार्यपालिका बैठक राखिएको प्रतिक्रृया दिएका छन् । 

यही काण्डका कारण तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्य झोला बोकेर बाटो लागिसकेका छन् । उनको ठाउँमा अहिले प्रयास भट्टराई साउन १५ देखि छन् ।  आचार्य साउन १३ गते शुक्रवार हिडेका र १५ गते आइतवार नयाँ प्रशासकीयका रुपमा भट्टराई हाजिर भएका हुन् । 

भट्टराई केही वर्ष अघि जिल्ला प्रशासन कार्यालय नुवाकोटमै कार्यरत थिए । उनी इलाका प्रशायि कार्यालय सातविसेमा समेत बसेर केही समय काम गरेका थिए । 

त्यस बेलाका लेखा अधिकृत दिपेश भण्डारी गाउँपालिकामै ‘कार्यरत’ छन् । तर उनी लामो समयदेखि कार्यालयमा छैनन् ।   

तादी गाँउपालिका वडा नं. ३ स्थित टुटुङ–रिमालडाँडा–कोइरालाचेत खानेपानी योजनामा अनियमितता भएको हो । १० लाख रुपैयाँ र त्यसको १० प्रतिशत जनश्रमदान गरी ११ लाख  रुपैयाँको उक्त आयोजनामा काम भएको मुल्याङ्कन भने २ लाख ३५ हजार १३८ रुपैयाँ ४६ पैसाको भयो । त्यसमा विभिन्न कर कटाएर उपभोक्ता समितिलाई गाउँपालिकाले भुक्तान गर्नु पर्ने रकम १ लाख ९२ हजर २५८ रहेकोमा गाउँपालिकाले १० लाख रुपैयाँकै चेक उपभोक्ता समितिका अध्यक्ष एकहादुर वाग्लेलाई बोकाएर पठाए । 

उक्त योजना बागमती प्रदेश सभाका उपसभामुख एवं नुवाकोट क्षेत्र नं. १ को प्रदेश ‘क’ का सांसद राधिका तामाङको पहलमा तादी–३ मा भित्रिएको हो । 

असार २४ गत राती पउने १२ बजे उक्त चेक गाउँपालिकाको कार्यालयमै तयार भएको थियो । लेखा शाखामा कामको भिड भएकोले त्यस दिन अन्य फाँटका कर्मचारीलाई समेत सहयोग गर्न बोलाइएको थियो । तर अन्य कर्मचारी भएको समयमा त्यो चेक लेखिएको थिएन । ‘म पउने १२ बजे लेखा शाखाबाट हिडेको हुँ, म हुँदासम्म त्यो चेक लेखिएको थिएन’, एक कर्मचारीले भने– ‘चेकहरू राती १२ बजेभित्र सिस्टममा इन्ट्री गरिसक्नु पर्ने थियो, त्यस कारण त्यो चेक रातको पउने १२ देखि १२ बजेको बीचमा लेखिएको हो ।’ प्रमुख प्रशासकीय अधिकृत आचार्य र लेखा अधिकृतले ३० गते मात्रै उक्त चेकमा हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष वाग्लेलाई हस्तान्तरण गरेका थिए । लेखा अधिकृत भण्डारीले कार्यालयमै बोलाएर उक्त चेक पठाएका थिए । त्यसपछि उपभोक्ता समितिका अध्यक्ष वाग्ले, लेखाअधिकृत भण्डारी र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच पटक पटक विवाद र ‘एकान्त’ हुन थालेको थियो । 

साउन ८ गते मात्रै आठ लाख रुपैयाँ बढी भुक्तान भएको कुरा बाहिर आएपछि यसले चर्चा पाएको हो । उपभोक्ता समितिका एक सदस्यले गाउँपालिकाबाट बढी रकम लिएको र अध्यक्ष वाग्ले त्यसलाई मिलाउन दौडधुप गरिरहेको चुहाएका थिए । 

लाखौं रकम अनियमितता गरेको अधिकृत अर्जुन आचार्यलाई मायाको चिनो नै दिएर साउन १३ गते गाउँपालिकाबाट बिदाई गर्दै तादीका अध्यक्ष सन्तमान तामाङ । तस्बिर : इमेज

यस विषयका सम्पूर्ण कागजपत्रहरू गाउँपालिकाको कार्यालयले ‘गोप्य’ भन्दै लुकाएको छ । कार्यपालिका सदस्यहरूले समेत यस विषयमा अध्ययन गर्नका लागि कागज माग गर्दा नपाएको गुनासो गरेका छन् । यस घटनालाई गाउँपालिका अध्यक्ष सन्तमान तामाङले कर्मचारीहरू मार्फत् छोप्ने प्रयास गरिरहेका छन् । साउन १५ देखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत भट्टराईले यस विषयमा अनभिज्ञता दर्शाउने गरेका छन् भने पुर्व अधिकृत आचार्यले भने कर्मचारीको गल्तीका कारण त्यसो भएको र उक्त घटनामा आफ्नो कुनै सम्लग्नता र खराब नियत नरहेको बताएका छन् । ‘यस विषयमा मैले सुनेको छु, तर ठ्याक्कै कागज चाँही हेर्न भ्याएको छैन’ अधिकृत भट्टराईले भने ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार उपभोक्ता समितिका पदाधिकारीले रकम फिर्ता गर्ने बचन दिएका छन् । त्यसैले उनीहरूले ‘इमान्दारिकासाथ’ बढी पैसा फिर्ता गर्ने प्रतीक्षामा गाउँपालिका कार्यालय रहेको छ । ति कर्मचारीका अनुसार उपभोक्ता समितिले दुई लाख रुपैयाँ भने गाउँपालिकाको खातामा जम्मा गरेको छ । बाँकी रहेको रकम पनि खातामा जम्मा गर्ने तीन पटक उनीहरूले भाखा कटाएका छन् । तर गाउँपालिकाले रकम फिर्ता भएको प्रमाण भने सार्वजनिक गरेको छैन । उपभोक्ता समितिका अध्यक्ष वाग्लेले ‘बाँकी रकम आजै खातामा हाल्ने’ भनेर जनप्रतिनिधि र कर्मचारीसंगहरू मौखिक रुपमा पटक पटक भनेका छन् । 

यसरी काम गरेको भन्दा बढी रकम भुक्तान भएको पाइएपछि गाउँपालिकाका अन्य योजनाहरूमा पनि अनियमितता भएको हुनसक्ने आशंका बढेको नागरिकहरूले बताउन थालेका छन् । 

गाउँपालिका अध्यक्ष सन्तमान तामाङले यस घटनालाई गाउँपालिकाले गम्भिरताका साथ लिएको र बढी भुक्तान भएको रकम असुलउपर गराउनका लागि प्रयास भइरहेको बताएका छन् । असार २४ गते अन्तिम चेक लेख्ने क्रममा गत आवको बाँकी रहेको रकम भुक्तन हुनुपर्ने भएकोले बढी गएको हो की भन्ने अनुमान भएपनि असार ३१ गते नै त्यस बेलाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बढी रकम उपभोक्ता समितिलाई भुक्तान भएको जानकारी आफुलाई गराएको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् । ‘त्यही बेलादेखि छानविनका लागि आवश्यक प्रक्रिया र रकम फिर्ता ल्ष्याउने काम सुरु गरेका छौं’, तामाङले भने– ‘केही रकम फिर्ता आएको सुनेको छु, समिितले फिर्ता नगरे कर्मचारीहरूबाट असुलउपर हुन्छ, रकम हराउदैन ।’

धारमा प्रशासकीय अधिकृत

प्रयास भट्टराई
खरानीटार । तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न प्रयास भट्टराई तयारी अवस्थामा रहेको जस्तै देखिए । साउन १३ गते ‘अपर्झट’ हिडेका भनिएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्य र अहिलेका प्रमुख प्रशासकीय अधिकृतको जाने र आउने ‘ग्याप’ नै रहेन । साउन १३ गते शुक्रवार आचार्य हिडे, १४ गते शनिवार कार्यालय बिदा, १५ गते आइतवार भट्टराई हाजिर । 

कर्मचारीको भुल भनिएको उक्त लाख बढी भुक्तानी भएको घटनालाई ‘ह्याण्डील’ गर्ने तागत नभएकै कारण आचार्य हिडेको अनुमान अहिले तादी गाउँपालिकाका जनप्रतिनिधिहरूले गर्न थालेका छन् । एक जनप्रतिनिधिले भने– ‘त्यसैले घटनालाई थाम्न सक्ने गरी नै अहिलेको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईलाई गाउँपालिका अध्यक्ष सन्तमान तामाङले ल्याएका हुन् ।’ एउटा प्रमुख प्रशासकीय अधिकृत सरुवा भई हिडेपछि अर्को ल्याउन कत्तिको मुस्किल खेप्नु पर्छ भन्ने उदाहरण तादीमै प्रशस्त छन् । अघिल्लो पाँच वर्षको कार्यकालमा आधा समय निमित्त प्रमुख प्रशासकीय अधिकृतले थामेका थिए । यत्तिका ठुलो काण्ड भएकै समयमा एक मिनेट पनि खाली नहुने गरी अधिकृत आइपुग्नुले गाउँपालिकाको अध्यक्ष तर्फपनि प्रश्न तेर्सिएको छ । ‘हामीलाई आचार्य जान लागेको शुक्रवार थाहा भयो, आइतवार नयाँलाई स्वागत गर्नुपर्यो भनेर अध्यक्षले बोलाए’ एक जनप्रतिनिधिले भने । 

    उनका अनुसार प्रमुख प्रशासकीय जाने र आउने घटनाक्रम पालिका अध्यक्ष बाहेक कुनै जनप्रतिनिधिको जानकारीमा थिएन ।  

तर गाउँपालिका अध्यक्ष तामाङले आचार्यले मन्त्रालयमा सरुवा मागिरहेको जानकारी भएपछि नयाँ अधिकृतका लागि खोजी केही दिन अघिबाटै भइरहेको बताए । ‘यसमा मेरो कुनै चलखेल छैन, बरु उहाँले (अहिलेका प्रमुख प्रशासकीय अधिकृत भट्टराई) मलाई चिन्नुभएको रहेछ, पहिल्यै नुवाकोट बसेका कारण, मैले त चिनेको पनि थिइन’, तामाङले भने– ‘मन्त्रालयले सक्षम कर्मचारी छन् प्रशासनिक क्षेत्रका लागि भनेपछि मैले सहमती जनाएको हुँ ।’

साउन १५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई आफ्नो सरुवा साउन ८ गते नै भएको र ९ गते रमाना लिएर १५ गते तादी गाउँपाकिलामा हाजिर भएको बताउछन् । ‘म स्थानीय तहमा काम गर्न इच्छुक भएर सरुवा मागिरहेको थिएँ, तादी गाउँपालिकामा खाली भएकोले मैले सरुवा लिएको हुँ, गाउँपालिका अध्यक्षलाई नुवाकोट बस्दा पहिल्यै चिनेको भएपनि उहाँले मलाई गाउँपालिकाको कार्यालय पुगेपछि मात्रै चिन्नुभएको हो’ भट्टराईले भने । 

तर उनलाई कर्मचारी भन्दा गाउँपालिकाका अध्यक्षको अनुकुल काम गर्न थालेको आरोप लागेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको बराबरी उपस्थिति रहेको तादी गाउँपालिकामा अहिले गाउँपालिका अध्यक्ष तामाङ अनुकुलमा काँग्रेसको काम र क्रियाकलाप देखिएको छ । असारमा भएको गाउँकार्यपालिका बैठकले करारका कर्मचारीहरूलाई असोज मसान्तसम्म मात्रै म्याद थप गर्ने निर्णय गरेकोमा उनले न्यायीक सहजकर्तामा एक वर्षको नियुक्ती दिएर काँग्रेस कार्यकर्तालाई कर्मचारीको रुपमा निरन्तरता दिएको कार्यपालिकाका एक सदस्यले बताए । ‘बैशाखमा भएको निर्वाचनमा काँग्रेसको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिन ठिक्क परेको व्यक्तिलाई नियुक्ति दिइएको छ, त्यो पनि उनीमात्रैलाई एक्कै वर्षको,’ उनले भने– ‘हामीले कागजपत्र माग गर्दा हाकिमले अध्यक्षको आदेशमा भनिरहेका छन् ।’ असोज मसान्तपछि करारका कर्मचारीहरूको विषयमा निर्णय गर्ने गरी कार्यपालिका बैठक बस्नुपर्नेमा त्यसको कुनै तयारी नभएको एक वडा अध्यक्षले बताए । 

प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले आफुले मन्त्रालयको पत्रको कार्यान्वयन मात्रै गरेको र गाउँपालिका आएपछिको आफ्नो पहिलो र एक मात्रै काम त्यही रहेको बताएका छन् । उनले भने– ‘मन्त्रालयले गाउँपालिकालाई पत्र पठाएर न्यायीक सहजकर्तालाई निरन्तरता दिनु भनेकोले सोही व्यहोराको पत्र मात्रै लेखेको हुँ, अन्य कुनै कर्मचारीको विषयमा केही नियर्ण वा नियुक्ति भएको छैन ।’

गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने प्रदेश सरकारबाटै म्याद थप भएर आएको र तलब समेत उतैबाट आउने भएकोले आफुहरूले त्यसको प्रक्रिया मात्रै पुरा गरेको बताए । तामाङले भने– ‘अन्य करारका कर्मचारीहरूको विषयमा कुनै निर्णय भएको छैन र उनको म्याद प्रदेशबाटनै थपिएको हो, हामीले कुनै निर्णय गरेको वा नियुक्ती दिएका छैनौं ।’  

गाउँपालिकाको चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गरेर १४÷१४ सिट जितेपछि गाउँकार्यपालिकाको निर्वाचनमा काँग्रेस र माओवादी मिलेको थियो । चार सिट जितेको एमालेलाई पाखा लगाउन काँग्रेस–माओवादीले गरेको मोर्चाबन्दी लामो समय नजाने अनुमान काँग्रेस माओवादीकै नेताहरूले गर्न थालेका छन् । ‘गाउँपालिका अध्यक्ष तामाङ काँग्रेसको पृष्ठपोषणमा केन्द्रीय भएको प्रष्ट भएपछि माओवादी नयाँ रणनीतिको तयारीमा छ’, माओवादी तादी गाउँपालिकाका एक नेताले भने– ‘सहकार्य र सह अस्तित्वको मर्मलाई अध्यक्षले भुले ।’ 

तादी गाउँपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसको पालिका अध्यक्ष, दुई वडा अध्यक्ष र पालिका सदस्य तीन गरी ६, माओवादी केन्द्रको पालिका उपाध्यक्ष, तीन वडा अध्यक्ष र पालिका सदस्य तीन गरी ७ र एमाले एक वडा अध्यक्षको उपस्थिति छ ।   

माओवादी–अध्यक्ष दुरी बढ्दै

खरानीटार । गाउँपालिका अध्यक्ष निर्वाचित भएलगत्तै सन्तमान तामाङले काँग्रेसको भातृ संस्थाको अधिवेशन गाउँपालिकाको कार्यालयमा गराएपछि विवाद भएको थियो । शिक्षक संघको अधिवेशन उनले गाउँपालिकाको कार्यालयमै गराएका थिए । तर त्यसको अघिल्लो दिन माओवादीले पार्टीको एक कार्यक्रमका लागि गाउँपालिकाको बैठक कक्षा माग गर्दा उनले कुनै दल विशेषको कार्यक्रम गर्दा राम्रो सन्देश नजाने भन्दै ठाउँ दिएनन् । 

अहिलेको जनप्रतिनिधिहरूको कार्यकालको पहिलो बार्षिक बजेट तथा नीति सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथि माओवादीका नेता हितबहादुर तामाङ हुने सम्भावना देखेपछि कुनै पनि दलको नेतालाई गाउँपालिकाको कार्यक्रममा कहिल्यै प्रमुख अतिथि नबनाउने उनले दावी गरे । संघीय सांसद वा प्रदेश सांसदलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न माओवादी केन्द्रले प्रस्ताव गरेपछि हितबहादुर तामाङ वा राधिका तामाङ प्रमुख अतिथि हुने देखेर कुनै दलको नेतालाई प्रमुख अतिथि नबनाउने उनले बताएको एक सदस्यले भने । तर बजेट घोषणा समारोहमा उनले काँग्रेस तादी गाउँपालिकाका सभापति नारायणप्रसाद पाण्डेलाई प्रमुख अतिथिका रुपमा आसन ग्रहण गराए । पुर्व गाउँपालिका अध्यक्ष पाण्डेलाई काँग्रेस गाउँपालिका सभापतिका रुपमा प्रमुख अतिथि बनाइएपनि माओवादीले त्यस बेला कुनै प्रतिक्रृया दिएन । 

    तर यस विषयमा सबै कार्यपालिका सदस्यहरूको सहमती भएको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् । ‘पाण्डेलाई त्यस बेलामा पुर्व गाउँपालिका अध्यक्षको हैसियतले प्रमुख अतिथि बनाइएको थियो, हितबहादुर तामाङ वा राधिका तामाङको विषयमा कुनै चर्चा भएको थिएन’, अध्यक्ष तामाङले भने– ‘अघिल्लो कार्यकालको बाँकी काम र अनुभवलाई समेत जोड्न सकिने हेतुका कारण उहाँलाई त्यसबेलामा रोजिएको हो ।’ तर माओवादकिा एक जनप्रतिनिधिका अनुसार पाण्डेलाई पुर्व प्रमुखका रुपमा त्यसबेलाका कार्यक्रममा आसनग्रहण र परिचय गराइएको थिएन । सम्वोधनका बेला एक÷दुई पटक पुर्व अध्यक्ष भनिएपनि काँग्रेस सभापतिकै हैसियत दिइएको थियो ।   

जिल्ला समन्वय समितिको निर्वाचन सकिएको भोलिपल्टको घटनाले भने माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरू सन्तमान तामाङसंग सशंकित बनेका छन् । समन्वय प्रमुखमा निर्वाचित माओवादी केन्द्रका रजिन्द्रबिक्रमसिंह ठकुरी तादी गाउँपालिकाको कार्यालय हुँदै आफ्नो गाउँपालिका पञ्चकन्या जाँदै थिए । यस विषयमा जानकारी पाएका गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेलले अध्यक्ष सन्तमान तामाङले जानकारी गराएका थिए । अध्यक्षलाई जानकारी गराएर समन्वय प्रमुख ठकुरीको स्वागतमा गेटमा उपाध्यक्ष र माओवादीबाट निर्वाचित केही पालिका सदस्यहरू मात्रै उभिए । ‘दोहो¥याएर सन्तमानलाई समन्वय प्रमुखको स्वागत गर्न जान आग्रह गर्न गएका एक जनप्रतिनिधि र एक जना कर्मचारीले तामाङको हप्की खाए’ एक जनप्रतिनिधिले भने । तामाङ आफ्नो कार्यकक्षबाट ओर्लिएनन्, बरु समन्वय प्रमुख ठकुरी उनको कार्यकक्षमा पुगेर आफुलाई निर्वाचित गर्न भुमिका खेलेकोमा आभार व्यक्त गर्दै आफुलाई अघिल्लो कार्यकालको अनुभव सहित मार्गनिर्देश गर्न आग्रह गरे । 

तर यस विषयलाई अतिरञ्जित गरिएको अध्यक्ष तामाङले बताए । उनका अनुसार सडकमै स्वागत गर्न जाने र उतैबाट समन्वय प्रमुख जाने कुरा सुनेपछि आफ्नो कार्यालयमा आउनुपर्ने मात्रै त्यसबेलामा कुरा भएको थियो । ‘म अरुको हैसियत, मानमर्यादाको विषयमा अझ याद गर्ने मान्छे मैले उहाँलाई त्यसो भनेको होइन, हाम्रो कार्यालय प्रमुखज्यूले नटेकी जान पाउनुहुन्न पो भनेको हुँ’ तामाङले भने । आफुले सडकमा पुगेर चाँही स्वागत नगर्ने चाँही भनेको बताए । 

उनै तामाङले दुई साता अघि काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत खरानीटार आउँदा आफ्नो कार्यालयबाट बाहिर निस्केर अमरज्योती माविको कम्पाण्ड परिसरमा महतलाई खादा लगाएर स्वागत गरेका थिए ।

तामाङ यस अघिको जिल्ला समन्वय समितिको प्रमुख भएका कारण आफुले नेतृत्व गरेको संस्थाको प्रमुख आउदा उनले गर्ने सम्मान र आदारभावको अपेक्षा हामीले गरेका थियौ, तर समन्वय प्रमुख होइन एउटा माओवादी आयो भन्ने गरी उनले ब्यवहार देखाए’ माओवादीका एक नेताले भने । अध्यक्ष तामाङ भने आफ्नो र माओवादी केन्द्र बीच दुरी बढेको कुनै आभाष नै नभएको बताउँछन् । संविधानले समेत स्थानीय सरकारमा अल्पमत, बहुमत र प्रतिपक्षको कल्पना नगरेकोले समभावका साथ संविधानको मर्म अनुसार आफु चल्ने तामाङको प्रतिक्रृया छ ।

तारकेश्वर भ्रष्टाचारको अखडा


विदुर । तारकेश्वर गाउँपालिकाको नेतृत्व आर्थिक अनियमितता र कमिसनको खेलमा लागेको आरोप लागेको छ । सोही गाउँपालिका अन्तर्गतका वडाध्यक्ष सूर्यमान श्रेष्ठले गाउँपालिका अध्यक्ष शिव अधिकारी एकपछि अर्को आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यमा लागेको आरोप लगाएका हुन् । स्थानीय निर्वाचनबाट एकै पार्टी नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा अधिकारी र वडा नम्बर ३ को अध्यक्षमा श्रेष्ठ विजयी भएका थिए । जनप्रतिनिधिको रुपमा काम थालेको ३ महिनामै श्रेष्ठले आफ्नै अध्यक्ष विरुद्ध आरोप लगाएका रातोपाटीले लेखेको छ । 

गाउँपालिका कार्यालयको एलईडी डिस्प्ले (डिजिटल) बोर्ड निर्माण, सरकारी गाडी, स्वास्थ्य सामाग्री, पालिका भवन लगायतमा गाउँपालिका अध्यक्षको नियत सफा नदेखिएको श्रेष्ठको दाबी छ । अध्यक्ष नियोजित भ्रष्टाचारमा लागेपछि एउटा स्वतन्त्र नागरिक र इमान्दार जनप्रतिनिधिको हैसियतले जनता सामू आफूले स्पष्ट कुरा राखेको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘मेरो पाटी विरोधी आवाज होइन, भ्रष्टाचारविरुद्धको आवाज हो । हरेक कुराको हिसाब गर्नेछौँ, अब याद रहोस् सबै टिकाउ हुँदैन’, श्रेष्ठले भने ।

डिजिटल बोर्डको ६ लाख !


गाउँपालिकाले कार्यालयमा डिजिटल बोर्ड राख्नका लागि झण्डै ६ लाख खर्चिएको छ । जुन विषय सार्वजनिक भएपछि अहिले चर्को विरोध गरिरहेका छन् । भ्याटसहित डिजिटल बोर्डमा ५ लाख ९६ हजार ६४० रुपैयाँ खर्चिएको हो । अनामनगरस्थित इनोभेटिभ मिडिया एण्ड मल्टिपल बिजनेस प्रालि मार्फत खरिद गरिएको बोर्डमा आर्थिक चलखेल भएको वडाध्यक्ष श्रेष्ठ लगायतको दाबी छ । श्रेष्ठले विज्ञापन प्रकाशन लगायतमा पनि उस्तै आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । यस विषयमा गाउँपालिका अध्यक्ष अधिकारीले भने कुनै आर्थिक अनियमितता नभएको दाबी गरे । विज्ञापनका सम्बन्धमा उठेको प्रश्न पुरानो स्थानीय सरकारको विषय भएको र डिजिटल बोर्ड यही सरकारले खरिद गरेपनि त्यसमा आर्थिक अनियमितता हुन नसक्ने बताए ।

‘कुनै कम्पनीबाट बोर्ड खरिद गरिएको हो । त्यो अध्यक्षले गएर किन्ने कुरा पनि भएन । कर्मचारीले प्रक्रिया सम्मत ढंगले किनेको हो’, उनले भने, ‘प्रश्न उठेपछि मैले कम्पनीमा फोन गरेर सोधेको थिएँ । त्यति पर्छ भन्ने जानकारी आएको छ ।’ 

प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले १० लाखसम्म कोटेशनमा सोझै खरिद गर्न सकिने प्रावधान अनुसार बोर्ड खरिद गरेको बताए । तीन वटा सप्लायर्स मार्फत कोटेशन मागेर नियम संगत ढंगले प्रक्रिया अघि बढाइएको भन्दै बोर्डको बिल भुक्तानी हुन पनि बाँकी रहेको बताए । ‘यो प्रश्न उठिसकेपछि हामीले सप्लायर्सलाई मूल्य समायोजन हुन सक्छ कि सक्दैन भनेर मौखिक रुपमा भनिसकेका छौँ’, उनले भने, ‘यो सबैले बुझ्ने कुरा हो, भोलि बजार मूल्य अनुसार नै बिल कायम गरेर भुक्तानी हुने हुन्छ । 

यस्तै सप्लायर्स कम्पनी इनोभेटिभ मिडियाका पदम सन्ज्यालले आफूले गाउँपालिकाको बोर्ड बनाउन ६४ हजारजति नाफा लिएको भन्दै यसमा कसैलाई कमिसन पनि नदिएको स्पष्ट गरे । उनले भने, यो गुणस्तरीय बोर्ड भएकाले पनि महँगो भएको हो । यो सामान्य रातो स्कोलिङ बोर्ड जस्तो होइन ।’ यसको बजार रेट नै प्रतिस्क्वायर फिट १४ हजार देखि १६ हजार ५०० रुपैयाँ सम्म रहेको उनको भनाइ छ । 

‘मेयरका मान्छे’ जोडिएपछि लुकाइयो घटना

विदुर खानेपानी संस्थाको कार्यालय विदुरमा राखिएको विदुरका मेयर राजन श्रेष्ठका शोकियसचिव सुरज सिलवालको कबाडीमा भेटिएको सामाग्री । तस्बिर : इमेज साप्ताहिक

विदुर । पाँच हप्ताको अबधीमा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाइप दुई पटक चोरी भएको छ । साउन २७ गते र असार १९ गते । तर साउन २७ गतेको घटना मात्रै बाहिर आयो । असार १९ गतेको घटनालाई जिल्ला प्रहरी कार्यालयमा लिखित मिलापत्र गरी गुपचुप बन्द गरिएको छ । 

यसरी अघिल्लो घटनालाई बन्द गरिनुको कारण विदुर नगरपालिकाका प्रमुख (मेयर) राजन श्रेष्ठसंग सम्बन्धित भेटिएको छ । श्रेष्ठका निजी सहयोगीका रुपमा कार्यरत कवाडी ब्यवसायी सुरज सिलवाल चोरीको सामान खरिद गरेको घटनामा जोडिएपछि लुकाइएको हो । मेयर श्रेष्ठसंग घटना जोडिने भएपछि सिवलावको नाममा दर्ता भएको कबाडी समेत भारतिय नागरिकको नाममा रहेको प्रहरीले नै लिखित गरी प्रमाणित गरेको छ । साथै, त्यसमा विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, विदुर नगरपालिका वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपाल लगायतका व्यक्ति साक्षी बसेका छन् ।

विदुर नगरपालिका वडा नं. ४ बट्टार बसापार्कमा रहेको बासुकी कबाडी कलेक्सनको सञ्चालक हुन् सुरज सिलवाल । तर असार १९ गते भएको एक चोरी घटनाको मिलापत्रको कागजमा असार २० गते जिल्ला प्रहरी कार्यालयमा लेखियो ‘कबाडी पसल सञ्चालक भारत मोतिहारी जिल्ला घर भई हाल विदुर नगरपालिका बस्ने रामनारायण सहनी ।’ बट्टार बसपार्कमा सुरज सिलवालको दुई वटा कबाडी पसल सञ्चालनमा छ । बासुकी उनका आमा खलकुमारी सिलवालको नाममा छ भने त्रिशुली कबाडी कलेक्सन आफ्नै नाममा छ । 

खानेपानी योजनाको सामाग्री चोरी भएर विदुर नगरपालिका वडा नं. १० बाट विक्रि भएपछि संस्थाका पदाधिकारी तथा कर्मचारीहरू प्रहरी सहित खोजी गर्दै जाँदा सिलवालको कबाडीमा पुगेका थिए । हराएको सामाग्री त्यहाँ फेला परेपछि जिल्ला प्रहरी कार्यालयमा कबाडी सञ्चालक सिलवाल सहितका अन्य लगिएको थियो । तर विदुर खानेपानी उपभोक्ता संस्था र चोरी गरेर विक्रि गर्ने बीच भएको समहती पत्रमा भने विवरण फरक लेखियो । चोरीको सामाग्री खरिद गर्ने कबाडी पसलको सञ्चालकमा सही नाम लेख्दा विदुर नगरपालिकाका राजन श्रेष्ठलाई अप्ठ्यारो पर्ने भन्दै सिलवालको कामदारको नाम उल्लेख गरिएको थियो । यस विषयमा बुझ्न यस प्रतिनिधिले सिलवालसंग सम्पर्क गर्दा उक्त कबाडी पसल आफ्नो भएको पुष्टि गर्न चुनौती दिए । उनले भने– ‘मलाई यस विषयमा जानकारी छैन, तपाईले कसरी कस्तो समाचार बनाउन लाग्नु भएको बनाउँदा हुन्छ, तर मेरो नाम जोड्दा चाँही प्रमाणित हुनुपर्छ ।’ 

प्रहरी वयानमा कबाडी सञ्चालक भनी प्रमाणित गरिएको रामनारायण सहनीलाई शुक्रवार सम्पर्क गर्दा उनी भारतको मोतिहारी स्थित आफ्नो घर गएका दावी गरेका छन् । उनले आफु सुरज सिलवालको कबाडीमा काम गर्ने र दुवै कबाडी आमा र छोराको नाममा दर्ता भएको बताए । ‘म इण्डियाको मान्छे हुँ, मेरो नाममा कसरी दर्ता हुन्छ त कबाडी पसल ?’ उनले प्रश्न गर्दै भने– ‘त्यो कबाडी पसलहरू सुरज दाई र उहाँको मम्मीको नाममा रहेको छ ।’ 

उनले थप बुझ्नु परेमा कबाडीका लेखापाल रामेश्वर गजुरेललाई सम्पर्क गर्नु भन्दै सम्पर्क नम्वर टिपाए । उनले आफु प्रहरी कार्यालयबाट छुटे लगत्तै घर आएको र एकदुई दिनमै नुवाकोट आइपुग्ने बताएका छन् । ‘म यता इण्डियामा भएको कारण मेरो मोवाइलमा रोमिङ लागिरहेको छ तपाईसित कुरा गर्दा, म आइतवार आउछु अनि कुरा गर्छु’ उनले भने । 

विदुर नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसबाट निर्वाचित पुर्व वडा सदस्य सन्तमान तामाङले खानेपानी संस्थाले काम गर्दागर्दै सडक छेउमा छाडेको ६ इञ्चको गेटवल जिआई बेन तीन हजार रुपैयाँ कबाडी संकलकलाई विक्रि गरेका थिए । उक्त सामान सुरेन्द्र बैठाले खरिद गरेर सिलवालको बट्टार स्थित कबाडीमा विक्रि गरेका थिए । 

असार १९ गते जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा सुरुमा निक्कै कस्सिएको प्रहरी अन्तिममा लचिलो बन्यो । विदुरका मेयरका स्वकिय सचिवकै पसल र स्वकिय सचिव नै घटनामा तानिएपछि प्रहरीले नै रणनीति फेरेको थियो । समाचार श्रोतका अनुसार मेयर श्रेष्ठले नै प्रहरीलाई दवाब दिएका थिए । 

खानेपानीले दियो ठेकेदार विरुद्ध उजुरी


विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सामाग्री ठेकेदारले कबाडीमा बिक्रि गरेपछि बारबाहीको माग गर्दै संस्थाले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दर्ता गराएको छ । संस्थाको अधिनमा रहेको सामाग्रीहरू बिना जानकारी र कबाडी भएको घोषणा गर्दै सिको/कालिका/तुण्डी जेभीले साउन २७ गते विक्रि गरेको थियो । 

लाखौं मुल्यका पाइप विक्रि भएको जानकारी पाएपछि संस्थाका सचिव रघुनाथ रिमालले साउन २८ गते बिहान विदुरस्थित ट्राफिक प्रहरी पोष्टमा बसेर उक्त सामाग्री बोकेर गुडी रहेको ट्रक प्रहरीलाई नियन्त्रणमा लिन लगाएका थिए । तुण्डीका लेखापाल सन्तोष लामिछानेले ढुङ्गे स्थित एक कवाडी गोदाममा पु-याएर उक्त सामाग्री एक लाख तीन सय ७५ रुपैयाँमा विक्रि गरेका थिए ।

विदाको दिन कम्पनीका प्रतिनिधि लामिछानेले आफ्नो सामाग्री जानकारी समेत नदिई कबाडीमा विक्रि गरेको भन्दै संस्थाका सचिव रिमालले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । साउन २९ गते उजुरी दिएको भएपनि आजसम्म प्रशासनले केठेदार कम्पनीलाई बोलाएर सामान्य सोधपुछ समेत गरेको जानकारी बाहिर आएको छैन । 

यसै बिषयमा केन्द्रीत भएर नुवाकोट नागरिक समाजले समेत साउन २९ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेको छ । उनीहरूले समेत प्रमुख जिल्ला अधिकारीसंग जवाफ मागिरहेको भएपनि केही नयाँ तथ्य बाहिर नआएको समाजका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीले बताए । 

२९ गते दिउँसो संस्थाको बट्टार स्थित गोदाममा विना जानकारी उक्त सामाग्री खसालिएको छ । कम्पनकिा लेखापाल न्यौपानेले कबाडीबाट पुनः उक्त सामाग्री उठाएर गोदाममा पु-याएका हुन् । न्यौपानले आफ्नो कार्यालय वरपर रहेको काम नलाग्ने सामाग्रीहरू सरसफाई गर्ने क्रममा कबाडीलाई विक्रि भएको हास्यास्पद तर्क गर्दै सो सामाग्री खानेपानी संस्थाको नभएको दावी गरे । 

तर २०७८ साल बैशाखमा नै ठेकेदार कम्पनीसंग रहेको सामाग्री उपभोक्ता संस्थालाई हस्तान्तरण गर्ने लिखित सहमती भएको सचिव रिमालले बताए । 



१ लाख २० हजार म्यादी प्रहरी

विदुर । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्नाको प्रस्ताव छ । 

निर्वाचन सुरक्षार्थ प्रहरी प्रधान कार्यालयले म्यादी भर्नाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरेको हो । म्यादी प्रहरीको कार्यअवधि ४० दिन राख्न पनि प्रस्ताव गरिएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गएको स्थानीय तह निर्वाचनमा भन्दा बढी संख्यामा म्यादी प्रहरी भर्ना गर्न आवश्यक देखिएको र सोही अनुसार संख्या निर्धारण गरेर गृह मन्त्रालयमा पेस गरिएको बताए । उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतपेटिका छुट्टाछुट्टै हुने भएर त्यसको सुरक्षामा म्यादीको संख्या पनि बढाउनुपर्ने देखिएको छ । यसअघिका निर्वाचनमा खटिएका म्यादी र पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिने उनको भनाई छ । 

आगामी निर्वाचनमा सेना, प्रहरी र सशस्त्र प्रहरीका पौने २ लाख सुरक्षाकर्मी खटाउने गरी सुरक्षा निकाय आ–आफ्ना कार्ययोजना निर्माणमा जुटेका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचन सुरक्षामा ७१ हजारभन्दा बढी सेना, करिब ६२ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल र १ लाख म्यादी प्रहरी खटाइएको थियो । 

जवानको मासिक आधारभूत तलबमान २२ हजार ६६० रुपैयाँका आधारमा म्यादीका लागि ४० दिनको एकमुष्ट ३० हजार २४० रुपैयाँ, पोसाकभत्तावापत ६ हजार रुपैयाँ, रासन भत्ताबपत एकमुष्ट ७ हजार २ सय रुपैयाँ र यातायात भाडाबाट एक पटकका लागि १ हजार रुपैयाँ उपलव्ध गराउने गरी सुविधा निर्धारण गरिएको थियो । आगामी निर्वाचनमा पनि त्यसलाई नै आधार मानेर म्यादी भर्ना गर्न प्रहरीको प्रस्ताव छ ।

साउन १ बाट कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि भएका कारण म्यादीको तलब पनि सोहीअनुसार निर्धारण हुनुपर्ने उल्लेख छ । वृद्धि तलब अनुसार जवानको तलब ३ हजार ३९९ रुपैयाँ वृद्धि भएर २६ हजार ५९ पुगेको छ  । 

प्रस्तावित संख्याअनुसार म्यादी भर्ना भए १ लाख २० हजार म्यादीका लागि एक महिनाको पारिश्रमिकमा मात्रै ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । 

रासनभत्ता, पोसाक सुविधालगायत जोड्दा ४० दिनका म्यादीका लागि मात्रै पौने ६ अर्ब रुपैयाँ जति खर्च हुनेछ ।

दुई फरार अभियुक्त पक्राउ

विदुर । जिल्ला प्रहरी कार्यालले नुवाकोटले छुट्टाछुट्टै दुई घटनामा दोषी ठहर भएका अभियुक्तहरूलाई लामो समयपछि पक्राउ गरेर कारागार पठाएको छ । 

मानव बेचविखन तथा ओसारपसार मुद्दामा फैसला भई २९ वर्षदेखि फरार रहेका नुवाकोटका एक अभियुक्त पक्राउ परेका छन् ।

दुप्चेश्वर गाउँपालिका–७ का ५६ वर्षीय ध्रुव नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा नुवाकोट अदालतले २०५० साल पुस १९ गते २ वर्ष ६ महिना कैदको फैसला गरेको थियो । उनलाई पक्राउ गरी फैसला कार्यान्वयन अन्तर्गत जिल्ला कारागार कार्यालय चलान गरिएको छ ।

यसै बीच, सवारी ज्यान मुद्दामा १ महिना कैद फैसला भई फरार रहेका पञ्चकन्या गाउँपालिका–३ का ३९ वर्षीय रामकुमार भण्डारीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । नुवाकोट अदालतले उनलाई एक महिना कैद हुने फैसला गरेपछि फरार थिए ।

तस्बिर समाचार


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति नुवाकोटले विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीलाई सम्मान गर्दै । अनेमसंघ (क्रान्तिकारी) को विदुरमा शनिवार भएको बिस्तारित बैठक तथा सम्मान कार्यक्रममा स्थानीय तह निर्वाचनमा नुवाकोटमा निर्वाचित भएका ४९ महिला जनप्रतिनिधिहरूलाई सम्मान गरिएको अनेमसंघ (क्रान्तिकारी) नुवाकोट इञ्चार्ज कल्पना रिमालले जानकारी दिएका छन् । तस्बिर : सुनिता गुरुङ/इमेज

त्रिशुली अस्पतालमा बायोग्यास सञ्चालन


त्रिशुली । त्रिशुली अस्पतालले ‘बायोग्यास प्लान्ट’ सञ्चालन गरी फोहरको उचित व्यवस्थापन थालेको छ । यसरी तयार गरिने ‘बायोग्यास प्लान्ट’ जिल्लामा पहिलो हो ।  

यसबाट फोहर ब्यवस्थापनको साथमा अस्पताललाई आवश्यक पर्ने ऊर्जा सस्तोमा प्राप्त भएको छ । सुत्केरी हुँदा निस्कने प्लासेन्टा, अन्य मानव अङ्ग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्याँस प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष राजु पण्डितका अनुसार गत हप्ताबाट प्लान्ट सञ्चालनमा आएको छ । त्यसबाट उत्पादन भएको उर्जा अस्पतलले विक्रि समेत गरिसकेको छ । पण्डितका अनुसार अस्पतालका बिरामीहरूलाई खाना खुवाउने क्यान्टिनलाई मासिक पाँच हजार रुपैयाँमा उत्तल प्लान्टबाट उत्पादन भएको उर्जा विक्रि गरिएको हो । 

४० घनमिटरको सो प्लान्टबाट दैनिक ८० जना व्यक्तिलाई विहान बेलुका खाना बनाएर खुवाउन सकिन्छ । यो प्लान्टमा निस्किएको ग्यास अस्पतालको चिकित्सकहरूको मेसमा तथा बिरामीहरूलाई निःशुल्क खाना बनाउने प्रयोजनको लागि प्रयोग गरिने अस्पतालका अध्यक्ष पण्डितले जानकारी दिए । उनका अनुसान हाल क्यान्टिनमा मात्रै यो प्लान्टको उर्जा खपत भइरहेको छ । 

अस्पतालले मासिक १० हजार बराबरको एलपी ग्यास बिरामीलाई निःशुल्क खाना खुवाउन खर्च गर्दै आएको छ । 

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको अस्पताल सुदृढ़ीकरण कार्यक्रमको आठ लाख रुपैयाँको लागतमा त्रिशुली अस्पतालले बायोग्यास प्लान्ट निर्माण गरेको हो । यसबाट सड्ने गल्ने फोहरको दीर्घकालीन व्यवस्थापन मात्रै नभएरु उर्जाको नयाँ श्रोत समेत थपिएको र त्यसबाट अस्पताले आम्दानी समेत गर्न थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए । 

स्याटेलाइट क्लिनिक नविकरण

त्रिशुली । त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको स्याटेलाइट क्लिनिक सञ्चालन गर्नेबारे सम्झौता नवीकरण भएको छ ।  बिहीबार दुई अस्पतालले २०८० भदौं मसान्तसम्मका लागि उक्त सम्झौता नवीकरण गरेका हुन् । 

त्रिशुली अस्पतालका तर्फबाट मेसु डा. दीपेन्द्र पाण्डे र कान्ति बाल अस्पतालका तर्फबाट निर्देशक डा. युवानिधी बस्यौलाले सझौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त पत्रमा कान्ति बाल अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्ने र त्रिशुली अस्पतालले कान्ति अस्पतालको स्याटेलाइट सेवा प्रभावित नहुने वातावरणको सृजना गरिदिनुपर्ने उल्लेख छ । 

संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभूत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि सुरु भएसँगै त्रिशुली अस्पतालमा कान्ति बाल अस्पतालको सेवा उपलब्ध हुन थालेको हो ।

तस्बिर समाचार

लायन्स क्लब इन्टरनेशनलको काठमाडौं र नुवाकोटमा क्रियाशिल विभिन्न पाँच वटा क्लबहरुको पदस्थापन गएको हप्ता नुवाकोटमा भएको छ । काठमाडौंको तीन र नुवाकोटको दुई वटा क्लबको पदस्थापन कार्यक्रम भएको हो । आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने अभिप्रायका साथ पाँच वटा क्लवको कार्यक्रम संयुक्त रुपमा नुवाकोटमा गरिएको कार्यक्रमका सभापति सन्तोष उप्रेतीले जानकारी दिएका छन् । 

लायन्स क्लब अफ नुवाकोट त्रिशुली, लायन्स क्लब अफ काठमाडौं मिलन, लायन्स क्लब अफ काठमाडौं सदाबहार, लायन्स क्लब अफ नुवाकोट उपकार र लिओ क्लब अफ नुवाकोट उपकारको पदस्थापन कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी,लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ जे का गर्भनर ध्रुब श्रेष्ठ, विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी लगायतको सहभागिता थियो ।  

प्रदेश सभाका लागि डोलबहादुर घलेले स्वतन्त्र उम्मेदवार


विदुर । मंसिर ४ गते हुने निर्वाचनमा लिखु गाउँपालिका वडा नंं. २ का डोलबहादुर घलेले नुवाकोटको क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । 

लामो समय सैन्य जागिरे जीवनमा रहेका घले पछिल्लो समय सफल निर्माण व्यवसायीका रुपमा नुवाकोटमा परिचित छन् । उनी १० वर्ष नेपाली सेनाको ‘स्पेशल फोर्स’ मा कार्यरत थिए । जागिरे जीवनपछि निर्माण व्यवसायमा लागेका घले हाल विदुर नगरपालिका वडा नं. ४ मा अस्थायी बसोवास गर्छन् । 

४० वर्षिया डोलबहादुर घलेले देशमा भइरहेको यथास्थितिका कारण विकास निर्माण र समाज परिवर्तन हुन नसकेकोले जनप्रतिनिधिका रुपमा समेत युवाहरूको आवश्यकता रहेको बताएका छन् । पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलले समेत भविष्यका लागि केही गर्ने आशा नरहेको बताउँदै आफ्नो स्वतन्त्र उम्मेदवारी रहने उनले बताएका हुन् । ‘कुनै दल विशेषको विरुद्धमा नभई मुलधारको राजनीतिमा युवाहरूको आवश्यकता देखेर उम्मेदवारी दिने घोषणा गरेको हँु’ घलले भने । 

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार र युवाहरूको पक्षमा देखिएको लहरका कारण मतदाताहरूले के रुचाइरहेका छन् भन्ने संकेत गरेको उल्लेख गर्दै उनले नुवाकोटमा आशा लाग्दो र विकास अनि परिवर्तनका लागि केही गर्ने युवाले अवसर पाउने अवस्था रहेको दावी गरेका छन् । पुराना दलबाट वाक्कदिक्क बनेका नागरिकहरूले स्वतन्त्र उम्मेदवारको पक्षमा माहौल सृजना गर्ने भएकै कारण आफ्नो जितको सम्भावना रहेको उनको भनाई छ । 

राजनीतिक यात्रामा जत्तिनै योगदान दिएपनि कुनै पनि दलमा कुनै पद बिना आजसम्म समर्पित हुँदै आएका उनले थप उल्लेख गरे– ‘आज आएर कुनै पनि दल वा व्यक्तिले समाजलाई बिकास र उन्नतीको बाटोमा लैजान नचाहेको देखेको हुँदा अब म आफै उमेदवार भई गाउँ समाजको बिकास र उन्नतीमा मेरो जीवन समर्पण गर्न चाहन्छु ।’

राजनीतिलाई नेताहरूले पेशा बनाएका र आफुले सुरु गर्ने अबको राजनीतिक बाटो यो क्षेत्र पेशा वा कमाई गर्ने थलो नभई समाजसेवाको रुपमा रहेको स्थापित गर्ने आफ्नो अठोट रहेको घलेले बताएका छन् । 

उनको पहिलो चुनावी मुद्दा भ्रष्टाचार अन्त्य हो । भ्रष्टाचार अन्त्य भए समाजको आधा विकास त्यतिकै हुने उनी दाबी गर्छन् । अहिले नुवाकोटमा जति पनि विकास निर्माणका कार्य हुन्छन्, त्यहाँ ५० प्रतिशत भन्दा बढी भ्रष्टाचार भएको उनको दाबी छ । ‘म निर्वाचित भएँ भने कम्तीमा मैले जित्ने निर्वाचन क्षेत्रबाट भ्रष्टाचार हटाएर देखाउँछु, त्यसले अन्य क्षेत्रका जननिर्वाचित प्रतिनिधिलाई पनि मेरो अभियानले डो¥याउने छ,’ उनी आत्मविश्वासी बने ।

दलहरूप्रति जनताले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतपरिणाममा आउनसक्ने तर्क डोलबहादुर घलेको छ । जनताका सपना ठूलो नभएको तर नेताहरूले नै ठूला सपना देखाएर पूरा नगर्दा निराशा छाएको उनको भनाई छ । खानेपानी, शिक्षा, स्वास्थ्य, महँगी नियन्त्रणमा मात्र ध्यान दिँदा पनि जनता खुसी हुने उनको भनाई छ । 

‘अब दलहरूले टिकट दिँदैमा जित्छ भन्न सकिँदैन । लोकतन्त्रमा मतदाताले मताधिकार मार्फत आफ्नो अभिमत व्यक्त गर्ने हुन्, अहिले त्यही भइरहेको देशैभरी हामी देख्न सक्छौं’ घलेले भने, ‘दलहरूले यस अघिका निर्वाचनहरूको उम्मेदवार छनौट गर्दा पनि विवेकपूर्ण देखिएनन् । जनताले चाहेको, जनतामा भिजेको उम्मेदवार भएको हुनुपर्ने रहेछ । मतदाता सचेत हुन थालेका छन् । छानीछानी आफूले रोजेको उम्मेदवारलाई भोट दिएका छन् ।’

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डोलबहादुर घलले भने– ‘हिजोको राजनीतिक परिवेशमा मैले गरेको सहयोग, त्याग र बलिदान अनि गाउँ समाजलाई बिकासको बाचा सोचे जस्तो कुनै पनि दल वा व्यक्तिले नगरेको हुँदा अब मेरो राजनीतिक यात्रा समाजको लागि समर्पित गर्ने छु ।’

नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा तीन वटा गाउँपालिका छन् । लिखु, सुर्यगढी, ककनी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको वडा नं. १, २, ५ (२२ वटा वडा) नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा रहेका छन् । 

चालकको स्वास्थ्य परीक्षण


विदुर । नुवाकोट जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनीकरण गर्न लामो मध्यम तथा छोटो दुरीमा चल्ने सवारीहरूका सवारी चालकहरूको स्वास्थ्य परीक्षण गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा विदुरको पुजा चश्मा पसल र बट्टारको सापकोटा मेडिकल हलले प्राविधिक सहयोग गरेका थिए । त्यस अवसरमा १ सय ५० साना तथा ठुला सवारी साधनका चालक र सहचालकहरूको स्वास्थ्य परीक्षण तथा आँखाको जाँच गरिएको जिल्ला ट्राफिक कार्यालय नुवाकोटका वरिष्ट प्रहरी नायव निरिक्षक गुणनिधि खकुेरेलले जानकारी दिएका छन् । 

उनीहरूको सामान्य स्वास्थ्य परिक्षणदेखी उच्च रक्तचाप समेत जाँच गरिएको थियो । सबै सवारी चालकहरूलाई सवारी दुर्घटनाबाट हुने जोखीम न्युनीकरणको सचेतना फैलाउने तथा सवारी चालकहरूलाई सवारी दुर्घटना न्युनीकरण गराउन निःशुल्क स्वास्थ्य जाँच तथा आँखा परीक्षण भएको खकुरेलले जानकारी दिए । 

अमेरिकाबाट विद्यालयलाई सहयोग

विदुर । नुवाकोटबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरूको संगठित संस्था नुवाकोट अमेरिका सम्पर्क समितिले शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।

विदुर नगरपालिकाको वडा नम्बर ५ देवीघाटमा रहेको विद्यालयलाई समितिले १ लाख ५३ हजार रुपैया सहयोग गरेको हो । विद्यालयका विद्यार्थीको खानपान र आवासका लागि उक्त सहयोग प्रदान गरिएको समितिका प्रचार विभाग प्रमुख जनकराज ढुंगानाले जानकारी दिए । 

अंग्रेजी माध्यमबाट अध्यापन गराउनुका साथै विद्यालयले वेद वेदाङ्ग आदि विषयहरू गुरुकुलीय वातावरणमा आवसीय सेवा सुविधा सहित निःशुल्क अध्ययन गराईरहेको छ । 

विद्यार्थीका लागि खानपान र बसोबासका लागि  खर्च अभाव भएकोले सबै पक्षलाई सहयोगको लागि आग्रह गरिएको र सोही अनुसार नुवाकोट अमेरिका सम्पर्क समितिले सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोलले जानकारी दिए ।

मोनिका मोडल हन्ट

विदुर । तारकेश्वर गाउँपालिका–१ दाङसिङ का १९ वर्षीया मोनिका अधिकारी सातौं संस्करणको ‘जोय मोडल हन्ट नेपाल २०२२’ को बिजेता भएका छन् । 

२६ प्रतिष्पर्धीलिाईपछि पार्दै अधिकारी महिलातर्फको विजेता बनेका हुन् । पुरुषतर्फको ‘जोय मोडल हन्ट नेपाल २०२२’ को विजेता भने काठमाडौंका २० बर्षीय विवेक खड्गी भए । विजेता द्वयले नगद ५ लाख उपहार पाएका छन् । साथै उनीहरूले आगामी सेप्टेबर १ देखि १५ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन्।

हितबहादुर र राधिका तामाङ बाढी पहिरोमा


दुप्चेश्वर । साउन २४ गते रातीको अबिरल बर्षासंगैको बाढि पहिरोले क्षति पु-याएको स्थानको संघीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निरिक्षण सहित सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् । बिषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि सहित बाढी पहिरोले पु-याएको क्षतिको निरिक्षण गर्न पुगेका तामाङद्धयले समुन्द्रटारदेखी राउतबेशीको झघरेसम्म निरिक्षण गरी सम्बन्धित कार्यालय र गाँउपालिकालाई यथासक्य बास्तविक क्षति संकलन र उचित व्यवस्थापनको लागी निर्देशन दिएका हुन् । 

निरिक्षण तथा क्षती संकलनको लागी सिञ्चाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, पुर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, पशुसेवा कार्यालय, खानेपानी कार्यालयका कर्मचारीहरू बाढी पहिरो क्षेत्रमा पुगेका थिए । बिषयगत कार्यालयहरूलाई बास्तविक क्षति संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिमा  तत्काल पेश गर्नको लागी निर्देशन दिईएको छ । बास्तविक क्षति संकलन पश्चात प्रदेश र संघमार्फत गर्न सकिने सहयोग र क्षति पुगेको स्थानको विकासको लागी पहल गरिने सांसद हितबहादुर तामाङले बताए । उनले बाढी र पहिरोका कारण आधा दर्जनभन्दा बढि पक्की पुल, सडक, सिञ्चाई, खानेपानीमा क्षति पुगेका कारण संघिय सरकार र प्रदेश सरकार मार्फत निर्माण गर्नको लागी तत्कालै पहल गर्ने बताए । 

उक्त स्थानहरूको निरिक्षण गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले विपदको समयमा राजनीतिक पार्टी नभनी सबैलाई समान व्यबहार गर्नको लागी पालिका र वडालाई निर्देशन दिएका छन् । उनले विपदमा तत्कालको लागी सुरक्षित स्थानमा बसेर बाच्ने र बचाउने कार्यगरी बास्तविक क्षती संकलनको लागी निर्देशन दिए । उनले तत्कालको लागी खानेपानीको आवश्यकता रहेकोले सम्बन्धित कार्यालय मार्फत ५ हजार मिटर पाईप समेत उपलब्ध गराएका छन् । 

उपसभामुख तामाङले क्षती संकलन पश्चात उचित क्षतिपुर्ती र विनास भएका पुर्वाधारहरूको निर्माणका लागी कुनै कसुर बाँकी नराख्ने बताएका छन् । बाढी पहिरो अबलोकन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले बर्षायामको समय अझै बाँकी रहेकाले सचेत भएर सुरक्षित स्थानमा बस्नको लागी आग्रह गरेका छन् । प्रमुख ठकुरीले बिपदको समयमा सरकारको मुख नताकी सामाजिक कार्यमा सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।  

गत साउन २४ गते राती अबिरल बर्षसंगै आएको बाढी र पहिरोले दुप्चेश्वर गाँउपालिकामा सयौ घर लगायत हजारौ रोपनी धानखेतमा क्षति पु-याएको छ । दुप्चेश्वरको वडा नम्बर ३ राउतबेशीको  ८५ घरपरिवारको धानखेतमा क्षति पुगेको छ भने १० भन्दा बढि घर जोखिममा परेको वडा अध्यक्ष ध्रुवकर केसीले जानकारी दिए । 

    वडा नम्बर २ को गाँउखर्कको बडरे, हुङ, बेप्चो लगायतका स्थानमा गएको पहिरोका कारण १५ रोपनी धानबाली नष्ट भएको छ । ५ घर जोखममा रहेकाले स्थानान्तरणनै गर्न पर्ने वडा अध्यक्ष विरवल तामाङले जानकारी दिएका छन् । 

वडा नम्बर ४ को बेतीनीको धारापानी र कन्दनका ३० घरधुरी उच्च जोखिममा रहेकाले बस्तीनै स्थानान्तरण गर्नुपर्ने अबस्था रहेको वडा अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । सयौं रोपनी खेतमा लगाईएको धानबाली नष्ट हुनुका साथै खानेपानी, सिञ्चाईका कुलो, नहरमा क्षती पुगेको उनको भनाई रहेको छ । 

वडा नम्बर ५ बालकुमारीमा १२ घरमा क्षति हुनुका साथै धानबाली नष्ट भएको छ । यसैगरी वडा नम्बर ६ समुन्द्रटारमा २९ परिवारको घरखेतमा क्षती पुगेको छ । 

दुप्चेश्वर गाँउपालिकाको  वडा नम्बर २, ३, ४, ५ र ५ मा २ सय भन्दा बढी परिवारको धानबाली नष्ट भएको छ भने ५० भन्दा बढी घरहरू उच्च जोखिममा रहेको छ । बाढीले चन्द्रमती खोलाको तटबन्धन पुर्ण रुपमा क्षति भै वस्ती जोखिममा परेको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताएका छन् । अध्यक्ष थापाका अनुसार सबै वडामा खानेपानी तथा सिञ्चाईमा क्षती पुग्नुका साथै चन्द्रमती खोला मुहानगरी भ्याङ्ले सिम्ले सिञ्चाई कुलो पुर्ण रुपमा क्षती भएको छ । 

बाढी पहिरो पिडितलाई अस्थायी आवास

तस्बिर : जगदीश खनाल

समुन्द्रटार । दुप्चेश्वर गाँउपालिकामा बाढी र पहिरोबाट घर जोखिममा परेकाहरूलाई अस्थायी आवासको लागी टेन्ट वितरण गरिएको छ । गत साउन २४ गते रातीको अबिरल बर्षासंगैको बाढि पहिरोले घरमा क्षति पु-याएको २९ परिवारको लागी टेन्ट, त्रिपाल, कम्बल र हाईजिन किट एक/एक थान बितरण गरिएको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिएका छन् । 

जिल्ला विपद व्यवस्थापन समिति मार्फत २९ थान टेन्ट र नेपाल रेडक्रस सोसाईटी नुवाकोट मार्फत २९ थान त्रिपाल, २९ थान कम्बल र २९ थान हाईजिन किट प्राप्त भएकाले घर उच्च जोखिममा परेका २९ परिवारलाई बितरण गरिएको अध्यक्ष थापाले बताए । वडा अध्यक्षहरूबाट संकलन भएको वास्तविक २९ घरपरिवार पिडितहरूलाई सामग्री बितरण गरिएको गाँउपालिकाले जनाएको छ । वाढी र पहिरोबाट अन्य घरहरूपनि जोखिममा परेको जानकारी आएमा तत्काल अस्थायी बासको लागी व्यवस्थाको प्रबन्ध मिलाईएको अध्यक्ष थापाले जानकारी दिए । 

सामग्री बितरण गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले बाढी र पहिरोबाट पिडित भएकाहरूलाई तत्कालको लागी सुरक्षित स्थानमा बासस्थानको व्यवस्था मिलाउन टेन्ट, त्रिपाल र कम्बल बितरण गरिएको बताएका छन् । उनले गत साउन २४ गतेको वाढी र पहिरोले अन्य परिवारपनि जोखिममा परेको वास्तविक तथ्याङ्क आएमा अस्थायी रुपमा तत्कालै सुरक्षित बासस्थानको लागी व्यवस्था गरिने भएकाले वडा अध्यक्षहरूलाई वास्तविक पडितहरूको पहिचान गर्नको लागी निर्देशन दिएका छन् । 

सामग्री बितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जोखिममा परेका पिडितहरूले प्राप्त गरेको सामग्रीहरूको सहि सदुपयोग गरी सुरक्षित स्थानमा बासस्थानको व्यवस्था मिलाउनको लागी आग्रह गरे । अर्यालले बर्षातको समय अझै बाँकी रहेकाले सचेत भएर सुरक्षित स्थानमा बस्नको लागी सबै नागरिकहरूलाई आग्रह गरेका छन् । बिपदको समयमा सरकारको मुख ताकेर नबसी सामाजिक कार्यमा सक्दो सहयोग गरी समाजमा एकअर्कालाई सहयोग गर्नको लागी उनले आग्रह गरेका छन् । 

वर्षाले दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा ४० भन्दा बढी घरमा क्षति पु-याउनुका साथै  र हजारौ रोपनी धानखेत क्षती गरेको छ । 

    यसै बीच, बुधबार क्षति पु-याएको स्थानको संघिय साँसद हितबहादुर तामाङ र बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निरिक्षण गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् । 

बिषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि सहित बाढी पहिरोले पु-याएको क्षतिको निरिक्षण गर्न पुगेका तामाङद्धयले समुन्द्रटारदेखी राउतबेशीको झघरेसम्म निरिक्षण गरी सम्बन्धित कार्यालय र गाँउपालिकालाई यथासक्य बास्तविक क्षति संकलन र उचित व्यवस्थापनको लागी निर्देशन दिएका हुन् । 

राहत सामग्री बितरणमा गाँउपालिकाका उपाध्यक्ष माकुरी तामाङ, १ का अध्यक्ष सिताराम तामाङ, २ का अध्यक्ष बिरवल तामाङ, ३ का अध्यक्ष ज्ञानबहादुर तामाङ, ५ का अध्यक्ष प्रेमबहादुर तामाङ, ७ का अध्यक्ष बुद्धिमान तामाङ, खरानीटार प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरिक्षक योगेश खरेल, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोदकुमार अधिकारीलगायतको सहभागिता रहेको थियो ।  

२०७९ साल भदौ ६ गतेको सम्पादकीय

अनियमितताको चंगुलमा सरकार

नुवाकोटको तारकेश्वर गाउँपालिकामा दोश्रो पटक अनियमितताको घटना सार्वजनिक भएको छ । यस अघि आफ्नै नेताको सबारी साधन महंंगोमा भाडामा लिने सम्झौता गरेका गाउँपालिकाले सामाग्री खरिदमा समेत कमाउने मेसो मिलाएको जनप्रतिनिधिहरूले ने खुलेआम भन्न थालेका छन् । एलईडी डिस्प्ले (डिजिटल) बोर्ड निर्माण, सरकारी गाडी, स्वास्थ्य सामाग्री, पालिका भवन लगायतमा गाउँपालिका अध्यक्षको नियत सफा नदेखिएको भन्दै वडा अध्यक्ष नै सार्वजनिक रुपमा देखा परेका छन् । तारकेश्वर गाउँपालिकाको नेतृत्व आर्थिक अनियमितता र कमिसनको खेलमा लागेको आरोप लागेको छ । 

नुवाकोटको तादी गाउँपालिकामा काम भएको भन्दा आठ लाख रुपैयाँ बढी उपभोक्ता समितिलाई भुक्तान गरिएको छ । असार समान्तमा भएको यो घटनालाई लामो समयसम्म गाउँपालिकाको कार्यालयले नै लुकाएको थियो । उपभोक्ता समितिले फिर्ता गर्ने मौखिम प्रतिबद्धता दिएकै भरमा जनप्रतिनिधिहरू त्यसको असुलउपर हुनेमा ढुक्क भए बसेका छन् । उनीहरूको यो ‘ढुक्क’ ले फरक संकेत गरेको छ ।  

विदुर नगरपालिकामा ढुङ्गा, बालुकाका ठेक्का लिएका ठकेदार गत हप्ता गएको आर्थिक वर्ष आफुले नगरपालिकासम्म गरेको सम्झौताको सक्कल प्रति माग गर्दै आन्दोलन नै गर्न पुगे । असार मसान्तसम्म ठेक्का सम्झौता भएको उक्त काममा आफ्नो अधिकार के लेखिएको थियो जनकारी समेत नभएको भन्दै ठकेकेदार पक्ष कार्यालय पुगेको हो । सम्झौता अनुसारको असार  महिना सकिएर अर्को एक महिना बित्दा समेत उनी आफ्नो पुरानो सम्झौता पत्रको खोजी गर्दै कार्यालय पुगेका हुन् । जेठ देखि १२ पटकसम्म लिखित निवेदन दिएर उनले सम्झौता पत्र माग गरेको भएपनि त्यसमा सुधार गरेर दिने आवश्ष्वास मेयर दिएर फर्काएपछि अड्किएका थिए । उनलाई केही छुट वा जम्मा गर्ने राजश्वमा सहुलियत दिने मौखिम सहमती थियो । 

नुवाकोटको तीनवटा स्थानीय सरकारको यो फरक फरक घटनाक्रमले स्थानीय सरकार कसरी चलिरहेको  छ र के का लागि चलिरहेको छ भन्ने प्रष्ट संकेत गरेको छ । संयोगवस, यी तीन वटै स्थानीय सरकारको अध्यक्ष÷प्रमुखमा नेपाली काँग्रेस र उपाध्यक्ष÷उपप्रमुखमा माओवादी केन्द्रबाट जनप्रतिनिधि चुनिएका छन् । 

त्यसो त, स्थानीय पालिकाको स्वीकृत पुँजीगत खर्चबाट गरिने विकास निर्माण अन्तर्गत खरिद योजनादेखि निर्माणसम्पन्न प्रतिवेदन तयारी र भुक्तानी प्रक्रियासम्म स्वार्थको द्वन्द्व देखिने गरी कार्य गरी भ्रष्टाचार गर्ने तथा सार्वजनिक सम्पत्तिको हानि÷नोक्सानी तथा गैरकानुनी लाभ र हानि हुने कार्य स्थानीय तहमा हुने गरेको छ । कतिपय स्थानीय तहमा तोकिएको काम नै नगरी नक्कली भर्पाइ र किर्ते कागजात बनाई सरकारी रकम भुक्तानी लिने समेत पाइएको छ । प्रचलित, ऐन, नियम, निर्देशिका, कार्यविधि तथा अन्य कानुनले तोकेबमोजिमका प्रक्रिया पूरा नगरी, पालना नगराई रकम विनियोजन तथा हिनामिना हुने गरेको घटना यसअघि धेरै पटक सार्वजनिक भएको छ । 

उक्तभोक्ता समितिबाट हुने काममा स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले आफूनिकटका व्यक्ति तथा दलका कार्यकर्तालाई रोजगारी दिने नाममा उपभोक्ता समिति गठन गरी रकम पठाएर काम नै नगरी वा गुणस्तरहीन काम गरी भ्रष्टाचार हुने गरेको छ । उपभोक्ता समितिबाट कसरी काम गर्ने भनेर मापदण्ड बनाइएको भए पनि त्यसको कुनै पनि स्थानीय तहले पालना गरेको देखिँदैन । कतिपय गाउँपालिका तथा नगरपालिकाले पालिकाको नाममा आएको रकम व्यक्तिगत खातामा स्थानान्तरण गर्ने, रकम बैंकबाट निकाली व्यक्तिगत प्रयोजनका लागि खर्च गरी सरकारी कोषको दुरुपयोग गर्ने काम भएको छ भने सरकारी प्रयोगका भवन पनि उपभोक्ता समितिमार्फत निर्माण गराउने कार्य गरी चरम भ्रष्टाचार भएको छ ।

राजनीतिक दलले आफ्नो स्वार्थ पूरा गर्ने शर्तमा संवैधानिक निकायमा पूर्वकर्मचारी तथा आफ्नो दलमा आस्था राख्ने कार्यकर्तालाई नियुक्ति दिँदा समग्र भ्रष्टाचार नियन्त्रणको गतिविधि नै गतिहीन र दिशाविहीन बन्न पुगेको छ । राजनीतिक दल आफूलाई सुधार्न तयार छैनन् । अनि नागरिक पनि राजनीतिक दलको भ्रष्टाचारका बारेमा चिन्तित त हुन्छन् तर निर्वाचनको समयमा अवसर आउँदा तिनै दलका पैसावालालाई मतदान गरी विजयी बनाउँछन् । 

जबसम्म भ्रष्टाचार नियन्त्रण हुँदैन र सुशासन स्थापनाका लागि ठोस आधार तय हुँदैन तबसम्म समृद्धि कोरा सपना र चुनावमा मात्र काम लाग्ने राजनीतिक भाषणमा मात्र सीमित हुन पुग्छ । भ्रष्टाचारको ग्राफ दिनदिनै बढ्दै जाने, यसको नियन्त्रणका लागि नारा दिने तर काम नगर्ने अनि नियन्त्रण गर्ने निकायलाई आफ्ना कार्यकर्ता तथा अनुयायी नियुक्ति गर्ने प्रवृत्तिले समृद्धि कदापि प्राप्त गर्न सकिन्न ।

Sunday, August 21, 2022

पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्षमा बर्षमान पुन चयन

विदुर । पोष्टबहादुर बोगटी प्रतिष्ठानको सातौं बार्षिक साधारण सभाबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ अध्यक्षमा चयन भएका छन् । 

गत शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । उपाध्यक्षमा सांसद हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी, महासचिवमा निर्मल आचार्य चयन भएका छन् । 

०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । नुवाकोटका बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिर समेत लोकप्रिय रहेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए । 

बोगटीका एक मात्र छोरा रवी बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए । प्रतिष्ठानले शिक्षा, स्वास्थ्य जस्ता सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।