![]() |
गाउँपालिका अध्यक्ष शिव अधिकारी (बाँयाँ) र वडा अध्यक्ष सुर्यमान श्रेष्ठ (दाँयाँ) |
विदुर । तारकेश्वर गाउँपालिकाको बैठक पुस्तिका (माइन्युट) जिल्ला प्रहरी कार्यालय नुवाकोट आइपुगेको छ । कार्यपालिका बैठकको क्रममा वडा अध्यक्ष सुर्यमान श्रेष्ठले लुटेका माइन्युट छानविनका लागि प्रहरीले जिल्ला कार्यालय ल्याएको हो ।
भदौ २२ गते बैठक भइरहेको अवस्थामा तारकेश्वर वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले माइन्युट नियन्त्रणमा लिएर झोलामा हालेका थिए । उपस्थिति गर्ने क्रममा उनको हातमा पुगेको माइन्युट नियन्त्रणमा पुगेपछि बैठक अवरुद्ध भएको थियो । बैठकबाट माइन्युट चोरी भएको जानकारी जिल्ला प्रहरी कार्यालयमा आइपुगेपछि जिल्लाबाटै प्रहरीहरू गाउँपालिकाको कार्यालयमा पुगेका थिए । प्रहरी पुग्दा माइन्युट सोही कोठामा भेटिएको थियो । माइन्युटको पानाहरू र अन्य अवस्था ठिक छ÷छैन जाँचबुझ गर्नका लागि २२ गतेनै प्रहरीले बैठक कक्षमा फेला पारेको उक्त माइन्युट विदुर ल्याएको थियो । प्रहरीले अनुसन्धानका लागि भन्दै अहिलेसम्म (आइतवार दिउँसोसम्म) गाउँपालिकाको उक्त माइन्युट जिल्ला प्रहरी कार्यालमा नै राखेको छ ।
भदौ २२ गते बसेको गाउँपालिकाको उक्त आठौं बैठक अघि पनि वडा अध्यक्ष सुर्यमान श्रेष्ठ र गाउँपालिका अध्यक्ष शिब अधिकारीबीच विवाद हुँदै आएको छ । गाउँपालिकामा सामाग्री खरिद तथा विज्ञापनको रकम भुक्तानीमा चरम अनियमितता गरेको र निर्णय नभएका कार्यहरू गर्दै आएको भन्दै वडा अध्यक्ष श्रेष्ठले गाउँपालिका अधिकारीको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । उनीहरू दुवै नेपाली काँग्रेसबाट निर्वाचित हुन् । वडा अध्यक्ष बहादुरसिंह लामा तामाङ खेमाका र गाउँपालिका अध्यक्ष अधिकारी अर्जुननरसिंह केसी खेमाका हुन् ।
१४ सदस्यीय कार्यपालिकामा काँग्रेसको १०, एमालेको ३ र माओवादी १ सदस्य छन् । काँग्रेसका १० मध्ये गाउँपालिका अध्यक्ष अधिकारीको पक्षमा उनी सहित तीन जना र वडा अध्यक्ष श्रेष्ठको पक्षमा उनी सहित सात जना कार्यपालिका सदस्य विभाजित देखिएका छन् ।
गाउँपालिकाले खरिद गरेको डिजिटल बोर्डको भुक्तानी सयौं गुणा बढी भएको, पत्रपत्रिका प्रकाशन भएको टेण्डरको सूचनाको बढी भुक्तान गरेका अनियमितताहरू अध्यक्ष सुर्यमान श्रेष्ठले अघिल्लो महिनानै सार्वजनिक गरिसकेका छन् । श्रेष्ठको वडा अध्यक्षमा यो दोश्रो कार्यकाल हो । गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु पर्व अधिकारी पर्यटन ब्यवसायका साथमा पर्यटनसंग सम्वन्धी पत्रिका प्रकाशन गर्थे । स्थानीय तह निर्वाचनमा तारकेश्वरमा काँग्रेस–माओवादी गठबन्धनले जितेको थियो ।
भदौ २२ गतेको बैठकमा अघिल्लो बैठकको निर्णयहरूको विषयमा प्रष्ट जानकारी नगराएको, गाउँपालिकामा भइरहेका अनियमितताको विषयमा छलफल नगरी अन्य एजेण्डामा बैठक बस्न लागेको भन्दै वडा अध्यक्ष श्रेष्ठले माइन्युट लुटेको बताइएको छ ।
वडा अध्यक्षसंग स्प्रष्टिकरण मागियो
गाउँपालिका अध्यक्ष अधिकारीमाथी विभिन्न आरोप लगाई सामाजिक सञ्जालमा लेखेका कारण अनुशासन उलंघन भएको र त्यस विषयमा तारकेश्वर–१ का काँग्रेस क्षेत्रिय प्रतिनिधि जनार्दन अधिकारीले उजुरी दिएकोले आरोपको सप्रमाण खण्डन गरी सात दिन भित्र स्प्रष्टिकरण पेश गर्न वडा अध्यक्ष श्रेष्ठाई पत्राचार भएको छ । भदौ १८ गते जिल्ला अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले उनका नाममा पत्र काटेका छन् । पत्र अनुसार २५ गतेभित्रमा वडा अध्यक्षले आफ्नो भनाई समितिमा पेश गर्नुपर्ने भएपनि उनले वास्ता गरेका छैनन् । काँग्रेस एक नेताका अनुसार अहिलेसम्म (आइतवार दिउँसो) उनले पार्टीलाई पत्रका विषयमा कुनै जवाफ फर्काएका छैनन् ।
कार्यपालिकामा बहुमत सदस्य संख्या रहेको आडमा गाउँपालिका अध्यक्षले अनियमितता र भ्रष्टाचार गर्न थालेको र त्यसको प्रमाण सहित भण्डाफोर गर्दै सरकारी रकमको सुरक्षा गर्ने प्रयास गर्दा ‘अनुशासन उलंघन हुने ?’ भन्दै भदौ २२ गतेको कार्यपालिका बैठकमा समेत उनी कड्किएका थिए ।