Monday, September 26, 2022

१३ नम्बरको भत्ता मेयरको घरमा


विदुर । विदुर नगरपालिकाले वडा नंं. १३ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बित्तिय संस्था परिवर्तन गरेर मेयर राजन श्रेष्ठको घरमा  बस्ने बैंकलाई जिम्मेवारी दिएको छ ।

असोज मसान्तदेखि लागू हुने भन्दै विदुर नगरपालिकाले त्रिशुलीको आइसिएफसी फाइनान्सले दिँदै आएको वडा नं. १३ को उक्त सेवा रोकेर बट्टारमा रहेको लुम्बिनी बिकास बैंकलाई दिएको हो । वडा नं. १३ (कल्याणपुर) का नागरिकहरूलाई त्रिशुली बजारमा रहेको वित्तिय संस्था पायक पर्नेमा विदुर नगरपालिकाले मेयर श्रेष्ठकै बट्टार स्थित घरमा भाडा गरी बसेको लुम्बिनी बिकास बैंकमा काम सारेर नागरिकहरूलाई दुःख दिएको गुनासो आएको छ । ठमठमी हिड्न सक्ने नागरिकलाई समेत त्रिशुली बजारबाट बट्टार पुग्न आधा घण्टा भन्दा बढी समय लाग्छ । त्रिशुली बजारदेखि बट्टारको पुछारमा रहेको मेयर श्रेष्ठको घरसम्म पुग्दा एक दर्जन भन्दा बढी बैंकहरू छन् ।  

वडा नं. १३ ले बैंक परिवर्तन गरिदिन भदौ २० गते विदुर नगरपालिका र नगर कार्यपालिकामा पत्राचार गरेको र भदौ २३ गते विदुर नगरपालिकाले गरेको निर्णयको आधारमा बैंक परिवर्तन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनालले जानकारी दिएका छन् । खनालले भदौ २७ गते वडा नं. १३ को कार्यालयलाई पत्राचार गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक परिवर्तन भएको जानकारी गराएका थिए । 

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको बट्टारस्थित लोकल बसको टिकट काउण्टर छेउमा घर निर्माणाधिन छन् । पुर्ण रुपमा निर्माण सम्पन्न नभइसकेको उक्त घरमा लुम्बिनी बिकास बैंक भाडामा बस्न थालेको छ । आफ्नो घरमा भाडा गरी बस्ने उक्त बैंकलाई ‘कुनै पनि हालतमा सरकारी बिजनेस’ दिने प्रतिवद्धता गरेका मेयर श्रेष्ठले सोही अनुसार वडा नं. १३ को बृद्धबृद्धा, अपाङ्गता, महिला तथा बालबालिकाहरूले पाउने सरकारी भत्ताको खाता खुलाउने गरी सरकारी रकम उक्त बैंकलाई दिने भएको हो । 

‘मेयरको दवावका कारण होइन वडा कार्यालयले आइसिएफसीले समयमा काम नगरेको र दुःख दिएको भनेर बैंक परिवर्तन गर्न आग्रह भएकोले फेरिएको हो’ प्रमुख प्रशासकीय अधिकृत विनोदराज खनालले भने । यस विषयमा मेयर श्रेष्ठलाई जानकारी समेत नभएको दावी खनालले गरेका छन् । तर भदौ २३ गते पञ्जिकरण शाखाले प्रमुख प्रशासकीय अधिकृतलाई पेश गरेको वडाको उक्त पत्रमा उनले टिप्पणी उठाएका छन् भने मेयर श्रेष्ठले सदर गरे । 

यसरी बित्तिय संस्था परिवर्तन गर्नका लागि विदुर नगरपालिकाले गर्नुपर्ने सामान्य प्रक्रिया समेत पुरा गरेको छैन । 

आइसिएफसी फाइनान्स त्रिशुली शाखाका प्रवन्धक सन्तोष घिमिरेका अनुसार सेवा दिने बैंक परिवर्तनको विषयमा नगरपालिकाले एक पटक पनि शाखासंग कुराकानी गरेको छैन । आफुहरूलाई समयमा काम नगरेको र घर–घरमा पुगेर पैसा नबाढेको भन्ने आरोप लागेको सुनेका घिमिरेले त्यस विषयमा नगरपालिका र वडा कार्यालयसंग सोधीखोजी समेत गर्न पाएनन् । 

केही दिन अघि नगरपालिकाको पत्र पाएको आइसिफएसीले भुक्तान हुन बाँकी रहेको रकम नगरपालिकालाई फिर्ता गर्ने प्रक्रिया थालेको छ । शाखा प्रवन्धक घिमिरेका अनुसार नगरपालिकालाई ७९ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने छ । 

भत्ता भुक्तानीका लागि दावी गर्न नआएकाहरूको उक्त रकम अघिल्लो आर्थिक वर्षको नगरपालिकालाई संस्थाले फिर्ता गर्न लागेको घिमिरेले बताए । विदुर नगरपालिकाले १३ नम्वरमा त्रैमासिक ७९ लाख रुपैयाँ  वितरण गर्न आइसिफएसीलाई उपलब्ध गराउँदै आएको थियो । 

प्रभु केरेर लुम्बिनी बैंकको नाम 


विदुर । वडा नं. १३ को सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंक फेर्ने प्रक्रियामा नगरपालिकामै किर्ते भएको बुझिएको छ । वडा अध्यक्ष भरतबहादुर तामाङले भदौ २० गते आइसिएफसी फाइनान्सबाट उक्त सेवा प्रभु बैंकमा सार्ने गरी पत्राचार गरेका थिए । तर भदौ २३ गते उक्त पत्रमा प्रभु बैंकको नामा काटेर मेयर राजन श्रेष्ठको बट्टार स्थित घरमा भाडा गरी बस्ने लुम्बिनी बिकास बैंक लेखिएको छ । 

समाचार श्रोतका अनुसार नगरपालिकाको पञ्जिकरण शाखाकै एक कर्मचारीले बैंकको नाम काटेर मेयरको घरमा बस्ने बैंकको  नाम लेखेका थिए । वडाबाट सिफारिस भइ आएको बैंक र मेयर श्रेष्ठले भनेको बैंकको नाम फरक परेपछि नगरपालिकाको कार्यालयमै तत्काल काटिएको थियो । ‘उनकै टेबुलमा पञ्जिकरण शाखाका एक कर्मचारीले प्रभु बैंकको नाम काटेर हजुरको घरमा बस्ने बैंकको नाम के हो मेयर सा’प भनि सोधेका थिए, मेयरले लुम्बिनी बिकास बैंक है भनेपछि लुम्बिनीको नाम लेखिएको छ’ समाचार श्रोतले भन्यो । श्रोतका अनुसार कम्प्युटर टाइप गरी आएको वडा कार्यालयको पत्रमा बैंकको नाम काटेर हस्तलिखित लुम्बिनी बैंक लेखिएको दुई दिन पछि मात्रै वडा नं. १३ का अध्यक्ष भरतबहादुर तामाङलाई झिकाएर ‘केरमेट भएको अक्षरमा’ हस्ताक्षर गर्न लगाइएको थियो । विदुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनालले भने प्रभु बैंकले नभ्याउने भनेपछि मेयरले नै आग्रह गरेर लुम्बिनीलाई काम दिएको र त्यस कारण प्रभु बैंकको नाम केरिएको बताएका छन् । 

समाचार श्रोतका अनुसार मेयरले बैंक फेर्न दवाव दिएपछि वडा अध्यक्ष तामाङले प्रभु बैंकको नाम लेखेर पठाउनुको कारण थियो । सामाजिक सुरक्षा भत्ताका लागि आइसिएफसी भन्दा पहिला प्रभु बैंकमा वडावासीको खाता खोलिसकेका कारण त्यसबाट सेवा सुचारु गर्दा नागरिकहरूले दुःख नपाउने तर्क वडा अध्यक्षको थियो । 

‘तर नागरिकहरूको सुख र दुःख भन्दा पनि मेयरको उद्देश्य आफ्नो घरको बैंकलाई काम दिने भएकोले त्यसको केही अर्थ भएन’ श्रोतले भनेको छ । 

उपमेयरले १२ दिनमा थाहा पाए

विदुर । वडा नं. १३ को सामाजिक सुरक्षा भत्ता वितरण गर्ने वित्तिय संस्था परिवर्तन भइसकेको १२ दिन पछि मात्रै उपमेयर प्रभा बोगटीले थाहा पाएका छन् । मंगलवार विदुर नगरपालिका पुगेको यस प्रतिनिधिले प्रमुख प्रशाकीय अधिकृतसंग र पञ्जिकरण शाखामा सोधीखोजी गरेपछि उपमेयर बोगटीले बैंक परिवर्तन भएको जानकारी पाए । 

मंगलवार नै बोगटीले पञ्जिकरण शाखाका कर्मचारीसंग बैंक परिवर्तन भएको र त्यसका लागि पुरा गरेको प्रक्रियाको बारेमा जानकारी लिएका थिए । आफ्नो उपसमिति अन्र्तगत पर्ने भएका कारणले पनि आफ्नो रायस सहित काम गर्न र नगरवासीलाई दुःख हुने कुनै काम नगर्न कर्मचारीहरूलाई पटक पटक निर्देशन दिएको भएपछि आफुसंग लुकाएर यत्ति ठुलो निर्णय गरिएको भन्दै उपप्रमुख बोगटीले असन्तुष्टि व्यक्त गरेका छन् । ‘बैंक परिवर्तन गर्ने विषयमा अनौपचारिक रुपमा केही दिन अघि सुनेपछि मैले नागरिकहरूलाई अलिकत्ति पनि दुःख हुने काम चाँही केही नगरौं है भनेको थिए, तर यत्रो ठुलो निर्णय गुपचुप पारिएछ’ उपमेयर बोगटीले भने । 

अहिलेसम्म खुलेन खाता

विदुर । वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता झण्डै एक हजार जनालाई वितरण गर्नुपर्ने छ । अघिल्लो असार सामान्तमा आइसिएफसी फाइनान्स त्रिशुली शाखाले ९९६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । चालु आर्थिक वर्षका लागि भत्ताको पहिलो किस्ता असोज मसान्तमा वितरण गरिसक्नु पर्ने छ । तर यो त्रैमासिकको भत्ता लिनका लागि त्रिशुली पुगेर पनि नहुने भएपछि वडा नं. १३ का नागरिकहरू बैंकमा खाता खोल्न 

नै आएका छैनन् । अहिलेसम्म (आइतवार दिउँसो २ बजेसम्म) लुम्बिनी बिकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि वडा नं. १३ का एक जना नागरिकहरूले पनि खाता खोलेका छैनन् । 

एक वर्ष अघि मात्रै आइसिफएसीमा खाता खोलेका वडावासीहरू फेरि अर्को बैंकमा खाता खोल्नु पर्ने भएपछि हैरान छन् । सामाजिक सुरक्षा भत्ता लिनकै लागि वडा नं. १३ का नागरिकहरूले अब लुम्बिनी बैंक सहित तीन वटामा खाता खोल्ने छन् । सुरुमा प्रभु बैंकमा खाता खोलेको उनीहरूलाई बट्टारसम्म पुग्न अप्ठ्यारो र टाढा भएको भन्दै नगरपालिकाले पोहोर त्रिशुलीमा रहेको आइसिएफसी फाइनान्समा खाता खोलाएर त्यहाँबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएको थियो । अहिले अझ बट्टारको पनि पुछारमा (प्रभु बैंक भन्दा ५०० मिटर टाढा) अर्को बैंकमा खाता खोल्नु पर्ने भएपछि वडावासीहरू अलमलिएका छन् । ‘मेयरले आफ्नो घरको बैंकलाई जिम्मा दिनुभएको छ रे, हामी दुई ठाउँमा पहिल्यै खाता खोलेर पनि अहिले अर्को बैंकमा जानु पर्ने भयो, हाम्रो लागि त सरकारको भत्ता पनि सास्ती नै भयो’ वडा नं. १३ का एक जनाले भने । 

लुम्बिनी बिकास बैंकमा विदुर नगरपालिकाले नागरिकहरूको खाता खोल्नका लागि आवश्यक पर्ने कागजी प्रक्रिया अहिलेसम्म पुरा गरिसकेको छैन । असोज मसान्त आउन अब कार्यालय समय आज आइतवारबाट १० दिन मात्रै छ । यत्ति छोटो अबधीमा एक हजार जनाको खाता सञ्चालनमा ल्याउनु र अपाङ्गता भएका र अशक्त नागरिकहरूको घरमा पुगेर भत्ता विवरण कसरी गर्ने भनेर बैंकका कर्मचारीहरू नै आत्तिन थालेका छन् । ‘बैंकका म्यानेजर र मेयरबीच के–के कुरा भएर यो काम यता आएको हो त हामी जान्दैनौं तर हामीलाई काम गर्ने प्रेसर बढी भयो, १० दिनमा हामीले कसरी काम भ्याउनें’ बैंकका एक कर्मचारीले समाचार श्रोतसंग भनेको छ । 

बद्री मैनालीको मित फेरि काँग्रेसमा प्रवेश

विदुर । काँग्रेस छाडेर एमाले प्रवेश गरेको तीन महिनामै एमाले नुवाकोटका अध्यक्ष एवं प्रदेश सांसद बद्री मैनालीका मित काँग्रेसमै फर्किएका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. १ का पुर्व अध्यक्ष सुनबहादुर तामाङ काँग्रेसमै फर्किएका हुन् । स्थानीय निर्वाचनमा तत्कालिन दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङलाई काँग्रेसले टिकट नदिएको झोकमा उनी पनि एमाले पसेका थिए । 

योविन्द्रबहादुर सिंह एमालेबाटै पुनः गाउँपालिका अध्यक्षको चुनाव लडेकोमा पराजित भए । उनले चुनाव हारेसंगै बिचल्लीमा परेका सुनबहादुर तामाङ फेरि काँग्रेस फर्किएका छन् । अघिल्लो हप्ता योविन्द्रसिंह तामाङपनि काँग्रेसतिर लागेका हुन् । उनीहरूसंगै काँग्रेस छाडेर एमाले प्रवेश गरेका काँग्रेसका तत्कालिन क्षेत्रिय सभापति सुशिल खड्का भने अहिलेसम्म एमालेमै छन् । तर प्रदेश निर्वाचनमा एमालेबाट टिकट नपाए उनीपनि काँग्रेस प्रवेश गर्ने गरी काँग्रेसका नेताहरूको सम्पर्कमा रहेको दैनिकी डटकमले समाचार लेखेको छ । 

बद्री मैनालीसंग १८ वर्ष अघि मित लगाएका सुनबहादुर तामाङ मानव बेचविखन अभियोगमा जिल्ला अदालतबाट प्रमाणित अपराधि हुन् । वडा अध्यक्ष हुँदैको समयमा उनी जेल समेत परेका थिए । उनी माथी घ्याङ्फेदीका सयौं महिला तथा बालिका भारतको यौन बजारमा विक्रि गरेको आरोप छ । तामाङलाई नुवाकोट अदालतले २०७४ साल चैतमा ३७ वर्ष ६ महिनाको जेल सजाया र साढे दुई लाख रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको थियो । तामाङले पुनरावेदन गरेको उक्त मुद्दामा काँग्रेस नेता डा. रामशरण महतको बलबुत्ता खर्च गरेर पुनरावेदनबाट मुद्दा जिताइएको थियो । पहिलो संविधान सभा चुनावमा माओवादीका हितबहादुर तामाङलाई १०४ मतले जित्दा रामशरण महतलाई सहयोग गरेवापतको सुनबहादुरले महतबाट उक्त ‘गुन फिर्ता पाएका हुन्’ ।    

केही दिन अघि मितको काठमाडौं स्थित घरमा पुगेर एमालेमै बस्ने कसम खाएका सुनबहादुरले त्यसको दुईदिनपछि काँग्रेसको चुनावी 

गतिविधि र टिकट माग्ने अभियानमा सक्रियता देखाएका छन् । विशेष गरी प्रकाशशरण महत खेमामा देखापरेको उनले स्थानीय चुनावमा काँग्रेसमा निस्क्रिय मात्रै बसेको र एमाले सदस्यता नलिएको बताउन थालेका छन् । तर उनैले खर्चको व्यवस्थापन गरेर हेलिकोप्टर चार्टर गरेर योविन्द्रसिंह तामाङ, शुसिल खड्का लगायतका काँग्रेस नेताहरू एमाले नेता विष्णु रिमाल भेट्न पुगेका थिए । उम्मेदवारी दर्ता गर्ने दिन बिहानै काठमाडौं पुगेर उनीहरू हेलिकोप्टरबाटै दुप्चेश्वर फर्किएर एमालेबाट स्थानीय निर्वाचनमा चुनाव उठेका थिए । 

श्रोतका अनुसार एमाले जिल्ला अध्यक्ष मैनाली भने मितको सन्र्दभमा ढुक्क देखिएका छन् । क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने मैनालीलाई काँग्रेस छिरेका मितज्यु सुनबहादुर, योविन्द्रसिंह तामाङ लगायतले सक्रिय सहयोग गर्ने वचन दिएका छन् । 

उनीहरू बीच भएको पछिल्लो टेलिफोन कुराकानीमा क्षेत्र नं. १ मा काँग्रेस–माओवादी गठबन्धनबाट माओवादी (हितबहादुर तामाङ)ले भाग पाउने भएपछि काँग्रेसका भोट एमाले (बद्री मैनाली) लाई खन्याउने जिम्मा उनीहरूले लिएका छन् ।  

एमालेका उम्मेदवार समेत क्षेत्र नं. १ काँग्रेसलाई माग्दै


विदुर । नेपाली काँग्रेस नुवाकोटका दुई नेताहरू समानुपातीको सूचीमा परेपछि आसन्न संघीय निर्वाचनमा फरक चित्र देखिने भएको छ । काँग्रेस–माओवादी गठबन्धन हुँदा क्षेत्र नं. १ माओवादी र क्षेत्र नं. २ काँगे्रसले लिने सम्भावना छ । क्षेत्र नं. १ मा हितबहादुर तामाङ र क्षेत्र नं. २ मा बहादुरसिंह लामा तामाङको सम्भावना बलियो बनेको छ । तर समानुपातिकको सूचीमै परेका नेताहरूले भने आफुलाई थाहै नभएको र प्रत्यक्ष नै निर्वाचन लड्ने दावी गरिरहेका छन् । 

फरक फरक क्षेत्रबाट निर्वाचन लड्ने चर्चा चलेपनि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महत र अर्का प्रभावशाली नेता अर्ज‘ननरसिंह केसी समानुपातिक सूचीमा परेको नेपाली कांग्रेस स्रोतले जनाएको छ । दुवै नेता नुवाकोटबाट निर्वाचन लड्ने भन्दै तयारीमा लागेका थिए । डा. महतलाई नुवाकोट १ र काठमाडौं ५ बाट प्रत्यक्षका लागि सिफिारिस भएको थियो भने केसीलाई नुवाकोट क्षेत्र न. २ ले समानुपातिकमा सिफारिस गरेको थियो । केसी यसअघि २०७४ मा नुवाकोट २ बाट प्रत्यक्ष निर्वाचन लडेका थिए भने महत काठमाडौं ५ बाट निर्वाचन लडेका थिए । डा. रामशरण महत भने समानुपातिक सूचीमा छैनन् । 

समानुपातिको सूचीमा परेका अर्जुननरसिंह केसीले प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ मा प्रत्यक्ष निर्वाचन लड्ने घोषणा फेरि गरेका छन् । आफुले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्पष्ट रुपमा आफु प्रत्यक्ष निर्वाचन लड्ने कुरा राखेको उनले बताए । नेता केसीले आफुलाई समानुपातिकको बन्द सुचीमा राखिएको बिषय जानकारी नभएको र त्यस्तो भए आफुलाई स्वीकार्य नहुने बताएका छन् । 

उता, नुवाकोटको क्षेत्र नं. १ मा डा. रामशरण महतलाई माग्दै काँग्रेस नेताहरू शेरबहादुर देउवासम्म पुगेका छन् । प्रवक्ता डा. महतलाई नुवाकोट क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनाउनुपर्ने माग गर्दै जिल्लाका नेताहरू बालुवाटारमा धर्ना कस्न पुगेका हुन् । त्यसमा एमालेबाट दुप्चेश्वर गाउँपालिकामा अध्यक्ष पदमा उठेर हारेका योविन्द्रसिंह तामाङ समेत सामेल भएका छन् । बैशाख ३० को स्थानीय तह निर्वाचनमा उनी काँग्रैस छाडेर एमाले प्रवेश गरेका थिए । एमालेबाट अध्यक्ष पदमा भिडेका उनी पराजित भए । बुधवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेका बेला बाहिर नुवाकोटका काँग्रेस कार्यकर्ताहरूसंग तामाङ पनि डा. महतका लागि नुवाकोट १ गठबन्धनले खाली गर्न‘पर्ने माग लिएर गएका हुन् । उनी त्यो भिडमा देखिएसंगै एमाले त्यागेर काँग्रेस फर्किएको चर्चा सुरु भएको छ । 

जिल्ला सचिव बैकुण्ठ मिश्र, काँग्रेस नुवाकोटका क्षेत्र नम्बर १ का सभापति ध्रुव श्रेष्ठ जिल्ला सहसचिव उत्तम पाठक, वागमती प्रदेश सदस्य 

धनकुमारी थापा लगायतका नेता त्यता पुगेका थिए । क्षेत्र नं. १ को सात पालिका मध्ये ४ पालिका काँग्रेसले जितेको दावी गर्दै क्षेत्र नं. १ काँग्रेसको भागमा पर्नुपर्ने दावी उनीहरूको छ । गठबन्धनबाट माओवादीले उक्त क्षेत्रमा टिकट पाए भोट नहाल्ने समेत उनीहरूले बताएका छन् । 

काँग्रेस–माओवादी गठबन्धनलाई टक्कर दिने पुर्णलाल

विदुर । मंसिर ४ गते हुने संघीय र प्रदेश निर्बाचनमा नुवाकोटको क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशमा नेकपा एमालेको तर्फबाट सर्वसम्मत सिफारिस भएका पुर्णलाल श्रेष्ठलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । काँग्रेस–माओवादी गठबन्धनबाट बन्ने उम्मेदवारलाई हराउन सक्ने एमालेका उम्मेदवार जिल्ला भरीमै उनी मात्रै रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।  

उम्मेदवार सिफारिसमा सर्वसम्मत, जनतामाझ लोकप्रिय, युवा नेता र समग्र नुवाकोटको विकासको लागी सम्बन्धित निकायसंग छलफल र सहकार्यमा जोड दिदै आएकै कारण श्रेष्ठलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।  

नागरिकमाझ लोकप्रिय र जनताको समस्यामा अंग्रपंतीमा रहेर कार्य गर्दै आएका श्रेष्ठलाई लोकप्रिय उम्मेदवारको रुपमा हेरिएको छ । नुवाकोटका जनताको लागी हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएका उनी लिखु गाँउपालिकाको ढिकुरेका स्थायी बासिन्दा समाजसेवी एवं युवा नेता श्रेष्ठले टिकट पाउने पक्कापक्की भैसकेपछि नागरिकस्तरमा चर्चा हुन थालेको छ । २०७२ को विनाशकारी भुकम्प, त्यसपछिका वाढी पहिरो, कोरोना माहामारी र अन्य विपदमा युवा नेता श्रेष्ठको जनताप्रतिको अतुलनिय सहयोग रहेको थियो । आगामी दिनमा पनि राजनितिक तथा अन्य क्षेत्रबाट सदैव जनताकै सेवाको लागी रहिरहने उनको प्रतिवद्धता रहेको छ । 

युवा नेता श्रेष्ठ बित्तिय तथा बैकिङ क्षेत्र र हाईड्रोपावर (बिद्युतिय क्षेत्र)मार्फत नुवाकोटको विकासको लागी परिचित छन् ।  क्षेत्र नम्बर १ को प्रदेश ख अन्तरगत सुर्यगढी, ककनी, लिखु र पञ्चकन्या गाँउपालिकाको २ वडाहरू रहेका छन् । 

श्रेष्ठ लिखु गाँउपालिका–१ ढिकुरेका स्थायी बासिन्दा हुन् । नेकपा एमाले नुवाकोटले क्षेत्र नम्बर १ को संघमा बद्री मैनाली र प्रदेश ‘ख’ मा श्रेष्ठलाई उम्मेदवारको लागी सर्वसम्मत सिफारिस गरेको छ । 

काँग्रेस–माओवादी गठबन्धन हुँदा त्यस क्षेत्र काँग्रेसले लिने सम्भावना बढी छ । संघीयमा माओवादीका हितबहादुर तामाङ, प्रदेश ‘क’ मा माओवादी केन्द्रका राधिका तामाङ र प्रदेश ‘ख’ मा नेपाली काँग्रेसका उम्मेदवार हुने सम्भावना छ । त्यसो हुँदा नेपाली काँग्रेस नुवाकोट सभापति रमेश  महत गठबन्धनबाट त्यस क्षेत्रमा उम्मेदवार हुने सम्भावना छ । उनी यस अघि पनि त्यही क्षेत्रमा बद्री मैनालीसंग हारेका हुन् । 

खरानीटारमा निर्वाचन कार्यालय

विदुर । मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्बाचनको लागी जिल्ला सदरमुकाम विदुर र तादी गाँउपालिकामा निर्बाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । नुवाकोटमा रहेको २ निर्बाचन क्षेत्रको लागी मुख्य निर्बाचन अधिकृतको कार्यालय विदुरमा स्थापना हुने र क्षेत्र नम्बर २ को निर्बाचन प्रकृया मुख्य निर्बाचन अधिकृतको कार्यालयबाटै हुने छ । 

क्षेत्र नम्बर १ को निर्बाचन प्रक्रियाको कार्यक्रम सबै तादी गाँउपालिका खरानीटारमा स्थापना हुने कार्यालयले गर्ने निर्बाचन आयोगले जनाएको छ । नुवाकोटमा दुई संघिय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । 

ट्राफिकको दसैं केन्द्रित चेकजाँच

ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी सबै नाकामा विशेष जाँच थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्य स्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’ थालेको हो । 

नुवाकोट ट्राफिक प्रमुख गुणनिधि खकुरेलले कोल्पुटार, ककनी र गर्जुेमा सबारी चेकजाँचलाई कडाई गरेको बताएका छन् । उनका अनुसार जिल्ला भित्रिने तथा बाहिरिने सबै सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको छ । 

ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा बिभिन्न स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने छ ।

रसुवागढी नाकामा बढ्यो चहलपहल

धुञ्चे । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपछि सीमा क्षेत्रको चहलपहल बढेको छ । केरूङ क्षेत्रमा कोभिड संक्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो । 

आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो । गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएको छ ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।

बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशुली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्कोतर्फ समस्या पर्दा दुई सय १६ मेगावाट अपर त्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ ।

बाघमारामा आलु र फापर रोपिदै


खरानीटार । तादी गाँउपालिकाको पर्यटकीय क्षेत्र बाघमारालाई कृषि क्षेत्रको रुपमा विकास गर्ने गरी गाउँपालिकाको सहयोगमा तादी वडा नं. ४ ले काम अघि बढाएको छ । त्यस क्षेत्रलाईे फापर र आलुको पकेट क्षेत्र बनाउन थालेको हो । 

पकेट क्षेत्रका लागि अहिले त्यहाँ रहेको दुई हजार पाँच सय रोपनीभन्दा बढी जग्गामा फापर लगाउनका लागि तयार गरिएको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताएका छन् । नुवाकोटमा रहेका पर्यटकीय क्षेत्रमध्ये उच्च भूगोलबाट (समुन्द्री सतहदेखि दुई हजार मिटर) जिल्लाको धेरै स्थानको अवलोकन गर्न सकिन्छ । बाघमारालाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा संरक्षण, प्रवद्र्धन, प्रचारप्रसारसहित आर्थिक उपार्जनका लागि फापर र आलु लगाएर ‘कृषि–पर्यटन’को विकास गर्ने योजना तय भएको हो । 

लामो समयदेखि बाँझो रहेका किसानका जग्गामा अहिले स्काभेटर र डोजर लगाएर खन्ने र सम्याउने काम भइरहेको छ । सूर्योदय, सूर्यास्त, गर्मीमा शीतल र जाडोमा घाम ताप्न बाघमारा पुग्ने पर्यटकलाई अवलोकन गराउने र उनीहरूलाई फापरको डिढो र आलुको तरकारी परिकार पस्कन पकेट क्षेत्र बनाउन सुरु गरिएको वडा नं. ४ का अध्यक्ष अश्विनकुमार पाण्डेले बताए । 

अहिले स्थानीय तीनसय घरधुरी किसानको दुई हजार पाँचसय रोपनी जग्गामा फापर छर्न बाँझो जग्गा खनजोत गरेर तयारीका क्रममा छ । वर्षौंदेखि बाँझो रहेको जग्गालाई पकेट क्षेत्र बनाउने तयारीले कृषि उत्पादन र पर्यटन वृद्धि हुने आशामा स्थानीय किसान उत्साहित छन् । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले किसानको जग्गा सम्याउने, मनाङ र मुस्ताङमा फलेको फापरको बीउ ल्याउने, सिँचाइ सुविधा उपलब्ध गराउने लगायतमा गाउँपालिकाको अनुदान रहेको जानकारी दिएका छन् । 

दसैँ लगत्तै पछि फापर रोप्ने र आलु लगाउने योजनामा रहेको उनले बताए । पर्याप्त सिँचाइ अभावले बाँझो रहेको भञ्ज्याङमा कृषिमार्फत आर्थिक लाभ र पर्यटकीय आकर्षण बढाउने योजना रहेको अधिकृत भट्टराईले बताएका छन् । फापर र आलुको साथमा गराका डिलमा हावापानी सुहाउँदो तरकारी र फलफूल लगाउने समेत योजना किसानको छ ।

धार्मिक एवं पर्यटकीय महत्वका रुपमा रहेको बाघमारा भञ्ज्याङमा अहिले ‘पिकनिक’ र ‘नाइटस्टे’ का लागि पुग्ने पर्यटकलाई अब तीर्थ यात्रासँग जोड्ने लक्ष्य छ । काठमाडौँको सुन्दरीजलबाट नुवाकोटको दुप्चेश्वर, यही बाघमाराको मध्यभाग भएर सागरकुण्ड, राहुचुली, सूर्यकुण्ड हुँदै रसुवाको गोसाइँकुण्ड पुग्न सकिन्छ । विसं २०६८ मा निर्माण सम्पन्न भएको सुन्दरीजल–गोसाइँकुण्ड पदमार्ग हाल जीर्ण अबस्थामा रहेको छ । उक्त पदमार्गलाई अब बाघमाराबाट सुरु गरेर सागरकुण्ड, राहुचुली, सूर्यकुण्ड, गोसाइँकुण्डसम्मको पदयात्रा गराउने योजना वडाको रहेको छ । 

गाउँपालिकाले बाघमारा क्षेत्रमा रहेका सरकारी जग्गामा व्यवस्थित वनभोज क्षेत्र, उद्यान, गुम्बा, पोखरीलगायत धार्मिक र पर्यटकीय संरचना निर्माण गर्ने लक्ष्य लिएको छ । स्थानीयवासीले घरबास (होमस्टे), शेर्पा र तामाङ समुदायको संस्कृति र संस्कार, वेषभूषा र भाषालाई प्रर्वद्धन गर्न साथ दिने प्रतिबद्धता जनाएका छन् ।

नुवाकोटका छ जना कैदी बन्दीले माफी पाए

विदुर । संविधान दिवसको अवसरमा जिल्ला कारागार नुवाकोटका रहेका छ जना कैदीबन्दीले आफ्नो भुक्तान हुन बाँकी सजायाबाट माफी पाएका छन् । 

संबिधान दिबसको अबसरमा उनीहरूलाई सजाया छुट दिएर रिहा गरिएको छ । नुवाकोटबाट सजाया छुट गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रपति समक्ष छ जनाको नाम सिफारिस भएकोमा छ जनाले नै आफ्नो सजायामा छुट पाएका छन् । ‘जिल्ला कारागार नुवाकोटले गृह मन्त्रालयमा सिफारिस गरेको छ जनाकै बाँकी सजाय माफ भएको हो । 

कैद माफ हुनेहरूमा नकाब जन्य चोरी, सवारी ज्यान र कर्तब्य ज्यान मुद्दाका अपराधीहरू रहेका छन् । नकाब जन्य चोरीका रोहन तामाङ, बिशाल मगराती र रमेश ओझा, सवारी ज्यानको सोबिनप्रसाद गौतम र अमृत लामा कर्तब्य ज्यान मुद्दाका लोर्केबहादुर तामाङले माफी पाएका छन् । 

बिभिन्न समयमा गृह मन्त्रालयको सिफरिसमा राष्ट्रपतीले कैदीबन्दीहरूको सजाय माफ गर्ने प्रचलन छ । विभिन्न अपराधमा अदालत तथा मुद्दाको किनारा लगाउने निकायबाट दोषी ठहर भई देशभरका ७४ कारागारमा रहेका कैदीको संख्या १४ हजारभन्दा बढी छ । 

हरेक वर्ष संविधान दिवस (असोज ३), राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७) र गणतन्त्र दिवस (जेठ १५) का दिन राष्ट्रपतिबाट कैदीलाई उनीहरूका आचरण, व्यवहार, उमेर, अदालतका आदेश लगायतलाई आधार बनाएर बाँकी सजाय कट्टा गरी कैदमुक्त गर्ने चलन छ ।  

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट फैसला भई दोषी ठहर भएका तर अपराधको ‘नेगेटिभ’ सूचीमा नपरेका व्यक्तिलाई आममाफी दिन सक्ने पनि कानुनी व्यवस्था छ । फौजदारी कसुर ऐन अनुसार जन्मकैद, जबर्जस्ती करणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागूऔषध ओसारपसार तथा कारोबार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार, मानवताविरुद्ध सहित १० कसुरमा दोषी ठहर व्यक्तिलाई अदालतले तोकेको सजायमा बाँकी कैद कट्टा गर्न नपाइने व्यवस्था छ ।

यसबाहेकका कसुरमा दोषी ठहर भएका व्यक्तिलाई ५० प्रतिशत कैद भुक्तान वा उमेर र रोगको अवस्था हेरेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बाँकी सजाय मिनाहा गर्न सक्ने व्यवस्था छ । 

कसुरको प्रकृति र अवस्था, कसुर गर्नेको उमेर तथा शारीरिक अवस्था, कसुरदारलाई तोकिएको सजाय, कसुर गर्नुअघि अरू अपराधमा सजाय भए/नभएको जस्ता सर्त हेरेर त्यस्ता व्यक्तिलाई आममाफी दिन जिल्ला कारागार नुवाकोटले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गर्ने र प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालय, गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा र उक्त प्रस्तावलाई मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने प्रावधान छ । 

त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहितामा भ्रष्टाचार, यातना, जबर्जस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले नियन्त्रणमा लिई ज्यान मारेको, जाति हत्या, विस्फोटक पदार्थ, अपहरण तथा शरीर बन्धक वा व्यक्ति बेपत्ता, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागूऔषध ओसारपसार तथा कारोबारमा दोषी ठहरबाहेकका मुद्दामा तोकिएका सर्तसहित आममाफी दिन सकिने प्रावधान रहेको छ ।

निर्वाचित जनप्रतिनिधि कारबाहीमा


विदुर । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार ८६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जारिवाना गर्ने निर्णय गरेको हो । तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार नुवाकोटमा ३१२ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिएका छन् । 

उनका अनुसार स्थानीय तह निर्वाचन अन्तरगत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये तोकिएका समयमा खर्च विवरण बुझाउनेको संख्या ३१२ मात्रै छ । 

ढिलो गरेर बुझाउने ९४ जना र ढिलो भएको स्पष्टीकरण सहित बुझाउने २१३ जनालाई समेत निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (१) बमोजिम जरिवाना हुने भएको छ ।  

आयोगको उक्त निर्णयले नुवाकोटमा निर्वाचित भएका पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसमेत कारवाहीमा परेका छन् । कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारको हकमा आयोगले स्पष्ट नपारेकाले के गर्ने भन्ने थप निर्णयको पर्खाइमा रहेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । उनका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत पालिका, कार्यपालिका र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा उम्मेदवार भएका दुई हजार एक सय ७३ जनामध्ये विभिन्न पदमा पाँच सय ७४ जना उम्मेदवार निर्वाचित भएका छन् । 

समयभित्र खर्च विवरण बुझाउने ३१२ जनामा पराजित उम्मेदवारको संख्या आधाभन्दा बढी छ । 

तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख ५० हजार तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई  दुई लाख जरिवाना तिर्नुपर्ने भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई एक लाख ५० हजार जरिवाना लाग्ने भनिएको छ ।

तोकिएको उक्त जरिवाना शुल्क छ महिनाभित्र नबुझाएमा नामावली प्रकाशित गर्ने, छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेदेखि आयोगबाट गराउने आगामी सबै निर्वाचनमा भाग लिन अयोग्य ठहर गर्ने, उनीहरूको नामावली सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा टाँस गरिने र तोकिएको जरिवानालाई सरकारी बाँकीसरह असुल गरिने भनिएको छ ।

नुवाकोटमा २३ सय मतदाता थपिए

विदुर । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भन्दा आसन्न संघ र प्रदेश निर्वाचनमा नुवाकोटबाट झण्डै २३ जना बढी मतदाता आफ्नो अधिकार प्रयोगका लागि सहभागी हुने  छन् । स्थानीय तह भन्दा अहिले २ हजार २९२ मतदाता थपिएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार ४३४ मतदाता कायम भएका थिए । त्यस बीचमा सञ्चालन भएको मतदाता नामावली संकलन कार्यक्रममा सहभागी भई चार हजार ५३७ जनाले फोटो खिचाएका थिए । आउँदो चुनावसम्म १८ वर्ष पुरा नहुने, मृत्यु भएकाहरूको विवरणलाई घटाउदा अघिल्लो चुनावमा भन्दा अबको चुनावमा झण्डै २३ मतदाता बढी हुने भएका हुन् । 

मङ्सिर ४ गते हुने निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार ७२६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको संख्या एक लाख २३ हजार ९४१ तथा महिलाको संख्या एक लाख १५ हजार ७८२ र तेश्रो लिङ्गी मतदाता ३ जना छन् । 

जिल्ला मतदानस्थल १३२ र मतदान केन्द्र २८८ कायम भएको छ । नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ तथा प्रदेशसभा निर्वाचन क्षेत्र ४ छ । क्षेत्र नं. १ मा १ लाख २० हजार ७५२ र क्षेत्र नं २ मा १ लाख १८ हजार ९७४ मतदाता छन् । १ को प्रदेशसभा (क)  मा ५९ हजार ४५९ र (ख) मा ६१ हजार २९३ र क्षेत्र नं. २ को प्रदेशसभा (क) मा ५९ हजार ४५३ र (ख) मा ५९ हजार ५२१ मतदाता छन् ।

नुवाकोटमा दुई दिने बाल साहित्य महोत्सव

बट्टार । नुवाकोटमा मंगलवारबाट आयोजित दुईदिने बाल साहित्य महोत्सव बुधवार साँझ सकिएको छ । महोत्सव रुम टु रिड, नेपाल बाल साहित्य समाज र रुडेक नेपाल नुवाकोटले आयोजना गरेको हो । 

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा ‘किताब पढौं, अगाडि बढौं’ भन्ने नाराका साथ असोज दुई दिनसम्म आयोजना गरिएको महोत्सव ३ हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । 

महोत्सवमा बोल्दै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बालबालिकालाई बढ्ने बानीको विकास गराउन महोत्वसवले सघाउने बताए । शिक्षा क्षेत्रमा देखिएको अवस्थाका बिषयमा शिक्षाविद् कोइरालाले चिन्ता व्यक्त गरेका छन् छ । प्रा.डा. शैलेन्दुप्रकाश नेपालले पढ्नका लागि बालबालिकालाई प्रेरित गर्न‘पर्ने उल्लेख गरे । 

बालबालिकामा पठनीय संस्कृती बढाउने; आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उपाध्यक्ष प्रमोद प्रधानले बताएका छन् । महोत्सवमा बालसाहित्य पुस्तकको प्रदर्शनी, कस्तो शिक्षा दिने भन्नेबारे बहस, कथा, कविता वाचन, निबन्ध, चित्रकला, अभिनय, भित्तेपात्रोलगायत सात विधामा विज्ञहरूबाट सिर्जनात्मक कार्यशालाहरू सञ्चालन गरिएको महोत्सवका संयोजक तथा रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले बताए । 

महोत्सवमा समाजका पूर्वअध्यक्ष रामबाबु सुवेदी, तेजप्रकाश श्रेष्ठलगायत उपस्थिति रहेको थियो । रुम टु रिड साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मन्तव्य राखेका छन् । 

महोत्सवमा बालबालिकाले साहित्यिक रचना गर्न र वाचन गर्न सिकेका छन् । आफुलाई आवश्यक पर्ने साहित्यिक पाठ्यसामाग्री कसरी छनोट गर्ने र अध्ययन गरेको विषय कसरी ब्यवहारमा उतार्ने भन्ने ज्ञान महोत्सवबाट बालबालिकाहरूले लिए ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

विदुर । काठमाडौंको मनमैजु नासलचोकमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट किस्पाङ गाउँपालिकाका एक युवकको ज्यान गएको छ । बा६३प६४६२ नम्बरको मोटरसाइकलले मनमैजु नासलचोकमा पैदलयात्रीलाई बचाउने क्रममा अनियन्त्रीत भई दुर्घटना भएको थियो । 

दुर्घटनामा परी नुवाकोट जिल्ला किस्पाङ गाँउपालिका १ घर भई जरङखु बस्ने रुवाप तामाङको मृत्यु भएको हो । मोटरसाइकलको पछाडी बसेका तामाङ दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उन उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक रामेछाप नगरपालिका घर भई बालाजु माछापोखरी बस्ने बर्ष १८ को निरज श्रेष्ठ गम्भीर घाइते छन् । घाइते श्रेष्ठको बिर अस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

नुवाकोट र रसुवामा ४ सय बढी योजना

विदुर । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लामा ४५६ योजना कार्यान्वयन गर्ने भएको छ । 

त्यसको लागी चालु आर्थिक वर्षमा करिब दुई अर्ब बजेट प्राप्त भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार ब्रजाचार्यले जानकारी दिए । उनका अनुसार सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका चार सय ५६ योजनालाई दुई अर्ब ९५ करोड बजेट प्राप्त भएको हो । 

बहुवर्षीयअन्तर्गत नौ सडक र चार पक्की पुललाई निरन्तरता दिन थप बजेट आएको छ ।  अधिकांश योजना एक आवको लागि प्राप्त भएकाले अब सुरु गरेर समयमै सम्पन्न गर्न प्रक्रियाअघि बढाउन लागेका कार्यालयले जनाएको छ । 

प्राप्त भएको बजेट, योजना तथा कार्यक्रम अनुसार बहुवर्षीय अन्तर्गत नौ योजनामा  ५७ करोड, सहरी तथा स्थानीय सडकको ३४८ योजनामा ८८ करोड १० लाख, सडक मर्मत सम्भार र सुरक्षा तथा अन्य पूर्वाधारका २२ योजनामा तीन करोड ८० लाख, सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ वटा योजनामा चार करोड १४ लाख प्राप्त भएको छ । सम्भावित प्रादेशिक सडक चार योजनालाई छ करोड, प्रादेशिक सडक एवं झोलुङ्गे पुलको ४० योजनालाई १८ करोड ११ लाख, सम्भावित रणनीतिक सडक तीन योजनालाई चार करोड ५० लाख र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको १७ योजनालाई ११ करोड बजेट प्राप्त भएको छ ।

संघीय सरकारबाट आएको सशर्त योजना र प्रदेश सरकारबाट नियमित कार्यक्रमअन्तर्गत प्राप्त भएका योजनाको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले ५० लाखभन्दा ठूलालाई निर्माण व्यवसायीमार्फत र सोभन्दा कमका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने कार्यालय प्रमुख ब्रजाचार्यले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिमार्फत गर्ने कामलाई सम्बन्धित पालिकाको सिफारिसमा सम्झौता गरेर काम सुरु गर्न योजना सम्बन्धित पालिकामा पठाइएको छ ।

चालु आवमा प्राप्त योजनामध्ये अधिकांश १० लाख देखि ३० लाख रुपैयाँसम्मका छन् । ती योजना कार्यान्वयन गर्न कार्यालयलाई जनशक्तिको अभाव छ । कार्यालयमा हाल प्रमुखसहित पाँच इञ्जिनीयर र छ सवइञ्जिनीयर गरेर कूल ११ प्राविधिक कर्मचारी कार्यरत छन् ।

प्रादेशिक कार्यालय भएकाले दुई पालिका तथा अन्तर जिल्ला जोड्ने ठूला स्वरुपका योजना पुर्बाधार कार्यालयले कार्यान्वयन गर्न‘पर्ने छ । 

जनताको माग र जनप्रतिनिधिको सिफारिसमा टुक्रे योजनाले प्रश्रय पाएको पुर्बाधार बिकास कार्यालय नुवाकोटका प्रमुख ब्रजाचार्यले बताएका छन् 

योजना सम्पन्न गर्न लागत मूल्याङ्क, कार्यक्षेत्रको पहिचान, काम भइरहदाँको अनुगमन र भुक्तानीको लागी कार्य सम्पन्न पश्चात एउटा योजनाको कार्यक्षेत्रमा कम्तीमा चार पटक प्राविधिक पुग्नुपर्ने भएता पनी कार्यालयमा जनशक्ति न्युन रहेकाले समयमै कार्य सम्पन्न गर्न कार्यालयमा समेत समस्या रहेको उनको भनाई छ । 

यसअघि साविक जिल्ला विकास समितिअन्तर्गत रहने जिल्ला पूर्वाधार कार्यालयले गर्दै आएको कामको जिम्मेवारी हाल पूर्वाधार विकास कार्यालयमार्फत हुने गर्दछ । डिभिजन सडकमार्फत जिम्मेवारी सरेका सडकका ससाना योजना पनि हाल यही कार्यालयको जिम्मेवारीमा आएको छ ।

२०७९ साल असोज १० गतेको सम्पादकीय

 निर्भीक पत्रकारितामा प्रतिबद्ध छौं  

आजबाट हामी १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेका छौं । इमेज साप्ताहिकको यस वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छौं । दोश्रो जनआन्दोलन २०६२÷६३ पछिको परिवर्तन भएको राजनैतिक र सामाजिक परिवेशसँगै नुवाकोटमा व्यावसायिक पत्रकारिताको दिगो जग बसाल्ने प्रयत्नस्वरूप इमेजको आरम्भ भएको थियो । यो यात्राले अहिले डेढ दशक पूरा गरेको छ । यसबीचमा अनेक संकट, समस्या र सफलतासँग साक्षात्कार गर्दै हामी यहाँसम्म आइपुगेका हौं । चुनौतीलाई कुशलतापूर्वक छिचोल्दै अगाडि बढ्नु नै हाम्रो नियतिजस्तो बनेको छ । 

निर्भीक पत्रकारितामा कुनै सम्झौता नगर्ने ऊर्जा पनि सायद यसैले दिएको हो । जस्तोसुकै प्रतिकूलता भोग्नुपरे पनि निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन । यसबीचमा हामीले पत्रिकालाई थप परिस्कृत र परिमार्जन गर्ने क्रम जारी राखेका छौं । मुद्रण र अन्य प्राविधिक संयन्त्रलाई पनि थप चुस्त बनाउने काम भएको छ । यस साप्ताहिकलाई अनलाईन संस्करणमा समेत जोडेर पाठकको थप हातहातमा पु¥याउने प्रयास भएका छन् । पाठकहरूका हाते स्क्रिन र कम्प्युटरमा हरेक क्षण भरपर्दा समाचार सामग्रीहरू यथेष्ट रूपमा पु¥याइरहेका छौं । यसलाई अझ क्षेत्रगत ढंगले विस्तार गर्दै लैजाने हाम्रो योजना छ । हामी सदैव लोकतन्त्र, कानुनी राज र संवैधानिक मूल्यमान्यताका पक्षमा उभिँदै आएका छौं । 

भर्खरै स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधि आएका छन् । स्थानीय तह संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको महत्वपूर्ण आधारस्तम्भ हो । जनप्रतिनिधिले संघीय शासन व्यवस्थालाई सफल बनाउन नैतिकता, इमानदारिता र पारदर्शीताका साथ काम गर्न‘पर्छ भन्नेमा हामी दृढ छांै । स्थानीय सरकार सञ्चालन गर्ने सबै शासकको एउटै उद्देश्य जनसेवा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । सूचनाको हकको संरक्षण र प्रेस स्वतन्त्रतालाई सबैले अंगीकार गर्नुपर्छ भन्ने हाम्रो ठहर छ । जस्तासुकै कठिन परिस्थितिमा पनि हामी हाम्रा सामग्रीलाई विश्वसनीय, विश्लेषणात्मक, तथ्यपरक बनाउन संवेदनशील भएर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

यो १५ वर्षमा हामीले बुझेको एउटै सत्य भनेको नागरिकहरलाई सही सूचना सही समयमा दिनु नै हो । यहाँ अनेक नाम र वहानामा पाठकलाई भ्रमित पोर्न प्रयास हुने गरेका छन् । यस बीचबाट हामीले तपाईलाई ठिक सूचना ठिक समयमा दिनु नै छ । त्यो हाम्रा लागि चुनौतीका रुपमा पनि छ । त्यसो त, हामी चुनौती चिन्न, बुझ्न र चुनौतीको सामना गर्न सक्ने भइसकेका छौं । 

नुवाकोटका हरेक परिवर्तनको इतिहास र संघर्षसँग हामी पनि सँगै छौँ, त्यसैले हामीले चिनेको र निर्माण गरेको चुनौती पनि नेपाली समाजले बोल्ने भाषा र भोगिरहेको आशा, निराशा र सकसकै लयमा बोल्छ । सरकार, बजार र अरु थरीथरीका सत्ताले निर्माण गर्ने रंगिविरंगी सूचना र विचारको बाढी पनि उर्लिरहेकै हुन्छ । यो बाढीको बीचमा समाज र आधारभूत जनताको जीवनमा चलिरहेको वास्तविक संघर्ष र परिवर्तनको कुरा छोपिएको हामी बुझ्न सक्छौं । नेताहरूका भाषण, उद्घाटन र उनीहरूका भजनलाई अझै पनि आम सञ्चारका माध्यमहरूले उच्च भन्दा पनि उच्च प्राथमिकता दिएकै देखिन्छ । जसले आम नागरिकहरूको दैनिक र सोचमा केही पनि प्रभाव पार्दैन, सहयोग गर्दैन । भएकै कुरा लेख्न अझै पनि कल काप्ने गरेको हामीले देखेका छौं, यही देखेका कारण हामी निर्भिक भएर कलमलाई थप बलियो र दह्रोसंग समातिरहेका छौं । हुनै पर्ने के भएन र हुन नहुने के के भए त्यो सबै हामीले उदांगो पार्दै आएका छौं । र यो १६ औं वर्ष प्रवेशको अवसरमा पनि यस्तै गरी निर्भीक पत्रकारिताको प्रतिबद्धता जाहेर गर्दछौं । 

अन्त्यमा, फेरि पनि हाम्रा तपाई सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विक्रेता, वितरक, विज्ञापनदातालगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा र नेपालीहरूको मुख्य चाड बडा दशैंको सुखद् अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 

२०७९ साल असोज १० गते । वर्ष : १६, अंक : ०१