Monday, October 17, 2022

बद्री मैनालीको पहिलो गाँसमै ढुंगा

उम्मेदवारी दर्ता पछि मैनाली बीचमा र सुशिल खड्का (दाँयाँ) पुर्णलाल श्रेष्ठ (बाँयाँँ) । 

खरानीटार । नेकपा एमालेबाट प्रतिनिधि सभा क्षेत्र नं. १ मा उम्मेदवार बनेका एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । उम्मेदवारी दर्ता गराएपछि असोज २३ गते खरानीटारमा आयोजित कोण सभामा उनले पहिलो पटक ब्यक्त गरेको चुनावी भनाई विवादमा तानिएको छ । काँग्रेस–माओवादी गठबन्धका तर्फबाट माओवादी केन्द्रका नेता हितबहादुर तामाङसंग प्रतिस्पर्धा गरिरहेका मैनालीले काँग्रेस र माओवादकिा सबै उम्मेदवारहरूको सत्तोसराप गरे । आफ्ना प्रदेश सभाका दुई उम्मेदवारका साथ कोण सभालाई सम्वोधन गर्न उभिएका मैनालीले अराजनीतिक भाषण गरेको भन्दै राजनीतिक वृत्तमा आलोचना भएको छ । 

मैनालीले माओवादी नेता राधिका तामाङलाई पदका लागि मान्छे मार्ने भनेर संघिन आरोप लगाए । साथै माओवादी नेता हितबहादुर तामाङ अघिल्लो पाली आफ्नो कारणले मात्रै निर्वाचित भएको र काँग्रेसका उम्मेदवार रमेशकुमार महतलाई अघिल्लो चुनवामै आधा भन्दा बढी मतले आफुले हराएको भन्दै दम्भ पोखे । 

काँग्रेस–माओवादी गठबन्धनमा माओवादीको भागमा परेको प्रतिनिधि सभा क्षेत्रमा उनले प्रतिस्पर्धा गरिरहेपछि उनले काँग्रेस फस्लयाङ्फुस्लुङ गर्ने छन् र काँग्रेसको मत लिने छन् भन्ने एमाले नेताहरूकै अड्कलनमा पानी खन्याउने गरी उनले मन्तब्य राखे । ‘मैनालीले त्यो कार्यक्रममा निक्कै अपरिपक्व रुपमा अभिव्यक्ति जाहेर गरे’ एमालेका उक नेताले भने । उनका अनुसार माओवादीलाई मत हाल्न मन नगर्ने केही काँग्रेसहरू समेत मैनालीको उक्त अभिव्यक्तिबाट भड्किएका छन् ।   

यसै बीच, नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (क) का उम्मेदवार एवं निवर्तमान उपसभामुख राधिका तामाङले आफूहरूमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्ने नेकपा एमालेका उम्मेदवारको अभिव्यक्ति पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिएका छन् । 

नुवाकोटको तादी गाउँपालिका खरानीटारमा रहेको निर्बाचन अधिकृतको कार्यालयमा गएको आइतबार उम्मेदवारी दिएपछि एमाले नुवाकोट अध्यक्ष एवं क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बद्री मैनालीले बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूमाथि लगाएको आरोपको खण्डन गर्दै तामाङले आफ्ना कुकर्महरू ढाकछोप गर्न अरुमाथि निराधार आछेप लगाएको समेत टिप्पणी गरेका छन् ।   

राजनीतिक आधारबिनाका व्यावसायिक पृष्ठभूमिका मान्छेले आफू चुनाव जित्न नसक्ने भएपछि दिएका अराजनीतिक अभिव्यक्तिप्रति आफ्नो कुनै प्रतिक्रिया नरहेको तामाङले बताए । 

विचार, सिद्धान्तको राजनीति गर्ने र विधिको शासन मान्ने जो कसैले निर्वाचन आचरसंहिता आकर्षित हुने गरी अरुमाथि वैयक्तिक आक्षेप लगाउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु पराजित मानसिकताको उपज रहेको प्रदेश सभा सदस्य पदका उम्मेदवार राधिका तामाङले बताए । 

खरानीटारमा आयोजित काँग्रेस–माओवादीका उम्मेदवारहरुको बैठकमा तामाङ, महत लगायतका नेताहरू

यसै नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले सरकारी बजेटले कार्यकर्ता पोस्नमात्रै काम गरेको टिप्प्णी गरेका छन्  । उनले ५ वर्षको बीचमा कतै आफ्नो निर्वाचन क्षेत्रमा ४ किलोमिटर बाटो कालोपत्रे भएको देखाउन मैनालीलाई चुनौती समेत दिएका छन् । 

    वाम–लोकतान्त्रिक गठबन्धनको शनिबार खरानीटारमा बसेको क्षेत्रीयस्तरको संयुक्त बैठकलाई सम्बोधन गर्दै तामाङले निवर्तमान प्रदेशसभा सदस्य राधिका तामाङको क्षेत्रमा थुप्रै काम भए पनि मैनालीले देखिने काम गर्नै नसकेको ठोकुवा गरे । ‘बद्रीजीले के गर्न‘भयो भने आफ्नो पहलमा जाने रकम टोल, टोलमा, वडा वडामा कतै ५० लाख, कतै ३० लाख, कतै ४० लाख, कतै ६० लाख दिएर कार्यकर्ता पोस्नमात्रै काम गर्न‘भयो । देखिने खालको कुनै काम गर्न‘भएन उहाँले,’ उनले चुनौतीको शैलीमा भने, ’उहाँको पहलमा ४ किलोमिटरमात्रै कालोपत्रे भएको सडक देखाउनुस् त ? पैसा उत्तिनै आउने हो ।’

‘यहाँ प्रदेश माननीय राधिका तामाङ हुनुहुन्छ । हामीले केही कामहरू गरेर देखायौं । त्यत्तिकै हैसियतामा जित्नुभएका बद्री मैनाली हुनुहुन्थ्यो । उहाँ (राधिका) को क्षेत्रमा जति काम देखाउनुभएको छ । उहाँ (बद्री)को क्षेत्रमा कतै देख्नुभएको छ ?,’ हितबहादुर तामाङले भने,  ’गुर्जेदेखि समुद्रदेवीको सिंगै तेर्सो भाग कालोपत्रे भएको छ । गुणस्तरीय कालोपत्रे । त्यसपछिको बाँकी कामलाई निरन्तरता दिनका निमित्त अहिले ७१ करोडको टेन्डर भाको छ । शेराबगर–कुख्रे–मानेभञ्याङ हुँदै दुप्चेश्वर आउनका निमित्त । हामीले शिवपुरीको ढलानघरबाट कुण्डला घलेभञ्ज्याङ हुँदै समुन्द्रटार जाने सडकको टेण्डर सम्पन्न गरिसक्यौं । हाम्रै पहलमा रानीपौवाबाट शेरा हुँदै विदुरमा जोड्ने सडक टेन्डर गर्दैछौं ।’

पछिल्ला वर्षमा सरकारलाई नुवाकोटमा अलि बढी रकम पार्न प्रेसर दिएको भन्नुहुँदै निवर्तमान सांसद तामाङले आफूहरू ३ जनाको उम्मेदवारी १ नम्बर क्षेत्रको विकासको निमित्त भएको बताएका छन् । उनले निर्वाचित भइसकेपछि विकास निर्माणका विषयमा सामूहिकरुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘सन्तुलित हिसाबले कुन ठाउँमा के गर्ने, भौतिक पूर्वाधारको हिसाबले, कृषि क्षेत्रको हिसाबले  मतदाताले चाहेअनुसार सामूहिकरुपमा छलफल गरेर काम गर्न हामी संकल्परत छौं,’ उनले भने ।

क्षेत्र १ (१) का उम्मेदवार एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य राधिका तामाङले पात्र मन पर्ला, नपर्ला तर पार्टी वा गठबन्धन हार्न नहुने र गठबन्धन जिताउनका निम्ति सबै नेता, कार्यकर्ता लाग्नेमा विश्वास व्यक्त गरेका छन् । केही कमीकमजोरी भए चुनावपछि समीक्षा गर्ने भन्नुहुँदै उहाँले एकताबद्ध भएर चुनावमा लाग्न आग्रह गरे । 

क्षेत्र १ (२) का उम्मेदवार एवं नेपाली काँग्रेसका नुवाकोट जिल्ला सभापति रमेशकुमार महतले आफू उम्मेदवार भएको ठाउँमा माओवादीलाई प्राथमिकता दिने, हितबहादुर तामाङ र राधिका तामाङ उठेको ठाउँमा काँग्रेसलाई प्राथमिकता दिने गरी संयुक्त अवधारणा ल्याउने बताएका छन्  । ’हामीसँग प्रतिस्पर्धा गर्न खोज्ने दलका साथीहरूले उम्मेदवारी दिएको दिन बोलेको मैले सुनेको छु, उहाँहरूलाई मेरो चुनौती हो, तपाईंहरू सक्नुहुन्छ भने काम गरेर देखाउनुस्,’ महतले भने, ‘हिजो निर्वाचित भएर उहाँहरूले के–के काम गर्नभएको छ हामीले बुझेका छौं । उहाँहरूले कति दुरुपयोग गर्न‘भएको छ । त्यो पनि बुझेका छौं । हिजो सँगसँगै हिँड्दा ठीक हुने आज अलग हुँदा बेठीक हुने ? त्यो राजनीतिक चरित्र होइन । त्यो चरित्र यो निर्वाचनले सदाका लागि परास्त गर्नेछ ।’ 

काँग्रेस क्षेत्र नम्बर १ का सभापति एवं लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ गठबन्धनका उम्मेदवारहरूमाथि एमाले उम्मेदवारले जथाभावी बोलेको भन्दै असन्तुष्टि जनाए । उनले आफूहरू जाइनलाग्ने र आइलागेमा नछोड्ने चेतावनी दिएका छन् । 

मैनालीसंग स्पष्टीकरण मागियो

विदुर । नुवाकोट क्षेत्र नम्बर १ एमाले उम्मेदवार बद्री मैनालीलेले मतदातालाई पैसा बाँडेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले शनिवार स्पष्टीकरण सोधेको छ । 

औषधि उपचारको बहानामा नगद वितरण गरेको र उक्त कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल भएको भन्दै आयोगमा उजुरी परेको थियो । ‘तपाईंले मतदातालाई नगदै वितरण गर्न‘ भएको हो, होइन ? तपाईंले मतदातालाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ?’ आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ ।

    तीन दिनभित्र (मंगलवारसम्म) स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ ।

विज्ञापन खर्च पनि बुझाउनु पर्ने

विदुर । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचन–२०७९ का क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने आग्ह गरेको छ । सो विवरण निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ ।

आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ । आयोगबाट जारी भएको विज्ञप्ती अनुसार सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको बताईएको छ । 

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ । 

२ र ३ गते भिटामिन ‘ए’

विदुर । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन आगामी कात्तिक २ र ३ गते भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको हो । 

भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरूलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाईने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका मार्फत बालबालिकालाई खुवाउने गरिन्छ । आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन नेपाल सरकारले अभिभावकलाई आग्रह गरेको छ ।

महाशाखाले अभियान बारे प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइसकेको बताएको छ ।

गाउँपालिका अध्यक्ष तामाङद्धारा ३८ लाखको जग्गा दान


घलेभञ्याङ । पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका नेता तेजबहादुर तामाङ (रमेश)ले ३८ लाख रुपैयाँ भन्दा बढीको जग्गा दान गरेका छन् । 

स्वास्थ्य चौकी, प्रहरी कार्यालय र विद्यालयलाई तीन कित्ता जग्गा आफ्नै रकमबाट खरिद गरेर दान गरेका हुन् । तीनवटै कार्यालयलाई लालपुर्जा सहित हस्तान्तरण गरिएको जग्गाको मुल्य ३८ लाख रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । 

गाउँपालिका अध्यक्ष तामाङले पञ्चकन्या गाउँपालिका वडा नं. ३ मा कार्यालय स्थापना गरेको प्रहरी चौकीको लागि दुई रोपनी जग्गा दान गरेका छन् । गाउँपालिका कार्यालय नजिकै कार्यालय स्थापना गरी बसेको प्रहरी चौकीको स्थायी भवन निर्माणका लागि आफ्नै जग्गाको आवश्यकता परेपछि उनले व्यक्तिगत लगानीमा जग्गा खरिद गरेर प्रहरी चौकीलाई हस्तान्तरण गरेका हुन् । उक्त जग्गाको मुल्य छ लाख रुपैयाँ भन्दा बढी रहेको पञ्चकन्या प्रहरी चौकीले जनाएको छ । 

यस्तै, पञ्चकन्या स्वास्थ्य चौकीलाई भवन निर्माणका लागि गाउँपालिका अध्यक्ष तामाङले ५ रोपनी जग्गा दान गरेका छन् । उक्त जग्गाको मुल्य २४ लाख भन्दा बढी रहेको बताइएको छ  ।  गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले वडा नं. ३ स्थित पञ्चकन्या माविलाई भवन निर्माणका लागि झण्डै नौं लाख रुपैयाँको जग्गा दान गरेका छन् । विद्यालय आसपासमा रहेको आठ लाख मुल्य बरावरको ६ रोपनी १२ आना जग्गा  अन्य व्यक्तिसंग खरिद गरेर विद्यालयकै नाममा अध्यक्ष तामाङले पास गरिदिएको विद्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष तामाङले ति तीन वटा कार्यालयका लागि ४० लाख भन्दा बढी रकमको जग्गा खरिद गरेर दान गरेका छन् । 

विद्यालय, प्रहरी तथा स्वास्थ्य कार्यालयलाई व्यवस्थित र थप प्रभावकारी पार्नका लागि आफ्नो तर्फबाट सहयोग गरेको अध्यक्ष तामाङले बताएका छन् । सार्वजनिक जमिनको संरक्षणमा आफु सचेत रहेको र संवेदनशिल निकायहरूलाई परेको जग्गाको अभाव टार्न निजी लगानीमा सहयोग गरिएको उनले बताए । 

नुवाकोट २ (१) प्रदेशको मतपत्रमा रुख चिन्ह आउने

काँँग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेका गीता अमात्यले निर्वाचन आयोगनबाट उम्मेदवारी फिर्ता नलिएर काँग्रेस पार्टी कार्यालयबाट जारी गरेको विज्ञप्ती । 

विदुर । प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटा गरी ६ सिट रहेको नुवाकोटमा ६६ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा १८ र निर्वाचन क्षेत्र नं. २ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ को १ मा ७, १ को २ मा १० जना छन् । 

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ को १ मा १३ जना र २ को २ मा ७ जनाले उम्मेदवारी दिएका छन् । त्यस मध्ये दुवै क्षेत्रको गरी तीन जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् । भने तीन जनाले फिर्ता लिने समय गुज्रिएको भन्दै विज्ञप्ती निकालेर फिर्ता लिएको घोषणा गरेका छन् । तर उनीहरूको चुनाव चिन्ह मतपत्रमा भने छापिएर आउने भएको छ । 

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीलाई भाग परेको क्षेत्र नं. २ को १ खोसिएपछि ‘भएको लफडा’ मिलाउनै भनेर आवश्यकता भन्दा बढी उम्मेदवारी हालेका काँग्रेस–माओवादी गठबन्धबाट नै अहिले चेपिएका छन् । त्यस क्षेत्रमा काँग्रेसकको तर्फबाट प्रदेश सांसदको उम्मेदवारी दिएका गीता अमात्यको उम्मेदवारी फिर्ता भएको छैन । उनले विज्ञप्ती जारी गरेको भएपनि समयमा नै निर्वाचन आयोगमा उम्मेदवारी फिर्ता लिन नगएको कारण प्रदेशको मतपत्रमा रुख चिन्ह पनि छापिएर आउने भएको छ । क्षेत्र नं. २ को २ मा उम्मेदवारी दिएका माओवादी केन्द्रका राममाया बोगटीले भने उम्मेदवारी फिर्ता लिएका छन् । 

प्रदेशमा रुख चिन्ह पनि कायम भएर आउदा गठबन्धनभित्रै ‘घात’ गर्न सजिलो हुने पो हो कि भन्नेमा माओवादीका नेताहरू सशंकित देखिएका छन् । विदुर नगरपालिकाका केही वडा र बेलकोटगढी नगरपालिकाको सबै भुगोल पर्ने उक्त क्षेत्रमा एमालेको मत समेत गठबन्धनको हाराहारीमा देखिएको छ ।  

प्रत्यक्षतर्फको चुनावका लागि मतपत्र छपाइ सुरु भएको छ । बिहीवारदेखि मतपत्र छाप्न थालेको हो । उम्मेदवारको मात्र चिह्न रहने गरी प्रत्यक्षतर्फको

मतपत्र छपाइ सुरु गरिएको होे । मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ भइरहेको छ ।

यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रको छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने छन् । प्रदेश सभातर्फ ३३० निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै र प्रतिनिधि सभाको १३५ निर्वाचन क्षेत्रका लागि दुई करोडभन्दा धेरै गरी चार करोडभन्दा धेरै मतपत्र छापिने आयोगले जनाएको छ । 

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम भने सम्पन्न गरेको छ । आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ गरिसकेको छ ।

काँग्रेस–माओवादी गठबन्धनबाट निर्वाचन क्षेत्र नं. १ मा माओवादी केन्द्रका पूर्वमन्त्री तथा निवर्तमान सांसद हितबहादुर तामाङ, एमालेबाट बद्री मैनाली, राप्रपाबाट सुदर्शन सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. प्रद्युम्न महतलगायतले उम्मेदवारी दिए । 

निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, एमालेका नारायणप्रसाद खतिवडा, राप्रपाबाट झनक प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमनविक्रम पाण्डे, स्वतन्त्रबाट ३ जनासहित अन्य पार्टी चुनावी मैदानमा छन् ।

त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को १ मा काँग्रेस–माओवादी गठबन्धबाट माओवादी केन्द्रका राधिका तामाङ, एमालेबाट सुशील खड्का, राप्रपाबाट रामु पण्डितलगायतको उम्मेदवारी छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को २ मा गठबन्धनबाट नेपाली कांग्रेसबाट रमेश महत, एमालेबाट पूर्णलाल श्रेष्ठ, राप्रपाबाट विमल थापालगायत छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को १ काँग्रेस–माओवादी गठबन्धनबाट माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना, एमालेका केशवराज पाण्डे, राप्रपाबाट दीपेश लामा, नेपाल मजदुर किसान पार्टीबाट श्याम लामा, स्वतन्त्रबाट ३ जना छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को २ मा काँग्रेस–माओवादी गठबन्धबाट नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ, एमालेबाट विजयसिंह लामा, राप्रपाबाट रणप्रसाद न्यौपाने, हाम्रो नेपाली पार्टीबाट बसन्त सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनबाट दिलमान तामाङ छन् ।

तीन सिटमा २९ जनाको उम्मेदवारी

धुञ्चे । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रसुवामा २९ जनाको उम्मेदवारी परेको छ ।

      मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार प्रतिनिधिसभाका लागि ११ र प्रदेश सभा (क) तर्फ ९ र प्रदेश सभा (ख) तर्फ ९ जनाको उम्मेदवारी परेको छ । एक मात्र प्रतिनिधिसभा सदस्य सिटमा वर्तमान सत्ता गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस पार्टीका केन्द्रिय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य मोहन आचार्यले उम्मेदवारी दिएका छन् । 

यस्तै नेकपा एमालेबाट पार्टीबाट केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा संविधानसभा सदस्य छोवाङ तेन्जेन तामाङले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा (एकिकृत समाजवादी) पार्टीबाट प्रतिनिधि सभा सदस्यमा समेत शिवप्रसाद लमिछानेले उम्मेदवारी दिएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिननाथ देवकोटा, राप्रपाबाट टिकाप्रसाद देवकोटा, नेपाल मजदुर किसान पार्टीबाट रामेश्वर बासी, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट विकास गलान र जनसमाजवादी नेपाल पार्टीबाट सृजना सुनुवारले प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । कर्सावाङदी तामाङ, रामशरण पौडेल र लिला बहादुर न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

प्रदेश सभा (क) का लागि ९ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली काँग्रेस वागमती प्रदेश कमिटी सदस्य तथा पुर्व प्रदेश सभा सदस्य प्रभात तामाङले उम्मेदवारी दर्ता गराए । एमालेबाट पुर्व जिल्ला समन्वय समिति, रसुवाका प्रमुख कुल प्रसाद भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।

  प्रदेश सभा (क) का लागि जनसमाजवादी नेपाल पार्टीबाट कामी थोक्रा, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट जितमान तामाङ, तामाङसालिङ लोकतान्त्रिक पाल्देन वाङदी तामाङ, मजदुर किसान पार्टीबाट बाबुकाजी माकजु, राप्रपाका महेशकुमार डंगोल, नेकपा (एकिकृत समाजवादी) पार्टीबाट सनथ देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा (ख) मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्रप्रसाद गोतामे, एमालेबाट बागमती प्रदेश कमिटी सदस्य तेम्ब्रेल तामाङ उम्मेदवार छन् । नेपाल मजदुर किसान पार्टीबाट तुल्सीराम ग्वाछा, नेकपा (एकिकृत समाजवादी) पार्टीबाट रामप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट वाङदे घले, तामाङसालिङ लोकतान्त्रिक पार्टीबाट वाङजेन तामाङ, नेपाली काङ्ग्रेस (बिपी) पार्टीबाट शारदा कुमार न्यौपाने, राप्रपाबाट हरिप्रसाद घिमिरे उम्मेदवार छन् ।

नुवाकोटका स्थानीय तह उम्मेदवारबाट ३० करोड जरिवाना उठ्ने

विदुर । बैशाख ३०, २०७९ मा सम्पन्न स्थानीय तहको निर्बाचनको खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट निर्वाचन आयोगले ३० करोड रुपैयाँ जरिवानामा उठाउने भएको छ । 

जिल्लामा १० गाउँपालिकामा विभिन्न पार्टीका अध्यक्ष र उपाध्यक्ष पदका ९० उम्मेदवारले निर्वाचन खर्च विवरण समयमा नुबझाएकाले जरिवानामा पर्दैछन् । उनीहरूबाट जनही तीन लाख ५० हजारका रुपैयाँका दरले तीन करोड १५ लाख रुपैयाँ असुल गर्न‘पर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । निर्वाचन आयोगले सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने एक हजार ६९४ जना उम्मेदवारबाट २० करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नपर्ने उनले बताएका छन् । 

जरिवना तिर्नेमा विदुर नगरपालिकामा प्रमुख पदका छ र उपप्रमुख पदका पाँच छन् । बेलकोटगढी नगरपालिकाका प्रमुख र उपप्रमुख पदका पाँच–पाँच गरेर दश उम्मेदवार पनि जरिवानामा परेका छन् । नगरपालिकाका प्रमुख र उपप्रमुखले जनही चार लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने छ । खर्च विवरण नबुझाएका उपप्रमुखका उम्मेदवार २१ जनाबाट ९४ लाख ५० हजार रुपैयाँ जरिवाना असुल हुने बताइएको छ । नगरपालिकाको वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवार ४२७ जनाले खर्च विवरण बुझाएका छैनन् । उनीहरूलाई निर्वाचन आयोगले जनही दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने निर्णय गरेको छ । आयोगको निर्णयानुसार नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारबाट आठ करोड ५४ लाख रुपैयाँ असुल हुन्छ । 

यस्तै गाउँपालिकाको वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाएका उम्मेदवारको संख्या नुवाकोटमा एक हजार १५६ जना रहेका छन् । उनीहरूलाई निर्वाचन आयोगले जनही एक लाख ५० हजार रुपैयाँ जरिवाना लाग्ने निर्णय गरेको छ । आयोगको निर्णयअनुसार गाउँपालिकाका वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारबाट १७ करोड ३४ लाख रुपैयाँ जरिवाना असुल हुने छ । 

स्थानीय तहको निर्वाचनको खर्च विवरण निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र बुझाउनुपर्ने भनिएको थियो । सो अवधिमा खर्च विवरण नबुझाउने सूचीमा निर्वाचित जनप्रतिनिधिसमेत उल्लेख्य सख्यामा रहेका छन् । नुवाकोटमा स्थानीय तह निर्वाचनअन्तर्गत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये तोकिएको समयभित्र खर्च विवरण बुझाउने ३१२ जना छन् ।

साढे छ सयलाई आकस्मिक सेवा

त्रिशुली । दशैपर्वको बिदाको समयमा नुवाकोटको जिल्ला अस्पताल त्रिशुली अस्पतालबाट झण्डै सात सय बिरामीले आकस्मिक सेवा सेवा लिएका छन् ।

अघिल्ला समयको चाडपर्वको भन्दा यस वर्षको दशैपर्वको बिदामा दोब्बर बढी ६७७ बिरामीले आकस्मिक उपचार सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार अघिल्ला दुई वर्षको दशै पर्वमा कोरोना संक्रमणको जोखिम रहेको समयमा समेत पर्व बिदामा कुल तीन सय हाराहारीका बिरामीले सेवा लिएकामा यस वर्ष दोब्बर बढी बिरामीले सेवा लिए । 

दशै बिदाको अवधिमा ज्वरोका बिरामी २३०, डेंगुका १६२, सवारी दुर्घटनामा परेर घाइते भएका २५, कुकुरको टोकाइबाट घाइते भएका २०, झाडाबान्ता भएका १२, ग्याष्ट्रिक भएका १०, कुटपिटमा घाइते भएका चार, भवितव्य मृत्यु भएका व्यक्तिको शव परीक्षण एक जनासहित अन्य विभिन्न स्वास्थ्य समस्या भएका २३० बिरामीलाई अस्पतालले आकस्मिक सेवा उपलब्ध गराएको छ । अस्पतालमा स्वास्थ्य जाँच तथा परीक्षणका लागि पुग्नेमध्ये एक सयभन्दा बढीलाई भर्ना गरेर उपचार सेवा दिइएको अस्पतालका अध्यक्ष राजु पण्डितले बताएका छन् । उनका अनुसार अस्पतालले दशै बिदाको समयमा बहिरङ्ग विभाग (ओपीडी) सेवा बन्द गरे पनि अन्य सेवा कायमै राखेको थियो । अन्य बिदाको समयमा बन्द गरिने साना–ठूला शल्यक्रिया, प्रयोगशाला, भिडियो एक्सरे, रक्तसञ्चारलगायतका सेवा दशै बिदाको समयमा भने निरन्तरता दिइएको थियो ।

वाग्मती प्रदेश सरकारअन्तर्गत सञ्चालित ५० शैयाको त्रिशुली अस्पतालले आन्तरिक स्रोतबाट १०० शैया चलाउँदै नुवाकोट, रसुवा, धादिङलगायतका जिल्लाका बिरामीलाई सेवा पु-याइरहेको छ । अस्पतालले डेंगु रोगको निःशुल्क परीक्षणसहित कोरोना परीक्षणका लागि आरटी–पिसीआर परीक्षण प्रयोगशाला डिजिटल एक्सरे, आइसीयू, एनआइसीयू, एचडीयूलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

अब म चुनाव उठ्दिन : केसी

अर्जुननरसिंह केसी आफ्नो भनाई राख्दै (बीचमा) दायाँ रमेश महत, बाँयाँ बहादुरसिंह लामा तामाङ । 

विदुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुननरसिंह केसीले यस पटकको निर्वाचन आफ्नो अन्तिम रहेको बताएका छन् । २०४८ सालदेखी सबै संसदिय निर्वाचनमा उम्मेदवार रहदै आएका नेता केसीले यसपटकको निर्वाचनलाई आफ्नो जीवनको अन्तिम निर्वाचनको रुपमा लिएको बताएका छन् । 

यस अघिको चुनवामा पनि आफुले अन्तिम भनेको हल्ला फैलाएको प्रति खण्डन गर्दै उनले कहिकतै अघिल्लो पटकनै अन्तिम चुनाव उठ्दै गरेको नबताएको र यसलाई आफ्नो जीवनको अन्तिम निर्वाचनको रुपमा दर्ज गरिएको नेता केसीले बताएका छन् । ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अर्को निर्वाचनमा म उम्मेदवार बन्ने छैन’ केसीले भने– ‘यस पटक पनि म निर्वाचन नलड्ने कि भन्ने नै मुडमा थिए, तर पार्टीको आन्तरिक विषय यसरी जकडियो कि निर्वाचनको मुखमा नभनु’ उनले भने । 

नेता केसीले अन्तराष्ट्रिय शक्ति सन्तुलन कायम र लोकतन्त्र सुदृढिकरणको लागी आफ्नो उम्मेदवारी रहेको उद्घोष समेत गरेका छन् । दुई ठुला राष्ट्र बीचमा रहेको नेपालले लिने अन्तराष्ट्रिय नीति तथा शक्ति सन्तुलनका लागी आफ्नो उम्मेदवारी रहेको प्रष्ट गरेका छन् । ‘संसदमा उभिदै गर्दा नुवाकोटबाट उम्मेदवारी दिएकाहरू मध्ये मेरो तुलनमा अन्तराष्ट्रिय पहिचान भएको कोही छ त ? छ भने भन्नु होला’ केसीले भने ।  

यस्तै, उनले पटक पटक सांसद र मन्त्री हुँदा सुरु गरेका नुवाकोटका समग्र बिकास निर्माणको कामलाई गती दिने देखि सिङ्गै मुलुकलाई सम्बृद्ध बनाउने योजनामा आफु रहेको उनको भनाई रहेको छ । 

यसै बीच, नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एवं नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हितबहादुर तामाङले राष्ट्रिय स्वाधिनता र रक्षाको लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् । गठबन्धन दल नेतृत्वको सरकार आएसँगै मुलुकमा स्थापित भएका मुद्दाहरूलाई संस्थागत गर्ने, र त्यससँगै नागरिकहरूको भावना अनुरुपको बिकासको लागी गठबन्धन दलहरू सक्रिय रहने तामाङको भनाई रहेको छ । 

मंसिर ४ गतेको निर्बाचन पछि गठबन्धने नेतृत्वमा सरकार गठन हुने र अन्तराष्ट्रिय सम्बन्ध सुदृढिकरण भ्रष्टाचार निबारण, बिकासको लहरका लागी साझ धारण सहित आफुहरूको उम्मेदवारी रहेको उनले बताएका छन् । 

दुई संघीय निर्बाचन क्षेत्र र ४ प्रदेश सभा निर्बाचन क्षेत्र रहेको नुवाकोटमा गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ को प्रदेश क मा नेकपा माओबादी केनद्रको तर्फबाट राधिका तामाङ, प्रदेश ख मा नेपाली काँग्रेस जिल्ला सभापति रमेशकुमार महत उम्मेदवार छन् । क्षेत्र नम्बर २ को प्रदेश क मा नेकपा माओबादी केन्द्रबाट रामप्रसाद ढुङगाना र प्रदेश ख मा नेपाली काँग्रेसबाट बहादुरसिंह लामा तामाङको उम्मेदवारी छ । 

मलाई एक पैसा कमाउनु छैन : सुमनविक्रम


विदुर । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सुमनबिक्रम पाण्डेले नुवाकोटको पर्यटन प्रबद्र्धन र बिकासका लागि लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् । विदुरमा पत्रकार सम्मेलन गर्दै उनले ३३ बर्षको आफ्नो लामो पर्यटन क्षेत्रको अनुभबलाई जिल्ला र केन्द्रका बीचमा जोड्ने पुलको काम गर्ने बताए । 

उनले जिल्लाको परिवर्तन र विकासका लागि आफुले जित्नुको विकल्प नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न क्षेत्र नं. २ का नागरिकहरूसंग अपिल गरेका छन् । भर्खरै स्थापना भएको पार्टी भएपनि नुवाकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीको महौल उल्लेख्य स्थापित हुँदै गएको उनको भनाई रहेको छ । 

विभिन्न क्षेत्रमा काम गर्ने जिल्लाका नागरिकहरूको आग्रहमा उम्मेदवारी दिएको  उनको भनाई छ । पुराना राजनीतिक दलहरूसंग नागरिक वाक्कदिक्क भएकोले आफ्नो सम्भावना बलियो रहेको तर्क पाण्डेको छ । ‘हामी त भिजनसहित आएका छौं, हामी राजनीतिबाट कमाउनका लागि पनि होइन’ पाण्डेले भने– हाम्रो उद्देश्य सेवा र विकासका लागि भन्नेमा सबै क्लियर छन् ।’ 

आफ्नो राजनीतिक यात्रको उद्देश्य नुवाकोटलाई अर्को तहको विकास चरणमा प्रवेश गराउने रहेको सुमनविक्रम पाण्डेले बताएका छन् । पर्यटन ब्यवसायबाट नै आफ्नो व्यक्तिगत उन्नती भइसकेकोले पदको दुरुपयोग नगर्नेमा आफु पर्ने र नुवाकोटको सम्वन्ध अन्तराष्ट्रिय स्तरमा स्थापित गर्ने हैसियत आफ्नो रहेको उनको भनाई छ । 

डोलबहादुर घलेले लिए लालटिन चिन्ह


खरानीटार । नुवाकोटमा स्वतन्त्र उम्मेदवारी दिएका मध्ये बढी चर्चामा रहेको डोलबहादुर घलेले नुवाकोटको क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा लालटिन चिन्ह लिएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा लिखु गाउँपालिका वडा नंं. २ का घलेले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 

लामो समय सैन्य जागिरे जीवनमा रहेका घले पछिल्लो समय सफल निर्माण व्यवसायीका रुपमा नुवाकोटमा परिचित छन् । उनी १० वर्ष नेपाली सेनाको ‘स्पेशल फोर्स’ मा कार्यरत थिए । जागिरे जीवनपछि निर्माण व्यवसायमा लागेका घले हाल विदुर नगरपालिका वडा नं. ४ मा अस्थायी बसोवास गर्छन् । ४० वर्षिया डोलबहादुर घलेले देशमा भइरहेको यथास्थितिका कारण विकास निर्माण र समाज परिवर्तन हुन नसकेकोले जनप्रतिनिधिका रुपमा समेत युवाहरूको आवश्यकता रहेको बताएका छन् । पुराना राजनीतिक दल र नयाँ राजनीतिक दलले समेत भविष्यका लागि केही गर्ने आशा नरहेको बताउँदै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । ‘कुनै दल विशेषको विरुद्धमा नभई मुलधारको राजनीतिमा युवाहरूको आवश्यकता देखेर उम्मेदवारी दिएको हुँ’ घलले भने ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार र युवाहरूको पक्षमा देखिएको लहरका कारण मतदाताहरूले के रुचाइरहेका छन् भन्ने संकेत गरेको उल्लेख गर्दै उनले नुवाकोटमा आशा लाग्दो र विकास अनि परिवर्तनका लागि केही गर्ने युवाले अवसर पाउने अवस्था रहेको दावी गरेका छन् । पुराना दलबाट वाक्कदिक्क बनेका नागरिकहरूले स्वतन्त्र उम्मेदवारको पक्षमा माहौल सृजना गर्ने भएकै कारण आफ्नो जितको सम्भावना समेत रहेको उनको भनाई रहेको छ ।

राजनीतिक यात्रामा जत्तिनै योगदान दिएपनि कुनै पनि दलमा कुनै पद बिना आजसम्म समर्पित हुँदै आएका उनले थप उल्लेख गरे– ‘आज आएर कुनै पनि दल वा व्यक्तिले समाजलाई बिकास र उन्नतीको बाटोमा लैजान नचाहेको देखेको हुँदा अब म आफै उमेदवार भई गाउँ समाजको बिकास र उन्नतीमा मेरो जीवन समर्पण गर्न चाहन्छु ।’

राजनीतिलाई नेताहरूले पेशा बनाएका र आफुले सुरु गर्ने अबको राजनीतिक बाटो यो क्षेत्र पेशा वा कमाई गर्ने थलो नभई समाजसेवाको रुपमा रहेको स्थापित गर्ने आफ्नो अठोट रहेको घलेले बताएका छन् ।

उनको पहिलो चुनावी मुद्दा भ्रष्टाचार अन्त्य हो । भ्रष्टाचार अन्त्य भए समाजको आधा विकास त्यतिकै हुने उनी दाबी गर्छन् । अहिले नुवाकोटमा जति पनि विकास निर्माणका कार्य हुन्छन्, त्यहाँ ५० प्रतिशत भन्दा बढी भ्रष्टाचार भएको उनको दाबी छ । ‘म निर्वाचित भएँ भने कम्तीमा मैले जित्ने निर्वाचन क्षेत्रबाट भ्रष्टाचार हटाएर देखाउँछु, त्यसले अन्य क्षेत्रका जननिर्वाचित प्रतिनिधिलाई पनि मेरो अभियानले डोर्याउने छ,’ उनी आत्मविश्वासी बने ।

दलहरूप्रति जनताले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतपरिणाममा आउनसक्ने तर्क डोलबहादुर घलेको छ । जनताका सपना ठूलो नभएको तर नेताहरूले नै ठूला सपना देखाएर पूरा नगर्दा निराशा छाएको उनको भनाई छ । खानेपानी, शिक्षा, स्वास्थ्य, महँगी नियन्त्रणमा मात्र ध्यान दिँदा पनि जनता खुसी हुने उनको भनाई छ । ‘अब दलहरूले टिकट दिँदैमा जित्छ भन्न सकिँदैन । लोकतन्त्रमा मतदाताले मताधिकार मार्फत आफ्नो अभिमत व्यक्त गर्ने हुन्, अहिले त्यही भइरहेको देशैभरी हामी देख्न सक्छौं’ घलेले भने, ‘दलहरूले यस अघिका निर्वाचनहरूको उम्मेदवार छनौट गर्दा पनि विवेकपूर्ण देखिएनन् । जनताले चाहेको, जनतामा भिजेको उम्मेदवार भएको हुनुपर्ने रहेछ । मतदाता सचेत हुन थालेका छन् । छानीछानी आफूले रोजेको उम्मेदवारलाई भोट दिएका छन् ।’

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डोलबहादुर घलले भने– ‘हिजोको राजनीतिक परिवेशमा मैले गरेको सहयोग, त्याग र बलिदान अनि गाउँ समाजलाई बिकासको बाचा सोचे जस्तो कुनै पनि दल वा व्यक्तिले नगरेको हुँदा अब मेरो राजनीतिक यात्रा समाजको लागि समर्पित गर्ने छु ।’

नुवाकोटको निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा तीन वटा गाउँपालिका छन् । लिखु, सुर्यगढी, ककनी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाको वडा नं. १, २, ५ (२२ वटा वडा) नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा रहेका छन् । घलेले उममेदवारी दिएका त्यस क्षेत्रमा काँग्रेसबाट रमेशकुमार महत, एमालेका पुर्णलाला श्रेष्ठ उम्मेदवार छन् । 

एमाले उम्मेदवारको एजेण्डा सार्वजनिक


विदुर । नेकपा एमालेका उम्मेद्धवारहरूले गत हप्ता पत्रकार सम्मेलन गरेर आसन्न निर्बाचनमा सन्र्दभमा पार्टीको एजेण्डाहरू सार्बजानिक गरेका छन् । 

दुई संघीय निर्बाचन क्षेत्र र ४ प्रदेश सभा निर्बाचन क्षेत्रका उम्मेद्धवारहरूले पार्टी र आफ्ना एजेण्डाहरूलाई प्राथमिताको आधारमा पुर्णता दिदै जाने बताएका छन् । निर्बाचित भए या नभए पनि संगठन र आम जनता भन्दा बाहिर गएर कुनै कार्यमा सम्लग्न नहुने प्रष्ट पारेका छन् । नेकपा एमाले नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद खतिवडाले राष्ट्रिय स्वाधिनता र रक्षाको लागी आफ्नो उम्मेद्धवारी रहेको बताए । गठबन्धन दल नेतृत्वको सरकार आएसँगै मुलुकमा अन्तराष्ट्रिय सम्बन्ध बिग्रिएको र भ्रष्टाचारमा लिप्त भएको खतिवडाले दावी गरेका छन् ।

मंसिर ४ गतेको निर्बाचन पछी नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने र अन्तराष्ट्रिय सम्बन्ध सुदृढिकरण भ्रष्टाचार निबारण, बिकास निर्माणको लहर लगायतको लागी आफुहरूको उम्मेदवारी रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै, नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार बद्री मैनालीले आफु प्रदेश मन्त्री र सांसद रहँदा सुरु गरेका कार्यहरूको पुर्णता दिनको लागी आफ्नो उम्मेदवारी रहेको बताए । आफु प्रदेश सांसद र मन्त्री हुँदा नुवाकोटमा ५ अर्ब भन्दा बढीको बजेट बिकास निर्माणको र कृषिको क्षेत्रमा आएको र त्यस मार्फत सञ्चालित योजनाहरूको पुर्णताको लागी यस पटकको निर्वाचनमा संघीय संसदमा आफ्नो उम्मेदवारी रहेको समेत उल्लेख गरेका छन् । 

नेकपा एमालेले नुवाकोटको क्षेत्र नम्बर १ मा बद्री मैनाली, क्षेत्र नम्बर २ मा नारायणप्रसाद खतिवडा, निर्बाचन क्षेत्र नम्बर १ को प्रदेश क मा सुशिल खड्का, ख मा पुर्णलाल श्रेष्ठ, निर्बाचन क्षेत्र नम्बर २ को क मा केशबराज पाण्डे र ख मा बिजय लोप्चनलाई उम्मेदवार बनाएको छ । 

पहिलो चुनावमै स्वतन्त्रले ल्याए तेश्रो भोट


विदुर । बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरू बाजी मारेसंगै आसन्न मंसिर ४ को निर्वाचनमा देशै भरीबाट स्वतन्त्र उममेदवारहरू उठ्ने क्रम ह्वात्तै बढेको छ । अघिल्लो चुनवारुमा ठुला दलका उम्मेदवारले नै डमीका रुपमा स्वतन्त्र उम्मेदवार उठाउने गरेकोमा यसपालि चुनावनै जित्नेसम्मको आाकलमा स्वतन्त्र उम्मेदवारी दिनेहरू बढेका छन् । 

त्यसो त, ६४ वर्ष अगाडि २०१५ मा नेपालमा भएको पहिलो संसदीय चुनावमा सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवार थिए । साथै तिनै स्वतन्त्र उम्मेदवारहरूले तश्र।ो धेरै मत समेत ल्याएका छन् । राणाशाहीको पञ्जाबाट मुक्त भएर मुलुक प्राजातान्त्रिक व्यवस्थातिर लम्किदै गर्दा दलका उम्मेदवारसँगै साढे दुई सय भन्दा बढी स्वतन्त्र उम्मेदवार चुनावमा उत्रिएका थिए । अनलाइन खबरले लेखेको समाचार अनुसार १०९ सिटका लागि भएको चुनावमा राजनीतिक दलहरू मध्ये कसैले पनि १०९ वटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाउन सकेका थिएनन् । तर, स्वतन्त्र उम्मेदवारको संख्या भने २६८ थियो । यो चुनावमा दलहरूमा सबैभन्दा धेरै १०८ उम्मेदवार कांग्रेसले मात्र उठाएको थियो ।

२०१५ यताका ६४ वर्षमा नेपालले पञ्चायत, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र गरेर तीनवटा शासन व्यवस्था भोगिसक्यो । यो अवधिमा राजनीतिक, सामाजिक परिवर्तन भएपनि स्वतन्त्र उम्मेदवारको लहर भने ६४ वर्ष अगाडि जस्तै यसपटक पनि देखिएको छ । संसदीय चुनाव अगाडि भएको स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकामा बालेन्द्र साह, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकामा गोपी हमालको विजयले संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्न हौस्याएको छ । 

०१५ मा ९ वटा राजनीतिक दल चुनावी मैदानमा थिए । १०९ सिटका लागि भएको चुनावमा ९ वटै राजनीतिक दलका कुल उम्मेदवार ५१८ थिए । स्वतन्त्र र राजनीतिक दलका गरेर ७८६ उम्मेदवार चुनावी मैदानमा थिए । राणा र कांग्रेसको संयुक्त मन्त्रिमण्डल सहित २०१५ सम्म ८ वटा सरकार परिवर्तन भए । यो राजनीतिक अस्थिरतालाई दलहरूको गलत काम करार गर्दै स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । स्वतन्त्र उम्मेदवारको लहरबारे लिलाभक्त मुनकर्मी आफ्नो किताब ‘नेपालको आधुनिक इतिहास’मा लेख्छन्, ‘यिनीहरू आ–आफ्नो जिल्लामा भएका समस्याहरू राखेर सरकारले गरेका अन्यायहरूको घोर भत्र्सना गर्दै पार्टीभित्र भएको खिचातानी समाप्त गर्न आफ्नो व्यक्तित्व प्रदर्शन गरी प्रचारमा लागेका थिए ।’

दलहरूको प्रतिको वितृष्णा कतिसम्म थियो भन्ने एउटा उदाहरण हो उपत्यका (काठमाडौं) क्षेत्र नम्बर एकबाट स्वतन्त्र उम्मेदवार बनेका लालसिंह महर्जन ‘किसान’को घोषणापत्र । घोषणापत्रमा महर्जनले त्यतिखेरका सबै राजनीतिक दलको चर्को आलोचना गरेका छन् । बीपी र मातृकासहित कोइराला बन्धु र कांग्रेसलाई पदलोलुपहरूको समूहको आरोप लगाउँदै उनी लेख्छन्, ‘जनताको आवाज, जन कल्याण्को भावनालाई कुल्चेर प्रगति विरोधी कांग्रेस र त्यसका पद लोलुप नेता कोइराला बन्धुहरूले दिल्ली सम्झौता गरी क्रान्तिलाई दबाए ।’

नेपाली कांग्रेसलाई ‘फासिस्ट’ संगठन भएको आरोप लगाउँदै महर्जनले कांग्रेसले मजदुर, किसानको मिठो सपना भंग गरेको आरोप लगाएका थिए ।

कम्युनिष्ट पार्टीले पनि किसान र आम जनतालाई धोका दिएको आरोप उनले लगाएका छन् । उनी घोषणापत्रमा लेख्छन्, ‘२००९ सालमा रौतहटमा कम्युनिस्टले किसानलाई भड्काएर कृषि क्रान्ति सुरु गरे । तर, जब सरकारको दमन सुरु भयो कम्युनिस्टहरू भागे । किसान तवाह भए । कम्युनिस्टको पछि लागेर किसानले धोका सिवाय अरु के पायो ?’

यस्तै अर्को उदाहरणसहित उनी कांग्रेसको आलोचना गर्छन्, ‘२००३ सालमा कांग्रेसले विराट नगरमा मजदुरहरूलाई भड्काएर संघर्ष सुरु गर्यो । तर, आफ्नो सरकार गठन भएपछि मजदुरमाथि गोली चलायो, मोल बन्द गरायो । मजदुर गरिब थियो, भोकै मर्न‘पर्ने भयो ।’

कुनै पनि राजनीतिक दलले मजदुर, किसान र आम मानिसको भलाइका लागि काम नगरेको दाबी गर्दै उनी राजनीतिक दलमाथि खनिन्छन् । 

उनी लेख्छन्, ‘आज यो स्पष्ट भएको छ कि कुनै पनि पार्टीले किसान भलाइको लागि अघि सर्ने छैन । आफै जमिनदार छ । आफ्नु पार्टी नै सामन्तवादी छ । उनीहरू सामन्त–भूमिपति) हरूकै भलाइमा बोल्ने छ, चल्ने छ ।’ कम्युनिस्ट पार्टीले आफ्नो घोषणापत्रमा गोर्खा भर्ती केन्द्र बन्द गराउने उल्लेख गरेको स्मरण गर्दै महर्जनले आफ्नो घोषणापत्रमा ‘कम्युनिष्ट भर्ती केन्द्र’ पनि बन्द गराउने उल्लेख गरेका थिए ।

आफूलाई ‘किसान’को हिमायती दाबी गर्दै लालसिंह महर्जनले घोषणापत्रको सुरुवातमै आफू चुनाव जितेर संसदमा पुगेपछि किसान, मजदुर र मध्यम वर्गको भलाइका लागि अवस्था अनुसार राजनीतिक दल, स्वतन्त्र सांसदसंग मिलेर काम गर्ने वाचा गरेका थिए ।

महर्जनले चुनाव भने जितेनन् । उनको क्षेत्रबाट कांग्रेस नेता गणेशमान सिंहले १० हजार ९ सय ८६ मत ल्याएर चुनाव जिते । महर्जनले १ सय ९१ मत मात्र ल्याए । काठमाडौं क्षेत्र नम्बर १ मा महर्जन सहित चार जना स्वतन्त्र उम्मेदवार थिए ।

स्वतन्त्र उम्मेदवार बनेका २६८ मध्येमा सप्तरी पश्चिम क्षेत्र नम्बर ३७ बाट हरिहरलाल चौधरी, क्षेत्र नम्बर ४६ सर्लाहीबाट रामदुलार । क्षेत्र नम्बर ७३ जुम्ला उत्तरबाट भीमप्रसाद श्रेष्ठ र क्षेत्र नम्बर ७४ जुम्ला दक्षिणबाट जयबहादुुर महत क्षेत्री गरेर चार जनाले मात्र चुनाव जिते । २४६ जनाको त जमानत (धरौटी) नै जफत भयो । यो चुनावमा २५० रुपैयाँ धरौटी तोकिएको थियो । आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल मतको ६ भागको एक भाग मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने नियम थियो ।

गृष्मबहादुर देवकोटाको किताब ‘नेपालको राजनीतिक दर्पण भाग–२’ मा प्रस्तुत तथ्याङ्क अनुसार ४५ जना स्वतन्त्र उम्मेदवारले एक मत पनि पाएनन् ।

०१५ को चुनावमा उठेका कतिपय स्वतन्त्र र दलकै उम्मेदवारलाई राजा महेन्द्रले दलका उम्मेदवार हराउन उठाएको आरोप पनि लाग्दै आएको छ । मोरङ दक्षिण विराटनगरबाट साढे नौ हजार मत ल्याएर चुनाव जितेका कांग्रेस संस्थापक नेता बीपी कोइरालाका निकटतम प्रतिस्पर्धी भएका दिलबहादुर श्रेष्ठलाई दरबारले चुनाव उठाएको आरोप लगाउँछन् राष्ट्रिवादी गोर्खा परिषद्का नेता (पछि कांग्रेस) भरतशमशेर ।

इतिहासकार डा. राजेश गौतमले लेखेको शमशेरको अन्तर्वार्ता किताब ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र विद्रोही भरतशमशेर’ मा उनी भन्छन्, ‘बीपीविरुद्ध राजदरबारद्वारा प्रस्तुत स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठले पनि घुँडा टेके ।’ ०१७ मा महेन्द्रले ‘कु’ गरे शासन सत्ता आफ्नो हातमा लिएपछि महेन्द्रले २०२० मा श्रेष्ठलाई पञ्चायत सहायक मन्त्री नियुक्त गरेका थिए ।

त्यसो त भरतशमशेरले आफ्नो विरुद्ध पनि राजाले उम्मेदवार खडा गरेको आरोप लगाएका छन् । ‘मेराविरुद्ध खडा गराइएको रानी –रत्नराज्यलक्ष्मी) को मामा योगविक्रम शाहको जमानत जफत भयो,’ भरतशमशेरले भनेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १०७ धादिङ उत्तरबाट भरतशमशेरले ८ हजार ८८० मत ल्याएर चुनाव जितेका थिए भने । स्वतन्त्र उम्मेदवार बनेका रानीका मामा योगविक्रम शाहले ७७६ मत पाएका थिए । पोखरा पश्चिम क्षेत्र नम्बर ९९ बाट स्वतन्त्र उम्मेदवार बनेका राजा महेन्द्रका ससुरा हरिशमशेर जबराले पनि चुनाव हारेका थिए । उनलाई नेपाली कांग्रेसका मीनबहादुर गुरुङले हराएका थिए ।

भरतशमशेरले भने जस्तै सबैतिर दरबारले स्वतन्त्र बनाएर आफ्ना उम्मेदवार नपठाएको बताउँछन् इतिहासकार डा. राजेश गौतम । उनी भन्छन्, ‘केही स्वतन्त्र उम्मेदवारलाई दरबारको सहयोग थियो । तर, अधिकांश उम्मेदवार भने सांसद बन्न पाइने लोभमा चुनावमा उठेका थिए ।’

चुनावी इतिहासका जानकार डिल्लीराम मिश्रका अनुसार कतिपय स्वतन्त्र उम्मेदवारहरू दलबाट टिकट नपाएपछि आफूलाई स्वतन्त्र करार गर्दै ‘बागी’ उठेका थिए । ‘०१५ को चुनावमा दलहरूसंगको आक्रोशले नै स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएको हो । 

तर, कतिपय उम्मेदवार भने दलबाट टिकट नपाएपछि बागी बनेर उम्मेदवारी दिएका थिए’ उनी भन्छन् । ०१५ को चुनावमा स्वतन्त्र उम्मेदवारले घडी, चरा, माछा, घैला, पानस, हात्ती, तराजु, घण्टा, सारंगी, मसी कलम, धारा, घोडा, डुंगा र फूल चुनाव चिहृन पाएका थिए । अहिले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ले पाएको ‘घण्टा’ चुनाव चिहृन पाएका थिए काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका लालसिंह महर्जनले । ‘किसानको जय गराउन घण्टालाई भोट दिनुहोस्’ भन्दै उनले आफ्नो प्रचार–प्रसार गरेका थिए ।

अहिले स्वतन्त्र उम्मेदवारले दलतन्त्रको विरोध गर्दै मतदाता आकषिर्त गर्न अनेक घोषणा गरे जस्तै महर्जनले आफूले वाचा गरेको काम गर्न नसकेमा सांसद पदबाट हटाउने अधिकार जनतालाई दिने घोषणा गरेका थिए । उनले आफ्नो घोषणापत्रको अन्तमा लेखेका थिए, ‘श्री लालसिं महर्जनले यस घाोषणपत्र बमोजिम काम नगरेमा, गर्न नसकेमा वहाँलाई संसदबाट फिर्ता बोलाउने शक्ति यस लालसिंह चुनाव सहायक कमिटीलाई लेखिदिएको छ ।’ 

२०७९ साल असोज ३१ गतेको सम्पादकीय

तिहारको शुभकामना

तिहार हाम्रा चाडहरू मध्येको एक महत्वपूर्ण चाड हो । यो चाड प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक सुकला दित्तीयसम्मका दिनसम्म मनाइन्छ । यी पाँच दिनमा काग–तिहार, कुकुर–तिहार, गाइ–तिहार, गोरु–तिहार, र भाइ–तिहार गरी जम्मा पाँच तिहार चिनिन्छ । नेपाल चाडलाई ‘यमपञ्चकक’ र ‘दीपावली’का रूपमा पनि चिनिन्छ । नेपाल अधिराज्य भरका हिन्दूहरूले यो चाड धूमधामसँग मनाउँछन् । नेपालबाहिर बस्ने हिन्दू नेपालीहरू पनि यस चाडलाई उतिकै महत्त्व दिई मनाउँछन् । तिहार नेपालीहरूको ज्यादै रमाइलो र महत्वपूर्ण चाड हो । यसलाई नेपालीहरू दसैँभन्दा पनि बढी रमाइलोसँगै मनाउँछन् । यस बेला नेपाली प्रकृति पनि ज्यादै रमणीय देखिन्छ । नीलो र स्वच्छ आकाश, खेतमा झुल्ने धन, घर–आँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूल आदि सबैले तिहारको सौन्दर्यलाई बढाएको देखिन्छ । यस चाडले मानिसले प्रकृति र जीवजन्तुमा एकता, सद्भावना र समानताको भावना राख्नुपर्छ भन्ने सन्देश पनि दिन्छ । 

भ्रातृत्वको भावनालाई फैलाउन यस चाडको महत्वपूर्ण पक्ष हुँदै हो । यस चाडमा गरिने पूजा र हरेक क्रियाकलापले हामीलाई सद्मार्गमा लाग्ने  प्रेरणा दिन्छन् । नेपाली समाजमा  ज्यादै प्रिय बनेको र संस्कृतिक एकता कायम गर्ने सफल बनेको तिहार चाडको  महत्वलाई हामीले अझै बढाउनुपर्छ । यस्ता चाडहरूलाई हामीले आपसी मेलमिलाप बढाउन गरी मनाउनुपर्छ  र यस्ता चाडहरू मनाई हामीले आफ्नो जीवनलाई पनि अझ सुन्दर पार्दै जानुपर्छ ।

तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आआफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ । हिजोआज कतिपयले भने रेडिमेड दियो र बत्ती बाल्ने क्रम पनि बढेको छ । तिहारको रमाइलोमा भुलेर आफ्नो सुरक्षाका बारेमा भने सोच्न बिर्सनु हुन्न नि । तिहारमा बत्ती बाल्दा वा पटाका पड्काउँदा धेरै नै होशियार हुनुपर्छ । त्यसैगरी टाढाटाढासम्म पुगेर राति अबेरसम्म देउसीभैलो खेल्न पनि हुँदैन । हिजोआज असुरक्षाका विभिन्न घटना सुनिने गरेकाले पनि आफ्नो सुरक्षा आफंै गर्न सिक्नुपर्छ र सुरक्षित रुपमा तिहार मनाउनुपर्छ । समस्त हिन्दु धर्मालम्बीहरूको महान् चाड एवं उज्यालोको पर्व तिहार–२०७९ को यस पावन अवसरमा हाम्रा सम्पूर्ण पाठक, सहयोगी, पत्रकार, जनप्रतिनिधिहरू, राष्ट्रसेवक कर्मचारी, सामाजिक अभियन्ता, उद्योगी ब्यवसायीहरूमा शान्ती, आर्थिक समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

२०७९ साल असोज ३१ गते । वर्ष : १६, अंक : ०२