खरानीटार । प्रतिनिधिसभा चुनावको लागि नुवाकोटको क्षेत्र नं. १ मा १७ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । ती मध्ये सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट बद्री मैनाली, र सत्ता गठबन्धनबाट माओवादीका हितबहादुर तामाङको उम्मेदवारी छ । स्वतन्त्रबाट निर्मल लामिछाने, जितेन्द्रसिंह ठकुरी, राजकुमार बस्नेतको उम्मेदवारी छ । राप्रपाबाट सुर्दशन सिटौला, नेमकिपाबाट रिविन्द्र डंगोल, मालेबाट केशव उप्रेती, स्वतन्त्र पार्टीबाट प्रधुम्न महत, मंगोल अर्गनाइजेशनबाट सुरेन्द्र तामाङ, काँग्रेस बीपीबाट श्याम गुरुङ, लोसपाबाट लक्ष्मी रसाइली, राप्रपा नेपालबाट पुष्पा न्यौपाने, हाम्रो नेपाली पार्टीबाट सफलता बोगटी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भुवन तामाङ, जनसमाजवादी पार्टीबाट निमेश तामाङ, जसपाबाट देवराज घिमिरेको उम्मेदवारी परेको छ । यस निर्वाचनमा क्षेत्रमा १ एक लाख पाँच हजार २८७ मतदाता छन् ।
सत्ता गठबन्धनबाट यो क्षेत्रमा काँग्रेस प्रवक्ता डा प्रकाशशरण महत उम्मेदवार बन्न चाहन्थे । ०७४ सालको चुनाव काठमाडौं ५ बाट लडे पनि एमालेका इश्वर पोखरेलसँग हारेका थिए । हालसम्म जनताबाट अनुमोदन हुन नपाएका महत नुवाकोट १ बाट यसपटक अनुमोदन हुन चाहन्थे । तर, गठबन्धनको चुनावी तालमेलको पहिले जसले जहाँ जितेको हो त्यहा सोही दलले पाउने सहमतिको आधारमा महतले सो क्षेत्र पाएनन् । महत समानुपातिकमा बसेका छन् । त्यसैले नुवाकोटमा गठबन्धनमा असन्तुष्टि गौण रूपमा रहेको बुझाई एमालेमा छ । उसले काँग्रेसले आफ्नो पार्टीबाट उम्मेदवार नपाउनु र ‘एन्टी माओवादी मुभमेन्ट’ क्यास गर्ने एमालेको दाउ छ ।
२०७४ सालको निर्वाचनमा एमालेको मतसहित वामगठबन्धनको मत पाएर जितेका तामाङलाई यो पटक पाँचदलीय गठबन्धनबाट काँग्रेसको साथ छ । ०६४ सालको संविधानसभाको चुनाव, ७० को दोस्रो संविधानसभाको चुनाव र ०७४ को संघीय चुनावको अनुभव गरिसकेका तामाङ चौथोपटक चुनावी मैदानमा छन् । ०६४ र ०७० मा महतसँग हारेका तामाङले ०७४ मा महतलाई हराएका थिए । स्थानीय तहको नतिजाले पनि उत्साहित तामाङले मंसिर ४ मा आफ्नो जित निश्चित भएको बताउँदै आएका छन् । ‘मतपेटिकाले भन्ने हो अहिले भन्दा हतार होला’, उनले भने, ‘वस्तुस्थिति हेर्दा माओवादीले एक्लै पनि चुनाव जित्न सक्छ । अहिले वाम–लोकतान्त्रिक गठबन्धन भएको छ ।’ आफूले पाँच वर्ष सांसद हुँदा गरेका विकास निर्माणदेखि सुख दुःखमा जनताको साथ दिएकाले मत आउने र जनतामा आफू निर्विकल्प भएको तामाङले बताए ।
पहिलो पटक प्रतिनिधिसभाको मैदानमा रहेका मैनाली एमालेका जिल्ला अध्यक्ष हुन् । व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका मैनाली राजनीतिक रूपमा पाएको अवसरबाट प्रमाणित गरिसकेको दाबी गर्छन् । स्थानीय चुनावको नतिजाअनुसार एमालेमाथि गठबन्धन भारी परेको देखिन्छ । ‘मलाई हलुका लागेको छ, भारी लागेको छैन,’ मैनालीले भने, ‘गठबन्धन नेताबीच मात्र भएको छ । जनताको बीचमा गठबन्धन भएको छैन ।’
गठबन्धनको सरकारको पालामा भएको कमजोरीलाई चुनावमा लिएर जाने मैनालीको तयारी छ । ‘महँगी भ्रष्टाचार र अन्तर्राष्ट्रिय सम्बन्धले गठबन्धनको जनाधार कमजोर भएको छ हामीलाई असर छैन,’ मैनालीले भने । स्थानीय चुनावको नतिजा संघ र प्रदेशका चुनावसम्म आउँदा परिवर्तन हुने उनको दाबी छ । ‘मत भनेको स्थिर हुँदैन । जनताले हाल्ने मत हो । मान्छेका मनस्थिति केही समयमा बदलिन्छ । स्थानीय तहको नतिजा आँकडा मात्र हो, त्यसले असर गर्दैन,’ उनले भने । प्रदेशसभामा आफूले खेलेको भूमिका र एमालेको एजेन्डालाई जनताले रुचाएकाले आफूलाई सहज भएको मैनालीको दाबी छ ।
नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा काँग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष÷उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा काँग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, काँग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा रहेका दल एकीकृत समाजवादीले जम्मा २ हजार २४५ मत प्राप्त गरेको थियो ।
यसरी सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी र एकीकृत समाजवादीले स्थानीय चुनावमा प्राप्त गरेको मत जोड्दा ५४ हजार ३७१ हुन आउँछ । एमालेसँग आवश्यकताका आधारमा तालमेल गरेको राप्रपाले नुवाकोटमा भने तालमेल नगर्ने भएको छ । जिल्लामा राप्रपा एकल रूपमा चुनावी मैदानमा जाने राप्रपाका सहमहामन्त्री तथा नुवाकोट क्षेत्र नं. २ का राप्रपाका उम्मेदवार झनक प्याकुरेलले जानकारी दिए । स्थानीय तहमा एमालेको मत १८ हजार २६७ हो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा वामगठबन्धनबाट माओवादी केन्द्रका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याए । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा छन् । एमालेका उम्मेदवार मैनालीले ०७४ मा प्रदेश ख बाट चुनाव जितेका थिए । मैनालीले २० हजार पाँच सय ९ मत ल्याएर प्रदेशसभामा विजयी हुँदा काँग्रेसका रमेशकुमार महतले १२ हजार दुई सय १७ मत ल्याएका थिए । महत अहिले पनि सो क्षेत्रमा चुनावी मैदानमा छन् । (शिलापत्रको सहयोगमा)
कसरी उदाए हितबहादुर ?
खरानीटार । हितबहादुर तामाङ नुवाकोटमा मात्र नभएर राष्ट्रिय राजनीतिमै परिचित नाम हो । जनताको मुक्तिका लागि वर्गसंघर्षको भट्टीमा खारिएका उहाँ सदैव जनताको सुखदुःखमा साथैमा छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् । दुई छोरी र एक छोराका पिता हितबहादुर हाल काठमाडौंको चण्डोलमा डेरामा सपरिवार बस्दै आएका छन् । दाजुभाइ सामान्य किसानी कर्ममा रहेका छन्, हितबहादुर भने वर्गीय उत्पीडन परिवर्तनका लागि वर्गसंघर्षमा होमिए ।
हितबहादुरले नुवाकोटकै अमर ज्योति उच्च माध्यमिक विद्यालय खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गर्न‘भयो । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण पेशा गरे ।
राजनीतिक पृष्ठभूमि
हितबहादुर १६ वर्षकै उमेरमै २०३६ सालमा माक्र्सवाद, लेनिनवाद तथा माओवादको दर्शनबाट प्रभावित भइ कम्युनिष्ट राजनीतिमा लाग्नेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव बने । भातृ संगठनमा सक्रिय रहँदै गर्दा उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने ।
२०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनी २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने । २०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि तामाङ जनयुद्धमा सहभागी हुँदै भूमिगत रहे । भूमिगतकालमा २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । २०५८ मा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० माघ १ मा ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने ।
तामाङ खुला राजनीतिमा होस् वा युद्धकालीन कठिन दिनमा तामाङ नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल रहे । उनको नेतृत्वदायी क्षमताको मूल्यांकन गर्दै २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई पटनास्थित जेलमा राख्यो । तर, पनि तामाङ झुकेनन् । आफ्नो समुदायमा पछाडि परेकाहरूलाई प्रेरणा बन्ने गरेका तामाङ चेतना, शिक्षा, समानता, विकासका कुरा आमनागरिकलाई बुझाएर सिकाएर समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् । उनी जातीय वा अन्य कारण पछाडि पारिएका वर्गलाई उत्थान गर्नका लागि लाग्नुपर्छ भन्ने कुरामा सचेत छन् ।
पछि माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत तामाङ बने । उनी नुवाकोटमा वामपन्थी आन्दोलनका अगुवा हुनुका साथै वर्गीय र जातीय आन्दोलनका अथक योद्धा थिए । आफ्नै क्षमता र संघर्षमा समाज र राजनीतिलाई सँगसँगै डोरो¥याएका तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने ।
जनयुद्धकै मूल एजेन्डा संविधान सभाबाट संविधान निर्माणको लागि २०६४ सालमा देशमा पहिलो संविधानसभा निर्वाचन भएको थियो । उनी आफ्नै जिल्लाको क्षेत्र नम्बर २ को उम्मेदवार बने । पार्टी युद्धबाट भर्खर उदाउँदै गरेको । देशभर माओवादी उम्मेदवारको जितको लहर आयो । काँग्रेसको बलियो पकड भएको उनको क्षेत्रमा उनले जित हासिल गर्न सकेनन् तर नेपाली काँग्रेसका उम्मेदवार रामशरण महतसँग कडा प्रतिष्पर्धा भयो । तामाङ झिनो मत (१०४ मत) ले पराजित भए ।
हितबहादुर हारमा आत्तिने जितमा जोसिने मान्छे थिएनन् । उनी हरेक समयलाई आफ्नै गतिमा जान दिनुपर्छ, धैर्यता नै मानिसको जितको असल हतियार हुनसक्छ भन्ने मान्यता राख्छन् । पहिलो संविधानसभाले संविधान जारी गर्न नसक्ने लगभग निश्चित जस्तै भएपछि पार्टीले जनपरिषद् गठन ग¥यो । पार्टीले सबै प्रदेशस्तरमा प्रदेश ताम्सालिङ स्वायत्त जनपरिषद् गठन ग¥यो हितबहादुर त्यसको प्रमुख बने । पहिलो संविधानसभाबाट जनताको संविधान नबनेपछि २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए । तर पनि उनले सफलता हात पार्न सकेनन् ।
दोस्रो संविधानसभाबाट २०७२ सालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो । नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, काँग्रेसलगायत दल अर्कोतिर थिए । तामाङ वाम–गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं. १ बाट काँग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
यसरी ४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने । उनी अहिले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ मा तामाङ वाम–लोकतान्त्रिक गठबन्धनबाट नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा साझा उम्मेदवार छन् । पार्टीबाट निर्विरोध उम्मेदवार सिफारिस भइ काँग्रेस–माओवादी–एकीकृत समाजवादीको साझा उम्मेदवार बनेका तामाङ पार्टीभित्र इमान्दार, कुशल संगठक र सालिन नेताका रूपमा परिचित छन् । आफ्नो क्षेत्रमा आम नागरिकसँग सहज पहुँच राख्ने र सरल शैलीका तामाङ स्पष्ट वक्ताको रुपमा तामाङ चिनिन्छन् ।