![]() |
नुवाकोट क्षेत्र नं. २ को मतदातासंग आशिर्वाद लिदै एमालेका नारायणप्रसाद खतिवडा । तस्बिर : इमेज |
विदुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नुवाकोटमा आफ्नो जीत सुनिश्चित हुनेमा गठबन्धनका उम्मेदवाहरू बढी ढुक्क छन् ।
दुईवटा निर्वाचन क्षेत्र भएको नुवाकोटमा क्षेत्र नम्बर एकमा गठबन्धनबाट साझा उम्मेदवार माओवादीबाट निवर्तमान सांसद हितबहादुर तामाङ रहेका छन् । उक्त क्षेत्रको प्रदेश सभा १ मा माओवादीका राधिका तामाङ र प्रदेश सभा २ मा काँग्रेसका रमेशकुमार महत उम्मेदवार छन् । यस क्षेत्रमा एमालेबाट प्रतिनिधि सभामा बद्री मैनाली उम्मेदवार छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट साझा उम्मेदार अर्जुननरसिंह केसी छन् । यस क्षेत्रको प्रदेश सभा १ मा माओवादीका रामप्रसाद ढुङ्गाना र प्रदेश सभा २ मा काँग्रेसका बहादुरसिंह लामा तामाङ उम्मेदवार छन् । यस क्षेत्रमा एमालेबाट प्रतिनिधिसभामा निवर्तमान सांसद नारायण खतिवडा उम्मेदवार छन् ।
दुई वटा नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय तह रहेको नुवाकोटमा एक नगरपालिकासहित ७ पालिकामा काँग्रेस बिजयी भएको छ । एक नगरपालिकासहित ४ पालिकामा माओवादी केन्द्र विजयी भएको छ । एमालेले एक पालिकामा मात्रै जितेको छ । नुवाकोट क्षेत्र नं. १ मा सात पालिका रहेका छन् । क्षेत्र नं. २ मा पाँच पालिका रहेका छन् । दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका, शिवपुरी गाउँपालिका, पन्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, ककनी गाउँपालिका र सूर्यगढी गाउँपालिका क्षेत्र नं. १ मा छ । विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ र किस्पाङ गाउँपालिका क्षेत्र नं.२ मा पर्दछन् ।
प्रतिनिधि सभामा माओवादीका हित बहादुर तामाङ र नेपाली काँग्रेसका अर्जुननरसिंह केसीसहित प्रदेश सभामा माओवादी केन्द्र र काँग्रेसको २\२ जना उम्मेदवार छन् । उनीहरू नेपाली काँग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी लगायत पाँचदलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।
नुवाकोटको चुनावी प्रतिस्पर्धामा एमाले अहिले रक्षात्मक अवस्थामा रहेको छ । गएको स्थानीय तहको निर्वाचन मत परिणामले पनि गठबन्धन अगाडी देखिएको छ । स्थानीय चुनावमा सात पालिका रहेको १ नं. क्षेत्रमा शिवपुरी गाउँपालिका र सुर्यगढी गाउँपालिका बाहेक ५ वटा पालिकामा काँग्रेस, माओवादी र एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गरेका थिए । जसअनुसार दुप्चेश्वर गाउँपालिका, पन्चकन्या र ककनी गाउँपालिकामा माओवादीले अध्यक्ष र उपाध्यक्ष जितेको छ । शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।
काँग्रेसले लिखु गाउँपालिका र सुर्यगढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा अध्यक्ष जितेको छ । सात पालिका रहेको यस क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पालिका जितेको छैन ।
पाँच पालिका रहेको २ नं. क्षेत्रमा तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामध्ये काँग्रेस र माओवादीले तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा गठबन्धन गरी चुनावी प्रतिस्पर्धा गरेका थिए भने किस्पाङ गाउँपालिकामा एमाले र माओवादीको गठबन्धन रहेको थियो । जस अनुसार तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, किस्पाङ गाउँपालिकामा माओवादीले उपाध्यक्ष\उपप्रमुख जितेको छ । बेलकोटगढी नगरपालिकामा प्रमुख जितेको छ ।
काँग्रेसले तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, म्यागङ गाउँपालिकामा अध्यक्ष\प्रमुख जितेको छ भने बेलकोटगढी नगरपालिकामा उप–प्रमुख र म्यागङ गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेले किस्पाङ गाउँपालिकामा अध्यक्ष जितेको छ । १२ पालिकामा अध्यक्ष\प्रमुख र उपाध्यक्ष\उपप्रमुख गरी माओवादीले १२, काँग्रेसले ११ र एमालेले १ सिट जितेको छ ।
नुवाकोट क्षेत्र नम्बर १ मा १ लाख २० हजार ७५२ जना मतदाता छन् । क्षेत्र नम्बर २ मा १ लाख १८ हजार ९७४ जना मतदाता छन् । यी दुवै क्षेत्रमा काँग्रेसको मत करिब २७–२८ हजार छ । माओवादीको पनि २४\२५ हजार रहेको छ । एमालेको मत १७–१८ हजार रहेको छ । यस क्षेत्रमा एकीकृत समाजवादीको ४–५ हजार, राप्रपाको ५–६ हजार र अन्य पार्टीको करिब ४–५ हजार मत अनुमान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यिनै दलहरूको मतबाट आफ्नो भाग लिने छ । पहिलो पटक चुनवामा होमिएको स्वतन्त्र पार्टीको यस अघि प्राप्त मतभारका आधारमा अहिले मत आंकल गरिएको छैन ।
जिल्लाका ५०–५५ हजार मतदाता देश बाहिर रहेको अनुमान छ । २०–२५ हजार मतदाता मतदानमा नै सहभागी नहुने अनुमान छ । यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा क्षेत्र नंं १ मा करिब ३५–३८ हजार मतले अगाडी देखिन्छ । क्षेत्र नं. २ मा करिब ३२–३५ हजार मतले गठबन्धन अगाडी देखिन्छ ।
मत विश्लेषणका आधारमा नुवाकोटमा एमालेका प्रतिनिधि सभाका उम्मेदवार बद्री मैनाली र नारायणप्रसाद खतिवडालाई निर्वाचित चुनौतीपूर्ण छ । प्रदेश सभामा पनि एमालेलाई निर्वाचित हुन असहज देखिन्छ । प्रतिनिधि सभाका उम्मेदवार माओवादीका नेता हितबहादुर तामाङ र काँग्रेसका नेता अर्जुननरसिंह केसीलाई निर्वाचित हुन सहज रहेको छ भने प्रदेश सभामा पनि गठबन्धनको जीतको सम्भावना बढी छ ।
२०७४ मा काँग्रेस निल भएको नुवाकोटमा अहिले नेकपा एमालेले यो अवस्था भोग्ने अनुमान गरिएको छ । अघिल्लो निर्वाचनमा एमाले र माओवादीको गठबन्धन पुरैले नुवाकोट छ सिटमा जित निकालेको थियो । अहिले नेपाली काँग्रेसका नेता अर्ज‘ननरसिंह केसीले आफ्नो लागि यो निर्वाचन अन्तिम भएको बताइसकेका छन् भने माओवादी केन्द्रका नेता हितबहादुर तामाङको पनि यो निर्वाचन अन्तिम हुने माओवादी नेताहरूले बताएका छन् ।