Monday, December 05, 2022

मेयर राजन श्रेष्ठ विरुद्ध अख्तियारमा मुद्दा, समितिले सुरु गर्यो छानविन

एक महिना अघि विदुरका मेयरले खुल्ला गरेको वर्ड स्टोन क्रसर उद्योगको विषयमा दुई वर्ष अघि जिल्ला प्रशासन कार्यालयले क्रसर उद्यागे नै बन्द गर्ने गरी गरेको निर्णयको प्रतिलिपि । तस्बिर : इमेज

विदुर । अबैध रुपमा खोलामा मेसिन लगाउन र प्राकृतिक श्रोत साधनका दोहन गर्न लिखित अनुमती दिएका विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरी परे लगत्तै जिल्लास्तरिय छानविन समिति गठन भएर उनको कामको छानविन सुरु भएको छ । 

विदुर नगरपालिका वडा नं. २ र ५ मा पर्ने बवर्डस्टोन क्रसर उद्योग प्रालिलाई ३१ दिन खोलामा मेसिन लगाएर नदीजन्य सामाग्री संकलनको अनुमती दिएका श्रेष्ठको विरुद्धमा आयोगमा उजुरी परेको थियो । आयोगले उक्त कार्यको छानविन गरी तत्कालै प्रतिवेदन तयार गरी पठाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई पत्राचार गरेको छ । मंसीर ११ गते अख्तियारको पत्र जिल्ला प्रशासनमा कार्यक्रमा आएको हो । जिल्ला प्रशासन कार्यालयले एक छानविन समिति गठन गरी तादी खोलामा भईरहेको कार्यको बस्तुगत स्थिति अध्ययन गरी प्रतिवेदन तयार गर्न एक समिति गठन गरेको छ । समितिले आफ्नो काम सुरु गरिसकेको छ । जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको समितिमा सरकारी कार्यालयका अधिकारीहरू सदस्य छन् । 

विदुर नगरपालिकाले ‘जर्वजस्ती’ नदीमा मेसिन प्रयोग गरी काम गर्न दिएको विषयमा जिल्ला स्थित विभिन्न सरोकारवाला संयन्त्रमा छलफल भएको थियो । तर मेयर श्रेष्ठले आफ्नो क्षेत्राधिकार भित्रको काममा हस्तक्षेप गरे नराम्रो हुने भन्दै प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायतलाई हप्काएका थिए । 

‘चुनावपछि यस विषयमा थप छलफल गर्ने र अहिले काम बन्द गराउने’ भन्दै कात्तिक २४ गते साँझ गरिएको मौखिक सहमतीको भोलिपल्टै नगरपालिकाले वर्ड स्टोन क्रसरलाई खोलाको कहाँ कहाँ खन्न मिल्ने भन्दै चिनो लगाएर दिएपछि सरकारी अधिकारी समेत कानूनी आधारमा नगरपालिकाको ‘अराजकता रोक्ने’ मनस्थितिमा थिए । नुवाकोट प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले समेत अख्तियारले नगरपालिकाको उक्त निर्णय प्रति चासो राखेर पत्र पठाएको पुष्टि गरेका छन् । केही दिन अघि अख्तियारले पत्र पठाएको र आवश्यक कारबाही सुरु भएको प्रजिअ रिसालले बताए । छानविनका लागि गठन भएको समितिले विदुर नगरपालिकाले कुन आधारमा नदी खन्न दिएको र मापदण्ड भित्र रहे÷नरहेको सबै लेखाजोखा गरेर प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन पेश गर्ने छ । त्यही प्रतिवेदनका आधारमा अख्तियारको केन्द्रीय कार्यालयमा जिल्ला प्रशासन कार्यालयले विवरण सहितको प्रतिवेदन बुझाउने छ । 

अनुसन्धानकै क्रममा वर्ड स्टोन त्रलसरि उद्योगको आधिकारी कागजपत्र समेत जिल्ला प्रशासन कार्यालयमा झिकाइएको छ । विदुर नगरपालिकासंग भएको सम्झौता, विदुर नगरपालिकालाई राजश्व बुझाएको प्रमाण, कम्पनी दर्ता तथा नविकरण लगायतका सबै कागजात जिल्ला प्रशासन कार्यालयले तीन दिन भित्र पेश गर्नु भन्दै क्रसर उद्योगलाई पत्राचार गरेको थियो ।   

नौं करोड लुकाउने तयारी

विदुर । विदुर नगरपालिकाले एक अबैध क्रसर उद्योगसंग जरिवाना स्वरुप उठाउनु पर्ने नौं करोड ६० लाख रुपैयाँ लुकाउने तयारी सुरु भएको छ । विदुर नगरपालिका वडा नं. ३ मैरीटारमा अबैध रुपमा सञ्चालन भएको क्रसर उद्योगसंग विदुर नगरपालिकाले जरिवाना गर्नुपर्ने रकम कसरी मिलाउने भनेर मेयर राजन श्रेष्ठनै लागिपरेका छन् । 

नगरपालिकाले एक वर्ष अघि दिएको अनुमतीको आधारमा बालुवा उत्खनन् गरिरहेको उक्त कम्पनीले अनुमती भन्दा बुढी जमिनमा बालुवा निकालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीको आधारमा विदुर नगरपालिकाले नापजाँच गर्दा करोड रुपैयाँ बरावरको बालुवा बढी निकासी गरेको प्रतिवेदन तयार भयो । ४० रोपनी जमिन खोतलिएको र विदुर नगरपालिकालाई करोडौ रुपैयाँ राजश्व छली गरेको प्रतिवेदन सहित मेयर श्रेष्ठ केही दिन ‘एक्सन’मा उत्रिएका थिए । 

राती राती समेत नगरपालिकाले तयार पारेको प्रतिवेदन भन्दै कागजको मुठो बोकेर बालुवा खानीमै पुग्ने गरेका मेयर श्रेष्ठ अहिले यस विषयमा मौन छन् । मैरीटारमा अनुमती भन्दा बढी ६० हजार ट्रिपर बालुवा निकालिएको अनुमान छ । यस विषयमा डेढ महिना अघि मात्रै विदुर नगरपालिकालका मेयर श्रेष्ठले बढी उत्खनन् भएको र नगरपालिकाको एक रुपैयाँ राजश्व मर्न नदिने प्रतिक्रिया दिएका थिए । 

    यस प्रतिनिधिले विदुर नगरपालिकाले ९ लाख ६० लाख रुपैयाँको जरिवा ‘क्लेम गरेको’ हल्ला बाहिर आएको विषयमा तपाईको आधिकारिक धारणा के हो भन्दा मेयर श्रेष्ठले झण्डै ११ करोड रुपैयाँ जरिवाना उक्त अबैध कामबाट उठाउने बताएका थिए  । ‘म नगरपालिको राजश्व मर्न दिन्न, त्यस वापत के भोग्नु पर्छ म तयार छु, मैरीटारबाट ११ करोड भन्दा बढी राजश्व नगरपालिकाले उठाउछ’ श्रेष्ठले त्यस बेला भनेका थिए । 

तर अहिले त्यो जरिवाना नगरपालिकाले नलिने गरी आन्तरिक गृह कार्य थालिएको छ । ग्राण्डी हस्पिटलका अध्यक्ष दिपक कुँवर सञ्चालक रहेको उक्त कम्पनीलाई अहिले निष्क्रिय पार्ने र कम्पनी सम्पर्कमा नआएको बहाना तयार गरे राजश्व गुमाउने तयारी नगरपालिकाले गरेको हो । त्यस वापतमा उनै कुँवर ‘हिडन पार्टनर’ रहेको अर्को कम्पनीलाई मैरीटारको बालुवा र खन्न बाँकी क्षेत्र नयाँ सहमती गरेर नगरपालिकाले जिम्मा लगाउने तयारी गरेको छ । यस विषयमा कुँवर र मेयर श्रेष्ठ बीच काठमाडौंमा ‘मिटिङ’ भएको बताइएको छ । 

विदुर नगरपालिका वडा नं. ३ का अध्यक्ष बद्रीप्रसाद रिमालसमेत ‘हिडन पार्टनर’ रहेको कुँवरको पुरानो कम्पनीलाई जरिवानाबाट जोगाउने र अर्को कम्पनीलाई काम दिए वापत मेयरले राम्रै रकम समाउने भएका छन् । 

वडा अध्यक्ष रिमालले सुरुमा साढे दुई करोड रुपैयाँ मात्रै जरिवाना गर्ने गरी कानूनी काम अघि सार्न मेयरलाई आग्रह गरेका थिए । मेयरले प्राकृतिक श्रोतको दुरुपयोग सहनै नसक्ने र ‘छाती पोलेर आउने’ भन्दै अडान लिएपछि अन्तिम समयमा वडाअध्यक्ष आफै उक्त कम्पनीलाई एक चिम्टी बालुवा छोड्न हुने भन्दै अडान लिन थालेका थिए । जुन समयमा मेयर श्रेष्ठ भने उक्त कम्पनीप्रति नरम बनिसकेका थिए ।  मेयर ‘दिपक दाईको काम हो’ भन्दै टाउँको कन्याउन थालेको फाइदा लिदै वडा अध्यक्ष रिमालले आफ्नै वडामा अहिले दुई वटा अबैध बालुवा प्रशोधन केन्द्र सञ्चालन गर्न थालेका छन् ।

मेयरलाई खुत्रुक्कै पारे अर्जुननरसिंहले

दाँयाँबाट क्रमशः मेयर श्रेष्ठ, सांसद केसी र ढुङ्गाना नगरपालिकाको कार्यक्रममा 

विदुर । मंसीर १४ गते विदुर नगरपालिकाले नव निर्वाचित जनप्रतिनिधिहरूको स्वागतमा कार्यालयमा एक औपचारिक कार्यक्रम राख्यो । नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, क्षेत्र नं. २ को प्रदेश १ का प्रदेश सांसद माओवादी केन्द्रका वागमती उपाध्यक्ष रामप्रसाद ढुङ्गाना र माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार बिमला सुवेदी थिए । विदुर नगरपालिकाको स्वागत ग्रहणपछि मन्तब्य राख्ने क्रममा केसीले इंकित नै गरेर बोलेनन् । तर  प्राकृतिक श्रोत साधनको चरम दुरुपयोग नियन्त्रणमा लागिपर्ने अभिव्यक्ति दिएपछि मेयर राजन श्रेष्ठ खुत्रुक्कै भए । 

दुई वर्ष अघिनै अबैध प्रमाणित भएर बन्द भएको क्रसर उद्योगलाई सञ्चालन र तादी खोलामा मेसिन हालेर प्राकृतिक श्रोतको दोहन गर्न लिखित अनुमती दिएर विवादमा परिरहेका मेयर श्रेष्ठलाई आफ्नै कार्यक्रम अमिलो बन्यो । काँग्रेस भित्र पनि बहादुरसिंह लामा तामाङको फेरो समातेर राजनीति गर्न लागेका मेयर श्रेष्ठले केसीसंग पनि ‘रिलेसन मेन्टेण्ड’ गर्ने रणनीतिका रुपमा उक्त कार्यक्रमलाई प्रस्तुत गरेका थिए । 

तर ‘इलाका तेरा, धमाका मेरा’ भने झै उनकै कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद केसीले खुत्रुक्कै पारे । विदुर वडा नं. २ र ५ को वर्ड स्टोन क्रसरलाई खोला उधिन्ने अनुमती दिएका र  नगरपालिकाको कार्यालयलाई राजश्वको रुपमा मैरीटारको अबैध कामबाट जम्मा हुने करोडौ रुपैयाँ समेत लुकाउने प्रपन्चमा रहेका मेयरलाई आफ्नै प्रमुख अतिथि केसीको खरो अभिव्यक्तिले निलोकालो बनायो । ‘त्रिशुली र तादी नदीमा जुन किसिमको दोहन भइरहेको छ त्यो तत्कालै रोक्छु’ केसीले भने । मेयरको नाम नलिएपनि उनले प्राकृतिक श्रोत साधनको दुरुपयोग र दोहन गरेर कमाउछु भन्ने सपना देख्नेलाई तह लगाउने चेतावनी केसीले दिए ।

अर्जुननरसिंह केसीले अलपत्र अवस्थामा रहेको पासाङल्हामु राजमार्गको पिपलटार–रानीपौवा–बालाजु सडक आफूले निर्माण गरेरै छाड्ने दाबी समेत गरेका छन् । यसअघिको नेतृत्वले नहेरेको र आफूले त्यसको दुरावस्थालाई हेरेर नबस्ने उनको भनाई छ । केसीले देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा उभिने पनि बताए । ‘देशमा व्याप्त भ्रष्टाचार विरुद्धमा लाग्दा र उभिँदा कहाँ पुग्ने, के नपाउने भन्ने छैन,’ उनले भने, ‘देश झण्डै ८ खर्ब ऋणबाट साढे १७ खर्ब ऋणमा परिणत भएको छ’ नेता केसीले भने ।  

आजको तस्बिर



पहिलो प्राथमिकता, पासाल्हामु राजमार्ग :
ककनी गाउँपालिका रानीपौवावासीहरूले नव निर्वाचित सत्ता गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूलाई धन्यवाद ज्ञापन गर्न आफ्नो टोलमा आएको बेला १० वर्ष अघि निर्माण सुरु भएर अलपत्र परेको सडकलाई प्राथमिकता दिन सांकेतिक दवाव सहितको ‘हार्दिक बधाई’को सडक लेखन । 

पत्रकार महासंघले आचार्यलाई सम्मान र तीन पत्रकारलाई पुरस्कृत गर्ने

सम्मानित र पुरस्कृत हुने पत्रकारहरू बाँयाँबाट क्रमश : दिनेश आचार्य, राजकृष्ण श्रेष्ठ, श्रीराम अधिकरी र संगीता पनेरु । 

विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार दिनेश आचार्यलाई दीर्घ सेवा सम्मान प्रदान गर्ने भएको छ । पत्रकार महासंघको ११ औं बार्षिक साधारण सभामा आचार्यलाई सम्मान गरिने भएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहने सदस्यलाई वर्षेनी नुवाकोट शाखाले सम्मान गर्दै आएको छ । आचार्य हाल शेयर बजार साप्ताहिकको सम्पादक छन् । 

पत्रकार महासंघले मंसीर २६ गते सोमवार ११ औं बार्षिक साधारण सभाको आयोजना गरेको छ । उक्त अवसरमा नुवाकोटका तीन जना पत्रकारहरूलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृत हुने पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका संवाददाता राजकृष्ण श्रेष्ठ, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी र नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरु छन् । 

श्रेष्ठलाई स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७९, अधिकारीलाई स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७९ र पनेरुलाई महिला पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिने सचिव जगदीश खनालले जानकारी दिए । पुरस्कराको राशी एधार हजार १११ रुपैयाँ रहेको छ । 

पत्रकार महासंघले यसअघि दीर्घ सेवा सम्मानबाट २०७७ सालमा त्रिशुली प्रबाह साप्ताहिकका सम्पादक शरण उत्सुक सापकोटा, २०७६ मा सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरणप्रसाद अधिकारी, २०७५ सालमा नुवाकोट जागरण साप्ताहिकका सम्पादक शिव देवकोटालाई सम्मानित गरेको थियो ।  

स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि २०७७ सालमा अर्थपथ डटकमका सम्पादक विष्णुराज जम्कट्टेल, २०७६ सालमा त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, २०७५ सालमा अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता देबचन्द्र भट्टलाई पुरस्कृत गरेको थियो ।    

स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट २०७७ मा सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलिया, २०७६ सालमा गोरखापत्र दैनिकका समाचारदाता रामहरि गजुरेल, २०७५ सालमा राजधानी दैनिकका संवाददाता भोलाराज पौडेललाई पुरस्कृत गरेको थियो ।  

महिला पत्रकारिता पुरस्कारबाट २०७७ सालमा बिबिसी नेपाली सेवाका संवाददाता शक्तिमाया तामाङ, २०७६ सालमा सगरमाथा टेलिभिजनका समाचार वाचिका बसुधा केसी, २०७५ सालमा रेडियो जालपाका समाचार प्रमुख भगवती लामालाई पुरस्कृत गरेको थियो ।

२०७६ सालमा सञ्चार उद्यमी सम्मानबाट नयाँ रुपरेखा साप्ताहिकका संस्थापक प्रकाशक÷सम्पादक माधवप्रसाद खनाललाई सम्मान गरिएको थियो । 

महामारी कोभिड–१९ को समयमा नागरिकहरूलाई सही सूचना प्रदान गरेर सुरक्षित रहनका लागि सहयोग गर्ने पत्रकार र सञ्चार गृहलाई समेत पत्रकार महासंघ नुवाकोट शाखाले २०७७ सालमा सम्मान गरेको थियो । नुवाकोट न्युज डटकम, रेडियो जालपा, रेडियो त्रिशुली, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जिवनी, गज्जवको रेडियो, उत्तरगया दैनिक, त्रिशुली खबर साप्ताहिक, नुवाोट एक्सप्रेस डटकम, विदुर खबर डटकम, नुवाकोट पुकार साप्ताहिक र त्रिशुली पोष्ट डटकम थिए । 

सोही वर्ष कोडिभ–१९ सम्मान पाउने पत्रकारमा त्रिशुली प्रबाह साप्ताहिकका शरण उत्सुक सापकोटा, नुवाकोट एफएमका श्रीराम अधिकारी, डबली खबर डटकमका सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका रामहरि गजुरेल, रेडियो नेपालका भोलाराज पौडेल, एभिन्युट टेलिभिजनका श्रीराम नेपाल, राससका जमुना गजुरेल र नुवाकोट पुकारका सुकदेव दाहाल थिए । 

मानुषी लघुवित्तको जालझेल

मानुषी लघुबित्तले वचत पनि फिर्ता नदिएको र ऋण पनि लगानी गर्न आनामानी गरेको उजुरी बोकेर आएका महिलाहरूसंग विदुर नगरपालिकाकाउपमेयर प्रभा बोगटी लगायतका । तस्बिर : इमेज 

विदुर । नुवाकोटको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा काम गर्दै आएको एक लघुवित्तले नागरिहरूलाई बचत रकम समेत फिर्ता दिन आनाकानी गरेपछि त्यसको उजुरी न्यायिक समितिमा परेको छ । मानुषी लघुवित्त वित्तिय संस्थाले समुहमा गरेको लगानी अनेक प्रलोभन दिएर असुली गरेको र बचत समेत फिर्ता नगरेको विदुर नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको हो । 

मंगलवार विदुर नगरपालिकाको न्यायिक समितिले मानुषी लघुवित्त वित्तिय संस्थाका कर्मचारीहरूलाई उपस्थित गराएर समुदायमा ऋण परिचालन गर्न लिखित सहमती गराएर छाडेको छ । विदुर नगरपालिका वडा नं. ३ माझिगाउँको एक समुहमा लगानी भएको ऋणलाई उक्त लघुबित्तले ‘अप्राकृतिक’ रुपमा असुली गरेको र समुहमा रहेको महिलाहरूसंग गरेको सहमती अनुसार काम नगरेपछि पिडित महिलाहरू असोजदेखि आन्दोलित थिए । समुहमा लगानी भएको १० लाख ९२ हजार ऋण फिर्ता गरेमा ४१ जना महिलालाई प्रति व्यक्ति ५/५ लाखका दरले ऋण लगानी गर्ने सहमती भएको थियो । सहमती अनुसारकाको ऋण पाउने भन्दा पनि आफ्नो नाममा भएको बचत समेत फिर्ता नदिने भनेपछि महिलाहरूले मानुषी लघुवित्ति वित्तिय संस्थाको विदुरस्थित कार्यालयमा तालाबन्दी समेत गरेका थिए । कात्तिक २५ गते महिलाहरूले कार्यालयमा लगाएको ताल्चा आफुखुसी फुटाएर संस्थाले नटेरेपछि उनीहरूले नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका हुन् । 

उक्त लघुबित्तले माझिगाउँमा गठन गरेको समुहका अध्यक्ष सीता माझीका अनुसार महिलाहरू धेरै समुहमा बसेर थोरै थोरै ऋण दिँदा झण्झण्ट हुने भएकोले आफुहरूले नै प्रति व्यक्ति ५/५ लाख रुपैयाँ ऋण लगानी गर्ने प्रस्ताव अघुवित्तले गरेको थियो । तर त्यसरी ऋण लिनका लागि काम रहेको ऋण चुक्ता गर्नुपर्ने शर्त संस्थाले राखेपछि ४१ जना महिलाले ऋण दसैं अगाडी चुक्ता गरे । 

सबैको गरी १० लाख ९२ हजार रुपैयाँ ऋण फिर्ता भएको थियो । त्यसपछि संस्थाले सम्पर्क गर्न छाडेको र मासिक बैठकमा समेत नयाँ ऋणको लागि पछि छलफल गरौं भन्न थालेपछि उनीहरू समस्या परेको अध्यक्ष माझीले बताए । ‘ऋण नपाउने भए हाम्रो बचत फिर्ता चाहियो भनेर माग्यौं अफिसमा पनि गयौं, हाम्रो बचत समेत फिर्ता दिन मानेनन्, १५ वर्षमा तपाईहरूको रकम डबल हुन्छ भन्दै आफ्नै बचत समेत झिक्न दिएनन्’ अध्यक्ष सीता माझीले भने । 

लगानी भएको ऋण असुली गर्ने, बचत फिर्ता पनि नगर्ने र भाग्ने षड्यन्त्र गरेको भन्दै त्यहाँका महिलाहरू आन्दोलित बनेका हुन्  । अब विदुर नगरपालिकामा भएको लिखित सहमती अनुसार उनीहरूलाई ऋण दिइने भएको छ । 

मानुषी लघुवित्ति वित्तिय संस्था विदुर शाखाका प्रमुख सुदीप रायमाझीले पनि अब समुहमा ऋण लगानी गर्ने बताए । ‘पहिला समस्या भएको हो, हामीले कुरा मिलाइसक्यो तपाईलाई अरु कुरा किन चाहियो र अरु बुझ्नु परेको भए नगरपालिकालाई भनेका छौं, कागज बुझाएका छौं, उतै गएर जानकारी लिनुस्’ विदुर शाखा प्रमुख रायमाझीले यस प्रतिनिधिलाई टेलिफोनमा भने । 

समाचार श्रोतका अनुसार उक्त लघुवित्त समुदायमा लगानी भएको ऋण असुली गरेर विदुरबाट निस्कने तयारीमा छ । एक दशक देखि काम गरिरहेको उक्त संस्था भन्दा पछि अन्य संस्था आएको र महिलाहरू अन्य संस्थामा आकर्षित हुन थालेपछि आफ्नो लगानी उठाएर ऋण लगानीलाई कम गर्दै लैजाने तयारी उसको छ । तर उक्त संस्थाका विदुर शाखा प्रमुख रायमाझीले भने आफुहरू यसरी हिड्न नमिल्ने बताएका छन् । ‘ऋण लगानी र बचत संकलन गरेर हमीसंग झण्डै ५ करोड ८० लाख रुपैयाँ छ, त्यसरी त अका हिडिहाल्न मिल्छ र ?’ उने भने ।    

मानुषी लघुवित्त वित्तिय संस्थाले विदुर नगरपालिकामा कार्यालय राखेर विदुर र बेलकोटगढी नगरपालिकामा काम गर्दै आएको छ । विदुर नगरपालिकाको १३ वटै वडा र बेलकोटगढीको १० नम्वर वडामा यसले काम गरिरहेको छ । सबै वडामा गरेर ८७ समुह र त्यस अन्र्तगत एक हजार ७५५ महिला आवद्ध छन् । विदुर नगरपालिकामा भने १० वर्ष अघि देखि काम गर्दै आइरहेको बताइएको छ । 


लघुवित्ति के हो ?

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई कर्जा कारोबारको आधारमा थोक कर्जाको मात्र कारोबार गर्ने र खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्था गरी २ प्रकारका हुन्छन् । खुद्रा कर्जाको कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले मात्र विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाई कर्जा प्रवाह गर्ने गर्दछन् । 

साथै, लघुवित्त वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरूलाई सदस्य बनाएर तिनीहरूबाट नियमित रुपमा बचत सङ्कलन गरेको रकम र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट विपन्न वर्ग शीर्षकमा सापटी लिएर आफ्ना सदस्यहरूलाई सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो लघु कर्जा तथा स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने कार्य गर्दछन् ।

‘मलको कारण झण्डै चुनाव हारिएन’


विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले सरकारको सेवा ‘डेलिभरी’मा देखिएको सुस्तताका कारण नागरिकहरू दैनिक जीवन यापनमै समस्यामा परेको बताएका छन् । खेतीपर्ने बेलामा रासायनिक मल अभावका कारण राजनीतिक दल, सरकार र नेताप्रति नै नागरिहरूको हेला भाव रहेको उनले बताए । रासायनिक मलकै कारण आफुलै झण्डै चुनाव नहारेको भन्दै ‘अर्जुननरसिंह केसी नै भोट माग्न आएछन् ल भैहाल्यो यो पाली दिउ, नत्र मल पनि दिन नसक्नेलाई के भोट भन्दै मतदाताहरूले जवाफ लगाएको उनले बताए ।

मंगलवार विदुरमा आयोजित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूसंग जनप्रतिनिधिको परिचयात्मक कार्यक्रममा सहभागी भएका सांसद केसीले मलकै रासायनिक कारण आफुलाई चुनाव हार्छु की जस्तोसम्म भएको बताए । हाम्रा प्रतिपक्षी उम्मेदवार साथीलाई त मल दिन नसक्ने नेता किन आएको भनेर बेलकोटगढी नगरपालिकाको १० नम्वर वडाबाट जनताले लखेटे’, केसीले भने– ‘मेरो ठाउँमा अरु कोही उम्मेदवार भएको भए त त्यही मल नपाएकै झोकमा चुनाव हराइदिने रहेछन् ।’ 

चुनावको अबधीमा भोट माग्न जादा  मतदाताले रासायनिक मल मागेको सुनाए । ‘सरकारको नागरिहरूप्रतिको उदासिनता कत्तिसम्म छ भन्ने कुरा त मैले भनिरनै पर्दैन, यस विषयमा सरकारको नीति नै ठिक भएन, यस विषयमा केन्द्रमै कुरा गरुला’, केसीले भने– ‘कम्तिमा नागरिकहरूको हुने कामलाई गर्दिने, नहुने कामलाई नहुने भनेर पठाउने संस्कृतिको विकास कर्मचारीहरूमा होस्, कतैको फोन आउदा लुरुक्क परेर गर्ने नत्र काम अल्झाउने प्रवृत्तिलाई कर्मचारी साथीहरूले त्याग्नुस् ।’ स्थायी सरकारको रुपमा रहेको कर्मचारीहरूले काममा गर्ने ढिलासुस्ती र लापरवाहीका कारण नेतालाई ज्यान जोगाउनै गार्हो परेको उनले सुनाए । 

प्रतिनिधि सभा सदस्य केसी जस्तै अनुभव प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानाले सुनाए । माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष तथा बागमती प्रदेश सांसद रामप्रसाद ढुङ्गानाले झण्डै जनताको कुटाई खाएको सुनाए । 

मत माग्न जादा पहिला एक÷एक बोरा मल बोकेर आउनु भन्दै मतदाताले राजनीतिक दल र नेतालाई नै तिरस्कार गरेको ढुङ्गानाले बताए । ‘तपाई कर्मचारीहरूलाई त जनताले गाली मात्रै गर्ने हुन्, हामीलाई त कुट्न आउछन्, काम नगर्ने तपाईहरू, जनतालाई सेवा नदिने तपाईहरू अनि दोषि हामी हुनु परेको छ’, ढुङ्गानाले भने– ‘सहयोगीभावमा तपाईहरू काम गर्नुहुन्छ र जनतालाई राहत हुन्छ भने ठिक छ नभए म पनि पाखुरा सुर्कने नै मान्छे हुँ ।’ 

दुप्चेश्वर मेला सुरु


रामती । नुवाकोटको पहिचानकै रुपमा स्थापित भएको दुप्चेश्वर मेला सुरु भएको छ । आइतवारबाट २२ गतेसम्म सञ्चालन हुने यस पटकको मेलाको मुख्य दिन आज सोमवारदेखि बुधवार २१ गतेसम्म रहेको छ । 

मेलामा सहभागि हुने भक्तजनको सुविधाका लागि दुप्चेश्वर क्षेत्र विकास कोषले आवश्यक पुर्वाधारहरूलाई व्यवस्थित पारेको छ । महादेकवो दर्शन गर्ने र पुजाआजा गर्नेहरूका लागि लाइन व्यवस्थित पार्ने देखि अन्य भौतिक पुर्वाधारको काम सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । अघिल्ला वर्षहरूको तुलनामा मेलालाई थप व्यवस्थित र सुविधायुक्त बनाउने गरी तयारी सम्पन्न भएको उनले बताए । सवारी साधनलाई रामतीसम्म सहज रुपमा आवातजावतको व्यवस्था गर्न बसडकको सुधार भएको मन्दिर आसपासमा अस्थायी वासास्थान र तिर्थयात्रीका लागि स्थानको लागि अस्थायी क्षेत्रको व्यवस्थापन भएको उनले बताएका छन् । 

 क्षेत्र विकास कोष अध्यक्ष दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङ, सचिव वडा नं. ६ का अध्यक्ष बुद्धिमान तामाङ र कोषाध्यक्ष राजकुमार श्रेष्ठ छन् । 

दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्छ । व्यापार व्यवसायका लागि व्यापारीहरू ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरूको जमघट यहाँ बाक्लै हुन्छ ।  आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वरको दर्शन र पुजा आराधना गर्न ओइरो लाग्ने गरेको छ । 

हारेर पनि जितेका सुमनविक्रम पाण्डे

अर्जुननरसिंह केसीलाई जितको बधाई दिँदै स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डे (दाँयाँ) ।

विदुर । मंसीर ३ गते साँझ अर्नुननरसिंह केसी निवासमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नुवाकोट क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका सुमनविक्रम पाण्डेले मुस्किलले ६ हजार मत कटाउने समीक्षा भयो । 

सत्ता गठबन्धनकोबाट काँग्रेसका तर्फका केसी स्वंयम् उम्मेदवार । उनकै आफ्नै आँकलन पनि एमालेका नारायणप्रसाद खतिवडासंगै आफ्नो प्रतिस्पर्धा हुने थियो । पार्टीका असन्तुष्ट ‘केही कार्यकर्ता’ र हजार हाराहारीका मतदाताले पाण्डेको चुनाह चिन्ह ‘घण्टी बजाउने’ समीक्षा केसीको आन्तरिक छलफलमा भयो । तर चुनावको परिणाम आउदा पाण्डे केसीकै निकटम प्रतिद्धन्द्धी बने । 

निर्वाचनको अन्तिम परिणाम मंसीर ९ गते राती आयो । काँग्रेसका केसी अत्याधिक मतले निर्वाचित भए, आम रुपमा अनुमान गरिए अनुसार तेश्रो हुने रास्वपाका पाण्डे दोश्रो बने । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेको एमालेका नारायणप्रसाद खतिवडा तेश्रो बने । खतिवडाले नवनिर्वाचित केसीलाई टेलिफोन गरेर मंसीर १० गते बिहान बधाई  र शुभकामना व्यक्त गरे । तर, रास्वपाका उम्मेदवार एवं निकटम् प्रतिद्धन्दी सुमनविक्रम पाण्डे भने विहान केसीको विदुरस्थित निकासमै पुगे । जितको खुसीयाली मनाउन केसी निकासमा जम्मा भएका काँग्रेसका कार्यकर्ता पन्छाउँदै पाण्डे स्वंयम् केसी समक्ष पुगेर बधाई सहित जिल्लाको विकास र परिवर्तनका पक्षमा अहोरात्र लागिपर्न आग्रह गरे । केसीको हातबट फुलमाला ग्रहण गरेर फर्किएका पाण्डेले गएको सोमवार समेत उनै केसीलाई आफ्नै घरमा हार्दिकता सहित स्वागत गरे । नुवाकोट साततले दरवार परिषरमा धन्यवाद ज्ञापन गर्न घरदैलो गर्न पुगेका केसीलाई पाण्डेले आफ्नै घरमा भित्र्याएर अंकलमान गरे । 

२८ हजार १०७ मत ल्याएर प्रतिनिधि सभामा काँग्रेसका केसी निर्वाचित हुँदा दोश्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डे नै भए । पाण्डेले १६ हजार ४७७ मत पाए । 

तेश्रो भएका नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मत पाए । केसी र पाण्डेबीच ११ हजार ६३० मतान्तर रह्यो भने पाण्डे र खतिवडा बीच ९१६ मतान्तर रह्यो । 

रास्वपाका पाण्डेले सहरी क्षेत्रबाट अधिक मत प्राप्त गरे । सहरी क्षेत्र र रोजगारीका क्रममा जिल्ला बाहरि रहेको युवाहरूको रोजाईमा पाण्डे थिए भने ति युवा पुस्ताको अभियान घण्टीमा मतदान गराउने थियो । पाण्डेले विदुर नगरपालिका भरीबाटै पहिलो मत पाएका छन् । क्षेत्र नं. २ मा रहेको ४३ वटा वडा मध्ये ९ वटा वडामा पहिलो मत लिए । पार्टी घोषणाको पाँच महिना बीचमै प्राप्त भएको यो सफलता नै जित भएको प्रतिक्रिया रास्वपा नुवाकोट अध्यक्ष रामेश्वर गजुरेलले दिएका छन् । ‘हाम्रो वडा तहसम्म पार्टीको फर्मेसन हुन भ्याएको मात्रै भए हामी पहिलो हुने रहेछौं’ गजुरेलले भने । 

पाण्डेले विदुर नगरपालिकाको ७ वटा वडा बाट पहिलो मत लिए । एउटा वडामा दोश्रो र अर्को एउटा वडामा दोश्रो भए । चार वटा वडामा तेश्रो भएका पाण्डेको मतान्तर भने झिनो नै थियो । बेलकोटगढी नगरपालिकाको दुई वटा वडामा पनि पहिलो मत लिए । उनले पहिलो मत लिएको वडाहरूमा विदुर नगरपालिकाको १, २, ३, ४, ७, ८ र ९ छ । त्यस्तै बेलकोटगढीको वडा नं. ७ र १३ मा पनि पहिलो मत लिएको दावी पार्टीको छ ।  मत परिणाम सार्वजनिक भएपछि ‘न्युट्रल मतदाता’ पनि झस्किएका छन् । १० हजार आराहारीमा मत आउने अनुमान गरेको पाण्डे विजेताको निकटम प्रतिद्धन्द्धी बनेको देख्दा ‘बल गर्दिन पाएको भए’ जित्ने रहेछन् भन्ने प्रतिक्रिया दिन थालेका छन् ।  

सरकारी गाडीमा जन्त

जन्त पुगेर मंगलवार दिउँसो २ः५४ मा कार्यालय आइपुगेको विदुर नगरपालिकाको गाडी । तस्बिर : इमेज

विदुर । विदुर नगरपालिकाको सवारी साधन मेयर राजन श्रेष्ठले दुरुपयोग गर्ने श्रृङ्खलामा बृद्धि भएको छ । आफ्नो निजी कामका लागि नगरपालिकाको गाडीको अत्याधिक प्रयोग गर्दै आएका श्रेष्ठले अघिल्लो हप्ता साथीको सालोको बिवाहमा जन्त जान समेत सरकारी गाडी नै प्रयोग गरेका छन् । 

मंसीर ११ गते विदुर नगरपालिकाको बा २ झ ४४६० नम्वरको सवारी साधनमा विदुरका केही व्यापारी र उनीहरूका श्रीमती बोकेर हिडेका मेयर श्रेष्ठ मंसीर १२ गते राती मात्रै विदुर आइपुगेका हुन् । समाचार श्रोतका अनुसार विदुरका केही व्यापारी र उनीहरूको श्रीमती सहित मेयर श्रेष्ठ नगरपालिकाको सरकारी गाडीमा बन्दिपुर पुगेका थिए । ११ गते बन्दिपुर बास बसेर उनीहरू १२ गते श्रेष्ठका एक व्यापारी साथीको सालोको विवाहमा गोरखा जन्त गएका हुन् । 

१२ गते राती नै विदुर आइपुगेको बताइएपनि नगरपालिकाको उक्त सवारी साधन भने कार्यालयमा १३ गते दिउँसो २ः५४ बजे मात्रै प्रवेश गरेको थियो । 

नुवाकोटमा धेरै मत बदर


विदुर । नुवाकोटमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको संख्या बढेको छ । मंसीर ४ गतेको चुनावमा नुवाकोट जिल्लामा ६ हजार ६८० मत बदर भएको छ । यहाँ एक लाख २९ हजार ७०५ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार ५.१५ प्रतिशत मत बदर भएको हो ।

समानुपातिकमा अझ धेरै मत बदर भएको छ । समानुपातिमा प्रतिनिधि सभाका लागि गरेको नागरिकहरूको मत ६ हजार १४३ मत वदर भएको छ । १ लाख २२ हजार ८४२ मत सदर भएको थियो । एक लाख २८ हजार ९८५ मत खसेको थियो । नुवाकोटमा समानुपातिमा भोट हाल्नुपर्ने मतदाता  दुई लाख ३९ हजा ७२६ थिए ।

समानुपातिकमा प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा एक हजार एक सय भन्दा बढी मत खसेको छ । प्रदेश सभामा एक लाख ३० हजार १०१ मत खसेको छ । जसमा एक लाख २१ हजार १८२ मत सदर भएको छ । अर्थात् प्रदेश सभामा आठ हजार ९१९ मत वदर भएको छ । 

बदर मत घटाउनका लागि मतदाता शिक्षा स्वंयम्सेवक, महिला स्वास्थ्य स्वंयम्सेविका तथा सम्बन्धित निकायले मतदाता शिक्षा दिएका थिए । मतदाताहरू प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्रमा अलमलिएका कारण मत बदर हुन पुगेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । 

प्रदेश सभाको प्रत्यक्षतर्फ एक लाख ३० हजार १०१ मत खसेकोमा आठ हजार ९२१ मत अर्थात् ६.८५ प्रतिशत मत बदर भएको छ । प्रदेशसभाको समानुपातिकतर्फ एक लाख ३० हजार १०१ मतमध्ये ८ हजार ९१९ अर्थात् ६.८५ प्रतिशत मत बदर 

भएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए । उनका अनुसार गत २०७४ को निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६.४ र समानुपातिकतर्फ ४.७ प्रतिशत मत बदर भएको थियो ।

समानुपातिकमा काँग्रेस पहिलो


विदुर । नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेपाली काँग्रेसलले धेरै मत ल्याएको छ । 

नेपाली काँग्रेसले नुवाकोटमा प्रतिनिधिसभा तर्फ ३५ हजार ८३६ मत ल्याएको छ । काँग्रेसले प्रदेश सभातर्फ ३६ हजार ३३७ मत ल्याएको छ । 

नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले दोश्रो स्थानमा छ । नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ३१ हजार ५१५ मत ल्याएको छ भने प्रदेसश भातर्फ ३६ हजार २५० मत ल्याएको छ । 

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले तेश्रो स्थानमा मत पाएको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ २५ हजार ५६१ मत ल्याएको छ भने प्रदेश सभातर्फ २९ हजार ६९२ मत ल्याएको छ । 

प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार २८३ मत प्राप्त गरेको छ । नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौ स्थानमा मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा तर्फ ८ हजार ४५३ मत ल्याएको छ भने प्रदेससभातर्फ १० हजार १७३ मत ल्याएको छ । 

नुवाकोटमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एकिकृत समाजवादी पार्टीले छैटौै स्थानमा मत पाएको छ । एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभा तर्फ ९५८ मत मात्र ल्याएको छ भने प्रदेश सभातर्फ १ हजार ५३८ मत ल्याएको छ । 

एक लाखले भोट हालेनन्


विदुर । नुवाकोटका एक लाख भन्दा बढी मतदाता यसपटकको चुनवामा मतदान गर्न सहभागी नै भएनन् । यो भनेको करिब ५० प्रतिशत हो । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार २ लाख ३९ हजार ७२६ मतदातामा ५४.३ प्रतिशतले मतदान गरे । ५८ हजार ४३ महिला, ७१ हजार ५९७ पुरुष र तेस्रो लिंगी १ जना गरी कुल १ लाख २९ हजार ६५१ मतदाताले मतदान गरे । 

कुल मतदाताअनुसार नुवाकोट जिल्लाको १२ वटै स्थानीय तह मध्ये म्यागङ गाउँपालिकामा सबैभन्दा बढी र शिवपुरी गाउँपालिकामा सबैभन्दा कम मतदान गरे । म्यागङमा ५८.७५ प्रतिशतले मात्र मतदान गरे । १२ हजार ७४९ मतदाता रहेकोमा महिला ३ हजार ७३८ र पुरुष ३ हजार ५१८ गरी कुल ७ हजार २५६ जनाले मतदान गरे । शिवपुरी गाउँपालिकामा ४८.७३ प्रतिशतले मात्र मतदान गरेका छन् । २० हजार ६२७ मतदाता रहेकोमा महिला ४ हजार २२०, पुरुष ५ हजार ८३२ र १ तेस्रोलिंगी गरी कुल १० हजार ५३ जनाले मतदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय र कारागार कार्यालयमा रहेको अस्थायी केन्द्र मार्फत् १३.१४ प्रतिशतले मात्र समानुपातिक मत जाहेर गरेका छन् । कुल ९८९ मतदाता रहेकोमा महिला ९ र पुरुष १२१ गरी कुल १३० जनाले मात्र मतदान गरे । मतदानको लागि २ संघ र ४ प्रदेश सभाका लागि नुवाकोटमा २ सय ८८ मतदान केन्द्र र १३२ मतदानस्थल थियो ।

तस्बिर समाचार


‘जय सलाम’
: नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राधिका तामाङ र नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत गएको सोमवार विदुर–५ पिपल्टार स्थित माओवादीका स्वर्गिय नेता पोष्टबहादुर बोगटीको शालिकसंगै उभिएर अभिवादन गर्दै । सत्ता गठबन्धनका तर्फबाट नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा उम्मेदवार बनेका दुवै जना निर्वाचित भएका छन् । तस्बिर : इमेज साप्ताहिक

खर्च विवरण तुरुन्तै बुझाउन आग्रह


विदुर । नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित नेकप माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष रामप्रसाद ढुङ्गाना गएको आइतबार विदुर नगरपालिकाको विभिन्न वडामा मतदातालाई धन्यवाद दिन जानुपर्ने कार्यक्रम तय भइसकेको थियो । त्यह दिन कम्तिमा छ ठाउँमा विहानै देखि कार्यक्रम तय भइसकेको थियो । 

नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अजुर्ननरसिंह केसी र प्रदेश–२ बाट निर्वाचित बहादुरसिंह लामा तामाङसँगै विजयी ¥यालीमा सहभागी हुनुपर्ने समयमा ढुङ्गाना भने खर्च विवरण बुझाउन चुनावी खर्चको बिलभर्पाइसहित आफैँ निर्वाचन कार्यालयमा पुगे  । 

स्थानीयतहका उम्मेदवारले खर्च विवरण नबुझाएर जरिवाना तिर्न परेको सुनेको छु ।’ उनले भने– ‘निर्वाचित भएपछि मतदाताबाट लिनुपर्ने बधाई र दिनुपर्ने धन्यवादपछि साटासाट गर्न पाइन्छ तर, कानुनी प्रक्रियाअनुसार तोकिएको खर्च विवरण समयमा बुझाउन लागेको छु ।’ निर्वाचनमा पराजित भएका उम्मेदवार चुनावी समीक्षा गर्न र विजेता मतदातालाई धन्यवाद दिन घरघरमा जानुपर्ने व्यस्त समय भए पनि स्थानीयतहको निर्वाचनका उम्मेदवारले समयभित्र खर्च वितरण नबुझाएको कारण खर्च गर्न पाउने बराबरको जरिवानाको निर्णय निर्वाचन आयोगले तोकेको थियो । त्यसको सकारात्मक प्रभावको कारण अहिलेको आमनिर्वाचनका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् ।

त्यसो त, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन थालेका छन् । २०७९ को वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

नुवाकोटमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम गएको शनिबार (कात्तिक १० गते) सार्वजनिक भएको थियो । गएको आइतबार (कात्तिक ११ गते) नै सातजना उम्मेदवार निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमको अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन सातजना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । ४० जनाले फाराम लिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारसहित समानुपातिक उम्मेदवार निर्वाचन कार्यालयम पुगेर आवश्यक कागजात सहितको खर्च विवरण बुझाए । 

आम निर्वाचन अन्तर्गत जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नं. १ मा ३१ लाख र क्षेत्र नं. २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ । प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाख रुपैयाँसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाख रुपैयाँसम्म र प्रदेश समानुपातिक उम्मेदवारले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा छ ।

सोही सीमाभित्र रहेर निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले एक महिनाभित्र उम्मेदवारले अनिवार्यरुपमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तोकिएको समयभन्दा ढिलो गरेमा उम्मेदवारले खर्च गर्न पाउने सीमा बराबरसम्मको जरिवाना तिर्न‘पर्ने भएकाले जिल्लाका उम्मेदवार चुनावी नतिजा आएलगत्तै खर्च विवरण बुझाउन हतारिए । 

यसै बीच, निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । गएको सोमबार आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिइएको जानकारी दिए ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत पेश गर्न‘पर्नेछ । निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ,’ उनले भने । उनका अनुसार निर्वाचन खर्च विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुोष्ठी तथा अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । 

आयोगले तोकेको ढाँचामा निर्वाचन खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयन पत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्न‘पर्नेछ । राजनीतिक दल र उम्मेदवारहरूले मनोनयनपत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्दसूची दर्ता भएको मितिदेखि निर्वाचनको मतपरिणाम घोषणा भएको मितिसम्मको सम्पूर्ण खर्चको विवरण आयोगले तोकेको ढाँचामा बुझाउनुपर्ने छ । उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा आफूले गर्ने खर्च र स्रोत खुलाइसकेका छन् ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूले २५ लाख देखि अधिकतम ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो । आयोगले निर्वाचन क्षेत्रका मतदाताको संख्या (६० प्रतिशत), भौगोलिक क्षेत्रफल (२० प्रतिशत) र मतदान केन्द्र (२० प्रतिशत)का आधारमा मापदण्ड तय गरी निर्वाचन खर्च निर्धारण गरेको थियो । त्यस्तै प्रदेशसभातर्फका प्रत्यक्ष उम्मेदवारहरूले १५ लाख देखि अधिकतम २३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

आयोगले विभिन्न सूचकका आधारमा निर्वाचन क्षेत्रहरूलाई पाँच भागमा वर्गीकरण गरी प्रतिनिधिसभातर्फ पाँचवटा क्षेत्रमा २५ लाख रूपैयाँ, १७ वटा क्षेत्रमा २७ लाख रूपैयाँ, ६५ वटा क्षेत्रमा २९ लाख रूपैयाँ, ५२ वटा क्षेत्रमा ३१ लाख रूपैयाँ र २६ वटा क्षेत्रमा उम्मेदवारहरूले अधिकतम ३३ लाख रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो । प्रदेशसभातर्फ ७० वटामा १५ लाख रूपैयाँ, १४३ वटामा १७ लाख रूपैयाँ, ५६ वटामा लाख रूपैयाँ, २९ वटामा २१ लख रूपैयाँ र ३२ वटामा अधिकतम २३ लाख रूपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । 

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलले निर्वाचन मतपरिणाम घोषणा भएको मितिले ३५ दिनभित्र अनुसूची बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ । ‘राजनीतिक दलले विवरण पेस गर्दा हेलिकप्टर प्रयोग गरेको भए सोको विवरण, दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्न‘पर्नेछ,’ उनले भने । प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा समावेश उम्मेदवारहरूले अधिकतम दुई लाख रूपैयाँसम्म र प्रदेशसभाको समानुपातिकतर्फ एक लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र सात वटा प्रदेशसभामा गरी ३३० निर्वाचन क्षेत्र छन् ।

नुवाकोट जिल्ला कफी स्टेटको रुपमा परिचित

डा. विष्णुप्रसाद भट्टराई

कार्यकारी निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

कफी उत्पादक किसान, स्टेट, प्रशोधक, विक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरूको उत्सबको रूपमा रहेको ‘राष्ट्रिय कफी दिवस’को १८ औँ संस्करण यही मंसिर १६ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन भएको छ । कफीसँग सरोकार राख्ने सबैले आ–आफ्नो स्थानमा प्रत्येक वर्ष मंसिर १ गते हर्सोल्लासका साथ मनाइने कफी दिवसको मूल समारोह यस पटकप्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को आचारसंहिताका कारण मंसिर १६ गते मनाइएको हो । विश्वभर लोकप्रिय पेय पदार्थको रुपमा रहेको कफी रोपणले नेपालमा पनि लगभग ८४ वर्षको इतिहास बनाईसकेको छ । 

वि.सं. १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । कफी स्टेटहरूको उल्लेखय उपस्थिति रहेको जिल्लाको रुपमा परिचित नुवाकोटको विदुरमा आयोजना भएको यस वर्षको १८ औँ राष्ट्रिय कफी दिवसको मूल नारा यस प्रकार रहेको थियो– ‘व्यवसायिक कफी खेतीमा जोड, गुणस्तरिय उत्पादन हाम्रो अठोट ।’

मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले स्वाद र गुणस्तरका हिसाबले विश्वका उत्कृष्ट कफीहरूसंग समतुल्य स्थान बनाउन सफल हुनु हामी सबैको लागि गौरवको कुरा हो । स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दशक अघिसम्म कुलिन बर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको शोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक बृद्धी भएको देखिन्छ । तर माग अनुसार आपुर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेतापनि गत वर्ष भने आयात प्रतिस्थापन भई निर्यातमा केही आशाको किरण पलाएको छ ।

आ.व. २०७७÷०७८ को तथ्याङ्क हेर्ने हो भने १० करोड ६७ लाख बराबरको १९८.७ मे. टन कफी आयात हुँदा ९ करोड ६० लाख बराबरको ७२.४८ मे. टन कफी विदेश निर्यात भएको थियो । भन्सार विभागको आ.व. २०७८÷०७९ को तथ्याङ्क अनुसार १२ करोड ७६ लाख बराबरको २७९.८ मे. टन कफी नेपालमा आयात हुँदा ११ करोड ७० लाख रूपैयाँ बराबरको ६९.५ मे. टन मात्रै कफी निर्यात भएको छ । 

आ.व. २०७८÷०७९ मा नेपालभर ३५५ मे. टन ग्रीन वीन कफी उत्पादन भएको छ भने कुल उत्पादनको झन्डै २० प्रतिशत कफी विदेश निर्यात भएको देखिन्छ्र । नेपाली कफीले अन्तराष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । अन्तर्राष्ट्रिय कफी संगठन (क्ष्ऋइ) को विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन/निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम २१६० मेट्रिक टन भन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन उच्च रुपमा माग बढेको देखाउछ । आन्तरिक उत्पादनले १ महिना पनि नेपालको माग धान्न नसकेको अवस्था छ । दिनानुदिन कफी सेवनकर्ताहरूको माग बढ्नु र युवाहरूको प्राथमिकतामा परेको कफी क्याफे तथा आउटलेट स्थापनाले गर्दा कफीको माग बढ्दै गइरहेको हुनाले पनि आन्तरिक माग पुर्तीका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु पर्ने देखिन्छ ।

कफी किसानहरूलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्ताहरूलाई आकर्षण गरि सिमित क्षेत्रमा गरिदै आएको कफी खेतीलाई कफी स्टेटमा रुपान्तरण गर्नसकेमा मात्रै व्यवसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडी बढाएको छ । १८ औं राष्ट्रिय कफी दिवस मनाईरहदा कफी क्षेत्रमा ब्यापक रुपान्तरणको लागि संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरू मार्फत ठूला व्यवसायिक फार्महरू स्थापनाका लागि लगानीकर्ताहरू भित्राउन जरुरी देखिन्छ । 

प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले २०७९ मंसीर १ गते जारी गर्नु भएको शुभकामना सन्देशमा पनि सोही आशय अनुकुल स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यवसायिक उत्पादनमा निजी क्षेत्रलाई थप लगानी गर्न आव्हान गर्नु भएको छ । न्यून श्रोत साधनका बाबजुत व्यवसायिक कफी उत्पादन बढाउन बोर्डले प्रमुखताका साथ कार्यक्रमहरूको शुरुवात गरेको छ । केही जिल्ला, प्रदेश र स्थानीय सरकारसँग पनि योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जुन आगामी दिनमा अझ बढाएर लगिने छ । गत वर्ष देखि बोर्डले व्यवसायिक उत्पादनको लागि चक्लाबन्दीमा कफी क्षेत्र विस्तार र स्थानीय क्षेत्र भित्र व्यवासायिक नर्सरी विरुवा उत्पादन कार्यक्रमलाई प्रमुखताका साथ अगाडी बढाएको छ । 

खासगरी बोर्डले तीनै तहका सरकारको वीचमा एकीकृत कार्यक्रमको अवधारणा अगाडी बढाउदै उत्पादन केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न स्थानीय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउने, व्यवसायिक फार्महरू विस्तार, साना तथा मझौला प्रसोधन उद्योग स्थापना तथा प्रवद्धन कार्यहरूमा प्रदेश सरकारबाट कार्यक्रमहरू सञ्चालन गर्ने र ठुला प्रशोधन उद्योग स्थापना, गुणस्तर व्यवस्थापन, बजारीकरण तथा नीतिगत कार्यहरूमा बोर्ड स्वयंम तथा संघीय सरकारको भूमिका रहनेगरी समन्वयात्मक कार्यक्रमहरू अगाडी बढाउन जोड दिदै आएको छ । 

कफी उत्पादनलाई बजारसंग जोड्नको लागि कफी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन बोर्डले सरकारी तथा निजी क्षेत्रसंग समन्वय गरि नीतिगत सुधार, क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । 

२०७९ साल मंसीर १९ गतेको सम्पादकीय

दुप्चेश्वर मेलाको बढ्दो प्रचा

नेपाली चर्चित र धेरै प्रयोग हुने मोवाइल एप नेपाली पात्रोमा यो साल मंसीर २१ गते नुवाकोट दुप्चेश्वर मेला भनेर लेखिएको पाइन्छ । मंसीर १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने उक्त मेलाको मुख्य दिन यो पाली १९ गतेदेखि २१ गते नै हो । नेपाली पात्रोमा उल्लेख भएको दुप्चेश्वर मेलाका कारण यसको प्रचारमा पछिल्लो समय भएको व्यापकतालाई पुष्टि गरेको छ । केही वर्ष अघिसम्म नुवाकोट र आसपासका जिल्लामा मात्रै चर्चामा रहेको दुप्चेश्वर जात्रा अन्तराष्ट्रियस्तरमा फिजिएको प्रमाण नेपाली पात्रोमा यसको तिथि उल्लेख हुनु पनि हो ।  

दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्ने गरेको छ । व्यापार व्यवसायका लागि टाढादेखिका व्यापारीहरू ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरूको जमघट यहाँ बाक्लै हुन्छ । धान्यपूर्णिमामा हुने विशेष जात्रा बाहेक पनि यहाँ नियमित रुपमा मेला लाग्दै आएको छ । आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वर महादेवको दर्शन र पुजा आराधना गर्न भक्तजनको ओइरो लाग्ने गरेको छ । त्यस्तै, परम्परागत उपचार विधि र दैविक शक्ति रहेको मानिने धामी–झाँक्रीहरू आफ्नो विधि अनुसार श्री महादेबबाट आफ्नो मन्त्र शिद्ध गर्न पनि यहाँ आउने गरेका छन् । आफु र आफ्नो कुटुम्वमा खान लाउन अभाव नरहोस्, पशु थारो नहोउन् भनेर मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको बेलामा लामा तथा झाक्रीहरू दुप्चेश्वर महादेवको अनुष्ठानका लागि आउने गरेका छन् । हरेक वर्षको धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश जात्रा लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतीहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । सन्तानमा पनि छोराको रहर गर्ने दम्पतीहरू यहाँ आउने गरेका छन् । विश्वास र श्रद्धाका साथ दुप्चेश्वर महादेवसंग पुत्र वर माग्दा प्राप्त हुने विश्वास सदिऔंदेखि रहिआएको छ ।

अनकण्टार चिसो पहरामा अवस्थित देवाधिदेव यी महादेवको दर्शन र पुजाका लागि नुवाकोट बाहेक काठमाडौं उपत्यका, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, बारा, चितवन लगायतका थुप्रै जिल्ला तथा भारतबाट समेत श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित यस दुप्चेश्वर महादेव स्थान सबै जातजाती, भाषा तथा धर्मालम्बीहरूका लागि साझा थलोको रुपमा विकास भएको छ । पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले यहाँसम्म आइपुग्नका लागि सडकलाई सहज बनाएको छ, दुप्चेश्वर महादेवको बढ्दो प्रचारले अहिले श्रद्धालु भक्तजनहरूको उपस्थिति बाक्लो रहेको छ । झट्न सुन्दा अपत्यरिलो लाग्ने प्रसङ्ग छोरा माग्दा प्राप्त गर्ने यहाँको वरदानका अनगिन्ति साक्षिहरू छन् । निःसन्तानले सन्तान प्राप्त गरेको देखि छोरा प्राप्त गरेको उदाहरण यहाँ आउने दर्शनार्थीहरूमा बाक्लै पाउन सकिन्छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोलेका बालबच्चा बोल्नथाल्ने विश्वासमा टाढाका भक्तजनले भाकल गर्ने र पुरा भएपछि श्री महादेवको दर्शनका लागी आउने गर्छन् । सन्तान नभएकाहरूले सन्तान, विवाह नभएकाहरूले लगन जुराइ माग्ने र पुराभए पछि दर्शन गर्न आउने भक्तजनहरूको अनुभव सुन्न पाइन्छ । गोठमा थारा गाईभैसी हुनेहरू गाई भैसी ब्याओस् भनी भाकल गर्न इाँहा आइपुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् ।

यहाँको जात्रामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री समेत हुने गरेको छ । जात्रा अवधिभर तीर्थयात्रीहरूका लागि खाना र बासको अस्थायी संरचनाहरू तयार हुने गरेका छन् । सन्तान माग्ने आउने कारणले पनि यस क्षेत्र सबै धर्मालम्वीहरूको साझा स्थल बनेको छ । विशेष गरी हिन्दु र बौद्ध धर्मालम्वीहरू बरोवरी आस्था प्रकट गर्न आउने यहाँ अन्य धर्मालम्वीहरूको समेत उपस्थिति रहिआएको छ । धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातीहरू ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरूको लर्को यसको अर्को आकर्षण हो । र पनि यसको जीत्त मात्रामा प्रचारप्रसार र प्रर्वद्धन हुनुपर्ने हो त्यसको तुलनामा न्यून देखिन्छ । यसको परम्परागत इतिहास, स्थानीयकोहरूको धार्मिक आस्था र फैलदो यसको आन्तरिक प्रवद्र्धनलाई भब्य पार्न सक्दा नुवाकोटको पहिचानमा एउटा कोशेढुङ्गा बन्न सक्छ । त्यसका लागि सामाजिक संघसंस्थादेखि स्थानीय सरकारको विशेष र एकद्धार प्रर्वद्धनका कार्यक्रमको बढी खाँचो देखिएको छ ।

२०७९ साल मंसीर १९ गते । वर्ष : १६, अंक : ०८