Monday, December 12, 2022

मुख्य मन्त्रीमा नुवाकोटको दुई दावी


विदुर । बागमती प्रदेशको मुख्य मन्त्रीमा सत्ता गठबन्धनबाट दुई जनाको दावेदारी प्रस्तुत भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व संघीय सांसद बहादुरसिंह लामा तामाङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका निर्वतनमा उपसभामुख राधिका तामाङले आफ्नो दावी प्रस्तुत गरेका हुन् । 

सत्ता गठबन्धनले नै बागमती प्रदेशमा सरकार बनाउन पुग्ने भएपछि मुख्यमन्त्री लिनका लागि आफ्नो दलभित्रै लविङ्ग सुरु भएको छ । काँग्रेसका पाउदा इन्द्र बानियाँ र माओवादी केन्द्रले पाउदा शालिकराम जमरकट्टेलको दावेदारी बलियो रहेको राजनीति वित्तमा चर्चा भइरहेपनि उनीहरूको विकल्पका रुपमा आएको दुई पार्टी भित्रको नयाँ नाम दुवै नुवाकोटका हुन् । काँग्रेसका बहादुरसिंह लामा तामाङ नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित हुन् । माओवादी केन्द्रका राधिका तामाङ नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुन् । बागमती प्रदेश सभाको निर्वतमान उपसभामुख समेत रहेका राधिका तामाङ केन्द्रको राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालेको अनुभव र क्षमता भएकोले मुख्यमन्त्रीमा दाबी रहेका छन् । लगातार दुई पटक निर्वाचित राधिका तामाङलाई माओवादीभित्र र अन्य पार्टीमा समेत आगामी सभामुखको रुपमा चर्चा गर्ने गरिएको पाइन्छ । नुवाकोटको प्रथम महिला मन्त्री रुपमा तामाङले कृषि राज्यमन्त्रीको पद पनि सफलता पूर्वक निर्वाह गरिसकेका छन् । 

तामाङले २०६१ सालमा माओवादीको नुवाकोट जनसरकार प्रमुख भएर समेत काम गरिसकेका छन् । उनको चाहना र पार्टीको जिम्मेवारी बहन गर्दै गरेका कामको आधारमा पनि तामाङको मुख्यमन्त्रीमा दाबी रहनु स्वभाविक रहेको माओवादी नेता कार्यकर्ताहरूको भनाई रहेको छ । 

विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय रहदैँ आएका तामाङको राजनैतिक जीवन संर्घषशील रहेको छ । नुवाकोटको राजनीतिमा तामाङ समुदायलाई प्रतिनिधित्व गर्दै त्यसमा पनि महिला भएकै कारण राजनीतिक जीवन चुनौतिपूर्ण रहेने नै भयो । संघर्ष संगै पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्दै नुवाकोटको विकाशमा सक्रिय सहभागिता रहेको छ । प्रदेशमा महिला नेतृत्व आवश्यक रहेको छ आफूले त्यस जिम्मेवारीलाई स्वीकार गर्ने भन्दै उनको मुख्यमन्त्रीमा दाबी रहेको छ ।

यस्तै, दुई पटक काँग्रेस केन्द्रीय सदस्य रहेका, संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य रहिसकेका नेता प्रदेशमा झरे पनि निर्वाचनताका चर्चा नगरिए पनि नेपाली काँग्रेसका नुवाकोटबाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह लामा तामाङ काँग्रेसका मुख्यमन्त्रीमा सर्वाधिक चर्चामा छन् । उनलाई प्रदेशसभा सदस्यमा चुनाव लड्न नमान्दा काँग्रेस नेताहरूले मुख्यमन्त्रीकै दाबी गर्न सकिने आश्वासन दिएका थिए । 

बागमती प्रदेश सभापति तथा मकवानपुर २ ख बाट निर्वाचित ईन्द्रबहादुर बानियाँलाई भावी मुख्यमन्त्रीका रुपमा काँग्रेसले चर्चा गरिरहँदा एकाएक मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङ पनि दाबेदारका रुपमा देखिएका छन् । काँग्रेस संस्थापन र शेखर कोइराला पक्षबीच भागबण्डा हुँदा मुख्यमन्त्रीको दौडमा लामाले बाजी मार्ने सम्भावना प्रबल छ । बानियाँलाई देउवा पक्षले अगाडि सारे लामालाई शेखर कोइरालाहरूले साथ दिने सम्भावनालाई नर्कान नसकिने  देखिन्छ ।

२०४३ देखि राजनीतिमा सक्रिय तामाङ निर्माण व्यवसायी पनि हुन् । लामा २०५४ म गाविस अध्यक्ष बनेका थिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रियपात्र डा. प्रकाशशरण महत, सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङलाई अघि सार्न सहमत त थिए नै, थपिए नेपाली काँग्रेसका पुराना नेता, पूर्वमन्त्री एवं सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेत । 

‘सिन्धुपाल्चोकमा एक्लै लड्न सक्छु, माओवादी चाहिन्न’ भनेर अड्डी कसेका बस्नेत नुवकोटमा बहादुरसिंह लामा तामाङलाई प्रदेशमा उम्मेदवार बनाइएपछि गठबन्धनमा सक्रिय भए, माओवादीलाई पनि जिताए र आफू पनि जित्दै सिन्धुपाल्चोकमा एमालेलाई निल गरिदिए । अहिले बस्नेत खुलेर लामाका पक्षमा लबिङमा छन् । बस्नेतको समर्थन लामालाई नै छ ।

महतले मकवानपुर आएर भावी मुख्यमन्त्री भनेर बानियाँका पक्षमा भाषण गरे पनि पार्टीमा शेखर कोइराला समूहलाई मिलाउनु पर्नेलगायतका बानियाँका आन्तरिक कमजोरीसँगै चिसिएको सम्बन्धका कारण बहादुरसिंह लामा तामाङका पक्षमा लबिङमा उत्रिएको बालुवाटार स्रोतले बताएको छ । 

तस्बिर समाचार


गल्छी–त्रिशुली–मैलुङ्ग–रसुवागढी सडक आयोजना अन्र्तगत विदुर नगरपालिकाको पिपल्टारमा गत हप्ताबाट सुरु भएको निर्माण कार्य । आयोजना सुरु भएदेखि यस क्षेत्रमा सडक निर्माणको कामले गती लिन सकेको थिएन । 

बागमती प्रदेश सभामा नुवाकोटबाट चार मात्रै

विदुर । समानुपातिकबाट बागमती प्रदेशमा भने कुनै पनि दलबाट नुवाकोटका उम्मेदवाहरू चुनिएका छैनन् । बागतमी प्रदेश सभामा यो पटक नुवाकोटबाट प्रत्यक्ष निर्वाचित भएका चार जनाले मात्रै प्रतिनिधित् गर्ने भएका छन् । 

आइतवार राजनीतिक दलहरूले बुझाएको नामावली अनुसार कुनै पनि पार्टीबाट नुवाकोटका उम्मेदवार छैनन् । प्रदेश सभामा सबै राजनीतिक दलबाट गरी नुवाकोटका ४२ जना उम्मेदवार बन्द सूचीमा थिए । बागमती प्रदेशमा समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत नेपाली काँग्रेसका १२ जना, नेकपा एमालेका १४ जना, नेकपा माओवादी केन्द्रका ७ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना, हाम्रो नेपाली पार्टीका ४ जना र नेमकिपाका २ जना निर्वाचित हुन्छन् ।  

संघीय सदन प्रतिनिधि सभामा नुवाकोटबाट प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली गरी ५ जना नुवाकोटबाट निर्वाचित हुदा प्रदेश सभामा भने प्रत्यक्षबाट जितेका चार जना मात्रै सांसद छन् । नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका राधिका तामाङ, १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित नेपाली काँग्रेसका रमेशकुमार महत छन् । त्यस्तै नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना र २ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित नेपाली काँग्रेसका बहादुरसिंह लामा तामाङ छन् ।

नुवाकोटबाट प्रदेशमा समानुपातिक तर्फ बढी मत नेपाली काँग्रेसले पाएको थियो । काँग्रेसको ३६ हजार ३३७,  एमालेको ३६ हजार २५०, माओवादी केन्द्रको २९ हजार ६९२, राप्रपाको १० हजार १७३, एकीकृत समाजवादीको १ हजार ५३८ मत छ । 

समानुपातिक निर्वाचन प्रणालीमा नुवाकोटका प्रतापसिंह लामा तामाङ काँग्रेसको माथिल्लो क्रमसंख्यामा रहेका कारण उनी प्रदेश सभामा चुनिने सम्भावना थियो । अन्य राजनीति दलले समेत सूचीलाई अन्तिम रुप दिने भन्दै हेरफेर गरे । दलले निर्धारण गरेको प्राथमिकता मिचेर प्रतिनिधिसभा र प्रदेशसभामा तलतिर भएका नाम पेस  गरेपछि निर्वाचित हुनेहरू क्रमसंख्या अनुसार 

समानुपातिक निर्वाचन प्रणालीमा नुवाकोटका प्रतापसिंह लामा तामाङ काँग्रेसको माथिल्लो क्रमसंख्यामा रहेका कारण उनी प्रदेश सभामा चुनिने सम्भावना थियो । अन्य राजनीति दलले समेत सूचीलाई अन्तिम रुप दिने भन्दै हेरफेर गरे । दलले निर्धारण गरेको प्राथमिकता मिचेर प्रतिनिधिसभा र प्रदेशसभामा तलतिर भएका नाम पेस गरेपछि निर्वाचित हुनेहरू क्रमसंख्या अनुसार नियमित परेका छैनन् ।

समानुपातिकबाट थपिए तीन सांसद, प्रतिनिधि सभामा नुवाकोटबाटै पाँच जना

 डा. प्रकाशशरण महत

विदुर । प्रतिनिधिसभामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरूको संख्या पाँच पुगेको छ । प्रत्यक्षबाट निर्वाचित दुई जना र समानुपातिबाट तीन जना नुवाकोटबाट प्रतिनिधि सभामा प्रतिनिधिा रुपमा चुनिएका हुन् । प्रत्यक्षमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट एकएक जना निर्वाचित भएकोमा समानुपातिबाट काँग्रेसका दुई जना र माओवादी केन्द्रका एक जना निर्वाचित भएका छन् । 

महिलाको संख्या प्रत्यक्षबाट कम निर्वाचित भएपछि महिला बढी चुनिएकोमा नुवाकोटकै दुई जना परेका छन् । यही व्यवस्था अनुसार नुवाकोटबाट दुई जना महिला प्रतिनिधि सभा सदस्य बनेका हुन्  । त्यसै गरी एक जना पुरुष सांसदको कोटा पनि नुवाकोटले नै पाएको छ । नेपाली काँग्रेसका तर्फबाट समानुपातिकको बन्द सूचीमा रहेको डा. प्रकाशशरण महत, सीता मिजार र नेकपा माओवादी केन्द्रका बिमला सुवेदी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । राप्रपाका तर्फबाट समानुपातिकमा रहेका नुवाकोटका डा. प्रकाशचन्द्र लोहनीलाई भने निर्वाचित हुनका लागि मत पुगेन । उनी खस आर्य सूचीको दोश्रो नम्वरमा थिए, पहिलो नम्वरमा रहेको मात्रै उनको पार्टीबाट समानुपातिकमा निर्वाचित भएका छन् । 

काँग्रेसका डा. प्रकाशशरण महतको नाम खस आर्य समुहको पहिलो नम्वर थियो । त्यस्तै, काँग्रेकै सीता मिजारको नाम दलित समुहको तेश्रो नम्वरमा थियो । माओवादी केन्द्रका बिमला सुवेदीको खस आर्य समुहको दोश्रो नम्वरमा नाम थियो । एमालेले तयार गरेको बन्द सूचीमा समावेश भएका नुवाकोटका नेताहरूको क्रमसंख्या निक्कै पछाडी भएका कारण कोही पनि समानुपातिक तर्फबाट समेत निर्वाचित हुन सकेनन् । 

बिमला सुवेदी
नुवाकोटबाट समानुपातिकमा सबै भन्दा बढी मत नेपाली काँग्रेसले लिएको थियो । काँग्रेसले ३५ हजार ८३६ मत ल्याएको छ । नेकपा एमालेले ३१ हजार ५१५ मत ल्याएको छ । नेकपा माओवादी केन्द्रले २५ हजार ५६१ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार २८३ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ४५३ मत ल्याएको छ । समानुपातिकतर्फ नेकपा एकिकृत समाजवादी पार्टीले प्रतिनिधिसभा तर्फ ९५८ मत मात्र ल्याएको छ ।

यसै बीच, आफैंले बुझाएको बन्दसूचीको क्रम मिचेर राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । दलहरूले आफैं निर्धारण गरेको प्राथमिकता मिचेर प्रतिनिधिसभा र प्रदेशसभामा क्रमसंख्याको तलतिर भएका नाम आयोगमा पेस गरेका हुन् । यस अघि आयोगमा पेस भएको सूचीलाई हेरपेश गर्दै दलहरूले आफु र आफ्ना नेता अनुकुलका नामलाई अन्तिम रुप दिएका छन् । 

सीता मिजार

यस विषयमा भने नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले एक दिन अघिनै आफ्नो धारणा सार्वजनिक गरेका थिए । शनिवार नै केसीले अहिलेको अवस्थामा आएका चुनौतीहरूलाई समाधान गर्नेगरी समावेशीतालाई ध्यानमा राखेर समानुपातिक सांसदहरूको सूची टुंगो लाग्नपर्ने बताएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि पत्रकाहरूसंग कुराकानी गर्दै नेता केसीले भने, ‘अहिले हामीमाथि जुन चुनौती आएका छन् । त्यसलाई सम्बोधन गर्न समावेशी संरचनालाई ख्याल गरेर अन्तिम निर्णयमा पुगौं भन्ने मेरो भनाई छ ।’ अहिलेको समग्र परिस्थिति समावेशी चरित्रलाई कसरी संयोजन गर्न सकिन्छ भन्नेबारेमा बैठकमा महामन्त्री गगन कुमार थापाले भनाई राखेको उनले जानकारी दिएका थिए । 

तस्बिर समाचार


बजाज मोटरसाइकलको नुवाकोट, रसुवा र धादिङ जिल्लाका लागि आधिकारिक विक्रेता स्पीड अटो इन्टरप्राइजेज बट्टारले नुवाकोट जिल्लाको खरानीटार स्थित अमरज्योती माविका विद्यार्थीहरूलाई गत हप्ता स्टेशननरी सामाग्री वितरण गर्दै । कम्पनीले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीहरूलाई मासिक रुपमा फरक फरक विद्यालयमा पुगी झोला, न्यायो कपडा र स्टेशनरी सामाग्रीहरू उपलब्ध गराउदै आएको छ । 

तस्बिर समाचार


शनिवार बट्टार सहकारीको २७ औं बार्षिक साधारण सभामा सम्मानति भएका पुर्व अध्यक्ष, कर्मचारी लगायतका (माथी), सम्मान पत्र प्रदान गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, जिल्ला सहकारी संघ नुवाकोटका सचिव प्रकाश अधिकारी (तल) । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको ११ औं साधारण सभामा


सचिव जगदीश खनालको प्रतिवेदन

अध्यक्षज्यू, 

कार्य समितिका पदाधिकारी, सदस्य, यस शाखाका सम्पूर्ण साधारण सदस्य मित्र लगायत सम्पूर्ण सहकर्मी साथीहरू ।

सर्वप्रथम आज मिति २०७९ साल मंसीर २६ गते विदुरमा हुँदै गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको साधारणसभामा उत्सुकतापूवर्क सक्रिय सहभागिता जनाउनु हुने सबैमा जिल्ला शाखाको तर्फबाट हार्दिक स्वागत एवम् न्यानो अभिवादन टक्र्याउँछु । 

आजको गरिमामय यो सभामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको महाअभियानमा होमिँदै दिवंगत हुनुभएका पत्रकारप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । यसैगरी सबै प्रेस स्वतन्त्रताप्रेमी अग्रजहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

महासंघको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता आन्दोलनमा भौतिक, आर्थिक एवम् नैतिकरूपमा सहयोग गर्ने सबैप्रति केन्द्रीय समितिको तर्फबाट यो गरिमामय साधारणसभामा हार्दिक आभार प्रकट गर्दछु । महासंघ जिल्ला शाखा नुवाकोटको सातौं अधिवेशनबाट निर्वाचित नेतृत्वले जिम्मेवारी सम्हालेको साढे एक वर्ष व्यतीत भइसकेको छ । यस अवधिमा महासंघका केही राम्रा उपलव्धि र गर्न बाँकी कार्यहरूको सन्दर्भ यहाँहरूसमक्ष राख्न पाउँदा खुशी लागेको छ । सातौं अधिवेशनमा उत्पन्न विवाद र दोहो¥याएर गर्नुपरेको मतदान र त्यसबाट उत्पन्न परिस्थितिका कारण एक वर्ष यस शाखाको कार्यालयमा तालाबन्दी भएको चुनौतीबीच जिम्मेवारी ग्रहण गरेको तथ्यसमेत अवगत गराउन चाहन्छु । 

यो अवधिमा सामूहिक प्रयत्नमार्फत अहोरात्र खटेर सबै चुनौती र समस्याको समाधान गर्ने प्रयास भएको छ । यस बीचमा २०७९ साल बैशाखमा स्थानीय तह निर्वाचन र २०७९ मंसीरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भइसकेका छन् । यस वर्ष निर्वाचन वर्ष भएका कारण महासंघले गर्नु योजना तय गरेका कत्तिपय काम र योजनाहरू थाती रहदै आएका छन् । मंसीर ४ गतेको निर्वाचन सकिए लगत्तै हामी शाखाका नियमित गतिविधि र भावी योजना साकारा पर्ने अभियानमा जुटेका छौं ।  

नेपाल पत्रकार महासंघको छ दशक लामो इतिहास र त्यससंगै माला गासिएको जिल्ला शाखा नुवाकोटको इतिहास पनि लामै बनिसकेको छ । 

२०५६ सालको प्रारम्भिक समितिदेखि अहिलेसम्मको २३ वर्षे अवधिमा हामीले पनि थुप्रै आरोह र अबरोह पार गर्यौं । नेपाल पत्रकार महासंघ, नेपालको पत्रकारिता अनि यस जिल्ला शाखा नुवाकोट यत्तिकै यहाँसम्म आइपुगेको छैन । सर्वप्रथम त, हाम्रा अग्रजहरू नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका संस्थापक तथा पुर्व अध्यक्षहरू एवं हाम्रा अभिभावकहरूलाई स्मरण गर्न चाहान्छु ।

अग्रज पत्रकारहरूको सम्मान र कदर : 

नेपालको पत्रकारिताको ईतिहासमा नुवाकोटको योगदान पनि कम आँक्न मिल्दैन । झण्डै आधा शताब्दी अघिदेखि ब्यवयायिक रुपमा पत्रकारिताको सुरुवात भएको नुवाकोटमा नेपाल पत्रकार महासंघको ईतिहास भने केही ढिला गरेर जोडिएको छ । दुई दशक भन्दा बढि समयको संगठनात्मक स्वरुपको बीचमा पत्रकारहरूको हकहित, संरक्षण र हौसलाका लागि विभिन्न प्रयासहरू भएका छन् । कुनै न कुनै समस्याका कारण कार्यान्वयनमा नआएका अघिल्ला कार्य समितिले सुरु गरेको कामलाई अहिलेको नेतृत्वले सम्पन्न पार्दै ल्याएको छ । धेरै पहिला नै कार्य समितिले निर्णय गरेको लगनशील र आफ्नो जीवनका स्वर्णिय समय यस पेशामा खर्चेर पेशाको गरिमा उँचो पारेका पत्रकारहरूको सम्मान तथा पुरस्कारलाई २०७५ साल मंसीर २८ गतेबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले सुरुवात गरेको छ । र यसले निरन्तता पाउदै आएको छ । यो अमुल्य अवसर हाम्रो पुस्ता र हाम्रो समयको जिम्मेवारीमा परेकोले हामी सोही अनुरुप निर्वाह गर्ने कोशिषमा छौं । 

सबै पुरस्कारको राशी ११,१११।– (एधार हजार एक सय एधार रुपैयाँ) रहेको छ । महासंघले स्थापना गरेको पुरस्कारलाई थप उँचो बनाउनका लागि सहयोगी सञ्चार गृह र नागरिक समाजले आर्थिक योगदान गर्दै आउनु भएको छ । २० वर्ष भन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका दीर्घ सेवा सम्मान, यस शाखाको प्रारम्भिक समितिका संयोजक स्वर्गिय पत्रकार मोहनविक्रमध्वज जोशीको स्मृतिमा स्थापना भएको पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य नुवाकोट जिल्लाबाटै सञ्चालन भइरहेको अनलाईन पत्रिका डबली खबर डटकमले गर्दै आइरहेको छ । त्यस्तै, नुवाकोटका पुराना पत्रकार स्वर्गिय रामकृष्ण प्रधानको स्मृतिमा यस शाखाले स्थापना गरेको रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारको राशी सौजन्य नुवाकोट जेसिसले गर्दै आएकोमा यस वर्षबाट विदर नगरपालिका वडा नं. २ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पुरस्कार राशी सौजन्य गरेको छ । साथमा महिला पत्रकारिता पुरस्कारको राशी सौजन्य नुवाकोटबाट प्रकाशन हुने त्रिशुली प्रबाह साप्ताहिकले गर्दै आएकोमा यस वर्ष नुवाकोट जिल्लाबाट प्रकाशन हुने नुवाकोट पुकार साप्ताहिकले गरेको छ ।  

हालसम्म सम्मानित र पुरस्कृत हुने पत्रकारहरू :

१. सञ्चार उद्यमी सम्मान 

क. २०७६ सालमा पत्रकार माधवप्रसाद खनाल 


२. दीर्घ सेवा सम्मान

क. २०७५ सालमा पत्रकार शिब देवकोटा

ख. २०७६ सालमा पत्रकार किरणप्रसाद अधिकारी

ग. २०७७ सालमा पत्रकार शरण उत्सुक सापकोटा

घ. २०७९ सालमा पत्रकार दिनेश आचार्य


३. स्वर्गिय पत्रकार मोहनविक्रमध्वज जोशीको स्मृति पत्रकारिता पुरस्कार :

क. २०७५ सालमा पत्रकार देबचन्द्र भट्ट

ख. २०७६ सालमा पत्रकार नवदीप श्रेष्ठ

ग. २०७७ सालमा पत्रकार बिष्णु तारुके

घ. २०७९ सालमा पत्रकार राजकृष्ण श्रेष्ठ


४. स्वर्गिय रामकृष्ण प्रधानको स्मृति पत्रकारिता पुरस्कार :

क. २०७५ सालमा पत्रकार भोलाराज पौडेल

ख. २०७६ सालमा पत्रकार रामहरि गजुरेल

ग. २०७७ सालमा पत्रकार रबिनप्रसाद थपलिया

घ. २०७९ सालमा पत्रकार श्रीराम अधिकारी

५. महिला पत्रकारिता पुरस्कार 

क. २०७५ सालमा पत्रकार भगवती लामा

ख. २०७६ सालमा पत्रकार बसुधा केसी

ग. २०७७ सालमा पत्रकार शक्तिमाया तामाङ

घ. २०७९ सालमा पत्रकार संगीता पनेरु

यसमा अझ कार्यक्षेत्र, आवश्यकता र विधा हेरेर पुरस्कार थप गर्न‘ पर्ने भएकोले पत्रकार महासंघ नुवाकोट शाखाले आवश्यक गृह कार्य गरिरहेको थियो । पोहोर साल पुरस्कारको राशी बृद्धिका साथै पुरस्कार राशीका लागि अक्षय कोष स्थापनाका लागि समेत हामी क्रियाशिल थियौं, तर विश्व महामारी कोभिड–१९ (नोबेल कोरोन भाइरस) का कारण हाम्रो यो प्रयास अवरुद्ध भयो । 

सदस्यता : 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटमा अहिले साधारण सदस्यहरू १७४ जना छन् । २०७४ साल असार ४ गते सम्पन्न छटौं अधिवेशनसम्म १३९ जना सदस्य रहेकोमा कार्यसमितिले त्यसमा छाटकाँट गरेर १०२ बनाएको थियो । 

तर सातौं अधिवेशनमा आइपुग्दा सदस्य संख्या बढेर १७४ पुगेको छ, जसमा केही गैर पत्रकार र पत्रकारिता पेशामै नरहेकाहरूले सदस्यता प्राप्त गरेका छन् । बर्षेनी शुद्धिकरणको निर्णय हुँदै आएको र कार्यान्वय नभएको यस शाखाको अमिलो स्मरणलाई हामीले सच्याउने प्रयास हामीले गरिसकेका छौं, अधिवेशनको बेलामा उत्पन्न हुने विवाद र त्यो विवाद समाधानका नाममा हुने गैर पत्रकार सदस्यता नविकरण र नयाँ सदस्यता प्राप्त हाम्रा लागि चुनौती बनेका छन् । तर पनि यस पटक नुवाकोट शाखाको सदस्यतामा ब्यापक शुद्धिकरण आबश्यक छ । 


भावी योजना : 

क. 

२०५९ साल साउन ५ गते तत्कालिन शाखा सभापति विश्वामित्र खनालको अध्यक्षतामा सम्पन्न बैठकले नेपाली पत्रकारिताका भिष्मपिता नुवाकोटका पुत्र बालकुमुन्ददेव पाण्डेको स्मृतिमा पत्रकारिता कोष स्थापना गर्ने र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

बार्षिक एक जनालाई ५०१ रुपैयाँ सहित पुरस्कार दिनका लागि तत्कालिन समयमा सुरेन्द्रराज अधिकारी संयोजक, विश्वामित्र खनाल र रामचन्द्र भट्ट सदस्य रहेको समिति गठन गरेको देखिएको छ । 

यो निर्णय कार्यान्वयका लागि प्रयास गर्नुपर्ने र पुरस्कारको राशी बृद्धि गर्नका लागि छलफल गरिनुपर्ने देखिएको छ । साथै वितरण भइरहेका अन्य पुरस्कारहरूलाई स्थायीत्व दिनका लागि र नियमित गराउनका लागि अक्षय कोष स्थापना गर्नुगर्ने छ । 

ख.

२०६२ साल बैशाख २२ गते अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको दिन (मे ४) मा यस शाखाले नागरिक आन्दोलनको पक्षमा, तत्कालिन व्यवस्था सुधारका लागि र प्रेस प्रतिकुल अवस्थाको विरोधमा सुरु गरेको ‘संघर्ष’ नामक मुखपत्रको ईतिहास अलग्गै छ । त्यस बेलामा सडक आन्दोलनमा ओर्लिएका जुझारु अग्रज पत्रकारहरूले सडकमै पत्रिका छाप्ने प्रेस मेसिन जडान गरे, सकडमै समाचार संकलन, लेखन, सम्पादन तथा अन्य प्रक्रृया सम्पन्न गरेर ‘संर्घष’ प्रकाशन गरेका थिए । पत्रकारहरू सञ्चार सामाग्री त्यस पनि पत्रिका छाप्ने मेसिन र कम्प्युटर सहित सडकमा उत्रिएर आफ्नो नियमित कर्म गरेको नेपालको पहिलो घटनाले यस शाखाको छवी अनि तत्कालिन पत्रकारहरूको पेशाप्रतिको त्याग र समर्पण देशै भरी प्रशंसनिय रुपमा प्रस्तुत भएको थियो । ‘संर्घष’को दोश्रो संस्करण २०६४ साल फागुन १७ गते पत्रकार पुरुषोत्तम लम्सालको संयोजनमा प्रकाशन भएको देखिएको छ । त्यसपछि गुमनाम बनेको ‘संर्घष’लाई यस शाखाले आफ्नो आधिकारिक मुखपत्रको रुपमा घोषणा गर्दै त्यसलाई निरन्तरता दिइनुपर्ने छ ।  

ग. 

नुवाकोटको पत्रकारिता, पत्रकार अनि यो पेशा, हामी पेशाकर्मीसंगका विभिन्न विषय, पक्षका बारेमा अध्यायन अनुसन्धान गर्नका लागि हालसम्म लिखित दस्तावेज नभएकोले दस्तावेजकै रुपमा प्रस्तुत गर्ने गरी नुवाकोटको पत्रकारिताको स्मारिका प्रकाशनमा ल्याउनुपर्ने छ । 

घ.

पत्रकारितामा विद्यार्थीहरूको आकर्षण बढाउनका लागि र आधारभुत पत्रकारिता तालिम सञ्चालनका लागि शाखाले नियमित कार्यक्रम र विशेष योजना तय गरेर अभियानका रुपमा सञ्चालन गनुपर्ने छ । 

ङ.

नुवाकोटमा कार्यरत पत्रकारहरूले आफु बिनापारिश्रमिक काम गर्नुपरेको, तोकिएको पारिश्रमिक उपलब्ध नभएको भनेर यस शाखामा गुनासो वा उजुरी दिएका छैनन् । तर पनि त्यो समस्या नुवाकोट जिल्लामा विद्यमान छ । समयमा तलब नपाउने देखि न्युन ज्यालामा काम गर्नुपर्ने यहाँका पत्रकारहरूको समस्या हो । यसको निराकरणका लागि शाखाले आवश्यक पहल गर्नुपर्ने र साथै साना लगानीमा सञ्चालित र पत्रकार आफै सञ्चालक रहेका मिडियाको अवस्थाको अनुगमन, मुल्याङ्कन र सहयोगका लागि पनि शाखा केन्द्रित हुनुपर्ने छ । साना लगानीका सञ्चार माध्यम, त्यसमा पनि पत्रकार आफै मालिक रहेका सञ्चार माध्यमहरूको निरन्तरताका लागि यस शाखाले रणनीतिक योजना बनाउनु पर्ने छ । 

आफ्नै खर्चमा सञ्चार सामाग्री किनेर समाचार संकलन, लेखन र सम्प्रेषण गर्दै आएका पत्रकारहरूलाई सञ्चार सामाग्री सहायता गर्नुपर्नेछ । साथै सूचना विभागबाट जारी हुने पत्रकार परिचय पत्र लिनका लागि जिल्लमै शिविर सञ्चालनका लागि प्रयास गर्नु पर्नेछ ।

२० हजारले गरे दुप्चेश्वर मेला अवलोकन


रामती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ राउतबेँसीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यो वर्षको मेला सम्पन्न भएको छ । यही मंसीर १७ गते एकादशीबाट सुरु भएको मेला उत्साहका साथ शनिबार द्वितीयाको दिन सम्पन्न भएको हो । पशुपतिनाथकै रूपमा परिचित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको दिन विशेषरूपमा मेला लाग्ने गाउँपालिका अध्यक्ष एवं दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष शंकरबहादुर थापाले बताए । कोरोना महामारीका कारण पछिल्ला दुई वर्ष हुन नसकेको मेलामा यस वर्ष २० हजारभन्दा बढीले अवलोकन गरेको पुजारी भगवानहरि धितालले बताएका छन् । धान्य पूर्णिमामा दिन भने मेलामा झण्डै सात हजारभन्दा बढी भक्तजनको सहभागिता थियो । करिब चार सय वर्षअघि राउतबेँसीका स्थानीय वासु तामाङको गाई सूर्यमती (तादी) नदी किनार छेउको भिरमा पुगेर बच्चा जन्माई भगवान्लाई दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको रूपमा पुज्दै आइएको छ ।

‘दुप्चेश्वर क्षेत्र विकास कोष’का कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार गाईले दूध चढाइ बसेकाले सुरुमा दुधेश्वर महादेवको स्थानसमेत भनिने गरेको र पछिल्लो समयमा अपभ्रंश हुँदै दुप्चेश्वर महादेवको नाम रहन गएको हो । समुद्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेवनबाट छट्पटिएका महादेव शिव काठमाडौंको पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड पुगेको किंवदन्तीसमेत छ ।

दुप्चेश्वर मेलाको चिनोका रूपमा बाँस र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नुलगायत हस्तकलाका सामग्रीको कारोबार हुने गरेको छ ।

फेरिदै जात्राको स्वरुप

२०६३ सालको जात्रा
काठमाडौंबाट समेत नजिक रहेको, यातायातको सहज पहुँचका कारण दुप्चेश्वर महादेवस्थान आन्तरिक मात्रै नभई बाह्य पर्यटकहरूका लागि समेत आर्कषणको केन्द्र रहेको बुझाई आम जिल्लावासीहरूमा छ । दुप्चेश्वर महादेवस्थानको पहिचान भएको मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रा नुवाकोट जिल्लाकै पहिचनाका रुपमा देखिएको छ । धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातीहरू ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोकसाँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरूको लर्को यसको अर्को आकर्षण हो ।

पहिलाको दुप्चेश्वर जात्रा र अहिलको जात्रामा केही परिर्वतन भने आएको छ । पहिला रातनै यही बिताउने गरी हज्जारौं धार्मिक पर्यटक तथा भक्तजनहरू आउने गरेका थिए भने अहिले महादेवको दर्शन गरेर फर्कनेहरूको संख्या बढी छ । यातायताको सहज पहुँच र विकासका कारण यस्तो भएको अनुमान गरिएको छ । र पनि बर्षेनी जात्रामा आउनेहरूको संख्यामा वृद्धि हुँदै आएको छ । जात्राको मुख्य आकर्षको रुपमा रहेको लामा तथा झाक्रीहरूको उपस्थिति र सहभागिमा भने हरेक वर्ष कमी हुँदै आएको छ । केही वर्ष अघिसम्म पनि हप्तौ लगाएर नाँच्दै जात्रा आउने झाक्रीहरू अब फाट्टफुट्ट सहभागी हुन थालेका छन् । यो सिप भएकाहरूको कमी र जात्राप्रति टुट्दै गएको आम मोहका कारण यसो भएको अनुमान गरिएको छ । पुस्तौं देखि परम्पराका रुपमा विकास भईआएको यस चलनलाई मर्न नदिन युवाहरूले अहिले चासो व्यक्त गर्न थालेका छन् ।

कुनै यस्तो बेला थियो, रिसइवी साध्ने थलोको रुपमा यो दुप्चेश्वर महादेवको जात्रा विकास भएको थियो । जात्रा आउनेहरूले तीन/चार दिनको बाटो समय निकाल्नु पर्ने थियो । पहरामा रहेको मन्दिरमा पुग्ने बाटो व्यवस्थित थिएन । तर अहिले यि सबै कुराहरूको अवस्था फेरिएको छ । स्थानीय सरकार स्थापना भएसंगै कला, संस्कृति र ईतिहास संरक्षणको प्रयास भएको छ ।

यो जात्रा साँस्कृतिक रुपमा मात्रै नभई आर्थिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनसम्म जात्रामै विक्रि हुँदा दोहोरो आर्थिक चहलपहल देखिएको छ । यहाँको उत्पादनहरूले निक्कै टाढाटाढासम्म बजार पाएको छ । जात्राबाट बाँस तथा निगालोका थुन्चे, डोका, चाल्नु, डालो, भकारी जस्ता हस्तकालको सामाग्री निर्यात हुँदै आएको छ । स्थानीय कृषि उत्पादन, भेडाच्याङ्ग्राका रौंबाट तयार भएका परम्परागत पोशाकहरूले राम्रो मुल्य सहित बजार पाइरहेको छ ।

दुप्चेश्वर उत्पत्तिका दुई कथा

दुप्चेश्वर मन्दिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ केरेजुङ्गमा अवस्थित छ । भक्तजनको मनोकांक्षा तुरुन्तै पुरा गर्ने देवका रुपमा परिचत दुप्चेश्वर महादेवको उत्पत्तिको प्रसङ्ग र ईतिहास अनौठो रहेको छ । प्रचलनमा रहेका केही किम्वदन्ति मध्ये चार सय वर्ष पहिला स्थानीय बासे तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुर भिरमा शिवलिङ्गमाथी गाईले चारवटै थुनबाट बलिन्द्र धारा दुध चढाइरहेको भेटिएको पौराणिक कथनलाई धेरैले सुनाउने गरेका छन् । त्यो धान्यपूर्णिमाका दिन रहेकोले त्यसबेलादेखि सोही अवसरमा विषेश पुजाआजा र जात्रा लाग्दै छे । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुसी हुन्छन् भनेपछि यो पर्व हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।

अर्को पौराणिक कथन अनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष पिएर रन्थनिएका श्री महादेवले गोसाइँकुण्ड जाँदा यही मार्ग प्रयोग गरेका थिए । त्यसबेलामा अहिलेको दुप्चेश्वर महादेव रहेकै स्थानमा विश्राम लिएको जनश्रुती छ । पछिल्लो समय जात्रा आउने र दर्शन गर्नेहरूको शैली र तरिकामा केहि फेरबदल आएपनि संख्यामा भने वृद्धि भएको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा बताउँछन् । ‘पहिला हिडेर जात्रा आउनुपथ्र्यो, त्यसले गर्दा बाटोघाटामा गीत गाउने, झाक्री आफ्नो परम्परागत नाँच प्रस्तुत गर्दै आउने अवस्था हुन्थ्यो’ थापा भन्छन्– अहिले यातायातका सुविधाका कारण यहाँ आउने भक्तजनहरू दर्शन गरेर त्यही दिनै फर्किने अवस्था छ, यसले गर्दा जात्राको शैलीमा केही फरक देखिएको छ ।’

दुप्चेश्वर मन्दिर आठसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको सुर्यमती अर्थात् तादी नदीदेखिनै बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरूले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । मन्दिर र यस वरपरको भौतिक संरचनाको संरक्षण र विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरू तल्लिन देखिएका छन् ।

दुप्चेश्वर मन्दिरको संरक्षण, विकास र प्रचारका लागि कोषको स्थापना भएको छ । २०७४ सालमा गाउँपालिकाले दुप्चेश्वर क्षेत्र विकास कोषको स्थापना गरेको छ । दुप्चेश्वर गाउँ कार्यपालिकाबाट तयार भएको कार्यविधि तथा नियमावली अनुसार सञ्चालित कोषको अध्यक्षमा गाउँपालिकाका अध्यक्ष नै हुने प्रावधान रहेको छ । यो साल परिर्वतन भएको नियमावली अनुसार उपाध्यक्षमा गाउँपालिका उपाध्यक्ष छन् ।

कोषका अध्यक्ष थापा विश्वस्तरमा प्रख्याती प्राप्त दुप्चेश्वर महादेवको संरक्षण र धार्मिक पर्यटकको आगमन 

बढाउन योजनाबद्ध रुपमा काम भइरहेको सुनाउछन् । ‘दुप्चेश्वर महादेव मन्दिर र यस परिषरलाई नुवाकोटको पहिलो पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि हामी लागि परिरहेका छौं’ अध्यक्ष थापाले भने ।

स्थानीय सरकारले पावनभुमी दुप्चेश्वर महादेव मन्दिर र यस परिषरको भौतिक विकासका लागि खास–खास योजना तयार गरिरहेको छ । 

हिन्दु र बौद्ध धर्मालम्वीहरूको बरोबरी आस्था रहेको र नेपालभरिबाटै भक्तजनहरूको ओइरो लागिरहेको दुप्चेश्वरलाई सहज र विकसित गर्न गुरुयोजना तयार गरेर अगाडी बढ्न लागेको छ । गाउँपालिकाका उपाध्यक्ष माकुरी तामाङ भन्छन्– ‘त्यसका लागि हामी गुरुयोजना निर्माण गर्नेछौं । यो तुरुन्तै कार्यान्वयमा आउने छ ।’

तस्बिर समाचार


विदुर नगरपालिका वडा नं. २ नुवाकोट दरवार परिषरमा पुर्व शिक्षक राजकुमार शाहीको ब्यक्तिगत लगानीमा निर्माण भएको संग्राहलयको अवलोकन गर्दै विदुर नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक कायस्थ (माथि) । उक्त संग्राहलयमा पुराना तथा परम्परागत दैनिक जीवनका प्रयोग हुने सामाग्रीहरू प्रर्दशनीमा राखिएको छ । आफ्नो घरमा तयार गरिएको संग्राहलयको बारेमा जानकारी दिँदै राजकुमार शाही (तल) । 

तस्बिर समाचार


विदुर नगरपालिका वडा नं. १० भैंसेमा शनिवार विहान दुई वटा बस ठोक्किँदा १८ जना घाइते भएका छन् भने ७ जना यात्रु सख्त घाइते भएका छन् । घाइते सबैको जिल्ला उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै बस रसुवाको बेत्रावतीबाट आएका थिए । त्रिशूली–बेत्रावती सडक खण्डमा पर्ने विदुर नगरपालिका– १० तिरतिरेभीरमा निर्माण कार्य भइरहेकाले सडक बन्द गरिएको थियो । सडक बन्द भएका कारण त्रिशूली नदीपारिको वैकल्पिक सडकबाट जानको लागि बा ४ ख ८८२ नम्बरको बस मोड्दै गर्दा सोही दिशा बेत्रावतीबाटै आएको अर्को प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानकारी दिए । प्रदेश ३ ०१००५ ख ९३५४ नम्बरको बस सडकमै पल्टेको छ । 

‘आफन्तले गिफ्ट दिएपनि साट्न मन लाग्थ्यो’


देवकी पौडेल

बागमती प्रदेश अध्यक्ष, महिला मानव अधिकारको लागि महिला, एकल महिला समुह

म १५ वर्ष पुगेर १६ लाग्या थियो बिबाह गरेर आउदा । बिबाह गरेर आउदा म पनि सानै थि । मेरो श्रीमान आर्मिमा हुनुहुन्थ्यो । घाँस काट्ने खेती गर्ने गरेर चल्दै थियो । त्यस्तै गरेर चल्दै थियो । म २० पुगेर २१, जेठबाट लाग्नै थियो । मेरो श्रीमान् बैशाखमा बित्नु भयो । मैले दुईटा बच्चा पाउदा म २० बर्षको थिएँ । नानीचाँही त्यहि १ बर्षको थिइन् मेरो चाँही । अब त्यतिखेर त भर्खर भर्खर श्रीमान् बित्दाखेरी त २१ बर्षको उमेर भएपनि मेरो जीवन सकियो अब यतिनै हो, अब मैले कसरी बच्चहरूलाई हुर्काउन सक्छु होला ? यिनीहरूलाई पढाउन सक्छु होला त ? म कसरी चाँही आफ्नो ईज्यतमा बस्न सक्छुृ होला ? भनेर मलाई त्यो पिडा लागिरहन्थ्यो । अनी त्यसै क्रममा अब बच्चाहरूलाई त मैले पढाउनै पर्छ भन्ने जस्तो लाग्यो । ६० सालमा मेरो श्रीमान् बितेपछि अनी ६१/६२ सालमा म चाँही बसाई सरेर विदुर नगरपालिकामै आएँ । आएर अब त्यतिखेरको दुःख त्यति खेरको भोगाई त्यति खेर समाजले हेर्ने दृष्टिकोण, आफ्न्तले हेर्ने दृष्टिकोण धेरै फरक थियो । अहिलेको र पहिलेकोमा । अब एक्लै हुँदा खेरी मेरो त त्यति खेर मेरो श्रीमान मात्रै बित्नु भको थिएन । मलाई धेरै साहारा दिने धेरै मेरो लागी सहयोग गर्ने मलाई हौसला दिने र मेरो सासु पनि बित्नु भको थियो । छोरा बितेकै २ बर्ष पछि । त्यहाँबाट अब देवरलाई पनि दाई बित्नी बित्तिकै अली साईक्रेटिक जस्तै भाथ्यो । अनी त्यहि क्रममा मेरो घरको बुवाले पनि घरमा बस्नु हुन्थेन । घर छोडेर हिड्नु भयो । 

त्यति खेरको अबस्था भन्या बालबच्चा र आफै मात्रै के, त्यो कुनै कुरा मलाई कसैले केही कुरा नराम्रो शब्दसित भने पनि आएर मेरो भर परिवारमा भन्छु । घरपरिवारमा यसलाई भन्छुनी त भन्नी मान्छे त्यति खेरको अबस्थामा थिएन । यसरी गर्दाखेरी खेती थियो बस्तु थियो मैले भैसी पालेको थिए । १० रुपैयाँ माना दुध बेच्थेँ । म घाँस काट्न जान्थे । अनी बट्टारको बस्ती थियो । ढिकुरेको खेत थियो । त्यहाँ म खेती गर्न जानु पथ्र्यो । म याबाट हिडेर जान्थें । हिडेर दिनभरी खेतमा आलु लगाउथ्यो । औषधि हाल्न पथ्र्यो । आलु गोड्नु पथ्र्यो । खेत रोपे खेत गोड्नु पथ्र्यो । त्यति गरेर घर फर्केर आउदा अब कोहिनकोही अब एकल महिला भनिएसी हेप्नी पनि हुन्छ नी । यसको श्रीमान् छैन यसको केही छैन यसलाई जे बोल्देनी हुन्छ जसो भन्देनी हुन्छ भन्ने हुन्थ्यो । दिनभरी काम गरेर आयो अनी बेलुका भएपछि बच्चाहरूलाई कस्ले के भनिराख्या हुन्थ्यो । उनीहरूले सुन्थे । ममी यस्तो रे त हो भनेर उनीहरूले भन्दाखेरी सारै रुन मन लाग्थ्यो । त्यतिखेर फलानुले यसो भन्यो तेरो मम्मी यसरी हिड्छे, तेरो मम्मी यस्तो गर्छे भनेर भन्छन् भनेर त्यो बच्चाहरूले भन्दा पनि बच्चाहरूको अगाडी भन्नी कुरा हुन्थेन उनीहरूलाई मैले भन्थे म हिड्न पर्छ, मैले कसैसँग बोल्न पनि पर्छ । र मेरो त्यो बाध्यता हो मेरो लागी बोलिदिने कोही छैन । मैले बोल्न पर्छ हिड्न पर्छ । तर तिमीरुलाई छोडेर र एक्लो बनाएर चाँही कैलेपनि हिड्नी छैन र नराम्रो काम गरेर हिड्नी छैन भनेर बच्चाहरूलाई भन्थे । 

त्यति भन्दै गर्दा पनि मलाई चाँही उनीहरूको अगाडी त भन्थे तर मलाई पिडाचाँही लाग्थ्यो त्यतिखेर । किन पिडा लाग्थ्यो भन्दाखेरी छोराछोरी लिएर सुत्थे छोराछोरीको बीचमा म आफै सुत्थे छोरो एकपट्टी छोरी एकपट्टी सुत्थे । तर कोही दिनचाँही समाजले हेर्ने दृष्टिकोण फरक भएर उनीहरूले भनेको शब्दले गर्दा उमेरको छिन्, बिबाह गरेर जान्छे । यसले बच्चाहरूलाई हेर्दिन । कोहिसँग म बोल्दमात्रै पनि नराम्रो शब्दहरू नै बोल्थे । कुनै कुरा उनीहरूले राम्रोसँग त्यहि शब्द बोल्दा पनि हुन्थ्यो, तर मसति त्यस्तो राम्रो व्यवहार देखाउदैन थिए । त्यहि शब्द उनीहरूले नराम्रोसँग बोल्थे अनि त्यतिखेर चाँहि म आफैलाई सोच लाग्थ्यो ओहो मैले जिन्दगी कसरी बिताउने होला कसरी काट्नी होला ? जती पछि भयो त्यति कठिनका दिनहरू आउदो रे’छ । समस्या बढ्ददो रे’छ । जसले मलाई पाल्छु सप्पै कुरा माया दिन्छु भनेर र अहिलेको चलन भएत १५÷१६ बर्ष उमेर भनेको त बालबिबाह हुन्थ्यो । अनि त्यति गरेर सबै थोक संरक्षण दिन्छु भनेर ल्याएको श्रीमानले त छोडेर जानु भयो भनेदेखि म त केही पनि हैन । म किन बाँच्न परेको होला भन्या जस्तै मलाई त्यति खेर एकदमै लाग्थ्यो । त्यो ज्यानको माया लाग्दैन थ्यो । 

त्यो समाजले हेर्ने दृष्टिकोण फरक भएको र समाजले गरेको ब्यबहारले गर्दाखेरी अनी त्यतिखेर म केका लागी बाँच्नु छ भनेर म दुई पट्टी बच्चाहरू लेर सुत्दा पनि म जुरुक्क उठ्थे । उठिसकेपछी ओहो मर्नी बेलामा त बच्चाको मुख हेरुनत भन्या जस्तो मलाई लाग्थ्यो । त्यतिखेर बत्ति बालेर हेरीसकेपछी चाँही अनी म मर्न जान सक्दिन थिए । बाउ त उसको अर्काले मारेर मर्यो, म आफै जानी जानी त्यस्तो गरेर मरे भने त यो बच्चको आत्माले कती श्राप देला । मैले मर्न हुदैन मम्मी बाँचेको भए पनि हामी सडकमा त हिड्न पर्दैनथ्यो नी पो भन्छन् कि यिनिहरूले भनेको जस्तो लाग्यो । अनी पटक पटक फर्केर आएर अनी बच्चाहरूसँग सुत्थे । 

त्यतिखेरको भोगाई, एकल महिलाहरू भनोने त जहाँ गएर जे गर्दा पनि हिंसामा पर्ने र त्यो हिंसा भोग्न पर्ने भनेको चाँही एकल महिलाले नै हो । एकल महिलाले जती हिंसा भोग्न पर्नी अरुले कसैले हैन । किन हुदैन राम्रो लाएर एकल महिला हिड्यो भनेदेखि राम्रो लुगा लायो, अलीकती हसिलो भएर हिड्यो भनेदेखि उ यो कोसँग गई काहाँ गएर आई, कोसित बसेर आएर यति खुसी भएर हिडेकी छे भनेर यही समाजले नै भन्छ । एकल महिलाहरूलाई अनी त्यहीबाट अब नराम्रो कपडा लाएर अहिले अलीकती मनमा पिर लिए र बसेको छ भनेदेखि त्यसमा फेरी के भन्छन् यसलाई देख्यो भनेदेखि साईत पर्दैन । यो सबै आफैले भोग्न पर्दा खेरी मलाई अब त्यसरी हेर्दा अब मैलेचाँही अब पछाडी त भने होला मलाई सुनाउथ्यो । तर मलाई सामुन्यमा चाँही भन्न सक्दैनथ्यो । म पहिला आफुले भोग्नी जती भोगी सकेपछी मैले सामाजिक अभियानमा लागेको पनि थिए । मैले गरेको पनि थिए । हिंसा गरे नराम्रो बोले भने कानुन पनि छ भन्ने पछि पछि भए पछि मैले थाहा पाएँ । पहिला कानुन नहुदाखेरी चाँही मैले ६० साल ६१, ६२, ६३ सम्म भोगी । ६४ बाट चाँही जब मैले एउटा कार्यक्रममा गएर आएपछी नत्र त्यो भन्दा पहलिा चाँही जोसुकैले जे भनेपनि मलाई आरोप लागाएपनि मेरै दोष भनेर म पनि भित्र पसेर रुन्थ्ये । 

बाहिर उठेर समाजको अगाडी बसेर भन्नी स्थिति मेरो थिएन त्यतिखेर । जब मैले एउटा संघसंस्थामा लागीसकेपछी अब चाँही मैले पनि भन्ने, सुनाउने ठाँउ छ भन्ने लाग्न थाल्यो । मैले पनि केहि गर्न सक्छु यिनहरूलाई भन्ने भएपछि म आफैले पनि औला ठड्याउन सक्ने भएँ । मानब अधिकारका लागी महिला एकल महिला संस्थाको अन्तराष्ट्रिय सम्मेलन हुने समय रहेछ, त्यसमा नुवाकोटमा पनि एकल महिलालाई कार्यक्रम छ भनेर आईसकेपछी हिमवन्ति नेपालको शिबकुमारी दिदि हुनुहुन्थ्यो । उहाँले एकल महिलाको १५ जनाको समुह बनाउनु भयो । अध्यक्षमा म आफै बसे अनी म त्यो ठाँउमा मलाई बुझ्नुनी थियो म आफै गए । अनी त्यहि गएर आएपछी मात्रै मैले महिलाहरूको लागी पनि कानुन बनेको रहेछ भन्ने थाहा पाएँ । हिंसा त यसै पनि भोग्न पर्छ हिंसा भोग्नी भनेको हामी छोरी मान्छे भएर गर्भदेखि हिंसा भोग्न पर्ने र त्यो भन्दा बढि एकल भएपछी भोग्न पर्ने रहेछ । 

कुनै कथा होईन म आफैले भोगेका कुराहरूचाँही त्यो सबै कुरा त्यसरी भोग्दै आएको कारणले गर्दाखेरी चाँही एउटा संघसंस्थामा लागेपछी आफुलेनै औले ठड्याएर कसैलाई मेरोलागी ‘ल बोल् त’ भनेर चन्न सक्नि त भईयो । अब त्यति खेरको समय र अहिलेको समय त धेरै फरक छ । त्यतिखेर रातो पनि लाएर हिड्न हुदैनथियो । अहिले त रातो लाउन पनि कसैले बन्देज गरेको छैन । मेरो श्रीमान ६० सालमा बित्नु भयो । मैले रातो लगाएको भनेको ७२÷७३ बाट मात्रै हो । त्यतिबेलाबाट चाँही टिका पनि लाउन थालँे । यो भनेको त  हाम्रो भात खुवाईमै दिएको चिज रहेछ । हाम्मीले लगाउन पाउने रंग नै रहेछ । रातो टिका लगाउनु हुदैन, रातो कपडा लाउनु हुदैन, माछा मासु खान हुदैन भनेर चाँही कुनै शास्त्रमा समेत लेखेको रहेनछ । हरूको लगाएको देख्दाखेरी उनीहरूले पोते लाउछन्, राम्रो लाउदा खेरी पहिला हैन अझैपनि लाग्छ हामी एकल महिलाहरूलाई नलाग्ने त हैन । ईच्छा लागेको चिज लागाएर हिडेपनि समाजले हेर्ने दृटिकोण फरकै हुन्छ । त्यहि भएर पनि सप्पैथोक एकल महिलाले अझै पनि गर्न पाएका छैनन् । सबै कुरा रातो लुगा लाउनै मन लाग्थ्यो, अर्काले गाएको देख्दा राम्रो लाउन मन लाग्थ्यो । मिठो खान पनि मन लाग्थ्यो । एकल महिलाको थाप्लोमा सप्पै कुरा जिम्मेवारी थियो । त्यो लाउनी र खानी भन्या चाँही आफ्नो कल्पनामा मात्रै रहन्थ्यो । रातो लाएर हिड्दा त्यो कुर्था सुरुवाल यत्ति रातो छ । यो रातो भएको किन लाउनी भनेर मलाई आफन्तले गिफ्ट किनेर दिएभनेपनि साट्न मन लाग्थ्यो । साटेर अर्कै रंगको लेराउथे । त्यो चाँही म आफैले पनि गरेको छु । अनी फेरि रातो लाएर हिड्न हुदैन भनेर अहिले जस्तो सबैतिर गएर देख्या पनि थिएन । फेरि रातो लाएर हिडी फलानीले भनेर भन्छन्की भन्ने डर लाग्थ्यो । अनि त्यही भएर लाउन मन लाग्थेन । 

केही भन्छन् की, मैले न यो बच्चाहरू छोडेरै हिड्न पर्नी पो हुन्छ की भन्या जस्तो लाग्थ्यो । लाउछु तर अहिले पनि दशैको टिका चाँही मलाई लाउन मन लाग्दैन । त्यतिखेर पहेलो अक्षता लगाइदिने चलन थियो । अब एकल महिलाले रातो लाउन हुदैन भनेर मेरो श्रीमान् बितेको बर्ष यसै लगाईएन अनी अर्को सालबाट चाँही मलाई टिका लाउन भनेर पहेलो अक्षता तयार भएको थियो । अरुलाई रातो अक्षता थियो । मलाई चाँही मम्मीले ल आईजो टिका लगाउन भन्दाखेरी मम्मी म पहेलो अक्षता लाउदिन म आजदेखि टिकापनि कहिल्यै लगाउदिन दशैको टिकामा म माईत आफन्ती भनेर जाँदापनि जान्न भने । मैले घरमा पनि लाउदिन, मैले घरमा टिका लगाएपनि मैले रातो लाउन थाले पछी चाँही दुर्गा पुजा गरेर आएपछी मेरो छोरीले दुर्गाको प्रसाद खाली निधार टिका लाईदिन हुदैन भनि र अनी मेरो छोरीले प्रसाद लागाइदिन्छे । म अरुलाई टिका लगाइदिन्छु । म टिका लाउदिन कसैसँगपनि । 

जत्ति मैले २०/२१ बर्षको उमेर देखि एकल भएर हिंसा भोगेर आएदेखि एकल महिला हुँदा पिडा कस्तो हुन्छ एकल महिलाको जिन्दगी कस्तो हुन्छ भनेर जती भोगेर आएको थिए नी अरुलाई सुन्दा कथा लाग्छ । मैले भोगैकै भएर चाँही अहिले मैले एकल महिलाहरूको लागी चाँही उनीहरूको अभियानमा उनीहरूलाई के छ कसो छ कसैले उनीहरूले भित्र एकदम पिल्छिएर बसेको हुन्छन् । बाहिर कसैलाई भन्न चाहदैनन् त्यही भएर मैले चाँही उनीहरूको लागी चाँही केही गर्न पाए हुन्थ्यो कति एकल महिलाको नागरिकता हुदैनन् । कत्ति एकल महिला आमाहरू अहिले पनि भत्ता ल्याईन्छ कोही बेला आफुलाई थाहै हुदैन कसले झिक्छ के गर्छन् भन्छन । अनी उनीहरूै अभियानमा चाँही मैले के गर्न सक्छु त । उनहरूको घाउमा मैले केही मलम लाउन सक्छु भनेर त्यहि अभियानमा मलाई गर्न पनि मन लाग्छ । म आफैले गर्या भएर पनि होला पहिला पनि १० रुपैयाँ माना दुध बेच्थ्ये । बस्तुलाई घाँस काटेर राखेर बच्चाहरूले टिफिन माग्दा ५ रुपैयाँ दिन्थ्ये भने म ५ रुपैयाँ गाडी भाडा तिरेर जान्थ्ये । त्यो भन्दात अहिले मलाई केही सहज छ । अनि त्यहि एकल महिलाहरूको अभियानमा हिडेर चाँही उनीहरूकै लागी काम गरिरहेको छु । एकल महिला भत्ता भनेको पनि दाल र चामल पु-याएर खाँदा खेरी पुग्ने नै रहेछ । पुग्छ पनि, अनी अब त्यहि भैदिए हुन्थ्यो भनेको जस्तो मलाई लाग्छ । अरु थोक त एकल महिलाहरूको चाँही समुह बनाएर गएको ठाँउमा आयआर्जन गर्नका लागी एकल महिलाहरूले चाहे भने देखि थोरै बजेट नगरपालिकाबाट हुन्छ की, वडाबाट हुन्छ की गाँउपालिकाबाट हुन्छ की त्यसरी छुट्टाएर एकल महिलाहरूको लागी चाँही काम गर्न सकिन्छ । हामीले हिंसा भयो भनेर भित्रै पिर लिएर बस्न चाँही नहुनी रेछ । हामीले भन्न पर्ने ठाँउमा गएर दिदिबहिनी है कुन ठाँउमा गएर भन्नु पर्छ मलाई यस्तरी हिंसा भयो भनेर भन्नै पर्ने रहेछ । 

नभनी बस्यो भने मनको कुरा कसैलाई थाहापनि हुदैन । बुढापाकाले भन्छन् । चिन्ताले गर्दा चित्तामा पु¥याउछ भनेको जस्तो । धेरै पिर, धेरै चिन्तामा बेपछि आफै नराम्रो हुनी आफैलाई चाँही असर पुग्नी गरी चाँही हुदो रहेछ । एकल महिलाहरूको लागी अझ पनि समाजले हेर्ने दृटिकोण चाँहि फरक भएको छैन । केहि चाँही भएको छ त। र पुरै भएको छैन । त्यसका लागी समाजबाट एकल महिला भनेर केसैले पनि हिंसा भोग्नु नपरोस् । एकल महिलाले आएर भन्न सक्नि भनेको चाँही अहिले मानब अधिकारको लागी महिला एकल महिला समुहमै आएर भन्न सक्नु हुन्छ । सके जिल्लाले गर्छ, नसके केन्द्र पु-याउछ । हाम्रो अफिस नुवाकोटको जिल्ला समन्वय समितिको कार्यालय भित्र छ । 

(महिला मानव अधिकारको लागि महिला, एकल महिला समुहको बागमती प्रदेश अध्यक्ष पौडेलसंग सम्पाद शर्मिला उप्रेतीले गरेको कुराकानीमा आधारित)

२०७९ साल मंसीर २६ गतेको सम्पादकीय

 लैंगिक समानतायुक्त समाज

घरेलु हिंसा, बेचबिखन, बलात्कार, हत्या मात्र महिला हिंसा होइनन् । महिला भएकै कारण सहभागिता र अवसरबाट वञ्चित हुनु पनि हिंसा नै हो । महिला हिंसाबारे चर्चा गर्दा बलात्कारबाहेक अन्य प्रकारका हिंसालाई पनि ध्यान दिन जरूरी छ । बलात्कारमै पनि वैवाहिक बलात्कारका अधिकांश घटना प्रहरीसम्म पुग्ने गर्दैनन् । त्यसबाहेक दिनहुँ हुने घरेलु हिंसा त झन् बढी लुकाइन्छ । अति नै भएपछि मात्र सार्वजनिक हुने र प्रहरीकहाँ पुग्ने गर्छन् । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा नै महिलालाई महिला भएकै कारण विभेद गर्ने हिसाबले अघि बढेको छ । फरक यत्ति हो त्यो कुराको महशुस महिलाले धेरै पछि मात्रै गरे । महिला हिंसा महिला वा बालिका विरुद्धको हिंसा हो । विशेषगरी महिलाको विरुद्ध अधिकार, श्रेष्ठता, महिला दुर्बलताको दृष्टिकोणको भावनाबाट उत्पन्न हुन्छ । महिला विरुद्ध हिंसा निर्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा भनिएको छ, ‘महिला विरुद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रूपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो, एक महत्वपूर्ण सामाजिक विकृति हो, जहाँ महिलालाई अधीनस्थ स्थितिमा र असहज परिस्थितिमा बाँच्न बाध्य पारिन्छ ।’ व्यक्तिबाट बलात्कार, घरेलु हिंसा, यौन उत्पीडन, एसिड आक्रमण, प्रजननमा जबर्जस्ती, महिला शिशु हत्या, भू्रण हत्या, प्रसूति हिंसा, दाइजोका कारण हिंसा, अपहरणद्वारा विवाह र जबर्जस्ती विवाह, बालविवाह, बहुविवाह, कुटपीट, मानसिक यातना आदि पर्छन् । राज्यतर्फ सैन्य योद्धाद्वारा हुने बलात्कार, यौन हिंसा र द्वन्द्वको समयमा यौन दासत्व, जबर्जस्ती गर्भपात, प्रहरी, सुरक्षाकर्मी र कार्यालयमा कार्यरत महिलाहरूमा हुने सांगठनिक हिंसा आदिलाई लिन सकिन्छ ।

हिंसालाई उत्प्रेरित गर्ने कारणमा उमेर, वर्ग, संस्कृति, जातीयता, धर्म, यौन झुकाव र उनीहरूको उत्पत्तिको विशिष्ट भौगोलिक क्षेत्र हुन सक्दछ । यसका अतिरिक्त नागरिक चेतनाको स्तरमा देखिएको कमि, गोप्यतामा रमाउने हाम्रो संस्कृति, औपचारिक शिक्षा प्राप्त भएको तर दीक्षा प्राप्त गर्न नसकेको हाम्रो वर्तमान हुन नसकेको कानूनी व्यवस्थाको कार्यान्वयन र अपराधीलाई कडा दण्ड सजाय लैङ्गिक हिंसालाई मलजल गर्ने अन्य कारण हुन सक्दछ । हिंसाका कारण, हामीले विवेचित गरेका हुन् कि त्योभन्दा फरक हुन्, त्यसले तात्विक फरक नराख्ला । यहाँ समाजको गन्तव्य भने सदैव हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । हामी आम पुरुष वर्गले पुरुष भएर होइन बावु, दाजु वा जीवनसाथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । मैले असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । जसरी आफ्ना छोरीको स्वतन्त्रता र स्वच्छन्दता मलाई अमूल्य छ, त्यसरी नै यी चेलीको दाजु वा जीवनसाथीलाई यिनको सुरक्षा र स्वाभिमान प्यारो हुन्छ । त्यस्तै महिला मित्रहरूले आमा, दिदी र जीवनसाथीको भावबाट सोच्नुपर्ने कुरा भनेको, कतै मेरो छोराले कसैको छोरीको बलात्कार त गर्ने छैन ? मेरो भाइको कारणले कुनै चेली हिंसामा त परेकी छैनन् ? मेरो जीवनसाथीले कार्यालय वा अन्य स्थानमा महिलामाथि दुव्र्यवहार त गरेको छैन ?

समग्रमा आम पुरुषले पुरुष र महिलाले महिला भएर होइन, मानिस भएर यी प्रश्नको उत्तर खोज्नुपर्छ । के सारा पुरुष पापी, क्रुर, अमानवीय र बलात्कारी मानसिकताका हुन्छन् त ? महिलामाथि यौनिक हिंसा किन हुन्छ ? कसले गर्छ यौनिक हिंसा ? समाजमा कैयौं परिवर्तन हुँदा पनि आखिर के कारण यौनिक हिंसामा कमी आउनुको सट्टा लगातार बढिरहेको छ ? सामाजिक न्याय, समानता र सम्मानको प्रत्याभूति दिने दाबी गर्ने कैयौं कानूनी पाना आखिर यौनिक हिंसा रोक्ने सवालमा किन यतिविघ्न निरीह बने होलान् ?

लैंगिक विभेदको अन्त्यका लागि हामीले तात्कालिक र दीर्घकालीन संघर्ष गर्नुपर्छ । तात्कालिक संघर्षको अर्थ अपराधविरूद्धको लडाइँ हो। त्यसका लागि उजुरीमा पहुँच, प्रभावकारी अनुसन्धानमा जोड, मुद्दा/पैरवीमा प्रभावकारिता आवश्यक छ । 

दीर्घकालीन संघर्ष समाजको संचरनात्मक परिवर्तनसँग सम्बन्धित छ । लैंगिक विभेद संरचनागत विभेद हो । समाजको संरचनमा पुरूष शक्तिसम्पन्न र महिला शक्तिहीन बनाइएकाले नै यो विभेद कायम भएको हो । यो विभेदको कर्ता पुरूष भएकाले विभेद अन्त्यका लागि पनि पुरूषले पहिलो कदम थाल्नुपर्छ । महिला हिंसा वा महिलामाथि हुने विभेदको विरोध महिलाको मात्रा चासोको विषय बन्नुहुँदैन । जबसम्म लैंगिक समानतायुक्त समाज हुँदैन, तबसम्म त्यसका असर पुरूष र महिला दुवैले भोग्नुपर्छ । त्यसैले लैंगिक समानतामा पुरूषले पहिलो कदम थाल्नुपर्छ । अर्कोतर्फ महिलालाई शक्तिसम्पन्न बनाउन जोड दिनैपर्छ । त्यसका लागि महिलालाई आर्थिक र शैक्षिक रुपमा सक्षम बनाउन जरूरी छ । महिलालाई आर्थिकरुपमा सक्षम बनाउन सीप सिकाउनुपर्छ । साथसाथै त्यो सीप उपयोग हुने गरी उत्पादन प्रणालीमा सहभागी गराउनुपर्छ । 

२०७९ साल मंसीर २६ गते । वर्ष:१६ अंक:०९