Monday, December 19, 2022

ककनीलाई शसस्त्रको मार

ककनीका शोभा लामा (दाँया) शसस्त्र प्रहरीका कारण स्थानीयले ब्यहोर्नु परेको समस्या सुनाउँदै । 

ककनी । शसस्त्र प्रहरी बलको तालिम केन्द्रका कारण नुवाकोटको पर्यटकिय क्षेत्र ककनीलाई मार परिरहेको स्थानीयहरूले गुनासो गरेका छन् । पर्यटक आउजाउ गर्ने मुख्य गेटमै रहेको शसस्त्र प्रहरीको तालिम केन्द्र र उनीहरूले नियमित रुपमा गर्ने गतिविधिका कारण ककनी आउने पर्यटकहरू भड्किएको शोभा लामाले बताए । 

शनिवार ककनीको पर्यटकिय स्थल ‘स्काउट हाउस’मा जम्मा भएका नुवाकोटका सरकारी अधिकारीहरूसंग गुनासो राख्दै स्थानीय महिलाहरूले शसस्त्र प्रहरीको तालिमका कारण दैनिक जीवन यापनमा समेत समस्या हुन थालेको बताएका छन् । नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याललाई तालिम केन्द्र नै सार्न पाएपनि हुन्थ्यो भन्दै महिलाहरूले आफुहरू सुरक्षित नभएको बताए । ‘दशैंमा सशस्त्र प्रहरीले चलाएको अश्रु ग्यासका कारण मेरो घरमा आएका पाहुना बेहोस भए’, शोभा लामाले भने– ‘उनीहरूले तालिममा कत्ता हानेको ग्यास हाम्रो घरतिर आइपुग्ने, अस्तीतिर त हाम्रो घर माथीमाथीबाट गोली चल्यो भुटुटु ।’ 

ककनीका महिलाहरूले शसस्त्र प्रहरीले बाटो नै रोक्ने गरी एकनासले गर्ने तालिमका कारण ककनी आउने आन्तरिक र बाह्य पर्यटकहरूले हिड्ने बाटो समेत नपाउने गरेको बताएका छन् । विेदेशी पर्यटकहरू बढी आत्तिने गरेको उनीहरूले बताए । ‘पिकनिक आउनेहरूले बजाएको गितले चाँही जन्यजन्तुलाई डिस्र्टब भयो भन्छ राष्ट्रिय निकुञ्ज, शसस्त्र प्रहरीले हानेको गोली लागेर जनावर घाइते हुँदा चाँही चुइक्क बोल्दैन, हामी त आजित भइसक्यौं’ महिलाहरूले भने । 

स्थानीयहरूले आफ्नो बस्ती वरपर प्रहरीले तालिमका नाममा गर्ने ‘फायरिङ्ग’ रोक्न र तालिमका लागि शसस्त्र प्रहरीलाई मुख्य बजार भन्दा बाहिरको बाटो प्रयोग गर्नका लागि आग्रह गरेका छन् । उनीहरूले यो विषय तामिल केन्द्रमा पटक पटक सुनाएको भएपनि वास्ता नगरेको बताए । 

बिस लाख पनि खर्च भएन बद्री मैनालीको

विदुर । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोटबाट सहभागि राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । निर्वाचन आयोगले खर्च पेश गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा बुझाउन थालेका हुन् । चुनावी खर्च विवरण बुझाएको तथ्याङ्कअनुसार नुवाकोटका उम्मेदवारहरूले एक करोड ७५ लाख ४४ हजार ८२५ रुपैयाँ खर्चेको निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिएका छन् । 

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा २८ र दुई वटा प्रदेशसभामा ३५ गरी ६३ उम्मेदवार थिए । उनीहरूमध्ये ४२ जनाले निर्वाचन खर्च बुझाएका छन् । उक्त चुनावी खर्चको विवरण उम्मेदवार स्वयम् र प्रतिनिधिमार्फत् बुझाएको उनले जानकारी दिए । निर्वाचन खर्च विवरण पेस गर्दा तोकिएको सीमा बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, गोष्ठी तथा अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ ।

चुनावी खर्च विवरण बुझाउन बाँकी रहेका २१ जना उम्मेदवारमा नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा मावोवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ समेत छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले १९ लाख ७३ हजार ३०० खर्च  विवरण बुझाए । नुवाकोटको दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये सबै ‘पैसाको खोलो नै बगेको’ भनिएको क्षेत्र नं. १ मा एक जना उम्मेदवारको मात्रै आफ्नो चुनावी हिसाव किताव सार्वजनिक गरेका छन् । १० करोड भन्दा बढी खर्च गरेको भनेर चर्चा हुने गरेको बद्री मैनलाीले निर्वाचन आयोगमा भने २० लाख पनि खर्च गर्न नसकेको विवरण पेश गरेका छन् । सोही क्षेत्रबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङको खर्च विवरण भने निर्वाचन आयोगमा पेश हुन बाँकी रहेको छ ।  

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले चुनावमा २७ लाख ६३ हजार खर्च गरेको विवरण बुझाएका छन् । अघिल्ला निर्वाचित सांसद नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले केसीभन्दा आधा चुनावी खर्च गरेको विवरण पेश गरेका छन् । खतिवडाले १३ लाख ३५ हजार ६४९ खर्च विवरण बुझाएका छन् ।

निर्वाचन मत परिणाम घोषणा हुनुभन्दा अगावै मङ्सिर ६ गते नुवाकोट क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवारद्वय नेपाली काँग्रेसका बहादुरसिंह लामा तामाङ र स्वतन्त्र उम्मेदवार सिहंराज लामाले आफ्नो चुनावी खर्च विवरण बुझाएका थिए ।

नुवाकोट जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नं. १ मा ३१ लाख र क्षेत्र नं. २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको थियो । प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाख रुपैयाँसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो । 

प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाख रुपैयाँसम्म र प्रदेश समानुपातिक उम्मेदवारले एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकिएको थियो ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नपर्नेछ । राजनीतिक दल र उम्मेदवारहरूले मनोनयनपत्र वा समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्दसूची दर्ता भएको मितिदेखि निर्वाचनको मतपरिणाम घोषणा भएको मितिसम्मको सम्पूर्ण खर्चको विवरण आयोगले तोकेको ढाँचामा बुझाउनुपर्ने छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिईएको थियो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारले मत गणना घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।


कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

विदुर । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ ।  पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताएका छन् । 

नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताए ।  पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए । कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिन पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले बताए । योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको लागू हुनेछन् ।

सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको थियो । सोही आधारमा हरेक शैक्षिक शत्रका विभिन्न कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दैै आएको छ । आउँदो वर्ष २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा दिनुपर्नेछ । चालू शैक्षिक शत्र २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम हुनेछ । 

१० को अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यपुस्तक तयार भइरहेका छन् । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइसकेका छन् ।  

विश्वव्यापी मान्यताअनुसार हरेक ५ वर्षमा नयाँ पाठ्क्रम लागु गर्न‘पर्छ । सोही आधारमा सरकारले नयाँ पाठ्यक्रम लागु गर्न लागेको हो । यसअघि भने १३ वर्षपछि पाठ्यक्रम परिवर्तन भएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्रै पाठ्यक्रम परिवर्तन भएको थियो ।  

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार शैक्षिक शत्र २०७८० सम्म सबै विषयको नयाँ पाठ्यक्रम लागू गर्ने योजना बनाएको थियो । सोही आधारमा केन्द्रले शैक्षिक शत्र २०७७ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन गरेको थियो । 

केन्द्रले २०७६ सालमा सातै प्रदेशका २८ वटा विद्यालयमा कक्षा ६ देखि ८ सम्मको नयाँ पाठ्यक्रम परीक्षणको लागि पठाएको थियो । परीक्षणका रुपमा गरिएको उक्त कार्यको सफलता पछि केन्द्रले अन्य कक्षाका पाठ्यक्रम समेत परिवर्तनको प्रक्रिया अगाडि बढाएको थियो ।  

शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ५ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएका छन् । भने २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुनेछ । नयाँ पाठ्यक्रम तयार भएका पाठ्यपुस्तक छपाइका लागि आफूहरू तयार रहेको जनकशिक्षा केन्द्रले जनाएको छ । केन्द्रबाट पीआरसी उपलब्ध गराएको चार महिनाभित्रमा पाठ्यपुस्तक छापिसक्ने जनक शिक्षाको दाबी छ ।

मुख्यमन्त्रीका लागि काँग्रेसमा बिभाजन


विदुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको संस्थापनबाटै दुई जनाको दावी भएपछि काँग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य विभाजित भएका छन् । बागमती प्रदेशमा कुल ११० मध्ये काँग्रेसका ३७ जना प्रदेश सदस्य छन् । जसमा प्रत्यक्षतर्फ २५ सिट जितेको काँँग्रेसले समानुपातिकतर्फ १२ सिट रहेको छ । काँग्रेसको ३७ सदस्यीय संसदीय दलमा काँग्रेसको संस्थापन पक्षको बहुमत देखिन्छ भने संस्थापन इतर पक्षका सांसद कम रहेका छन् । संस्थापन पक्षमा काँग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह निकट सांसदहरू रहेका छन् ।

संसदीय दलको नेता बन्ने दौडमा रहेका दुवै नेताहरूलाई आ–आफ्नो भुगोलका केन्द्रीयस्तरका नेताहरूको सहयोग भने रहने देखिँदैन । बानियाँलाई मकवानपुरको भूगोलबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रुचाएका छैनन् । यता तामाङलाई पनि आफ्नो भुगोलले समर्थन गर्ने देखिँदैन । केन्द्रीय सदस्य तथा भर्खरै निर्वाचित प्रतिनिधि सभा सदस्य अर्ज‘ननरसिंह केसीले तामाङलाई रोक्न सक्छन् । तामाङलाई काँग्रेस बागमती प्रदेश संसदीय दलको नेता बनाउन काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको ठिकैको रुची रहनसक्छ । पछिल्लो समय महत र लामाबीच पनि पहिलाको जस्तो घनिष्ठता नरहेको काँग्रेसकै नेताहरूले सुनाउने गरेका छन् । तर सहमहामन्त्री डिना तामाङको पक्षमा खुलेका छन् । प्रवक्ता डा. महतले सामान्इ रुपमा तामाङको नामलाई ओठसम्म ल्याएका छन् । तर महतले बाँनियाँलाई भने अस्विकार गर्दै आएका छन् । 

डिना बानियाँले आफूलाई चुनाव हराएको आरोप लगाउँदै मुख्यमन्त्री बन्न नदिन तीव्र लबिङमा छन् । डिना मकवानपुर–१ बाट प्रतिनिधिसभामा पराजित भएका थिए । निर्वाचनको समयमा बानियाँले १० जना प्रदेश सदस्यहरूलाई टिकट वितरण गरेका थिए । उनीहरू मध्ये अधिकांशले निर्वाचन जितेका छन् । यता पहिलो कार्यकालका केही सांसदहरू पनि दोहोरिएर निर्वाचित भएका छन् । उनीहरूको  साथ  बानियाँले पाउने सम्भावना छ ।

चुनावअघिसम्म संसदीय दलमा सर्वसम्मत देखिएका काँग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँमाथि पछिल्लो समय चुनौती थपिएको छ । काँग्रेसमा शेरबहादुर देउवा प्यानलको नेताको रूपमा चिनिएका बानियाँले संसदीय दलको नेताको प्रतिस्पर्धामा देउवा प्यानलकै बहादुरसिंह लामा तामाङसँग प्रतिस्पर्धा गर्न‘पर्ने देखिएपछि गगन–शेखरको क्याम्पका लागि नजिकिन थालेका छन् ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका तामाङ यस अघि संघीय सांसद नै थिए ।  मुख्यमन्त्री हुने सर्तमा उनी प्रदेशसभामा झरेको चर्चा सुरुदेखि हुँदै आएको थियो । तामाङले आफुलाई पार्टीको माथिल्लो समितिले मुख्यमन्त्री बन्ने सर्तमै उम्मेदवार बनाएको दाबी गरेका छन् । बहादुरले भने ‘मलाई मुख्यमन्त्री बनाउन प्रदेशसभामा उम्मेदवार बनाइएको हो ।’

संसदीय दलको नेता बन्न कोसंग कत्ति सांसद ?

विदुर । बागमती प्रदेशमा काँग्रेस संसदीय दलको नेताका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामा तामाङबीच प्रतिस्पर्धा छ । सभापति देउवाका विश्वास पात्र बानियाँ र प्रवक्ता प्रकाशशरण महत निकट तामाङ संसदीय दलको नेताका लागि तीव्र लबिङमा छन् । बानियाँलाई नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापाको समर्थन देखिन्छ भने लामालाई महतका साथै सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को साथ छ । बागमती प्रदेशमा देउवा पक्षका २४, सिंह ९ जना गरी संस्थापन पक्षसँग ३२ जना सांसद छन् । कोइराला–थापा समूहका ५ सांसद छन् । बानियाँ र तामाङबीच प्रतिस्पर्धामा हुँदा देउवा पक्ष दुई भागमा विभाजित हुँदा सिंह र थापाको साथ पाउनेको पल्लाभारी हुनेछ ।

बागमती प्रदेशसभा सदस्यहरूमा काँग्रेस नेता शेखर कोइराला पक्षका कोही देखिँदैनन् । शेखर समुहका काँग्रेस महामन्त्री गगन थापा निकटका केही सांसद्हरू छन् । शेखर–गगन पक्षमा थोरै मात्र सांसद छन् । संस्थापन पक्षमा नै दुई धार देखिँदा इतर समुहले निर्णायक भूमिका खेल्नेछ ।


देउवा–सिंह पक्षका सांसदहरू :

विमल ठकुरी

श्याम बहादुर खड्का

प्रभात तामाङ

बहादुर सिंह लामा

इन्द्रबहादुर बानियाँ

कृष्णकुमार तामाङ (समीर)

मसिना खड्का

तीर्थ लामा

रामकृष्ण चित्रकार

मुदुकुमार श्रेष्ठ

गोविन्द लम्साल

छेत्र बहादुर बम्जन

रमेश महत

पुकार महर्जन

कुन्दन राज काफ्ले

रामकुमार पहाडी

उर्मिला नेपाल

बिनु रायमाझी पौडेल

शिवराज अधिकारी

लक्ष्मी देवी श्रेष्ठ

गीता गुरुङ

माया श्रेष्ठ

मिना पोखरेल

दीपेन्द्र श्रेष्ठ

कञ्चन चन्द्र बादे

मीनकृष्ण महर्जन

हरिप्रभा खड्गी

छिरिङ दोर्जे लामा

सुरजचन्द्र लामिछाने

समिता खड्गी श्रेष्ठ

यमुनादेवी श्रेष्ठ

सुना परियार


कोइराला–थापा पक्षका सांसदहरू :

श्रीराम लामिछाने

उत्तम जोशी

सुरेश श्रेष्ठ

याङ्किला शेर्पा रुइत

शान्ता ढकाल

प्रदेश सरकार गठनमा माओवादी निर्णायक

विदुर । एक सय १० सदस्यीय बागमती प्रदेशसभामा बहुमतको सरकार बनाउन ५६ सिट चाहिन्छ । नेपाली काँग्रेससँग ३७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग सात सिट छ । अर्थात् यो सत्ता गठबन्धनको पक्षमा ६५ सिटसहितको सुविधाजनक बहुमत हो । तर, पहिलो दल नेपाली काँग्रेसलाई माओवादीले साथ दिएन भने बहुमत पुग्दैन । २७ सिट जितेर दोस्रो शक्ति बनेको एमाले नेतृत्वमा सरकार बनाउन पनि माओवादीलाई समेट्नुपर्ने हुन्छ । १३ सिट जितेको राप्रपा र साना दललाई मात्र समेटेर एमालेलाई बहुमत पुग्दैन ।

माओवादी र एमाले दुवै प्रतिपक्षमा बसे भने राप्रपा र समाजवादीलाई समेटेर काँग्रेसको नेतृत्वमा सरकार बन्न सक्छ । तर साना दललाई समेटेर सरकार बनाउँदा सत्ता टिकाउन चुनौती बन्छ । एमालेसँग रहेको २७ सिटमा राप्रपाको १३, एकीकृत समाजवादीको ७, हाम्रो नेपाली पार्टीको २ र नेमकिपाको २ सिट जोड्दा ५१ मात्र पुग्छ, जहाँ बहुमत पु¥याउन एमालेलाई माओवादीको साथ अनिवार्य छ । माओवादी वा काँग्रेसको साथ नभई बहुमत नपुग्ने भएपछि एमालेले प्रतिपक्षमै बस्ने रणनीति लिएको छ ।

गाउँपालिका महासंघमा नुवाकोटका दुई सदस्य


विदुर । गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनबाट सदस्यमा नुवाकोटका गोविन्द थपलिया र सञ्जु प्याकुरेल श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सर्वसम्मत रूपमा छानिएको राष्ट्रिय समितिमा नुवाकोटका २ जना परेका हुन् । नेपाली काँग्रेसको तर्फबाट शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया र नेकपा माओवादी केन्द्रको तर्फबाट तादी गाउँपालिकाका उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठ चयन भएका हुन् ।

महाधिवेशनबाट अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मी पाण्डे सर्वसम्मत भएका छन् । पाण्डे नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष हुन् । गत वैशाखको स्थानीय निर्वाचनमा पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही निर्वाचित भएका छन् । महासचिवमा नेकपा एमालेका स्याङजाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा निर्वाचित भए । 

तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि नयाँ कार्य समिति बनेको हो । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरूले भागबन्डा गरेका थिए । स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली काँग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्षको भाग पाएको थियो । त्यस्तै नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाएको छ । सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन भएका छन् । पदाधिकारी सहित ३६ सदस्ययी महासंघको कार्यसमिति चयन भएको छ । जसमा गाउँपालिकाका अध्यक्ष २७ जना छन् भने ९ जना गाउँपालिकाका उपाध्यक्ष र एक जना वडा सदस्य कार्यसमितिमा आएका छन् ।

एक लाख सहयोग

विदुर । हाल अमेरिका बसोवास गर्ने बेलकोटगढी नगरपालिकाका जनकराज ढुङ्गानाले फेरि अर्को विद्यालयालाई आर्थिक सहयोग गरेका छन् । बेलकोटगढी नगरपालिकाको स्कुलमा छात्रवृत्ति कोष निर्माण गर्न उनले एक लाख रूपैयाँ प्रदान गरेका हुन् । 

बेलकोटगढी– ९ मा रहेको शिलासिता आधारभुत विद्यालयमा छात्रवृत्तिको कोष निर्माण गर्न ढुङ्गानाले एक लाख रूपैयाँ प्रदान गरेका हुन् । उनले घोषणा लगत्तै मोबाइल बैंकिङ मार्फत विद्यालयको खातामा एक लाख रूपैयाँ ट्रान्सफर गरेको बताए । उनले एक महिना अघि जन्मदिनमा बेलकोटगढी नगरपालिका वडा नं. ८ को अर्को विद्यालय लाई एक लाख रुपैयाँ सहयोग गरेका थिए । 

म्यागङमा सहकारी संघ गठन


देउराली । नुवाकोटको म्यागङ गाउँपालिकामा जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटको गाउँपालिका समन्वय उपसमिति गठन भएको छ । बुधवार गाउँपालिकाको कार्यलयमा भएको पालिका भित्रका सहकारी सञ्चालकहरूको भेलाले १३ सदस्यीय जिल्ला सहकारी संघ लिमिटेड म्यागङ गाउँपालिका समन्वय उपसमिति गठन गरेको हो । 

उपसमितिको अध्यक्षमा रुपबहादुर तामाङ, उपाध्यक्षमा गोबिन्द सापकोटा, सचिबमा पारसलाल तामाङ, कोषाध्यक्षमा कल्पना बज्राचार्य चयन भएका छन् । यस्तै सदस्यहरूमा प्रतापबहादुर तामाङ, सोमबहादुर तामाङ, रामबहादुर तामाङ, नविनकुमार डंगोल, गौतम घले, दन्जोम तामाङ प्रेममाया तामाङ, सोमबहादुर तामाङ र प्रविण सापकोटा चयन भएका छन् । 

गाउँपालिका उपसमिति गठनका लागि जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेको उपस्थिति रहेको थियो । मुलुक संघीयता प्रवेश गरेसंगै सहकारी संघललाई समेत संघीयतामा लैजाने पुर्व घोषित कार्यक्रम अनुरुप स्थानीय तहमा समन्वय उपसमिति गठन गर्ने अभियान रहेको न्यौपानेले बताएका छन् । 

नुवाकोटका १२ वटा स्थानीय तह मध्ये जिल्ला सहकारी संघले म्यागङ सहित आठ वटा पालिकामा समन्वय उपसमिति गठन गरिसकेको छ । जसमा म्यागङ गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, विदुर नगरपालिका, लिखु गाउँपालिका, ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिका रहेको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले जनाएको छ । उपसमिति गठन हुन बाँकी रहेको स्थानीय तहहरू बेलकोटगढी नगरपालिका, सुर्यगढी गाउँपालिका, तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा तयारी भइरहेको सहरकाी संघका अध्यक्ष न्यौपानेले बताएका छन् । 

म्यागङमा गाउँपालिकामा आयोजित कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिङ्दन, जिल्ला सहकारी संघका सञ्चालक रामेश्वर खड्का, सहकारीकर्मी जानुका धमला, सहकारी प्रशिक्षक पुष्कर शर्मा रिमाल लगायतको सहभागिता थियो । त्यस अवसरमा म्यागङ गाउँपालिकाका सहकारीकर्मीहरूलाई तीन दिने तालिम समेत प्रदान गरिएको छ कोपोमिस सम्बन्धि तालिम सञ्चालन गरिएको समन्वय उपसमितिका अध्यक्ष रुपबहादुर तामाङले जानकारी दिए ।  

के हो कोपोमिस ?

सहकारी क्षेत्रको सूचना, तथ्याङ्कहरूलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली ‘कोपोमिस’ हो । कोपोमिस वेबमा आधारित प्रणाली हो । इन्टरनेट सुविधा उपलब्ध हुने स्थानमा यो सुविधा प्रयोग गर्न सकिनेछ । यसले सहकारी संघ/संस्थालाई व्यवस्थापकीय र वित्तिय सूचना उपलब्ध गराउने संस्थाले गर्नपर्ने कार्यहरूलाई अनलाइन पद्धतिमा रूपान्तरण गर्ने, पारदर्शिता र जवाफदेहिताको प्रवर्धन गर्ने, आन्तरिक नियन्त्रण पद्धतिलाई स्थापित गर्दै सुशासन कायम गर्न सहयोग पु-याउने छ ।

सहकारी सम्बन्धी कानुन, नीति, मापदण्ड, अभ्यास आदिको कार्यान्वयन र आवश्यक सूचना एकैपटक यसबाट प्राप्त गर्न सकिनेछ । सहकारी संघ संस्थाको व्यवस्थापन तथा अनुगमन प्रभावकारी ढंगले गर्न, वित्तिय अवस्था तथा जोखिम अवस्थाबारे जानकार हुन, पल्स एवं परियोजनागत वित्तीय विश्लेषण गर्न सहज हुने, लेखा परिक्षण गराउने कार्यमा यसले मद्दत पु-याउनेछ । सहकारी संस्थाहरूले कोपोमिस सञ्चालन गर्नका लागि कम्प्युटरको कुनै पनि वेबमा copomis.gov.np मा कोपोमिसको पेज खोली त्यसैबाट प्रबिष्ट गर्ने फर्ममा आफ्नो संस्थाको युजर नाम राखी कोपोमिसको प्रयोग गर्न सक्नेछन् ।

सहकारी संस्थाको  नियममा उल्लेख भएको कार्यक्षेत्रको आधारमा नियामक निकाय पत्ता लगाउन सकिन्छ । सहकारीको कार्यक्षेत्र एक स्थानीय तह मात्र रहेमा सोही स्थानीय तह, दुई वा सो भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएमा प्रदेश कार्यक्षेत्र रहेमा सहकारी मन्त्रालय र दुई वा सो भन्दा बढी प्रदेशमा कायक्षेत्र रहेमा सहकारी विभाग नियामक संस्था हुने व्यवस्था रहेको छ ।

युनिभर्सल बोर्डिङ पहिलो

विदुर । गएको आईतबार भएको जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा युनिभर्सल बोर्डिङ स्कुल पहिलो भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) नुवाकोटले आयोजना गरेको प्रतियोगितामा १५ स्कुलको सहभागिता थियो । उक्त प्रतियोगितामा तादी गाउँपालिका वडा नं. ५ बाहुनबेशी स्थित युनिभर्सल बोर्डिङ स्कुलको समुह पहिलो भएको प्याब्सनका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए । प्रतियोगितामा शान्तिकुन्ज एकेडेमी दोश्रो, जालपादेवी बोर्डिङ स्कुल तेश्रो र नुवाकोट ग्लोरी इङ्गलिस बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ । 

विजयीले नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । हरेक विद्यालयबाट ३/३ जना विद्यार्थीको सहभागिता थिए । सुभेनियर बोर्डिङ स्कुलमा भएको प्रतियोगिता तीन चरणमा खेलाईएको थियो । 

उक्त प्रतियोगितामा पहिलो चरणबाट आठ समुह दोस्रो चरणमा र दोस्रो चरणबाट चार समुह गरी फाईनलमा प्रवेश गरेको थियो । फाईनलमा चरणमा श्रव्यदृश्य सामाग्रीसहितको प्रश्नोत्तरी गरिएको थियो । वार्षिक कार्यक्रम अन्तर्गत तय भएको अतिरिक्त क्रियाकलापमा यस महिना हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

सभामुखको लागि केसीको दौडधुप


विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह  केसीले अघिल्लो हप्ता राजनीतिक भेटघाटलाई यत्ति तिब्र पारे की, भेट्न बाँकी शिर्ष नेताहरू नै कोही रहेनन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवादेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्मलाई केसीले भेट्घाट गरे । केसीले एकपछि अर्का शिर्ष नेतासंग गरेको राजनीतिक भेट र प्रचारले केसी के गर्दैछन् भन्ने प्रश्न खडा गरेको छ । 

चुनाव प्रचारप्रसारको समयमा आफु सांसद बन्नका लागि मात्रै उम्मेदवार नबनेको र जितेपछि गतिलै पदमा रहने मतदातालाई बारम्बार भन्दै आएका थिए । चुनवाी जितेको पछिको धन्यवाद ज्ञापन कार्यक्रमलाई जिल्लामा सकेर काठमाडौं पस्ने बित्तिकै नेता केसी एकाएक शिर्ष नेताहरूको घरमा पुगेको फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेको छ । नेता केसी गठबन्धनमा आवद्ध दलसहित एमालेका शीर्ष नेताहरूसँग समेत भेटघाट गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटघाट गरेका छन् । भेटघाटका क्रममा समसामयीक राजनीतिक विषय, अर्थतन्त्र सुधार, विकास निर्माण, भ्रष्ट्राचार नियन्त्रण र अब बन्ने नयाँ सरकारको प्राथमिकता लगायतका विषयमा छलफल गरेको बताएका छन् । नयाँ बन्ने संसदमा कुनै भूमिकामा लागि नेता केसीले भेटघाटलाई तीव्रता दिएको धेरैको बुझाइ रहेको छ । केही दिनयता केसी निकटले सभामुखका लागि उपयुक्त पात्र रहेको भनेर चर्चा समेत गरिरहेका छन् । जस कारण पनि नेता केसीको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर आफूले कुनै पनि व्यक्तिगत पद प्राप्तिको विषयमा भेटघाट नगरेको नेता केसीले बताए । परिस्थिती निर्माण भएमा जस्तोसुकै जिम्मेवारी लिन पनि तयार रहे पनि व्यक्तिगत पद प्राप्तीको लबिङ भेटघाटको विषय नभएको उनले बताए । ‘मेरो भेटघाट व्यक्तिगत लक्ष्य र उद्देश्यका निमित्त होइन । जनताका आकांक्षा र अब आउने चुनौतीको सामनाका लागि राजनीतिक दलहरू एक भएर लाग्नुपर्छ भन्ने सन्देशसहित भेटघाटलाई तिव्रता दिएको हुँ ।’ नेता केसीले भने ।

भेटघाटका क्रममा आफूले जनताले सुनाएका निराशाहरूका विषयमा नेताहरूसँग कुरा राखेको र अब बन्ने सरकारलाई सो विषयमा झक्झक्याउने किसिमको वातावरण तयार गर्ने गरी आफू लागेको बताए । ‘पुरानै अनुहार, पुरानै विचार र पुरानै शैलीले जनतामा जुन किसिमको निराशा आएको छ, त्यसलाई चुनौतीको रुपमा लिएर अब बन्ने सरकारले त्यसको निराकरण गर्न‘पर्ने देखिन्छ ।’ नेता केसीले भने । राजनीतिक दलहरू सत्ता केन्द्रीत भएको र जनजिविकाको सवालमा काम हुन नसकेको बताए । जसको कारण अब बन्ने सरकार व्यक्ति केन्द्रीत भन्दा पनि जनचासो र गुनासाका विषय उठान गर्न सक्ने व्यक्तिलाई सत्ताको नेतृत्व दिनुपर्ने विषयमा नै छलफल भएको उनी बताउँछन् ।

बाहिर चर्चा भएजस्तो आफूले व्यक्तिगत रुपमा कुनै पदका लागि दाबी नरहेको उनको धारणा रहेको छ । जनपक्षीय जनप्रतिनिधिको रुपमा काम गर्ने उद्देश्य रहेको बताउँदै परिस्थितीजन्य अवस्थामा कुनै पनि जिम्मेवारी लिनबाट नभाग्ने पनि बताए । ‘बाहिरबाट आएको कुरा हो । मैले व्यक्तिगत रुपमा कहि कतै इच्छा व्यक्त गरेको छैन । जनपक्षीय जनप्रतिनिधिको रुपमा भूमिका निर्माण गरौँ भन्ने पक्षमा छु ।’ उनले भने, ‘सत्ताको बार्गेनिङ गरेको छैन । तर परिस्थितीले चुनौती आइलाग्छ भने म भाग्दिन ।’

एमाले अध्यक्ष ओलीलाई भेट्न काँग्रेस नेता केसी बालकोटस्थित उनकै निवास पुगेका हुन् । अध्यक्ष ओली र काँग्रेस नेता केसीबीच करिब दुई घण्टा छलफल भएको थियो । ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको केसीको सचिवालयले जनाएको छ । गएको आइतबार साँझ भएको भेटमा अध्यक्ष ओली र नेता केसीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । उनीहरूबीच नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरूबीच आवश्यक एकता र सहकार्य गर्नेबारे पनि छलफल भएको छ । 

गएको सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न पुगेको केसीले अस्तव्यस्त पासाङल्हामु राजमार्ग छिटो निर्माण सक्नका लागि पहल गरिदिन आग्रह गरेका छन् । 

राजमार्गको बालाजु–बाईपास–ककनी–रानीपैवा–त्रिशुली सडक निर्माण लामो समयदेखि हुन नसकेको बेला केसीले पहल लिएका हुन् । 

बुधवार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई केसीले बालुवाटारमै भेट गरेका थिए । करिब १ घन्टा १५ मिनेट भएको विषेश भेटघाटमा अब बन्ने सरकारको बिषयमा समेत छलफल भएको थियो । 

भेटमा नयाँ सरकार गठन, गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समीक्षा भएको बताइएको छ । अन्य दलका प्रमुखहरूसंग पनि भएको छलफलको आधारमा केसीले आफ्नो भुमिकाको विषयमा समेत प्रधानमन्त्रीलाई आशय व्यक्त गरेका छन् । 


क्यानको समिति निर्विरोध


विदुर । गत हप्ता कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को जिल्ला शाखा नुवाकोट र बागमती प्रदेश समितिको अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको छ । गत बिहिवार जिल्ला अधिवेशन र गत शनिवार बागमती प्रदेशको अधिवेशन नुवाकोटमा भएको हो । 

क्यान जिल्ला शाखा नुवाकोटको दोश्रो अधिवेशनबाट अध्यक्षमा पुनः पवन नेपाल निर्विरोध निर्वाचित भएका छन् । नेपालको यो दोश्रो कार्यकाल हो । क्यानको नुवाकोट जिल्ला कार्य समितिको उपाध्यक्षमा दिलिप शाक्य, सचिवमा नारायणकुमार घले, कोषाध्यक्षमा मनिषकुमार साह, सह सचिवमा सुनिल श्रेष्ठ, कार्य समिति सदस्यमा लिडर श्रेष्ठ र शशिप्रसाद आचार्य चयन भएका छन् ।  

यसै बीच, गत शनिवार भएको क्यान बागमती प्रदेश समितिको अधिवेशनले अध्यक्षमा पुष्पराज पुडासैनी निर्विरोध निर्वाचित गरेको छ । तेश्रो अधिवेशनबाट पुडासैनी निर्विरोध अध्यक्षमा निर्वाचित भएको निर्वाचन समिति संयोजक नवदीप श्रेष्ठले जानकारी दिए । महासङ्घको उपाध्यक्षमा सन्तोषजनक भुसाल, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा विकास पन्त र सदस्यमा तिलक सिंखडा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई महासङ्घका केन्द्रीय उपाध्यक्ष रञ्जितकुमार पोदार र निर्वाचन संयोजक श्रेष्ठले शपथगहण गराएका थिए । 


 

विदुर नगरपालिकालाई विद्यार्थीको प्रश्न : शुल्क लिने सामुदायिक स्कुलहरू छन् कि छैनन् ?


विदुर । मंगलवार विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख देविप्रसाद अधिकारीले आफ्नो मन्तब्यलाई टुङ्ग्याउदै भने– ‘धेरै वर्ष पहिला विद्या चापागाइँ र नारायण श्रेष्ठले प्रस्तुत गर्ने कार्यक्रम साझा सवाल हेर्दा रोमाञ्चित हुन्थ्यें, त्यो कार्यक्रममा प्यानलिष्टको रुपमा रहन पाए हुन्थ्यो जस्तो लाग्यो । र आज मलाई ठ्याक्कै त्यस्तै अनुभुती, अभुतपुर्व आनन्द प्राप्त भयो ।’

शिक्षा शाखा प्रमुख अधिकारी जस्तै विदुर नगरपालिकाका तर्फबाट शिक्षा क्षेत्रको सबै पाटोहरूको सवाल सुन्न र जवाफ दिन विदुरमा आयोजित एक कार्यक्रममा थिए नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक लक्ष्मी खड्का । रुम टु रिडले आयोजना गरेको कार्यक्रम ‘पालिकासंग बालिका’मा विदुर नगरपालिकासंग विद्यार्थीहरूले धक नमानी अन्तरक्रिया गरे । 

विद्यार्थीहरूमा बढेको क्षमता र स्थानीय सरकारसंगको अपेक्षालाई प्रभावकारी रुपमा बालबालिकाले नै राखेको प्रति उपप्रमुख बोगटीले समेत प्रशंसा गरे । बालबालिकाहरूले शिक्षा क्षेत्रको सुधार र नगरपालिकाले ध्यान नदिएको पक्षलाई ठ्याक्कै औल्याएर सुझाव सहित प्रश्न गरेको प्रति उनले आफुलाई सुधारको लागि अवसर प्राप्त भएको बताए । 

‘कक्षा १० सम्म पढ्ने साना भाइबहिनीहरूको प्रश्नको उत्तर त दिने होला नी’ भन्ने मनस्थिति बनाएर कार्यक्रममा सहभागी भएका उत्तरदाताहरूलाई आफ्नो पुर्व तयारी विनाको उपस्थितिले चित्त बुझ्दो उत्तर दिननै मुस्किल परेको थियो । बालबालिकाहरूले सामुदायिक विद्यालयमा सःशुल्क भइरहेको पढाईदेखि विद्यालयमा पिउने पानी समेतको व्यवस्था नभएको प्रश्न गरेर नगरपालिकाका तर्फबाट उपस्थित उत्तरदाताहरूलाई अलमलमा पारे । आफ्नो साथी विद्यालयबाटै वेपत्ता भएको महिना दिन वित्दा समेत पत्ता नलागेको घटना सार्वजनिक गर्दै बालिकाहरूले प्रहरीले प्रभावकारी काम र खोजी किन गर्न नसकेको होला भनेर प्रहरी निरिक्षकलाई प्रश्न गर्न भ्याए ।

महेन्द्र मावि विदुर–१२ चारघरेको कक्षा ९ मा पढ्ने दिक्षिता तामाङले प्रहरी निरिक्षक लक्ष्मी खड्कालाई प्रश्न सोध्दै भने– ‘विद्यालयबाटै बालिकाहरू वेपत्ता हुने घटनाहरू बढ्न थालेको छ, त्यस विषयमा प्रहरीलाई जानकारी गराउदा पनि खोजी कार्य र अन्य केही सहयोग पाइदैन, किन यस्तो भएको होला ?’ उनलाई जवाफ दिँदै प्रहरी निरिक्षक खड्काले नुवाकोटमा त्यस्तो घटना खासै नभएको र भएका घटनाहरूमा उच्च सर्तकताका साथ प्रहरीले काम गरिरहेको बताइन् । तर दिक्षिका तामाङले आफ्नै साथी (१४ वर्षका कृष्टिना राई) एक महिनादेखि हराइरहेको र अत्तोपत्तो नभएको पुनः जानकारी गराएपछि भने खड्काले आफुलाई कार्यक्रम पछि छुट्टै भेट्न र थप जानकारी दिन आग्रह गरे । 

विदुर–५ तल्लोपिपल्टार स्थित चन्द्रज्योती माविको कक्षा १० मा पढ्ने प्रवेश गजुरेल सुरुमा अप्ठ्यारो मानेर माइक समाउदै थिए, मसिनो स्वरमा माइकमा बोल्न थालेका गजुरेलको प्रश्न भने हल नै थर्किने खालको बन्यो । शिक्षा शाखा प्रमुख देविप्रसाद अधिकारीलाई उनले सोधे– ‘सामुदायिक विद्यालयमा निःशुल्क पठनपाठन हुनुपर्छ भन्ने सुनिएको छ, विदुर नगरपालिकामा शुल्क लिने सामुदायिक स्कुलहरू छन् कि छैनन् ?’ हलको मध्य भागतिरबाट आएको यो प्रश्नले अग्र भागमा बसेका सहभागि तथा अतिथिहरू सबै उनै तिर हेर्न लागे । जवाफ दिन सुरु गरेका शिक्षा शाखा प्रमुख अधिकारीले हाँस्दै प्रश्नको प्रशंसा गरे । भन्नका लागि त अधिकारीले कुनै पनि विद्यालयले शुल्क लिएको औपचारिक रुपमा जानकारी छैन भने, तर निःशुल्क शिक्षा दिइरहेको सामुदायिक विद्यालयहरूले अन्य बहानामा अभिभावकसंग गरिरहेको असुलीप्रति गजुरेलको ‘ओपन सेक्रेट’ व्यङ्ग्य थियो । ‘सरकारको तर्फबाट मात्रै व्यवस्था गरिएको बजेटले विद्यालयको गुणस्तर कायम गर्न र गुणस्तर बढाउन नपुग्ने भएकोले समुदायसंगको साझेदारीमा अन्य केही शिर्षकमा शुल्कहरू लिएका पनि हुनसक्छन्, हामीलाई औपचारिक रुपमा कुनै जानकारी छैन’, अधिकारीले भने ‘यस विषयमा पनि हामीले खोजी गर्नुपर्ने र तथ्याङ्क संकलन गर्नुपर्छ भन्ने लाग्यो ।’

विदुर–५ माझिटारको च्वाडीपब्लिक माविको कक्षा १० मा पढ्ने विपना अर्यालले विद्यालयमा खानेपानीको सुविधा समेत नभएको जानकारी सहित प्रश्न गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खनाल झस्याङ्ग भए । यस्ता विद्यालय नगरपालिका भित्र कत्ति होला है भन्दै प्रतिप्रश्न गरेको उनले मञ्चमै बसेर शिक्षा शाखा प्रमुख अधिकारीसंग सल्लाह गर्दै भने– ‘यस विषयमा खोज गरेर तत्कालै तथ्याङ्क संकलन गरौं ।’

विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले सामुदायिक विद्यालयहरूमा निःशुल्क शिक्षा भनिएपनि बालबालिकालाई अन्य शिर्षकमा अभिभावकहरूले गर्नु पर्ने खर्चका कारण शिक्षा निःशुल्क हुन नसकेको बताए । 

विद्यालयमा शुल्क तिर्ने र पाठ्यक्रम निःशुल्क पाउने मात्रैले अभिभावको आर्थिक भार कम नभएको उन बताए । सबै बालिका, दलित, सिमान्तकृत, लोपन्मुख बालबालिकाहरूका लागि सरकारले छात्रवृत्ति दिएपनि त्यसले निःशुल्क शिक्षा भन्ने अभियानमा पर्याप्त टेवा नपु-याएको बताए । बालबालिकाहरूबाट आएकै सवालको जवाफ दिने क्रममा उपप्रमुख बोगटीले लुगा, जुत्ता, झोला, अन्य स्टेशनरी सामाग्रीहरूका कारण अभिभावकहरू आर्थिक चपेटामा पर्ने गरेका बताएका हुन् । ‘यस्तो अवस्थाका अभिभावकहरूलाई सहयोग गर्नका लागि स्थानीय सरकार नै जोडिने हो, त्यसका लागि हामीले यस वर्ष नीति तथा कार्यक्रम ल्याएका छौं’, उपप्रमुख बोगटीले भने ‘हामीलाई थाहा छ शिक्षा क्षेत्रमा गरेको लगानी अलिकत्तिपनि खेर जाँदैन, हामी अति संवेदनशिल र जागरुकताका साथ शिक्षा क्षेत्रको विकास र बालबालिकाको भविष्यका लागि काम गर्छौ ।’

कार्यक्रममा विदुर नगरपालिकाका आठ वटा विद्यालयका ४० जना बालबालिकाहरू सहभागि थिए । ३२ बालिका र ८ बालकका साथमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सहभागिता रहेको कार्यक्रमलाई रुम टु रिडले विद्यार्थीको क्षमता विकासका साथै आफ्नो सवाल आफैले गर्ने प्रयासको रुपमा प्रस्तुत गरेको थियो । रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत शुशिल तिमिल्सिनाका अनुसार सन् २०१८ देखि नुवाकोट जिल्लामा रुम टु रिडले बालिका शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । रुम टु रिडको बालिका शिक्षा कार्यक्रम अधिकृत विनिता बरालले उक्त कार्यक्रम अन्र्तगत जिल्लाका १२ वटा विद्यालयहरूमा विभिन्न खाले शैक्षिक गतिविधिहरू भइरहेको जानकारी दिएका छन् । 

ग्लोबल सहकारीको साधारणसभा

बट्टार । विदुर नगरपालिका– ४ बट्टारमा रहेको ग्लोबल उपभोक्ता सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा गत शनिवार सम्पन्न भएको छ । 

साधारणसभाले चालू आर्थिक वर्ष ०७९÷८० को नीति, कार्यक्रम र बजेट तथा गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले गत आर्थिक वर्षसम्ममा संस्थामा एक करोड ८६ लाख १३ हजार आठ सय रुपैयाँ सेयरपुँजी र १३ करोड पाँच लाख २४ हजार रुपैयाँ बचत सङ्कलन गरेको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । संस्थाका कोषाध्यक्ष देवनारायण श्रेष्ठले अनुमानित बजेट तथा कार्यक्रम अनुसार संस्थाले चालू आर्थिक वर्षमा तीन करोड रुपैयाँ सेयर पुँजी सङ्कलन गर्ने र १६ करोड रुपैयाँ बचत सङ्कलन गर्ने लक्ष्य राखेको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

शुलक्षणाको अध्यक्षमा अधिकारी

कोलनी । विदुर नगरपालिका वडा नं. ९ बाघबगैँचा कोलनीमा रहेको शुलक्षणा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौँ अधिवेशन तथा २० औँ वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भएको छ । उक्त साधारणसभाले सहकारीको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको अध्यक्षमा शिवप्रसाद अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा पूर्णलाल श्रेष्ठ, सचिवमा हरिप्रसाद अधिकारी, कोषाध्यक्षमा जितेन्द्रमान श्रेष्ठ छन् । त्यसै गरी, सदस्यमा जीवनबहादुर श्रेष्ठ, सुवास अमात्य र सुशील बज्राचार्यलाई चयन गरेको छ । 

सहकारीको सेयर पँुजी आ.व. २०७७/७८ मा ५१ लाख ४० हजार आठ सय रहेकोमा गत आ.व. ०७८/७९ मा वृद्धि भई ५५ लाख ९९ हजार दुई सय पु-याइएको निवर्तमान अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिए । सहकारीको निक्षेप भने आ.व. ०७७/७८ मा सात करोड ७३ लाख ४६ हजार ४७६ रहेकोमा आ.व. ०७८/७९ मा सात करोड २४ लाख ८१ हजार ७६६ रुपैयाँ रहेको छ । आ.व. ०७७/७८ मा भन्दा आ.व. ०७८/७९ मा निक्षेप सङ्कलन घटेको प्रतिवेदनमा उल्लेख छ ।

बट्टार सहकारीको २७ औं साधारणसभा

बट्टार । जिल्लाकै अब्बल सहकारीमध्येको एक बट्टार सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभा गएको शनिबार सम्पन्न भएको छ । 

सहकारीले साधारणसभाको अवसरमा ज्येष्ठ सेयर सदस्य, पूर्वअध्यक्ष, पूर्वसञ्चालकलाई सम्मानपत्र, नगद र दोसल्लासहित सम्मान गरेको छ । ज्येष्ठ सेयर सदस्य सम्मानबाट तिलकबहादुर लवट श्रेष्ठ, पूर्वअध्यक्ष विजयमानसिंह डङ्गोल, पूर्वसञ्चालकको तर्फबाट कृष्णलाल श्रेष्ठ र रामबहादुर प्रधान, पूर्वकर्मचारी विश्वम्भरमानसिंह डङ्गोल र कार्यरत कर्मचारीबाट संस्थाका सहव्यवस्थापक विकास अर्याललाई सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले आ.व. ०७८/७९ को आय–व्यय वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका ऋण संयोजक मोहनबहादुर अर्यालले ऋण प्रतिवेदन तथा व्यवस्थापक हरिप्रसाद जोशीले ०७९/८० को अनुमानित कार्यक्रम बजेट पेस गरे । सहकारीको आ.व. ०७८/७९ को सेयर सदस्य सङ्ख्या एक हजार ८१५ जना, कुल सेयरपुँजी पाँच करोड ४१ लाख ९८ हजार ६ सय, निक्षेप बाँकी ४१ करोड २० लाख ८१ हजार ९७२ रुपैयाँ र ऋण लगानी ३३ करोड १२ लाख ७६ हजार ६७३ रुपैयाँ रहेको संस्थाका व्यवस्थापकले सो अवसरमा जानकारी गराए ।

ककनीको समुदायसंग सरकारी वकिल


ककनी । जिल्ला सकारी वकिल कार्यालय नुवाकोटले ककनी गाउँपालिकामा शनिवार समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न गरेको छ । समुदायमा कानूनको विषयमा सचेतना जागृत गर्न, अपराध विरुद्ध कसुरदारलाई सजाय दिलाउन सहयोगी र समन्वयात्मक भूमिका खेल्ने तथा उन्नत, समृद्ध र सहयोगी समाज निर्माण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो । 

सरकारी वकीलको कार्यालयबाट सम्पादन हुने कार्य तथा न्याय सम्पादन प्रकृयालाई जनमानससम्म पु¥याएर न्यायीक प्रकृयालाई प्रभावकारी बनाउनका लागि कार्यक्रमको आयोजना गरिउको जिल्ला न्यायाधीवक्ता टेकराज भुषालले जानकारी दिएका छन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सरकारी वकीलको कार्यालयबाट प्रवाह हुने सेवा, सरकारी वकिलको कार्यालयमा सम्पर्क गर्ने माध्यम, पिडितले कानूनी सल्लाह लिने विधि, सरकारीरवादी मुद्दाको अनुसन्धानमा नागरिक समाजले खेल्ने भूमीका लगायतका विषयमा अन्तरक्रिया भएको छ । नागरिक समाज, जनप्रतिनिधि तथा अन्य सरकारी कार्यालयका प्रमुखहरूको समेत सहभागितामा भएको उक्त कार्यक्रम जिल्ला सकारी वकिलको कार्यलबाट भएका कार्य सम्पादनको बारेमा जानकारी दिइएको छ । 

जिल्ला न्यायाधीवक्ता भुषालका अनुसार सरकारी वकिल कार्यालय नुवाकोटमा दुई वर्ष नाधेका मुद्दा ४४ वटा छन् । गत आर्थिक वर्षको १२७ मुद्दा, कात्तिक मसान्तसम्मको ३३ वटा मुद्दा रहेको कार्यक्रममा जानकारी दिइयो । कुल मुद्दा १६० रहेको र १२ वटा फछ्र्यौट भएको बताइएको छ । 

कसुर दावी नपुगेको ५ वटा र कसुर दावी कायम भएको ७ मुद्दा गरी अब कार्यालयले सम्पादन गरी रहेको मुद्दा संख्या १४८ रहेको भुषालले कार्यक्रममा जानकारी दिएका छन् । 

समुदायमा सरकारी वकिल कार्यक्रममा बोल्दै ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ कानूनको जानकारी आधारभुत र अत्यावश्यक रहेको उल्लेख गर्दै नागरिकहरूलाई कानूनको विषयमा सूचित गर्न स्थानीय सरकारले खास अभियान सञ्चालन गर्ने बताएका छन् । 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिठ्ठुमाया तामाङ, नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, जिल्ला वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइराला, जिल्ला मालपोत कार्यलय नुवाकोटका प्रमुख होमनाथ सेढाई, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लक्ष्मी खड्का, नुवाकोट वारका पुर्व अध्यक्ष देवराज कँडेल लगायतका अतिथिहरूले बोलेका थिए । 

त्यस अवसरमा सहभागि तथा जनप्रतिनिधिहरूको जिज्ञासाको जवाफ दिँदै सहायक प्रमुख जिल्ला अधिकारी अर्याल, बन कार्यालयका प्रमुख कोइराला, मालपोत कार्यालयका प्रमुख सेढाईले विधिको शासन स्थापित गर्न र न्यान दिनका लागि सरकारका तर्फबाट आफुहरू प्रतिबद्ध र प्रयासरत रहेको बताएका छन् । 

आचार्य सहित चार पत्रकारको सम्मान


विदुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको ११ औं साधारणसभाको अवसरमा शाखाका संस्थापक दिनेश आचार्य सहित नुवाकोटका चार जना पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । 

विदुरमा गएको सोमवार आयोजित साधारण सभा तथा सम्मान र पुरस्कार प्रदान समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकार आचार्यलाई दोसल्ला ओढाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरेका छन् । पत्रकार आचार्य २०५४ सालमा नेपाल वाणी साप्ताहिकको समाचारदाताको रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको आबद्धतासंगै हाल शेयर बजार साप्ताहिकको सम्पादकका रुपमा कार्यरत छन् ।

साधारणसभामा तीन जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको छ । बर्षेनी पत्रकार महासंघ नुवाकोट शाखाले प्रदान गर्दै आएको पुरस्कार यस पटक पनि प्रदान गरिएको हो । स्वर्गिय पत्रकार मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, स्वर्गिय पत्रकार रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी र महिला पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरु पुरस्कृत भएका छन् । उनीहरू सबैलाई एधार हजार १११ रुपैयाँ नगद प्रदान गरिएको छ । 

पत्रकार महासंघले स्थापना गरेको जोशी स्मृति पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य नुवाकोटबाट सञ्चालित डबली खबर डट कमले च२०७४ सालदेखि गर्दै आएको छ । प्रधान स्मृति पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य विदुर–२ मा रहेको बिन्दवासिनी बचत तथा ऋण सहकारी संघले गरेको छ । महिला पत्रकारिता पुरस्कारको पुरस्कार राशी सौजन्य नुवाकोटबाट प्रकाशन हुने नुवाकोट पुकार साप्ताहिकले गरेको छ । 

पुरस्कृत भएका पत्रकार श्रेष्ठ २०६० सालदेखि कान्तिपुर टेलिभिजनको जिल्ला प्रतिनिधिको रुपमा कार्य गर्दै आईरहेका छन् । पत्रकार अधिकारी दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथामा २०५२ सालमा स्वंमसेवी रुपमा पत्रकारिता क्षेत्रमा प्रवेश गरी ०६४ सालमा नुवाकोट जिल्लामा पहिलो पटक एफएम रेडियो स्थापना गरेर स्टेशन म्यानेजरको रुपमा कार्य गर्दै आईरहेका छन् । पत्रकार पनेरु २०६९ सालमा हिमाल एफएम सोलुखुम्बुबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरि विभिन्न राष्ट्रिय सञ्चार माध्यामहरूमा कार्य गरी नयाँ पत्रिकामा संवाददाता छन् । 

साधारण सभामा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, ध्रुबकुमार रावल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, प्रदेश महासचिव कृष्ण सारु मगर, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापा, नेकपा माओवादी केन्द्रका ईन्द्रबहादुर पण्डित, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । 

यस्तै, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष सन्तोष उप्रेती, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिष्णु तारुके, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतम, पत्रकार महासंघ बागमती प्रदेश सदस्य रामहरि गजुरेल, पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य देवचन्द्र भट्ट, समाजवादी प्रेस संगठन बागमती प्रदेशका सचिव भोलाराज पौडेल, महिला मानव अधिकार रक्षकहरूको सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डे लगायतले  पत्रकारहरूको प्रोत्साहनका लागि सम्मान र पुरस्कारको निरन्तरताको कामना गरे । 

२०७९ साल पुस ४ गतेको सम्पादकीय

अपारदर्शी चुनाव खर्च

निर्वाचन लोकतन्त्रको प्रक्रिया हो । यसलाई स्वच्छ, धाँधलीरहित र प्रतिस्पर्धात्मक बनाउन पनि राज्यका तर्फबाट बजेट लगायतका स्रोतसाधनको आवश्यकता पर्छ । तर, खर्च धेरै बढ्दा यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पनि पर्न जान्छ । सरकार र उम्मेदवारहरूबाट हुने खर्चले अन्ततः मुलुकको अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब बढ्न जान्छ । त्यसै पनि अहिले अर्थतन्त्र कठिन अवस्थामा छ । अर्थतन्त्रको आकार सानो भए पनि नेपालको चुनाव भारतका तुलनामा डेढ सय गुणा बढी महँगो छ । चुनावको खर्चलाई सार्वजनिक लगानीका रूपमा लिने गरिन्छ । किनकि यसले अन्ततः लोकतन्त्रलाई बलियो बनाउँछ । निर्वाचनमा चुनिएर गएका उम्मेदवार र निकायले जनताको जीवनस्तर उकास्ने र उनीहरूको समग्र जीवनमा रूपान्तरण हुने खालका पारदर्शी निर्णय र काम गर्न सके मात्रै निर्वाचन खर्चको प्रतिफल आउँछ । कानुनले दल सञ्चालनका लागि चन्दा, सहयोग, किताब बेचेको आम्दानी कोषमा जम्मा गर्ने गरी लिन पाउने व्यवस्था गरेको छ । तर, जब चुनाव आउँछ अनि बजार भाउ बढ्छ । व्यापारी, उद्योगपतिको क–कसलाई, कतिलाई दिने भनेर भागाभाग हुन्छ भन्ने भनाइ छ । एउटा दलले संघ, प्रदेशमा प्रत्यक्ष र समानुपातिक सबैतिर उम्मेदवारी दिन्छ भने उसले कति उम्मेदवारलाई पैसा दिन सक्छ भन्ने प्रश्न स्वाभाविक नै हो । दलभित्र पनि नजिककालाई नेतृत्वले धेरै सहयोग ग¥यो, अरूलाई औपचारिकता पूरा ग-यो भन्ने गुनासा विगतका निर्वाचनमा सुनिन्थे । त्यसैले कुन उम्मेदवारलाई दलका प्रमुख नेता वा केन्द्रले के–कति सहयोग ग¥यो भन्ने पारदर्शिता नभएको समस्या अहिले पनि यथावत् छ । त्यसैले यस्ता कुरामा अन्दाज मात्र गर्न सकिन्छ, तोकेरै भन्न सकिन्न । उम्मेदवारले चुनाव परिचालनमा खर्च त गरेकै छन् । तीमध्ये कतिपय पैसा भएकै होलान्, कतिले घरजग्गा पनि बेच्लान्, शुभेच्छुकबाट सहयोग पनि पाउलान् । कि त पैसा धेरै भएको, पार्टीलाई पनि सहयोग गर्नेले टिकट पाएको हुन्छ । पैसा नभएका उम्मेद्वारहरूको हकमा जिताएर आफ्नो अनुकूल नीति बनाउन, ठेक्का पार्न, कानुन बनाउन अनुकूल वातावरणका लागि भूमिका खेल्छन् भनेर बिग हाउसेस अर्थात् तेस्रो पक्षले लगानी गर्ने परिपाटी पनि छ । 

दलहरूले केन्द्रबाट उम्मेदवारलाई खर्च दिएको छैन भन्छन् भने उनीहरूले यस्ता व्यक्तिलाई मात्र टिकट दिएका छन्, जसले आफ्नो मात्र होइन, अरू उम्मेदवारको खर्च पनि व्यहोरिरहेका छन् भन्ने बुझ्नुपर्ने हुन्छ । नत्र माथिबाट स्रोतको व्यवस्थापन गरिएको छैन भनेर पत्याउन सकिदैन । त्यसैले दलहरूले केन्द्रबाट केही न केही सहयोग गरेकै छन् । कतिपय उम्मेदवारले प्रतिबद्ध कार्यकर्ताबाट पनि सहयोग उठाएको हुन सक्छ । निर्वाचनमा खर्च गर्न सक्नेहरू नै प्राथमिकतामा पर्न थालेपछि पैसा जुटाउन नसक्ने नेता–कार्यकर्ताले टिकटको दाबी गर्नै छाडेका छन् । हरेक दलको आन्तरिक राजनीतिमा समेत सङ्गठन निर्माण गर्ने नेता–कार्यकर्ताभन्दा स्रोतसाधन र पैसा जुटाउन सक्ने नवधनाढ्य, जग्गा व्यापारी, ठेकेदार र बाहुबलीको हस्तक्षेप बढ्दो छ । पार्टीका स्थानीय बैठकमा नै प्रत्यक्ष निर्वाचनको चर्चा उठ्दा खर्च गर्न सक्ने उम्मेदवार को–को हुन् भनेर चर्चा हुन थाल्छ । पैसाको बढ्दो हस्तक्षेपले समग्र राजनीति र दलहरूलाई मानसिक र भौतिक रूपमा विकृत बनाउँदै लगेको छ । राजनीतिमा इमानदार मान्छेहरूको सम्लग्नता र सहभागिता घट्दै छ । जनस्तरमा समेत राजनीतिप्रति वितृष्णा चुलिँदो छ । राजनीतिक दल र राजनीतिक प्रणालीलाई शुद्ध राख्न नसक्नु नेपाल मात्र होइन, विश्वकै समस्या हो । अमेरिका, यूरोप, जापान, दक्षिण कोरिया जस्ता देशमा पनि आर्थिक अपारदर्शिता र लेनदेनका घटना वेलाबखत सुनिन्छन् । तर, ती देशका कानून कडा र प्रणाली पारदर्शी भएकाले यस्ता घटनामा मुछिएका व्यक्तिहरू दण्डित हुन्छन् । वर्षौं जेलमा थुनिन्छन् । दक्षिण कोरियामा साथीले अपारदर्शी ढङ्गले चन्दा उठाएका कारण राष्ट्रपति नै जेलमा छिन् । जापानमा प्रधानमन्त्रीहरू नै थुनिएका थिए । अफ्रिका र एशियाका देशमा यो समस्या अझ बढी छ । नेता र पूँजीपतिहरूको गठबन्धनले सम्पूर्ण राजनीतिक प्रणालीलाई भ्रष्ट बनाउँछ । यस्तो गठबन्धनले दलका इमानदार नेता–कार्यकर्ताको मनोबल खस्काउँछ । तसर्थ, देशको लोकतन्त्र, समृद्धि र सुशासनका लागि पनि राजनीतिक दल र नेतृत्वमा पारदर्शिता, स्वच्छता र शुद्धता अपरिहार्य भइसकेको छ ।

गोप्य रूपमा कुनै व्यापारी वा संस्थासँग पैसा लिएर चुनाव लड्नुभन्दा सार्वजनिक रूपमा चन्दा आह्वान गरेर त्यसलाई पारदर्शी बनाउनु उचित हुन्छ । पछिल्लो समय स्वतन्त्र र युवा पुस्ताका उम्मेदवारहरूले त्यसलाई अनुसरण पनि गरेका छन् । चुनावमा चन्दाका लागि वेबसाइट नै बनाएर त्यसमा सहयोग गर्नलाई सार्वजनिक रूपमै आह्वान पनि गरेका छन् । लुकीछिपीभन्दा पारदर्शी रूपमा लिइएको चन्दा मुलुक र जनताको हितमा हुन्छ । त्यसो त व्यक्ति र संस्थाले दिने निजी चन्दालाई निरुत्साहित गर्न सार्वजनिक तथा सरकारी सहयोग बढाउनुपर्ने हुन्छ । सरकारी सहयोग रकम नगद र जिन्सी दुवैमा लिन सकिन्छ । यसले ठूला र निजी तर अपारदर्शी रूपमा सहयोग गर्ने दाताहरूप्रति दलहरूको परनिर्भरता घटाउँछ । तर, सरकारी सहयोग रकमका पनि सीमा र सर्तहरू तोकिनुपर्छ । र, त्यसलाई पारदर्शी बनाइनुपर्छ । सबै दलले एकद्वार बैंक खातामार्फत खर्च र आम्दानीको कारोबार गर्नुपर्ने व्यवस्था हुन सके आर्थिक पारदर्शिता कायम गर्न मद्दत पुग्नेछ । राजनीतिमा बाह्यशक्तिको प्रभाव रहेको नेपालजस्तो मुलुकमा विदेशी नागरिक र निकायको सहयोग नलिनु राम्रो हुन्छ ।

२०७९ साल पुस ४ गते । वर्ष:१६ अंक:१०