विदुर । नुवाकोटको जिल्ला अस्पताल ‘त्रिशुली अस्पताल’ यस वर्ष पनि न्युनतम सेवा मापदण्डमा नेपालकै उत्कृष्ठ ठहरिएको छ । यो सहित तीन वर्षदेखि त्रिशुली अस्पताल न्युनतम सेवामा देशै भरी लगातार पहिलो हुँदै आइरहेको छ ।
एक सयमा यस वर्ष ९६ अंक ल्याइ त्रिशुली अस्पताल उत्कृष्ठ भएको स्वास्थ्य विभागका बरिष्ठ नर्सिङ प्रशासक बाला राईले जानकारी दिइन् । न्युनतम सेवा मापदण्डमा त्रिशुली अस्पतालले अघिल्लो वर्ष (२०७८ सालमा) ९४ अंक ल्याई देशकै पहिलो भएको थियो । २०७७ सालमा ८८ अंक ल्याई पहिलो पटक त्रिशुली अस्पताल देशकै पहिलो भएको थियो । यस वर्ष पनि त्रिशुली अस्पताल देशै भरीको सरकारी अस्पतालमा पहिलो भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताएका छन् । बर्दियाको जिल्ला अस्पतालले यसपालि ९५ प्रतिशत अंक प्राप्त गरेकोमा त्रिशुली अस्पतालले ९६ प्रतिशत अंक प्राप्त गरी देशै भरी पहिलो भएको झाले बताए ।
शुक्रवार त्रिशुली अस्पतालमा आयोजित ‘अस्पतालको गुणस्तर सुधारको लागि न्युनतम सेवा मापदण्ड फलोअप समीक्षा’ कार्यक्रममा त्रिशुली अस्पतालले प्राप्त गरेको अंक घोषणा भएको हो । न्युनतम सेवा मापदण्ड परिक्षणका लागि संघीय सरकारको स्वास्थ्य विभाग र बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका उच्चपदस्थ अधिकारीहरूले दुई दिन त्रिशुली अस्पतालको अनुगमन गरेका थिए ।
त्रिशुली अस्पताल ‘हब हस्पिटल’ को रुपमा विकास हुनु, अस्पताल आफैले ‘ब्लड बैंक’ सञ्चालन गर्नु, नेपाल सरकारका सबै नीति र निर्देशनको अंक्षरश पालना हुनु, तीन वटै तहका सरकारसंग प्रभावकारी सहकार्य र समन्वय हुनु, अस्पताल आफ्नै ‘अक्सिजन प्लाण्ट’ हुनुले पहिलो बनाउन बढी सहयोग मिलेको बताइएको छ । त्रिशुली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष राजु पण्डितका अनुसार ओपिडी सेवा विस्तार भएको, जिल्ला अस्पतालमा हुने भन्दा बढी सेवा (आइसियु, एनआसियु) जस्ता माथिल्लो तहको सेवा हुनुले त्रिशुली अस्पताललाई देशै भरीको सरकारी अस्पतालमा पहिलो बन्न सघाएको छ ।
उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेन्द्र श्रेष्ठले त्रिशुली अस्पतालले प्रदान गरिरहेको सेवाका कारण आफुहरूलाई समेत काम गर्ने प्रेरणा जाग्नेगरेको बताएका छन् । ५० बेडको जिल्ला अस्पतालको रुपमा रहेको त्रिशुली अस्पताल आफ्नै सेवाका कारण क्षेत्रियस्तरको देखिएको उनले बताए । ‘अब हामी छिट्टै त्रिशुली अस्पताललाई एक सय बेडको बनाउने छौं’, श्रेष्ठले भने, ‘अघिल्ला प्रदेश सांसद हिरानाथ खतिवडा खुब धाउनु भयो यो अस्पताललाई सय बेडको बनाउन, महिनाको दुई पटक जत्ति आउनुहुन्थ्यो, अब त्रिशुली अस्पताललाई एक सय बेडको बनाउने अन्तिम तयारीमा छौं’ श्रेष्ठले भने ।
साथै उनले न्युनतम सेवाको मापदण्ड जाँच गर्दा ९६ प्रतिशत मात्रै आएकोमा अझै सरकारी अस्पतालले न्युनतम सेवामा पनि ४ प्रतिशत काम गर्न बाँकी नै रहेको स्मरण गराए । आफु सरकारी अस्पतालहरूको न्युनतम सेवाको अवस्था हेर्न बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा भ्रमण गरेको अनुभव सुनाउँदै उनले रामेछाप जिल्ला अस्पतालको समेत प्रशंसा गरे । एक वर्षको बीचमा रामेछाप अस्पतालले समेत व्यापक सुधार गरेको र अब विस्तारै सरकारी अस्पतालहरू सेवा दिने सन्र्दभमा अब्बल ठहरिन थालेको उनले बताएका छन् ।
स्वास्थ्य निर्देशनालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले नेपालमा सरकारी अस्पतालहरूले प्रदान गरिरहेको गुणस्तरिय सेवाले निजी अस्पताललाई पछाडी पार्न थालेको बताए ।
उनले काठमाडौंका नाम चलेका निजी अस्पतालहरूले समेत त्रिशुलीबाट सिक्नुपर्ने बताएका छन् । ‘ग्राण्डी, नर्भिक जस्ता अस्पतालहरूले अब हाम्रो सेवा र गुणस्तर हेरोस्’ झाले भने, ‘ति अस्पतालहरूलाई समेत त्रिशुलीमा आएर हेर्न र सिक्न अनुरोध गर्छु ।’
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले त्रिशुली अस्पतालको व्यवस्थापन र सेवा प्रदानको अवस्था अब्वल रहेको बताएका छन् । सरकारी कार्यालय भइकन सेवा प्रदान गर्ने सन्र्दभमा अस्पतालले देखाउने तदारुकता र गतीले आफुलाई सधैं अचम्मित पार्ने गरेको उनले बताएका छन् ।
त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले लगातार तेश्रो वर्षसम्म नेपालकै पहिलो नम्वरमा अस्पताल रहेको प्रति आफ्नो बढी जिम्मेवारी थपिएको बताए । अहिले अस्पतालले दिइरहेको सेवामा कमी आउला वा गुणस्तर खस्किएला भन्ने चिन्ता बढी रहेको उनले बताए । बिरामीलाई उपचारको सेवा दिने देखि प्रशासनिक काम समेत गर्नुपर्ने भएकोले अस्पतालका कर्मचारीहरूलाई देशकै पहिलो नम्वरको अस्पतालको गरिमा बचाउन र नागरिकहरूको बढ्दो आकांक्षा पुरा गर्ने थप चुनौती रहेको डा. पाण्डेले बताएका छन् ।
अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजु पण्डितले विशेषज्ञ डाक्टरहरूलाई अस्पतालमा निरन्तर रुपमा राख्न नसक्नु मुख्य चुनौती रहेको बताएका छन् । सिमित आयआर्जन रहेको व्यवस्थापन समितिले एक सय प्रतिशतसम्म भत्ता दिएर विशेषज्ञहरू जिल्लामा टिकाइराख्न मुस्किल परेको उनले बताए । बिरामीलाई बेहोस बनाउने डक्टर जिल्ला अस्पतालबाट केही दिन अघि मात्रै गएकाले अप्रेसन गर्ने काम हिजोआज रोकिएकोले तत्कालै व्यवस्था गर्न र सेवा सुचारु गराउन उनले स्वास्थ्य विभाग र प्रदेश स्वास्थ्य निर्देशनालयको ध्यानाकर्षण गराएका छन् ।
त्रिशुली अस्पतालसंग ८५ प्रतिशत सन्तुष्ट
त्रिशुली । नुवाकोटको जिल्ला अस्पतालको त्रिशुलीले सेवाग्राहीहरूलाई सेवा प्रदान गरिरहेको आफ्नो पक्षको विषयमा तेस्रो पक्षबाट परिक्षण गरेको छ । सामाजिक परिक्षणबाट त्रिशुली अस्पतालका सेवाग्राही मध्ये ८५ प्रतिशत सन्तुष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
सामाजिक परिक्षणका क्रममा ८५ प्रतिशत सेवाग्राहीहरूले अस्पतालको सेवा गुणस्तरिय रहेको बताएका छन् । त्यस्तै १० प्रतिशतले मध्यमखाले सेवा पाएको प्रतिक्रिया दिएका छन् भने पाँच प्रतिशतले अस्पतालको सेवामा असन्तुष्टि जनाएको सामाजिक परिक्षणमा सम्लग्न अधिवक्ता गोकर्ण पुडासैनीले जानकारी दिए ।
त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. दिपेन्द्र पाण्डेले अस्पतालको सेवा प्रवाह प्रति असन्तुष्टि जनाउने पाँच प्रतिशत सेवाग्राहीको संख्या पनि कम नरहेको उल्लेख गर्दै असन्तुष्टि जनाउनेहरूको संख्या शुन्यमा ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । डा. पाण्डे अस्पतालमा कार्यरत रहेदेखि दुई वर्षसम्म देशैभरीका सरकारी अस्पतालमाहरूमा त्रिशुली अस्पताल उत्कृष्ठ रहदै आएको छ । डा. पाण्डेले आफुहरूले गरिरहेको काम र सेवा प्रवाहको प्रतिक्रिया नागरिहरूबीच कस्तो रहेछ भन्ने जानकारी लिनका लागि सामाजिक परिक्षण गरेको बताएका छन् । ‘यो सामाजिक परिक्षण बाध्यकारी थिएन तर हामी सधै क्लिनिकल अडिट गर्छौ, बिरामीहरूको अवस्था के कस्तो छ मात्रै सोधिखोजी गर्छौ, तर कहिल्यै सामाजिक अडिट गर्दैनौं अनि समाजमा हाम्रो कामको सोधिखोजी गदैंनौं’ डा. पाण्डेले भने, ‘हाम्रो काम र सेवाको बिषयमा सामाजिक स्तरबाट प्रतिक्रिया लिऔं भनेर यो परिक्षण गरेका हौं ।’ उनका अनुसार सेवामा गुणस्तरिया ल्याउनका लागि स्वतन्त्र रुपमा तेस्रो पक्षबाट सामाजिक परिक्षण गरिएको हो ।
लगातार दुई वर्षदेखि न्युनतम सेवा प्रदानमा नेपाल भरीकै अस्पतालमा उत्कृष्ठ हुँदै आएको त्रिशुली अस्पताललाई तेस्रो वर्षपनि पहिलो स्थानमा टिकाइराख्नका लागि चुनौती रहेको प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागिहरूले बताएका छन् । अस्पतालले मंगलवार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी सेवाग्राही, जनप्रतिनिधि र सरोकारवालाहरू बीचमा सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यस अवसरमा प्रतिवेदनमाथी टिप्पणी गर्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले नुवाकोट, रसुवा र धादिङका नागरिकहरूलाई न्युनतम गुणस्तरिय स्वास्थ्य सेवा दिने सन्र्दभमा त्रिशुली अस्पतालमा राम्रो रहेको बताए । उनले अस्पताललाई जनशक्ति र भौतिक पक्षबाट सहयोग गर्नका लागि स्थानीय सरकार तयार रहेको र त्रिशुली अस्पतालको विकास र क्षमता विस्तारका लागि सधै विदुर नगरपालिकाको प्राथमिकतामा पर्ने बताएका छन् । प्रमुख श्रेष्ठले अस्पताललाई आवश्यक पर्ने जग्गा नेपाल विद्युत् प्राधिकरणबाट भाडामा लिनका लागि आवश्यक प्रक्रिया विदुर नगरपालिकाबाट मिलाइदिने पनि बताएका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले अस्पतालमा पछिल्लो समय जनशक्तिको अभाव हुन थालेको बताउँदै त्यसैका कारण गुणस्तरमा कमी आउला की भन्नेमा चिन्ता व्यक्त गरे । विशेषज्ञ डाक्टरहरूलाई अस्पताल विकास समितिले एक सय प्रतिशतसम्म भत्ताको व्यवस्था गरेर काममा राखिरहेको र समितिको आम्दानीको श्रोत सिमित भएकोले दिर्घकालिन आर्थिक व्यवस्थापनकोपाटो चुनौती पुर्ण रहेको अध्यक्ष पण्डितले बताएका छन् ।
विदुर नगरपालिका वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारीले आफ्नो वडामा समेत पर्ने उत्तः अस्पतालका कारण विदुर नगरपालिकाले सान प्रस्तुत गर्न पाएको बताए । सबै खाले न्युनतम स्वास्थ्य सेवा जिल्ला अस्पतालबाटै उपलब्ध हुनु र केही जटिल अप्रेसन समेत जिल्ला अस्पतालमा हुनेले आफुलाई आनन्द आउने गरेको उनले सुनाए । वडाको तर्फबाट अस्पतालको विकासका लागि सबै पक्षबाट सहयोग हुने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले त्रिशुली अस्पतालले अझै गुणस्तरिय सेवा दिनुपर्ने तर्फ सचेत गराएका छन् । अस्पतालमा सेवा लिन आएका बिरामीहरूको संख्याकै आधारमा मात्रै खुसी नभई सेवालाई थप विस्तार र गुणस्तरिय बनाउनु पर्ने बेला भइसकेको उनले बताए । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमका कारण बीमाबाट खर्च गर्ने गरी त्रिशुली अस्पतालमा बिरामीहरू आउने कारणले अधिक चाप देखिएको र नागरिकहरूले अस्पतालको सेवा खस्कन थालेको टिप्पणी गर्न थालेकोले त्यस तर्फ सेचेत बन्न अध्यक्ष खनालले आग्रह गरेका छन् ।
No comments:
Post a Comment