Tuesday, January 17, 2023

पारिवारिक पाठ सिकाउने विद्यालय


– विवेक पोख्रेल

भरतपुर । देवी पाठक ढुंगेललाई कान्छि छोरीले तेल लगाएर कपाल बाटिदिइन् । हातखुट्टा राम्रोसँग धोइदिइन् र कपडाले मुख पुछिदिएर आफैंले तयार गरेको खानेकुरा खुवाइन् । पृष्ठभूमिमा आमाबुबाका विषयमा विभिन्न कुराहरू बजिरहेका थिए । ६ कक्षामा पढ्ने १२ वर्षकी छोरी गरिमा ढुंगेलको स्याहारले भावुक बनेकी देवीको आँशु थामिएन । उनलाई केही वर्षअघि गुमाएको श्रीमान्को याद आयो र उनी रुन थालिन् । ‘आज बुबा भएको भए मेरी छोरीले बुबालाई पनि यसरी नै माया गर्थिन् होला । हामी कति खुसी हुन्थ्याँ होला,’ श्रीमानको मृत्युपछि परिवारको जिम्मेवारी आफंैले लिएकी तीन छोरीकी आमा ४६ वर्षीया देवी फेरि मुख छोपेर रुन थालिन् ।

३२ वर्षीया मीना महत्तो विद्यालयमा नै कार्यालय सहयोगीको रुपमा काम गर्छिन् । २ कक्षामा पढ्ने साढे ६ वर्षकी छोरीले उनलाई मायाका साथ नङ काटिदिने, कपाल कोरिदिने गरिरहेकी थिइन् । आमाले भनेको सधैं मान्ने बताउँदै सानी छोरी अँगालो हालेर रुन थालिन् । बाबाले गाडी चलाउनु हुन्छ । लामो यात्राको क्रममा महिना दिनसम्म पनि आउनु हुन्न । त्यसैले न्यास्रिएकी होला,’ मीनाले भनिन् । छोरीको आँशु देखेपछि उनले पनि आँशु थाम्न सकिनन् । देवी र मीनाजस्तै भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयको परिसरमा ३० भन्दा बढि विद्यार्थीले आफ्नो अभिभावको रेखदेख गरेका थिए । सहभागीको क्रियाकलाप र दृश्यले त्यहाँ उपस्थित अभिभावक, शिक्षक र विद्यार्थी सबैको अँखामा आँशु देखिन्थ्यो । कोही आँशु लिँदै कार्यक्रम भरी बसे, कोही भारी मन लिएर बस्न नसकी कार्यक्रमको बीचमै निस्किए ।

कोही विद्यार्थी आफ्नो आमाबुबा त कोही हजुरबा हजुरआमाको साथमा आएका थिए । कोही हजुरआमा छोराको त कोहीलाई छोरीको सन्तानले रेखदेख गरेका थिए । यो कार्यक्रमको लागि उनीहरूले आफैं खानेकुरादेखि रेखदेखका लागि आवश्यक सामाग्री जुटाएका थिए । यो कार्यक्रमको परिकल्पनाकार यसै विद्यालयका शिक्षक विशाल अधिकारी हुन् । नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर १० ले हीरक महोत्सव (स्थापनाको ६० वर्षं)को अवसरमा अभिभावक रेखदेख तथा प्रतिबद्धता कार्यक्रममा गरेको हो । शिक्षक अधिकारी पनि ७५ वर्षीय आफ्नो हजुरआमा टंकमायालाई विद्यार्थीसँगै स्याहारसुसार गर्दै थिए ।

बुबाआमालाई किशोर अवस्थामा हेरचाह गर्न लाज मान्ने र बुढेसकालमा वृद्धाश्रम पुर्याउनेको संख्या बढेको छ । शिक्षक अधिकारीले भने, ‘कार्यव्यस्थता वा संस्कार दुबैका कारण आमाबुबा बृद्धाश्रममा पुग्नु भएको छ । सानैबाट सँस्कार सिकाउन सकियो भने पक्कै हाम्रो घर पनि सुन्दर बन्छ ।  त्यही सन्देशका लागि यो कार्यक्रम गरेका हौँ ।’ नारायणी नमुना माविका विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले कार्यक्रम सन्देशमूलक भएको र आगामी दिनमा विद्यालयको नियमित कार्यक्रममा पनि राख्ने प्रतिबद्धता जनाए ।

चितवनको भरतपुर– १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुन्छ । नर्सरीदेखि पाँच कक्षासम्म एवं कक्षा ११ र १२ मा अंग्रेजी भाषा तथा ६ देखि १० कक्षासम्म नेपाली र अंग्रेजी दुवै भाषामा पढाइ हुन्छ । तीन हजार पाँच सय विद्यार्थी अध्ययनरत यो विद्यालय अहिले देशकै उत्कृष्ट सामुदायिक विद्यालय बनेको छ । नारायणी नमुना माविले नेत्रहीन विद्यार्थीहरूका लागि ब्रेल लिपीमासमेत पढाइ सञ्चालन गर्दै आएको छ ।

No comments:

Post a Comment