विदुर । नेपालमा यसअघि नै ओमिक्रोनका १७ वटा सबभेरियन्ट फैलिइसकेको र बिएफ–७ पुष्टि भएमा पनि थप जोखिम ननिम्त्याउने अनुमान चिकित्सकहरूको छ ।
भारतमा देखिएकाले ढिलोचाँडो नेपालमा पनि पुष्टि हुन्छ । ‘बिएफ ओमिक्रोनको नयाँ भेरियन्ट नभएको र चीनबाहेक अन्य देशमा ‘मास इन्फेक्सन’ नदेखिएकाले नेपालमा यसको जोखिम जटिल हुँदैन भन्ने अनुमान हो,’ भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले भने । उनका अनुसार चीनमा पछिल्लो समय कोभिडबाट मृत्यु हुनेमध्ये पनि वृद्धवृद्धा, खोप नलगाएका र लामो समयदेखि स्वास्थ्य समस्या भएकाहरू बढी प्रभावित छन् ।
उनी भन्छन्, ‘कोभिडका भेरियन्टहरूले स्वरूप परिवर्तन गर्दै आए पनि मानिसमा एन्टिबडी धेरै हदसम्म स्थिर देखिएकाले नयाँ भेरियन्टप्रति आत्तिहाल्नुपर्ने अवस्था देखिँदैन ।’ तर, स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपिल गरेको छ ।
नेपालमा हालसम्म बिएफ–७ पुष्टि नभए पनि सार्वजनिक रूपमा भिडभाड बढी हुने विश्वविद्यालय र शिक्षण संस्थानहरूमा सजगता अपनाउन त्रिभुवन विश्वविद्यालयले आग्रह गरेको छ । त्रिविले बिहीबार विज्ञप्ति जारी गर्दै भिडभाड हुने ठाउँमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दूरी कायम राख्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिनुका साथै अन्य स्वास्थ्यका प्रोटोकल अपनाउन आग्रह गरेको हो ।
कोभिडको दैनिक संक्रमण नेपालमा पनि बढिरहेको छर । बिहीबार १४ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रभावित देशका यात्रीमाथि कडाइ
चीनले कोभिड संक्रमणमबारे तथ्याङ्क सार्वजनिक गर्न अस्वीकार गरेसँगै भारतलगायतका थुप्रै देशले चीनलगायत संक्रमण फैलिएका देशबाट आउने यात्रीमा कडाइ गर्न थालेका छन् ।
जिरो कोभिड नीति हटाएसँगै लाखौँको संख्यामा प्रभावित भइरहेको भनिएको चीनसँगै हङकङ, मकाउबाट आउने यात्रीलाई अमेरिका, भारतलगायतका देशहरूले कडाइ गरेका हुन् । चीनबाहेकका अधिकांश देशहरूमा संक्रमण नदेखिएकाले नआत्तिन, तर स्वास्थ्य सुरक्षा अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
No comments:
Post a Comment