![]() |
पञ्चकन्या गाउँपालिकाको अध्यक्षमा १७ वर्षिया सफल ढकाललाई एक घण्टाका लागि पदभार ग्रहण गराउँदै पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबबहादुर तामाङ । तस्बिर : जगदीश खनाल |
घलेभञ्याङ । हुन त बैशाखमा स्थानीय तह निर्वाचन सम्पन्न भएको हो, तर नुवाकोटको पञ्चकन्या गाँउपालिकामा शुक्रवार स्थानीय तहमा नयाँ सरकार बनेको छ ।
निर्वाचन मार्फत् नै नयाँ अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन् । अध्यक्षमा १७ बर्षिय सफल ढकाल र उपाध्यक्षमा निशा तामाङ बिजयी भएका छन् । अध्यक्षमा ४ जना उम्मेदवारी परेकोमा सबैभन्दा धैरै मत ल्याई ढकाल बिजयी भए भने उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेकोमा धेरै मत ल्याई निशा तामाङ बिजयी भएका छन् ।
तर यो चुनाव नमूना चुनाव हो र निर्वाचित भएका जनप्रतिनिधि पनि नमूना पात्र मात्रै हुन् । पञ्चकन्या गाँउकार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित ४ दिने नमूना युवा सांसद अभ्यास कार्यक्रममार्फत गाँउपालिकाको युवा गाँउसभा अध्यक्ष र उपाध्यक्षमा मतदान भएको थियो । गाँउपालिकाको ५ वटै वडाबाट प्रतिनिधित्व गरेका २३ जना बिद्यार्थीहरूले सहभागिता जनाएको प्रशिक्षण कार्यक्रममा पालिकाले गर्ने सम्पुर्ण कार्यहरूको बारेमा जानकारी गराउनुका साथै युवाहरूको क्षेत्रमा स्थानीय तहले निभाउनुपर्ने भुमिकाको बारेमा प्रशिक्षण दिईएको थियो ।
निर्बाचित अध्यक्षलाई शुक्रबार गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ले आफ्नै कुर्र्चीमा एक घण्टा नमूना पदभार ग्रहण समेत गराए । अध्यक्ष तामाङले अध्यक्षको कुर्चीमा बसेर गर्नुपर्ने कार्यहरूको बारेमा नमूना अभ्यास समेत गराएका छन् । प्रशिक्षण कार्यक्रम समापनमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले १६/१७ बर्षे युवा उमेरमै स्थानीय तहको काम कर्तव्य र सुन्दर अनि सक्षम आफ्नो गाँउ निर्माणमा युवाहरूले खेल्नुपर्ने भुभिकाको बारेमा युवापुस्ताले ध्यान दिनुपर्ने औल्याएका छन् । साथै स्थानीय तहले गर्ने हरेक कार्यमा युवा पुस्तालाई समेटेर सल्लाह सुझावमा साथ सबै स्थानीय तहहरू अगाडी बढ्नुपर्ने उनको भनाई रहेको छ ।
कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङले आगामी हरेका गाँउसभामा युवाहरूको प्रतिनिधित्व हुनेगरी गाँउपालिकास्तरिय गठन भएको युवा सञ्जाललाई सहभागी गराउने घोषणा गरेका छन् । युवाहरूबाट आएको माग र सल्लाह सुझावलाई आत्मसाथ गर्दै आगामी बजेटहरू तयार गरिने अध्यक्ष तामाङले बताए । खेलकुद लगायतका युवाको क्षेत्रमा प्रतिनिधित्व गर्ने हरेक कार्यमा पहिलो प्रथामिकता दिदै आएका अध्यक्ष तामाङले आगामी दिनमा बजेट निर्माणलगायत पालिकाको नीति निर्माणमा युवा सञ्जाललाई समेटेर लैजाने भनी गरेको घोषणालाई युवापुस्ताले स्वागत गरेका छन् ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष महानन्द ढकाल, वडा नम्बर २ का अध्यक्ष रामशरण श्रेष्ठ, माओवादी केन्द्र पञ्चकन्याका गाउँ समितिका अध्यक्ष मणिनाथ लामिछानेलगायतले नमूनायोग्य विकास निर्माण लगायत नीति नियम निर्माणमा युवापुस्ताले अहम भुमिका निर्बाह गर्नुपर्नेमा विशेष जोड दिएका छन् ।
प्रशिक्षण पश्चात कक्षा ११ मा अध्ययनरत राजेश सुनारको अध्यक्षतामा ११ सदस्यिय पञ्चकन्या गाँउपालिका स्तरिय युवासञ्जाल गठन गरिएको छ । उपाध्यक्षमा शिरिषा तामाङ, सचिवमा आकृती बोगटी र कोषाध्यक्षमा प्रजिना खतिवडा चुनिएका छन् ।
No comments:
Post a Comment