Monday, January 09, 2023

सुर्खेतको बाघको मनोवाद


विनोदराज खनाल

उस्स, म पनि बाघ रे !

यसो ऐना हेर्छु रंग बाहेक केही मिल्दैन, दश पटक वरिष्ट बाघ प्लास्टिक सर्जनकहाँ गएर थुतुनो सर्जरी गराउँदा पनि साँच्चै बाघको थुतुनो हुँदैन होला । हे प्रभु ! समाजको अघि पिता पुर्खाको विरासत र ईज्जत कसरी राख्नु ? बनाउन जंगलमै बनाए, रंग मिलाए, आखिर चार खुट्टा, पुच्छर सबै बनाए नाम पनि बाघ नै राखे तर ‘नाममा के छ ?’ भनेजस्तो भएँ, नामले बाघ भनेपनि मलाई कसैले बाघ देख्दैनन् । धत्तेरी ! सबै गरे पनि बाघ नाम त नरखिदिनु नी, हाम्रा पिता पुर्खामा सधैं रिस र गर्जन हुन्थ्यो मेरो थुतुनो त हाँस्य टेलीश्रृङ्खला हेरेर मुर्छा परेजस्तो छ, खरायो आएर जिस्काउने होला मलाई देखेर, जरायोले लात्ताले हानेर जाने होला, हरिण लें ‘ओए बाघ तलाई खाइदिम’ भन्ने होला, हे भगवान ! मलाई कस्तो बाघ बनायौं ? 

जंगलको राजा, साहसी, सिकारी, पराक्रमी सबैको एउटै नाम बाघ ! तर खलकमा नभएको यी सबै विशेषता हराए जस्तो बाघ भए म, मलाई बनाउने बेला भगवान गाँजा खाएर वास्तै नगरे जस्तो छ, या त मेरा शत्रुहरूबाट घुस खाएर मलाई यस्तो बनाए जस्तो छ, उफ् ! सोच्दै पागल हुन्छु, मलाई किन यस्तो सजाय भगवान ?

बाँदरबाट मान्छे भएजस्तै म पनि पुरानो बाघ हुँ भनु भनेपनि आधुनिक जमानामा जन्मिएको छु, फेसबुक, ट्विटर जताततै फोटो भाइरल बनाएका छन्, कोहीले भ्यागुते थुतुनो भनेका छन्, कोहीले सुँगुरे भनेका छन्, हैट ! यो सहन नसकेर मरौ मरौ लाग्छ फेरि बाघले आत्महत्या गरेर मर्यो भने मान्छेहरू के गर्लान् ? भो मान्छेकै लागि पनि अपमान सहेर बाँच्ने त होला ?

सोच्छु, बरु मलाई बिरालो बनाइदिनु, बिरालो हुम भनेर स्वाभिमानले बाँच्न त पाउँथे । बाघको नाम बोकेर अनेकौं लान्छना, आरोप र ट्याग भिरेर बाँच्नु परेको छ, अझ कोही ५० हजारे, कोही १३ लाखे कोही १९ लाखे भन्छन्, हे दैव ! कुन जुनीमा निर्धो अनि कमजोर हरिण सिकार गरेको पाप लाग्यो ? ‘बाघ मर्छ बरु घाँस खाँदैन’ भन्ने उखान पनि मेरो लागि उखानै भयो आखिर घाँस खाएर बाँच्नु पर्या छ, थुक्क जिन्दगी !

बनाउनेले बनायो पैसा लयो खानेले खायो पनि तर बेइज्जत मेरो छ, छि : बाघ देखेर मान्छे तर्सन्थे अब त मलाई देखेर मान्छेहरू मेरै घोडा चढ्ने भए, विश्वव्यापी बेइज्जत, मान्छेले धाक लगाउँछ अब ‘हेर बाघको घोडा चढेर हिड्या छु’ भन्ने होला, दैब ! रडिस जिन्दगी लिएर जन्मेछु, यस्तो त कसैलाई नपरोस् ।

अस्ति घरमा बिहेको कुरा भो, छिमेकी अंकल भन्दै थिए ‘केटो कुल घरमा नभएको निस्कियो यस्तालाई कुनले छोरी देला र?’ अनि फेरि काकीले भनिन् ‘बघिनी त कसैले दिँदैनन् थुतुनो पनि मिल्दो छ एउटी सुगुर्नी खोजेर ब्या गर्दिए हुन्छ ।’ कुना पसेर धरधरी रोएँ, अनि बनाउनेलाई गाली गरे, हरे ! के बनाइदिएको ? भगवान म जस्तो पशुलाई बनाउँदा त घुस नखानु नी, मान्छेलाई मेहेनत गरेर बनाउँछन् कति राम्रो न एक रुपियाँ घुस खान्छन् न कमिसन तर मान्छेले घुस खान्छ, कमिसन खान्छ तर विचरा मलाई बनाउँदा भगवानले घुस खाएर यस्तो कुरुप बनाए म त मेहेनतले खाने बाघलाई । अब म पनि मान्छे जस्तै बन्छु । सिकार गर्न बनको हरिण जरायो हैन हात्तीको सिकार गर्छ‘ त्यो पनि नोटवाला ।।।

No comments:

Post a Comment