नर्जामण्डप । तादी गाउँपालिका वडा नंं. ५ नर्जामण्डपमा रहेको विज्ञान माध्यमिक विद्यालयले बुधवार ४१ औं बार्षिकोत्सव मनाएको छ । २०३८ सालमा माध्यमिक तहको पढाई सुरु गरेको यस विद्यायलको स्थापना भने २०१४ सालमा भएको हो । ५० को दशकसम्म आयुर्वेद, ज्योतिष, संस्कृत आचार्य लगायतका विषयमा समेत पढाई हुने यस विद्यालयले २०४८ सालसम्म दिवा र रात्री विद्यालयको रुपमा पठनपाठन गराएको थियो । दिउँसोको कक्षामा सहभागि हुननसक्ने (त्यसबेलाका किसान)का लागि विज्ञान माविले राती पढाउने गरेको थियो ।
बुधवार भएको बार्षिकोत्सव कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हितबहादुर तामाङले नर्जामण्डप र विज्ञान माविको इतिहास बेग्लै रहेको बताएका छन् । विकासको पुर्वाधारको पनि पुर्वाधार शिक्षा रहेको उल्लेख गर्दै २०१४ सालदेखि नर्जामण्डपमा सुरु भएको पठनपाठनले नुवाकोटको पुर्वी भेगका नागरिकहरूको चेतना विकासमा पहिलो भुमिका खेलेको तामाङले बताए ।
विद्यालयको बार्षिक साधारण सभामा प्रदेश सांसद तथा बागमती प्रदेशका पुर्व उपसभामुख राधिका तामाङ, प्रदेश सांसद रमेशकुमार महत, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, विद्यालयका संस्थापक प्रधानाध्यापक जनार्दन भण्डारी, माओवादी केन्द्रका नेता किरणकुमार रिजाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका पुर्व शिक्षक तथा कर्मचारीहरूलाई सम्मानपत्र, विभिन्न कक्षाका उत्कृष्ठ विद्यार्र्थीहरूलाई पुरस्कार, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा माओवादी केन्द्रका नेता किरणकुमार रिजालले विद्यालयमा अध्ययनरत ३२५ जना विद्यार्थीलाई बेल्ट र टाइ हस्तान्तरण गरेका छन् ।
No comments:
Post a Comment